विकासन्युज

नेपाल आइसमा डेढ अर्ब लगानी थप्दै चौधरी ग्रुप, अब उत्पादन दोब्बर वृद्धि हुने

काठमाडौं । चौधरी ग्रुपले सिजी ब्रुअरी नेपालकाे उत्पादन क्षमता दाेब्बर बनाउन लागेकाे छ । नेपाल आइस ब्राण्डकाे वियर तथा माग्ना उत्पादन गर्दै आएको यस कम्पनीकाे उत्पादन क्षमता वृद्धि गर्न लगानी दाेब्बरले वृद्धि गर्न लागेकाे छ । हाल १ अर्ब २५ करोड रूपैयाँ लगानी रहेको सिजी ब्रुअरी नेपालमा लगानी थप्नका लागि चाैधरी ग्रुपले उद्योग विभागमा प्रस्ताव गरेको छ ।एक अर्ब ३७ करोड रुपैयाँ लगानी थप्न प्रवद्धर्क प्रस्ताव गरेकाे उद्योग विभागका निर्देशक प्रेम लुइटेलले जानकारी दिए । लगानी स्वीकृत भएपछि चौधरी ग्रुपको सिजी ब्रुअरी नेपालको लगानी २ अर्ब ६२ करोड हुनेछ । उद्याेगका उत्पादन क्षमता विस्तार गर्दा वातावरणामा पर्ने प्रभावकाे मूल्याङकन लगायतका विविध पक्षलाई हेरेर लगानी स्वीकृत दिइने उनले बताए । लगानीकर्ताले सबै प्रक्रिया पुरा गरेर आए १ महिनामा नै लगानी वृद्धि स्वीकृत हुने उनले जानकारी दिए । नवलपसारीस्थित चौधरी ग्रामभित्र रहेको सीजी ब्रुअरीले हाल मासिक २ लाख कार्टुन नेपाल आइस उत्पादन गर्दै आएको छ । उत्पादन क्षमता वृद्धिपछि मासिक ४ लाख कार्टुन उत्पादन गर्ने लागिएकाे चौधरी ग्रुपका जनरल म्यानेजर मधुसुधन पौडेल बताए । नेपाली बजार र अन्तराष्ट्रिय बजारमा नेपाल आइसकाे माग बढ्दै गएकाेले उत्पादन वृद्धि गर्न लागिएकाे पौडेल बताए । सीजी ब्रुअरीको उत्पादनकाे ठूलाे हिस्सा नेपालमा नै खपत हुन्छ । हङकङ, जापान र अमेरिका लगायतका देशहरुमा नेपाल आइस निर्यात हुने गरेकाे उनले बताए । नेपाल आइस वियरले नेपालमा दाेस्राे ठूलाे बजार हिस्सा लिएकाे छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक र चाईनाको युनियन पे बीच सहमति

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.का अध्यक्ष चाय जियाङबो बीच सहमति भएको छ । एनआईबिएल युनियन पे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको हो । नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरु र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी युनियन पे डेविट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ । नेपाल इन्भेष्टमेण्ट युनियन पे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ । यस अवसरमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नेपाल सरकारद्धारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबिएल युनियन पे अन्तर्राष्ट्रिय कम्पनी लि.ले सहकार्य प्रारम्भ गर्न लागेको जानकारी गराए ।

नर्वेका मन्त्रीसँग अर्थमन्त्री खतिवडाले भने-‘व्यापार घाटा सन्तुलन गर्ने प्रयासमा छौँ’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री डाङ इङ उल्सटेनबीच शिष्ट्राचार भेटवार्ता भएको छ । सोमबार अर्थमन्त्रालयमा भएको शिष्ट्राचार भेटमा नर्भेजियन बिकास मन्त्रीले नेपालले मिलिनियम डेभ्लोपमेण्ट गोल (एमडीजी) प्राप्त गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए । उनले नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । एफडीआई परिचालन गर्नको लागि दोस्रो चरणको सुधार सम्बन्धमा चासो व्यक्त गरे । उनले कर प्रणालीलाई सवलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न तत्परता देखाए । पिएलजीएसपी संचालन गर्नको लागि वित्तीय सम्झौतामा हस्ताक्षर गर्दा निकै खुशी लागेका धारणा व्यक्त गरे । भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाल संघीयताको अभ्यासमै रहेको भन्दै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गरे । । खतिवडाले संघ र प्रदेशलाई बलियो बनाउन संघीय सरकार लागेको स्पष्ट समेत पारे । एफडीआई परिचालनमा दोस्रो चरणको सुधार कार्ययोजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्षदेखि विद्युत आयातलाई शून्यतामा झार्ने प्रयास भईरहेको बताए । उनले संघीय प्रणालीलाई व्यवस्थापन गर्दै संघीयतामा विकास र कर प्रणालीलाई सन्तुलन गर्दै व्यवहारिक रुपमै नागरिकलाई सेवा दिने गरी समावेशी प्रजातन्त्रलाई प्रवद्र्धन गर्ने नीति लिएको स्पष्ट पारे । यता, एडिवि र नर्वेजियन सरकारबीच उर्जा क्षेत्रमा सहवित्तीयकरणको लागि एमओयूमा सम्झौता भएको छ । अब, एडिवि र नेपाल सरकारले एमओयूमा हस्ताक्षर गर्नेछ । प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत संयुक्त वित्त सम्झौतामा एक सय मिलियन डलरमा हस्ताक्षर भएको थियो भने हाल नर्वे र नेपाल सरकारबीच द्विपक्षीय वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो । एक सय मिलियन डलर मध्ये २० मिलियन डलर नर्वे सरकारको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालस्थित नर्वेजियन राजदूत लास्से जोर्न जोहानेसेंले हस्ताक्षर गरे ।

