काठमाडाैं । यतिखेर नेपाल वायुसेवा निगम वित्तिय संकटमा छ । निगमको सुधारका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिबेदनका उल्लेख भएअनुसार निगम भारी वित्तिय संकटमा परेको हो । सरकारको ३१ अर्ब ४ करोड लगानी रहेको वायुसेवा निगम हाल सुरक्षित, असुरक्षित र अन्य गरी ४० अर्ब रुपैयाँ ऋणमा रहेको खुलेको छ ।
निगम यहि अवस्थामा अगाडि बढे कर्मचारीहरुलाई तलव भुक्तान गर्न पनि समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । निगमसँग सुरक्षित ऋण ३३ अर्ब ९७ करोड ४० लाख, असुरक्षित ऋण ३ अर्ब १४ करोड ७२ लाख, अल्पकालिन ऋण २ अर्ब ५५ करोड र सरकारलाई तिर्नु पर्ने ऋण ४६ करोड २५ लाख रहेको उल्लेख गरिएको छ ।
निगम गत असार मसान्तसम्म ५ अर्ब २१ करोड ७६ लाख सञ्चित नोक्सानीमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनमा निगमलाई एक शसक्त संस्था बनाउनका लागि पुँजी बढाउनु पर्ने जनाइएको छ । हाल सम्म नेपाल वायुसेवा निगम नाफामा नजानुको कारणहरु उल्लेख गर्दै कार्यदलले विविध समस्याहरु प्रस्तुत गरेको छ ।
निगम/ कानुन नै बाधक
निगमलाई सशक्त संस्थाका रुपमा स्थापित गर्नको लागि वर्तमान नियमहरु नै बाधक भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल वायु सेवा निगमका नियम तथा कानुनहरु समयसापेक्ष र बढ्दो अन्तराष्ट्रिय प्रतिस्पर्धामा निगमलाई उत्कृष्ट बनाउन सक्ने खालका नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
देशको राजनितिक, सामाजिक साँस्कृतिक आर्थिक अवस्थाको साथै निगमको समेत संस्थागत संरचना र व्यवस्थापन शैली र आवश्यकता हवाई यातायात क्षेत्रको परिवर्तन आदि कारणले विद्यमान कानुन समायानुकुल परिमार्जन गर्नु पर्ने जनाइएको छ ।
दक्ष जनशक्तिको अभाव
निगमले अत्याधुनिक जहाज ल्याइसकेपछि उक्त जहाजहरुको मर्मत सम्भार गर्न सक्ने गरी भौतिक पूर्वाधार र जनशक्तिको तयारी गर्नु पर्ने थियो, तर उक्त तयारी नभएको प्रतिवेदनमा उल्लेख गरेको छ । निगमको ह्याङ्गर एकदमै पुरानो, अव्यवस्थित र असुरक्षित रहेको छ । यस्तै निगमले ग्राउण्ड ह्याण्डलिङ व्यवस्थापनमा त्यति ध्यान नदिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै निगमले परम्परागत प्रणाली र पद्धतीबाट प्रचार प्रसार गरेको कारण पनित्यति प्रभावकारी नभएको जनाइएको छ, यसले पनि निगमको आर्थिक पक्ष त्यति सवल नभएको हो । निगमसँग भएको स्थिर सम्पती परिचालन गर्न कुनै पनि पहल नगरेकोले सोचे अनुरुप नाफा हाँसिल गर्न नसकेको जनाइएको छ । यस्तै निगमको आर्थिक व्यवस्थापनका लागि नेपाल वित्तिय प्रतिवेदन मान(एनएफआरएस) अनुसारको अवलम्बन नगरेको जनाइएको छ ।
समयानुकुल प्रतिस्पर्धामक क्षमता अभिबृद्धि गर्न जहाजको कमि, व्यवस्थापनमा राजनीतिक हस्तक्षेप, परम्परागत र अपारदर्शी निर्णय र प्रक्रिया, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्ने दक्ष जनशक्तिको अभाव लगायतका निगमका कमजोरी रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै कार्यदलले निगमलाई एक शसक्त संस्था र पुँजी बढाउनका लागि बहुपक्षीय लगानीकर्ता भित्र्याउँदै कम्पनी मोडलमा लैजानुपर्ने लगायत १३ सुझाब दिएको छ ।
