अग्रज बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । अग्रज बहुउद्देश्यीय सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा सम्पन्न शनिबार डल्लु स्थित स्वयम्भु ब्याङक्वेटमा सम्पन्न भयो । संस्थाका अध्यक्ष घनश्यामप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सहकारीबिद् दीपकप्रकाश बास्कोटा रहेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक न्यूरोडका शाखा प्रमुख केदारनाथ उप्रेती र गोङ्गबु शाखा प्रमुख बिनोद भट्टराई अतिथि रहेका थिए । आव २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पास गर्नुको साथै अन्य बिभिन्न बिषयहरु माथि छलफल गरी निणर्य गरियो । उक्त अवसरमा कामनपा वडा नं.–१५, डल्लु आवासमा संस्थाले खरिद गरेको कार्यालय भवन उद्घाटन गरिएको संस्थाका सचिव विनयकुमार पौडेलले जानकारी दिए ।
अण्डाको मूल्य बढाइयो, अब प्रतिगोटा १२ रुपैयाँ
काठमाडौँ । नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले आज काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतीपछि नयाँ मुल्य कायम गरिएको हो । नयाँ मूल्य अनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् । आज कायम भएको नयाँ मुल्य अनुसार बिक्रिवितरण नगर्नेलाई कार्वाही गर्ने संघले जनाएको छ । आजै मुल्य लागु गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग अलग ७÷७ सदस्यीय समिति गठन गरिएको छ । किसानहरु धेरै समयदेखि अण्डको रेट नपाएर व्यवसायी धरासीय भएको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा वितरक संघले काठमाडौँमा आम उत्पादक, सप्लार्यसहरु भेला गरेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघकै पहलमा भएको मूल्य वृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा कुनै शंका नरहेको संघका अध्यक्ष पाण्डेले बताए । यसअघि भदौ ३१ गते सोही संघले चितवनमा देशव्यापी रुपमा उत्पादक, सप्लार्यस, वितरकहरुको भेला राखी घट्दै २२० रुपैयाँ पुगेको अण्डाको क्रेट रेटलाई वृद्धि गरि २५० किसान रेट कायम गरेका थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरीले सबै मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै संघको कार्यक्रमको प्रशंसा गरे ।
असोज ९ गतेदेखि भृकुटीमण्डपमा फेस्टिवल मार्केट आयोजना हुने, ७५ प्रतिशतसम्म छुट
काठमाडौँ । दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षितगर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिङ मार्केट संचालन हुने भएको छ । चाड पर्वका बेलाआवश्यक पर्ने सबैप्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले फेस्टिवल मार्केट सञ्चालन गर्ने भएको हो । ‘अफरै अफरको ब्यापारिक भेला, शपिङ गर्ने यही हो बेला’ भन्ने नाराका साथ सञ्चालनहुने फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने आयोजकसंस्थाइभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए । फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहनेछ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने व्यवस्थामिलाइएकोबिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार जुत्ता मेला फूलपातीसम्म निरन्तर चल्नेछ । जुक्ता मेलामा स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमाउपलब्ध गराइने बताइएको छ । राजधानीकाबासिन्दातथा चाडपर्व मनाउन उपत्यकाबाहिर जाने व्यक्तिहरुलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामाग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिवल शपिङ मार्केट संचालन गरिएको इभेन्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफकमर्शले गर्नेछ । त्यस्तै ललिपुर चेम्बर अफकर्मश र भक्तपुर चेम्बर अफकमर्शले पनिएक्स्पोको प्रवद्धन गर्नेछन् । असोज ९ गतेदेखि संचालन हुने फेस्टिवल सपिङ मार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।
