विकासन्युज

पार्टीभित्र कुनै विवाद र द्वन्द्व छैन्ः रायमाझी

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन् । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने,‘बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’ यता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका महत्वपूर्ण उपलब्धि माथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । उनले भने,‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने हामीमाथि डर छ । सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ । २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको टिप्पणी गरे । उनले भने,‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा चौतर्फी राम्रो देखिने हुन्छ । सारा कुरा राम्रो देखिने भन्ने हुन्छ । यदि त्यो साँचो भैदिएको भए पुरै नेपाल सुनैसुनको र सारा नेपाली समद्ध हुन्थे ।’ उनले यतिवेला जनता अत्यन्तै ज्यादा निराश रहेको बताए । उनले भने,‘दुई तिहाई मतका साथ जनताले नेकपालाई सरकारमा पुर्याए । निर्वाचन भएको २२ महिना भैसक्यो । सरकार बनेको २० महिना भैसक्यो । यो बीचको मुल्यांकन गर्ने हो भने सरकार ठीक ढंगले अघि बढेको छैन् ।’ राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने धारणा राखे । उनले भने,‘संविधान संशोधन गर्नुपर्छ । राज्यको पूनसंरचना हुँदा तीन तहको सरकार बनेको छ । तीन तहको चुनाव भएको छ । यो उपलब्धिलाई रक्षा गर्न कानून, व्यवस्था र जनशिक्तको अभाव रहन्छ । संघीयतामाथि जसरी प्रहार भैरहेको छ, गणतन्त्रमाथि भएको प्रहार छ । यो हाम्रो लागि चिन्ताको विषय हो । राजपा भएको उपलब्धिलाई रक्षा गर्नुपर्छ भन्ने पक्षमा छ ।’

बैंक तथा वित्तीय संस्थाले संकलन गरे ४४ अर्ब निक्षेप, २३ अर्ब लगानी

काठमाडौं । असोज महिना नेपालीको महान चाड दशैं परेकाले बैंकमा निक्षेप संकलन राम्रो देखिएको छ । दशैंमा कर्मचारीको तलबमा एक महिनाको थप तलब समेत बढेर आउने र अन्य खर्च समेत बढ्ने भएको बैंकिङ च्यानलमा बढी निक्षेप देखिएको हो । असोज महिनामा मात्र बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब अर्थात दिनको डेढ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसले अप्ठ्यारो पर्ने अवस्थामा पुगेका बैंकहरूलाई केही सहज बनाएको छ । सरकारले पूँजीगत खर्च गर्न सकेको भए अझ यो निक्षेप बढ्ने थियो । तर, सरकार चालु आवको यो अवधिमा जम्मा १८ अर्ब ५८ करोड रुपैयाँमात्र खर्च गरेको छ । यस अघि निक्षेपको तुलनामा बढी कर्जा प्रवाह हुँदा बैंकर्सहरूले पुनःलगानी योग्य पुँजी अभाव हुने अनुमान गरेका थिए । भदौमा ५७ अर्ब कर्जा प्रवाह देशमा संचालित बैंक तथा वित्तीय संस्थाले भदौ महिनामा ५७ अर्ब कर्जा प्रभाव गरेका छन् । भदौकै जस्तो कर्जा प्रभाव असोजमा भने बढ्न सकेको छैन । असोजमा भने वित्तीय संस्थाहरूले २३ अर्बमात्रै कर्जा प्रभाव गरेका छन् । असोजमा दशैं परेकोले निक्षेप संकलनको तुलनामा कम कर्जा भएको छ । असारमा ४४ अर्ब बढेको निक्षेप साउन र भदौमा लगानी गर्दा बैंकहरू रित्तिने अवस्थामा पुगेका थिए । असोजमा थपिएको निक्षेपले बैंकहरू केही सहज अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो सातासम्म ५ प्रतिशत रहेको बैंकहरूको अन्तर बैंक ब्याजदर अहिले घटेर ३ प्रतिशतमा पुुगेको राष्ट्र बैंकको तथ्यांक छ । असार कर्जा प्रवाह गर्ने महिनाको रुपमा बैंकहरूले प्राथमिकतामा नपारेपनि २५ अर्ब लगानी भएको छ । असार महिना बैंकर्सहरूका लागि कर्जा असुली गर्ने र योजना बनाउने महिना हो । यद्यपी बैंकहरूले बढाएको कर्जा प्रवाह निजी क्षेत्रमा मात्र नभएर सरकारी र वित्तीय दुबै संस्थामा बढेको तथ्यांक राष्ट्र बैंक तयार पारेको छ । निजी क्षेत्रले भदौ महिनामा ५६ अर्बले कर्जा बढाएका छन् । यसरी सबै क्षेत्रबाट कर्जाको माग बढ्दै जाँदा बैंकहरूमा तरलता अभाव देखिन थालेको छ । राष्ट्र दिएको पछिल्लो तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ३० अर्ब तरलता छ ।

