विकासन्युज

विद्युतीय माध्यमबाट कर भुक्तान गर्दा १० प्रतिशत रकम फिर्ता, २९ लाख पुगे करदाता

काठमाडौं । सरकारले विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेे व्यक्ति वा व्यवसायलाई १० प्रतिशत रकम सम्बन्धित व्यक्तिको खातामा सोेझै फिर्ता गर्ने भएको छ । ८ औं कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा कुनै पनि करदाताले विद्युतीय माध्यमबाट कर बुझाएमा १० प्रतिशत रकम सोझै करदाताको खातामा जाने व्यवस्था गरेको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदवहादुर कुँवरले कार्डबाहेक चेक, ड्राफ्ट वा अन्य विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेले यो सुविधा पाउन बताए । त्यसरी नै विभागले १० लाखभन्दा बढीको कर भुक्तानी नगदमा नहुने जानकारी दिएको छ । लगातार चार महिनासम्म मिलान गरेर बाँकी रहेको रकम दर्ता रहेको व्यक्तिले एकमुष्ट फिर्ता लान समेत पाउने व्यवस्था समेत सरकारले गरेको छ । यसो गर्न करदाताले निवेदन भने दिनुपर्ने हुन्छ । आगामी पुसमसान्तसम्म स्थायी लेखा नम्बर (प्यान)लिई मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भए आव २०७५/७६ भन्दा अगाडीको कुनै पनि किसिमको कर बुझाउनु नपर्ने व्यवस्था गरेको छ । सो अवधिसम्म कुनै पनि व्यक्ति वा व्यवसायी भ्याटमा दर्ता भए सो आयवर्षभन्दा अगाडीको कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउनु नपर्ने व्यवस्था गरेको हो । कार्यक्रममा विभागका महानिर्देशक कुँवरले नवीनतम सोच, सीप, उद्यमशीलता र प्रविधिको उपयोग गरी शुरु गरिएका व्यक्ति तथा व्यवसायलाई करको दायरामा ल्याउन यस्तो सुविधा दिइएको बताए । विभागले भ्याट लागू गरेको मिति मंसिर १ मा हरेक वर्ष कर दिवसको रुपमा मनाउँदै आएको छ । आइतबारको कर दिवस आठौं हो । कर दिवसमा धेरै कर तिर्ने १५ व्यक्ति तथा विभिन्न क्षेत्रका प्रतिष्ठानहरुलाई सम्मान गरिने छ । त्यसबाहेक ७५ वटै जिल्लामा धेरै कर तिर्नेलाई पनि सम्मान गरिने कुँवरले बताए । चार महिनामा ८ लाख करदाता थपिए चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८ लाख नयाँ करदाता थपिएका छन् । विभागले दिएको जानकारी अनुसार गत आवको अन्त्यमा जम्मा २१ लाख करदाता थिए । अहिले सो करदाता बढेर २९ हजार ६५ लाख पुगेका छन् । सो करदातामध्ये २ लाख ३९ हजार ७ सय ५८ मूल्य अभिवृद्धितर्फका करदाता हुन् । सरकारले ल्याएको ‘प्यान फर अल कार्यक्रमबाट ७ लाख ९४ हजार नयाँ करदाता करको दायरामा आएका महानिर्देशक कुँवरले जानकारी दिए । चालु आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब राजस्व संकलन गर्ने जिम्मा पाएको विभागले पहिलो चौमासमा २३ प्रतिशतले राजस्व वृद्धि गरेको छ ।

