डेङ्गुका कारण पर्यटकीय क्षेत्रमा पर्यो ठूलो असर
चितवन । साउन महिनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे तर यस वर्ष यो सङ्ख्या २००को हाराहारी मात्र छ । यस वर्ष बसमा आउने पर्यटक दैनिक २०/३० को हाराहारी रहेका छन् भने समूहमा आउने २०० भन्दा कम छन् । गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच/पाँच सय हाराहारी हुने गरेको उनको भनाइ थियो । सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुई वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन् । अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका कारण ती बसले खर्च धानेको जनाइएको छ । सौराहा क्षेत्रमा डेङ्गु नदेखिए पनि जिल्लाको शहरी क्षेत्रमा डेङ्गु देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईले बताएका छन् । रत्ननगर नगरपालिकामा हालसम्म १३५ मा डेङ्गुको सङ्क्रमण देखिएको छ । ती सबै बजार क्षेत्रका हुन् । पछिल्लो समयमा सौराहा क्षेत्रमा डेङ्गुको सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए । जिल्लामा पनि असोज लागेसँगै यस्ता रोगीको सङ्ख्या घटेर गएको र अहिले डेङ्गु नियन्त्रणको क्रममा रहेको उनको भनाइ थियो । सौराहाका १२० होटलको सात हजार हाराहारी पर्यटक अटाउने क्षमता छ तर यहाँ डेङ्गुको सङ्क्रमण छैन भन्ने सन्देश समयमा नै पुर्याउन सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीहरूको भनाइ छ । यति बेला यूरोपेली र चिनियाँ पर्यटक मात्र सौराहा आएका छन् । क्रमशः आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै जाने बताइएको छ । भरतपुर र आसपासका होटलमा पनि असर भरतपुर र गैँडाकोट क्षेत्रमा रहेका पर्यटकीय होटलमा पनि डेङ्गुका कारण असर परेको छ । रेष्टुराँको व्यापारमा कमी आएको छ भने ठूला कार्यक्रमसमेत स्थगित भएका छन् । गैँडाकोटसिथत द नारायणी रिसोर्टका महाप्रबन्धक वसन्त पराजुलीका अनुसार चार दिनका लागि आवासीय कार्यक्रम अग्रिम तय भएकोमा डेङ्गुकै कारण स्थगित भएको छ । भदौ २६ देखि २९ गतेसम्मका लागि कार्यक्रम तय भएकामा डेङ्गुको त्रासका कारण कार्यक्रम स्थगित भएको उनले बताए । अन्यले पनि आफ्ना कार्यक्रम पछाडि सारेका छन् । पराजुलीका अनुसार डेङ्गुको सङ्क्रमण घट्दै गएकाले पूर्ववत् अवस्थामा व्यवसाय फर्कने अनुमान गरिएको छ । होटल रोयल सेञ्चुरीका ‘अप्रेसन म्यानेजर’ राजेन्द्र थापाका अनुसार रेष्टुराँको व्यापारमा ४० प्रतिशतसम्म गिरावट आएकामा केही दिनयता क्रमशः व्यापार बढ्न थालेको छ । कोठमा बस्ने र रेष्टुराँमा खान आउनेको सङ्ख्या नै घटेको थियो तर असोज लागेसँगै डेङ्गुको सङ्क्रमणमा कमी आएको छ । दशैँको समयमा डेङ्गुको सङ्क्रमण नियन्त्रणमा आउन सकेमा पूर्ववत् अवस्थामा व्यापार फर्कने व्यवसायीको अनुमान छ । स्थानीय पर्यटन विकास समितिका जिल्ला महासचिव विश्व सुवेदीले डेङ्गुका कारण यहाँ आउने धेरै पर्यटकले भ्रमण स्थगन गरेको बताए । रासस
सेञ्चुरी कमर्सियल बैंकद्धारा खानेपानी फिल्टर वितरण
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको पनौती शाखाले विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका, वडा नं १०, शिखरपुरमा रहेको शीतलादेवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको हो । खानेपानी फिल्टर पनौती शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहालले ब्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद आचार्य र प्रधानाध्यापक क्षेत्रप्रसाद अधिकारीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता स्थानीय समाजसेवी ईश्वर दाहालले गरेका थिए ।
