नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा दीपेन्द्र विक्रम थापा नियुक्त
काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा दीपेन्द्र विक्रम थापा नियुक्त भएका छन् । कात्तिक ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले थापालाई उक्त पदमा नियुक्त गरेको हो । नियुक्त भएसँगै थापाले बैंकको स्वतन्त्र सञ्चालक पदको कार्यभार सम्हाल्ने छन् ।
३४ वर्षदेखि प्रयोगमा आएको खानेपानी आयोजना बन्द, ६०० परिवार प्रभावित
बागलुङ । कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ । तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् । छिस्तीका ६०० परिवारले झण्डै ३४ वर्षदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको हो । उनीहरुले दशैँ भत्ता र मासिक पारिश्रमिक पाएका छैनन् । आयोजनामा काम गर्दै आएका पाँचजना कर्मचारीले पछिल्लो दुई महिनाको पारिश्रमिक र बर्षेनी खाइपाइ आएको दशैँ भत्ता पाएका छैनन् । गत कात्तिक ४ गतेदेखि आयोजनाका धारामा पानी नआउँदा छिस्तीका ६०० परिवार प्रभावित भएका छन् । दुई सातादेखि खानेपानी बन्द भएपछि वडा कार्यालय र उपभोक्ता स्वयंले समेत समस्या समाधानका लागि राखेका बैठकहरुमा पनि राजनीतिक विषयले प्राथमिकता पाएपछि खानेपानी आपूर्ति गर्न असहज भएको स्थानीयवासीले गुनासो गरेका छन् । “योजना शुरु भएदेखि नै मैले काम गर्दै आएको छु, हरेक दुई महिनामा तलब र दशैँमा भत्ता आउँथ्यो”, आयोजनाका कर्मचारी ढाकाबहादुर थापाले भने, “न धेरै छ, अलिअलि भएको तलब पनि चाडबाडमा नपाएपछि हामीले काम छोड्यौँ ।” कर्मचारीले तलब भत्ता नपाएकै कारण काम छोड्दा साबिकको छिस्ती गाविस–५, ६ र ७ का उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् । उनीहरुले घण्टौँ यात्रा गरेर कुवा र पोखरीको पानी ल्याउन बाध्य छन् । खानेपानी बन्द भएको विषयमा प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले ध्यानाकर्षण भएको जनाएका छन् । छ सय परिवारले प्रयोग गर्दै आएको पानीमा अवरोध हुनु दुःखद् भएको भन्दै पानी खोल्नका लागि पहल थालेको पाठकले बताए । विसं २०६४ देखि खानेपानीको व्यवस्थापन गरी आएको समितिले गत भदौ ३ गते बैठक बसेर आयोजनाको व्यवस्थापनको काम गर्न नसकेको भन्दै वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । समितिले सर्वसम्मत रुपमा गरेको निर्णयसहितको पत्र वडाध्यक्षलाई पठाएर काम छोडेको समितिका अध्यक्ष दिलबहादुर श्रीषले बताए । “हामीले काम गर्न सक्दैनौँ व्यवस्थापन गर्नु भनेर वडालाई पठाएका हौँ”, श्रीषले भने, “काम छोडेपछि तलब भत्ता भर्न हाम्रो अधिकार रहेन, अधिकार भए पनि दिने स्रोत छैन ।” छ सय घरले प्रयोग गर्ने १२१ धाराबाट उठ्ने रकमले कर्मचारीको तलबसमेत भर्न कठिन भएपछि उपभोक्ता समितिले आयोजना वडाको जिम्मा लगाउने निर्णय गरेको उनले बताए । “शुल्कले पुग्दैन अरू स्रोत छैन, मूल्य बढाउन दिएनन्”, श्रीषले टेलिफोनमा भने, “समान्य मर्मत गर्नसमेत कसैले सहयोग नगरेपछि जिम्मा लगाएका हौँ ।” झण्डै नौ किलोमिटर टाढा रहेको मुहानबाट पानी ल्याइएको उक्त आयोजनामा सधैँजसो पाइप फुट्ने, पहिरोले बगाउनेलगायतका समस्या आउने गरेका छन् । बरेङ गाउँपालिकाको धुल्लुबास्कोटमा रहेको झुलेखोलाको मुहानबाट छिस्तीमा खानेपानी ल्याइएको छ । साबिकको वडा नं ५, ६ र ७ का उपभोक्ताहरुले लामो समयदेखि पानीको महसुल नतिरेका कारण