विकासन्युज

दशैंमा हुण्डाई गाडी चढेर घर जानेहरुका लागि विशेष सुविधा, हाईवेमा फ्रि चेक अप क्याम्प स्थापना

काठमाडौँ । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टर कन्टिनेनटल प्रालिले हण्डाई गाडीहरुको लागि ‘फ्रि चेक अप क्याम्प’ आयोजना गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको लागि राजमार्गका विभिन्न स्थानहरुमा फ्रि चेक अप क्याम्प स्थापना गरेको हो । नेपालीहरुको महान चाड बडा दसैं परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने उद्देश्यले हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी फ्रि चेक अप क्याम्प स्थापना गरिएको हो । फ्रि चेक अप क्याम्पगराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ । यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड९काँकडभित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सिरिन हाईवे रिसोर्ट, डालिमा), भरतपुर(बाल मन्दिर चोक), चौराहा(बुटवल), नेपालगन्ज (कोहलपुर चोक), धनगढी (अत्तरिया चोक) र वीरगन्ज (पथलैया चोक) मा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको छ । यो कार्यक्रम असोज १६ देखि १९ गते सम्म बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुने लक्ष्मी इन्टर कन्टिनेनटल प्रालिले जनाएको छ ।

काठमाडौंमा पहिलोपटक जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु

काठमाडौं । नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ । लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा जर्मनको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चको नेतृत्वमा आएको १५ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलसहित जर्मनीको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजना तथा उद्योगी व्यवसायीको सहभागिता रहेको छ । उक्त सम्मेलनमा नेपालका लागि जर्मनी राजदूत रोलाल्ड सेफरले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको बाटोमा हिँड्न थालेकाले यहाँ लगानी र व्यापारको प्रसस्त सम्भावना रहेको बताएका छन् । उनले भने, “विकास पूर्वाधार, सांस्कृतिक आदानप्रदान र पर्यटनका क्षेत्रमा साझेदारी बढाउन सकिनेछ । यसमा निजी व्यवसायले आयाम थप्नेछ ।” उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सरकारले वैदेशिक लगानी आकर्षित गर्न मौजुदा कानून परिमार्जन, नयाँ कानूनको तर्जुमा गर्नुका साथै संस्थागत व्यवस्था गरेकाले लगानीको अवसर प्रशस्त रहेको बताए । उनले नेपाली वस्तु निर्यातको हिसाबले जर्मनी तेस्रो ठूलो देश रहेको उल्लेख गर्दै सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा जर्मनीबाट ठूलो सख्यामा पर्यटक आगमन हुने अपेक्षा गरेका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न ठूलो लगानीको आवश्यकता पर्ने भएकाले वैदेशिक लगानी आकर्षित गर्न सरकारले उपयुक्त वातावरण निर्माण गरेको बताए । लगानी सम्मेलनले पहिचान गरेका १५ वटा आयोजनालाई कार्यान्वयन गर्न सकिएमा मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनको भनाइ छ । नेपाल–जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका अध्यक्ष अनुप मल्लले स्मार्ट र हरित अर्थतन्त्र निर्माण गर्न व्यापार र लगानी अभिवृद्धिमा जोड दिएका छन् । पछिल्लो समय लगानीमैत्री वातावरण बनेकाले जर्मनीका उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गर्दै उनले प्राविधिक एवं दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने धारणा राखेका छन् । नेपाल आर्थिक मञ्चका संस्थापक सञ्जीव शाक्यले भूगोल, जनसङ्ख्या र परिवेशले गर्दा नेपालमा समृद्धिको प्रशस्त सम्भावना रहेको उल्लेख गरे । सो सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ । कोलोनका मेयर काठमाडौँमा नेपाल भ्रमणमा आएका जर्मनीको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चले नेपालमा जर्मनीको लगानी अभिवृद्धि गर्ने प्रशस्त सम्भावना रहेको बताउँदै आगामी दिनमा यहाँको नगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने जानकारी दिएका छन् । रासससँगको संक्षिप्त कुराकानीमा उनले नेपाल–जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षको अवधिमा जनस्तरमा समेत सम्बन्ध विस्तार भएको र यसलाई आर्थिक क्षेत्रमा अझ बढाउन जर्मनीका उद्योगी व्यवसायी उत्साही रहेको बताएका छन् । उपप्रमुख ब्रार्चको ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाको भ्रमण गरी यहाँको कला, संस्कृति र सम्पदाबाट आफू निकै प्रभावित भएको र यी नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिकाजी महर्जनले उपप्रमुख ब्रार्चलाई नगरको साँचो प्रदान गरेका थिए । रासस