एनआईसी एशियाका ग्राहकलाई सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा १५% छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच सम्झौता भएको छ । एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआर मार्फत् सामान खरिद गर्दा १५% वा अधिकतम रु. ५०० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एनआईसी एशिया बैंकको मोबाइल बैंक एपको क्यूआर मार्फत् भुक्तानी गर्दा १५% रकम वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सक्ने छन् । यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने जनाइएको छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रालिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृतसन्दिप प्रधानाङ्गले हस्ताक्षर गरे । असोज महिनाको पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहकहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशीलः उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गरेका छन् । उनले भने, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ ।” सरकारले गरेका केही नीतिगत व्यवस्थाले व्यवसायीलाई अप्ठेरो पारेको भए त्यसको समाधान का लागि छलफल गर्न सकिने उनले बताए । “यस क्षेत्रका समस्या बुँदागत रुपमा ठाउँमा राखौं, म स्वागत गर्न चाहन्छु । ती समस्या समाधान गर्न सरकारले पूराका पूरा सहयोग गर्नेछ”, उपप्रधानमन्त्री पोखरेलले भने । वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवालासँगको छलफलमा टुङ्ग्याउनुपर्ने बताएका छन् । नीति, निर्णय गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्नेमा जोड दिँदै उनले सरकार पछिल्लो समय सबै सरोकारवाला पक्षसँग समन्वय गर्ने पक्षमा रहेको बताएका छन् । वैदेशिक रोजगारीको प्रभाव र परिणाम अत्यन्त ज्यादा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले रोजगारीले नेपालको अर्थतन्त्र, सामाजिक, सांस्कृतिक तथा व्यक्तिको जीवनमा पारेको प्रभावका बारेमा छलफल गर्न आग्रह गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरे । “व्यवसायीसँग कुनै वैरभाव छैन, म मन्त्री रहुन्जेल यस क्षेत्रको सुधारको पक्षमा काम गरिरहन्छु”, उनले भने, “व्यवसायीको समस्या सुन्न चाहन्छु एक्लाएक्लै भए पनि समूहगत भए पनि म व्यवसायीको समस्या सुन्छु तर त्यो व्यवहारिक हुनुपर्छ । यो सरकार व्यवसायीकै हो ।” व्यवसायीको सुझाव सरकारले ग्रहण गर्ने उल्लेख गर्दै मन्त्री विष्टले सरकार र व्यवसायीबीचको छलफललाई औचित्यपूर्ण बनाउन आग्रह गरेका छन् । “व्यवसायीको समस्या पनि सुनौला, आमजनताको समस्या पनि सरकारले सुन्नै पर्छ । रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका छन्, ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्दछ”, उनले भने । वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको समेत बताए । वैदेशिक रोजगार विभागका महानिर्देक डा. भीष्मकुमार भुसालले प्रणालीको सुधारको पक्षमा विभागसँग हातेमालो गर्न व्यवासायीलाई आग्रह गरेका छन् । सङ्घका महासचिव सरोजकुमार पोखरेलले व्यवसायीको हक, हित र अधिकारका लागि सङ्घ अगाडि बढेको बताए । राज्यले व्यवसायीलाई उचित सम्बोधन गर्न नसकेको गुनासो उनको थियो ।
नेत्रज्योति सङ्घद्वारा दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा
गलकोट । नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो । सङ्घले वार्षिक रूपमा गर्दै आएको निःशुल्क आँखा शिविरका क्रममा आँखाको दृष्टि कमजोर भई चश्मा लगाउनुपर्ने विद्यार्थीलाई एकमुष्टरूपमा चश्मा वितरण गरेको हो । नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय कार्यालयको सहयोगमा वार्षिक रुपमा विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसरी, एक वर्षमा जिल्लाका ३५ निजी तथा सामुदायिक विद्यालयका झण्डै १५ हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको नेत्रज्योति सङ्घका जिल्ला सभापति भरत पुरीले बताएका छन् । उनका अनुसार १०० विद्यार्थीको आँखा परीक्षण गर्दा औषत रूपमा तीन विद्यार्थीलाई दृष्टिमा समस्या हुने गरेको पाइएको छ । सङ्घले प्राविधिक रुपमा शिविरमै चश्मा उपलब्ध गराउन समस्या हुने भएकाले एकमुष्ट चश्मा वितरण गर्दै आएको छ । सङ्घले ५० वर्ष नाघेका वृद्धवृद्धालाई समेत