विकासन्युज

हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकहरुमा, फाइब-जी पूर्वाधार विस्तार गर्न तयार

बैंकक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब-जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो । अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ । तर, कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ । प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ । थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् । उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो । हुवावेका उपाध्यक्ष एडवार्ड झाउले आसियान सम्मेलनका क्रममा बैंककमा भने, “चीन र अमेरिका अहिले व्यापार युद्धमा छन् र त्यहाँ प्रविधिसँग जोडिएको युद्ध पनि छ । अमेरिकाको मुख्य ध्यान हुवावेमाथि नै छ ।” दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ । थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ । केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइब–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । रासस/एएफपी

कर्मले झाँगिएका कर्ण-‘लगानी भन्दा पनि लगनशीलताले सफल भएँ’

काठमाडौं । २००० सालतिर काठमाडौंको असनबजारमा दौडिरहेको फुच्चे एउटा दार्शनिक बन्छ । उ कोरा दार्शनिक मात्रै बन्दैन दर्शनलाई व्यवहारमा उतार्ने एउटा सफल व्यवसायी समेत बन्छ, त्योपनि आफ्नो एक्लो प्रयासले । आफ्नै ज्ञान, सीप कर्ममा गरिएको अथक साधनाबाट जीवन र जगतको यथार्थ र दर्शनलाई ‘ब्लेन्ड’ गर्नसक्ने त्यही एउटा नाम हो कर्ण शाक्य । जिन्दगीमा हुने अभावको महशुसले मान्छेमा पीडाको अनुभव गराउँछ, त्यही पीडाबाट उन्मुक्ति पाउने बाटो खोज्दाखोज्दै मान्छेभित्र सपना जन्मन्छ, प्रयासहरूले ती सपना हुर्किन्छन् र अन्त्यमा फुल्छन् र फल्छन् पनि । वास्तवमा जिन्दगी मात्रै होइन श्रृष्टिको नियम पनि त्यही हो । तर, शाक्यको जीवनका शैसवकालहरूले सपना जन्माउने खालको त्यस्तो अभावको महशुस कहिलै गरेन । सुनको थालमा सुनकै चम्चाले खानसक्ने क्षमता नभए पनि उनकी आमाले उनलाई अभावको चिसो सिरेटोबाट काश्मिरी पश्मिनाले ढाकिरहिन्, उनले न्यानो महशुस गरिरहे । तर, राष्ट्र कवि माधव घिमिरेले भनेजस्तै ढुंगाको काप फोरेरै भए पनि पिपल उम्रियो । उनको व्यावसायिक जीवन, जगत र प्रकृतिलाई नियाल्ने अनुभव गर्ने चाहना र तीव्र व्यवसायिक आकांक्षालाई असन बजारको सीमित घेराले छेक्न सकेन । उनलाई हिमालका चुचुराहरूले ‘सोच’ दियो, पहाडका कन्दराहरूले ‘खोज’ दियो । ‘हाम्रो नेता कस्तो हुनुपर्छ’ भनेर काठमाडौंले सिकायो । आज ७७ वर्षको उमेरमा पाइला चालिरहेका शाक्यलाई यी कृतिहरूले एउटा उचाइमा पुर्याउँदा उनी आफैं भने पर्यटन व्यवसायमार्फत् देशलाई विश्वमै उचाइमा पुर्याउने सार्थक प्रयास गरिरहेका छन् । असनको उनको व्यवसायिक मन अहिले ठमेल, नक्साल, बुढानीलकण्ठ हुँदै पोखरा, चितवनदेखि लुम्बिनीसम्म पुग्यो ।  व्यक्तिगत रुपमा व्यवसायिक क्षेत्रबाट सन्यास लिएपनि उनको स्वामित्वमा ठमेलमा काठमाडौं गेष्ट हाउस, बुढानीलकण्ठमा पार्क भिलेज रिसोर्ट, नक्सालमा माया म्यानोर बुटिक होटल, पोखरामा हिमालयन फ्रन्ट होटेल र वाटरफ्रन्ट रिसोर्ट, लुम्बिनीमा बुद्धमाया ग्राण्ड होटेल र चितवन राष्ट्रिय निकुञ्जमा मारुनी सेञ्चुरी होटेल गरी ७ ओटा होटल तथा रिसोर्टहरु सञ्चालनमा छन् । जुन उनका उत्तराधिकारीहरूमार्फत् अझै फैलने प्रयास भइरहेको छ । यी होटल र रिसोर्टहरुको व्यवस्थापन अहिले उनका छोराछोरीले हेर्दै आएका छन् । ती संस्थाहरूबाट