समिति सङ्कटमा परेको थियो । अध्यक्ष श्रीषका अनुसार ३ वडाबाट झण्डै रु ८० हजार शुल्क उठ्न बाँकी रहेको छ । यता, वडा कार्यालयले भने उपभोक्ता समितिको गैरजिम्मेवारका कारण खानेपानी रोकिएको जनाएको छ । “उनीहरुले काम नगर्ने हो भने भेला बोलाएर समिति पुनर्गठन गर्ने हो, हामीलाई बुझाउने होइन”, वडाध्यक्ष विजय अधिकारीले भने, “समितिले जिम्मेवार व्यवहार नगर्दा समस्या आएको हो ।” पानी बन्द भएपछि सर्वदलीय बैठक बोलाएर समस्या समाधानको पहल गरेको भए पनि काङ्ग्रेस बाहेकका अन्य दलले राजनीतिक बखेडा झिकेको अधिकारीको आरोप छ । उपभोक्ता समितिले भने वडाले जिम्मेवारी लिएर तत्काल पानी आपूर्ति गर्नुपर्ने बताउँदै आएको छ । गाउँमा जथाभावी खनिएका सडक र प्राकृतिक विपत्तिको शिकार बन्दै आएको आयोजनाको अहिले पनि ठाउँ–ठाउँमा पाइपलाइन फुटेको आयोजनाका कर्मचारी बताउँछन् । “भिरको पातमा परान राखेर काम गरिएको थियो”, पुराना कर्मचारी थापाले भने, “अहिले पनि समस्या धेरै छन्, छाकै नटरेपछि काममा गइएन ।” विसं २०४२ मा सञ्चालनमा आएको यो योजना विसं २०५५ सम्म नेपाल सरकार मातहतमा सञ्चालन हुँदै आएको यो योजना त्यसपश्चात् उपभोक्ता समितिमा हस्तान्तरण भएको थियो । सोही क्षेत्रमा सञ्चालनमा रहेको सामुदायिक विद्युतीकरणमा वडा कार्यालयले हस्तक्षेप गरेपछि त्यसको प्रभाव खानेपानीमा परेको स्थानीय बताउँछन् । सामुदायिक विद्युतीकरणका लागि बनेको समितिमा विवाद भएपछि वडाध्यक्षले अर्को समिति नबन्दासम्मका लागि वडा कार्यालय मातहतमा रहने गरी काम अघि बढाएका थिए। “विद्युत्मा उनले हस्तक्षेप गरेपछि पानीको समस्या आएको गाउँलेको भनाइ छ । विद्युत्, खानेपानी जस्ता अत्यावश्यक वस्तुहरुमा राजनीतिक रङ लगाउँदा समस्या पैदा भएको स्थानीयवासी कुलबहादुर पुन बताउँछन् । छिस्तीमा सडक पुर्याउँदाको समयमा लिएको ऋणका विषयमा पनि वडाध्यक्षसहित उनको दल र अरू राजनीतिक दलको बीचमा विवाद रहेको छ । पानीको विषय भजाएर अरू शीर्षकमा सम्झौता गर्न बाध्य बनाउन खोजेको आरोप वडाध्यक्ष अधिकारीले लगाएका छन् । उनले सामुदायिक विद्युतीकरणको ट्रान्सफर्मर बिग्रिएपछि ऋण काडेर परिवर्तन गरेको बताए । “सर्वदलीय बैठक राखेर सबैको सल्लाहकै आधारमा सहकारीबाट ऋण खोजेर ट्रान्सफर्मर किनेको हो”, अधिकारीले भने, “बिजुलीको कुरा पानीमा जानु हुँदैन ।” रासस
नेपाली फुटबल टोली म्यान्मातर्फ प्रस्थान
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेल्नका लागि राष्ट्रिय फुटबल टोली आज म्यान्मा जाने भएको छ । यही कात्तिक २१ गते म्यान्माको मैदानमा हुने मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन जाने २३ खेलाडीसहितको नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । टोली आजै त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा समूह ‘बी’ मा परेको नेपालले आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा ‘होम’ खेलअन्तर्गत कुवेत विरुद्वको पहिलो खेल खेल्दैछ । त्यसैको तयारीस्वरूप नेपालले म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । विश्वकप छनोटमा नेपालले यसअघि खेलेको चार खेलमा तीन अङ्क जोडेको छ । सहभागी नेपाली टोलीको गोलकिपरमा विशाल श्रेष्ठ, विकेश कुथु र एलेन न्यौपाने छन् भने डिफेन्डरमा दिनेश राजवंशी, सरोज दाहाल, अजित भण्डारी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । त्यसैगरी, मिडफिल्डरमा, रवी पासवान, अन्जन बिष्ट, मिक्चेन तामाङ, सुनिल बाल, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र सुवास गुरुङ छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्तीमगर र अभिषेक रिजाल छन् । रासस
