यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराले दिए राजीनामा
काठमाडौँ । एक महिलालाई यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले मंगलबार दिउँसो राजीनामा दिएका छन् । नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देश गरेपछि महराले प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाएका हुन् । ‘सोमबारदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’- महराले बुझाएको राजीनामापत्रमा उल्लेख छ ।
कार चालकले सेफ ड्राइभिङ्गका लागि सम्झनै पर्ने ‘८ मन्त्र’
काठमाडौँ । केहि वर्ष अघिसम्म पनि सम्पन्न वर्गले सोखका रुपमा प्रयोग गर्ने गरेको कार वा बाइक आज भने सबैको आवश्यकता बनिसकेको छ । यहि आवश्यकता बनिसकेको साधन कार वा बाइकको प्रयोग राम्रोसँग गर्न नजान्नाले गर्दा झन्झट व्यहोर्नेहरुको संख्या पनि दिनहुँ बढ्दो छ । सामान्यतया चालकले सवारी चलाउँदा ट्राफिक नियमको पालना गरे पनि केहि सानातिना कुराहरुतर्फ ध्यान दिन नसक्दा भने भयङ्कर दुर्घटनाको शिकार पनि बन्न सक्दछन् । यसै तथ्यलाई मध्यनजर गर्दै आज हामीले सुरुवाती चालकले सुरक्षित कार ड्राइभिङ्गका लागि सम्झनै पर्ने ८ कुराहरुलाई ‘मन्त्र’ का रुपमा प्रस्तुत गरेका छौं । यस्ता छन् ८ मन्त्र: १. सिकारु चालकले पहिले आफ्नो कारसँग राम्ररी परिचित हुनुपर्छ । आफ्नो कारका हरेक पार्टस्हरु जस्तै–क्लच, गियर, ब्रेक, स्टेयरिङ्ग इत्यादिको प्रयोग सही रुपमा कसरी गर्ने भन्ने बारेमा राम्रोसँग ज्ञान राख्नुपर्ने हुन्छ । २. गाडीलाई शाखा सडकबाट मूल सडकमा निकाल्ने बेलामा टर्न सिग्नलको प्रयोग गर्नुपर्दछ । यसो गर्नाले मूल सडकमा भएका सवारी चालकले तपाईं कुन दिशातर्फ मोडिदै हुनुहुन्छ भन्ने कुरावारे पहिलेनै जानकारी पाउनेछन्, जसका कारण सम्भावित खतरा पनि टर्न सक्दछ । ३. गाडी चलाउँदा मादक पदार्थको सेवन गर्नै हुँदैन । रिस उठेको वेलामा अथवा तनावमा भएको बेला पनि गाडी नचलाउनु नै उपयुक्त हुन्छ । यस्तो बेलामा चालकको ध्यान पूर्णरुपमा गाडीमा केन्द्रित नहुने भएकोले दुर्घटना हुने सम्भावना अधिक रहन्छ । ४. चालकले आफ्नो आँखालाई सडकमा केन्द्रित नगर्नु भनेको ठूलो दुर्घटना निम्त्याउनु हो । ड्राइभिङ्ग गरेको बेला मोबाइल चलाउने, स्पिडोमिटरमा हेर्ने, सडक छेउका दृष्यहरु हेर्दै कुदाउने गर्नु हुँदैन । ५. आफ्नो गाडीसँग पहिला परिचित नभई द्रुत गतिमा चलाउँछु भनेर सोच्नु हुँदेन । त्यसैले हाइवेमा होस् अथवा सीटी एरियामा, गाडीमा पूरा बानी नपरुन्जेलसम्म बिस्तारै कुदाउनु पर्दछ । ६. सिटिङ्ग पोजिशन कम्फर्टेवल भएन भने चालकले आफ्नो पूरा ध्यान गाडीमा केन्द्रित गर्न सक्दैन र धेरै अप्ठ्याराहरु झेल्नु पर्ने हुन्छ । त्यसैले सिटलाई चालकले सवै दिशामा देख्न सक्ने गरी र एक्सलेरेटर, ब्रेक, क्लच पेडल्स र गियरसम्म राम्रो पहुँच हुने गरी एडजस्ट गर्नुपर्ने हुन्छ । ७. गाडी चलाउन थालेको शुरुवाती अवस्थामा ब्रेकिङ्गमा राम्रोसँग बानी परिएको हुँदैन । त्यसैले यस्तो अवस्थामा गाडी चलाउँदा अन्य सवारीहरुसँग केहि बढी नै दूरी राख्नुपर्दछ । ८. कारको स्टेयरिङ्गमाथि चालकको राम्रो नियन्त्रण हुनु जरुरी हुन्छ । विज्ञहरुका अनुसार ‘नाइन ओ क्लक’ र ‘थ्री ओ क्लक’ पोजिशनमा स्टेयरिङ्ग समाउनुलाई उत्कृष्ट मानिन्छ । यो पोजिशनका अनुसार दायाँ हातले स्टेयरिङ्गको पुरै दायाँतर्फ र बायाँ हातले स्टेयरिङ्गको पूरै बायाँतर्फ समाउनु हो ।
तीन करोड लागतमा खानेपानी आयोजना सम्पन्न, झोलङ्गे पुल भने निर्माणधीन अवस्थामा
