सरकारद्वारा मकालु एयर दुर्घटना छानबिन आयोग गठन
काठमाडौं ३२ साउन। नागरिक उड्ययन मन्त्रालयले हुम्लामा दुर्घटनाग्रस्त मकालु एयरको कलसाइन ९ एन एकेसी जहाजको छानबिन गर्न आयोग गठन गरेको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्ष चार सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको हो । दुई साताअघि भएको मकालु एयर जहाज दुर्घटना सम्बन्धमा जाँचबुझ आयोग बनाउन आलटाल गर्दै आएको थियो । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाँचबुझ आयोग गठन अनिवार्य छ । आयोगको सदस्यहरूमा वायुसेवा निगमका इन्जिनियर सोहन महर्जन, गोमा एयरका क्याप्टेन मनिष पन्त र सदस्य–सचिवमा मन्त्रालयको हवाई महाशाखाका उपसचिव हरिबहादुर खड्का छन् ।
हवाई इन्धन महँगो भएको भन्दै पर्यटन मन्त्रालयसँग मूल्य घटाउन एनएसीको माग
काठमाडौं ३२ साउन। हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकारसँग माग गरेको छ। नेपाल अायल निगमले अत्याधिक नाफा राखेर बोनस सम्म बाँड्न लागेपछि वायुसेवा निगमले सो माग गरेको हो। निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महँगो पर्ने गरेको पाइएको छ । अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार परेको तथा आफ्नो प्रतिस्पर्धी क्षमता कमजोर भएको भन्दै मूल्य घटाउन पहल गरिदिन निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको छ । निगमले मन्त्रालयलाई पत्र लेखी हवाई इन्धनको मूल्य घटाउन पहल गरिदिन आग्रह गरेको छ । हाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटिर २५ रुपैयाँ खुद नाफा राखेको छ । वायुसेवा निगमले गत साउन १ को मूल्यका आधारमा तयार पारेको विवरणअनुसार इन्धन भर्दा मलेसियामा प्रतिलिटर ३७.९९ रुपैयाँ र नेपालमा १०६.८५ रुपैयाँ भुक्तानी गर्नुपरेको छ । “निगमले उडान गर्ने सबै गन्तव्यमा पर्ने मूल्य र नेपालमा पर्ने मूल्यको तुलना गरेर मन्त्रालयमा पत्र पठाएका छौं,” निगम प्रवक्ता रामहरि शर्माले भने । अन्य एयरलाइन्सहरूले आफ्नै मुलुकमा धेरै इन्धन भरेर आउने भएकाले निगमलाई मात्र बढी भार परेको निगमको भनाइ छ । “सरकारले विशेष निर्णय गरेर भए पनि राष्ट्रिय ध्वजावाहक भएको नाताले निगमलाई अन्यलाई भन्दा सस्तोमा दिनुपर्छ भन्ने हाम्रो माग हो,” प्रवक्ता शर्माले भने । निगमले पठाएको पत्र पर्यटन मन्त्रालयले उपयुक्त लागेमा अर्थ मन्त्रालय पेस गर्नेछ भने अर्थले करमा सहुलियत दिने निर्णय मन्त्रिपरिषद्मा लैजान सक्नेछ । स्रोतका अनुसार अर्थले तत्काल यस्तो निर्णय गर्न सक्ने अवस्था नभए पनि आपूर्ति मन्त्रालयले नाफा घटाउन निगमलाई निर्देशन भने दिन सक्नेछ । “आयल निगमले नाफा थोरै राखेर वायुसेवा निगमलाई सुविधा दिएमा नाफा बढ्ने थियो, जसले सञ्चालनमा सहज हुनेछ,” प्रवक्ता शर्माले भने । निगमले ३ जहाजमार्फत नयाँदिल्ली, बैंग्लोर, मुम्बई, दोहा, मलेसिया, बैंकक र हङकङ उडान गरिरहेको छ । असोजबाट चीनको क्वाङ्चौ उडान गर्दैछ ।
चीनले विश्वकै पहिलो ह्याक प्रुफ स्याटेलाइट प्रक्षेपण गर्यो
