खारेजीमा परेर पनि वैदेशिक रोजगारीका नाममा ठगी गर्ने संस्थाको कार्यालयमा विभागको सिलबन्दी
काठमाडाैं । विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था बमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थाहरुलाई वैदेशिक रोजगार विभागले गत भदाै २९ मा सूचना प्रकाशित गरी दिएको निर्देशन विपरित त्यस्ता कतिपय संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको छ। चप्पलकारखाना स्थित सि-लिंक ओभरसिज सर्भिसेस प्रा. लि. को इजाजतपत्र स्वतः रद्द भएको भएतापनि हालसम्म पनि सक्कल राहदानी र रकम फिर्ता नगरेकाले राहदानी र क्षतिपूर्ति रकम दिलाईपाउ भनी निमिका शेर्पा समेत ७ जनाले दिएको उजुरीको सम्वन्धमा विभागले कार्तिक ४ गते उक्त स्थानमा आकस्मिक अनुगमन टोली खटाएको थियो। अनुगमन टोली विगतमा सि-लिंकको कार्यालय रहेको भवनमा पुग्दा करिव ७०/८० जना व्यक्तिहरु सि-लिंकलाई बुझाएको राहदानी र रकम फिर्ता पाउने आशमा सि-लिंकको भवन परिसरमा कुरिरहेको पाइएको थियो। तर उक्त सि-लिंकले विभागको निर्देशन विपरित हालपनि कार्यालय खडा गरी वैदेशिक रोजगारमा पठाईदिने भनी व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला परेको छ। अनुगमन टोली आएको थाहा पाएपछि सि-लिंकको संचालक भनिएका अनिस सुन्दास भन्ने व्यक्ति सम्पर्कविहिन भएको हुँदा सि-लिंकमा रहेका राहदानी र व्यक्तिहरुले रकम बुझाएको प्रमाण भएका कागजातहरु सुरक्षित गर्नको लागि घर धनी ,पत्राकार र सुरक्षाकर्मीको रोहवरमा सि-लिंक रहेकको घरलाई सिलवन्दी गरिएको छ। यस भन्दा अघि पनि भदौ २४ गते वौद्ध प्रहरीले उक्त सि-लिंकले संकलन गरेका करिव १५० जना व्यक्तिहरुको राहदानी सहित सि-लिंकका कर्मचारीलाई बाैद्ध क्षेत्रवाट नियन्त्रणमा लिई वैदेशिक रोजगार विभागमा मानिस सहित राहदानी वुझाएको थियो जसको हाल विभागले विस्तृत अनुसन्धान गरिरहेको छ भने फरार संचालक बिरुद्ध विभागले कानूनी कारवाही अघि बढाएको छ। पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमामा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी सोझासाझा व्यक्तिहरुलाई झुक्याई राहदानी र रकम बुझ्ने काम गरिरहेको भन्ने मौखिक गुनासो प्राप्त भएको छ। त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थाबारेमा जानकारी प्राप्त गर्ने जुनसुकै व्यक्तिले वैदेशिक रोजगार विभागमा जानकारी गराउन विभागले सबैमा अनुरोध गरेको छ। त्यस्ता ठगी धन्दा चलाउनेहरु विरुद्ध कानून बमोजिम हदैसम्मको कारबाही गर्ने तयारीमा विभाग रहेको छ ।
भाइ मसलामा उपभोक्ताको आकर्षण, पौने अर्बको बिक्री हुने
काठमाडौं । तिहार नजिकिएसँगै बजारमा भाइ मसला बिक्री बढ्न थालेको छ । साना खुद्रा पसलदेखि ठूला सुपर मार्केटहरु ‘तिहार बजार’ ले छोपेसँगै उपभोक्ताको ध्यान भाइ मसलाको आकर्षक प्याकेटमा पर्न थालेकाे छ । सुपर मार्केटमा यस वर्ष प्रति प्याकेट न्यूनतम ४ सय रुपैयाँदेखि करिब १७ सय रुपैयाँसम्मको भाइ मसला रहेको अनामनगर भाटभटिनीले जानकारी दिएको छ । भाइमसलाको अझै नयाँ प्याकेट आउने तयारीमा रहेको जानकारी दिँदै ग्राहकलाई नै लक्षित गरी प्याकेट आउने बताइयो । पछिल्लाे समय सामाग्री किन्दा ग्राहकहरु बढी मूल्य तिरेर आकर्षक एवम् गुणस्तरीय सामाग्री लिने गर्छन् । यहि क्रम तिहार लागेसँगै सुन्दर भाइमसलाको प्याकेट खरिद गर्न कुनै लोभ गर्दैनन् । भाटभटेनीमा भेटिएकी सिर्जना शाक्य भन्छिन्- वर्षदिनमा आउने तिहारका लागि मूल्य कति पर्छ भन्दापनि आकर्षक मसलाको प्याकेट राेजाइमा