विकासन्युज

बुधबारदेखि ३२ जिल्लाका प्रमुख शहरमा नेपाल टेलिकमको फोरजी, प्रधानमन्त्री ओलीबाट सफ्ट लञ्च गरिने

काठमाडौँ । नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्कसातै प्रदेशका प्रमुख शहरहरुमा बिस्तार गरेको अवसरमा असोज १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट सफ्ट लञ्च गरिने भएको छ । हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ । यसको प्रयोग पश्चा् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुनेछ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत सुधार हुनेछ । विस्तारित फोरजीरएलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ । हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजीरएलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पु¥याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुनेछ । नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी÷एलटीई सेवाको शुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए । कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको कम्पनीले जनाएको छ । सम्झौता अन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको छ । कम्पनीले सातै प्रदेशमा फोरजी÷एलटीई सेवाको शुभारम्भ गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज पनि प्रदान गर्ने निर्णय गरेको छ । यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिएको छ । यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइने छ । यो प्याकेज लिइएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ । यसैगरी१ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ । साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

सनराइज बैंकद्वारा मानव सेवा आश्रमलाई २५ हजार सहयोग

काठमाडौँ । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाखुसी स्थित मानव सेवा आश्रममा आर्थिक सहयोग प्रदान गरेको हो । सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई रु. २५ हजार बराबरको चेक प्रदान गरेकी हुन् ।

७३ हजारले अवलोकन गरे फेस्टिवल मार्केट, सुन्दर महर्जनले पाए बजाजको मोटरसाइकल

काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा असोज ९ गतेबाट सुरु भएको फेस्टिवल शपिङ मार्केट समापन भएको छ । पाँचदिनसम्म चलेको फेस्टिवल मार्केटमा सहभागी ७३ हजार अवलोकनकर्ता मध्ये सुन्दर महर्जनले बजाजको डिस्कभर मोटरसाइकल जितेका छन् । दशैं मेला समापनको दिनमा भएको गोलाप्रथाबाट शर्मिला सप्लायर्सका सुन्दर महर्जनले बजाजको डिस्कभर बाइक जितेका हुन् । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित फेस्टिवल शपिङ मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु राखिएका थिए । आयोजकले फेस्टिवल मार्केट अवलोकन गर्न पुगेका तथा सामान किन्नेहरुलाई दैनिक रुपमा आकर्षक उपहार बितरण गरेको थियो । मार्केटलाई काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्धन गरेका थिए ।

एनआईसी एशियाको ‘दशैं सुपर चमत्कारिक उत्सव योजना’, भाटभटेनीमा सामान किन्दा १५ प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि ‘दशैं सुपर चमत्कारिक उत्सव योजना’ ल्याएको छ । उक्त योजना अन्तरगत विभिन्न शहर र ठाँउहरुमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा बैंकका ग्राहकहरुले डेबिट एवम् क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% वा प्रत्येक रु. ६,६,७६/- को खरिदमा रु १,०००/- सम्म छुट प्राप्त गर्न सक्ने छन् । असोज ८ गतेदेखि शुरु भएको यो योजनासँगै एनआईसी एशिया बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको छ । छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार भइरहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकको इन्टरनेट बैकिङ्ग सेवा विस्तार

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । नयाँ इन्टरनेट बैंकिङ्ग सेवामा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ । यस अगावै एक्सप्रेस बैंकिङ मार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा उपलब्ध थियो । यसै क्रममा पुरानो इ-बैंकिङ्ग सेवा प्रयोग गरिरहनु भएका ग्राहक महानुभावहरुलाई यस बैंकको कुनै पनि शाखा कार्यलयहरुमा सम्पर्क गरी, नयाँ ई-बैंकिङ्ग सेवाको लगइन एवम् पासवर्ड लिन सकिने बैंकले जनाएको छ ।