लक्ष्मी बैंकद्वारा माई कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित

काठमाडौँ । लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ नामक क्राउड सोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डिजाइनर टीशा श्रेष्ठलाई बिजेताका रुपमा घोषणा गरिएको हो । क्राउड सोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको बैंकले जनाएको छ । यस प्रतियोगिता अन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आव्हान गरिएको थियो । नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक महिनासम्म चलेको प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइन वापत कूल रु. ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नु हुनेछ । कार्यक्रममा विजेता डिजाइनहरुको समेत अनावरण गरिएको थियो ।

नेपाल टेलिकमले पर्वतको विद्यालयलाई दियो चार थान कम्प्युटर

काठमाडौँ । नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ पोखराचौरस्थित श्रीराम माविलाई चार थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरिएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको समुपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्मालाई दूरसञ्चार कार्यालय पर्वतका कार्यालय प्रमुख मोहन सुवेदीले कम्प्युटरहरु हस्तान्तरण गरे । सो अवसरमा नगरपालिका प्रमुख शर्माले कम्पनीले देशका सबै स्थानमा सेवा पु¥याउनुका साथै अन्य सामाजिक कार्यमा समेत संलग्न भएकोमा खुसी ब्यक्त गरे । कार्यालय प्रमुख मोहन सुवेदीले प्रविधिमैत्री शिक्षाका लागि थप टेवा पुगोस् भन्ने उद्देश्य अनुरुप विद्यालयलाई कम्प्युटर प्रदान गरिएको कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भुसालले कम्प्युटर प्रदान गरेकोमा नेपाल टेलिकमप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत सूचना प्रविधि क्षेत्रमा समेत टेवा पुग्ने गरी पठनपाठनमा सहजताका लागि सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्दैै आएको छ । कम्पनीले यो वर्ष १५ थान कम्प्युटर वितरण गर्ने कार्यक्रम रहेकोमा डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसलाई ५ थान र दुर्गा माध्यमिक विद्यालयलाई २ थान तथा कपिलवस्तुको बाल माध्यमिक विद्यालयलाई ४ थान कम्प्युटर वितरण गरिसकेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

नेबिकोको सुगर फ्रि डाइजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा

काठमाडौँ । नेबिको प्रालिले उपभोक्ताको चाहनालाई मध्ये नजर गर्दै सुगर फ्रि डाइजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा बजारमा ल्याएको छ । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ मेटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको छ । विदेशबाट आयातित यो एटीसीमा प्याकेजिङ गरिएको यो बिस्कुट ३६० ग्रामको २ सय रुपैयाँमा बजारमा ल्याइएको छ । फेमेली प्याक भित्र दश वटा साना प्याक भएको हुँदा ग्राहकले खरिद पश्चात तुरुन्त खपत गर्नु पर्ने बाध्यता नरहने जनाइएको छ । उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा सन्तुलन एवम् मधुमेह भएका तथा नभएकाहरुको स्वास्थ्यलाई पनि ध्यानमा राखी कोलस्ट्रोल रहित उत्कृष्ट स्वादमा यो बिस्कुट उपलब्ध छ । नेबिको प्रालि विगत ५५ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री बितरण गरिरहेको ठूलो कम्पनी हो । सुगर फ्रि डाइजेष्टिभ बिस्कुट नेबिकोको उत्कृष्ट उत्पादन मध्ये एक हो । विगत ६ वर्षदेखि नेपाली उपभोक्ता माझ यो ब्राण्ड लोकप्रिय भएको छ ।

