विकासन्युज

भेरी–बबई डाइभर्सनको २९ प्रतिशत शेयर सर्वसाधारणलाई, कम्पनी मोडेलमा लगेर आईपीओ ल्याउने

काठमाडौं । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनलाई कम्पनी मोडेलमा परिणत गरेर सर्वसाधारणलाई समेत शेयर दिने भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले आयोजनामा संघीय सरकार, कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहका साथै सर्वसाधारणसको समेत लगानी रहने गरी डाइभर्सनलाई कम्पनी मोडेलमा लैजाने प्रस्ताव अघि बढाएको हो । यो निर्णयसँगै अब उक्त डाइभर्सनको स्वामित्व ग्रहण गर्ने कम्पनी संस्थापना गर्न कम्पनी रजिष्टारको कार्यालयमा प्रक्रिया अघि बढाउने तयारी समेत सुरु भएको छ । सो कम्पनीमा तीन तहको सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत शेयर स्वामित्व रहनेछ । कुल शेयरमा संघीय सरकारको २६ प्रतिशत, प्रदेशको २० प्रतिशत र स्थानीय तहको कुल ५ प्रतिशत शेयर रहने तय भएको छ । त्यस्तै, कर्णालीका नागरिकलाई १० प्रतिशत, आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारण लगानीकर्तालाई २९ प्रतिशत शेयर रहनेछ । सरकारले सो आयोजनालाई ‘जनताको जलविद्युत् कार्यक्रममा’ समेत समावेश गरिसकेको छ । धेरैले असम्भव ठानेको र मानेको आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरी तोकिएको समयभन्दा पहिल्यै सुरुङ निर्माण सम्पन्न गरिएको हो । मन्त्री पुनले आयोजनालाई नयाँ गति दिने गरी निर्णय भएको र त्यसमा तीनवटै सरकार र स्थानीयबासीको समेत अधिकार स्थापित गरिएको बताए । जनताको जलविद्युत् कार्यक्रमको समेत समन्वय गरिरहेको हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार मन्त्रीस्तरीय निर्णयका आधारमा अब कम्पनी स्थापना हुने र सोही कम्पनीले आयोजना अगाडि बढाइनेछ । उनले तत्काल आयोजना सिँचाइ विभाग र कम्पनी स्थापना भएपछि कम्पनीले नै अगाडि बढाउने गरी आवश्यक तयारी गरिएको बताए । आर्थिक वर्ष २०६८/६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको सङ्ज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शङ्का थिए । संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै पापड बेल्नुपरेको थियो । असम्भव ठानिएको कामनै भेरी बबईमा सम्भव देखियो । कूल १२.२१ किलोमिटर लामो सुरुङमार्ग निर्माण गत चैत अन्तिम साता सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३ गते सो सुरुङमार्ग निर्माण सम्पन्न भएको घोषणा गरे । ‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ । तोकिएको समय अगावै अर्थात् एक वर्ष पहिल्यै सुरुङ निर्माण सकिएपछि नेपालमा पनि अब मेशिनको युग, प्रविधिको युग शुरु भएको चर्चा गरिएको छ । सरकारले चालू आवको बजेटमा समेत सो नदी स्थानान्तरण आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ । भेरी नदीलाई बबईमा स्थानान्तरण गर्ने गरी सो आयोजना अगाडि बढाइएको हो । आयोजनाको बाँध तथा विद्युत् निर्माण प्रक्रिया अगाडि बढाउने गरी गत साउनमा रमण कन्स्ट्रक्सन र चीनको ग्वाङ्डोन–युनाटियन कम्पनीसँगको संयुक्त उपक्रमलाई जिम्मा दिएको छ । आयोजना प्रमुख सञ्जीव बरालका अनुसार विद्युत् गृह र बाँध निर्माणका लागि जिम्मा लिएको निर्माण व्यवसायी आयोजनास्थलमा परिचालित हुने क्रममा रहेको छ । हाल आयोजनास्थलमा आवास गृह निर्माण, उपकरण खरीद तथा व्यवस्थापनलगायतको काम भईरहेको छ । ठेकेदार कम्पनी र आयोजनाबीच रु ६ अर्ब १६ करोडमा बाँधस्थल र विद्युत् गृह निर्माणको काम गर्न सम्झौता भएको छ । आयोजनाको सुरुङ निर्माणको काम चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप (कोभेक) ले एक वर्षअघि नै सम्पन्न गरेको हो । नेपालमा सञ्चालित अधिकांश आयोजना समयमा सम्पन्न नहुने र पटकपटक म्याद थप गर्नुपर्ने समस्या देखिएको बेला सुरुङ निर्माणको काम समयमै सकिएको हो । सो आयोजनाबाट बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ । यस्तै आयोजनाबाट ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । भेरी नदीको पानीलाई सुर्खेतको चिप्लेमा बाँध निर्माण र हात्तीखालमा विद्युत्गृह बनाएर बबईमा झार्ने योजना छ । आयोजनामा पछिल्लो संशोधित लागत रु ३३ अर्ब १९ करोड रहेको छ । आयोजनाको सम्पूर्ण व्यवस्थापन तथा निर्माण गर्ने जिम्मेवारी दिन कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारसँग माग गर्दै आएको थियो । प्रदेश सरकारको उक्त मागलाई सम्बोधन गर्दै लगानीको सुनिश्चिततासमेत गरेको छ ।

बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाइनुपर्नेमा जोड

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तत्काल अगाडि बढाइनुपर्नेमा गोरखा जिल्लाका राजनीतिक नेतृत्वले जोड दिएका छन् । गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले गोरखाका साथै मुलुकलाई नै समृद्ध बनाउने सो परियोजना निर्माणमा कुनै पनि विलम्ब गर्न नहुनेमा जोड दिएका हुन् । कार्यक्रममा समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजना सम्पन्न गर्न स्थानीयको सहयोग र सद्भाव रहँदा पनि निर्माणले गति लिन नसक्नु दुःखद् भएको बताए । “आयोजनालाई अगाडि बढाउन स्थानीयको अत्यन्त ठूलो सहयोग रहेको छ, स्थानीयले कुनै विरोध नगरी मुआब्जा लिएको घटना कमै पाइन्छ”, उनले भने, “दुर्भाग्यवश यति हुँदा पनि निर्माणले गति लिन सकेको छैन ।” सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हरिराज अधिकारीले बूढीगण्डकी आयोजना निर्माणमा अलमल हुँदा समग्र जिल्लाको विकास नै पछि परेको बताए । “यति ठूलो आयोजना अलपत्र छ, बूढीगण्डकी बनेदेखि जिल्लाको विकास धेरै माथि उठ्ने थियो”, उनले भने । सांसद चूडामणि खड्काले जिल्लाको विकास निर्माणमा सरोकारवाला सबैको ध्यान जानुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कमला पन्तले जिल्लाको विकास निर्माणमा पक्षविपक्ष नभनी लाग्नुपर्नेमा जोड दिएका हुन् । नेकपा नेता लेखनाथ न्यौपाने, पत्रकार खिलबहादुर भण्डारी, रामजी दाहाल, सुशील अर्याललगायतले गोरखाली पत्रकारले जिल्लाको विकास निर्माणका साथै विभिन्न मुद्दामा कलम चलाउनुपर्नेमा जोड दिए । रासस

नेपाल-भारत सीमा नाका तीन दिन बन्द

बैतडी । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना यही असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् । असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका लागि अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने उनले बताए । दशैँमा सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । यस्तै, दोस्रो चरणअन्तर्गत दार्चुलाको सीमापारी रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकाले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म दार्चुला नाका पनि बन्द हुने जनाइएको छ । आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ । रासस

उपत्यकाका दुई महानगरीय प्रहरी वृत्तको नवनिर्मित भवनको उद्घाटन 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने अपराध नियन्त्रण गरेमात्र आम नागरिकले प्रहरी सङ्गठनप्रति भरोसा र विश्वास गर्ने बताउनुभएको छ । महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको आज छुट्टाछुटै उद्घाटन गर्दै उहाँले कानून कार्यान्वयन गरी अपराधीलाई तत्काल पक्राउ गर्नसके सबैले नेपाल प्रहरीप्रति भरोसा गर्ने बताए । “प्रविधिले मात्र अपराध नियन्त्रण हुन सक्दैन, प्रहरी पनि चनाखो हुनुपर्छ”, उनले भने, “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी दृढ सङ्कल्पका साथ लागि परेको छ ।” महानिरीक्षक खनालले समाजमा हुने अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रममा २६ हजार नागरिक जोडिसकेका छन् । उनले सरकारले राखेको नीतिअनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई नेपाल प्रहरीले अरु नागरिकभन्दा छिटोे, छरितोे सेवा प्रदान गरेको बताउँदै भूकम्पपछि त्रिपालमुनि बसेर पनि नेपाल प्रहरीले नागरिकको सुरक्षामा खटिएको स्मरण गरेका छन् । महानिरीक्षक खनालले सुन्दर भवनबाट सुन्दर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए । नेपाली चलचित्र जगत्का महानायक राजेश हमालले प्रहरी र नागरिक एक सिक्काका दुई पाटा भएको बताउँदै प्रहरीमा बढुवा र चलचित्रमा इन्सपेक्टरको भूमिका महत्वपूर्ण हुने गरेको उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाल, काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसीलगायतले पछिल्लो समय नेपाल प्रहरीले अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको बताएका हुन् । महानगरीय प्रहरी वृत्त लैनचौरको भवन एक वर्ष अगाडि निर्माण भए पनि जग्गा नेपाल प्रहरीको नाममा नामसारी नभएकाले उद्घाटन भने आज गरिएको हो । झण्डै रु आठ करोड लागतमा निर्माण भएको उक्त भवन ३१ कोठा र महिला, पुरुष र तेस्रोलिङ्गी समुदायलाई थुन्नका लागि छुट्टाछुट्टै थुनुवा कक्ष रहेको वृत्तका प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिए । सोही अवसरमा वृत्तको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज भने दुई महिना अगाडिमात्र सम्पन्न भएको हो । संयुक्त राष्ट्रसङ्घको (युएनओपिएस) परियोजनाअन्तर्गत सम्पन्न भएको उक्त वृत्त अन्डरग्राउण्ड पार्किङसहित पाँचतल्ले रहेको छ । १८ महिनामा सम्पन्न भएको उक्त भवन निर्माणका लागि रु ११ करोड लागेको वृत्तका प्रमुख उमेश लम्सालले बताए । युएनओपिएस परियोजनाले नेपालका विभिन्न जिल्लामा ५६ वटा प्रहरी कार्यालय निर्माण गरिसकेको परियोजना देशीय निर्देशक चाल्र्स कलाननले जानकारी दिएका हुन् । जसमध्ये २५ वटा भवन निर्माण गरिसकेको छ भने बाँकी भवन पनि निर्माणाधीन अवस्थामा रहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले भवन निर्माणसँगै प्रहरी कर्मचारीको मनोबल वृद्धि हुने र उपत्यकाको शान्ति सुरक्षा थप मजबुद हुँदै जाने विश्वास व्यक्त गरे । रासस

