
काठमाडौँ । दशै, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले दशैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरेका छन् । उनले भने,‘यात्रा सहज बनाउनको लागि हामी २०–२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’
उनले काठमाडौं बाहिर जाने कोहीपनि यात्रुले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने जिकिर गरे । उनले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको सुनाए । नागरिक कक्षका कारण नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए । उनले यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
उनले चाडपर्वलाई लक्षित गरेर प्रदेश, स्थानीय सरकाले पनि आफ्नो तवरबाट यातायात क्षेत्रको व्यवस्थापन गर्ने विश्वास दिलाए । महानिर्देशक हमालले भाडा पूरानै कायम गरिएको जनाए । तर, डिलक्स र सुपरडिलक्सको लागि भने क्रमशः २०-२० प्रतिशत भाडा थप हुने उनको भनाई छ । उनले दशैं लक्षित गरेर सरकारले असोज १० गतेभित्रै सबै खाल्डाखुल्डी परिसक्ने गरी काम गरेको पनि सुनाए । उनले भने,‘हामी समयमै सबै काम पूरा गर्छौं ।’
यसैगरी वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाए । उनले भने,‘साउनमा मात्रै हामीले एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएका छन् । १६० फर्मलाई त २० लाखसम्म जरिवाना गराएका छौं ।’ चाडपर्वको मुखमा कालोबजारी र मुल्यवृद्धि गरेको पाईए तत्काल कारबाही गर्ने पनि उनले चेतावनी दिए ।
अहिले देशभरि ७३ वटा सुपथ मुल्यका पसलहरु सञ्चालनमा रहेको पनि सुनाए । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको सुनाए । उनले सरकारले आफैं घाटा व्यहोरेर भएपनि नुन, चिनी, डिडिसीको घ्यु, खसी बोका, चामलमा सहुलियत दिएको सुनाए ।
यस्तै ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे ।
त्यसैगरी उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाएका छन् । उनले भने,‘अहिले सरकारी नाटक सुरु भएको छ । बास्तविक अनुगमन भएकै छैन् ।’
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको सुनाए । सिटौलालले भने,‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाडौं बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्ने गरी गृहकार्यमा जुटेका छौं ।’