जलविद्युत आयोजनामा काम गर्ने ४ मजदुर सुरुङभित्र थुनिए, घटनास्थलमा पुग्यो उद्धार टोली
बझाङ । बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् । दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउँद र बझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी सुरुङभित्र थुनिएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए । आठ सय मिटर लामो सुरुङ भएकाले अक्सिजनको मात्रा कम भएका कारण चारैजना बेहोस भएको हुनसक्ने बताए । उनीहरुसँगै सुरुङभित्र गएका अन्य दुई मजदुर भने बाहिर निस्किन सफल भएको उनले बताए । “चार जनाको अवस्था अज्ञात छ”, बमले भने । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । सुरुङभित्र रहेका मजदुरको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टरमा नेपाली सेनाको टोली घटनास्थल पुगेको छ । पाँच वर्षदेखि निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ । रासस
प्रदेश प्रमुखका लागि नेकपाले गर्यो सिफारिस, को को परे हेर्नुहोस्
काठमाडौँ । सरकारको शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार प्रदेश प्रमुखहरुलाई पद मुक्त गरिएपछि सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सचिवालय बैठकले अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको नेकपाका महासचिव विष्णु पौडेलले बताए । कसलाई कुन प्रदेशको प्रमुख बनाउने निर्णय सरकार र राष्ट्रपतिबाट हुने महासचिव पौडेलले बताए ।
झापा जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सोमबार उक्त एक्स्टेन्सन काउन्टर उद्घाटन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले झापा जिल्ला प्रशासन कार्यलयमा पनि सेवा विस्तार गर्न सफल भएको जनाएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बलेवा विमानस्थलको धावनमार्ग कालोपत्र गर्न चार करोड विनियोजन
गलकोट । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको हाे । छब्बीस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन भएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान गरेपनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ । नगरपालिकाले १४ वडामा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थलसँग पुग्ने सडक कालोपत्रे नहुनुुलगायत समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले धावनमार्ग बनाउन बजेट विनियोजन गरेको बागलुङ सांसद डा. सूर्य पाठकले जानकारी दिएका छन् । सरकारले हालै बलेवा विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न बहुवर्षीय योजनामा समावेश गरेर बजेट विनियोजन गरेको पाठकको भनाइ रहेको छ । “प्राधिकरणले पहिलो चरणमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ”, सांसद पाठकले भने, “नगरपालिकासहित सरोकारवाला निकायको पहलमा तीन वर्षमा सक्ने गरी पूर्वाधार निर्माण हुन्छ ।” धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीका जनतालाई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । “नगरले २६ वर्षपछि बन्द रहेको विमानस्थल सञ्चालनका लागि झण्डै रु ५० लाख लगानी गरिसक्यो, केही समय जहाज पनि चल्यो”, प्रमुख पौडेलले भने “आगामी तीन वर्षभित्रमा विमानस्थल पुग्ने सडक कालोपत्रे, धावनमार्ग निर्माण गर्ने गरी सरकारले योजनामा समावेश गरेको छ ।” कालिगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची रहेको छ । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे हुने हो भने विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवालाहरु बताउँछन् । एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम बागलुङ नगरपालिकाले सुनिश्चितता गरी हप्तामा दुई दिन नेपाल एयरलाइन्स र तारा एयरको टुइनेटर विमानले उडान भरेपनि वर्षाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो । रासस
बक्सिङ खेलाडी घिमिरेले जापानी खेलाडीलाई हराउँदै नयाँ इतिहास कायम
काठमाडौं । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी अकिफी ओयालाई पहिलो राउन्डमा नै पराजित गरी कीर्तिमान हात पारेका हुन् । युवा पुस्ताका चर्चित उदीयमान प्रतिभा घिमिरेले आफ्ना २८ वर्षीय प्रतिद्वन्द्वी ओयोलाई पहिलो राउन्डमा नै दुई मिनेट ३० सेकेन्डमा पराजित गरेका थिए । अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा जापान, नेपाललगायत अन्य देशका खेलाडीले भाग लिएका थिए । जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँका चन्द्रागिरि नगरपालिका निवासी हुन् । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन् । आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा ११ वटामा जीत आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । यसैगरी, एक खेल बराबरीमा रोकिएको उनको परिवारका सदस्य रामनारायण घिमिरेले जानकारी दिए । पछिल्लो प्रतियोगितामा सफलता प्राप्त गरेपछि अविरलले अगामी दिनका प्रतियोगितामा अझै राम्रो गर्ने र देशको नाम उँचो बनाउने प्रतिक्रिया दिएका छन् । उनले भने, “यो सफलताको श्रेय बुबालाई दिन्छु, मेरो जीतले नेपाल र नेपालीको नाम उँचो भएको छ । ” सो प्रतियोगिता हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागिता रहेको थियो । रासस