अहिले करिब ८०० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । कर्णको बाल्यकाल कहिल्यै पनि रोमाञ्चक भने भएन । राष्ट्रका सर्वोत्कृष्ठमस्तिष्कहरू कक्षाकोठाका अन्तिम बेञ्चमा पनि हुन सक्छन् भन्ने एपीजे अब्दुल कलामको भनाइ उनको जीवनमा ठ्याक्कै मेल खान्छ । २०१३ सालमा एसएलसी पास गरे पनि उनी जीवनभर कहिल्यै उत्कृष्ठ विद्यार्थी कहलिएनन् । उनी भन्छन्- ‘जीन्दगीमा कहिल्यै फष्र्ट डिभिजन आएन, एसएलसीमा ३९६ नम्बरमात्रै ल्याएर पास भएँ, जबकी पास हुनकै लागि मात्र ३९० नम्बर ल्याउनुपथ्र्यो ।’ तर, त्यति हुँदा पनि उनका बाबुआमा कहिलै दुःखी भएनन् बरु खुसी नै भए । उनी भन्छन्- ‘एसएलसी पास गरेबापत मलाई उहाँहरूले छालाको जुत्ता किनिदिनुभयो, मैले पहिलोपटक छालाको जुत्ता लाउन पाँए । मेरा बुबाआमाले कहिलै पनि मेरो नम्बर कम आएको भनेर दुःखी हुनुभएन, उहाँहरूको त्यही सकारात्मक सोचले नै मलाई अझै पढ्ने प्रेरणा मिल्यो ।’ एसएलसी पास गरेपछि विज्ञान विषय छानेर पढेका उनले आईएसी पनि थर्ड डिभिजनमा नै पास गरे भने बीएससीमा सेकेन्ड डिभिजन ल्याए । काठमाडौंमै स्नातक तह उत्तीर्ण गरेपछि वन विज्ञानमा थप अध्ययन गर्न सन् १९६२ तिर उनी भारत गए । काठमाडौं उपत्यका बाहिर संसारै छैन भन्ने जस्तो धारणा बोकेका उनलाई त्यतिबेलाको पशुपति वनकालीको वनबाहेक अरु केही छैन भन्ने लाग्थ्यो, चिडियाखानामा भएका चराचुरुंगी र वन्यजन्तु मात्रै वन्यजन्तु हुन् जस्तो लाग्थ्यो उनलाई । कहिलेकाही स्वयम्भुको डाँडामा चढ्दा पहाड के हो भन्ने अनुभव हुन्थ्यो उनलाई, चन्द्रागिरि र फुल्चोकीहरू त आँखा मात्रै सीमित थिए, ती डाँडाहरूले नै संसार छेकेजस्तो हुन्थ्यो उनलाई जसरी हामी आकाशले संसार छोपेको अनुभव गर्छौं । भारतमा अध्ययनकै क्रममा उनले त्यहाँ रहेका विभिन्न जंगलहरु र त्यहाँका वनस्पतिहरुबारे थाहा पाए । खास्टो बेचेर आमाले खाममा पठाएका रुपैयाँहरूलाई सदुपयोग गर्दै भारत बसाइँबाट उनलाई देशको प्राकृतिक सम्पदाहरुसँग परिचित हुने रहर जाग्यो । भारतबाट फर्किएपछि उनले वन विभागमा जागिर सुरु गरे । त्यसै क्रममा अष्ट्रेलिया र अमेरिका भ्रमण गरेर वन सम्पदाको बारेमा अध्ययन गरेपछि उनको भ्रम हट्यो । रुख भनेको काट्नकै लागि पालिएको हो र वन भनेको फाँड्नकै लागि छाडिएको हो भन्ने सोचबाट वन सम्पदालाई राष्ट्रको आर्थिक उपार्जन र पर्यटन प्रवद्र्धनमा कसरी प्रयोग गर्न सकिन्छ भनेर सिकेका उनी त्यही क्षणलाई पर्यटन व्यवसायको यात्राको पहिलो पाइला मान्छन् । अमेरिकाबाट फर्किएपछि उनले नेपालका वन सम्पदाहरुको कसरी संरक्षण गर्न सकिन्छ भन्नेतिर लागे । त्यतिबेला नेपालमा वनसम्पदा संरक्षण गर्ने अमेरिकी संस्थामार्फत् एउटा परियोजना आएको रहेछ । त्यही परियोजनाअन्तर्गत उनी बन्यजन्तु संरक्षण अधिकृत (एफपीओ) भएर करिब ४ वर्ष काम गरे । त्यही परियोजनाअन्तर्गत चितवनको जंगललाई चितवन राष्ट्रिय निकुञ्ज बनाउने काममा उनी प्रत्यक्ष रुपमा संलग्न थिए । वनलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर संरक्षण गर्दै जाने अमेरिकी मोडेललाई राजा महेन्द्रले स्वीकार गरेपछि त्यतिबेला चितवन राष्ट्रिय निकुञ्ज घोषणाका लागि सीमांकन र नक्सांकनको काम सुरु भयो । ‘त्यतिबेला चितवनमा राप्तीपारी जंगलै जंगल थियो, भने राप्तीवारी खेतैखेत थियो हेलिकोप्टरबाट हेर्दा पनि जंगलमात्रै देखिन्थ्यो, कतै खुला ठाउँमा अर्ना भैंसीहरु देखिन्थ्यो, त्यसैले त्यतिबेला राप्तीलाई नै राष्ट्रिय निकुञ्जको सीमा मानियो । त्योबेला त्रियुगाको केही क्षेत्रफल खेत पनि राष्ट्रिय निकुञ्जमा परेछ ।’ त्योबेलाको समयलाई सम्झिँदै उनी भन्छन्-‘भोलिपल्ट एउटा पत्रिकामा काठमाडौंको नेवारले चितवन आएर जनतालाई सुकुम्बासी र बाघ भालुलाई हुकुम्बासी बनायो भनेर छापेछ ।’ उनी सम्झन्छन्-‘त्यतिबेला मलाई पिट्न भनेर मान्छेहरू पनि आए, मैले लुकेर ज्यान जोगाउनु पर्यो । पछि मान्छेहरूले यथार्थ बुझे हामीले सम्झायौं ।’ राष्ट्रिय निकुञ्जका लागि इँटा राखेको त्यो क्षणले आज पनि उनलाई सुखानुभूत गर्छ । ‘एक वर्षजति पसलमा बसे, सुनचाँदी बेचेर । ३ करोडको पसलले मेरो मनमा चयन ल्याएन, संसारभरि घुमेको एउटा केटा सानो घेराभित्र रमाउन नसकेर म नयाँ मार्गको खोजीमा लागे,’ उनले भने । त्यति बेला बसन्तपुरमा हिप्पीहरू आउथे । गर्लफ्रेण्ड बनाए । त्यहिबाट मैले सेतो छाला भनेका सबै जान्नेमात्रै हुँदैन रहेछन् भन्ने थाहा पाए । त्यहिबाट मेरो आत्मबल बढ्यो । आफूले आफूलाई चिन्ने मौका पाए ।’ व्यवसायिक जीवन एफपीओ भएर ४ वर्ष काम गरेपछि शाक्यलाई आफ्नै व्यवसाय थाल्ने हुटहुटी चल्यो । त्यो बेला ठमेलमा उनको एउटा घर थियो । आफू ६/७ वर्षको हुँदा नै बुबाले किनेको । पहिले राणाहरुले सेवा गरेवापत जग्गा जमीन बक्सिस दिनेमात्रै गर्थे, जग्गा बेच्दैनथे, तर उनका बुबाले पहिलोपटक राणा खानदानबाट किनेको ऐतिहासिक भव्य भवन थियो त्यो । त्यही ठाउँलाई उनले आफ्नो पहिलो व्यवसायिक थलो बनाए । काठमाडौंमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै सन् १९६८ मा काठमाडौं गेष्ट हाउस खोलेका थिए । होटल खोल्दा आमाले सन्दुकबाट सय-सय रुपैंयाको नोट झिकेर दिएको उनको आँखामा अझै झल्झली आउँछ । उनलाई यतिसम्म याद रहेछ कि त्यो बेला आमाले दिएको सय रुपैंयाको नोट अहिले भन्दा ठूला थिए । चेतना बढ्दै जाँदा उपलब्धी विस्तार हुँदै जान्छ । तर, चेतना एक कदम अगाडि हुन्छ । उपलब्धी एक कदम पछाडि । यसले मानिसलाई कमजोर भएको महशुस गराउँछ । उपलब्धीलाई महत्वका साथ बुझ्न सकेमात्र मानिसले जीवनमा सुखानुभूती गर्न सक्छ । पैसाले सबै थोक किन्न खोज्दा दिमागमा खिया लगाउँछ । बोल्दा बोल्दै भावुक बनेर उनले भने ‘आमाको पछ्र्यौरी बेचेर खर्च पठाएको थाहा पाएपछि मेरो जीवनले सार्थकता पायो । उनी सम्झिन्छन्,–‘आमाले नोट गनेर दिँदा मनमा चलेको हुटहुटी अहिले पनि महशुस गर्नसक्छु । त्यति बेलामलाई होटेल नचले पनि अरु त केही थिएन, तर आमाको विश्वासकै लागि मात्रै भने पनि मैले होटल राम्रोसँग चलाउनुपथ्र्यो । त्यसैले मैले जोश र जाँगरका साथ काम गरेँ, मलाई कहिल्यै थकाइ लागेन । त्यतिबेला त्यो घर भूत बंगला जस्तो थियो, ट्वाइलेट जान पनि साथी चाहिने, त्यस्तो ठाउँमा होटेल खोलेर पनि आमाको विश्वास जित्न सफल भएँ ।’ त्यतिबेला १३ ओटा कोठाबाट सुरु गरिएको उक्त होटलमा अहिले सुविधा सम्पन्न १०२ ओटा कोठाहरु छन्, सो होटेल अघिल्लो वर्ष गरिएको सर्वेक्षणमा विश्वमै जानलायक होटेलमध्ये छैटौं स्थानमा पर्न सफल समेत भएको थियो । सहरको केन्द्रीय भागमै भए पनि यो होटेलले पर्यापर्यटनको अवधारणा अनुसार सेवा दिँदै आएको छ । अचम्म त के छ भने सेभेनस्टार होटल बराबरको सेवा दिने काठमाडौं गेष्ट हाउसको एउटा रुमको शुल्क २ डलर मात्रै राखियो । १९६८ मा उक्त गेष्ट हाउस सुरुवात हुँदा लिइएको २ डलर शुल्कको सम्झनाका लागि यस्तो गरिएको हो । शाक्य भन्छन्-‘हामी जतिसुकै अघि बढे पनि हामीले विगतलाई बिर्सिनु हुँदैन, त्यसैले १९६८ लाई सम्झिइराख्न यस्तो गरिएको हो ।’ पर्यटन दुतदेखि सामाजिक कार्यकर्ता काठमाडौं गेष्ट हाउसमा १४ वर्षसम्म अथक मेहनत गरेपछि उनलाई लाग्यो- ‘पैसा त कमाइयो, तर पैसा मात्रै त केही होइन, नाम पनि त कमाउनुपर्यो ।’ त्यतिबेला उनलाई सामाजिक कार्य गर्ने मन जाग्यो र  ७५ प्रतिशत काम र २५ प्रतिशत समाजसेवा गर्ने रुटिङ बनाए । ‘गर्न त गर्ने तर के गर्ने ? ’ उनले त्यतिबेलासम्म जानेको भनेको पर्यावरण र पर्यटन मात्रै थियो । त्यसैले उनले यही क्षेत्रलाई रोजे । आफ्नी श्रीमती र छोरीलाई क्यान्सरकै कारण गुमाउनु परेपछि उनलाई क्यान्सर हस्पिटल खोल्ने इच्छा पलायो । तर, होटेलबाट भएको कमाइले हस्पिटल खोल्न सम्भव नै थिएन । सरकारसँग त्यो प्रस्ताव गर्दा सरकारी ढुकुटीबाट त्यस्तो अस्पताल बनाउन कोही तयार भएन, पैसा छैन भनेर सरकार पन्छियो । त्यतिबेलासम्म नेपालमा चुरोट खैनीहरुमा अन्तःशुल्क लाग्दैनथ्यो । उनले उपाय सुझाए चुरोटखैनीमा अन्तःशुल्क लगाएर त्यो पैसाले हस्पिटल बनाउने । १९९२ मा सरकारले उनको सल्लाह र प्रयासलाई स्वीकार गर्यो र पहिलोपटक चितवनमा विपि कोइराला क्यान्सर अस्पताल खुल्यो । अहिले भरतपुर क्यान्सर अस्पताल नेपालकै नमुना अस्पतालहरूमध्ये एउटा अस्पताल बन्न सफल भएको छ । कर्ण शाक्य भिजिट नेपाल १९९८ का संयोजक समेत हुन् । पर्यावरणीय क्षेत्रमा अनुभव सँगालेका र होटल व्यवसायमा सफल भएको व्यक्तिका हिसाबले तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यो अभियानलाई जिम्मेवारी उनलाई दिएका थिए । त्यो कार्यक्रम नेपालको पर्यटन प्रवद्र्धनको इतिहासमा एउटा कोशेढुंगा नै बन्न सफल समेत भयो । त्यतिबेला विदेशी म्यागाजिनमा काठमाडौंकोे फोहोरको डंगुरको फोटो छाप्दै ‘गुडबाई साँग्रिला’ लेखिएको दृष्यले अझै पनि उनको मुटु बिझाउँछ । ‘त्यही भ्रम चिर्न पनि मैले संयोजक बनेर काम गर्नु थियो, त्यसैअनुरुप विश्वमा नेपालको सुन्दरता र प्राकृतिक सम्पदाबारे हामीले प्रचारप्रसार गर्यौं’ उनले भने । जीवनमा दुःख भनेको सबैभन्दा ठूलो धन हो । जब समस्या आउँछ समाधानको बाटो खोज्छ । विकल्प खोजिन्छ, उपाय निष्कन्छ । उपाय भनेको जीवनको ढोका खोल्ने साँचो हो, उनले सुनाए । साहित्य र दर्शन कर्ण शाक्यलाई चिनाउने अर्को परिचय भनेको साहित्यकार वा दार्शनिक हो । उनका कृतिहरूमा पाइने दार्शनिकता बुझ्ने क्षमता जोकोहीको हुँदैन, यद्यपि उनी आफ्ना कृतिहरू ९८ प्रतिशत सर्वसाधारणका लागि भएको बताउँछन् । अहिले उनको यो परिचयले पुरानो परिचयलाई नै छायाँमा पारेको छ । उनको दर्शनहरू नकारात्मक विचारलाई हटाएर सकारात्मक सोचको विकास कसरी गर्ने भन्नेमा बढी केन्द्रित देखिन्छ । त्यसो त ४ वर्ष अघि मात्रै उनले ‘न’ लाई नकार्ने ‘स’ लाई सकार्ने अभियान सहित सकारात्मक कोषको सुरुवात समेत गरेका छन् । यो संस्थाले २० वर्ष नाघेका युवालाई गाउँ गाउँमा गएर समूह गठन गर्दै सकारात्मक सोच विकास गर्ने अभियान चलाउँदै आएको छ । युवाहरूले सकारात्मक सोचका साथ तेस्रो आँखा खोलेर काम गर्नुपर्छ । वितृष्णालाई त्याग्न सक्नुपर्छ । उद्योग व्यवसाय गर्न लगानीको भन्दा पनि लगनशीलताको आवश्यकता छ । काम ठूलो सानो हुँदैन । श्रमको सम्मान गर्नुपर्ने उनले सुनाए । कर्ममा वर्ग हुँदैन । कर्मलाई गर्वमा परिणत गर्न सके उद्यमशीलतामा नयाँ आयाम थप्न सकिन्छ । नकारात्मक सोचले समाज बन्दैन । नागरिक बन्न अर्काको मनबाट सुन्न, हेर्न र देख्न जान्नु पर्ने उनको सिद्धान्त छ । भगवान बुद्धको जीवनदर्शन अनुसार ८० वर्षसम्म मावन जीवन बाच्न सकिन्छ । हामी मान्छे बढो गजवको जनावर हुँदा रहेछौं । आफूले आफूलाई कहिल्यै मूल्यांकन गर्न सक्दैन । घट्नाले जन्माएको आयाम थप्दै गएको हो । सायद दुःख नगरेको भए यी कितावहरू उनले लेख्न सक्ने थिएनन् । जीवनमा भोगेका दुःखले सोच लेखिएको हो ।

