विकासन्युज

सिण्डिकेट खारेज नगरे संघर्षमा उत्रिने कुखुरा पालक किसानको चेतावनी

काठमाडौँ । राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपाल कुखुरा पालक किसानहरुका विरुद्धमा दाना उद्योग संघ ह्याचरी उद्योग संघ एवम् राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आफूहरुमाथि विगत तीन दशकदेखि निरन्तर उत्पीडन एवम् ज्यादती गरेको भन्दै आन्दोलित बनेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले आजसम्म पनि उपयुक्त किसानमैत्री कानून बन्न नसकेकोले विचौलिया तथा दलाहरुको निरन्तर उत्पीडनमा नेपाली किसानहरु रहेको आरोप लगाएको छ । समितिले दाना उद्योग संघ तथा ह्याचरी उद्योग संघले विगत तीन दशकदेखि मनोमानी हिसाबले किसानहरुको ढाड भाँचिने गरि चल्ला तथा दानाको मूल्य निर्धारण गरि किसानमाथि थोपरेको सिण्डिकेट खारेज गर्नुपर्ने मुख्य माग राखेको छ । त्यस्तै, समितिले राज्यको सम्बन्धित निकायले चल्ला तथा दानाको गुणस्तरको निमित्त अनुगमन गर्नुपर्ने पनि माग तेर्साएको छ । समितिले दाना उद्योग संघ तथा ह्याचरी संघमा अनिवार्य रुपमा किसानहरुको सहभागिता गराउनुपर्ने माग राखेको छ । समितिले अघि सारेका मागमा कुखुराको लागत मूल्यभन्दा न्यूनतम मूल्य तोकेर बजार मूल्य निर्धारण गर्ने परम्परा अन्त्य गर्नुपर्ने, किसानमैत्री कानून निर्माण गर्नुपर्ने, कुखुराको वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने, दाना उद्योग संघ, ह्याचरी उद्योग संघ एवं राष्ट्रिय कुखुरा बिक्री संघले किसानमाथि थोपरेको सिण्डिकेटको अन्त्य गर्नुपर्ने, राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघ विघटन गरि वास्तविक किसानहरुको समेत सहभागितामा कुखुराको मूल्य निर्धारण गर्ने व्यवस्था गरिनुपर्नेलगायत छन् । समितिका संयोजक विष्णु खड्काले दाना उद्योग संघ तथा ह्याचरी उद्योग संघको ज्यादतीका कारण नोक्सानमा गएका किसानहरुलाई उचित क्षतिपूर्ति दिई बक्यौता रकम मिनाह गर्नुपर्ने माग गरे । आफूहरुले उठाएका जायज माग यथाशक्य चाँडो सम्बोधन नभए बाध्य भएर कडा संघर्षमा जाने पनि समितिका सह–संयोजक बालकृष्ण दाहालले चेतावनी दिएका छन् । दाहालले मूल्य समायोजन नभएसम्म र सरकारको ध्यानाकर्षण नभएसम्म आफूहरुको संघर्षको अभियान जारी रहने स्पष्ट पारे । समितिका संयोजक