
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत कम्पनीहरुमध्ये ‘क’ वर्गमा परेको एकमात्र कम्पनी सनराइज बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले कात्तिक २० गते(भोलि)देखि अंकित मूल्य १००० रुपैयाँको दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
७ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा पाउने छन् । उनीहरुले ऋणपत्र बाँडाफाँड भएको मितिबाट ६/६ महिनाको अवधिमा व्याज पाउने छन् । यसअनुसार यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले अबको ७ वर्षसम्म पुस र असार महिनामा व्याज भुक्तान लिन पाउने छन् ।
उक्त ऋणपत्र सार्वजनिक निष्कासन(पब्लिक इस्यू)बाट सर्वसाधारणहरुमा र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुमा बिक्री गरिने छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।
लगानी गर्न इच्छुकले भोलिदेखि छिटोमा कात्तिक २४ र ढिलोमा मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम तीन लाख कित्ता आवेदन दिन पाउनेछन् । तर व्यक्तिगत तवरबाट भने न्युनतम २५ कित्तादेखि माथि जति पनि आवेदन गर्न पाउने कम्पनीले जनाएको छ ।
बैंकले ऋणपत्र निष्काशन गर्न केयर रेटिङ नेपालबाट “केयर एनपी ए माइनस” रेटिङ्ग पाएको छ । जसले यस ऋणपत्रमा जोखिम न्युन रहेको भन्ने बुझाउँछ । यस ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत दिन सकिनेछ ।
बैंकद्धारा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जनक शर्मा पौड्यालले भने, ‘यसमा लगानी गर्ने लगानीकर्ताले ७ वर्षसम्म निरन्तर उच्च प्रतिफल पाउने छन् । त्यसैले, लगानी गर्न इच्छुकलाई याे निकै राम्रो अवसर रहेको छ ।’
यस बारेमा थप जानकारी दिँदै बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका सीईओ ध्रुव तिमिल्सिनाले कुनै पूर्वनिर्धारित जोखिम नभएको तथा जोखिम मुक्त यस ऋणपत्र बजारमा सजिलै बिक्री हुने विश्वास गरेका छन् ।
उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत् बिक्री हुनेछ । सर्वसाधारणले भने आफ्नो डिम्याट खातासँग लिङ्क भएका जुनसुकै बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोगकर्ताले इन्टरनेट पहुँच भएका जुनसुकै स्थानबाट आवेदन गर्न सक्नेछन् । बैंक खाता नभएका तर लगानी गर्न इच्छुक सर्वसाधारणले देशभर रहेका जुनसुकै बैंकमा खाता तथा डिम्याट खाता खोली सजिलै लगानी गर्न सक्नेछन् ।
हाल बैंककाे चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४२ एटीएममार्फत सेवा दिँदै आएको छ ।