केएल मोबाइल हबमा नयाँ व्यवस्थापन, चाडपर्वको अवसरमा अफरै अफर

काठमाडौं । काठमाडौंको चुच्चेपाटी स्थित केएल टावरमा रहेको केएल मोबाईल हबमा नयाँ लगानीकर्ता आएसँगै केएल मोबाईल डिजी डिजिटलको रुपमा सेवा शुरु गरेको छ । नयाँ व्यवस्थापन भित्रिएको उपलक्ष्यका साथै चाडपर्वलाई लक्षित गर्दै केएल मोबाइल डिजी डिजिटलले ‘वाइ वान गेट वान’ फ्री अफर शुरु गरेको छ । मोबाईल डिजि डिजिटलले नेपालीहरुको महान् पर्व दशैँ तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी दशैंको बहार हरेक दिनउ पहार नामक दशैं धमाका योजना पनि शुरु गरेको छ । असोज १ गतेदेखि शुरु भएको दशैं धमाका योजना अन्तर्गत केएल टावरमा शपिङ गर्ने तथा केएल मोबाईल डिजिटलमा मोबाइल खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु जित्न सक्नेछन् । बम्पर उपहारमा एक जनालाई यामाहाको एफजेड एसएफआई भीथ्री मोटरसाइकल बितरण गरिने आयोजकले जनाएको छ । दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कूटर बितरण गरिनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइने जनाइएको छ । के एलमोबाईल डिजि डिजिटलमा इलेक्ट्रोनिक सामान जस्तै टिभी, फ्रिज, एसी, मोवाइल, होम अप्लायन्सहरुमा ५० प्रतिशतसम्म छुट पाउने छन् । साथै बाई वान गेट वान फ्रि र शुन्य प्रतिशत ब्याजदरमा किस्तावन्दीमा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरु उपलब्ध गराइने मोबाइल डिजी डिजिटलका प्रवन्ध निर्देशक वालकुमार धिमालले जानकारी दिए । यस्तै हरेक स्मार्ट मोवाईलको खरिदमा मुभी टिकट, कभर, टेम्पर ग्लासका साथै अन्य उपहारहरु समेत बितरण गरिनेछ । दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइनेछ । त्यसैगरी, साप्ताहिक रुपमा गोयनका ब्राण्डको रेफ्रिजिरेटर, वासिङ मेशिन, एलईडी टेलिभिज, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ । अफर कात्तिक २५ गतेसम्म सञ्चालन हुने निर्देशक धिमालले बताए ।