केटिएमले दुई नयाँ एडभेन्चर बाइकको अनावरण गर्दै, यस्ता छन् मोडेल

काठमाडाैं । अष्ट्रियन मोटरसाइकल कम्पनी केटिएमले आफ्नो विल्कुलै नयाँ उत्पादन ‘३९० एडभेन्चर’ र ‘२५० एडभेन्चर’ लाई भोलिबाट शुरु हुन गइरहेको ‘ईआईसीएमए २०१९’ मा अनावरण गर्ने भएको छ । बहुप्रतिक्षित यी एडभेन्चर मोटरसाइकलहरुको लुक्स कस्तो होला भन्ने कुराले मोटरसाइकल प्रेमीहरुलाई कौतुहल पनि बनाएको छ । ‘मिलान मोटरसाइकल शो’ पनि भनिने ‘ईआईसीएमए’ इटालीको मिलानमा प्रत्येक वर्ष हुने एउटा त्यस्तो मोटरसाइकल शो हो जहाँ विभिन्न मोटरसाइकल कम्पनीहरुले आफ्ना नयाँ उत्पादनहरुको प्रदर्शन गर्ने गर्दछन् । कम्पनीका अनुसार ‘३९० एडभेन्चर’ केटिएमको सिग्नेचर ओरेन्ज र ह्वाइट कलरमा उपलव्ध हुनेछ भने ‘२५० एडभेन्चर’ चाहिँ ओरेन्ज र ब्ल्याक कलरमा उपलब्ध हुनेछ । इञ्जिनको कुरा गर्नुपर्दा ३९० एडभेन्चर र २५० एडभेन्चरमा क्रमशः ३९० ड्युक र २५० ड्युककै इञ्जिन समावेश गरिनेछ । तर, यी इञ्जिनहरुलाई भने बाइकको डुअल-पर्पोज नेचरलाई मध्यनजर गरेर थोरै परिमार्जन गरिनेछ । केटिएमले दुवै एडभेन्चर बाइकमा अगाडि तर्फ १९ इञ्चको र पछाडि तर्फ चाहिँ १७ इञ्चको अलोए ह्विल दिनेछ भने बाइकहरुको दुवै तर्फ लङ्ग ट्राभल सस्पेन्सन समावेश गर्नेछ । यी दुवै बाइकहरुलाई भारतमा आगामी डिसेम्बरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । भारतीय बजारमा केटिएम ३९० एडभेन्चरलाई तीन लाख रुपैयाँको हाराहारी र त्यसैगरी केटिएम २५० एडभेन्चरलाई चाहिँ दुई लाख ५० हजार रुपैयाँको हाराहारी मूल्य पर्ने अनुमान गरिएको छ । सार्वजनिक गरिए पश्चात यी बाइकहरुले रोयल इन्फिल्ड हिमालयन र बिएमडब्लू जी ३१० जिएस जस्ता एडभेन्चर बाइकहरुसँग प्रतिष्पर्धा गर्नेछ । यी बाइकहरुको नेपाल लञ्च बारे भने अहिले केहि पनि जानकारी प्राप्त भएको छैन ।