अक्सफोर्ड विश्वविद्यालयद्वारा नेतृत्व प्रशिक्षण कार्यक्रम आयोजना
काठमाडौँ । अक्सफोर्ड विश्वविद्यालय प्रेसले विद्यालयका प्रधानाध्यापकहरुको लागि अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । प्रशिक्षण कार्यक्रममा देशभर भएका विभिन्न अग्रणी विद्यालयहरुका ७० भन्दा बढी प्रधानाध्यापकको सहभागिता रहेको थियो । आइतबार काठमाडौँको अन्नपूर्ण होटलमा प्राध्यापकहरुको लागि पहिलो पल्ट यस्तो प्रकारको अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम डा. नीलकण्ठले संचालन गरेका थिए । अन्तरक्रिया कार्यक्रम मुख्यत ःशिक्षामा ‘नेतृत्व संगै भावनात्मक बौद्धिकता‘ विकासको लागि केन्द्रित थियो ।
वायुसेवा निगममा समस्याका चाङ, कर्मचारीलाई तलब दिनै धौधौ
काठमाडाैं । यतिखेर नेपाल वायुसेवा निगम वित्तिय संकटमा छ । निगमको सुधारका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिबेदनका उल्लेख भएअनुसार निगम भारी वित्तिय संकटमा परेको हो । सरकारको ३१ अर्ब ४ करोड लगानी रहेको वायुसेवा निगम हाल सुरक्षित, असुरक्षित र अन्य गरी ४० अर्ब रुपैयाँ ऋणमा रहेको खुलेको छ । निगम यहि अवस्थामा अगाडि बढे कर्मचारीहरुलाई तलव भुक्तान गर्न पनि समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । निगमसँग सुरक्षित ऋण ३३ अर्ब ९७ करोड ४० लाख, असुरक्षित ऋण ३ अर्ब १४ करोड ७२ लाख, अल्पकालिन ऋण २ अर्ब ५५ करोड र सरकारलाई तिर्नु पर्ने ऋण ४६ करोड २५ लाख रहेको उल्लेख गरिएको छ । निगम गत असार मसान्तसम्म ५ अर्ब २१ करोड ७६ लाख सञ्चित नोक्सानीमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनमा निगमलाई एक शसक्त संस्था बनाउनका लागि पुँजी बढाउनु पर्ने जनाइएको छ । हाल सम्म नेपाल वायुसेवा निगम नाफामा नजानुको कारणहरु उल्लेख गर्दै कार्यदलले विविध समस्याहरु प्रस्तुत गरेको छ । निगम/ कानुन नै बाधक निगमलाई सशक्त संस्थाका रुपमा स्थापित गर्नको लागि वर्तमान नियमहरु नै बाधक भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल वायु सेवा निगमका नियम तथा कानुनहरु समयसापेक्ष र बढ्दो अन्तराष्ट्रिय प्रतिस्पर्धामा निगमलाई उत्कृष्ट बनाउन सक्ने खालका नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । देशको राजनितिक, सामाजिक साँस्कृतिक आर्थिक अवस्थाको साथै निगमको समेत संस्थागत संरचना र व्यवस्थापन शैली र आवश्यकता हवाई यातायात क्षेत्रको परिवर्तन आदि कारणले विद्यमान कानुन समायानुकुल परिमार्जन गर्नु पर्ने जनाइएको छ । दक्ष जनशक्तिको अभाव निगमले अत्याधुनिक जहाज ल्याइसकेपछि उक्त जहाजहरुको मर्मत सम्भार गर्न सक्ने गरी भौतिक पूर्वाधार र जनशक्तिको तयारी गर्नु पर्ने थियो, तर उक्त तयारी नभएको प्रतिवेदनमा उल्लेख गरेको छ । निगमको ह्याङ्गर एकदमै पुरानो, अव्यवस्थित र असुरक्षित रहेको छ । यस्तै निगमले ग्राउण्ड ह्याण्डलिङ व्यवस्थापनमा त्यति ध्यान नदिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै निगमले परम्परागत प्रणाली र पद्धतीबाट प्रचार प्रसार गरेको कारण पनित्यति प्रभावकारी नभएको जनाइएको छ, यसले पनि निगमको आर्थिक पक्ष त्यति सवल नभएको हो । निगमसँग भएको स्थिर सम्पती परिचालन गर्न कुनै पनि पहल नगरेकोले सोचे अनुरुप नाफा हाँसिल गर्न नसकेको जनाइएको छ । यस्तै निगमको आर्थिक व्यवस्थापनका लागि नेपाल वित्तिय