कुनै बीमा कम्पनीमा ४०% कर्मचारीले छाेड्दा एनएलजीमा १% प्रतिशतभन्दा कम टर्नओभर
काठमाडौं । बीमा क्षेत्रमा जनशक्तिको अभाव छ । दक्ष जनशक्तिलाई बीमा क्षेत्रले आकर्षित गर्न सकेन । केही कम्पनीहरुमा लामो समय प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको देखियो । अझै केही बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत बिहिन छन् । एकै वर्ष १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा बजारमा थपिदा उच्च तहमा मात्र होइन, मध्यम तहमा समेत कर्मचारीहरुको हाहाकार नै भयो । कुनै कम्पनीमा पुराना कर्मचारी मध्ये ४० प्रतिशतसम्मले छोडे । अर्थात उनीहरु पुरानो कम्पनी छोडेर नयाँ कम्पनीमा प्रवेश गरे । जनशक्तिको अभाव पूर्ति गर्न नेपाली कम्पनीहरुले मुलतः दुई विधि अपनाएको देखिन्छ । पहिलो, अरु कम्पनीको कर्मचारी तान्ने । यो विधिबाट अनुभवी कर्मचारी तान्न सकिन्छ तर उनीहरुको लागि बढुवाको साथै अतिरिक्त सेवा सुविधा तिर्न नयाँ कम्पनी तयार हुनुपर्छ । यसरी बाहिरबाट ल्याउने जनशक्ति महँगो त हुँन्छ नै । साथै, नयाँ कम्पनीमा सञ्चालन प्रणाली बुझ्न, नयाँ सिस्टम चलाउने अभ्यासमा समाहित हुन, नयाँ कम्पनीको कर्मचारी, व्यवस्थापक, ग्राहकसँग घुलमिल हुन पनि केही समय लाग्छ । यदि प्रमोशन खाएर खाएको व्यक्ति हो भने उसका लागि कम्पनी मात्र नयाँ हुँदैन । जिम्मेवारी र भूमिका पनि नयाँ हुन्छ । यसमा अभ्यस्त हुन लामो समय लाग्न सक्छ । कतिपय अवस्थामा कर्मचारीहरु नयाँ कम्पनीको नयाँ भूमिकामा आफूलाई स्थापित गर्न असफल नै हुन्छन् । दोस्रो विधि भनेको जनशक्ति विकासमा कम्पनी आफैले लगानी गर्नु हो । यो विधि केही लामो हुन्छ । साथै जनशक्ति विकासमा कम्पनीको लगानी पनि ठूलै हुन्छ । ‘हामीले आन्तरिक रुपमा जनशक्ति विकासमा जोड दिएका छौं’ एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त भन्छन्–‘आफैले क्षमता विकास गराउँदा कम्पनीलाई पनि राम्रो हुन्छ । बीमा क्षेत्रको लागि पनि राम्रो हुन्छ ।’ अरु कम्पनीबाट दक्ष जनशक्ति तान्ने प्रतिस्पर्धा बीमा क्षेत्रको लागि राम्रो नभएको उनको भनाई छ । ‘बीमा क्षेत्रको लागि आवश्यक यस्तो जनशक्ति विकास अरुले गरिदिदैनन् । बीमा कम्पनीहरु आफैले जनशक्ति विकास गर्ने हो’ उनी भन्छन्–‘बजारमा ४० बीमा कम्पनीहरु छन् । सबैले नयाँ जनशक्तिलाई भित्र्याउने र ट्रेन गर्ने हो भने जनशक्ति विकास र बीमा बजार विकास दुबै काम सँगै हुन्छ ।’ एनएलजीले जनशक्ति विकासमा विभिन्न किसिमबाट काम गर्दै आएको छ । ‘हामीले पुर्नबीमा कम्पनीहरुको सहयोगमा अन्तराष्ट्रिय स्तरको तालिमहरु आयोजना गरिरहेको छौं । हरेक वर्ष बीमा विदेशमा तालिमका लागि कर्मचारीहरु पठाईरहेका हुन्छौं’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले भने–‘हामीले हरेक वर्ष भारतमा १२/१५ जना कर्मचारीलाई तालिममा पठाउँछौं । त्यस्तै, सिंगापुर लगायत अन्य देशमा पनि कर्मचारीलाई तालिममा पठाउने गरेको छौं ।’ विदेश पठाउँदा उत्कृष्ट व्यक्तिलाई पनि पठाउने र फर्किएर आएपछि उसले एनएलजीका कर्मचारीलाई सिकाउने अभ्यास एनएलजीमा भईरहेको उनले बताए । साथै, एनएलजीले नेपाली विज्ञहरुलाई बोलाएर मुख्य कार्यालय वा विभिन्न क्षेत्रमा उपयुक्त व्यक्तिहरुलाई भेला गराएर कर्मचारीहरुलाई तालिम दिने गरेका छौं । कस्तो जनशक्ति राम्रो ? बीमा क्षेत्रमा शैक्षिक योग्यतासँगै लामो अनुभव र कार्यकुशलता राम्रो भएको जनशक्ति आवश्यक पर्छ । बीमा कम्पनीका लागि आवश्यक जनशक्ति भनेको जोखिम मूल्याङ्कन गर्न सक्ने हुनुपर्छ । जोखिम मूल्याङ्कन पनि दुई अवस्थामा गर्नुपर्छ । एउटा भविष्यमा हुन सक्ने सम्भावित जोखिम विश्लेषण गर्न सक्नुपर्यो । कति जोखिम लिने, कति जोखिम नलिने भन्ने निर्णय पनि लिन सक्नुपर्यो । दोस्रो, घटना भईसकेपछि वास्तविक क्षति कति हो, बीमाले कभर गरेको क्षति कति हो र बीमितलाई कति क्षतिपूर्ति दिनु पर्ने हो भनेर मूल्याङ्कन गर्नुपर्छ । यस्तो कार्य शैक्षिक योग्यता राम्रो भएको व्यक्तिले भन्दा बढी अनुभव भएका व्यक्तिबाट कार्य सम्पादन राम्रो हुने गरेको पन्तको अनुभव छ । नेपालमा मात्र नभई विश्वव्यापी रुपमा बीमा क्षेत्रको अनुभव यस्तै रहेको उनले बताए । बीमा कम्पनी सञ्चालन गर्ने आफ्नै विधि र अभ्यासहरु हुन्छन् । कुनै एउटा बीमा कम्पनीको पोलिसीले मात्र बीमाको समग्र प्रणाली बन्दैन, चल्दैन । त्यसमा पुर्नबीमा कम्पनीको पोसिली पनि जोडिएर आएको हुन्छ । बीमा समितिले बनाएको नीति निर्देशनहरु पनि जोडिएर आएको हुन्छ । बीमा क्षेत्रमा काम गर्ने मान्छेको लागि आफ्ना कम्पनीको नियमका अतिरिक्त बीमा समितिले तय गरेको नियामकीय नीति, पुर्नबीमा नीति, जोखिम विश्लेषण गर्ने विधि, क्षति मूल्याङकन गर्ने विधि सबैबारे जानकार हुनुपर्छ । साथै, बजारमा अन्य बीमा कम्पनीहरुले कस्तो गरेका छन्, त्यसको असर बजारमा के परेको छ, कम्पनीको आफ्ना नीति निर्णय कार्यान्वयमा कहाँ कहाँ र के के बाधा छन् तीनको पहिचाहन हुनुपर्छ । ‘हामीले हाम्रो कम्पनी सञ्चालन विधि र प्रक्रिया आफैले तयार गरेका छौं । ती दस्तावेज उच्च तहको कर्मचारीको टेबुलमा मात्र छैन, सबै शाखामा छन् । कसको भूमिका के हुने ? कसको अधिकार के हुने भनेर स्पष्ट रुपमा लेखेका छौं । यो दस्तावेज सम्बन्धित सबै कर्मचारीलाई वितरण पनि गरेका छौं’ पन्तले भने । एनएलजी इन्स्योरेन्स कम्पनीका कर्मचारी अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी छन् कि छैनन् ? यस कम्पनीले दिने सेवाको स्तर अन्तराष्ट्रिय बजारको तुलनामा कस्तो छ भनेर जाँच समेत गर्ने गरेको छ । ‘हाम्रो कम्पनीका कर्मचारीहरुले विदेशमा समेत गएर आफ्ना प्रस्तुति राख्न सक्छन् । आफ्ना अनुभव र मान्यताहरु खुलेर राख्न सक्ने भएका छन्’ पन्तले भने । एनएलजी इन्स्योरेन्स कम्पनीमा हाल करिव ३५० जना भन्दा कर्मचारी छन् । यस टर्नओभर १ प्रतिशत भन्दा कम रहेको उनले बताए । ‘हामी जनशक्ति विकासमा यति खर्च गर्छौ कि अरु कम्पनीले हाम्रा कर्मचारीको लागि त्यति खर्च गर्न नै नसकून’ कम्पनीको रणनीतिबारे उनले बताए । ‘हामीले कर्मचारीको क्षमता विकासमा मात्र काम गरेका छैनौं । मोटिभेशन, टिम बिल्डिङ, इन्टरटेन्मेन्टका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका हुन्छौं’ उनी भन्छन्–‘ कर्मचारीलाई स्वस्थ्य बनाउने, स्वच्छ बनाउने, विभिन्न प्रतिस्पर्धात्मक कार्यहरु गर्न लगाउने, कर्मचारीबीच जिम्मेवारी र सन्तुष्टिको बारेमा आन्तरिक सर्भे गर्ने, इच्छाअनुसारको जिम्मेवारी सुम्पने काम भईरहेको छ ।’ एनएलजी इन्योरेन्सले स्थापनादेखि नै कर्मचारीलाई कसरी ह्यापी बनाउने भन्ने भयो । कर्मचारीलाई उपदानको व्यवस्थाको साथै उनीहरुको जीवन बीमा गरिएको छ । घर कर्जा सुविधा, सवारी साधानको सुविधा कम्पनीले प्रदान गर्दै आएको छ । ‘आजको दिन मात्र होइन, आफ्टर रिटायर्डमेन्टलाई पनि हामीले हेरेका छौं । लङटर्म बेनिफिटको आधारमा नै कम्पनी सेवा सुविधा दिएको छ’ उनले भने ।
सामुदायिक वनमा लगाएकाे कर हटाउन माग गर्दै उपभोक्ता उत्रे सडकमा
राजापुर । सरकारले लगाएको तेहेरो करको विरोधमा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा हजारौँ उपभोक्ता जम्मा भएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घको आह्वानमा बर्दिया जिल्लाका उपभोक्ता विरोध स्वरुप सडकमा उत्रिएका हुन् । सङ्घ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरी वन पैदावार बिक्रीबाट हुने कूल आम्दानीको ९० प्रतिशतसम्म कर लिन सक्ने विधयेक सरकारले प्रस्तावका रुपमा अगाडि बढाएपछि महासङ्घ आन्दोलनमा उत्रिएको सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष शर्मा चौधरीले बताएका छन् । यसअघि पनि सङ्घीयताको भावना र सामुदायिक वन अभियानको मर्मविपरीत सरकारले लगाउन लागेको तेहेरो कर फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाउने, र्याली र विरोधसभा गर्ने गरिएको थियो । र्यालीसहित विरोधसभाको आयोजना गरिएको कर्याक्रममा वक्ताहरुले अझै पनि सरकारले बेवास्ता गरेमा कडाभन्दा कडा आन्दोलनमा उत्रने बताएका छन् । नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र प्रदेशमार्फत प्रस्तावित विधेयकमा सङ्घीय सञ्चित कोषमा १५ प्रतिशत, प्रदेश र सेवा शुल्क सञ्चित कोषमा २७ प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय तहको सञ्चित कोषमा १०, मूल्य अभिवृद्धि कर १३ र उपभोक्ता समूहको बचत रकममा आयकर २५ प्रतिशत कर गरी ९० प्रतिशत कर लगाउने नीतिप्रति महासङ्घको आपत्ति रहेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य महम्मद कर खाँले बताएका छन् । उनका अनुसार समूहले व्यापारिक प्रयोजनका लागि समूहबाहिर बिक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कका रूपमा ‘सङ्घीय कोषमा’ जम्मा हुने व्यवस्था गरी उक्त रकम तीनै तहका सरकारबीच बाँडफाँटको व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ । नेपालको हरियाली प्रवर्धन तथा सामाजिक आर्थिक सशक्तीकरण गर्न र समावेशी लोकतन्त्र स्थापना र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै महासङ्घका केन्द्रीय सदस्य महम्मदकर खाँले सामुदायिक वन उपभोक्ता समूहमाथि सङ्घ र प्रदेश सरकारले वन तथा अर्थसम्बन्धी विभिन्न नयाँ कानून तर्जुमा गरेर सामुदायिक वनको योगदानलाई अवमूल्यन गरेको बताएका हुन् । बर्दिया जिल्लामा कूल ३०७ सामुदायिक वनअन्तर्गत २० हजार ३०६ हेक्टर वन क्षेत्र व्यवस्थापन भइरहेको र जसमा ५४ हजार ८८१ घरधुरीका रहेका छन् । स्थानीयस्तरका विकासका पूर्वाधार निर्माण र सशक्तीकरणमा सामुदायिक वनको महत्वपूर्ण योगदान रहेको पाइन्छ । रासस