नेपाल–बङ्गलादेशबीच द्विपक्षीयआर्थिक सम्बन्ध विस्तार हुँदै

काठमाडौं । नेपाल र बङ्गलादेशबीच द्विपक्षीय व्यापार, लगानी र उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारित हुँदैछ । नेपालको पूर्व दक्षिणी सिमाना बङ्गलादेशको उत्तरी सीमाबाट मात्र करिब २७ किलोमिटरको दूरीमा रहेको छ । दुई देशबीच स्थल परिवहनबाट सीधा सम्पर्क हुन सके बङ्गलादेश र नेपालबीचको जनस्तरीय सम्बन्धमा कायापलट हुने देखिन्छ । पछिल्लो समय नेपालमा उत्पादित विद्युत् बङ्गलादेशमा बिक्री गर्ने विषयमा नेपाल, भारत र बङ्गलादेशबीच सैद्धान्तिक सहमति हुनाले थप आर्थिक सम्बन्धका आयाम देखा परेका हुन् । बङ्गलादेश सरकारले नेपालबाट सन् २०४० सम्ममा नौ हजार मेगावाट विजुली लैजाने नीति तय गरेको छ भने तत्काल भारतीय कम्पनी जिएमआरले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट विद्युत् लैजानेसम्बन्धी सम्झौता भई विद्युत् खरिद सम्झौता हुने प्रक्रियामा छ । बङ्गलादेशले नेपालमा २० जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छासमेत जनाइसकेको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निकट भविष्यमा नेपालमा हुने भनिएको औपचारिक भ्रमणका बेला दुई देशबीचको सम्बन्ध थप विस्तार भई व्यापार र लगानीका क्षेत्रले प्राथमिकता पाउने छ । भ्रमणको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले द्विपक्षीय व्यापार, लगानी र उच्चस्तरको भेटघाट आदानप्रदान बढाउन नेपाल सकारात्मक रहेको जनाउँदै बङ्गलादेशले नेपालको ऊर्जा खरिद र त्यस क्षेत्रमा लगानी गर्न तयार हुनु र त्यसमा भारतसँगसमेत त्रिपक्षीय समझदारी हुनुलाई ‘सकारात्मक वातावरण’ को संज्ञा दिएका छन् । भट्टराईले भने, “उनीहरुले कृषि उत्पादनका सामान आदानप्रदान अगाडि बढाउन प्रस्ताव गरेका छन् । हामी पनि त्यसमा इच्छुक छौँ । बङ्गलादेशमा तीव्र रुपमा हुँदै गएको आर्थिक उन्नतिको परिवेशमा हामी पनि अघि बढ्न चाहन्छौँ । दुई देशबीच राजनीतिक, व्यापारिक र अन्य क्षेत्रमा सहकार्यको दायरा फराकिलो बनाउँदै लान्छौँ ।” अजरबैजानको बाकुमा हालै सम्पन्न असंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा सहभागी हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग ‘साइडलाइन’ भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताका आधारमा नेपालले छिमेकी र मित्रराष्ट्रसँग सम्बन्ध विस्तार गरी समृद्धिका साथ अन्तर्राष्ट्रिय सद्भाव लिई नेपालको अन्तर्राष्ट्रिय छविलाई माथि उठाउने उल्लेख गर्दै आएका छन् । नेपालले बङ्गलादेशलाई मुख्यगरी मुसुरो र रहरका दाल, तेलको पिना, अलैँची, गहुँ, तरकारीका बीउ, हस्तकला, पश्मिनालगायत सामान निर्यात गर्दै आएको छ । बङ्गलादेशबाट भने औद्योगिक कच्चा पदार्थ, रसायन, धागो, कपडा, जुट उत्पादन र विद्युत्जन्य सामग्री आयात हुने गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बङ्गलादेशसँगको व्यापारमा वृद्धि भएको छ । चालू आवको पहिलो दुई महिनामा रु २४ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु २३ करोडको निर्यात भएको थियो । यही कात्तिक ५ र ६ गते काठमाडौैँमा भएको नेपाल–बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको बैठकमा काठमाडौं–ढाका सीधा बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । सोही बैठकमा दुई देशबीच जलमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा पनि सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्। सन् २०१६ मेमा बङ्गलादेशको ढाकामा भएको तेस्रो वाणिज्यसचिवस्तर र सन् २०१७ जनवरीमा सहसचिवस्तरमा पनि बैठक भएको थियो । सन् १९७२ अप्रिल ८ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापना हुनुअघि बङ्गलादेशलाई स्वतन्त्र मुलुकको मान्यता दिने नेपाल सातौँ मुलुक हो । दुई देशबीच परस्पर, हार्दिक र सहयोगात्मक सम्बन्ध रहेको छ । दुई देशबीच समय समयमा उच्चस्तरीय भ्रमणको आदानप्रदान पनि हुँदै आएको छ । नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित छिमेकी र अन्य मुलुकसँगको आपसी सम्बन्ध विस्तार गरी व्यापार र लगानीका नयाँनयाँ क्षेत्र पहिचान गर्ने क्रममा वैदेशिक सम्बन्धलाई विशेष महत्व दिँदै आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा नेपालमा २६ हजार ३५५ बङ्गलादेशी पर्यटक आएका छन् । नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, फ्रान्स, चीन, जापान, बङ्लादेश, इटाली, क्यानडा, अष्ट्रेलिया आदि प्रमुख देश छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कानुसार आव २०७६÷७७ को प्रथम दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०।४ प्रतिशतले वृद्धि भई रु २४८।०० अर्ब पुगेको छ । उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, फलाम तथा स्टिल र तिनका उत्पादन, तयारी पोशाक, जुट तथा जुटका सामान, जुस, अलैँची, कपडा, चिया, भटमासको तेल, ऊनी कपडा र पश्मिना पछ्यौरा प्रमुख छन् । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाम आयलको निर्यातमा ४२०७.५ प्रतिशतले वृद्धि भई रु तीन अर्ब ६१ करोड पुगेको छ । पोलिष्टर तथा अन्य धागोमा ४.१ प्रतिशतले ह्रास आई रु १.४० अर्बमा सीमित भएको छ । केन्द्रसँग मुलुकगत व्यापारको पछिल्लो विवरण उपलब्ध छैन । दुवै मुलुक अल्पविकसित मुलुक हुनाका नाताले दुई देशले विश्व व्यापार सङ्गठन, युएनसिटिएडी, राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक निकाय (इकोसोक) का साथै सार्क, बिमस्टेकजस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा साझा स्वार्थको सवाल उठाउँदै आएका छन् । दुई देशबीच वैदेशिक कार्यालय परामर्श संयन्त्र स्थापनाका लागि दुई देशका परराष्ट्र मन्त्रालयका सचिवस्तरमा सन् २०१२ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । संयन्त्रले दुई देशको नियमित र विस्तृत सम्बन्धको समग्र पक्षमा समीक्षा गरेको थियो । सन् १९९७ देखि काकरभिट्टा–फूलबारी–बङ्गलाबन्ध नाका सञ्चालनमा आएपछि बङ्गलादेशले नेपाललाई मोङ्लामा बन्दरगाह प्रयोगको सुविधाका लागि अनुमति दिएको थियो । बङ्गलादेशले रोहनपुर–सिङ्गबादको करिडोरका अतिरिक्त रेलमार्ग हुँदै उक्त नाका प्रयोग पनि गर्न दिएको छ । दुई देशबीच सन् १९७८ मा अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोग गठन भएको थियो । सहकार्यका लागि दुई देशले बैङ्क, आर्थिक र वित्तमा नयाँ पहल शुरु भएका छन् । तयारी कपडा, छाला र औषधि सामानका क्षेत्रमा संयुक्त व्यापार र लगानीका सम्भावनाका क्षेत्र पहिचान भएका छन् । बङ्गलादेशले नेपाली विद्यार्थीका लागि चिकित्सा र इञ्जिनीयरिङमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । विसं २०७२ को भूकम्पका बेला बङ्गलादेशले नेपाललाई एक लाख टनभन्दा बढी चामल तथा अन्य राहत सामग्री सहयोग गरेको थियो । रासस