काठमाडौंः चीनले मंगलबार विश्वकै पहिलो ह्याक प्रुफ क्वान्टम स्याटेलाइटको सफल प्रक्षेपण गरेको छ । चीनले दाबी गरे अनुसार यसले पठाएको म्यासेजलाई न त डिकोड गर्न सकिन्छ न नै स्याटेलाइटलाई ह्याक नै गर्न सकिन्छ । चीनले यस स्याटेलाइटलाई संघाईको एक ल्याबमा तयार गरेको हो । जुन ल्याबलाई चीनले अघिल्लो साल बनाएको थियो । क्वान्टम स्याटेलाइटलाई लन्च गरेर चीनले जापान र अमेरिकालाई पछि मात्रै पारेन यी दुई देशको चिन्ता पनि बढाइदिएको छ। केही वर्षअघि सीआईएका पूर्वकर्मचारी एडवर्ड स्नोडेनले अमेरिकाले चीनको स्याटेलाइट्सको सबै सूचना डिकोड गरिरहेको पोल खोलिदिएपछि चीनले भित्री तयारी थालेको थियो । त्यसपछि चीनले डिकोड गर्नै नसकिने प्रविधिको विकासमा लागेको थियो । चीनले यस स्याटेलाइटको नाम ‘मिसिअस’ राखेको छ । मिसिअस छैटौं शताब्दीमा चीनका महान अध्यता र वैज्ञानिक थिए । जुलाई, २०१५ मा क्वान्टम कम्प्यूटिङ्ग ल्याब संघाईमा बनाइएको थियो । यो चीनको उच्च गोप्यता कायम गरिएको ल्याब हो । यसलाई चिनियाँ एकेडेमी अफ साइन्स र चीनको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी अलीबाबाले तयार गरेका हुन् । क्वान्टम स्याटेलाइटमा प्रयोग गरिएको प्रविधिको बारेमा चीनले विश्वकै सबैभन्दा सुरक्षित प्रविधि रहेको दाबी गरेको छ । यसमा फोटोनको प्रयोग गरिएको छ । फोटोनलाई न त अलग गर्न सकिन्छ न त उसको प्रतिकृति (रिप्लिका) बनाउन नै सकिन्छ । थाहा पाउनै पर्ने कुरा फोटोन प्रविधिबाट जुन सूचना पठाइन्छ, त्यसलाई डिकोड गर्न सकिन्न । अर्थात यो पूर्णरुपमा ह्याक प्रुफ रहेको छ । चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्याटेलाइटमा फोटोन टुक्रा गरिएको अवस्थामा हुनेछ । यदि यसबाट म्यासेजलाई डिकोड गर्ने कोशिस गरियो भने फोटोन आफैं नष्ट भएर जानेछ । यस स्याटेलाइटमा दुई कम्जोरी पनि छन् । पहिलो यसको कन्ट्रोल रूम जमीनमा नै हुनेछ । अर्थात स्याटेलाइटबाट पठाइएको डाटा ह्याक या डिकोड त हुन सक्दैन तर जमीनमा आएपछि कन्ट्रोम रूममा डिकोड गरेपछि भने त्यसको ट्रान्स्क्रिप्टलाई दोस्रो तरिकाबाट प्राप्त गर्न भने सकिन्छ । अर्को कम्जोरी भनेको यसको डाटा ३०० किलोमिटर भन्दा धेरै टाढासम्म पठाउन सकिँदैन । यसको घाटा भनेको यदि संघाईको विकल्पमा ३०० किलोमिटर भन्दा बाहिरको अर्को सहरबाट यो स्याटेलाइटबाट डाटा तान्न सकिँदैन । यो प्रोजेक्टका प्रमुख वैज्ञानिक पेन जियानवेईले यो प्रयासपछि आफूहरु पुरानै प्रविधिको सञ्चार प्रविधिबाट आफहरु धेरै अघि बढिसकेको बताएका छन् । यो प्रयास सफल भएपछि चीनका लागि नयाँ बाटो खुल्ने उनको भनाइ छ । यो सफलतापछि अब चीनले सन् २०३० सम्ममा क्वान्टम स्याटेलाइटको ग्लोबल नेट्वर्क तयार गर्न सक्नेछ ।
स्वच्छन्द विकोइ विल्डर्सले काठमाडौं टावरको निर्माण सुरु गर्यो
काठमाडौं ३२ साउन। पुरानो बसपार्कमा निर्माण हुन लागेको काठमाडौं टावर निर्माणको काम अघि बढेको छ। भारतबाट निर्माण सामग्री नआएको बताउदै आएको स्वच्छन्द विकोइ विल्डर्सले आइतबार महानगरपालिकाको कार्य आदेश पाएपछि काम सुरु गरेको हो। यस अघि सामान आइनपुगेको भन्दै निर्माण नै सुरु गरिएको थिएन । कम्पनीका अनुसार साउन २२ गते भारतबाट निर्माण सामग्री आइपुगेको हो। सामान आइपुगेको जानकारी पाएपछि ३० गते महानगरले कम्पनीलाई काम अघि बढाउन आदेश दिएको महानगरपालिकाका सूचना अधिकारी महेश काफ्लेले जानकारी दिए। तीन महिना अघि महानगरपालिका र स्वच्छन्द विकोइ बीच