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर चितवनको भरतपुरमा
काठमाडौं । प्रभु बैंकले चितवनको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । साेमबार उक्त काउन्टरको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले गरेका हुन् । यस प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा सेवाग्राहीहरुले बिना झण्झट रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । यसरी, प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
बाईक सौखिनहरुको पकड क्षेत्र पोखरामा जिक्सर स्टन्ट मानिए हुँदै
काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखराको लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्डले सुजुकी जिक्सर स्ट्रिट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट को आयोजना गर्न लागेको छ । सुजुकीको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको पावर तथा पर्फमेन्सलाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् । अन्तर्राष्ट्रिय प्रख्यात राईडर डिआरआयु, राम सरदारले प्रत्यक्ष कला प्रदर्शन गर्ने हिमालय अटो वर्ल्डका संचालक सौरब थापाले जानकारि दिए । साथै नेपाल बिरलै देख्न पाईने अन्तरास्ट्रिय राईडरको सुरक्षित चालकी कलालाई पोखरामा प्रत्यक्ष हेर्ने मौका सुजुकी ले प्रथम पटक मिलाएको भिजि अटोमोबाईल्सका सहमहाप्रबन्धक धिरज भट्टराईले जानकारी दिए । साथै उक्त कला प्रदर्शनपछि नेपाली चर्चित म्यालोडी गायक अलमोडा राना उप्रेतीसंग प्रत्यक्ष सांगीतिक माहोलमा रम्न पाईने छ । सुजुकी मोटर्स ईन्डियाद्वारा उत्पादित जापानिज प्रबिधिको जिक्सर बाईक मा २५० सिसि को इन्जिन क्षमता, २६.५ बिएचपि पावर, एफआई प्रबिधि, सुजुकी आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट, एलईडिहेड ल्याम्प जस्ता विशेष प्रबिधि सहितका बिशेषता राखेर उत्पादन गरिएको छ । यो एउटा कम्प्याक्ट मोडल हो, नेकेड भर्जन तथा स्पोर्टी फेयरिङ्ग भर्जन गरी ३ मोडलमा उत्पादन गरिएको छ । साथै सुजुकीले आफ्ना उत्पादनमा ५ बर्ष सम्मको वारेन्टी सुबिधा प्रदान गर्दै आएको छ। सुजुकीले स्टन्ट मानिया काठमाडौं पछि पोखरामा गर्न लागेको हो । पोखरा क्षेत्रलाई नेपाली बाईक सौखिनहरुको पकड क्षेत्रको रुपमा लिने गरिन्छ । त्यसकारण पनि सुजुकिले आफ्नो पावरफुल मोटरसाईकललाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गर्न लागेको हो । कार्यक्रम बुधवार दिउसो २ बजे देखि पोखरा सभागृहमा गर्न लागिएको र ईन्ट्री फ्रि गरिएको कम्पनीले जनाएको छ।
महिला मन्त्री भन्छिन्-‘महिला हिंसा अन्त्य गर्नु तीनै तहका सरकारको जिम्मेवारी’
काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकारले जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको बताएकी छिन् । बेजिङ्ग सम्मेलनको २५ वर्ष प्लस् राष्ट्रिय समीक्षा कार्यक्रमकोे अवसरमा वियोण्ड वेजिङ्ग कमिटिले काठमाण्डौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् । उनले स्थानीय तहहरु जनताको नजिकै भएकाले महिलाहरुको अवस्था स्थानीय तहसँग बुझ्ने र स्थानीय सरकारसँग मिलेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार रहेको बताइन् । स्थानीय