भारतबाट स्वदेश फर्किएका नेपालीलाई होटल व्यवसायीद्वारा तानातान

बाँके । भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख दिँदै आएका छन् । बसको टिकट मिलाइदिने र होटलमा लाग्ने खर्चमा छुट दिने भन्दै विचौलियाले जमुनाहामा भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक माधव रिजालले भने, “यसअघि धेरै पटक सम्झाइबुझाइ गर्दा अटेरी गरेपछि नियन्त्रणमै लिनुपर्यो । होटल व्यवसायीले एजेन्ट राखेर दशैँ मनाउन भारतबाट फर्किएका नेपालीलाई दुःख दिन थालेपछि आज बिहानै ६ बजे १० जनालाई नियन्त्रणमा लिएका छौँ ।” उनका अनुसार चाडपर्वका बेला नेपालगञ्जका होटल व्यवसायीले एजेन्ट राखेरै सीमामा नेपालीलाई दुःख दिने गरेका छन् । यहाँका होटलले कमिशनमा त्यस्ता एजेन्ट राखेर चाडपर्वका बेला नेपालीलाई दुःख दिने गरेका हुन्। यस्ता अपराध र ठगी नियन्त्रण गर्न सबैतिर प्रहरी परिचालन गरिएको छ । एकाबिहानै होटलबाट खटाइएका विचौलिया जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीलाई तानातान गर्न थालेपछि हैरानी व्यहोर्नुपरेको छ । आफ्नो होटलसम्म पुर्याउनका लागि विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्दै आजित बनाउने गरेका हुन् । भारतबाट फर्किदै गरेका भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका वीरेन्द्र बिसीले भने, “हामीलाई कहाँ जाने भन्ने छँदैछ, तै पनि होटलवालाले तानेर सताउँछन् ।” प्रहरी नायब निरीक्षक रिजालले भने, “भारतबाट मजदूरी गर्ने नेपाली फर्किरहेका छन् । होटलबाट खटिएका व्यक्तिले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहेका छन् ।” भारतबाट फर्किदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पुर्याउन विचौलियाबीच बाझाबाझ नै हुने गरेको छ । “हामीले पटकपटक सम्झाउँदा पनि अटेरी गरेपछि नियन्त्रणमै लिएर कारवाही गर्नुपरेको छ ।” चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीलाई लुटिने र ठगिने समस्याबाट पीडित भइरहेकै बेला नेपाली भूमिमै यहाँका होटलवालाले थप दुःख दिने गरेको भारतबाट फर्किदै गरेका गुर्भाकोट नगरपालिका–३ सुर्खेतका धनबहादुर पुनले बताए । उनले भने, “नेपाल–भारत सीमा नाका जमुनाहामा भने भारतबाट मजदूरी गरेर फर्किदै गरेका नेपालीहरु यहाँका होटल व्यवसायीबाट पीडित छन् ।” यतिबेला दैनिक करिब ५०० नेपाली भारतबाट दशैँ मनाउन नेपाल फर्किरहेका छन् । भारतबाट आउने नेपाली बिहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् । यही मौका छोपेर होटलका विचौलिया एकाबिहानै सीमा नाका जमुनाहामा पुगेर ग्राहक तानातान गर्ने गर्छन् । यस विषयमा होटल व्यवसायी सङ्घ बाँकेले भने मौनता देखाउँदै यसलाई रोक्न कुनै सक्रियता देखाएको छैन । यहाँका होलटबाट ग्राहक तान्नकै लागि जमुनाहा पुग्ने विचौलियालाई प्रहरीले यसअघि लखेट्दै आएको थियो । होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगञ्जका होटल व्यवसायीलाई त्यसो नगर्न आग्रह गरिएको बताए । उनले यस विषयमा सङ्घ गम्भीर रहेको बताउँदै भने, “यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउनुपर्छ । व्यवसायी नसुध्रिए त्यसको जिम्मेवारी सङ्घले लिँदैन ।” जमुनाहाबाट नियन्त्रणमा लिइएका १० जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । नियन्त्रणमा लिएकालाई सचेत गराएर साँझ मात्रै छाडिने बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताएका छन् । “नियन्त्रणमा लिएकालाई सम्झाइबुझाइ गर्ने र आगामी दिनमा भन्सार र सीमा क्षेत्रमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धता गर्न लगाएर साझा मात्रै छाड्छौँ”, उनले भने । चाडपर्वका समयमा आवागमन बढेसँगै सिमानामा लुटपाट र ठगीका घटना वृद्धि हुँदै आएका छन् । “यसलाई रोक्न हामीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएका छौँ । चाडपर्वका बेला कोही पीडित हुन नपरोस् भन्नेमा हामी सचेत र संवेदनशील छौँ”, प्रहरी उपरीक्षक वलीले भने । भारतमा काम गरेर चाडपर्व मनाउन घर फर्किने नेपालीलाई नाकामा समस्या नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाएको बताउँदै प्रहरी उपरीक्षक ओलीले चाडबाडमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै विभिन्न सुरक्षा पोष्टका प्रमुखहरुलाई बिदा नदिएको पनि बताएका छन् । चाडबाडमा विशेष गरेर बैंक तथा वित्तीय संस्था आसपास, भारतबाट मजदूरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जाँदा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ । रासस