परेकाे बताइन् । यता, हाल असन बजारमा तिहारको चहलपहल शुरु भइसकेको छ । पुरानो एवम् सम्पूर्ण उपभोक्ताको केन्द्रविन्दु रहेको न्यूरोड तथा असनका चोक चोकमा तिहार लक्षित सामाग्री किन्नेको भिड बढेको छ । तिहार बजार लागेसँगै भाइमसलाको बिक्री शुरु भएको असनका खुद्रा व्यापारी घनश्याम महर्जनले बताए । उनले भने-यस वर्ष मसलाको मूल्य नबढेको भन्दै पछिल्लो समय खुल्ला मसला किन्नेको संख्या पनि बढिरहेको हुँदा हाल आफ्नो पसलमा ५० रुपैयाँदेखि ८ सय रुपैयाँसम्मको प्याकेट रहेको जानकारी दिए । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यस वर्ष भाइ मसलाको मूल्य खासै नबढेको जानकारी दिए । सुकुमेल र मखनकाे मूल्य भने बढेकाे छ । सुकुमेलकाे मूल्य गत आवकाे तुलनामा २५ सय रुपैयाँले बढेर ५५ सय रुपैयाँ पुगेकाे छ । मखन प्रतिकेजी ११ सयबाट बढेर १२ सय ५० पुगेको छ । अन्य मसलाकाे भने खासै मूल्य बढेको छैन । उपभोक्ताहरु मूल्य तथा गुणस्तर प्रति सचेत रहेसँगै अघिल्ला वर्षमा बिक्री नभएका भाइ मसला बिक्री गर्ने प्रथा हराएको अध्यक्ष श्रेष्ठले बताए । नेपालमा पछिल्लो समय चाडपर्व मनाउने शैली नक्कल गर्ने मानिसको संख्या बढेको छ । सामाग्रीको मूल्यभन्दा पनि उपभोक्ताले हेर्दा आकर्षक एवंम गुणस्तरीय वस्तुप्रति ध्यान दिनु पर्छ, भन्ने कुरामा सजक भएर अगाडी बढ्दा राम्राे हुने उनले बताए । भाइ मसलामा प्रयोग हुने प्रमुख सामाग्रीको मूल्य भाइ मसलाको प्याकेटमा प्रयोग हुने सामाग्री काजु प्रतिकेजी १५ सयदेखि १७ सय रुपैयाँसम्म बजार मूल्य रहेको छ । त्यस्तै अत्याधिक मात्रामा सबैले रुचाउने किसमिस प्रतिकेजी ५ सय रुपैयाँदेखि ६ सय ५० रुपैयाँ रहेको छ । पेस्ता प्रतिकेजी १७ सय देखि १९ सय रुपैयाँ रहेको छ । दालचिनी प्रतिकेजी ५ सय रुपैयाँदेखि ५ सय ५० रुपैयाँ रहेको छ । ल्वाङ प्रतिकेजी १८ सय रुपैयाँ रहेको छ । सुपारीको मूल्य प्रतिकेजी ६ सय रुपैयाँ रहेको छ । यस वर्षको तिहारमा करिब पौने अर्बको भाइ मसला विक्री हुने व्यवसायीको अनुमान छ ।
नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ
काठमाडौं । नेपाल बैंकको सञ्चालकमा सावित्री श्रेष्ठ नियुक्त भएकी छिन् । नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रानुसार श्रेष्ठलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् ।
चिन्तामणि शिवाकोटीले भने- भन्नेहरुले मलाई राजावादी र काँग्रेस भने
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकमा बसेर काम गर्दा आफूलाई काँग्रेस, राजावादी र माओवादीसम्म भएको आरोप लागेको भन्दै कर्मचारीहरुलाई कुनै राजनीतिक दलविशेषको कार्यकर्ताजस्तो नभई राष्ट्रसेवक जस्तो भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कायम मुकायम गभर्नरको रुपमा जिम्मेवारी सम्हालिरहेका आफूलाई काँग्रेस सरकार हुँदा आफूलाई काँग्रेस नै भएको, राजाको प्रत्यक्ष शासनकालमा आफूलाई राजावादी भनेको, जनआन्दोलन पछिको सरकार हुँदा आफूलाई माओवादी भएकोसम्म भनेको भन्दै आफूले राष्ट्र बैंकमा रहेर देश र जनताको हितलाई ध्यानमा राखेर काम गरेको बताए । उनले कर्मचारीको हितका लागि संगठनहरु खाेल्नु छुट्टै भए पनि उनीहरुका गतिविधि कर्मचारीको हकहितका लागि मात्रै केन्द्रित हुनुपर्ने भन्दै कर्मचारीलाई अति राजनीतिकरण नगर्न निर्देशन समेत दिए । उनले भूकम्पपछि नेपाल राष्ट्र बैंकको संरचना छिन्नभिन्न हुँदा काम गर्न अप्ठ्यारो परेको भन्दै उनले भवन निर्माणको काम धमाधम अघि बढेकोले अब छिट्टै राष्ट्र बैंकले राम्रोसँग सेवा प्रदान गर्ने भौतिक अवस्था बन्ने बताए । नेपाल राष्ट्र बैंक कर्मचारी संघले मंगलबार बैंककै प्रांगणमा चियापान कार्यक्रम आयोजना गरेको थियो । नेकपा निकट कर्मचारीहरुको संगठनले गरेको उक्त कार्यक्रममा काँग्रेसनिकट नेपाल राष्ट्र बैंक कर्मचारी युनियन र नेपाल वित्तीय संस्था कर्मचारी संघलाई पूर्ण वेवास्ता गरिएको थियो । काँग्रेसनिकट नै भए पनि संगठनमा नरहेका उच्च अधिकारीहरुलाई भने चियापानमा निम्त्याइएको थियो ।