प्रतिवेदन मान(एनएफआरएस) अनुसारको अवलम्बन नगरेको जनाइएको छ । समयानुकुल प्रतिस्पर्धामक क्षमता अभिबृद्धि गर्न जहाजको कमि, व्यवस्थापनमा राजनीतिक हस्तक्षेप, परम्परागत र अपारदर्शी निर्णय र प्रक्रिया, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्ने दक्ष जनशक्तिको अभाव लगायतका निगमका कमजोरी रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै कार्यदलले निगमलाई एक शसक्त संस्था र पुँजी बढाउनका लागि बहुपक्षीय लगानीकर्ता भित्र्याउँदै कम्पनी मोडलमा लैजानुपर्ने लगायत १३ सुझाब दिएको छ । दुई एयर बस ३२० खरिद गर्नु पर्ने कार्यदल संयोजक पूर्वसचिव सुशील घिमिरे र वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुबोध कर्णसहित पाँचसदस्यीय कार्यदलले नेपाल वायुसेवा निगम सुधारका लागि थप २ वटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको छ । निगममा पर्याप्त जहाज नभएकै कारण आम्दानी गर्न नसकेको निश्कर्ष निकाल्दै कार्यदलले थप जहाज खरिदको सुझाव दिएको हो । यसैगरी उडान गर्ने गन्तव्यको बिश्लेषण, विमान तथा उडान व्यवस्थापन आवश्यक भएको औंल्याएको छ । यसैगरी अनलाइन टिकटको व्यवस्था, सम्पत्ति तथा दायित्वको मुल्यांकन, कार्यसम्पादन सम्झौता गर्नुपर्ने लगाएतका सुझाव रहेका छन । निगमसंग अहिले ३२० सेरिजका २ ओटा र ३३० सेरिजका २ गरी ४ ओटा एयरवसले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । गन्तव्य तथा विमान उडान विश्लेषण/व्यवस्थापन गन्तब्यको लागत र आम्दानीको विश्लेषण गरेर मात्रै निगमलाई विमान उडानको सुनिश्चितता गर्न पनि कार्यदलले सुझाब दिएको छ । कार्यदलले निगमले हाल नाफा हुन नसक्ने गन्तव्यहरुमा हवाई उडान नगरेर घाटाका कतिपय गन्तव्यहरुमा उडान भर्दै आएकोले पनि दैनिक करोडौं घाटा बेहोर्नु परेको जनाएको छ । भाडादरमा वैज्ञानिक प्रतिस्पर्धात्मक विश्लेषण प्रणाली लागू नगरेको पाइएको प्रतिवेदनले देखाएको छ । त्यस्तै, उडान गन्तव्यको विश्लेषण गरी उपयुक्त जहाजको व्यवस्था गर्नसमेत निगमलाई कार्यदलले सुझाब दिएको छ । निगमसँग पर्याप्त जहाज नहुनु र भइरहेका जहाजहरू पनि अधिकांश समय ग्राउन्डेड रहने, मर्मतका लागि दिइएका विमान पनि समयमा नै तयार नहुने हुँदा धेरै उडान तालिका अवरुद्ध हुने गरेको प्रतिवेदनमा उल्लेख छ । सुचना तथा सञ्चार प्रविधि प्रयोगमा जोड कार्यदलले यो अवस्था सम्म आइपुग्दा पनि निगमले पुरानै र बीसौं शताब्दिको अव्यवहारिक र पुरानो प्रविधी प्रयोग गर्दै आएको जनाइएको छ । सूचना प्रविधिको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर तत्काल सम्पूर्ण उपलब्ध प्रणालीहरुमा आवद्ध हुन निगमलाई निर्देशन दिएको छ । प्रविधिको प्रयोगबाट निगममा हुने अनावश्यक खर्च पनि कम हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । निगमको सम्पत्ति तथा दायित्वको पुनर्मूल्यांकन गर्नुपर्ने कार्यदलले निगमलाई सम्पत्ति तथा दायित्व पुनर्मूल्यांकन (डिडिए) गर्न सुझाब दिएको छ । त्यस्तै, कार्यदलले निगमलाई नेपाल फाइनान्सियल रिपेयरिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार पार्नसमेत सुझाब दिएको छ । निगमको स्थिर सम्पतीको व्यवस्थापन तथा सञ्चालनका लागि पनि यसको पुनर्मुल्यांकन गर्नुपर्ने जनाइएको छ । हेलिकोप्टर र प्याकेज टुर सेवा प्रदान गर्नुपर्ने कार्यदलले निगमलाई हेलिकोप्टर सेवा सञ्चालन गर्न सुझाब दिएको छ । निगमको आम्दानी जुटाउन हेलिकप्टर सेवा सञ्चालन गर्नुपर्ने जनाइएको छ । यसका साथै टुर प्याकेज, खाना आपूर्ति सेवा, उडान तालिम केन्द्र स्थापना, जहाज मर्मतसम्भार सेवा सञ्चालन गर्नसमेत सुझाव दिएको छ ।