खड्काले आफूहरु बिगत ३–४ दशकयता किसानहरु अन्याय, ज्यादतीमा परेको र “काम गर्ने कालु, मकै खाने भालु” उखान लागू भएको टिप्पणी गरे । उनले भने,‘जसले दाना र चल्ला बाँड्यो उमाथि अन्याय हुने र कुखुरा पाल्ने किसान दास हुनुपरेको छ । काम गर्ने मान्छे दास संसारमा काही हुँदैन् । तर, नेपाल कृषिप्रधान देशमा किसानमाथि यस्तो अन्याय भैरहेको छ । दरबारमा बसेकाहरुले किसानमाथि अन्याय गरिरहेका छन् ।’ उनले गरिबीको सिमामा रहेका ८० प्रतिशत नेपालीहरुलाई उच्चस्तरमा रहेका मानिसहरुले हक जमाइरहेको पनि टिप्पणी गरे । ‘माफिया भइरहेको छ । यसविरुद्ध हामी किसानहरुको यो शशक्त आन्दोलन हो । यसै पत्रकार सम्मेलनबाट दुई तिहाई सरकारको ध्यानकर्षण गराउन चाहन्छौं ।’–उनले भने । उनले आजैदेखि देशभरि छरिएर सानो लगानीबाट व्यवसाय गरेर बसेका किसानहरुलाई आन्दोलनमा सामेल हुन अपिलसमेत गरेका छन् । उनले भने,‘हामी दाना उद्योग संघ तथा ह्याचरी उद्योग संघहरुले गरेको अन्याय र ज्यादतीको घोर विरुद्ध गर्न चाहन्छौं । राष्ट्रिय कुखुराबिक्रि संघलाई खारेजको माग गर्दछौं । किनभने कुखुरा पाल्ने किसानको अनुमति र सहमतिबिना दरबारमा बसेका मालिकहरुलाई कुखुराको मूल्य तोक्ने अधिकार छैन । दानाको मूल्य दाना संघले तोक्ने, चल्लाको मूल्य ह्याचरी संघले तोक्ने अनि कुखुराको मूल्य चाहीँ दरबारमा बसेकोले तोक्ने । यस्तो ज्यादती हुँदैन् । कुखुराको मूल्य निर्धारण जसले कुखुरा उत्पादन गर्छ, हो उनीहरुले नै तोक्न पाउनुपर्ने माग गर्दछौं ।’ किसानको लागतसम्म नआउने गरी कुखुराको मूल्य निर्धारण गरेको उनको आरोप छ । ‘३० रुपैयाँमा तयार हुने चल्लो ८० रुपैयाँँमा बेच्ने, २५ सयको दाना ३५ सयमा बेच्ने अनि जुन कुखुरा मूल्य नै २३० रुपियाँ लागत पर्छ त्यो चाहीँ १८० मा बेच्नुपर्ने । माफियालाई धनी बनाउन किसानले कुखुराको शुली सोरेको होइन । वैज्ञानिक तरिकाबाट मूल्य समायोजन गर्नुपर्छ ।’–उनले भने । उनले आफूहरुले अघि सारेका माग पूरा नगरे ठीक नहुने चेतावनी दिए । उनले भने,‘यदि यो गर्दैनौं भने तिमीहरुको दिन सुरु भयो । हिसाबकिताबको दिन सुरु भयो । जसले यो देशमा दाना र चल्लाको व्यापार गर्ने र किसानमाथि ज्यादती गर्नेलाई कार्यक्रमबाट यदि तिमीहरु अब सच्चिदैनौं भने तिमीहरुको दिन शुरु भयो । सबै किसानलाई एक हुन पनि आग्रह गर्दछु ।’