आँखा शिविरमार्फत निःशुल्क चश्मा वितरण गर्दै आएको छ । यो वर्षमात्रै २०० वृद्धवृद्धालाई निःशुल्क चश्मा वितरण गरिएको छ । वृद्धवृद्धालाई वितरण गरिने चश्मा पहिल्यै निर्माण गरिने भएका कारण आँखा शिविरमै हस्तान्तरण गर्दै आइएको सङ्घका सचिव बालकृष्ण शर्माले बताए । गत वर्ष १५० विद्यार्थीलाई चश्मा वितरण गरिएको थियो भने यस वर्ष विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर २०० पुगेको छ । आँखाको नियमित परीक्षण अभावमा धेरै विद्यार्थीको दृष्टि कमजोर हुँदै गइरहेको भन्दै नेत्रज्योति सङ्घले विद्यालयमै पुगेर आँखा शिविर सञ्चालन गर्दै आएको छ । रासस
नेपालगञ्जमा आर्थिक विकास परियोजना शुरू हुँदै, चार क्षेत्रमा विशेष प्राथमिकता
राँझा । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना शुरू हुने भएको छ । जर्मन विकास नियोग (जिआइजेड)ले उपमहानगरपालिकामा सो परियोजना सञ्चालन गर्न लागेको नगरप्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् । उनका अनुसार, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरी चार क्षेत्रमा परियोजनाले विशेष प्राथमिकता दिएको छ । कार्यक्रमले गाउँ र शहरलाई जोड्ने उनको दाबी छ । उनले भने, “यसले गाउँनगरलाई जोड्दै व्यवसाय पनि प्रोत्साहन पनि गर्नेछ ।” सन् २०१९ को जुन १ देखि कार्यान्वयन प्रक्रियामा रहेको परियोजना २०२२ को मे १ सम्म सञ्चालन हुनेछ । प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष आइपी खरेलले सरकार र जनताको आवश्यकताअनुसार दातृ निकायका कार्यक्रम सञ्चालन हुनुपर्ने बताएका हुन् । जिआइजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले उक्त कार्यक्रमले उपमहानगरपालिकाले लाभ लिनसक्ने बताए । उनका अनुसार, उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि प्राथमिकता तोकेपछि जिआइजेडले कार्यक्रम र बजेटको निर्णय गर्नेछ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य, जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल व्यवसायी सङ्घ नेपालगञ्जका अध्यक्ष भीमलाल कँडेलले परियोजना कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिएका छन् । रासस
दुई दिनमा २० हजार यात्रुले लिए अग्रिम टिकट
काठमाडौं । नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २६ गते भएको निर्णयअनुसार यही असोज ५ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले लामो दूरीका सवारीसाधनलाई मात्र अग्रिम टिकट खुलाइएकामा आइतबार १४ हजार र सोमबार छ हजार यात्रुले अग्रिम टिकट लिएका जानकारी दिएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङलगायत क्षेत्रमा जाने सवारीसाधनका लागि भने असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने महाप्रबन्धक कुँवरले बताए । टिकट बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म वितरण गर्ने गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए । “दशैँमा झण्डै २५ लाख हाराहारीमा यात्रु उपत्यका बाहिरिने भएकाले हामीले सवारीसाधनको राम्रो व्यवस्था मिलाएका छौँ”, उनले भने । रासस
कक्षा ११ को नतिजा प्रकाशित
काठमाडाैं । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो । कसको कति जिपिए ? नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ३१९, ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ७७२, २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ३२ हजार २५३, २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५४ हजार ८१६, २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८४ हजार २३९ रहेकाे छ । यस्तै १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ६५०, १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ३७, ०.८१ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार १७१ र ० देखि ०.८१ जीपीए ल्याउने विद्यार्थीको संख्या २१ हजार ३४६ जना रहेको जनाइएकाे छ ।