विकासन्युज

खाद्य कम्पनीबाट ठगिए उपभोक्ता, ४१ किलोको पैसा तिरेर किनेको खसी ३५ किलो मात्रै !

काठमाडौं । धोवीधाराका भीम तामाङले मंगलबार खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा गएर एउटा खसी किने । ४१ किलो भनिएको उक्त खसीलाई २२ हजार ५ सय रुपैयाँ तिरे । जिउँदो खसीलाई प्रतिकेजी ५ सय ५० रुपैयाँमा पाउँदा उनी दङ पनि परे । सस्तैमा खसी किनेको खुशी धेरैबेर टिकेन । उनले किनेको खसी लगेर अर्को काँटामा तौल गर्दा ठगिएको चाल पाए, खसीको तौल त ३५ किलोमात्रै रहेको छ । कम्पनीले ४१ केजी भनेको खसीको तौल ३५ केजी मात्रै भएको थाहा पाएपछि तामाङ दोहोर्याएर कम्पनीको कार्यालयमा गए । उनले खसीको तौल कम रहेछ भनेपछि त्यहाँ एकछिन हल्लाखल्ला नै भयो, अन्त्यमा कम्पनीले सोही खसीलाई ३५ किलोको भनी ठहर्यायो र ३ हजार २ यि ५० रुपैंया कमको अर्को बिल काटेर पुरानो बिललाई रद्द गरिदियो । एकैछिनमा खसीको तौल ६ किलो घटाएर फर्किएका तामाङकै प्रतिक्रिया थियो– ‘यो त ठग्ने ठाउँ मात्रै रहेछ, काँटा(तोल मेशिन) केही बुझिँदैन । म त फर्केर आएँ, नआउने मजस्ता कति ठगिए होलान् ?’ संस्थानमै खसी किन्न आएका भक्तपुर सल्लाघारीका चुडामणि दाहालले पनि खसी त किने, तर सन्तुष्ट भएनन् । खाद्य कम्पनीले २७ किलो भनेर बेचेको छ, तर विश्वास छैन, कति रहेछ, बाहिर जोखेपछि थाहा हुन्छ ।’ उनले अघिल्लो साल पनि त्यसरी नै खसी किनेका थिए, पोहोर नै काँटा फेर्नुहोस् भने, तर कसैले नमानेको उनको गुनासो थियो । ‘जमाना डिजिटल युगमा पुगिसक्यो, पुरानो बुझ्दै नबुझिने काँटाको भरमा जोखेर खसी बेचिएको छ, विश्वासै लाग्दैन ।’ बजार मूल्य नियन्त्रण गर्न भन्दै खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले सोमबारदेखि खसीबोका र च्यांग्रा बिक्री सुरु गरेको छ । तर, बजार मूल्यभन्दा सस्तो भनिएको खसीबोका र च्याङ्ग्रा किन्दा पनि ग्राहक प्रफुल्ल हुनसक्ने अवस्था भने छैन । अहिले सामान्य बजारमूल्यभन्दा खसीको प्रतिकिलो ७० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ३० रुपैयाँ सस्तोमा बिक्री दाबी कम्पनीको छ । यसो हुँदा जिउँदो खसी ५ सय ५० र च्यांग्रा ७ सय ३० रुपैयाँमा बिक्री गरेको कम्पनीले जानकारी दिएको हो । अहिले बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६ सय २० रुपैयाँ सम्म बिक्री हुने गरेको कम्पनीको दाबी छ । खाद्यले यसवर्षका दशैंका लागि काठमाडौं उपत्यकाका लागि करिब तीन हजारको संख्यामा खसीबोका तथा च्याङ्ग्रा ल्याएर बिक्री गरिरहेको छ । जसमध्ये १ हजार ९२० च्याङ्ग्रा र ९९१ वटा खसीबोका छन् । कम्पनीका बिक्रेता नरबहादुर बस्नेतले खसीबोको तौल गर्दा बढी देखिएको बारे अपवादमा कुनै कुनैमा त्यस्तो भएको स्वीकार गरे । हामीले काँटाको नजिक नबस्नुस् भनेका छौँ, तर उपभोक्ताहरु काँटामा नै झुमिन आएका कारण तौलमा गलत भएको हो–उनले भने । अहिलेसम्म एउटा मात्रै खसीको तौलमा घटबढ भएको उनको भनाई थियो । खसीबोका र च्याङ्ग्रा तौलिनका लागि कम्पनीले इभ्री काँटा प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।  