तहले सरकारले बनाएको योजनाहरु कार्यान्वयन गर्न सक्यो भने महिला हिंसाको घटना न्यूनिकरण गर्न सम्भव रहेको उनको भनाई छ । यस्तै वियोण्ड वेजिङ्ग कमिटिका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले सन् १९९५ मा चिनको भएको बेईजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलनका कारण महिलाहरुले आफ्नो आवाज राख्ने वातावरण बनेको बताइन् । उनले चौथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैगिंक समानताको लागि उन्मुख गराएकाले नेपालमा पनि यसले परिवर्तन आएको बताइन् । नेपालले वेईजिङ्ग सम्मेलनले प्रतिपादन गरेका १२ वटा सरोकारका सवालहरुको कार्यान्वयनका लागि राष्ट्रिय कार्यनीति तयार गरी पूर्ण प्रतिवद्धता व्यक्त गरिसकेको छ । जसमा वियोण्ड बेइजिङ्ग कमिटी नेपालले सन् १९९४ देखि नै लैङ्गीकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ । पारित गरेको कार्यनीतिको बारेमा जानकारी दिन र त्यो कार्यनीतिको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी दिन राष्ट्रिय समिक्षा गोष्ठी गरिएको हो ।
बंगलादेशसँग नेपालको ३ अर्ब रुपैयाँको व्यापार घाटा, बैठकपछि कम होला त ?
काठमाडौं । नेपाल-बंगलादेशबीचको दुई देशीय व्यापारसम्बन्धीे चौथो बैठक मंगलबारदेखि काठमाडौंमा सञ्चालन भइरहँदा बंगलादेशसँग नेपालले बर्सेनि अर्बौ रुपैयाँको व्यापार घाटा व्यहोर्दै आएको छ । गत आर्थिक वर्षमा नेपालको बंलादेशसँग २ अर्ब ९४ करोड ८७ लाख ७१ हजार व्यापार घाटा भएको थियो । व्यापार तथा निर्यात प्रर्वद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा बंगलादेशबाट नेपालमा ४ अर्ब २४ करोड २२ लाख ४६ हजारको विभिन्न बस्तु आयात भएको थियो भने नेपालबाट बंगलादेश १ अर्ब २९ करोड ३४ लाख ७५ हजारको मात्रै निर्यात भएको थियो । नेपालबाट गलैंचा, धागो, अलैंची, टेक्सटाइल, जुस, उलन तथा पश्मिना, जुट ब्याग र जडिबुटी लगायतका बस्तुहरु बंगलादेश निर्यात हुने गरेको छ । त्यसैगरी बंगलादेशबाट तरकारी तथा फलफूल, कस्मेटिक, कपडा र मेशिनरी सामानहरु आयत हुने गरेको छ । ३ वर्षको नेपाल-बंगलादेशबीचको व्यापार अवस्था यस्तो छ: आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४ करोड ७९ लाख ३१ हजारको बस्तु निर्यात भएको थियो भने ४ अर्ब २२ करोड ६७ लाख २ हजारको आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ८ करोड ३० लाख २४ हजारको नेपालबाट बस्तु निर्यात भएको थियो भने ४ अर्ब ७९ करोड १० लाख ३४ हजार रुपैयाँको विभिन्न वस्तु बंगलादेशबाट आयात भएको थियो । यसैगरी आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब २९ करोड ३४ लाख ७५ हजारको नेपालबाट बस्तु निर्यात भएको थियो भने ४ अर्ब २४करोड २४ लाख ६ हजार रुपैयाँको बंलादेशबाट नेपालमा बस्तु आयात भएको व्यापार तथा निर्यात प्रर्वद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । नेपाल-बंगलादेश व्यापार बैठकबाट के हुन्छ फाइदा ? उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले नेपाल र बंगलादेशबीचको जारी ब्यापार बैठक नेपालको व्यापार घाटा कम गर्न उपलब्धीमूलक हुने बताए । मंगलबारबाट शुरु भई बुधबार सम्पन्न हुने उक्त ब्यापार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकालको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी छ । त्यस्तै बंगलादेशको तर्फबाट वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वमा सात सदस्यीय टोलीले बैठकमा सहभागिता जनाएको छ ।