पार्टीभित्र कुनै विवाद र द्वन्द्व छैन्ः रायमाझी
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन् । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने,‘बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’ यता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका महत्वपूर्ण उपलब्धि माथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । उनले भने,‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने हामीमाथि डर छ । सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ । २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको टिप्पणी गरे । उनले भने,‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा चौतर्फी राम्रो देखिने हुन्छ । सारा कुरा राम्रो देखिने भन्ने हुन्छ । यदि त्यो साँचो भैदिएको भए पुरै नेपाल सुनैसुनको र सारा नेपाली समद्ध हुन्थे ।’ उनले यतिवेला जनता अत्यन्तै ज्यादा निराश रहेको बताए । उनले भने,‘दुई तिहाई मतका साथ जनताले नेकपालाई सरकारमा पुर्याए । निर्वाचन भएको २२ महिना भैसक्यो । सरकार बनेको २० महिना भैसक्यो । यो बीचको मुल्यांकन गर्ने हो भने सरकार ठीक ढंगले अघि बढेको छैन् ।’ राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने धारणा राखे । उनले भने,‘संविधान संशोधन गर्नुपर्छ । राज्यको पूनसंरचना हुँदा तीन तहको सरकार बनेको छ । तीन तहको चुनाव भएको छ । यो उपलब्धिलाई रक्षा गर्न कानून, व्यवस्था र जनशिक्तको अभाव रहन्छ । संघीयतामाथि जसरी प्रहार भैरहेको छ, गणतन्त्रमाथि भएको प्रहार छ । यो हाम्रो लागि चिन्ताको विषय हो । राजपा भएको उपलब्धिलाई रक्षा गर्नुपर्छ भन्ने पक्षमा छ ।’
बैंक तथा वित्तीय संस्थाले संकलन गरे ४४ अर्ब निक्षेप, २३ अर्ब लगानी
काठमाडौं । असोज महिना नेपालीको महान चाड दशैं परेकाले बैंकमा निक्षेप संकलन राम्रो देखिएको छ । दशैंमा कर्मचारीको तलबमा एक महिनाको थप तलब समेत बढेर आउने र अन्य खर्च समेत बढ्ने भएको बैंकिङ च्यानलमा बढी निक्षेप देखिएको हो । असोज महिनामा मात्र बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब अर्थात दिनको डेढ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसले अप्ठ्यारो पर्ने अवस्थामा पुगेका बैंकहरूलाई केही सहज बनाएको छ । सरकारले पूँजीगत खर्च गर्न सकेको भए अझ यो निक्षेप बढ्ने थियो । तर, सरकार चालु आवको यो अवधिमा जम्मा १८ अर्ब ५८ करोड रुपैयाँमात्र खर्च गरेको छ । यस अघि निक्षेपको तुलनामा बढी कर्जा प्रवाह हुँदा बैंकर्सहरूले पुनःलगानी योग्य पुँजी अभाव हुने अनुमान गरेका थिए । भदौमा ५७ अर्ब कर्जा प्रवाह देशमा संचालित बैंक तथा वित्तीय संस्थाले भदौ महिनामा ५७ अर्ब कर्जा प्रभाव गरेका छन् । भदौकै जस्तो कर्जा प्रभाव असोजमा भने बढ्न सकेको छैन । असोजमा भने वित्तीय संस्थाहरूले २३ अर्बमात्रै कर्जा प्रभाव गरेका छन् । असोजमा दशैं परेकोले निक्षेप संकलनको तुलनामा कम कर्जा भएको छ । असारमा ४४ अर्ब