दशैं तिहार मनाउन एक महिना विद्यालय बिदा, अभिभावकलाई टाउको दुखाई

काठमाडौं। धोबिघाटकी पुष्पा थापा मगर सहकारी संस्थामा काम गर्छिन् । बिहान साढे ९ बजे घरबाट हिँडेर बेलुकी साँढे ५ बजे घर आईपुग्ने उनको दैनिकी हो । छोराछोरीलाई विद्यालय पठाएर अफिस जान उनलाई ठिक्क हुन्छ, तर जब स्कुल बिदाको खबर आउँछ उनलाई तनाव शुरु हुन्छ । ६ र १० बर्षका दुइ छोराछोरी भएकी उनलाई विद्यालय बिदाको दिन अफिसमा रहँदा दिनभर उनीहरु कहाँ गए, के गरे भन्ने चिन्ताले सताउँछ । लैनचौरकी ३५ वर्षिय कमला रायमाझीलाई पनि दिउँसो अफिस जानु पर्ने भएकोले १२ वर्षिय छोरी रचनाको स्कुल बिदा हुँदा त्यस्तै तनाव हुन्छ । कमलाका श्रीमान् दुबईमा बस्छन् । यहाँ उनी एउटा फ्ल्याटमा छोरीसँग बस्दै आएकी छिन् । उनको सासुससुरा गाउँमै बस्छन् । छोरीलाई धन्न विद्यालयको गाडीले घर अगाडि नै छोडिदिन्छ र उनलाई ढुक्क छ । तर, दशैं तिहारमा लामो समय विद्यालयहरु छुट्टी हुँदा छोरीको बिजोग हुने तनाव उनलाई हरेक बर्ष हुन्छ । हजुरबुवा हजुरआमाकोमा छोड्ने अवस्था छैन, किनकी उहाँहरुलाई नै हेर्नपर्ने अवस्था छ । उनी हरेक बर्ष बिदामा छोरीलाई कहिले मामाकोमा छोड्छिन् त कहिले साथीकोमा । आफन्तकोमा छोड्दा उनी छोरीलाई दिनमा ५-६ पटक कल गर्छिन् । आफु नहुँदा अरुलाई दु:ख दिने चिन्ताले उनलाई दिनभर सताउँछ । यो पुष्पा र कमलाको मात्रै समस्या होइन, हजारौं जागिरे परिवारको प्रतिनिधि समस्या हुन्, जो स्कुल बिदा नै नहोस् भन्ने चाहन्छन् । पुष्पा भन्छिन्–‘कतै गएर हराउने हो कि, दुर्घटनामा पर्ने हो कि, कसैसँग झगडा गर्ने हो कि भन्ने चिन्ताले सताउँछ, बरु स्कुल गए आनन्द आउँछ।’ अहिले काठमाडौं महानगरपालिकामा मात्रै सामुदायिक र निजी विद्यालयमा गरी १ लाख ७५ हजार ४ सय विद्यार्थी अध्ययन गर्छन् । माध्यमिक तह भन्दा तल्ला कक्षामा पढ्ने विद्यार्थीहरुलाई अभिभावकको निरन्तर निगरानी आवश्यक हुन्छ । तर, बिदाको बेला दिनभर उनीहरुलाई हेर्ने कोही हुँदैन । दशैं तिहार मनाउन १ महिना बिदा दशैंको सुरुवातसँगै कलेज तथा विद्यालयहरुले एक महिना लामो छुट्टी दिएका छन् । तर, सरकारले दिएको सार्वजनिक बिदा ६ दिनको मात्र हो । यति लामो बिदाले कामकाजी अभिभावकको दैनिक कार्यमा समस्या थपिएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले गत फागुनमा नयाँ बर्ष २०७६ को क्यालेन्डर बनाउँदै गर्दा दशैं र तिहारमा १ महिना बिदा दिने निर्णय गरेको थियो । प्याब्सन, एनप्याब्सन, अभिभावक संगठन बीचको छलफलपछि बिदाबारे निर्णय गरिएको बताइएको छ । के भन्छन् विद्यालय सञ्चालकहरु ? धेरै विद्यार्थीहरु उपत्यका बाहिरका भएको र महानगरले पनि यही निर्णय गरेको कारण पनि धेरैजसो शैक्षिक संस्थाहरुले छठसम्म बिदा दिएका छन् । यधपी केही विद्यालय तथा कलेजहरुले भने पन्ध्र दिन मात्र बिदा दिएका छन् । कलंकी स्थित नेपालय विद्यालयका प्रधानाध्यापक मनोज थापा मगरले यस बर्ष विद्यालय एक महिना बिदा दिएको बताए । उनले भने-‘एक-एक महिना बिदा हुँदा विद्यार्थीहरुको पढाई बिग्रन्छ । यसले न त विद्यालयलाई कुनै फाईदा छ, न त बालबालिकाहरुलाई ।’ यसअघि आफुहरुले कहिले पनि एक महिना बिदा नदिएको, तर महानगरले यो बर्ष बिदा गर्नैपर्छ भन्ने नयाँ नियम ल्याएको कारण मात्र आफुहरुले १ महिना बिदा दिएको बताए । यता, मैत्रीनगर स्थित सौगात मन्टेश्वरीले भने दशैं लगत्तै विद्यालय खोल्ने निर्णय गरेको छ । कामकाजी अभिभावकहरुले लामो बिदामा बालबालिका हेरचाह गर्ने व्यक्ति घरमा नभएकोले विद्यालय खोल्न आग्रह गरेको कारण आफूहरुले छोटो समय मात्र बिदा दिएको प्रधानध्यापक राज्य लक्ष्मी बताउँछिन् । उनी भन्छिन्-‘२० प्रतिशत अभिभावकले मात्र बिदामा आफ्नो छोराछोरीलाई समय दिन पाउँछन् । ’ बालबालिका र हजुरबुवा/हजुरआमाबीच बढ्दै गएको दुरीहरु मेटाउन दशैँको लामो बिदा निकै उपयुक्त भएको उनी बताउँछिन् । यो समयमा विद्यार्थीहरुले खेलेर मात्र नभई अन्य नयाँ ठाउँ घुम्ने, नयाँ सामाग्रीको बारेमा ज्ञान बटुल्ने हो भने निकै फाईदाजनक हुने उनको तर्क छ । बिदा हुँदा रमाउँछन् विद्यार्थी धोबीघाटको हिमालय इन्टरनेशनल आइडल स्कूलमा कक्षा १० मा अध्ययनरत प्रवेश थापा मगर बिदा कहिले हुन्छ भनेर दिन गन्दै बस्ने गरेको बताउँछन् । बिदा हुँदा विद्यार्थी मात्र नभएर हरेक व्यक्तिको अनुहारमा छुट्टै चमक आउँछ । तर, के एक महिना बिदा विद्यार्थीको लागि राम्रो हो त ? के यसले उसको पढ्ने बानी बिगार्दैन ? यस सम्बन्धमा भने विभिन्न व्यक्तिहरुको धारणा फरक फरक पाइन्छ । नौ दिनमा नौलो र २० दिनमा बिर्स्यो भन्ने उखान नै छ । यही उखानलाई आधार मान्दा १ महिना बिदाले विद्यार्थीहरुको पढाईमा पक्कै नकारात्मक असर पर्छ । विद्यार्थीहरुलाई विद्यालय तथा अभिभावकले बिदाको सदुपयोग गर्ने उपायहरुको बारेमा नसिकाउँदा पनि विद्यार्थीहरु बिदाभर खेलेरै बिताउने गर्छन् ।

