मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गरेकी छिन् । नेपालको संविधानको धारा १६५ को उपधारा १० को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ । पदमुक्त प्रदेश प्रमुखमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं. ३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) छन् । उनीहरुलाई अघिल्लो सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो । निर्वाचन सम्पन्न भइसकेपछि ती प्रदेश प्रमुख नियुक्त भएकाले नयाँ सरकारले राजनीतिक निर्णयबाट हटाउने आकलन गरिँदै आएको थियो । सरकारले यसअघि निर्वाचन आचारसंहिता लागू भएपछि अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको थियो । रासस
ओली सरकारले देखेको सपना: ‘आफ्नै देशमा उत्पादन भएको ग्यास प्रयोग गर्न पाउने’
काठमाडौं । नेपालीहरुले आफ्नै देशमा उत्पादन भएको ग्यास प्रयोग गर्न पाउने भएका छन् । चाइनिज जियोलोजिकल सर्वेको आर्थिक र प्रविधिक सहयोगमा खानी तथा भू–गर्व विभाग सहभागितामा नेपालमा नै ग्यास उत्खनन् कार्य अघि बढेको हो । चाइनिज जियोलोजिकल सर्वेले दैलेखको चुप्रामा क्याम्प स्थापना गरी काम सुरु गरेको छ । दैलेखको चुप्रामा क्याम्प राखी ४० किलोमिटरको क्षेत्रमा काम भइरहेको छ । ग्यास उत्खनन् र परीक्षणका लागि चाइना जिओलोजिकल सर्वे र नेपालको तर्फबाट खानी तथा भू–गर्व विभाग सहकार्यमा दैलेखको शिरिस्थानमा मिथेन ग्यासको उत्खननको लागी क्याम्प स्थापना गरी काम सुरु गरेको हो । खानी तथा भू–गर्व विभागका उप प्रमुख तथा परियाजना प्रमुख सुधिर रैजोरले भने–‘चीन सरकारको सहयोगमा नेपाल सरकार र चीनको सरकारी निकायबीच समन्वय गरी ग्यास उत्खननको काम भइरहेको छ ।’ हामीले आवश्यकता पर्ने सामाग्रीहरु सबै चीनबाट ल्याएर काम सुरु गरेका हौ । अब १ वर्ष भित्र दैलेखमा कति ग्यास छ भनेर थाहा हुने र १ वर्षपछि नेपालले नै ग्यास उत्खनन् गर्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको त्तकालीन सरकारले नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खनन गर्न सकिने घोषणा गरेको थियो । त्यतिबेला नै अनुसन्धान गरी चीन फर्केको चिनियाँ टोलीले पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि गरेपछि दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन् गर्न चीनको कम्पनीसँग सम्झौता गरेलगत्तै उत्खनन् गर्ने बाटो खुलेको थियो । दैलेखको नाभिस्थान, पादुका, शिरिस्थान, धुलेश्वरलगायत क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको अनुसन्धानबाट पुष्टी भैसकेको छ । नेपालमा पेट्रोलियम पदार्थ मात्रै होईन सुन, तामा, फालम लगायतका खानी समेत रहेका छन् ।
पुर्नबीमा कम्पनीको सीईओ बन्न छ जनाको आवदेन, अनुभवी आवेदक दुई जना मात्र
काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि ६ जनाले आवेदन बुझाएका छन् । दुई जना बीमा क्षेत्रका अनुभवी छन् भने ४ जना पूर्व बैंकर्सले आवेदन दिएका छन् । अनुभवीमा सोही कम्पनीको निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र युनाईटेड इन्स्योरेन्स कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत शेखर बराल प्रतिस्पर्धामा छन् । त्यस्तै, कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझीले पनि पुर्न बीमा कम्पनीको सीईओका लागि आवेदन गरेका छन् । उनीहरुले नेपाल बैंकको सीईओ बन्न पनि प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुको प्रयास सफल भएन । त्यस्तै, पुर्नबीमामा नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक अशोक पौडेलले आवेदन गरेका छन् । डा युवराज खतिवडा गर्भनर हुँदा उनी गभर्नरको सचिवलयमा बसेर काम गरेका थिए । उनी डा खतिवडाको विश्वासिला सहयोगि भएको जानकारहरु बताउँछन् । त्यस्तै, नविल बैंकका पूर्व कर्मचारी ज्ञानेश्वर आचार्य पनि सो पदमा आवदेन दिएका छन् । आवेदक मध्ये शेखर बराल प्रभावशाली उम्मेद्वार भएको बुझिएको छ । झापालीहरु शक्ति केन्द्रमा रहेको र बराल पनि झापाली भएकोले उनले नियुक्ती पाउने सम्भावना प्रबल भएको जानकारहरु बताउँछन् । ‘दुई वटा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ । प्रथम श्रेणीमा मास्टर पास गरेको छु’ बरालले भने–‘अरु आवेदक भन्दा म बढी प्रतिस्पर्धी छु ।’ चिरायु भण्डारी पनि कमजोर दावेदार होइनन् । सोही कम्पनीको ४ वर्ष काम गरि सकेको र बीमा क्षेत्रमा तीन दशक भन्दा बढी नियमति काम गरेकोले उनले मौका पाउन पनि सक्छन् । ‘पहिलो कार्यकाल सफल नै रह्यो । कम्पनीको विजनेश विस्तार गर्न, कम्पनीको नेटवर्क अन्तराष्ट्रिय बजारमा विस्तार गर्ने, कम्पनीको पुँजी वृद्धि गर्न, संस्थागत संरचनाहरु निर्माण गर्न म सफल भए’ भण्डारीले भने- ‘अनुभव र कार्यदक्षताको आधारमा म अरु भन्दा योग्य छु ।’ अरु चार जना आवदेकसँग भने बीमा क्षेत्रको अनुभव छैन । मासिक २ लाख ५ हजार तलव र कार्यसम्पादन नतिजाका आधारमा अतिरिक्त ५ महिनासम्मको प्रोत्साहन भत्तासहितको सुविधा भएको यो पदमा व्यवस्थापकीय उच्च कौषलता भएको व्यक्तिको आवेदन नपरेको छनौट समितिका एक सदस्यले बताए । ‘तबल सुविधा आकर्षक नभए पनि होला, उच्च कार्य सम्पादन नतिजा देखाएको र बजारमा चिनिएका मान्छेको आवेदन परेन’ छनौट समितिका एक सदस्यले भने–आवेदक मध्ये उत्कृष्ट व्यक्ति छान्छौं ।’ पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनौटको लागि अर्थमन्त्रायलका सहसचिव हरिशरण पुडासैनी संयोजक, आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र पुर्नबीमा कम्पनीका सञ्चालक रमेश राणा सदस्य भएको छनौट समिति गठन गरेको छ । छनौट प्रक्रियाले करिब दुई साता लिने स्रोतले बतायो ।
गुठी संस्थानकाे भेटी होइन सम्पत्ति संरक्षण गराैं : मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुसी बनाउन आग्रह गरेकी थिईन । गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले गुठीको जग्गा बचाएर, सुशासन कायम गरी मन्त्रालयलाई खुसी गराउन गुठी संस्थानका नेतृत्वलाई निर्देशन दिईन। मन्त्री अर्यालले भनिन् , ‘हाम्रो भावना तपाइहरूले बुझ्नुभएको छ टिम सुशासनका निम्ती प्रतिबद्ध भएर लागेको छ । गुठी संस्थान आगामी दिनमा समयानुकुल प्रतिबद्ध भएर लाग्ने छ ।’ मन्त्री अर्यालले गुठियाराहरूको भावनामा चोट नपुगोस् भन्ने कुरामा मन्त्रालय संवेदनशिल भएको भन्दै गुठियारालाई देखाएर व्यक्तिको नीजि स्वार्थलाई पुरा गर्न लाग्ने तत्वप्रति भने मन्त्रालय होसियार रहेको बताइन् । सबै धर्म संस्कृति राज्यको नजरमा समान छन् है भन्ने कुरा संविधानमा लेखेपछि त्यसकै बाटोमा राज्य अहिले हिडिरहेको भन्दै गुठी संस्थानको अझ बढी जिम्मेवारी रहेको जनाईन । संस्थान धर्म, संस्कृति, सम्पत्ति संरक्षणकै निम्ती गठन भएको भन्दै उनले त्यसकारण बढी जिम्मेवारी संस्थानकै हुने बताईन् । कामको समिक्षा गरेर एउटा निष्कर्ष निकालेर अगाडी बढ्न संस्थानको नेतृत्वलाई निर्देशन दिँदै मन्त्री अर्यालले संस्थानबाट सम्पादन भएका काम कति पुरा भए कति भएनन् भनेर आत्मसमिक्षा गरेर अगाडी बढ्न निर्देशन दिईन । संस्थानको कार्यक्षेत्रका अस्तव्यस्तता, सुशासनसँग जोडिएका विषयहरू हेर्दा चिन्ता लाग्ने अवस्था रहेको भन्दै उनले नेतृत्वले काम बेस्सरी गरेका छौ भन्दा पनि जनमानसले विश्वासै गर्ने अवस्था नबनेको जानकारी दिईन । संस्थान गठन भएको ५५ वर्ष पुरा हुदासमेत गुठिको सम्पत्ति यति हो भनेर भन्न सक्नु दुखद अवस्था रहेको भन्दै मन्त्री अर्यालले चिन्ता व्यक्त गरिन् । नेपालमा सबैभन्दा बढी सम्पत्ति भएको संस्था गुठी संस्थान नै हो । यो गठन भएको ५५ वर्ष पुरा भएको छ तर आजसम्म हाम्रो सम्पत्ति हाम्रो जग्गा यति छ भनेर यकिन गर्न सकेनौ , उनले भनिन् , ‘कहाँ कहाँ कति कति मिचियो, त्यसको बारेमा कुनै रेकर्ड छैन । अब कित्ताअनुसार रेकर्ड हुनुको साथै कित्ता छुट्याएर राख्ने , व्यवहारमा कार्यान्वयन गर्ने गरी लाग्नु पर्नेछ । ‘ गुठी भावनासँग जोडिएको कुरा भएको भन्दै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने दायित्व गुठी संस्थान सम्हालेर बसेकाहरूको भएको बताइन । सुशासनका विषयलाई लिएर धेरै प्रश्न उठेको भन्दै उनले गुठी जग्गाको संरक्षणका निम्ती खटाकइएका महन्ठहरू नै गुठीको जग्गा मास्न लागे भनेर मन्त्रालयमा उजुरी आएको बताए । यस विषयमा मन्त्रालयले छानबिन गरिरहेको भन्दै मन्त्री अर्यालले गुठी संस्थानलाई पनि अनुसन्धान गर्न आग्रह गरे । व्यक्तिले गुठीको जमिन मास्न, बेच्न, चलखेल गर्न लागेका छन् भने त्यो कुरामा संस्थान जिम्मेवार, गम्भिर, चिन्तित हुनुपर्छु, मन्त्री अर्यालले बताईन ।
त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्राडा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयबाट जनाइए पनि यसको आधिकारिक जानकारी दिइएको छैन । नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी प्राडा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको पूर्वअध्यक्ष हुन् । त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीलाई निमित्त दिइएको थियो । सर्च कमिटीले बाँस्कोटासहित डा भगवान् कोइराला र डा चन्द्रमणि पौडेललाई सिफारिस गरेको थियो । डा बाँस्कोटाले सोमबार साँझसम्म पद बहाली गर्ने तयारी रहेको बुझिएको छ । अन्यमा नियुक्ति हुँदै उपकुलपति रिक्त रहेका पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका लागि सिफारिस गर्न आन्तरिक सूची (रोष्टर) तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही कात्तिक ९ गते सात दिनको समय दिई व्यक्तिगत विवरण पठाउन सूचना प्रकाशन गरेको थियो । उपकुलपति नियुक्तिका लागि यसरी सूचना गरिएको यो पहिलो पटक हो । प्राप्त विवरणका आधारमा नाम सिफारिसका लागि सम्बन्धी सर्च कमिटीले काम गरिरहेको जनाएको छ ।
महालक्ष्मी विकास बैंकले पायो साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड
काठमाडौँ । महालक्ष्मी विकास बैंकले साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्स (साफा)द्वारा वार्षिक प्रतिवेदनको मुल्याङ्कन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड नोभेम्बर ३०, २०१९ तारिखमा बङ्गलादेशको ढाकामा एक समारोहका बीच प्रदान गरिने भएको हो । नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था(आइक्यान)द्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड-२०१८ प्राप्त गरे लगत्तै बंैकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड –२०१८ पनि प्राप्त गर्न लागेको हो ।
बेष्ट फाइनान्सद्वारा छठ पर्बका २ सय व्रतालुलाई प्राथमिक स्वास्थ्य सेवा
काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं, कमल पोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो अवसरमा छठ मेलामा उपस्थित २०० भन्दा बढी व्रतालुहरुलाई आवश्यकता अनुसार प्राथमिक स्वस्थ्य सेवा उपलब्ध गराईएको बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ ।
नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा दीपेन्द्र विक्रम थापा नियुक्त
काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा दीपेन्द्र विक्रम थापा नियुक्त भएका छन् । कात्तिक ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले थापालाई उक्त पदमा नियुक्त गरेको हो । नियुक्त भएसँगै थापाले बैंकको स्वतन्त्र सञ्चालक पदको कार्यभार सम्हाल्ने छन् ।