विकासन्युज

काठमाडौं–दुबई सिधा उडान बिहीबारदेखि नियमित सञ्चालन हुँदै

काठमाडौं, १ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौं–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ । काठमाडौं– दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिए । उनका अनुसार १५८ सिट क्षमताको ए– ३२० एयरबस गन्तव्यमा उड्ने तयारीमा छ । दुबई उडानका लागि बुकिङ पूरा भइसकेको र पहिलो उडानमा यात्रु मात्र रहनेछन् । निगमको कार्यतालिका अनुसार एयरबस बिहीबार राति ११ः ३० बजे उडेर २ः १५ बजे दुबई अवतरण गर्नेछ भने भोलिपल्ट बिहान १० बजे काठमाडौँ आइपुग्नेछ । काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौं आउन चार घन्टा १५ मिनेट समय लाग्ने बताइएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा नेपाली कामदारको सङ्ख्या अत्यधिक रहेकाले पनि सम्भावना बोकेको गन्तव्य हो । निगमले सातामा तीन वटा उडान गर्नेछ । काठमाडौंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । काठमाडौं– दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर राउन्ड ट्रिपको ३२ हजार रुपैयाँ तोकेको प्रवक्ता शर्माले बताए । निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंङलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङकङमा उडान भर्दै आएको छ । दुबई उडान सुरु गरेपछि निगमको आठवटा उडान गन्तव्य पुग्नेछ । दुबई उडानमार्फत ४० हजारभन्दा बढी यात्रुलाई सेवा दिएर वाषिर्क एक अर्ब रुपैयाँ आम्दानी गर्ने निगमको लक्ष्य छ । विसं २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यावसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो । रासस

‘द सिङ्गलटन अफ ग्लेन अर्ड’को नयाँ संस्करण नेपाली बजारमा

काठमाडौं, भाद्र १ । डिएगो पीएलसीले ग्लोबल ट्रेडीङ कन्सर्न प्रा.लि.सँगको सहकार्यमा ‘द सिङ्गलटन अफ ग्लेन अर्ड’ नामक मदिरा नेपाली बजारमा सार्वजनिक गरेको छ । अंकुरित अन्नबाट तयार पारिएको तयारी मदिरा १५ र १८ वर्ष पुरानो दुई संस्करणका फरक मदिरा हुन् । १५ वर्ष पुरानो ‘द सिङ्गलटन अफ ग्लेन अर्ड’ मदिरा खरबुजा र गर्मीयामका अमिलो जातका फलफूलको संकेत गर्छ र यो फूलको सुगन्धले सुगन्धित रहेको छ । यसलाई स्वादिष्ट दालचीनी तथा अदुवा–मसलायुक्त विस्कुटबाट विकसित बनाइएको छ । कम्पनीका अनुसार सुन्तला र अंगुर रसको सम्मिश्रित बिस्कुटलाई अदुवालेपित चकलेट क्रिमको उत्कृष्टता दिन्छ । बाक्लो तर ठण्डा पेष्ट्री क्रिम, टोस्टेड नोट तथा सुख्खा कोको पाउडर । अन्तत, यी सबै पक्षले आनन्दित गर्माहट निर्माण गर्छ । कम्पनीको अनुसार ७० सेन्टी लिटरको उक्त मदिरामा ४० प्रतिशत अल्कोहलको मात्रा मिसिएको छ । नेपाली बजारमा यसको अधिकतम खुद्रा मुल्य ६९ सय रुपैयाँ रहेको छ । १८ वर्ष पुरानो ‘द सिङ्गलटन अफ ग्लेन अर्ड’ मदिरा कम मसलेदार, बढी परिपक्व, केही गाढा रङ्गमा र १२ वर्षभन्दा पुरानो प्रगाढ फ्लेवरको रहेको छ । यसमा ओखरको सुगन्ध, महको मिठास तथा स्वच्छ ताजगी पाइने छ । उक्त मदिरा पूर्ण र ठण्डा, फलफूलको स्वादले संवृद्ध, शानदार तथा सुरुचिपूर्ण रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सुख्खा तथा चकलेट स्वादको रहेको मदिरा सोही रुपमा अथवा पानीको साथ आनन्द लिन सकिने छ । ७० सेन्टी लिटरको उक्त मदिरामा ४० प्रतिशत अल्कोहलको मात्रा मिसिएको छ । नेपाली बजारमा यसको अधिकतम खुद्रा मुल्य १० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

२४ वर्षपछि औद्योगिक व्यवसायिक ऐन संशोधन हुँदै, लघु उद्योगलाई पनि उद्योग रुपमा दर्ता गर्ने व्यवस्था