कोका-कोलाले चाडपर्वलाई विशेष बनाउने, आमाहरुसँग उत्सव मनाउँदै

काठमाडौँ । ‘मन खोलौं कोक सँग’को चौथो संस्करण जारी गर्दै यस पटक कोका-कोलाले उपभोक्ताहरुलाई महान चाड दशैं तथा तिहार मनाउने एक नयाँ तथा अनुपम तरिका ल्याएको छ । यस वर्ष कोका-कोलाले ‘माइ मम् मेक्स् माइ दशैं स्पेशल’ भन्ने थीम सहित नयाँ दशैं क्याम्पेन सार्वजनिक गरेको छ । यस अभियानले आमाहरुले हाम्रो दशैं र तिहारलाई विशेष बनाउन र हाम्रो चाडपर्वलाई खुशीयाली बनाउन निःस्वार्थ काम तथा अथक प्रयासहरु गर्दछन् भन्ने सन्देश दिएको छ । आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै कोका-कोलाले चाडपर्वको अवसरमा आमाहरुलाई बोलाउने प्रिय शब्द आमा, माई, मुवा, मामु, मम्मी र मा लेखिएको ६ वटा नयाँ लेबल ल्याएको छ । दशैं र तिहारमा आमाहरुले निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्दै यी लेबलहरु नियमित लेबलको ठाउँमा राखिएको कम्पनीले जनाएको छ । यो लेबललाई चाडपर्वको झलकको स्पर्श दिन शिल्पकृति र टेक्स्टलाई सुनौलो रंगमा दशैंको विभिन्न तत्व जस्तै चङ्गा, दशैंको पिङ्ग, सयपत्री फूल लगायत राखिएको छ । यसका अतिरिक्त, यो सन्देश कोका-कोला नेपालको हालको टिभी कमर्सियलमा पनि सुन्दर ढंगले हाइलाइट गरिएको छ । यो अभियानका बारेमा कोका-कोलाका कन्ट्री डिरेक्टर अम्बुज सिंहले यो वर्ष आमाहरु र उनीहरुले हाम्रो जीवनमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाहरुलाई सम्मान गर्ने प्रयासमा हामीले आमाहरुलाई बोलाउने ६ वटा प्रिय शब्दहरु भएको लेबल सार्वजनिक गरेका छौं, कोका-कोलाले तपाईको दशैंलाई जुन व्यक्ति विशेष बनाउँछ त्यही व्यक्तिसँग दशैं मनाउन प्रत्सोहान गर्ने बताए । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डे भने-‘कोका-कोला नेपालले सधैं सम्बन्धहरुको हर्ष मनाउदै आइरहेको छ । यो वर्ष दशैंलाई विशेष बनाउने हाम्रा आमाहरुका साथ मनाउदै छौं ।’

म्हेपी बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व

काठमाडौँ । म्हेपी वचत तथा ऋण सहकारी संस्था लि. को २३औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । काठमाडौँ जिल्ला वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष दिपक पनेरुले उक्त साधारण सभा उद्घाटन गरेका हुन् । सभाको सभापतित्व सञ्चालक समिति अध्यक्ष नारायणबहादुर श्रेष्ठले गरेका थिए । साधारण सभाले नारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कैलाश देव, सचिवमा शालिकराम सापकोटा, उप सचिवमा कृष्णमान प्रधान, कोषाध्यक्षमा कमला रेग्मी सापकोटा, सदस्यहरुमा प्रज्ञारत्न शाक्य, रत्नशंकर जोशी, वीणा शाक्य र रजनी अधिकारी निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णदास श्रेष्ठ र सदस्यमा ज्ञानी केसी तथा शिवकुमारी खतिवडा चयन भएका छन् । ऋण उप समिति समस्यमा अनिलकुमार श्रेष्ठ र नानुमैयाँ श्रेष्ठ निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

अल्पविकसित राष्ट्रहरुमा स्वास्थ्य सेवाको अवस्थाबारे नर्भिकको प्रस्तुति

काठमाडौं । कन्फडेरेसन अफ इन्डियन इण्डष्ट्रीद्वारा भारतको कोलकातामा आयोजित १ दिने विशेष गोष्ठीमा नर्भिक इन्टरनेशनल हस्पिटलले अल्पविकसित एवम् विकासोन्मुख राष्ट्रहरुमा स्वास्थ्यसेवाको अवस्थाबारे अवधारणा पत्र प्रस्तुत गरेको छ । असोज ९ गते आयोजित गोष्ठीमा भारत लगायत अन्य दक्षिण एशियाली राष्ट्रहरुका निजी क्षेत्रका कर्पाेरेट हस्पिटलहरुको सहभागिता रहेको थियो । उक्तगोष्ठीमा नर्भिकको प्रतिनिधित्वगर्दै यसको मातृ संस्थाका कार्यकारी निर्देशक मनिस खेम्काले अवधारणा पत्र पेश गर्दै नेपालमा हाल विद्यमान स्वास्थ्य सेवाको अवस्थाबारे प्रकाश पारे । उनले हाम्रो परिपे्रक्ष्यमा हाल विद्यमान स्वास्थ्य सेवाका प्राविधिक पक्षमा टिप्पणी गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई फराकिलो पार्न तथा आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ र सबैको पहुँच भित्र कसरी पार्ने भन्ने कुरामा पनि जोड दिए । प्रत्येक वर्ष गुणस्तरीय स्वास्थ्य सेवाको खोजीमा नेपालीहरूले करिब १ अर्ब अमेरिकी डलर नेपाल बाहिर खर्च गर्ने अनुमान रहेको बताउँदै त्यसलाई नेपालभित्रै राख्न एवम् विश्वसनीय स्वास्थ्य सेवा पस्कन आफूहरु तयार भएको खेम्काले बताए ।