सांग्रिलाले वार्षिकोत्सवको अवसरमा गर्यो प्रभातफेरी

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पूरा गरी १६औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रीय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो । ‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बंैकिङ्ग पहुँच’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै ‘रक्तदान–जीवनदान’ भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाडौंमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । वार्षिक उत्सवकै अवसरमा आइतबार बिहान ८ बजे नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोईराला नियुक्त

काठमाडौं। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोईराला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले डा.कोईरालालाई काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको रहनेछ। मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए। यसअघि काउन्सिलको अध्यक्ष डा. धर्मकान्त बाँसकोटा रहेका थिए। उनको कार्यकाल जेठमा सकिएपछि अध्यक्षको पद रिक्त थियो।

नेपाली जडीबुटीमाथि लगाइएको प्रतिबन्ध हटाइयो, धमाधम निकासी शुरु

राँझा । भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन् । गत वर्षदेखि नेपालबाट निकासी हुने प्रमुख ३१ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नगरिएकाले नेपाली जडीबुटी निकासी ठप्प हुँदै आएको थियो । भारत सरकारले गत महिना अक्टुवर १ मा भारतीय राजपत्रमा सूचना प्रकाशित गरेर जडीबुटी निकासीमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी गराएकाले नेपाली व्यवसायी उत्साहित भएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताएका छन् । नेपाल र भारतका प्लान्ट क्वारेन्टाइनका उच्च अधिकारीबीच काठमाडौँमा गत भदौमा भएको बैठकमा भारतीय क्वारेन्टाइनले सूचीकृत नगरेका जडीबुटीमध्ये ३१ प्रकारका जडीबुटीलाई तत्काल सूचीकृत गर्ने सहमतिबमोजिम भारत निकासी हुने जडीबुटीलाई सूचीकृत गरिएको सङ्घका अध्यक्ष अन्सारीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी भारत निकासी हुने ३१ प्रकारका जडीबुटीमाथि लगाइएको प्रतिबन्ध हटाइएपछि अब फेरि पहिलेझैँ निकासी शुरु हुनेछ । “नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया शुरु भएको छ”, नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष अन्सारीले भने, “प्रतिबन्ध हटेपछि अब फेरि पहिलेझैँ जडीबुटी व्यवसाय फस्टाउनेछ ।” लामो समयदेखि निरन्तरको माग र प्रयासपछि भारत सरकारले राजपत्रमा सूचना जारी गरेर प्रतिबन्ध हटाएको जानकारी गराए पनि अझै केही जडीबुटीको प्रतिबन्ध फुकुवा नगरिएको अध्यक्ष अन्सारीले बताएका छन् । भारतमा सबैभन्दा बढी निकासी हुँदै आएको रिठ्ठा, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामसी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइललगायतमा लगाइएको प्रतिबन्ध हटेको छ । नेपालबाट निकासी हुने ३१ प्रकारका जडीबुटीलाई भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश गरिएसँगै नेपालगञ्जमा लामो समयदेखि थन्किएको चार हजार टन जडीबुटीको निकासी प्रक्रिया शुरु भएको व्यवसायी शकील अहमद जसगढले बताए । नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी जडीबुटी भारत तथा तेस्रो मुलुकमा निकासी हुने गर्दछ । नेपाल जडीबुटी व्यवसायी सङ्घको तथ्याङ्कअनुसार केही वर्ष पहिलेसम्म यो नाकाबाट वर्षेनी ७० लाख किलोसम्म जडीबुटी निकासी हुने गरेकामा हाल एक लाख किलो पुग्न पनि मुस्किल भएको थियो । प्रतिबन्ध फुकुवासँगै गोदाममा थन्किएको ठूलो परिमाणको जडीबुटी निकासी हुने आशामा व्यवसायी खुशी भएको व्यवसायी जस गढले बताए । रासस