काठमाडौं, १ भदौ । २४ वर्षपछि सरकारले २०४९ को औद्योगिक व्यवसायिक ऐनलाई संशोधन गर्ने भएको छ । समय सापेक्ष देशभित्र औद्योगिक वातावरण निर्माण गर्न तथा स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्न ऐन संशोधनको तयारी शुरु गरिएको हो । अद्यावधिक ऐन उद्योग व्यवसाय मैत्री नभएको र सयम सापेक्ष कानुन निर्माण गर्न ऐन संशोधनको तयारी शुरु गरिएको हो । २४ वर्षअघिको ऐनले लगानी सुरक्षाको प्रत्याभूती तथा प्रवद्र्धन गर्न नसकेको भन्दै उद्योगीबाट ऐन संशोधन गर्नुपर्ने चर्को दवाव तथा सल्लाह सुझाव आएपछि सरकारले आधा दशक अघिनै यो ऐन संशोधन गर्ने गृहकार्य शुरु गरेको उद्योग मन्त्रालयले जानकारी दिएको छ । देशमा बढ्दै गएको व्यापार घाटालाई घटाउन तथा देश भित्रै वस्तु तथा सेवाको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनका लागि उ्त्पादन बढाउनु जरुरी भएको उद्योग मन्त्रायककी सहसचिव यमकुमारी खतिवडाले बताइन् । ‘उत्पादन वृद्धि गर्न लगानीका लागि लगानी गर्ने वातावरण तयार हुनुपर्छ,’ उनले भनिन् ‘यसका साथै पूर्वाधार निर्माण तथा लगानी सु्रक्षाको प्रत्याभूती पनि सरकारले लिनुपर्छ ।’ सरकराले लगानीको सुरक्षा दिन सकेमात्र निजी क्षेत्रले लगानी गर्छ । संशोधित ऐनले लगानी प्रत्याभूती गरिदिनुका साथै विभिन्न उद्योगमा विभिन्न किसिमका सेवा सुविधा पनि विस्तार गरिएको र लगानी /उत्पादन बढाई देशलाई आत्मनिर्भर बनाउने मुल उद्देश्य भएको उनले बताइन् । औद्योगिक व्यवसाय सम्बन्धि ऐनको मस्यौदाले लघुउद्यमलाई उद्योगको रुपमा दर्ता गर्न पाउने व्यवस्था गर्न लागेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले आवधिक ऐनमा भएका कतिपय व्यवस्थाहरु औद्योगिकमैत्री नभएको र समय सापेक्ष परिमार्जन गरी देशभित्र लगानीको वातावरण सिर्जन गर्न संशोधित ऐनले जतिसक्दो छिटो पारित हुनुपर्ने बताए । उद्योग मन्त्रालयले औद्योगिक व्यवसायसम्बन्धि कानुनलाई संशोधन तथा एकिकरण गर्न बनेको विधेयकमाथि छलफल गरी प्रतिवेदन तयार पार्न संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले उपसमिति गठन पनि गरेको थियो । समितिलाई प्रतिवेदन तयार पार्न दुई साताको समय दिए पनि हाल सम्म भएको छैन । उपसमितिले ऐन उपयोग गर्ने सबै सरोकारवाला निकाय, पक्ष विपक्ष तथा ऐन संशोधन दर्ता गराएका संसद्सँग छलफल गरी प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ । देशको कुल गार्हस्थ्य उत्पानद (जीडीपी) मा उद्योग क्षेत्रको योगदान १६ प्रतिशतसम्म पुगेको थियो । पछिल्लो समय सञ्चालित उद्योग समेत बन्द तथा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा योगदान ह्वात्तै घटेको छ । गत आर्थिक २०७३/७४ मा उद्योग क्षेत्रको योगदान ६दशमलव ३ प्रतिशतले घट्ने अनुमान सरकारले गरेको छ ।