लोगो विश्वविद्यालयकाे अध्यापन निजीको

काठमाडौं । त्रिविको नाम, निजीमा काम, दिमागमा दाम हुनाले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का करिब एक हजार ५०० प्राध्यापक वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको पाइएको छ । लोगो विश्वविद्यालयको लगाएर त्यही लोगो बेच्दै तन, मन र ऊर्जा अन्यत्र खर्च गर्ने र सार्वजनिक शिक्षामा प्वाल पार्ने धमिरे प्रवृत्ति मौलाएको छ । त्रिविको स्वीकृति लिएर प्राध्यापकले वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले जानकारी दिएका छन् । निर्देशनालयसम्बन्धी विनियममा त्रिविका प्राध्यापक पूर्वस्वीकृति लिएर मात्र बाहिर आंशिक समयका लागि पढाउन पाउने व्यवस्था छ । सोहीअनुसार वर्षेनी त्रिविका आंगिक क्याम्पसअन्तर्गतका प्राध्यापकले बाहिरका क्याम्पस तथा कलेजमा पढाउन पाउने गर्दछन् । बाहिर पढाउनका लागि स्थायी र करार प्राध्यापकले निर्देशनालयमा निवेदन दिनुपर्ने छ र निर्देशनालयले निवेदन हेरेर पढाउनका लागि स्वीकृति दिने गर्दछ । उनका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार ३५८ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएको छ भने आव २०७४÷०७५ मा एक हजार ४१७ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएको थियो । “विनियमअनुसार प्राध्यापकले क्याम्पसलाई कुनै असर नपर्ने गरी अन्यन्त्र पढाउन पाउँछन्”, उनले भने, “हामीले प्राध्यापकबाट आएका निवेदन हेरी ती प्राध्यापकलाई अयन्त्रका लागि पढाउन स्वीकृति दिने गर्दछौँ ।” राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा एउटै सिफ्टमा दुई–तीनतिर पढाउनेहरू पनि भेटिएको उल्लेख छ । करिब १८ प्रतिशत प्राध्यापकले अनुमति लिएर अन्यत्र पढाइरहेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । अनुमति नलिई निजीतिर धाउनेको संख्या प्रशस्तै छ । गैरसरकारी संस्थामा कन्सल्टेन्सी गर्नेहरू अध्ययनका विषय बनेका छैनन् । त्रिविमा पूर्णकालीन करिब आठ हजार प्राध्यापक रहेका छन् । उनका अनुसार विनियमअनुसार नआएका निवेदनलाई भने त्रिविले स्वीकृति दिने छैन । त्रिविले आव २०७५÷०७६ मा १४ जना र आव २०७४÷०७५ मा ११ जना प्राध्यापकलाई स्वीकृत दिएको थिएन । ती पदाधिकारी भएकोले अध्यापनका लागि स्वीकृत नदिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिएका छन् । त्रिविले पदाधिकारी भनी उल्लेख गरिएका पदका प्राध्यापकलाई भने अयन्त्र पढाउनका लागि पूर्व स्वीकृत दिने गरेको छैन । त्रिविका पदाधिकारी, विभागका डीन, सहायक डिन, निर्देशनालयका निर्देशक, उपनिर्देशक, परीक्षा नियन्त्रक, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई पदाधिकारी भनी व्याख्या गरिएको छ । विशिष्ट चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइने यसैगरी त्रिविको पदाधिकारी भए पनि चिकित्सा सेवाका विशेषज्ञ चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइने बारेमा छलफल भएको कार्यकारी निर्देशन खनालले जानकारी दिए । “त्रिविको शिक्षण अस्पतालमा मात्र कुनै एकमात्र विशेषज्ञ चिकित्सक छन् भने मानवीय संवेदनशीलतालाई हेरेर अन्यन्त्र काम गर्न दिइने भन्नेबारे प्रस्ताव आएको छ”, उनले भने, “छलफल गरेर हामीले यस्ता विशेषज्ञ चिकित्सकलाई अयन्त्र काम गर्न दिने सोचमा रहेका छौँ ।” त्रिविका ६१ आंगिक क्याम्पस, ३९ निकाय, नौ डिन कार्यालय, चार वटा अनुसन्धान विभाग रहेका छन् । यस आवमा पनि त्रिविले सूचना प्रकाशित गरी अयन्त्र पढाउनका लागि प्राध्यापकलाई निवेदन माग गरेको छ । निर्देशनालयका उपनिर्देशक ओम बरालका अनुसार अहिलेसम्म करिब ५०० प्राध्यापकले अयन्त्र पढाउनका लागि निवेदन दिएका छन् । त्रिविले साउनदेखि मङ्सिर मसान्तसम्म निवेदन माग गरेको छ । यसैगरी त्रिविले स्वीकृत नलिएर पढाउने २० जना कारवाहीका लागि त्रिवि कार्यकारी परिषद्मा सिफारिस गरिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिएका छन् । रासस

कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महिनादेखि अलपत्र परेका हुन् । छ महिनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पुर्याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताएका छन् । “चार महिनासम्म लेबरको काम लगायो”, उनले भने, “कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।” काठमाडौँको धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनीमा प्रतिव्यक्ति रु ८० हजार बुझाएर उनीहरु कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताए । “इलेक्ट्रिसियनको काम भनेर मेनपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ”, उनले भने, “कतार पुर्याएपछि चार महिना लेबरको काम दियो र मासिक रु एक हजार १०० तलब दिने सम्झौता भए पनि उनीहरुले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।” यसरी, चार महिनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो । दुई महिनादेखि काम र शुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई उद्धार गरेर नेपाल फर्काउन उनीहरुले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् । उनीहरुलाई कतार पठाउने धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताएका छन् । “विसं २०७५ फागुन १४मा प्रवेशाज्ञाा आएको देखाउँदै धरौटी रकम बुझेर चार महिनापछि जेठ २३ गते उडायो”, उनले भने, “अहिले उनीहरू बसुन्धारामा राप्ती म्यानपावर कम्पनी खोलेर बसेका छन् ।” उता मेनपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरुले बिना कारण काम छाडेर बसेको बताउँछन् । “उनीहरुले कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हुन्”, उनले भने, “अहिले काम छाडेर बसेका रहेछन् । सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।” टिकट र प्रवेशाज्ञा निःशुल्क भएपनि सो मेनपावर कम्पनीले उनीहरुलाई प्रतिव्यक्ति रु ८० हजार रकम असुलेको र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको गुनासो थियो । रासस