किसानलाई कमिसनकाे प्रलोभनमा पारेर लाखाैंकाे ठगी

कञ्चनपुर । एशोसियसन अफ एग्रिकल्चर नेपाल नामक संस्था शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानलाई प्रलोभनमा पारेर रु १९ लाख ५० हजार रकम ठगी गरी सम्पर्कविहीन भएको छ । दश वर्षसम्म उन्नतजातको बीउबिजन, तालीम, गोष्ठी, भ्रमण, माटो परीक्षण, सिँचाइ सुविधासँगै खानेपानी उपलब्ध गराउने प्रतिबद्धतासहित किसानबाट रकम उठाएर संस्थाका सञ्चालक सम्पर्कविहीन भएको बताइएको छ । एक हजार २५० बढी किसानबाट रु दुई हजारका दरले संस्थाका कर्मचारीले रकम उठाएका छन् । प्रतिसदस्यलाई सदस्यता शुःल्कका नाममा रु ५०० र यातायात ढुवानीका लागि रु एक हजार ५०० गरी रु दुई हजार प्रतिकिसानबाट कर्मचारीले असुलेका थिए । यी सबै कार्यका लागि किसानले ५० प्रतिशत र संस्थाले ५० प्रतिशत रकम व्यहोर्ने कागज तयार गरी रकम लिइएको संस्थाले परिचालन गरेका कर्मचारी अम्बिका जोशीले बताएका छन् । विसं २०७५ साउनदेखि १० कर्मचारी परिचालन गरी समूह बनाएर रकम उठाएको उनको भनाइ छ । संस्थाको मुख्य कार्यालय बाँकेको कोहलपुरमा रहे पनि त्यहाँ विवाद आएपछि सारेर बुटवल पुर्याइएको कर्मचारीको भनाइ छ । त्यसपछि संस्थाका सञ्चालक सम्पर्कमा नआएको बताइएको हो । किसानबाट उठाइएको रकमबाट कर्मचारीलाई १० प्रतिशत कमिसन दिने शर्तमा उनीहरुलाई राखिएको थियो । संस्थाले रकम उठाएवापतको दिने भनिएको कमिसन थोरै मात्र दिएको कर्मचारी गीता अवस्थीले बताईन् । उनले भनिन्, “रु ६० हजार जति उठाएर संस्थामा बुझाएवापत कमिसन रु पाँच हजार मात्रै पाइएको छ ।” अर्का कर्मचारी गीतादेवी साहुले ६० किसानबाट रु एक लाख २० हजार उठाए पनि कमिसनको रकम नपाएको बताए । संस्थाका कर्मचारीका अनुसार उठाएको रकम तत्कालीन शाखा प्रमुख शारदा जोरालाई बुझाएको बताएका छन् । वडा नं १० पिपलाडीरोडमा रहेको नविना एग्रोभेटका सञ्चालक कमला चौधरीले संस्थाको शाखा कार्यालयका कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा धानको २० क्विन्टल बीउ खरिदवापतको बाँकी रहेको रु ७५ हजार नदिएपछि उजुरी गरेका छन् । बीउ खरिद गरिएको लामो समयसम्म पनि रकम नपाइएपछि प्रहरीमा उजुरी गरिएको उनले बताए । धानको बीउको रकम नतिरेसम्मका लागि शाखा प्रबन्धक गोविन्द पाण्डेयको मोटरसाइकल इप्रकामा राखिएको छ । शाखा प्रबन्धक पाण्डेयले रकम संस्थाको कार्यालयमा बुझाएपछि सञ्चालक सम्पर्कमा नआउने गरेको बताएका छन् । शाखा प्रबन्धक बन्नका लागि धरौटीवापत रु एक लाख संस्थामा बुझाएको उनले जानकारी दिए । “बुटवलमा यही असोज १५ गते सबै शाखा प्रबन्धकको बैठक राखेकाले बोलाएका छन्”, पाण्डेयले भने, “सबै रकम फिर्ता गर्छौँ भनेका छन् ।” गत चैतदेखि शाखाको कार्यालय सञ्चालन गरेको घरको संस्थाले सात महिनाको कोठाभाडासमेत तिरेको छैन । संस्थाका अध्यक्ष गणेश भट्टले केही समयका लागि कार्यक्रम स्थगन गरेकाले रकम ठगी नगरेको बताउँछन् । संस्थाका बारे अन्य कुरा भने उनले भन्न चाहेका छैनन् । अध्यक्ष भट्टको वडा नं ७ कालापानीका बासिन्दासमेत हुन् । रासस

