विकासन्युज

छ महिनाभित्र एक लाख १० हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण

  काठमाडौं, ३२ साउन । निर्वाचन आयोगले सङ्कलन गरेका विवरणलाई प्रयोग गर्दै पहिलो चरणमा छ महिनाभित्र एक लाख १० हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । नेपाल बाहेक विश्वका सयभन्दा बढी देशमा राष्ट्रिय परिचयपत्र वितरण भइसकेका छन् । राष्ट्रिय परिचयपत्रप्राप्त नागरिकको सम्पूर्ण वैयक्तिक विवरण भण्डारण एक स्वचालित चिप्स मार्फत रहने व्यवस्था मिलाइएको छ । परिचयपत्र वितरणका लागि छ महिनाका अवधिमा सात हजार राष्ट्रसेवक कर्मचारी परिचालन गरिने राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिनेश भट्टराईले जानकारी दिए। नेपालको संविधानको धारा ५१च(७) मा नागरिकका सूचना र विवरण एकीकृत रुपमा व्यवस्थापन गर्न एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली लागू गरिने भनिएको छ । राष्ट्रिय परिचयपत्रप्राप्त व्यक्ति सेवा प्रवाह गर्ने सरकारी निकाय लोकसेवा आयोग, राहदानी विभाग, जिल्लास्थित मालपोत यातायात व्यवस्था स्थानीय पञ्जीकरण कार्यालय तथा स्थानीय निकाय, बैंक, टेलिकम लगायत संस्थासँग आबद्ध हुन्छ । एसियाली विकास बैंकको सहयोगमा रु ५१ करोड ७१ लाख ४२ हजार ५१ का लागतमा राष्ट्रिय परिचयपत्र प्रणालीको केन्द्रीय प्रणाली र स्थानीय प्रणाली स्थापना भई परिचयपत्र वितरण गरिसकिने छ । राष्ट्रिय परिचयपत्रबाट नागरिकको शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा सहजता, विकास निर्माण र योजना तर्जुमा, सेवा प्रवाहमा चुस्तता, प्रभावकारी र सुशासन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

रु दुई लाख अनुदानले घर बन्दैन– डा भटराई

गोरखा, ३२ साउन । गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन्। ‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि रु दुई लाख रुपैयाँको सट्टा रु पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिए । “पचास थरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन” सदरमुकाममा मंगलबार भएको कार्यक्रममा भट्टराईले भने, “पाँच लाख रुपैयाँका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् । सरकारले ५० हजार रुपैयाँका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न पनि पुग्दैन ।” संसदद्बारा अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई भट्टराईको सुझाव छ । रासस

हिमालयन बैंक र लाइफ ईन्स्युरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता

काठमाडौं, ३२ साउन । हिमालयन बैंक लिमिटेड र लाइफ ईन्स्युरेन्स नेपाल लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त व्यबस्था अनुसार बैंकले लाइफ ईन्स्युरेन्स नेपालको कर्पोरेट एजेन्टको रुपमा जीवनबीमा सेवा प्रदान गर्नेछ । सो सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा र लाइफ ईन्स्युरेन्स नेपालको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।

५० करोडका विकास योजना सम्पन्न

भद्रपुर, ३२ साउन । जिल्ला विकास समितिले गत आर्थिक वर्षमा ५० करोड नौ लाख ९९ हजार रुपैयाँ लागतका विकासका योजना सम्पन्न भएका छन् । सो आवमा एक हजार ६४ स्वीकृत योजनाका लागि कुल ६४ करोड ४६ लाख नौ हजार रुपैयाँ विनियोजन गरिएको थियो भने ९८३ योजना सम्पन्न भइसकेका छन् । अरु योजना सम्पन्न हुन नसक्दा १४ करोड ३६ लाख १० हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको योजना शाखाका कर्मचारी डिल्ली नेपालले जानकारी दिए । सम्पन्न हुन नसकेका उन्नाइसवटा योजना चालु आवमा सम्पन्न हुने बताइएको छ । रासस

पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ उच्च जोखिममा

पाल्पा, ३२ साउन । बौघागुम्बा गाविस–२, कालीगण्डकी नदीको दक्षिणको भिरालो चट्टाननिरको तीरमा अवस्थित रानीमहल बर्सेनि जोखिमको नजिक पुगेको छ । राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ । पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ मानवीय क्रियाकलापका कारण अहिले अस्तित्व बचाउने चुनौतीमा पुगेको छ । एक सय २३ वर्ष पुरानो महलमाथिबाट नवलपरासीको गैँडाकोटदेखि तिब्बतको कोरोला नाकासम्मको सडक विस्तार गरिएपछि दायाँ र बायाँ क्षेत्रबाट ठूला पहिरा बारम्बार खस्दा यस क्षेत्र पछिल्ला वर्षमा उजाडजस्तो बन्न थालेको हो । हराभरा सुन्दर, शान्त एवम् मनोरम रानीमहल दरबार नजिकैबाट पहिरो खस्दा दिनप्रतिदिन जोखिम बढेको छ । धीरशम्शेरका सत्र भाइमध्ये पाल्पाका जर्नेल खड्गशमशेरले रानी तेजकुमारीको विसं १९४९ मा पाल्पामै निधनपछि उनको सम्झनामा निर्मित दरबार करिडोर विस्तार गर्दा वातावरणीय हिसाबले पनि सुन्दरता गुम्ने अवस्था नजिकै आएको छ । महलमाथि सडक विस्तार गर्दा डोजरको प्रयोग गरिएपछि यहाँको जमिनमा असर गर्दै आएपछि माथिल्लो भाग खस्न सक्ने स्थानीय बासिन्दा प्रेमबहादुर श्रेष्ठ बताउछन्। भारतको आग्रामा राजा शाह जहाँले आफ्नी रानी मुमताजको स्मृतिमा बनाएको ताजमहलकै प्रतिरुप हेर्न धेरै भारतीय शरद ऋतुमा यहाँ आउँछन् । “रानीमहल दरबारको वरिपरिबाट पहिरो खसिसकेका छन्, सडकमाथिको पहिरो खस्दा रानीमहल समस्यामा पर्न सक्ने छ । पहिरो पहिला झैँ रानीघाटलाई छलेर दायाँबायाँबाट गयो भने रानीघाट जोगिन सक्छ, नत्र रानीमहल सङ्कटमा पर्न सक्छ” उनको अनुमान छ । सडक विस्तारका क्रममा रानीमहलमाथिको सडक कोप्रो पारिएकाले जतिबेला पनि त्यो थुम्को खस्न सक्ने देखिन्छ । सडक विस्तारका क्रममा जथाभाबी माटो फालेपछि खोलाले बगाएको माटोले समेत रानीघाट क्षेत्रको शोभा गुमाउन सहयोग गरेको स्थानीय बासिन्दा ताराबहादुर साठ्ठीघरेले बताए । करिडोरको सडकको माथिल्लो भागबाट पहिरो खसेपछि रानीमहलको सडकसमेत बगाउँदा मान्छे हिँड्नसमेत समस्या भएको छ । विश्वमै विरलै बहने उत्तर बाहिनी नदीका रुपमा रहेको कालीगण्डकी नदी भएकाले समेत यस क्षेत्रको महत्व अझै रहे पनि रानीमहलको अस्तित्व जोगाउन नसकेकामा पाल्पाको पर्यटन व्यवसायलाई समेत असर पर्नेछ । ताजमहल दरबार क्षेत्रमा घोडा बाँधिने तबेला, सैनिकले पहरा दिने स्थान, सैनिक तैनाथीस्थल आदि भग्नावशेष मर्मत भएका छन् । खड्गशम्शेर नुहाउनका लागि जाने कालीगण्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटोको नमुना पर्यटकले हेर्नलायक सम्पदाका रुपमा रहेको छ । ताजमहल दरबारको पूर्वतर्फको भागमा खड्गशम्शेरले पूजा गर्ने पूजाकोठाको नमुना मात्र छ । तीनतले दरबारमा माथिल्लो तला बैठक कोठा र बीचमा खड्गशम्शेरका कोठीहरुले राणाकालीन कला संस्कृतिको बेजोड नमुनाको प्रस्तुत गर्छन् । दरबारको बायाँतर्फ शीतलपाटी र फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई पोखरी छन् । तेस्रो तहमा दाहिनेतर्फ पाले पहरा बस्ने गृह छ भने खुड्किलाको बायाँतर्फ एकै किसिमका शिवजी र गङ्गाको दुई मन्दिरले धार्मिक पर्यटक आकर्षित हुँदै आएका छन् । युवा पुस्ताले ताजमहललाई प्रेमको प्रतीकका रुपमा लिन्छन् । प्रणय दिवसका अवसरमा यस क्षेत्रमा हजारौँ युवा प्रेमको प्रस्ताव राख्ने गर्छन् । युवा पुस्ता ताजमहलप्रति निकै आकर्षित हुँदै आएको स्थानीयवासी ताराबहादुर श्रेष्ठले बताए । रासस