नेपाल चेम्बर एक्स्पो आश्विन ७ देखि ११ गतेसम्म हुँदै

काठमाडौं, १ भदौ । काठमाडौं, १ भदौ । नेपाल चेम्बर अफ कमर्शले काठमाडौंको भृकुटी मण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०७३’ आयोजना गर्ने भएको छ । वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा चेम्बरले यहि आश्विन ७ देखि ११ गतेसम्म उक्त कार्यक्रमको शुरु गर्न लागेको छ । नेपाली उत्पादनको बजारिकरण तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई प्रत्यक्ष सहभागी गराई नयाँ अवसरहरू प्रसस्त गरी चलायमान आर्थिक वातावरणको विकास गर्नु एक्स्पोको उद्देश्य रहेको छ । कृषि जन्य उत्पादन, आन्तरिक औद्योगिक उत्पादन, हस्तकला तथा अन्य स्वदेशी उद्यमी व्यवसायीलाई सहभागी गराई नेपाली औद्योगिक एवं वाणिज्य क्षेत्रमा रहेका प्रचुर सम्भावनाहरूलाई आम जनसमुदाय समक्ष पु¥याउने र आन्तरिक लगानीलाई अभिप्रेरित गर्ने समेत एक्स्पोको उदेश्य रहेको छ । हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक, निमार्ण सामग्री, छालाजन्य वस्तु तथा विभित्र नेपाली उत्पादनका सामग्रीका साथै अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाइनसेस्, होम डिकोर, मोडुलर किचेन, फेसन वोएर, एसेसरिज, मोबाइल, ग्याजेटस् आदीले एक्स्पोमा सहभागिता जनाउन सक्ने चेम्बरले जनाएको छ । चेम्बरका अनुसार यस एक्स्पोमा अवलोकनकर्ताहरूले आफ्ना रुचि अनुसारका उपभोग्य सामग्रीहरू खोज्न सक्ने तथा एकै थलोमा किनमेल गर्न सक्ने छन् । साथै सहभागी संस्थाहरूलाई पनि आम उपभोक्ता समक्ष पु¥याई तिनको रोजाई एवं चाहना सम्बन्धि जानकारी गराउन एक्स्पोले महत्वपूर्ण भुमिका खेल्न सक्ने चेम्बरले जनाएको छ । एक्स्पोको यस संस्करणमा जापान पार्टनर कन्ट्री रहेको छ । नेपाल र जापानबीचको कुटनितिक सम्बन्धको ६०औं वार्षिकोत्सव मनाई रहेको सन्दर्भमा, पार्टनर कन्ट्रीको रुपमा जापानको सहभागिताले मेलालाई भव्याता प्रदान गर्नेमा आयोजक विश्वस्त रहेको छ । एक्स्पोमा लगभग २७० वटा स्टलहरू रहने छन् जस्मा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूका विभित्र उत्पादनहरू प्रदर्शनमा रहने छन् । स्टल बुकिङ्ग खुल्ला गरि सकिएको छ । एक्स्पोको मुख्य प्रायोजक जापानको प्रख्यात कम्पनी माउण्ट फुजी स्प्रिङ्गस् इंक रहेको छ । यसैगरी सिजी मोबाइल तथा हेरिटेज कार्पेटले पनि गोल्ड स्पन्सरमा सहभागिता जनाई सकेको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनसेलको नयाँ ब्राण्ड लोगोको आधिकारीक घोषणा, सुपथ र नविन सेवा प्रदान गर्ने वाचा

काठमाडौं, १ भदौ । एनसेलले मंगलबार एक कार्यक्रमबीच कम्पनीको नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । ग्राहक, निजी क्षेत्र, सरकारी निकाय तथा विदेशी नियोग लगायतका प्रतिनिधि उपस्थित कार्यक्रममाझ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स तथा आजीयाटा ग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले संयुक्त रुपमा कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनीक गरेका हुन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ । रिब्राण्डिसँगै कम्पनीको रोमांचक नयाँ अध्याय शुरु भएको जनाउँदै पर्किन्सले ग्राहकमा लागि एनसेलले सुपथ मुल्यमा नविन सेवा प्रदान गर्ने बताए । “साथै आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउन प्रतिवद्ध छ,” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । एनसेलले वैशाखमा सन् २०१६ का लागि रु १२ अर्बको पुँजीगत लगानी गर्ने घोषणा गरेको थियो । यस बाहेक कम्पनीले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवासंचालन सुनिश्चित गर्न आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पुजीगत तथा संचालन लगानी गर्ने पर्किन्सले बताए । डा. विजयसुर्याले एनसेलको रिब्राण्डिङ्गसँगै कम्पनीमा आजीयाटाको अन्तर्रा्ष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको बताए । ”आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ प्यान–एशिया ट्रयाक रेकर्ड सहित नेपालमा प्रवेश गरेको छ । हामी एनसेलको विकासको योजना तथा लगानीमा प्रतिबद्ध छौं,” डा. विजयसुर्याले भने । एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवा प्रदान गर्दै आएको छ । आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ, भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध समुहको रुपमा परिचित आजीयाटाको आफु उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन् । हाल करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको एनसेल एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । कम्पनीले करिब ४० हजार नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारीको अवसर प्रदान गरेको छ । एनसेलले नेटबर्क विकासमा करिब ७४ अर्ब लगानी गरेको छ भने देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।