फाइभ-जीका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण, टेलिकम व्यवसायको आयतन बढ्यो
बेइजिङ । चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन् । चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि द्रुत गतिमा काम गरिरहेको छ । टेलिकम क्षेत्रको व्यवसायको आयतनमा जनवरीदेखि अहिलेसम्ममा गत बर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबार जानकारी गराएको तथ्याङ्कमा उल्लेख छ । टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि चिनियाँ कम्पनीहरूले बढाएको रफ्तारसँगै चिनियाँ स्मार्ट फोन निर्माण कम्पनीहरूले पनि फाइभ–जी सेवा चल्ने मोबाइल सेटको निर्माणलाई निकै बिस्तार गरिरहेको जनाएका छन् । चीन सरकारले फाइभ–जी इन्टरनेट सेवाको व्यवसायिक प्रयोग गर्ने ‘ग्रीनलाइट’ जुनमा दिएसँगै टेलिफोन निर्माण कम्पनीले पनि आफ्ना उत्पादनहरूलाई आधुनिक प्रविधिमैत्री बनाएका छन् । सन् २०१९ को पहिला तीन त्रैमासिकमा चीनले विभिन्न १८ नमूनाका फाइभ–जी स्मार्टफोन निर्माण गरेका छन् । उनीहरूले अहिलेसम्म करिब सात लाख ८७ हजार फाइभ–जी मोबाइल सेट बजारमा पठाइसकेको मन्त्रालयअन्तर्गतको एक अनुसन्धानमुलक संस्थाले जानकारी गरायो । रासस÷सिन्ह्वा
छिट्टै सार्वजनिक हुँदै बिएस६ इञ्जिन सहितको ‘होण्डा सिबि शाइन एसपि’, पावर अझ बढ्ने
काठमाडाैं । पछिल्लो समयमा होण्डा टू-व्हिलर्स इण्डियाले आफ्ना प्रायजसो मोडेलहरुमा बिएस६ इमिसन स्ट्याण्डर्ड सहितको इञ्जिन समावेस गरेको पाइन्छ । यसै क्रममा होण्डाले आफ्नो प्रख्यात कम्युटर मोटरसाइकल ‘सिबि शाइन १२५ एसपि’ लाई पनि बिएस६ मापदण्ड यूक्त इञ्जिन समावेस गरेर छिट्टै बजारमा ल्याउने भएको छ । बिएस६ अर्थात् ‘भारत स्टेज ६’ इञ्जिनमा हुने त्यस्तो प्रदुषण मापदण्ड हो जसले इञ्जिनबाट उत्पन्न हुने प्रदूषणलाई कम गराउँछ । इलेक्ट्रोनिक फ्युल इन्जेक्सन टेक्नोलोजी समावेस गर्दै बजारमा ल्याउन लागिएको सिबि शाइन एसपिमा १२४.७३ सीसीको बिएस६ इञ्जिन लगाइएको छ जसले १०.८८ एचपीको पावर प्रदान गर्नेछ जुन हालको तुलनामा धेरै हो । हाल बजारमा विक्री वितरण भइरहेको होण्डा सिबि शाइन १२५ बिएस४ ले चाहिँ १०.३१ एचपीको पावर प्रदान गर्ने गरेको छ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार केहि मूल्य वृद्धिका साथ बजारमा आउन लागेको बिएस६ होण्डा सिबि शाइन एसपिको डाइमेन्सन पनि थोरै बढ्ने छ । हालको मोडेलको तुलनामा सो बाइकको लम्वाईमा १३ मिलिमिटर, चौडाइमा २३ मिलिमिटर, उचाइमा १८ मिलिमिटर र व्हिलवेसमा चाहिँ १९ मिलिमिटरले वृद्धि हुनेछ । यसरी डाइमेन्सनमा वृद्धि हुन जाँदा बाइकको कर्बवेट पनि थोरै बढ्नेछ । नेपालका लागि होण्डा टू–व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. रहेको छ भने कम्पनीले नेपाली बजारमा बिएस४ इञ्जिनयूक्त होण्डा सिबि शाइन एसपिको सुरुवाती मूल्य दुई लाख २९ हजार रुपैयाँ तोकेको छ ।