केएल टावरमा सामान किन्दा बैंकक ट्रिपदेखि मोटरसाइकल उपहार
काठमाडौँ । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका अनुसार दैनिकउपहार योजनाअन्तरगत हरेक दिन एक जोडीलाई एफक्युबसिनेमाको टिकट, एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ । त्यसैगरी साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुमक्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । बम्पर उपहारमा प्रथम उपहार स्वरुप एक जनालाई यामाहाको एफजेड एसएफआई भीथ्री मोटरसाइकल बितरण गरिने मेला संयोजक हीरामणी तिमिल्सिनाले बताए । दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कूटर बितरण गरिनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइनेछ । सान्त्वना उपहार स्वरुप टाइमेक्सको घडी एक जनालाई बितरण गरिनेछ । उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामानखरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमल्सिनाले जानकारी दिए । चाडपर्वका बेलाउपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको हो । असोज १ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक २५ गतेसम्म चल्नेछ ।
कृषि परियोजनाको ११ करोड बजेट सार्वजनिक
भद्रपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि रु १० करोड ९१ लाख खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । आव २०७६/७७ का लागि बजेट तथा कार्यक्रम अनुसार मकै जोन कार्यक्रमका लागि रु एक करोड २४ लाख ६५ हजार, धान सुपरजोनका लागि रु पाँच करोड ८८ लाख ८५ हजार, रबर जोनमा रु एक करोड १४ लाख ३० हजार, सुपारी जोनका लागि रु एक करोड १६ लाख ८५ हजार, अन्य खर्चका लागि रु नौ लाख २६ हजार र कर्मचारीको तलब भत्तालगायत प्रशासनिक खर्चका लागि रु एक करोड ३७ लाख नौ हजार खर्च हुने कार्यालयका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिएका छन् । उनले १० वर्षे परियोजनामा आधारित प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम झापाका १५ वटै स्थानीय तहमा यसै आर्थिक वर्षदेखि सञ्चालन गरिने बताए । यसअघि कचनकवल गाउँपालिकामा मात्र सुपरजोन परियोजना सञ्चालित थियो । यस वर्ष परियोजनाअन्तर्गत ‘कष्टम हाइरिङ’मा किसानलाई अनुदान, खेती प्रबर्धन, क्षमता अभिवृद्धि, तालिम, गोष्ठी, कृषि औजार वितरण, प्रचारप्रसार सामग्री, अनुगमन लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको उनले बताए । गत वर्षसम्म छुट्टाछुट्टै रुपमा सञ्चालित सुपरजोन, सुपारी जोन र रबर जोन अब एउटै एकाइबाट सञ्चालित हुने उनले जानकारी दिएका छन् । कार्यालयका अधिकृत लक्ष्मी गुरागाईंले जिल्लाका सबै स्थानीय तहलाई धान सुपरजोन सञ्चालनका लागि दुई सय हेक्टर जग्गाको प्लट मिलाएर आ–आफ्ना क्षेत्रको विवरण पेश गर्न आग्रह गरिए पनि हालसम्म कसैले उपलब्ध नगराएको बताएका हुन् । उनले कनकाई नगरपालिका र झापा गाउँपालिकाले मकै जोन क्षेत्र घोषणा गरेर काम गरिरहेको जानकारी दिए । कार्यक्रममा कनकाईका प्रमुख राजेन्द्र पोखरेलले किसानलाई अनुदान दिँदा सुपरजोनले स्थानीय तहसँग समन्वय नगरी नदिन आग्रह गरेका छन् । उनले सरकारले उत्पादनमा वृद्धि गर्न र कृषिमा किसानको लागत घटाउन परियोजना लागू गरेको बताए । गाउँपालिकाका प्रमुख जयनारायण साहले झापामा लागू भएका तीन वटै जोनका कारण युवा स्वरोजगार हुने, गरिबी घट्ने र किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने भएकाले सफल बनाउन सक्दो सहयोग गर्ने बताएका छन् । रासस
ह्वावे नोभा फाइभ टी नेपाली बजारमा सार्वजनिक