कलंकी-कोटेश्वर सडकमा जोखिम बढ्दै, यात्रुले भत्काउन थाले रेलिङ

काठमाडौँ । कलंकी–कोटेश्वर सडक हेर्दा जति सुन्दर, सुविधाजनक र अत्याधुनिक देखिन्छ, प्रयोगका हिसाबले उति नै जोखिमपूर्ण बन्दै गएको छ । चीन सरकारको सहयोगमा बनेको उक्त सडक १ वर्ष अघि नेपाल सरकालाई हस्तान्तरण गरेको हो । केही वर्ष अघिसम्म अस्तव्यस्त रहेको कलंकी कोटेश्वर सडक अहिले आठ लेनको बनेको छ । सडक हेर्दा सुन्दर देखिन्छ । तर, व्यवस्थापन राम्ररी हुन नसक्दा पैदलयात्रु र सवारी चालकहरुले सास्ती खेप्दै आएका छन् । सडकमा पैदलयात्रुहरुलाई सडक वारपार गर्दा दुर्घटना बढ्दै गएपछि यात्रुहरुले सडकको बीचमा भएको रेलिङ भत्काउन थालेका छन् । चीन सरकारले ५ वर्ष लगाएर निर्माण पूरा गरेको सडक २०७५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक बिस्तार र निर्माणमा सहयोग गरेको थियो । २७ किलोमिटर लामो चक्रपथको सडक खण्ड मध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरिसकेको छ भने कलंकी, चाबहिल हुँदै कोटेश्वरसम्मको सडक निर्माण शुरु गरेको छ । ड्यूटीमा खटिएका एक ट्राफिक प्रहरीले भने–‘यात्रुहरुले भत्काएको रेलिङ केही समयमा नै निर्माण हुनेछ ।’ आठ लेनको कोटेश्वर–कलंकी सडक तीन भागमा बाँडिएको छ । बीचमा चार लेनको एक्सप्रेस वे छ । जहाँ ५० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक छन्, जसमा २० किमि प्रतिघन्टाको गतिमा सवारी चल्छन् । त्यसपछि दुवैतर्फ सर्भिस लेन पनि रहेको छ । कलंकी–कोटेश्वर सडक निर्माण भए पछि सडक जाम त कम भएको छ । तर सो सडकमा आवश्यता अनुसार जेब्राक्रसिङ नहुँदा सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् । सानेपामा बाटो कटेर वारी आएका चरिकोटका हरि केसीले भने–बाटोमा जेब्राक्रसिङ नहुँदा बाटो काट्दा मरिन्छ कि बाचिन्छ कुनै भर छैन् ।’ बाटो बनिसके पछि गाडीहरु स्पीडमा चल्ने गरेको छ । सडक प्रयोगकर्ताहरुले जेब्राक्रसिङ र आकाश पुल नहुँदा कठिनाई भोग्नु परिरहेको छ । कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्र जेब्रा क्रसिङ राखिएको छ । त्यस्तै, कोटेश्वर, बिएन्डबी अस्पताल अगाडि र बागडोलमा आकाशे पुल बनाइएको छ । १०.३९ किलोमिटर सडकमा यो पर्याप्त नभएको विज्ञहरु बताउँछन् । जेब्राक्रसिङ र आकाश पुल मात्रै हैन यो सडकमा पर्याप्त मात्रामा बस बिसौनी बनाइएको छैन । कोटेश्वर, ग्वार्को, बिएन्डबी अगाडि, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, बल्खु र कलंकीमा मात्र बस बिसौनी बनाइएको छ ।

सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठमाथि छानबीन गर्ने, सञ्चालक समितिको बैठक आज

काठमाडौँ । सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको आरोपमा छानबिन गर्ने भएको छ । लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोपमा श्रेष्ठमाथि छानबिन हुन लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप पनि उनीमाथि छ । तिहारअघि मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गरी सिफारिस गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले बताए । ‘राष्ट्र बैंक ऐन–२०५८ मा सञ्चालक समितिले छानबिन गरी सिफारिस गर्नुपर्ने, स्पष्टीकरणको मौका दिने र त्यसपछि पदमुक्त गर्नुपर्ने प्रावधान छ । मन्त्रिपरिषद् निर्देशनमा छानबिन भनिए पनि श्रेष्ठलाई पदमुक्त गर्ने प्रक्रिया हो,’ ती मन्त्रीले भने । श्रेष्ठमाथि छानबिन गर्ने विषयमा छलफल गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक आइतबार बोलाइएको छ । बैठकले छानबिन समिति गठन गर्ने सम्भावना छ । बैठकका एजेन्डामा भने यो विषय समावेश नरहेको सञ्चालक समिति स्रोतले जनायो । ‘बिग मर्जर र अर्को एउटा सामान्य विषय एजेन्डा भनेर बैठक बोलाइएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यही बोर्ड बैठकमा मन्त्रिपरिषद्को निर्णयको पत्र पेस हुने सम्भावना छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।