सिण्डिकेट खारेज नगरे संघर्षमा उत्रिने कुखुरा पालक किसानको चेतावनी

काठमाडौँ । राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपाल कुखुरा पालक किसानहरुका विरुद्धमा दाना उद्योग संघ ह्याचरी उद्योग संघ एवम् राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आफूहरुमाथि विगत तीन दशकदेखि निरन्तर उत्पीडन एवम् ज्यादती गरेको भन्दै आन्दोलित बनेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले आजसम्म पनि उपयुक्त किसानमैत्री कानून बन्न नसकेकोले विचौलिया तथा दलाहरुको निरन्तर उत्पीडनमा नेपाली किसानहरु रहेको आरोप लगाएको छ । समितिले दाना उद्योग संघ तथा ह्याचरी उद्योग संघले विगत तीन दशकदेखि मनोमानी हिसाबले किसानहरुको ढाड भाँचिने गरि चल्ला तथा दानाको मूल्य निर्धारण गरि किसानमाथि थोपरेको सिण्डिकेट खारेज गर्नुपर्ने मुख्य माग राखेको छ । त्यस्तै, समितिले राज्यको सम्बन्धित निकायले चल्ला तथा दानाको गुणस्तरको निमित्त अनुगमन गर्नुपर्ने पनि माग तेर्साएको छ । समितिले दाना उद्योग संघ तथा ह्याचरी संघमा अनिवार्य रुपमा किसानहरुको सहभागिता गराउनुपर्ने माग राखेको छ । समितिले अघि सारेका मागमा कुखुराको लागत मूल्यभन्दा न्यूनतम मूल्य तोकेर बजार मूल्य निर्धारण गर्ने परम्परा अन्त्य गर्नुपर्ने, किसानमैत्री कानून निर्माण गर्नुपर्ने, कुखुराको वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने, दाना उद्योग संघ, ह्याचरी उद्योग संघ एवं राष्ट्रिय कुखुरा बिक्री संघले किसानमाथि थोपरेको सिण्डिकेटको अन्त्य गर्नुपर्ने, राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघ विघटन गरि वास्तविक किसानहरुको समेत सहभागितामा कुखुराको मूल्य निर्धारण गर्ने व्यवस्था गरिनुपर्नेलगायत छन् । समितिका संयोजक विष्णु खड्काले दाना उद्योग संघ तथा ह्याचरी उद्योग संघको ज्यादतीका कारण नोक्सानमा गएका किसानहरुलाई उचित क्षतिपूर्ति दिई बक्यौता रकम मिनाह गर्नुपर्ने माग गरे । आफूहरुले उठाएका जायज माग यथाशक्य चाँडो सम्बोधन नभए बाध्य भएर कडा संघर्षमा जाने पनि समितिका सह–संयोजक बालकृष्ण दाहालले चेतावनी दिएका छन् । दाहालले मूल्य समायोजन नभएसम्म र सरकारको ध्यानाकर्षण नभएसम्म आफूहरुको संघर्षको अभियान जारी रहने स्पष्ट पारे । समितिका संयोजक खड्काले आफूहरु बिगत ३–४ दशकयता किसानहरु अन्याय, ज्यादतीमा परेको र “काम गर्ने कालु, मकै खाने भालु” उखान लागू भएको टिप्पणी गरे । उनले भने,‘जसले दाना र चल्ला बाँड्यो उमाथि अन्याय हुने र कुखुरा पाल्ने किसान दास हुनुपरेको छ । काम गर्ने मान्छे दास संसारमा काही हुँदैन् । तर, नेपाल कृषिप्रधान देशमा किसानमाथि यस्तो अन्याय भैरहेको छ । दरबारमा बसेकाहरुले किसानमाथि अन्याय गरिरहेका छन् ।’ उनले गरिबीको सिमामा रहेका ८० प्रतिशत नेपालीहरुलाई उच्चस्तरमा रहेका मानिसहरुले हक जमाइरहेको पनि टिप्पणी गरे । ‘माफिया भइरहेको छ । यसविरुद्ध हामी किसानहरुको यो शशक्त आन्दोलन हो । यसै पत्रकार सम्मेलनबाट दुई तिहाई सरकारको ध्यानकर्षण गराउन चाहन्छौं ।’–उनले भने । उनले आजैदेखि देशभरि छरिएर सानो लगानीबाट व्यवसाय गरेर बसेका किसानहरुलाई आन्दोलनमा सामेल हुन अपिलसमेत गरेका छन् । उनले भने,‘हामी दाना उद्योग संघ तथा ह्याचरी उद्योग संघहरुले गरेको अन्याय र ज्यादतीको घोर विरुद्ध गर्न चाहन्छौं । राष्ट्रिय कुखुराबिक्रि संघलाई खारेजको माग गर्दछौं । किनभने कुखुरा पाल्ने किसानको अनुमति र सहमतिबिना दरबारमा बसेका मालिकहरुलाई कुखुराको मूल्य तोक्ने अधिकार छैन । दानाको मूल्य दाना संघले तोक्ने, चल्लाको मूल्य ह्याचरी संघले तोक्ने अनि कुखुराको मूल्य चाहीँ दरबारमा बसेकोले तोक्ने । यस्तो ज्यादती हुँदैन् । कुखुराको मूल्य निर्धारण जसले कुखुरा उत्पादन गर्छ, हो उनीहरुले नै तोक्न पाउनुपर्ने माग गर्दछौं ।’ किसानको लागतसम्म नआउने गरी कुखुराको मूल्य निर्धारण गरेको उनको आरोप छ । ‘३० रुपैयाँमा तयार हुने चल्लो ८० रुपैयाँँमा बेच्ने, २५ सयको दाना ३५ सयमा बेच्ने अनि जुन कुखुरा मूल्य नै २३० रुपियाँ लागत पर्छ त्यो चाहीँ १८० मा बेच्नुपर्ने । माफियालाई धनी बनाउन किसानले कुखुराको शुली सोरेको होइन । वैज्ञानिक तरिकाबाट मूल्य समायोजन गर्नुपर्छ ।’–उनले भने । उनले आफूहरुले अघि सारेका माग पूरा नगरे ठीक नहुने चेतावनी दिए । उनले भने,‘यदि यो गर्दैनौं भने तिमीहरुको दिन सुरु भयो । हिसाबकिताबको दिन सुरु भयो । जसले यो देशमा दाना र चल्लाको व्यापार गर्ने र किसानमाथि ज्यादती गर्नेलाई कार्यक्रमबाट यदि तिमीहरु अब सच्चिदैनौं भने तिमीहरुको दिन शुरु भयो । सबै किसानलाई एक हुन पनि आग्रह गर्दछु ।’