१६ तोला सुन सहित चावहिलबाट दुई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । “त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ”, उनले भने । पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।

मारुती सुजुकीको एसयुभि ‘एस-प्रेसो’ सार्वजनिक, तीन लाख ६९ हजारमै पाइने

काठमाडौँ । मारुती सुजुकीले भारतमा आफ्नो विल्कुलै नयाँ एसयूभी ‘एस–प्रेसो’ लञ्च गरेको छ जसको भारतीय बजारमा सुरुवाती मूल्य रु. तीन लाख ६९ हजार तोकिएको छ । यो कार स्ट्याण्डर्ड, एलएक्सआइ, भिएक्सआइ, भिएक्सआइ प्लस, भिएक्सआइ एएमटि र भिएक्सआइ प्लस एएमटि गरी ६ अलग भेरियन्टहरुमा उपलब्ध रहेको छ । एबीएस, ड्राइवर–साइड एयरब्याग, रियर पार्किङ्ग सेन्सर्स, सिट–बेल्ट रिमाइन्डर्स, डिजिटल स्पिडोमिटर र स्पिड अलर्ट सिस्टमजस्ता फिचरहरु यस कारका सबै भेरियन्टमा पाउन सकिन्छ । प्यासेन्जर साइड एयरब्याग, म्यानुअल एयर कण्डिस्नर, भ्वाइस रिकग्निशन सहितको ७.० इञ्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, स्टेयरिङ्ग–माउण्टेड कन्ट्रोल्स, रियर पार्सल ट्रे र १२ भोल्टको सकेटजस्ता फिचरहरु चाहिँ एस–प्रेसोका अलि महँगा भेरियन्टहरुमा मात्र पाउन सकिन्छ । यस कारमा प्रयोग भएको इञ्जिन बिएस६–कम्प्लिएन्ट १.० लि. पेट्रोल इञ्जिन हो जसले ६८ एचपिको पावर र ९० एनएमको टर्क प्रोड्यूस गर्दछ । यस कारका माथि उल्लेख गरिएकाहरु मध्येका पहिलो चार भेरियन्टहरुमा ५–स्पिड म्यानुअल ट्रान्समिशन दिइएको छ भने भिएक्सआइ एएमटि र भिएक्सआइ प्लस एएमटि भेरियन्टमा चाहिँ अटोमेटिक म्यानुअल ट्रान्समिशन दिइएको छ जसमा गियर चेन्ज गर्न क्लचको आवश्यकता पर्दैन । ५ सिटर यस कारको म्यानुअल ट्रान्समिशन भएका भेरियन्टहरुले २१.४ केएमपिएलको माइलेज दिन्छ भने अटोमेटिक म्यानुअल ट्रान्समिशन भएका भेरियन्टहरुले चाहिँ २१.७ केएमपिएलको माइलेज दिन्छन् । भारतीय  बजारमा एस–प्रेसोको टप भेरियन्ट भिएक्सआइ प्लस एएमटिको मूल्य चाहिँ रु. चार लाख ९१ हजार रहेको छ ।

९० हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्ने तयारी, सर्वेक्षण शुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरिङलाई महत्वाकाङ्क्षी योजनाका रुपमा अगाडि बढाएका छन् । स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ लागू हुनेछ । जसले गर्दा मिटर रिडिङको लागत घट्ने प्राधिकरणको विश्वास छ । यसबाट वितरण सेवालाई आधुनिकीकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउने छ । निर्माण व्यवसायी कम्पनीले ग्राहकको घरघरमा गएर तथ्याङ्क सङ्कलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए । उनले तथ्याङ्क सङ्कलन गर्न आउने सर्वेक्षकलाई आवश्यक जानकारी उपलब्ध गराइदिन आग्रहसमेत गरे । नेपाल सरकारको लगानी र एशियाली विकास बैंक (एडीबी)को सहुलितपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई काठमाडौं उपत्यकामा नमूना परियोजनाको रुपमा अघि बढाइएको हो । स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने प्राधिकरणको योजना छ । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डमको संयुक्त उपक्रमले ठेक्का पाएको छ । सो कार्य आगामी वर्षको पुसभित्रमा सक्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।

‘यूनाईटेड सिमेन्टको उपहार सररर कार’ योजना, कुपन नं. १५७८७ स्यान्ट्रो कार बिजेता

काठमाडौँ । यूनाईटेड सिमेन्टस् प्रालिको ग्राहक योजना ‘यूनाईटेड सिमेन्टको उपहार सररर कार’ अन्र्तगतको लक्की ड्र कार्यक्रम मंगलबार काठमाडौँ त्रिपुरेश्वरको डीईसीसी हलमा सम्पन्न भएको छ । बैशाखदेखि असार मध्येसम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुण्डाई स्यान्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो । कुपन नं. १५७८७ स्यान्ट्रो कार बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् । यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित कात्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरी उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ । कार्यक्रममा यूनाईटेड सिमेन्टका प्रबन्ध निर्देशक विकास दुगडले सबै बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबद्र्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टस्ले ग्राहक माझ पस्कने प्रतिबद्धता जनाए ।

नेपाल-अष्ट्रेलिया यात्रामा हवाइ भाडा ३० प्रतिशतसम्म घट्ने, यात्रा अवधि १० घण्टा छाेटिने