बेलायती कम्पनी आइएजीले स्पेनी एअर यूरोपा किन्ने

लण्डन । ‘बृटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ । आइएजीले सोमबार जारी विज्ञप्तिमा एअर यूरोपाको स्वामित्व रहेको ग्लोबालियालाई एक अर्ब यूरो (१.२ अर्ब अमेरिकी डलर) मा लिने सम्झौता भएको जानकारी गराएको छ । आइएजीले आफ्नो सेवालाई स्पेनको म्याड्रिडलाई प्रमुख गन्तव्य बनाउने उद्देश्यसहित एअर यूरोपालाई लिएको सम्झौतामा उल्लेख छ । कम्पनीले आफ्नो सेवालाई म्याड्रिडका साथै ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा विस्तार गर्ने जनाएको हो । आइएजीका प्रमुख कार्यकारी अधिकृत विल्ली वाल्सले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “एअर यूरोपालाई लिएसँगै आइएजी थप प्रतिस्पर्धी तथा मूल्यका हिसाबले पनि सस्तो तथा प्रभावकारी सेवा प्रदायक विमान कम्पनी बन्नेछ ।” “अब आइइजीको सेवाले म्याड्रिडलाई प्रमुख यूरोपेली केन्द्र बनाउने र सेवालाई दक्षिण एटलान्टिक क्षेत्रमासमेत नेतृत्व गर्न सफलता मिल्ने र कम्पनीका शेयरकर्तालाई थप आर्थिक महत्व प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ,” उनले भने । रासस

महरा पुर्पक्षका लागि थुनामा, डिल्लीबजार कारागारमा राखिने

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि शुरु भएको थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । उनलाई डिल्लीबजार कारागारमा राखिने छ । महराका तर्फबाट ३२ अधिवक्ताले बहसका लागि नाम लेखाएका थिए । आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि तय गरिएको थियो । महराको अदालती बयान शुक्रबार भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो । महरा कसुरदार हो वा होइन थप अनुसन्धानपछि मात्र अदातलले फैसला गर्नेछ ।

गोल्छा समूहको कल्प चक्की पिठोको उपहार योजना, पुस १५ गतेसम्म लागु हुने

काठमाडौँ । गोल्छा समूहको उत्कृष्ट उत्पादन आईएसओ २२०००ः२००५ प्रमाणित फोर्टिफाइड वीथ भिटामिन ए फोलिक एसिड एण्ड आइरन भएको “कल्प” ब्राण्डको गहुँको चक्की पिठोको प्याकेटमा उपहार कुपन राखिएको छ । ५ के.जी.का प्याकेटहरुमा रु. ५/-, रु. १०/-, रु. २०/- र रु. ५०/- का उपहार कुपनहरु राखिएका छन् । उक्त नगद कुपनहरु नजिकको बिक्रेताबाट पिठो खरिद गर्दा ग्राहकहरुले बिक्रेतालाई दिई छुट पाउन सक्ने छन् । साथै, उक्त नगद कुपनहरु बाहेक बम्पर उपहार योजना अन्र्तगत साईकलका कुपनहरु पनि राखिएका छन् । उपहार योजना कात्तिक १ गतेदेखि पुस १५ गतेसम्मका लागि लागु हुने जनाइएको छ ।

सातै प्रदेशमा सांगीतिक कार्यक्रम सप्तरङ्ग-२ हुँदै, पर्यटकीय स्थलको प्रवद्र्धन गरिने

काठमाडौं । टिभिएस टु ह्वीलरको नेपाल स्थित एक आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यस पटक सातै प्रदेशमा सांगितिक कार्यक्रम सप्तरंग-२ हुने भएको छ । कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म कार्यक्रम हुने आयोजक गृष्मा ब्रोडकाष्टिङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ‘जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ सातै प्रदेशका पर्यटकीय स्थलको प्रवद्र्धन र पर्यटन वर्ष २०२० लाई सफल पार्न र स्थानीयलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम हुन लागेको हो । कात्तिक २० गते विर्तामोडमा, २२ गते वीरगञ्जमा, २४ गते चितवनमा, २६ गते नेपालगञ्जमा, २८ गते सुर्खेतमा, ३० गते महेन्द्रनगरमा र मंसिर ४ गते पोखरामा कार्यक्रम हुनेछ । विर्तामोडमा मेलिना राई, वीरगञ्जमा जितु नेपाल, चितवनमा सुगम पोखरेल, नेपालगञ्जमा प्रकाश सपुत, सुर्खेतमा राजेश हमाल, महेन्द्रनगरमा हिमाल सागर र पोखरामा रवि ओड सहितका कलाकारहरुको प्रस्तुति रहने आयोजक ग्रिष्मा ब्रोडकाष्टिङले जनाएको छ । सातै प्रदेशमा आयोजना हुने कार्यक्रमको उद्घाटन मुख्यमन्त्रीहरुबाट हुने जनाइएको छ । कार्यक्रमहरुमा ९० हजारदेखि १ लाख २० हजार दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।