काठमाडौँ । ह्वावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले नयाँ स्मार्टफोन ह्वावे नोभा फाइभ टी आइतबार नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालभर उपलब्ध रहेको नोभा फाइभ टीले ग्राहकहरूलाई सहज रूपमा मोबाइल फोन प्रयोगको प्रिमियम अनुभव प्रदान गर्दछ । आकर्षक र फ्युचरिस्टिक डिजाइन र पाँचवटा फाइभ एआई क्यामराहरू भएको नोभा फाइभ टी फेसनमा चाख राख्ने सामाजिक सञ्जालका प्रयोगकर्ताहरूका लागि सर्वोत्तम स्मार्ट फोन हो । ह्वावे नोभा फाइभ टी नेपालमा असोज ५ देखि उपलब्ध हुनेछ र यसको मूल्य ५३,९०० रुपैयाँ तोकिएको छ । ह्वावे नोभा फाइभ टी का प्रयोगकर्ताहरू प्रिमियम मोबाइल फोटो र भिडियो क्यामराहरूबाट लाभान्वित हुन्छन् साथै रमाइलापलहरू कैद गर्नका लागि सहज बनाउँछ । नोभाफाइभ टीमा भएको २२.५ ह्वावे सुपरचार्ज प्रविधिले फोन चाँडै चार्ज हुन्छ । ६.२६ इन्च ह्वावे पन्च फूल भ्यू डिस्प्ले भएको नोभाफाइभ टी को तौल मात्र १७४ ग्राम रहेको छ । तीन वटा आकर्षक रंगहरूनीलो (क्रस ब्ल), कालो र बैजनी (मिडसमर पर्पल)मा उपलब्ध रहेको छन् ।
काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी चिनियाँ कम्पनीलाई
काठमाडौं । लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाईजिम्मेवारी दिएको हो । बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ । बैठकले पश्चिम सेती तथा एसआर छ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ । यातायातबारे एकीकृत सुझाव दिन निर्देशन बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भने, “सबै काम समयमा योजनाबद्ध रुपमा सम्पन्न हुनुपर्छ, मन्त्रालय र निकायले एकार्कामा समन्वय गर्नुपर्छ, त्यसका लागि चाँडो प्रतिवेदन प्राप्त होस् ।” बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णय र प्रगतिबारे प्रस्तुति गरेका थिए । रासस
स्कुल बिदा गर्नैपर्ने निर्णयबाट पछि हट्यो महानगर, दशैं तिहारमा अब कतिदिन हुन्छ बिदा ?
काठमाडौं । दशैं र तिहारको बीचमा कलेज तथा विद्यालय सञ्चालन गर्न नपाउने निर्णयबाट काठमाडौं महानगरपालिका पछि अटेको छ । महानगरपालिका अन्तर्गतको शिक्षा विभागले गत फागुनमा उपत्यकाभरका सम्पूर्ण विद्यालयहरुले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी गरेको थियो । जसमा विद्यालयहरुले निश्चितभन्दा बढी शुल्क लिन नपाउने, पुस्तकहरु आफैं बिक्री गर्न नपाउने, विद्यालय पोशाक आफैं बिक्री गर्न नपाउने, दशैं तिहारको बीचमा अनिवार्य रुपमा विद्यालय बिदा गर्नुपर्ने लगायतको व्यवस्था गरिएको थियो । तर दशैंको मुखमा आएपछि महानगर पूर्व निर्णयबाट पछि हटेको हो । काठमाडौं महानगरपालिका शिक्षा विभागकी प्रमुख निर्मला केसीले विद्यालयहरुले आफू अनुसार बिदा गर्न सक्ने बताइन् । ‘प्राइभेट स्कुलहरुले प्याब्सन वा एनप्याब्सनले तोकेअनुसार बिदा गर्छन्, त्यसो हुँदा तिहारसम्म बिदा हुनसक्छ, सरकारी स्कुलहरु भने पूर्णिमापछि सञ्चालन हुन्छ’ उनले भनिन् । यो वर्ष निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र राष्ट्रिय आवासीय विद्यालय संगठन (एनप्याब्सन) अन्तर्गत रहेका विद्यालयहरुमा दशैंको फुलपातीदेखि छठको भोलिपल्टसम्म बिदा हुने जनाइएको छ त्यसो गर्दा ३३ दिन बिदा हुन्छ । प्याब्सनका महासचिव कुमार घिमिरेले प्याब्सनले अघिल्ला वर्षअरुजस्तै यस वर्ष पनि दशैं र तिहारको बीचमा बिदा दिने बताए । उनले यो बीचमा रहेको बिदा बर्षे र हिँउदे बिदाबाट कटाएर दिने व्यवस्था गरिएको समेत बताए । यद्यपि वार्षिक २३० देखि २४० दिनसम्म कक्षा सञ्चालन गर्नुपर्ने प्याब्सनको नियम रहेको उनको भनाई थियो । सरकारी विद्यालयहरु भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुने र तिहार र छठपर्वमा फेरि बिदा हुने बताइएको छ । यसो गर्दा बीचमा रहेको १२ दिनको लागि विद्यार्थीहरु पुनः स्कुल जानुपर्छ । अहिले सरकारी बिदाहरुबाहेक विद्यालयहरु कुन समयमा बिदा दिने भन्ने निर्णय स्थानीय तहबाट नै हुन्छ । भुगोल र अवस्थाअनुसार स्थानीय तहहरुले कुन समयमा विद्यालय खोल्ने र कुन समयमा बन्द गर्ने निर्णय गर्न सक्छ । हिमाली भेगका स्थानीय तहहरुले हिँउदमा मात्रै बिदा गर्छन्, पहाडी भेगका विद्यालयहरुले जाडो बिदा गर्दैनन् बरु