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई उडानको समझदारीसँगै दुई देशबीच यात्रा गर्दा लाग्ने हवाइ भाडा ३० प्रतिशतसम्म भाडा घट्ने बताईएको छ । साथै, यात्रा अवधि झण्डै १० घण्टा कम हुने भएको छ । दुई देशबीच सोमबार हवाई सेवा सम्झौता भएकोले अब सीधै उडान गर्न ढोका खुलेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । नेपाल र अष्ट्रेलियाबीच ओहोर दोहोर गर्न २० देखि २२ घण्टा लाग्दै आएकोमा सीधा उडानसँग यो यात्रा १०/१२ घण्टामै सीमित हुने उनले जनकारी दिए । समयसँगै यात्राको खर्च पनि निकै कम हुने भएको छ । नेपाल र अस्ट्रेलियाबीच सीधा आवात जावत गर्न शुरु भएपछि हवाई भाडा प्रतिव्यक्ति ६५० देखि ७०० डलर हुन सक्ने नेपाल एशोशिएसन अफ टूर ट्राभल एजेन्ट्सका अध्यक्ष सीएन पाण्डेले बताए । ‘अब हामी १२ घण्टामा नै अष्ट्रेलिया पुग्न सक्छौं र साढे ६ सयदेखि ७ सय डलरमा अष्ट्रेलिया पुग्न सक्छौं’ अध्यक्ष पाण्डेले भने । हाल मलेसिया, हङकङ लगायतका ट्रान्जिट पार गर्दै जानु पर्ने, समय २० देखि २२ घटासम्म लाग्ने र हवाई भाडा प्रति व्यक्ति एक हजार अमेरिकी डलरसम्म लाग्ने गरेको उनले बताए । सीधा उडान कहिलेबाट हुन्छ भन्ने विषयमा भने अहिलेसम्म अन्यौलता नै रहेको छ ।  मन्त्रालयका सहसचिव लामिछानेका अनुसार नेपालले अहिलेनै अष्ट्रेलियासम्म उडान गर्ने सम्भावना कम छ अष्ट्रेलियाले भने नेपालमा उडान गर्न सक्छ । नेपाल वायुसेवा निगमले प्राविधिक हिसावले वाइड वडी काठमाडौंबाट सोझौ सिड्नी लैजान सक्ने तर व्यवसायिक हिसाबले कम सम्भावना रहेको उनले बताए । ‘उडाउनका लागि उडाउन सकिन्छ, साँच्चै व्यवसाय गर्न भने सकिँदैन’ उनले भने । दुई देशबिच भएको सम्झौतामा हस्ताक्षर मन्त्रालयकातर्फबाट सह–सचिव सुरेश आचार्य र अस्ट्रेलियाको संघीय पूर्वाधार, यातायात, शहरी एवम् क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले गरेका हुन् । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रधान कार्यालयमा भएको सम्झौतामा अब दुबै देशका विमानले हप्तामा ७ वटासम्म उडान गर्न पाउँछन् । सातामा अस्ट्रेलियाका ४ उडान र नेपालको काठमाडौँ बाहेकका अन्य विमानस्थलमा भने क्षमताका आधारमा थप उडान गर्न सकिने छ । योसँगै नेपालले हवाई सम्झौता गरेका देशको संख्या ४० पुगेको छ । तर नेपाल वायुसेवा निगमको सुरक्षा अडिट नभएको, युरोपेली युनियनले नेपाललाई कालोसूचीमा राखेको लगायतका कारण धेरै देशका विमानस्थलले उडान तालिका दिन मानेका छैनन् । यद्यपि नेपाल अष्ट्रेलियाबीच सिधै जान आउन सक्ने भएपछि पर्यटक बढ्ने पाण्डेले बताए । सम्झौताले लगानी बढाउने अष्ट्रेलिया र नेपालबीच सीधै सम्पर्क भएपछि लगानी बढ्ने अनुमान नेपाल अष्ट्रेलिया उद्योग वाणिज्य संघका अध्यक्ष अखिल चापागाईँले बताए । ‘अष्ट्रेलियाबाट नेपालमा खासै लगानी भित्र्र्याउन सकिएको छैन,’ उनले भने ‘पश्चिम सेतीमा लगानी गर्न सम्झौता गरेको थियो ।’ परियोजना अघि बढ्न नसकेपछि लाइसेन्सनै खारेज भयो ।’ त्यतिबेला नेपालमा श्रम तथा विद्युतको ठूलो समस्या थियो । पछिल्लो समय स्थिर सरकार आएपछि अष्ट्रेलियन लगानीकर्ता उत्साहित भएका छन् । ‘उत्पादनमूलक क्षेत्रमा अष्ट्रेलियाको लगानी नेपाल भित्र्न नसकेपनि शिक्षा क्षेत्रमा लगानी आकर्षित भएको छ,’ उनले भने ‘अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थी अध्ययनका लागि गएका छन् ।’ एकजनाले एउटा कोर्ष पुरा गर्न २० लाखमात्र खर्च गरेपनि एक खर्ब रुपैयाँ नेपालबाट अष्ट्रेलिया गएको छ । उता हुने कोर्ष नेपालमै उपलब्ध गराउने सके लगानीकर्ताले नाफा कमाउन सक्छन् । नेपालबाट अष्ट्रेलियामा गत आर्थिक वर्षमा ७३ करोड रुपैयाँको वस्तुमात्र निर्यात भएको छ । अष्ट्रेलियाबाट नेपालमा वर्षमा करिब ८ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात हुने गरको छ ।

माछापुच्छ्रे बैंकले गर्यो रक्तदान कार्यक्रम

काठमाडौँ । माछापुच्छ्रे बैंक लि.ले १९औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार बैंकको प्रधान कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।