सन नेपाललाइफ तेश्रो वर्षमा, विविध कार्यक्रम सम्पन्न
काठमाडौँ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको दोश्रो वर्ष पूरा गरी तेश्रोे वर्षमा प्रवेश गरेको छ । कम्पनीले सोमबार तेश्रो वर्ष प्रवेश र समाजिक सेवा दिवसको अवसरमा कर्पोरेट कार्यालय लगायत शाखा कार्यायलहरुमा रक्तदान, सरसफाई, बृद्धाश्रम/हस्पिटलमा फलफुल वितरणको साथै अनाथ असाहयहरुलाई कापी, कलम वितरण गरी सम्पन्न गरेको छ ।
दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन: महानिर्देशक हमाल
काठमाडौँ । दशै, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरेका छन् । उनले भने,‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’ उनले काठमाडौं बाहिर जाने कोहीपनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने जिकिर गरे । उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको सुनाए । नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए । उनले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए । महानिर्देशक हमालले भाडा पूरानै कायम गरिएको जनाए । तर, डिलक्स र सुपरडिलक्सको लागि भने क्रमशः २०-२० प्रतिशत भाडा थप हुने उनको भनाई छ । उनले दशैं लक्षित गरेर सरकारले असोज १० गतेभित्रै सबै खाल्डाखुल्डी परिसक्ने गरी काम गरेको पनि सुनाए । उनले भने,‘हामी समयमै सबै काम पूरा गर्छौं ।’ यसैगरी वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । उनले भने,‘साउनमा मात्रै हामीले एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएका छन् । १६० फर्मलाई त २० लाखसम्म जरिवाना गराएका छौं ।’ चाडपर्वको मुखमा कालोबजारी र मुल्यवृद्धि गरेको पाईए तत्काल कारबाही गर्ने पनि उनले चेतावनी दिए । अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको पनि सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको सुनाए । उनले सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दिएको सुनाए । यस्तै ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे । त्यसैगरी उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाएका छन् । उनले भने,‘अहिले सरकारी नाटक सुरु भएको छ । बास्तविक अनुगमन भएकै छैन् ।’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले भने,‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाडौं बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्ने गरी गृहकार्यमा जुटेका छौं ।’
युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने अवधि १५ दिन थपियो
काठमाडौं । युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन गर्ने अवधि थपिएको छ । इन्स्योरेन्सले जारी गरेको १ः२.४ अनुपातको हकप्रद शेयर भर्ने समयावधि १५ दिनका लागि थपिएको हो । यसअघि साउन १४ गतेदेखि असोज ६ गतेसम्म रहेको समयावधि थपिएसँगै अब शेयरधनीहरुले असोज २३ गतेसम्म हकप्रद भर्न सक्नेछन् । सो अवधिसम्म पनि हकप्रद नभर्ने शेयरधनीहरुले पाउनुपर्ने शेयर भने लिलाम बढाबढमा बिक्री हुनेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब चुक्ता पुँजी तोक्दै सो पुँजी पुर्याउन गत असार मसान्तसम्म समयावधि दिएपछि युनाइटेड इन्स्योरेन्सले हकप्रदको बाटो लिएको थियो । हाल ३० करोड २४ लाख चुक्ता पुँजी भएको युनाइटेडको हकप्रदपश्चात् पुँजी १ अर्ब २ करोड ८१ लाख रुपैंया पुग्नेछ । युनाइटेडले हकप्रद भर्न असोज २३ गतेसम्म समय दिए पनि असोज १८ गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा भएका कारण दशैंपछि भने १ दिन मात्रै शेयर भर्ने समय हुनेछ ।