ओपोको नयाँ मोडल ‘ओपो रेनोटू’ अब नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । ओपोले आफ्नो नयाँ मोडल ‘ओपो रेनुटु’को बिक्री शुरु गरेको छ । कात्तिक २ गतेदेखि ओपोको आधिकारिक शोरुम न्युरोडमा आयोजित एक कार्यक्रममार्फत उक्त बिक्रीको आरम्भ गरेको हो । ओपो फोनमा चार क्यामेरा जडान गरिनुका साथै यसमा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपी पोट्रेट लेन्स रहेका छन  । साथै, यसकाे  ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता रहेको छ । रेनोटू एफमा ४ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएकाे छ । यसमा ६.५ईञ्चको मल्टि(टच, ३९४ पीपीआईमा २३४०८१०८० पिक्सेल क्यापेसिटिभ स्क्रिनको ब्यवस्था भएको कम्पनीले जनाएको  हाे । यसरी, उक्त  मोडलको नेपाली बजार मूल्य ४६ हजार ९ सय ९० रुपैयाँ रहेको छ भने  लेक ग्रिन र स्काई ह्वाइट गरी दुई  रंगमा सार्वजनिक गरेको छ ।

दशैंमा डबलको डबलको डबल अफरमा विशाल नगरकोटी विजेता

काठमाडौँ । आइएमई सेवाग्राही विशाल नगरकोटी दशैंमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भई चेक ग्रहण गरेका छन् । नगरकोटीले जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएको आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जनाएका छन् ।

एक्ससीएमजीको २२ टनको एक्साभेटर नेपाली बजारमा

काठमाडौं । एक्ससीएमजीको २२ टनको एक्साभेटर नेपाली बजारमा लञ्च भएको छ । अक्टोबर १८ मा सोल्टी होटलमा एक्सइ २१५ सी एक्साभेटर लञ्च गरेको हो । एक्ससीएमजी विश्वकै छैटौं ठूलो निर्माण उपकरण बानाउने कम्पनी हो भने चीनको नं. १ कम्पनी हो । यसले ह्वील लोडर, एक्साभेटर, ग्रेडर, रोलर, क्रेन, पाइलिङ मेशिन, बोरिङ मेशिन जस्ता थुप्रै निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ । नेपालका लागि एक्ससीएमजीको एक मात्रै आधिकारिक बिक्रेताको रुपमा आईडीएमसी रहेको छ । यसको मुख्य कार्यालय ललितपुरको भनिमण्डलमा रहेको छ साथै नेपाल अधिराज्यभरी ६ वटा शाखा कार्यालय समेत स्थापना गरिसकेको छ । एक्काइस हजार नौ सय अपरेटिङ वेट रहेको यो एक्साभेटरमा इसुजुको आयातित इञ्जिन जडान गरिएको छ । यो इञ्जिन १७२ हर्सपावर क्षमताको रहेको छ । साथै, एक्सइ २१५ सी एक्साभेटरमा मेकानिकल पप्प, कावासाकी हाइड्रोलिक सिस्टम, ५.६८ मिटरको बुम तथा २.९१ मिटरको आर्म रहेको छ । यो एस्काभेटर बढी शक्तिशाली र कम इन्धन खपत गर्ने कम्पनीको भनाई छ ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा कर्पोरेट सुपर सिक्सेस ‘सेसन-६’ टुर्नामेन्ट आयोजना हुने

काठमाडौँ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा कर्पोरेट सुपर सिक्सेस ‘सेसन-६’ टुर्नामेन्ट आयोजना हुने भएको छ । कार्यक्रम प्रायोजन सम्बन्धी बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच मंगलबार सम्झौाता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् । सम्झौता पछि यो वर्षको कर्पोरेट सुपर सिक्सेस टुर्नामेन्ट को नाम माछापुच्छ्रे कर्पोरेट सिक्सेस ‘सेसन ६’ टुर्नामेन्ट रहने छ । टुर्नामेन्ट बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य भएको र कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्येनजर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण शुरु, बलियो र सुरक्षित बनाइदै

काठमाडौं । भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक महत्व र पहिचान कायम हुने गरी सिंहदरबारको प्रबलीकरण शुरु गरेको बताए । केही सम्पदाविद्ले सम्पदाका रुपमा मात्र भए पनि सिंहदरबारलाई प्रबलीकरण गरेर जोगाउन सुझाव दिएका छन् । हामीले त्यो भन्दा अघि बढेर राज्यका महत्वपूर्ण कार्यक्रममा समेत प्रयोग हुने गरी बलियो र सुरक्षित प्रबलीकरण गर्दैछौं– प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । उनले भने-‘त्यसैको तयारीले गर्दा पनि पश्चिम मोहडाको प्रबलीकरण शुरु गर्न बढी समय लागेको हो ।’ सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच एकहप्ता अघि ठेक्का सम्झौता भएको थियो । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको पन्ध्र महिनादेखि प्रबलीकरण जारी छ । निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा, आठ करोड छ लाख बिगो कायम