बहुउद्देश्यीय भवन निर्माण गर्ने सम्झौता भएको थियो। अहिले कम्पनीले उक्त क्षेत्र आसपासका पूराना संरचनाहरु भत्काउने काम गरिरहेको कम्पनीका प्रमुख मनोज भेटुवाललाई जानकारी दिए। सम्झौताअनुसार कम्पनीले आफ्नै लगानीमा टावर बनाएर ३० वर्षसम्म चलाउने छ। २९ तल्ला बनाउने भनिएको सो टावर भूकम्पपछि १२ तल्ला बनाउने नक्सा स्वीकृत भएको थियो। काम सुरु भएको पाँच वर्षभित्र टावर बनाइसक्नु पर्नेछ । २३ रोपनी पाँच आना जग्गा रहेको उक्त क्षेत्रमा ४० प्रतिशत क्षेत्रफल टावरले ओगट्ने भेटवालले जानकारी दिए। भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहनेछ । त्यस्तै त्यसको माथि दोस्रो तल्लामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा वडा कार्यालय समेत रहनेछ। टावर निर्माणको लागत तीन अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। ६ महिनापछि बसपार्कको पुन: स्थानान्तरण असम्भव तीन महिना अगाडी महानगरले टावर निर्माणका लागि भनेर पूरानो बसपार्क टुडिखेलमा सारेको थियो। महानगरले ६ महिनापछि हाल पुरानो बसपार्क रहेको ठाउँमा दुई तल्लेसम्मको अण्डरग्राउण्ड बसपार्कसहितको टावर निर्माण हुने पुरानो बसपार्कलाई पहिले कै स्थानमा सार्ने बताएको थियो।
कलर्स स्मार्टफोनको खरिदमा दुई हजारसम्म छुट,१०००० एमएएचको पावरबैंक सित्तैमा
काठमाडौं। कलर्स मोबाइलले आफ्ना सेलेक्टेड स्मार्टफोनहरु केही दिनका लागि फ्रि पावर ब्याङ्क सहित मुल्यमा समेत कटौती गरेको छ। यो वर्षको सबैभन्दा स्मार्ट डिलको घोषणा गर्दै इलिट इ १५, इलिट इ २० र कलर्स के ३ स्मार्टफोनहरुको मुल्यमा भारी कटौती गर्दै दश हजार एमएएचको पावर ब्याङ्क समेत प्रदान गर्ने जनाएको छ। सीमित दिनका लागि संचालन गर्ने यो अफर चाडपर्वको आरम्भसँगैं स्मार्टफोन किन्ने योजना बनाइएका ग्राहकका लागि कलर्स मोबाइल नेपालले प्रदान गरेको यो अवसर लगानीको एक सुनौलो मौका हुन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो कम गराइएको मुल्य यस वर्षको चाडबाड आरम्भ भएसम्म जारी रहनेछ । कलर्स इ १५, जुन अपार शक्तिको स्रोत भएको स्मार्ट फोन हो र जसमा सिधै जगेडामा ५९ दिनसम्म टिक्ने ५००० एमएएच ब्याट्री रहेको छ भने ६ महिनामा बदल्न मल्ने वारेन्टी सहितको ड्रागन ट्रेल ग्लास जडित छ। ग्राहकले स्मार्टफोनको स्मार्ट कारोबारका साथ १२ हजार चार सय ९५ मा खरीद गर्न सक्नेछन्। जसको मुल्य यसभन्दा अघि १४ हजार रहेको थियो । त्यस्तै इ २० स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले स्क्रिन छ। यसको बजार मुल्य हाल १४ हजार कायम गरिएको छ भने यसभन्दा पहिले यो मोबाइलको मुल्य १६ हजार रहेको थियो। यसैगरी कलर्स के ३ पनि स्मार्ट कारोबारमा राखिएको छ । यो हार्डकोर स्मार्टफोनमा रुची राख्नेहरुका लागि अत्यन्त उपयुक्त मोबाइल रहेको कम्पनीले जनाएको छ। स्मार्टफोनको प्रचलित बजार मुल्य १७ हजार पाँचसय रहेकोमा हाल आएर यो स्मार्टफोन १६ हजारमा खरीद गर्न सकिन्छ र साथमा १०,००० एमएएच पावर ब्याङ्क पनि सित्तैंमा पाइने जनाइएको छ। चाडबाडको समय पारेर स्मार्टफोनको अपनत्वको अनुभूति गराउन हामीले प्रदान गर्न सक्ने सबैभन्दा स्मार्ट कारोबारको अफर नै फ्रि पावरब्याङ्क रहेको कलर्स मोबाइल नेपालका मार्केटिङ म्यानेजर राज जँग थापाले बताए।