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्म बस्तीमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थानयीवासीले शुद्ध खानेपानी पिउन पाएका छन् । विसं २०६५ बाट निर्माण शुरु भएको सो आयोजना दुई महिना अघि सकिएको हो । सङ्घीय सरकारको रु दुई करोड ८४ लाख, साविकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीबाट रु ३५ लाख र पाइपलाइन विस्तारका लागि बर्दघाट नगरपालिको रु छ लाखको लगानीमा सो आयोजनाको निर्माण सम्पन्न भएको दाउन्नेदेवी खानेपानी समितिका सचिव दुर्गा चौधरीले बताएका छन् । आयोजनाबाट बर्दघाट नगरपालिका–१४ धर्मबस्ती, गङ्गाबस्ती, सूर्यनगर, शीतल बस्तीलगायतका स्थानीयवासीले शुद्ध खानेपानी पिउन पाएका छन् । साविक दाउन्नेदेवी गाउँ विकास समितिका वडाअन्तर्गत हाल बर्दघाट नगरपालिका–१४ का करिब एक हजार २०० घरधुरीलाई शुद्ध पानी वितरण गरिने योजना रहेको समितिका अध्यक्ष सूर्य आलेले जानकारी दिए । अहिलेका लागि दुई लाख २५ हजार लिटर क्षमता भएको ट्याङ्की निर्माण गरिएको र अपुग भएमा बोरिङमार्फत पानी रिजर्भ र फिल्टर गरी जनसमुदायलाई शुद्ध पिउने पानी वितरण गरिने योजना बनाइएको समितिले जनाएको छ । झोलङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ (तल्लेबेलहानी) र वडा नं १४ डेढ नम्बर जोड्ने खजुरा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बर्दघाट नगरपालिका–१४ र खजुरा खोला पारी रहेको वडा नं ७ तल्लो बेलहानी जोड्ने गरी निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा नं १४ का अध्यक्ष केशव खत्रीले जानकारी दिएका छन् । सङ्घीय सरकारको करिब रु एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण कार्य भइरहेको छ । पुलको लम्बाइ १२१ मिटर र चौडाइ साढे एक मिटर रहेको पुल निर्माणको जिम्मा लिएका बिएलटी कन्स्ट्रक्सनले जनाएको छ । पुल निर्माणको समय अवधि १८ महिनाको रहे पनि स्थानीयस्तरबाट सबैको सहयोगका कारण करिब छ महिनाभित्रै निर्माण सकिने लक्ष्य लिएको निर्माण कम्पनीका प्राविधिक क्याम्प थापाले जानकारी दिएका हुन् । रासस
पैसाकाे काराेबार घट्याे, डिजिटल काराेबारकाे रेकर्ड छैन
काठमाडौं । नेपाली समाजमा नाेटकाे प्रयाेग घट्न थालेकाे छ । प्रविधिकाे विकास र प्रयाेगसँग क्यासलेस काराेबारमा वृद्धिले नगद पैसाकाे काराेबार घटेकाे अधिकारीहरूले बताएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७६ असार मसान्तसम्म बजारमा चार खर्ब ९४ अर्ब रुपैयाँ नोटको प्रयोग भएको थियो । भदौ मसान्तमा चलनचल्तीकाे नाेट चार खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ । पहिलाे पटक चलनचल्तीमा रहेकाे नाेटमा गिरावट देखिएकाे नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निराैलाले बताए । गत वर्ष चलनचल्तीकाे पैसा स्थीर देखिएकाे र यस वर्षकाे शुरूमा गिरावट देखिएकाे उनले बताए । ‘विगतमा हरेक वर्ष २० देखि २५ प्रतिशतले नगद प्रयोग वृद्धि भएको थियो । तर पछिल्लो एक वर्षको अवधिमा वृद्धि भएन’ प्रवक्ता निरौलाले विकासन्युजसँग भने-‘गत वर्ष आर्थिक वृद्धि ७ प्रतिशत र मुद्रा स्फीति ५ प्रतिशत रहेको थियो । आर्थिक वृद्धि र मुुद्रा स्फीति दुबै बढेकाे बेलामा नाेटकाे सर्कुलेशन स्थीर हुनु भनेकाे नगद काराेबार कम हुनु हाे ।’ राष्ट्र बैंकले पनि नाेटकाे प्रयाेग कम गराउदै लैजाने नीति लिएकाे र सूचकाङ्क पनि सकारात्मक देखिएकाे उनले बताए । विभिन्न व्यक्ति, क्षेत्र वा निकायमा जम्मा भएको पैसालाई नोट सर्कुलेटरी भनिन्छ । जनतासँग, बैंकिङ् भल्टमा, राष्ट्र बैंकको बैकिङ् कार्यालयमा, सरकारी निकायमा, स्थानीय निकायसँग तथा व्यापारीसँग भएको नगदकाे याेगलाइ नाेट सर्कुलेशन भनिन्छ । उनीहरू सबैसँग भएको कूल पैसा गरेर हाल ४९२ अर्ब रुपैयाँ रहेको छ । नाेटकाे सट्टामा चेक भुक्तानी, डेविट तथा क्रेडिट कार्डकाे प्रयाेग, इन्टरनेट, मोबाइल वालेट तथा एप्पबाट हुने काराेबारले नगद काराेबार कम भएकाे हाे । यस्ताे काराेबार सजिलाेलाई र सुरक्षित बनाउन पछिल्लाे समय बैंक तथा निजी क्षेत्रका कम्पनीहरूले पनि प्रविधिमा धेरै लगानी गर्दै आएका छन् । डेविट तथा क्रेडिट कार्डकाे प्रयाेग, इन्टरनेट, मोबाइल वालेट तथा एप्पबाट कति काराेबार हुन्छ भन्ने रेकर्ड भने राष्ट्र बैंकसँग छैन ।
कफीखेतीतर्फ आकर्षित भए किसान, सवा करोड बढीको कफी उत्पादन
चौतारा । सिन्धुपाल्चोकका किसान कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक रोपेपछि ३५/४० वर्षसम्म उत्पादन दिनुका साथै वृद्धवृद्धा र केटाकेटीले समेत दाना टिप्न सक्ने सजिलो खेती भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लामा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको छ । उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको पार्चमेण्ट ग्रिनवीच कफीप्रति प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १०।३ मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमै खपत हुने गरेको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले जानकारी दिएका छन् । कफीखेतीबाट जिल्लाका किसानले वार्षिक रु ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न सफल भएपछि खाद्यान्न बालीको तुलनामा यसतर्फ अभिरुचि देखाउन थालेका उनले बताए । कफीको बिरुवालाई छहारीको आवश्यकता पर्ने हुँदा केराखेती, फलफूल र खाली जमिनमा अदुवा, खुर्सानी तथा बेसारखेती गर्न सकिने हुँदा अतिरिक्त आम्दानीसमेत गर्न सकिन्छ । कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भू–क्षय रोक्नसमेत सघाउ पुर्याउँछ । सन् २००८ मा जिल्ला कफी सहकारी सङ्घ स्थापना भएदेखि यहाँ उत्पादित कफी विदेश निर्यात हुन थालेको हो । जिल्लामा १२ स्थानीय तहमध्ये लिसङ्खुपाखर र पाचँपोखरी थाङपाल गाउँपालिकाबाहेक सबैमा कफीखेतीको विस्तार गरिएको छ । यहाँको हावापानीअनुसार सबैभन्दा उत्तम मानिने बोर्न प्रजातिको अराविक कफीको बिरुवा लगाइएको छ । प्राङ्गारिक प्रमाणपत्रका आधारमा १४ देखि १६ मिलीमिटरको कफी विदेश निर्यात हुने गरिएको छ । दिनप्रतिदिन कफी पिउने नेपालीको सङ्ख्यामा वृद्धि हुन थालेपछि बाँकी कफी स्वदेशमै खपत हुने गरेको सङ्घका पूर्वअध्यक्ष एवं केन्द्रीय कफी सहकारी सङ्घका उपाध्यक्ष सुदर्शन बोलखेले बताएका छन् । सिँचाइ र छहारीको कमी भएका केही ठाउँका पुराना बोटमा हाल सेतो गवारा रोग लागेपछि जैविक विधिबाट उपचार भइरहे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको उनले बताए । कफीका दाना मङ्सिरदेखि चैतसम्म टिप्ने गरिन्छ । जेठसम्म सबै सङ्कलन भएपछि अरु काम गरिन्छ । यस कार्यमा संलग्न महिला र पुरुष ३०/३२ जनाले रोजगारीसमेत पाएको सङ्घले जनाएको छ । रासस
पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक
काठमाडौं । पुर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ सार्वजनिक भएको छ । सोमबार राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो । फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन रहेको छ भने उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो मार्फत स्रोता÷दर्शकमाझ ल्याएको उमेश राईले बताए । यस्तै अतिथिहरुले उमेशले उदाहरणीय कार्य गरेको भन्दै उनको कार्यको प्रशंसा र बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले यो गीतले पूर्वेली लोक जुहारी गीतको प्रतिनिधित्व गरेको र भिडियो पनि गीत सुहाउँदो संस्कार संस्कृति झल्किने रहेको बताएका छन् ।
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाइ उडान, भयाे द्विपक्षीय सम्झौता
काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने सम्बन्धी सम्झौता भएको छ । उक्त समझदारीपत्रमा पर्यटन मन्त्रालयका सहसचिव आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलका तर्फबाट सङ्घीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका हुन् । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४० औं मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा आज नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिएका छन् । “आइकाओको प्रधान कार्याल मन्टियल क्यानाडामा आज (१ अक्टोबर सन् २०१९ मा) नेपाल सरकार र अष्ट्रेलिया सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भई हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षरका साथै एक समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ”, सहसचिव आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौताअनुरुप दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्नेछन् । नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न पाउनेछन् । अन्य विमानस्थलमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ । यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सात उडान गर्न पाउने जनाइएको छ । पोखरा, भैरहवालगायत अन्य विमानस्थलमा सातामा २८ उडान गर्न सक्नेछन् । दुईपक्षीय समझदारीअनुसार दुई मुलुकका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान सङ्ख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने जनाइएको छ । सहसचिव आचार्यका अनुसार दुवै पक्षका एयरलाइन्सले दक्षिण एशिया, दक्षिण–पूर्वी एशिया र मध्यपूर्वका कुनै दुई विन्दुहरु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौँ ट्राफिक अधिकार उपोग गर्न पाउनेछन् ।
तीन दिने बैंकिङ्क साक्षरता र आधारभुत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न
काठमाडौं । जनता बैंक र नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका वडा नं. २ र ३ मा तीन दिने बैंकिङ्क साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ । असोज ११, १२ र १३ गते गरी ३ दिनसम्म संचालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु, उक्त क्षेत्रमा रहेका सहकारीका कर्मचारीहरु, विद्यालयका शिक्षकहरु र कुशादेवी क्याम्पसका विद्यार्थीहरु गरी करिब १०० जना वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका थिए । त्यसैगरी वडा नं. २ र ३ को दैवीप्रकोप जोखिम न्युनीकरण समितिले वडाका भौगोलिक क्षेत्र समेटिने गरी छनौट गरेका २४ जना सहभागीहरुलाई मान्यता प्राप्त प्रशिक्षकद्वारा पाठ्यक्रममा आधारित ३ दिने आधारभुत प्राथमिक तालिम प्रदान गरिएको थियो । उक्त तालिम लिएका ब्यक्तिहरुले गाउँमा आइपर्ने कुनै घटनाबाट घाइते हुन पुगेकाहरुलाई प्राथमिक उपचार गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन सक्ने छन् ।