सिन्धु विकास बैंकको नयाँ शाखा चितवनको नारायणगढमा

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको नारायणगढ बजारमा बैंकको शाखा स्थापना गरेको छ । उक्त शाखा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपानेले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राखेका थिए । प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, नारायणगढ गरी कुल १९ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २१ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

सुनको मूल्य ६ सयले बढ्यो, प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार हुँदै

काठमाडौं । बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ६९ हजार २ सय रुपैयाँमा बिक्री भएको सुन ६ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भईरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला ६८ हजार ९ सयमा बिक्री भएको थियो भने बुधबार ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोलामा १० रुपैयाँ बढेर ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

दाङमा पूर्वाधार विकासका ९१ योजनाकाे काम शुरु

तुलसीपुर । दाङमा पूर्वाधार विकास कार्यालयले यस वर्ष ९१ योजनाको काम शुरु गरेको छ । चालू आर्थिक वर्षमा ९१ योजनाको काम शुरु भएको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताएका छन् । यो आवमा समानीकरणतर्फ रु ८६ करोड बराबरको बजेट रहेको र सशर्ततर्फ रु छ करोड २० लाख विनियोजन गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार सिस्नेखोला र कटुवाखोलाको दोभानमा पर्ने पुलका लागि यो वर्ष रु पाँच करोड विनियोजन गरिएको छ । यस्तै कार्यालयले गत आवमा ८८ योजना निर्माणको काम पूरा गरेको छ । जम्मा ८६ सडक मर्मत, स्तरोन्नति र कल्र्भटका काम भएका छन् भने दुई पुल निर्माण भएका छन् । बाँकी २५ योजनाको काम भने अबको केही महिनामा पूरा हुने कार्यालय प्रमुख भण्डारीले बताए । उनका अनुसार गएको वर्ष समानीकरणतर्फ रु ४२ करोड सात लाख बजेट विनियोजन भएकामा रु २८ करोड खर्च भएको छ । साथै वर्षात्का कारण समयमै काम नहुँदा रु नौ करोड सात लाख बजेट फ्रिज हुनपुगेको समेत उनले बताएका छन् । समयमा गिट्टी, बालुवा उपलब्ध नहुँदा पनि समस्या हुने गरेको उनको भनाइ छ । त्यस्तै सशर्ततर्फ रु १९ करोड ९० लाख बजेट विनियोजन भएको थियो । सोमा रु १३ लाख ६० हजारको काम पूरा भएको प्रमुख भण्डारीले जानकारी दिए । सशर्ततर्फको बाँकी बजेट पनि समय अभाव र वर्षातका कारण फ्रिज भएको छ । साथै उक्त कार्यालयले गत वर्ष ८.२१ किलोमिटर कालोपत्र गरेको छ । त्यस्तै ४५.३४ किलोमिटर सडक ग्राभेल गरिएको प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार नौ हजार ४५४ घनमिटर टेवा पर्खालको काम भएको छ । उक्त कार्यालयले गत वर्ष चार पुल निर्माणको काम शुरु गरेको थियो । तीमध्ये चार पुलको काम पूरा भएको छ भने अन्य दुई पुलको काम यस वर्ष पूरा हुनेछ । सौडियार–धर्ना सडकखण्डमा पर्ने बबई खोलामा ७० मिटर लम्बाइको पक्की पुल र हेकुली–श्रीगाउँ चिराघाटखोलामा पर्ने ७५ किलोमिटरको पुलको निमार्णकार्य पूरा भएको छ । ती पुलको काम पूरा भएर पनि सञ्चालनमा आइसकेका उनले बताए । बबई गाउँपालिकाअन्तर्गत खिलतपुर च्याटीखोलामा पर्ने पुल र गढवा गाउँपालिकामा पर्ने जनहरि खोलाको पुल बन्दै गरेको अवस्थामा रहेको छ । रासस