काठमाडौँ । सुनचाँदी कारोबारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ । भारत पलियाखिरी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने अतुल बर्मा र धनगढीमा शिवम् सुनचाँदी पसल सञ्चालक उनका बाबु सुशीलकुमार राजपुतविरुद्ध विभागले रु आठ करोड, छ लाख बिगो कायम हुने गरी कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । प्रतिवादी अतुलले बुबा सुशीलकुमारको नाममा दर्ता भएको शिवम् सुनचाँदी पसलको आडमा भन्सार छलेर चोरी पैठारी गरी नेपाल ल्याएको सुनचाँदी काठमाडौँबाट अवैधरुपमा बिना बिल बिजक खरीद तथा बिक्री वितरण गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ । उक्त कारोबारबाट प्राप्त भएको रकम अतुलको बैंक खातामा जम्मा गरी शिवम् सुनचाँदी पसलको कारोवार न्यून देखाइ आयकरसमेत छली भन्सार चोरी पैठारी गरी भन्सार राजश्व तथा आयकर चुहावट गरेको आरोप उनीहरुमाथि लगाइएको छ । विभागले रु आठ करोड छ लाख आठ हजार बिगो कायम गरी उक्त बिगो असुल उपर गराई दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको मागदावीसहित सोमबार मुद्दा दर्ता गरेको जनाएको छ । अतुलसँग भारतबाट नेपाल आउँदै गर्दा बरामद भएको तीन लाख भारतीय रुपैयाँ र रु २५ हजार फेला परेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐनविपरीत कसुरसमेत गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत गुप्ताको कार्यकाल सकिँदै, नवीकरण नगर्ने बोर्डको संकेत

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल यसै सातादेखि सकिने भएको छ । ४ वर्षअघि २०७२ असोज ३० गते नियुक्त भई कात्तिक ११ गतेदेखि कार्यभार सम्हालेका गुप्ताको यही असोज १० गतेदेखि कार्यकाल सकिन लागेको हो । गुप्ताको कार्यकाल सकिन लागेपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेड सञ्चालक समितिमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि अनौपचारिक छलफल सुरु भएको छ । गुप्तालाई अर्को कार्यकालको लागि निरन्तरता दिने कि नयाँ सीईओ ल्याउने छलफल हुने गरेको एकजना सञ्चालकले जानकारी दिए । गुप्ता र बोर्डबीच पछिल्लो समयमा त्यति राम्रो सम्बन्ध छैन ।  खासगरी सीडीएससीले ल्याएको ‘मेरो शेयर’ एप्लिकेसनको अपग्रेड गर्ने सम्बन्धमा गुप्ता र सञ्चालक समितिबीच विवाद भएकाे थियाे । पछिल्लाे समय विवाद बढेपछि सञ्चालक समिति अध्यक्ष चन्द्रसिंह साउद लगायतले उनलाई निरन्तरता दिन नचाएकाे एक सञ्चालकले बताए । गुप्तालाई नै निरन्तरता दिने हो भने उनको कार्यकाल सकिनु अघि नै बोर्डले निर्णय गर्नुपर्छ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बोर्डका अध्यक्ष साउदले भने नयाँ गुप्ताको कार्यकाल सकिएपछि बोर्ड बसेर नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढाउने बताए । ‘अहिलेको सीईओको कार्यकाल सकिएपछि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढ्छ, बोर्ड बैठक बसेर छनौट समिति बनाउँछौं’ साउदले विकासन्युजसँग भने । सीडीएस एण्ड क्लियरिङ लिमिटेड नेपालको एकमात्र केन्द्रिय निक्षेप प्रणाली र राफसाफको काम गर्ने संस्था हो । देशभर ७४ डिपोजिटरी पार्टनर, करिब २४० भन्दा बढी सूचीकृत कम्पनी छन् ।