तेल, दुध, विस्कूट, पाउरोटी बढी मात्रामा गुणस्तरहिन भेटिए, अधिकांश होटल रेष्टुरेन्टलाई पहेंलो स्टीकर
काठमाडौं, ३२ साउन । बजारमा उपलब्ध खाद्यन्य मध्ये १० प्रतिशत खाद्यन्य अयोग्य भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष बजार अनुगमन गर्दा उक्त तथ्य भेटिएको हो । बजार अनुगमनको क्रममा २१२० पटक गरिएको ल्याब टेष्टमा २०२ वटाको गुणस्तर प्रतिवेदन मानव स्वास्थ्यको लागि हानिकारक पाईएको विभागले जनाएको छ । त्यसमा ३९ वटा ब्राण्डका खाने तेल, १७ वटा ब्राण्डका दुध, १७ ब्राण्डका ध्यू, ७ वटा ब्राण्डका विस्कूट, ४ ब्राण्डका दाल, ४ प्रकारका पाउरोटी अखाद्य पाईएको छ । ती ब्राण्डहरुको नाम भने विभागले गोप्य राखेको छ । गत वर्ष विभागले गरेको महत्पपूर्ण कार्यको विवरण सार्वजनिक गर्दा विभागले आफूहरुले गरेको कार्यको अमूर्त विवरण सार्वजनिक गरेपनि अखाद्य तेल, दुध, ध्यू, विस्कुट, पाउरोटी जस्ता दैनिक उपभोग्य र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने ब्राण्डहरुको नाम गोप्य राखेर उपभोक्ता माथि ठेक्नेहरुको बचाऊ गरेको छ । प्रचारको लागि विभागले जारी गरेको विज्ञप्तीमा २ किलो गुणस्तरहित गुँदपाक नष्ट गरेको विवरण समेत समेटेको छ । विभागले ६६८ वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेकोमा ५८२ वटालाई पहेँलो, ३ वटालाई रातो र ८६ वटालाई हरियो स्टीकर वितरण गरेको विभागले जनाएको छ । हरियोको अर्थ गुणस्तरीय सेवा दिएको मानिन्छ । पहेँलोले कम गुणस्तर र रातो पूर्ण गुणस्तरहिन जनाउँछ । आयातित बस्तुमा २३ हजार १२३ प्रकारका बस्तुको गुणस्तर जाँच भएकोमा ४७ वटा बस्तु कानुनी मापदण्ड विपरित र गुणस्तरहित पाईएका छन् ।
केशको अफरमा अपाचे बाइक सित्तैमा
काठमाडौं, ३२ साउन । केश कन्स्ट्रक्सनको आधिकारीक विक्रेता फोर्स कन्स्ट्रक्सन एण्ड एसोसियट्स प्रा.ली. ले “दमदार मेशिन दमदार अफर, टिभिएस अपाचेको सानदार सफर” नामक योजना ल्याएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत हरेक ब्याकहो लोडरको खरिद गर्ने ग्राहकले टिभिएस अपाचे आरटिआर १६० बाइक सित्तैमा प्राप्त गर्नेछ । यो योजना सिमित अवधिका लागि सिमित संख्याका ब्याकहो लोडरमा लागु रहने कम्पनीले जानकारी दिएको छ ।
सिद्धार्थ बैंकको ग्राहकहरुलाई ग्राण्डी अस्पतालमा छुट
काठमाडौं, ३२ साउन । सिद्धार्थ बैंकले आफनो ग्राहकहरुलाई थप सुविधा दिने उदेश्यले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सिद्धार्थ बैंकका ग्राहकहरुले ग्राण्डी अस्पतालले प्रदान गर्ने शैया, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया र अन्य सेवा उपयोग गर्दा विशेष छुट पाउने भएका छन् । बैंकका अनुसार यो छुट वहिरंग, औषधि, वेलनेस चेकअप र प्रत्यारोपणमा भने पाइने छैन । सिद्धार्थ बैंकका ग्राहकहरुले सेवा उपभोग गरि सिद्धार्थ बैंकको भिसा कार्डबाट भुक्तानी गर्दा यो छुट पाउने बैंकले जनाएको छ । सिद्धार्थ बैकका पेमेन्ट सेलुसन्स डिपार्टमेन्टका प्रमुख सुरेश राज महर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मार्केटिङ्ग तथा व्यापार प्रवद्र्धन प्रमुख प्रतिक तिवारीले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।