बढेको निक्षेप साउन र भदौमा लगानी गर्दा बैंकहरू रित्तिने अवस्थामा पुगेका थिए । असोजमा थपिएको निक्षेपले बैंकहरू केही सहज अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो सातासम्म ५ प्रतिशत रहेको बैंकहरूको अन्तर बैंक ब्याजदर अहिले घटेर ३ प्रतिशतमा पुुगेको राष्ट्र बैंकको तथ्यांक छ । असार कर्जा प्रवाह गर्ने महिनाको रुपमा बैंकहरूले प्राथमिकतामा नपारेपनि २५ अर्ब लगानी भएको छ । असार महिना बैंकर्सहरूका लागि कर्जा असुली गर्ने र योजना बनाउने महिना हो । यद्यपी बैंकहरूले बढाएको कर्जा प्रवाह निजी क्षेत्रमा मात्र नभएर सरकारी र वित्तीय दुबै संस्थामा बढेको तथ्यांक राष्ट्र बैंक तयार पारेको छ । निजी क्षेत्रले भदौ महिनामा ५६ अर्बले कर्जा बढाएका छन् । यसरी सबै क्षेत्रबाट कर्जाको माग बढ्दै जाँदा बैंकहरूमा तरलता अभाव देखिन थालेको छ । राष्ट्र दिएको पछिल्लो तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थासँग ३० अर्ब तरलता छ ।
लक्ष्मी बैंकद्वारा माई कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित
काठमाडौँ । लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आइडियाज’ नामक क्राउड सोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डिजाइनर टीशा श्रेष्ठलाई बिजेताका रुपमा घोषणा गरिएको हो । क्राउड सोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको बैंकले जनाएको छ । यस प्रतियोगिता अन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आव्हान गरिएको थियो । नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक महिनासम्म चलेको प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइन वापत कूल रु. ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नु हुनेछ । कार्यक्रममा विजेता डिजाइनहरुको समेत अनावरण गरिएको थियो ।
नेपाल टेलिकमले पर्वतको विद्यालयलाई दियो चार थान कम्प्युटर
काठमाडौँ । नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ पोखराचौरस्थित श्रीराम माविलाई चार थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरिएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको समुपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विश्वकर्मालाई दूरसञ्चार कार्यालय पर्वतका कार्यालय प्रमुख मोहन सुवेदीले कम्प्युटरहरु हस्तान्तरण गरे । सो अवसरमा नगरपालिका प्रमुख शर्माले कम्पनीले देशका सबै स्थानमा सेवा पु¥याउनुका साथै अन्य सामाजिक कार्यमा समेत संलग्न भएकोमा खुसी ब्यक्त गरे । कार्यालय प्रमुख मोहन सुवेदीले प्रविधिमैत्री शिक्षाका लागि थप टेवा पुगोस् भन्ने उद्देश्य अनुरुप विद्यालयलाई कम्प्युटर प्रदान गरिएको कुरा व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भुसालले कम्प्युटर प्रदान गरेकोमा नेपाल टेलिकमप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरे । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत सूचना प्रविधि क्षेत्रमा समेत टेवा पुग्ने गरी पठनपाठनमा सहजताका लागि सामुदायिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्दैै आएको छ । कम्पनीले यो वर्ष १५ थान कम्प्युटर वितरण गर्ने कार्यक्रम रहेकोमा डोटीको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसलाई ५ थान र दुर्गा माध्यमिक विद्यालयलाई २ थान तथा कपिलवस्तुको बाल माध्यमिक विद्यालयलाई ४ थान कम्प्युटर वितरण गरिसकेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।