गैँडाछाप सिमेन्टको मूल्य घट्यो, प्रतिबोरा रु ७७८ निर्धारण
गाईघाट । नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ । देशमा उत्पादित अन्य सिमेन्टहरुको मूल्य घट्दै गइरहेको बेला अन्य सिमेन्टको मूल्यसँग प्रतिस्पर्धा गर्न उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु २५ का दरले घटाइएको उद्योग प्रशासनले बताएको छ । यसअघि गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८०३ रहँदै आएकामा तीन दिनअघि गैँडाछाप सिमेन्टको मूल्य रु २५ घटाएर प्रतिबोरा रु ७७८ निर्धारण गरिएको उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताएका छन् । गैँडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले बिक्री दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ । दैनिक चार–पाँच हजार बोरासम्म मात्र बिक्री भइरहेको गैँडाछाप सिमेन्टको मूल्य घटाउना साथ अहिले दैनिक १० हजार बोरादेखि १२ हज्जार बोरा बिक्री हुन थालेको समेत उद्योगका निमिक्त महाप्रबन्धक साहले बताए । उनले भने, “गैँडाछाप सिमेन्ट जापानी प्रविधिबाट उत्पादन हुने एशियाकै उत्कृष्ट गुणस्तरीय सिमेन्ट हो, यो सिमेन्टसँग प्रतिष्पर्धा गर्ने अन्य उत्पादित सिमेन्ट नै अहिलेसम्म उत्पादन भएको छैन तर पनि अन्य उत्पादित सिमेन्टहरुको मूल्यमा हेरफेर हुँदा गैँडाछाप सिमेन्टको पनि मूल्य निर्धारण गरिने र मिलाउनुपर्ने हुनाले अहिले बजार मूल्य घटाइएको हो ।” अढाई वर्षअघि सम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योग विद्युतभार कटौती हटेर सुधार आएपछि दुई वर्षदेखि नाफामा जान थालेको छ । अहिले उद्योगमा झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट ‘स्टक’ रहेको छ भने एक लाख ३० हजार बोरा सिमेन्ट उत्पादनका लागि क्लिङ्कर ‘डिपोजिट’ रहेको छ । यस्तै, उद्योगले पूर्ण क्षमतामा दैनिक १६ हजारदेखि १८ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आएको उद्योग प्रशासनले बताएको छ । रासस
महासंघको विशेष साधारणसभा अनिश्चित बन्दै, पदाधिकारी नै परे दुविधामा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक २९ गते बोलाएको विशेष साधारणसभा अनिश्चित बनेको छ । विधान संशोधन र प्रक्रियाको विषयमा केन्द्रीय नेतृत्वमा नै विवाद भएपछि विशेष साधारणसभा स्थगन गर्ने तर्फ छलफलहरु केन्द्रित भएको महासंघको एक पदाधिकारीले बताए । ‘विधान संशोधनको विषयहरुमा केन्द्रीय पदाधिकारीमा पनि मत बाझिएको छ । कार्यसमितिको बैठकमा पनि नोट अफ डिसेन्ट लेखिएका छन् । र, विधान संशोधन प्रक्रिया मिलेन भन्ने विषयमा पनि विवाद भयो’ महासंघका एक जना पदाधिकारीले भने–‘विवाद कै बीचमा विधान संशोधन हुँदा संस्था झन् कमजोर हुन्छ । अहिले विशेष साधारणसभा नगरौँ । चैतमा हुने नियमित साधारणसभामा विशेष प्रस्तावको रुपमा विधान संशोधन प्रस्ताव लैजाऊ भन्ने लाइनमा छलफल चलेको छ ।’ यसै साता बस्ने स्थायी समितिको बैठकले विशेष साधारणसभा स्थगित गर्ने सम्बन्धमा निर्णय लिन सक्ने र त्यसलाई कार्यसमितिको बैठकले अनुमोदन गर्न सक्ने उनले बताए । विधान संशोधन समितिसँग स्पष्टीकरण माग विधान संशोधन विधिसम्मत नभएको भन्दै निवर्तमान अध्यक्ष पशुपति मुरारकाले लिखित पत्र नेतृत्वलाई दिएपछि पदाधिकारीको बैठकले समितिसँग स्पष्टीकरण लिने निर्णय गरेको छ । शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकले विशेष साधारणसभाको कानूनी विषयमा विधान संसोधन समितिसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षमा बसेको पदाधिकारी बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र एशोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उपस्थित थिए । उक्त बैठकमा विशिष्ट सदस्य तथा विधान संसोधन समितिका संयोजक चण्डी ढकाल तथा उपाध्यक्ष उमेश श्रेष्ठ र कोषाध्यक्ष निरक केसी भने उपस्थित थिएनन् । पधाधिकारीको बैठकले विधान संशोधन समितिसँग प्रष्टीकरण सोध्नु हास्यास्पद विषय भएको कोषाध्यक्ष केसीले बताए । ‘म बैठकमा उपस्थिति थिइन । विधान संशोधन प्रक्रिया मिलेको छ कि छैन कार्यसमितिले व्याख्या गर्ने हो । विधान संशोधन समितिले होइन’ केसीले भने । महासंघको विधान संसोधन गरेर यो पटकदेखि नै बरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने प्रस्ताव हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ । तर, यसरी विधान संशोधन गर्नु गलत हुने आवाज पनि महासंघमा उठिरहेको छ । महासंघका उपाध्यक्ष किशोर प्रधानका अनुसार विधान संशोधनका लागि करिब ३५ बुँदे प्रस्ताव विशेष साधारणसभामा पेस गरिदैछ । त्यसमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने वर्तमान व्यवस्था खारेज गरेर अध्यक्ष पदको निर्वाचन प्रत्यक्ष मतदानबाट गर्ने प्रस्तावमा ठूलो विवाद छ । प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने गरी विधान संशोधन हुँदा यसअघि प्रत्यक्ष मतदानबाट बरिष्ठ उपाध्यक्ष भएका शेखर गोल्छा फेरी चुनाव लड्नु पर्छ वा अध्यक्ष बन्ने प्रक्रियाबाट बाहिरिनु पर्छ । यस्तो अवस्थामा गोल्छा निर्वाचनमा भाग नलिने र माडवरी समूदायका सदस्यहरुले महासंघ परित्याग गर्ने बताइएको छ । महासंघमा हुने सम्भावित दुर्घटना रोक्न अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधन गर्ने, तर यसअघि भावी अध्यक्षको रुपमा वरिष्ठ उपाध्यक्ष बनेका गोल्छालाई अध्यक्ष बन्न रोक्न नहुने प्रस्ताव आफूले गरेको अध्यक्ष राणाले बताइन् । ‘संस्थालाई कमजोर बनाउने गरी विधान संशोधन गर्ने पक्षमा हामी छैनौं । सहमतिको लागि मैले मध्यमार्गी प्रस्ताव गरेको छु’ राणाले भनिन् ।
प्राइमलाइफले प्रदान गर्यो उपहार बीमा योजना
काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स क. लि.ले गत वर्ष ‘प्राइम जीवन उपहार बीमा योजना’ अन्तरगत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ११ बस्ने बीमित बिशाल पाण्डेलाई उपहार प्रदान गरिएको छ । प्राइम लाइफले एउटा बीमालेख खरिद गर्दा एक वर्षपछि सोहि बीमाङ्क बराबरको अर्को बीमालेख उपहार स्वरुप प्रदान गर्ने बीमालेख प्रस्तुत गरेको थियो । उक्त बीमायोजना अनुसार गत बर्ष शुरु गरेको बीमालेखको प्रथम बार्षिकोत्सवमा पुनः सोही बीमाङ्क बराबरको अर्को बीमालेख उपहार स्वरुप प्रदान गर्ने क्रममा आइतबार पाण्डेलाई सोहि बीमाङ्क बराबरको अर्को बीमालेख उपहार स्वरुप प्रदान गरिएको कम्पनीका अर्घाखाँची शाखा प्रमुख नारायण घिमिरेले हस्तान्तरण गरेका हुन् ।
सनराइज बैंक सञ्चालकको बैठक भत्ता ६६ प्रतिशतसम्म बढ्यो, कसले कति पाउँछन् ?