धान रोप्ने र धान भित्र्याउने समयमा विद्यालय बन्द गर्छन् । तराई भेगमा भने बढी गर्मी हुने भएकोले गर्मी समयमा विद्यालय बन्द गर्छन् । काठमाडौं उपत्यकामा हाल ६० लाख जनसंख्या रहेको अनुमान गरिएको छ जसमध्ये १८ लाख जनसंख्या मात्रै काठमाडौं भित्रका छन् । दुई तिहाईभन्दा बढी जनसंख्या उपत्यका बाहिरको हुने र दशैंदेखि तिहारसम्म उनीहरु गाउँ जाने भएकोले त्यसो गर्नु उपयुक्त हुने भए पनि पछिल्लो समय सरकारी विद्यालयहरुले दशैं र तिहारको बीचमा पनि कक्षा सञ्चालन गर्ने अभ्यास सुरु गरेका छन् । काठमाडौं महानगरपालिकाको गत फागुनको परिपत्रपछि सरकारी विद्यालयका विद्यार्थी र शिक्षकहरु समेत उत्साहित भएका थिए तर अहिले विभागले बिद्यालयहरुलाई आफूखुसी निर्णय गर्ने छुट दिएको छ । तर विद्यालयहरुले कम्तीमा २२० दिन स्कुल खोल्नुपर्ने र १९६ दिन कक्षा सञ्चालन गर्नेपर्ने व्यवस्था भने रहेको शिक्षा विभाग प्रमुख केसीले बताइन् ।
श्री एयरलाइन्सद्वारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट
काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो । घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । त्यस्तै ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले रु ५०० मात्रै तिरेर श्री एयरलाइन्सको जहाज चड्न पाउने कम्पनीले जनाएको छ । छुटको टिकट लिनका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइटबाट टिकट लिएकाले सो सुविधा पाउने जनाइएको छ । एउटा उडानमा अधिकतम दुई जनाले मात्रै सो सुविधा पाउने कम्पनीले स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो वर्ष दिनको कार्ययोजनामा ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छुटको घोषणा गरेका थिए । त्यसको कार्यान्वयनका रुपमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले केही दिनअघि विज्ञप्ति निकालेर ५० प्रतिशत छुटको घोषणा गरेको थियो । निजी क्षेत्रकातर्फबाट श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुटको अफर ल्याएको हो । श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । आन्तरिक उडानमा चार (दुई सिआरजे २०० र दुई सिआरजे ७००) जहाजले चन्द्रगढी, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्दै आएको छ । रासस
बेमौसमी सुन्तलाले बजार लिँदै
गलकोट । सामान्यतया सुन्तलाको याम कात्तिक र मङ्सिरमा हुन्छ । बर्खायाम सकी नसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने अहिले सुन्तला टिप्न र बजार पठाउन व्यस्त छन्। बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरुप लगाएको बेमौसमी सुन्तलाले राम्रो फल दिएपछि उनको खुशीको सीमा र व्यस्तता दुवै बढ्दै गएकोे छ । आफ्नो बगानमा लगाएका एक सयभन्दा बढी सुन्तलाका बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले याम अगावै बजार पठाउन थालेका छन् । चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । चार वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सयभन्दा बढी सुन्तलाका बोटमा लटरम्म फल लागेपछि उनी उत्साहित छन् । बेमौसमी सुन्तला भदौदेखि नै पाक्न थालेपछि तीजदेखि बजार पठाउन थालेको र दशैँसम्ममा बिक्री गरिसक्ने खड्काको तयारी छ । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मिहिनेत गर्ने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर व्यावसायिक रुपमा बेमौसमी सुन्तला खेती थालेका थिए । नेपालमा अधिकांश कात्तिक÷मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकामा खड्काले भदौ÷असोजमै पाक्ने जापानिज ‘उन्सू’ जातको सुन्तला खेती गरेका हुन् । मौसमी सुन्तलाको मूल्यभन्दा तेब्बर बढी मूल्यमा बिक्री हुने ‘उन्सू’ जातको सुन्तलाको स्वाद मौसमी सुन्तलाकै जस्तो भएकाले यसले राम्रो बजार पाउने सम्भावना रहेकोे कृषक खड्काले बताए । “मैले ४० वर्ष स्थानीय तथा