ग्लोबल आईएमईले लाभांश दियो, हाथवेका शेयरधनीको शेयर नै ‘हरायो’, सीडीएससीका कारण हजारौं शेयरधनी अन्योलमा

काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गर्यो । केही समय अघिमात्रै हाथवे फाइनान्सलाई आफूमा गाभेको ग्लोबल आईएमईले घोषणा गरेको उक्त नाफामा तात्कालिन हाथवे फाइनान्सका शेयरधनी पनि सहभागी हुन पाउँछन्, तर लाभांश घोषणामा खुसी हुने बेलामा उनीहरु भने आफ्नो डिम्याट खाताबाट शेयर नै हराएर पीडित छन् । ग्लोबल आईएमईले हाथवेलाई प्रतिशेयर ४२ रुपैंया दिएर आफूमा गाभेको थियो जसअनुसार हाथेका शेयरधनीले कुल कित्ताको ४२ प्रतिशत बराबर हुन आउने ग्लोबल आईएमई बैंकको शेयर पाउनुपर्ने थियो । तर शेयरधनीको डिम्याट खाताबाट हाथवेको शेयर हरायो तर अहिलेसम्म ग्लोबल आईएमईको शेयर आएको छैन । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले भने शेयर कन्भर्सन हुँदा समय लागेको बताएको छ । सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले कम्पनी मर्जर वा एक्विजिसनपछि सम्बन्धित कम्पनीहरुका आरटीएसले शेयर कन्भर्ट गर्न आवेदन दिएपछि त्यो प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले शेयर नदेखिएको जानकारी दिए । ‘आरटीएसहरुले ल्याएको डकुमेन्ट पूरा नहुँदा वा सेबोनले एप्रुभ गर्न समय लगाउँदा यसमा समय लाग्ने गरेको हो, कसैको पनि खाताबाट शेयर हराउँदैन, कन्भर्ट भएपछि आउँछ’ उनले भने । आरटीएसहरु भन्छन्, बिनाकारण गाली खानुपर्छ त्यसो त यो समस्या हाथवेको मात्रै होइन, मर्जर वा एक्विजिसनमा गएका सबै कम्पनीहरुको शेयर कन्भर्सनमा त्यस्तै समस्या देखिने गरेको छ, सप्तकोशी विकास बैंक र काबेली विकास बैंकको शेयर कन्भर्सनमा पनि त्यस्तै समस्या देखिएको थियो भने अरु जुनसुकै कम्पनीमा पनि त्यस्तै समस्या देखिने गरेको आरटीएसहरु बताउँछन् । यसले गर्दा शेयरधनीहरुबाट धेरै गुनासो र गाली खानुपरेको दुःखेसो छ उनीहरुको छ । ‘शेयरधनीको खाताबाट शेयर नै हराउँदा ग्राहकको गुनासो ल्याउनु स्वाभाविक पनि हो, कहिले ग्राहकहरु सोझै आएर कराउँछन्, कहिले डीपीहरुले भन्छन्, कहिले त कम्पनीले समेत के भएको भनेर सोध्छन्, हामीले गर्नसक्ने केही होइन, तनाव मात्रै खेप्नुपर्छ’ एकजना आरटीएसका अधिकारीले विकासन्यूजसँग भने । समाधान छैन ? लगानीकर्ता संघका नेताहरु झट्ट हेर्दा यो समस्याजस्तै नदेखिए पनि यसले सम्बन्धित शेयरधनीहरुलाई निकै ठूलो असर गर्ने गर्ने बताउँछन् । यसका लागि सीडीएससीले सानो प्रयास गरे पनि पुग्ने उनीहरुको भनाई छ । ‘यो ठूलो कुरा होइन, सीडीएससीले चाहे तत्कालै समस्या समाधान गर्नसक्ने कुरा पनि हो, तर हामीले देवजी (सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता) लाई यसबारे भनेका पनि थियौं तर किन उहाँले यसलाई गम्भीरतापूर्वक लिनुभएन अचम्म लागेको छ’ – मेरो नाम नलेख्नु भन्दै एक लगानीकर्ता नेताले विकास न्यूजसँग भने । उनले सीडीएससीले ग्राहकबाट शुल्क उठाउने काममा मात्रै बढी ध्यान दिने गरेको आरोप उनको थियो ।

रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो, सवारी साधन चलाउँदा सूर्ती सेवनमा प्रतिबन्ध

मस्को । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो । खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक कदमले मदिरा सेवनमा कमी आएको अध्ययनले देखाएको छ । रुसमा पछिल्ला वर्षमा अल्कोहल बेचबिखनमा कडाई गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति मानिसहरुलाई आकर्षित गर्न अभियान नै थालिएको छ । विश्वमै रुसी गणराज्य अत्यधिक मदिरा सेवन गर्ने मुलुकको रुपमा निकै चर्चामा रहेको थियो भन्दै प्रतिवेदनमा सन् १९९० को दशकमा मानिसको मृत्युको एउटा प्रमुख कारण पनि मदिरा सेवन नै रहेको उल्लेख छ । तर पछिल्ला वर्षहरुमा यो प्रवृत्तिमा नाटकीय रुपमा सुधार आएको छ । अध्ययनमा सन् २००३ देखि २०१६ को अवधिमा मदिरा सेवनको दरमा ४३ प्रतिशत कमी आएको देखिएको छ ।प्रतिवेदनका लेखकहरुले अल्कोहल सेवनमा कमी भएकै कारण रुसीहरुको औसत आयु पनि बढेको बताएका छन् । सन् २०१८ मा महिलाको औसत आयु ७८ वर्ष र पुरुषको ६८ वर्ष पुगेको थियो । यो रुसकै इतिहासमा सबैभन्दा उच्च हो । सन् १९९० को दशकमा पुरुषको औसत आयु ५७ वर्षमात्र थियो । विगतमा सोभियत नेता मिखाइल गोर्बाचेभले आंशिक प्रतिबन्ध सहित मदिरा–विरोधी अभियान नै चलाएका थिए । यसका कारण सन् १९८० देखि १९९० सम्म मदिराको उपभोगमा निकै कमी आएको थियो । तर, सोभियत संघको विघटन सहित अल्कोहलको उपभोग एकाएक वृद्धि भयो, र योक्रम सन् २००० को दशकसम्म जारी रह्यो । पुटिनको शासनकाल शुरु भएसँगै राति ११ बजेपछि मदिराको बिक्री वितरणमा रोक लगाउनुका साथै खुद्रा बिक्रीमा कर वृद्धि र विज्ञापन प्रशारणमा प्रतिबन्ध लगाइयो । रुसी वयस्क उमेरका व्यक्तिहरुले आजभोलि फ्रान्सेली र जर्मनको भन्दा न्यून मात्रामा अल्कोहल सेवन गरिरहेको डब्लुएचओले जनाएको छ । मस्कोले हालैमात्र सवारी साधन चलाउँदा सूर्ती सेवनमा प्रतिबन्ध लगाएको छ । रासस/एएफपी

माछापुच्छ्रे बैंकले कावासोतीमा बिस्तार गर्यो २ शाखा रहित बैंकिङ सेवा

काठमाडौँ । कावासोतीमा माछापुच्छ्रे बैंक लिमिटेडले दुई वटा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । सोमबार कावासोती १७ मा बैंकले १२९ औँ  र कावासोती ६ मा १३० औँ शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको शाखा प्रबन्धक शेषराज पोखरेलले बताए । शाखा प्रबन्धक पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशेखर मर्दनिया, नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल, वडा नं १७ का वडा अध्यक्ष छविलाल महतो विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए ।

फिफा विश्वकपकाे दोस्रो चरणमा २३ खेलाडी छनोट

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । त्यस्तै, डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० गोललेले पराजित गरेको थियो । रासस