आइसिएफसि फाइनान्सले १७ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १ भदौ । आइसिएफसि फाइनान्सले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि शुन्य दशमलब ८९ प्रतिशत नगद लाभांश दिने निर्णय लिएको छ । उक्त निर्णय साउन ३२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको हो । समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउनेछन् ।

आरम्भ माईक्रोफाईनान्सको थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा

काठमाडौं, १ भदौ । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्थाले आफ्नो थप दुई शाखा सिन्धुली र सिन्धुपाल्चोकमा विस्तार गरेको छ । संस्थाले भदौ १ गते बुधबारदेखि सिन्धुलीको खुर्कोट र सिन्धुपाल्चोकको सुकुटेमा शाखा कार्यालयहरु सञ्चालन गरेको छ । निकट समयमै संस्थाले थप पाँच पहाडि जिल्लाहरुमा आफनो कार्यक्षेत्र बिस्तार गरी थप शाखा कार्यालय स्थापनाको लागि आवश्यक गृहकार्य गरि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले आर्थिक बर्ष २०७३/०७४ मा मात्रै थप करिब २४ करोड लगानी गरी ११ हजार भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवा उपलव्ध गराउने लक्ष्य लिएको छ । वित्तीय संस्थाले आफनो पूँजी वृद्धिका लागि भदौ १८ गते विशेष साधारण सभा समेत बोलाएको छ । पूँजी वृद्धि पश्चात संस्थाको जारी शेयर पूँजी ४ करोड रुपैयाँ तथा चुक्ता पूँजी २ करोड ४ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ । साथै आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्कासन गर्नेसंस्थाको योजना रहेको छ । हाल संंस्थाको १३ वटा शाखाहरु सञ्चालनमा छन् ।

वनारको हवाई यात्रा प्याकेजमै

  काठमाडौं, १ भदौ । नेपालको अग्रणी वायुसेवा बुद्ध एयरले वनारस उडान प्याकेजमा संचालन गर्न थालेको छ । बुद्ध एयरले हवाई भाडामा मात्रै प्याकेज दिएर बुद्ध होलिडेजमार्फत यो योजना अगाडि सारेको छ । आन्तरिक वायुसेवा बुद्ध एयरले अन्तर्राष्ट्रिय अनुमति लिएर भारतको वनारस उडान गरिरहेको छ । यो वायुसेवाले पछिल्लो समय चार्टर उडान मात्रै गरिरहेको छ । भुटानको पारोबाट ६ वर्ष अगाडि नै अन्तर्राष्ट्रिय उडान सुरु गरेको बुद्ध एयरले यो गन्तव्यमा लाभ नभएपछि बन्द गरेर नयाँ गन्तव्यका रुपमा वनारस सुरु गरेको हो । यो वायुसेवाले वनारसमा पनि चार्टर उडान मात्रै गरिरहेको छ । बुद्धले काठमाडौंबाट भारतका लागि वनारस प्याकेज सुरु गरेका छ । यो वायुसेवाले वाराणसी यात्रा ऐतिहासिक—धर्मिक—पवित्र भनेर प्याकेज नै प्रवद्र्धन गरिरहेको छ । बुद्धले तीन रात चार दिनको यस्तो प्याकेज यात्रामा हवाई भाडादेखि होटल वसोवास र घुमघामको पनि एउटै प्याकेज राख्न चाहने ग्राहकको लागि भने हवाई भाडा वाहेकको अतिरिक्त लागत शुल्क तिर्नुपर्ने व्यवस्था पनि गरेको जानकारी दिएको छ । बुद्धले हवाई भाडा मात्रै र हवाई भाडासहितको प्याकेज ल्याएको छ । हवाई भाडा वाहेकको प्याकेजमा धार्मिक पर्यटकीय प्याकेज रहेको बुद्ध एयरले जानकारी दिएको छ । बुद्धले सूचना जारी गरेर तथा पर्यटकीय प्याकेजको प्रवद्र्धन नै सुरु गरेको छ । बुद्ध एयरले आफ्नो वेवसाइटमार्फत दिएको जानकारीमा पनि तीन रात चार दिनको प्याकेजमा वनारस, सारनाथ जाने सुविधा दिएको छ । यो सुविधामा वनारण विमानस्थलमा पीकअप तथा ड्रप, वनारसमा वसोवास, वातानकुलित होटलको बेड एण्ड ब्रेकफास्ट, एसी गाडिमा घुमफिर तथा दृश्यावलोकनको सुविधासहितको प्याकेज ल्याएको जानकारी दिएको छ ।