कात्तिक÷मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आइरहेको थिएँ, अध्ययन गर्दै जाँदा जापानिज जातको सुन्तला लगाउने सोच आएपछि यसको खेती थालेको हुँ”, उनले भने, “अहिले आफ्नो बगानमा करिब एक सय बोटमा लटरम्म सुन्तला पाकेको छ, म उत्साहित छु ।” खड्काले व्यवसायलाई विस्तार गरी थप १४ रोपनी जग्गा भाडामा लिएर विभिन्न प्रजातिका सुन्तला खेती गरिरहेका छन् । खड्काको सुन्तला बगानमा फागुन÷चैतमा पाक्ने मर्कर, मङ्सिर÷पुसमा पाक्ने कोङवान, विन्तो तथा भदौ असोजमा पाक्ने उन्सू प्रजातिका सुन्तलासमेत उत्पादन गर्न शुरु गरेको खड्काले बताए । “अहिले ‘उन्सू’ जातको सुन्तला फलेको छ”, उनले भने, “मङ्सिरमा १० हजार केजी कोङवान जातको सुन्तला उत्पादन गर्ने लक्ष्य लिएको छु, बेमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँचीको समेत खेती गर्दै आएको छु ।” थोरै मिहिनेतमा धेरै आम्दानी गर्नका लागि बेमौसमी सुन्तला खेतीतर्फ आकर्षण बढेको खड्का बताउँछन् । बाह्रै महिना सुन्तला उत्पादन गर्ने गरी अघि बढेको उनको भनाइ छ । सबै जातका सुन्तला मिलाएर लगाउँदा प्रत्येक दुई÷दुई महिनामा सुन्तला उत्पादन गर्न सकिने खड्काले बताए । खड्काका अनुसार सानो बोट हुने जापानिज सुन्तलामा प्रत्येक बोटमा एक सयदेखि दुई सय सुन्तलाका दाना लाग्ने गरेको छ । “मौसमी सुन्तलाजस्तो ठूलो बोट र धेरै सुन्तला फल्दैनन्”, उनले भने, “धेरै सङ्ख्यामा बिरुवा लगाउन सके राम्रो आम्दानी हुने रहेछ ।” अहिले जापानिज जातको सुन्तलालाई प्रतिकिलो एक सय रुपैयाँमा बिक्री गर्दै आएको खड्काले जानकारी दिएका छन् । रासस
बेलायती कम्पनी थोमस कूक टाट पल्टियो, २१ हजार कर्मचारीको जागिर गुम्यो
लन्डन । बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ । बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ । बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले आफ्नो व्यवसाय रोकेको जनाएको छ । यस कम्पनीका चार वटा विमान ग्राउन्डेड गरिएका छन् । विश्वका १६ वटा मुलुकमा रहेका २१ हजार कर्मचारीको जागिर पनि समाप्त भएको छ जसमा नौ हजार बेलायती नागरिक छन् । ब्रेक्जिटको अन्यौलतासँगै कम्पनीले केही महिना अघि नै बुकिङमा कमी आएको बताउँदै आएको थियो । कम्पनीमाथि ऋणको बोझ निरन्तर थपिँदै गएपछि कम्पनी नै धरासायी भएको हो । बेलायतको यो १७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोजिरहेको थियो । कम्पनीले आफ्ना शेयरहोल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो । थोमस कूकका विश्वभर ६०० को हाराहारीमा ट्राभल स्टोर रहेका छन् । कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले कम्पनीको इतिहासमा यो निकै उदास र दुःखद क्षण रहेको बताउँदै यस कम्पनीले बेलायती समेतका लाखौं व्यक्तिको यात्रालाई सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले जारी गरेको विज्ञप्तिमा कम्पनीलाई विश्वास गर्ने लाखौं उपभोक्ता र हजारौं कर्मचारीसँग आफूले व्यक्तिगत रुपमा क्षमा माग्न चाहेको उल्लेख छ । कम्पनीको सेवा लिएका तर विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि बेलायती नागरिक उड्डयन प्राधिकरणले विशेष व्यवस्था गर्न लागेको जनाएको छ । बेलायती यातायात मन्त्री ग्रान्ट श्याम्प्सले आफ्ना नागरिकको सहज उद्धारका लागि दर्जनौं चार्टर विमानको व्यवस्था गरिएको जानकारी दिए । यी चार्टर विमानले मलेसियासम्म पुगेर अलपत्र बेलायतीलाई निःशुल्क बेलायत ल्याउने उनले बताए । थोमस कूकका कर्मचारीसँग सम्बन्धित युनियनले बेलायत सरकार समक्ष थोमस कूकका कारण बेरोजगार भएका व्यक्तिका बारेमा सोच्न र उपयुक्त निकास निकाल्न अनुरोध गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कम्पनी जोगाउने नाममा सरकारले लगानी गर्न नसक्ने बताउँदै यस प्रवृत्तिले टाट पल्टिन लागेका कम्पनीहरु सरकारमाथि बढी आश्रित हुने खतरा हुन्छ भने । रासस/एपी