गभर्नरका आकांक्षीबीच इगो बढ्दै, चिन्तामणि र महाप्रसादको फाइल पनि मिनी संसदमा
काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ छानबिनमा तानिएसँगै अर्को डेपुडी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको फाइल सरकारको मिनी संसदमा पुगेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ अनियमिता गरेको आरोपमा छानबिनमा तानिएसँगै अन्य दुई गभर्नरका आकांक्षी शिवाकोटी र अधिकारीको फाइल समेत मिनी संसद (संसदीय समिति)मा पुर्याएर इगो बढाइएको छ । डेपुटी गभर्नर श्रेष्ठको छानबिन प्रक्रिया अघि बढेसँगै डेपुटी गभर्नर शिवाकोटी र अधिकारीको फाइल पनि समितिमा पुगेको हो । मिनी संसदले डेपुटी गभर्नर श्रेष्ठको फाइलमा छानविन नगरी शिवाकोटी र पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका सीईओ अधिकारीको फाइलमाथि छानविन गर्ने भएको छ । स्रोतका अनुसार मिनी संसदले शिवाकोटी र अधिकारीलाई छुट्टछुट्टै बोलाएर छलफल गर्ने भएको छ । शिवाकोटीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्न नसकेको, बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले असुल गर्नुपर्ने रकममा छुट दिएकोलगायतका आरोप सहित फाइल मिनी संसदमा पुगेको हो । मिनी संसदले शिवाकोटीको फाइल झण्डै ५० पेजभन्दा बढी छ । यस सम्बन्धमा डेपुटी गभर्नर शिवाकोटीले आफूले गल्ती गरेको भए राज्यले जस्तोसुकै सजाय दिएपनि भोग्न तयार रहेको बताएका छन् । शिवाकोटीसँगै सीईओ अधिकारीको फाइल समेत मिनी संसदमा पुगेको छ । अधिकारी राष्ट्र बैंकमा डेपुटी गभर्नर हुँदा गरेका अनियमिताको फाइल मिनी संसद पुगेको स्रोतकाे दावी छ । सीईओ अधिकारीले भने सरकारलाई आफ्नो काम गर्न दिनुपर्ने बताए । अर्को डेपुटी गभर्नर श्रेष्ठले भने आफूलाई गभर्नर बन्न नदिने षडयन्त्र गरेको बताइसकेका छन् । उनलाई अनियमितता गरेको आरोपमा राष्ट्र बैंकले छानबिन गर्न तीन सदस्यीय समिति समेत गठन गरेको छ । राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा गठित समितिले श्रेष्ठले गरेको अनियमितताको विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन आएपछिमात्रै त्यसैको आधारमा श्रेष्ठलाई कारवाही गर्ने वा सफाई दिने विषयको टुंगो लाग्नेछ ।
भन्सार छली गर्ने भारतीय नागरिकसहितका व्यक्तिविरुद्ध मुद्दा
काठमाडौं । भन्सार छली गरेको आरोपमा विभिन्न व्यक्तिलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । भन्सार चोरी पैठारीमा भारतीय नागरिकसहितका व्यक्ति संलग्न भएकाले उनीहरु विरुद्ध रु ५६ लाख ६० हजार बिगो असुलउपर गरी कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको विभागले आज एक विज्ञप्तिमार्फत जनाएको हाे । भारतीय मालवाहक ट्रकमा लुकाइछिपाइ विल विजक तथा पैठारी गरेको भन्सार प्रज्ञापन पत्र र महसुल तिरेको प्रमाणसमेत नभएको अवस्थाका २४ पोका कपडा फेला परेको थियो । उक्त घटनामा भारतको मोतिहारीका सञ्जयकुमार सिंह र विहारका राजेशकुमार श्रीवास्तव, वीरगञ्ज महानगरपालिका–२ का आलोक जैसवाल तथा वडा नं ११ श्रीपुर बस्ने भन्सार एजेन्ट नन्दकिशोर मल्लको समेत मिलेमतो रहेको पाइएको विभागले जनाएको छ । उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिक हदैसम्मको जरिवाना तथा कैद सजायको मागदावी लिई पर्सा जिल्ला अदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ । यसैबीच भारतका रितेशकुमार मधेसियासमेतलाई विदेशी विनिमय अपचलन तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा रु ३३ करोड ३२ लाख विगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा चलाइएको समेत विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
एनएसीले मंसिरदेखि ग्वोञ्जाओ उडान गर्ने, पुसको दोस्रो सातादेखि जापानको नारिता उडान हुँदै
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो । “निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मङ्सिर महीनादेखि उडान शुरु हुनेछ”, मन्त्रालयका एक अधिकारीले भने । निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो । तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो । सोही बमोजिम निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएशनलाई पठाएको र सोही आधारमा ग्वोञ्जाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ । यसैबीच निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र साङ्घाई उडानका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ । नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ । पुसको दोस्रो सातादेखि जापानको नारिता उडान हुने निगमले आगामी जनवरी महीना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजीकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको तयारी गरेको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ । निगमले जापान सिभिल एभिएशनले मागेको आवश्यक कागजात बुझाइसकेको छ, तत्पश्चात् उडान अनुमति पाउनेछ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ । गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान शुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ । रासस