सिद्धार्थ सिमेन्टद्वारा पोखरामा डिलर तथा इन्जिनियर भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं, ३२ साउन । सिदार्थ सिमेन्ट उद्योगले पोखरामा लेखनाथ, दमौली, तम्घास, पोखरा साथै स्याङ्जाका डिलर र इन्जिनियरहरु संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थ ग्रुपको तर्फबाट जगदिश अग्रवाल, मोहित अग्रवाल, रोहित अग्रवाल, अर्पित अग्रवाल आदिको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा सिदार्थ ग्रुपका संचालक राहुल अग्रवालले आफ्नो उत्पादनको बारेमा सहभागीहरुलाई प्रष्ट पार्दै सबै संगै अगाडी बढेमा सजिलै सफलता हात पर्ने कुरा उपस्थित सबैलाई सुझाव दिएका छन् । यसै क्रममा पोखरा उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष तथा बाबा हार्डवेयर एण्ड स्यानिटरी का संचालक दिलिपराज श्रेष्ठले नेपालमा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएकोमा सिद्धार्थ सिमेन्ट लाई धन्यवाद ज्ञापन साथै आगामी दिनको लागि प्रगतिको कामना गरेका छन् । सोही क्रममा लेखनाथ नगरपालिकाबाट अधिकारी ग्लास एण्ड हार्डवेयर का संचालक भरत कुमार अधिकारीले नेपालको विकाससंगै सिद्धार्थ सिमेन्टको भूमिका बारेमा प्रस्ट पार्दै सिदार्थ सिमेन्टको प्रगतिको कामना गरेका छन् । त्यसैगरी तनहुँ सिंचाई कार्यालयका इन्जिनियर सुमन भट्टराईले सरकारी कार्यका लागि धेरै नेपाली सिमेन्टहरु टेस्ट गर्दा सिद्धार्थ सिमेन्टलाई आफूले सधैं उच्च गुणस्तरकोे पाएको जानकारी दिए । उनले प्राविधिक, डिलर कम्पनीहरु र सम्पूर्ण नागरिकहरुलाई नेपाली निर्माण कार्यमा पी. पी. सि र ओ. पी. सि को बारेमा जानकारी पु¥याउन अनुरोध गर्दै पी. पी. सि. र ओ. पी. सि. सिमेन्टको बारेमा प्रस्ट पारेका छन् ।

बंगुरपालनबाट मनग्य आम्दानी, मासिक झण्डै दुईदेखि पाँच लाख रुपैयाँ कमाइ

लम्जुङ, ३२ साउन । लम्जुङका एक यूवा बंगुरपालनमा व्यस्थ छन् । जिल्ला सदरमुकाम बेसीशहर स्थित मस्र्याङ्दी किनारमा बंगुर व्यवसाय गरेका मानध्वज आले मगर प्राय बंगुर फर्म मै भेटिन्छन् । करिब एक करोडको लगानीमा व्यवसायीक रुपमा बंगुरपालनमा लागेका मगर व्यवसायबाट मनग्य आम्दानी लिन सफल भएका छन् । व्यवसायीक रुपमा बंगुलपालनमा लाग्ने उद्धेश्यले पाँच बर्ष अगाडी मगरले १९ वटा माउ खरिद गरी व्यवसाय शुरु गरेका थिए । अहिले मगरसँग २४ वटा भाले र २७ वटा पोथी बंगुर रहेको छ । आफुले बढी मात्रामा बंगुरको बच्चा उत्पादन गरेर बिक्री बितरण गर्ने गरेको उनले बताए । उनले भने, “राम्रो खालको पोथी बंगुरले एक बेतमा १४ वटासम्म बच्चा जन्माउँछ, ३५ दिन देखी २ महिना सम्ममा बच्चा बेच्न शुरु हुन्छ ।” खसी पारेको बच्चालाई ४५ सय र नपारेकोलाई ४१ सयमा बेच्ने गरेको छु, उनले भने । मगरका अनुसार महिनामा ३० भन्दा बढी बच्चा उत्पादन हुने गरेको छ । हालसम्म ४ सय भन्दा बढी बच्चा बिक्री गरिसकेको उनले बताए । मगरले भने, “एउटा माउले १ सय १० देखी १४ दिनमा बच्चा जन्माउँछ, उन्नत जातको माउ भए ८ बेत सम्म बच्चा जन्माउने गरेको छ ।” मगरले ५ रोपनी जग्गा खरीद गरी बंगुर फर्म सञ्चालन गरेका हुन् । मिलाप बंगुर फार्मको नामबाट बंगुर पालन थालेका मगर अब बंगुर व्यवसाय सँगै माछा पालन व्यवसाय थाल्ने योजनामा छन् । मगरको व्यवसायमा जिल्ला पशु सेवा कार्यालयले ७२ हजार रुपैँया अनुदान सहयोग गरेको थियो । जिल्लामा बंगुर पालनको राम्रो सम्भावना रहेको र बजार क्षेत्रमा बंगुरको मासु खपत अत्याधिक हुने भएपछि मगरले फ्रेसहाउस समेत सञ्चालन गरेका छन् । बंगुर पालन व्यवसायमा लगानी अनुसार मासिक झण्डै दुईदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । राम्रोसँग फस्टाएमा एउटा बंगुर आठदेखि १० महिना पाल्दा २५ देखि ३० हजार रुपैंयाँमा बिक्री हुने गर्दछ । स्थानीय बजारमा बंगुरको मासु प्रति किलो ३ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । कामको खोजिमा वैदेशिक रोजगारीका लागी खाडि मुलुक धाउनुभन्दा स्वदेशमा यस्तै व्यवसाय गरेर मनग्य आम्दानी लिन सकिने मगरको भनाई छ । मगरसँग हेमसायर, लेन्द्रास टेर्मोर्थ लगाएतका जातका बंगुर रहेका छन् ।

एभरेष्ट फाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, ३२ साउन । एभरेष्ट फाइनान्सले सेयरधनीलाई १४ दशमलब ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १० लाख ४९ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय लिएको छ । उक्त निर्णय शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर करिब १९० रुपैयाँमा किनबेच भइरहेको छ ।