काठमाडौं । सनराइज बैंक सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा करिब ६६ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरी अध्यक्षको प्रतिबैठक भत्ता ६६ प्रतिशत र सञ्चालकको ६० प्रतिशतले बढेको जानकारी गराएको छ । जुन शुक्रबार सम्पन्न बैंकको १२औ वार्षिक साधारणसभाले पनि पारित गरिसकेको छ । प्रतिवेदन अनुसार, समितिको बैठकमा उपस्थित भए वापत बैंकका अध्यक्ष मोतीलाल दुगडले प्रतिबैठक भत्ता २० हजार रुपैयाँ पाउने भएका छन् । त्यस्तै, बैंकका सञ्चालकहरुले बैठकमा उपस्थित जनाएवापत प्रतिबैठक भत्ता १६ हजार रुपैयाँ पाउने भएका छन् । यस अघि बैंकका अध्यक्षले प्रतिबैठक भत्ता १२ हजार र सञ्चालकले १० हजार रुपैयाँ बुझि लिँदै आएका थिए । प्रतिशतका आधारमा अध्यक्षको प्रतिबैठक भत्ता गत आर्थिक वर्षको तुलनामा ६६ प्रतिशत र सञ्चालकको प्रतिबैठक भत्ता ६० प्रतिशतले बढेको हो । हाल बैंकको सञ्चालकमा संस्थापक समूहबाट ई. बच्छराज तातेड र मालचन्द दुगड रहेका छन् भने सर्वसाधारण समूहतर्फबाट ई. शैलेन्द्र गुरागाई, शारदा शर्मा पुडासैनी र दीपक नेपाल रहेका छन् । त्यस्तै, स्वतन्त्र संचालकमा ओमकृष्ण जोशी र कम्पनी सचिवमा ईश्वर कुमार पाठक रहेका छन् । गत आर्थिक वर्षमा बैंकका सञ्चालकले बैठक भत्ता बापत कुल १७ लाख ४४ हजार रुपैयाँ पाएका थिए । उक्त रकम आयकर ऐन अनुसार श्रोतमा करकट्टी गरी दिइएको बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, तत्कालिन कार्यकारी प्रमुख रत्नराज बज्राचार्यले तलब तथा भत्ता स्वरुप वार्षिक एक करोड २७ लाख २८ हजार रुपैयाँ लिएका थिए । त्यसैगरी, व्यवस्थापन तहका पदाधिकारीहरुले पारिश्रमिक तथा भत्ता सुविधा १२ करोड ७३ लाख ९२ हजार रुपैयाँ भुक्तानी लिएका छन् । बैंकले कर्मचारी सदस्य बाहेक संयोजक र सदस्यलाई प्रतिबैठक भक्ता १० हजार रुपैयाँ दिँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा समितिकोे बैठक ९ पटक बसेको थियो । कम्पनी संयोजकमा ओमकृष्ण जोशी र सदस्यमा शारदा शर्मा पुडासैनी रहेका छन् । त्यस्तै, अन्य सुविधामा पनि वृद्धि भएको छ । स्वदेशमा दैनिक भत्ता एक हजार भएकोमा बढेर तीन हजार रुपैयाँ पुगेको छ । भारतमा दैनिक भत्ता भारतिय एक हजार भएकोमा बढेर तीन हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, भारत बाहेक अन्य विदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर १०० रुपैयाँबाट ३०० रुपैयाँ पुगेको छ । हालसम्म एनआईसी एशिया, सिटिजन्स, कुमारी, माछापुच्छ्रे, सानिमा, बैंकअफ काठमाण्डू, सिद्धार्थ र सनराइज बैंकले गत वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । प्रतिवेदन अनुसार उक्त बैंकमध्ये सनराइज बैंकले आफ्ना सञ्चालकलाई सबैभन्दा बढी प्रतिबैठक भत्ता उपलब्ध गराउने भएकाे छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार जनकशर्मा पौड्यालले सम्हालेका छन् । त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी, नायव महाप्रबन्धकमा अपछ कुमार यादव र रविन नेपाल रहेका छन् भने सहायक महाप्रबन्धकमा सर्बेन्द्र मिश्र रहेका छन् ।
हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकहरुमा, फाइब-जी पूर्वाधार विस्तार गर्न तयार
बैंकक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब-जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो । अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ । तर, कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ । प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ । थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् । उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो । हुवावेका उपाध्यक्ष एडवार्ड झाउले आसियान सम्मेलनका क्रममा बैंककमा भने, “चीन र अमेरिका अहिले व्यापार युद्धमा छन् र त्यहाँ प्रविधिसँग जोडिएको युद्ध पनि छ । अमेरिकाको मुख्य ध्यान हुवावेमाथि नै छ ।” दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ । थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ । केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइब–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । रासस/एएफपी