दुई एयर बस ३२० खरिद गर्नु पर्ने
कार्यदल संयोजक पूर्वसचिव सुशील घिमिरे र वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुबोध कर्णसहित पाँचसदस्यीय कार्यदलले नेपाल वायुसेवा निगम सुधारका लागि थप २ वटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको छ । निगममा पर्याप्त जहाज नभएकै कारण आम्दानी गर्न नसकेको निश्कर्ष निकाल्दै कार्यदलले थप जहाज खरिदको सुझाव दिएको हो ।
यसैगरी उडान गर्ने गन्तव्यको बिश्लेषण, विमान तथा उडान व्यवस्थापन आवश्यक भएको औंल्याएको छ । यसैगरी अनलाइन टिकटको व्यवस्था, सम्पत्ति तथा दायित्वको मुल्यांकन, कार्यसम्पादन सम्झौता गर्नुपर्ने लगाएतका सुझाव रहेका छन । निगमसंग अहिले ३२० सेरिजका २ ओटा र ३३० सेरिजका २ गरी ४ ओटा एयरवसले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
गन्तव्य तथा विमान उडान विश्लेषण/व्यवस्थापन
गन्तब्यको लागत र आम्दानीको विश्लेषण गरेर मात्रै निगमलाई विमान उडानको सुनिश्चितता गर्न पनि कार्यदलले सुझाब दिएको छ । कार्यदलले निगमले हाल नाफा हुन नसक्ने गन्तव्यहरुमा हवाई उडान नगरेर घाटाका कतिपय गन्तव्यहरुमा उडान भर्दै आएकोले पनि दैनिक करोडौं घाटा बेहोर्नु परेको जनाएको छ ।
भाडादरमा वैज्ञानिक प्रतिस्पर्धात्मक विश्लेषण प्रणाली लागू नगरेको पाइएको प्रतिवेदनले देखाएको छ । त्यस्तै, उडान गन्तव्यको विश्लेषण गरी उपयुक्त जहाजको व्यवस्था गर्नसमेत निगमलाई कार्यदलले सुझाब दिएको छ । निगमसँग पर्याप्त जहाज नहुनु र भइरहेका जहाजहरू पनि अधिकांश समय ग्राउन्डेड रहने, मर्मतका लागि दिइएका विमान पनि समयमा नै तयार नहुने हुँदा धेरै उडान तालिका अवरुद्ध हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
सुचना तथा सञ्चार प्रविधि प्रयोगमा जोड
कार्यदलले यो अवस्था सम्म आइपुग्दा पनि निगमले पुरानै र बीसौं शताब्दिको अव्यवहारिक र पुरानो प्रविधी प्रयोग गर्दै आएको जनाइएको छ । सूचना प्रविधिको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर तत्काल सम्पूर्ण उपलब्ध प्रणालीहरुमा आवद्ध हुन निगमलाई निर्देशन दिएको छ । प्रविधिको प्रयोगबाट निगममा हुने अनावश्यक खर्च पनि कम हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
निगमको सम्पत्ति तथा दायित्वको पुनर्मूल्यांकन गर्नुपर्ने
कार्यदलले निगमलाई सम्पत्ति तथा दायित्व पुनर्मूल्यांकन (डिडिए) गर्न सुझाब दिएको छ । त्यस्तै, कार्यदलले निगमलाई नेपाल फाइनान्सियल रिपेयरिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार पार्नसमेत सुझाब दिएको छ । निगमको स्थिर सम्पतीको व्यवस्थापन तथा सञ्चालनका लागि पनि यसको पुनर्मुल्यांकन गर्नुपर्ने जनाइएको छ ।
हेलिकोप्टर र प्याकेज टुर सेवा प्रदान गर्नुपर्ने
कार्यदलले निगमलाई हेलिकोप्टर सेवा सञ्चालन गर्न सुझाब दिएको छ । निगमको आम्दानी जुटाउन हेलिकप्टर सेवा सञ्चालन गर्नुपर्ने जनाइएको छ । यसका साथै टुर प्याकेज, खाना आपूर्ति सेवा, उडान तालिम केन्द्र स्थापना, जहाज मर्मतसम्भार सेवा सञ्चालन गर्नसमेत सुझाव दिएको छ ।