सेलिब्रेटी दौड प्रतियोगितामा बिनिता र सुरज भए विजय

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण बर्ष २०२० लाइ प्रबर्धन सयोगार्थ चलचित्र कलाकार, मोडल, र गायक गायिका बीच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड प्रतियोगिता) सम्पन्न भएको छ । सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न सफल भएका छन् । त्यसैगरी महिला तर्फ नायिका पवित्रा आचार्य फर्स्ट रनरअप र मोडल अस्मिता जुरेली सेकेन्ड रनरअप बनेका थिए भने पुरुष तर्फ फर्स्ट रनरअप धनु ज्ञान्मी र सेकेण्ड रनरअप एस राज राजकुमार श्रेष्ठ भएका छन् । प्रतियोगिताका बिजेताहरुलाई नगद ५० हजार रुपैयाँ, ३२ हजार रुपैयाँ, र २० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्रदान गरिएको थियो । नेपाल चलचित्र कलाकार संघका कार्यवहाक अध्यक्ष सानु ताम्राकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व गृह मन्त्रि जनार्दन शर्मा, विशेष अतिथिमा बरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, दिपक निरौला लगायतका कलाकारको उपस्थिति रहेको थियो । सोहि अवसरमा बरिष्ट गायक तथा समाजसेवी जगत मर्दन थापा, बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, चलचित्रकर्मी नरेन्द्र खड्का, बरिष्ट हास्य अभिनेत्री लक्ष्मी गिरि, बरिष्ट कलाकार मदनदाश श्रेष्ठ, चलचित्र कलाकार जय श्रेष्ठ, चलचित्र कलाकार टिका पहारी, कलाकार लक्ष्मण बस्नेत, बरिष्ट चलचित्रकर्मी हरिहर शर्मा, महिला उद्धमी लक्ष्मी शर्मा, बरिष्ट चलचित्रकर्मी स्मारिका श्रेष्ठ र बरिष्ट बालरोग बिसेषज्ञ डा.शान्त चन्द्र शाक्यलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले चलचित्र कलाकार संघले पछिल्लो समय कलाकारहरुको हकहितको लागि आवाज उठाउदै आएको र सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएको र अहिले भारतले नपाल माथि गरेको हस्तक्षेप तथा सिमा बिबादलाइ तुरुन्त कुटनीतिक पहल गर्नु पर्ने सम्पूर्ण कलाकारहरुको माग रहेको बताएका छन् । उक्त अवसरमा कलाकार संघका उपाध्यक्ष मोहन निरौला, सदस्यहरु नायिका आंचल शर्मा, गोपाल ढकाल छन्दे, रामेश्वर बुर्लाकोटी, गीता नेपाल, धर्मेन्द्र आचार्य, पवन खतिवडा, सितल केसी, जय किशन बस्नेत, गायक सिताराम पोखरेल, मोडल अनिता गिरि, हास्यकलाकार महादेव त्रिपाठी, कलाकार राजु शाही, कलाकार नारायण प्रधान, मोडल रिया श्रेष्ठ, कलाकार तथा निर्मात्री सावित्रा चिलवाल लगायतका कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो । हरि शरण लामिछानेले संचालन गरेको कार्यक्रमलाइ रिभेल इभेन्ट्सले ब्यवस्थापन गरेको थियो भने कलाकार गोपाल ढकाल छन्दे, राजेश महर्जन, गायक राजेश हमाल र कलाकार रामेश्वर बुर्लाकोटीले संयोजकत्व गरेका थिए ।

सनफ्लो सनफ्लावर तेल हिराको उपहार पोखराका दीपकलाई

काठमाडौैं । सनफ्लो सनफ्लावर तेल हिराको उपहार योजना अफर अन्तर्गत पहिलो १५ दिनको लक्की ड्रबाट दीपककुमार थापाले हिराको हार हात पारेका छन् । पोखरा–१० निवासी दीपक कुमार थापाले आकर्षक हिराको हारजिते भने विर्तामोड निवासी सन्दीप गटानी र पाल्पा निवासी मीना छहारीले हिराको लकेट जितेका हुन् । त्यसैगरी बुटवलका केशव आचार्य र नेपालगञ्जका निरज कुमार कशौडाले हिराको टप जिते छन् । के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि लागु हुनेछ । यो अफरको नारा“सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” रहेको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । प्रत्येक १५ दिनमा लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । ग्राहक महानुभावहरुलाई सनफ्लो सनफ्लावर तेलको अत्यधिक उपभोग गरी यो योजनाको लाभ उठाउनु भई विजेता बन्ने सुअवसर प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

पन्तको अध्यक्षतामा पर्यटन पत्रकार संघको नयाँ कार्यसमिति

काठमाडौं । सातै प्रदेशमा पर्यटन प्रवद्र्धनात्मक क्रियाकलाप अगाडि बढाउने तयारी भइरहेको छ । पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्थापर्यटन पत्रकार संघको आठौं वार्षिक साधारण सभाएवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । शनिबार सम्पन्न साधारण सभाले प्रथम उपाध्यक्षमा किशोर बस्नेत र द्धित्तिय उपाध्यक्षमा श्रीहरि श्रेष्ठ, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा मनुका कुँवर र कोषाध्यक्षमा मोहनप्रसाद मैनालीलाई चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा कुमार चौलागाई, शंकर प्रधानाङ्ग, अच्यूत रेग्मी, अर्जुन पार्खिन, शिव बस्नेत र जुली गुरुङलाई चयन गरेको छ । सर्वसम्मत रुपमा संघको नयाँ नेतृत्व चयन भए लगत्तै नवनिर्वाचित अध्यक्षपन्तले पर्यटन पत्रकार संघलाई देशव्यापी रुपमा अगाडि बढाउने र सरकारले लिएको भ्रमण वर्ष–२०२० लाई सफलपार्न सोही हिसाबले प्रबद्र्धनात्मक कार्य गर्ने बताए । साथै नवनिर्वाचित अध्यक्षपन्तले सातै प्रदेशमा पर्यटन पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रमसँगै पर्यटनका प्रवद्र्धनात्मक क्रियाकलाप अगाडि बढाउने जनाएका छन् ।

नेपाल बैंकले मनायो ८३ औं वार्षिकोत्सव, ‘नयाँ पुस्ताको आइडल बैंक’ बनाउने घोषणा

काठमाडौं । नेपाल बैंकले ८३ औं वार्षिकोत्सव मनाएको छ । १९९४ साल कार्तिक ३० गते स्थापना भएको बैंक ८२ वर्ष पूरा गरी ८३ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको हो । वार्षिकोत्सवकै अवसरमा बैंकले नेपालको पहिलो बैंकिङ म्युजियमका साथै १८ ओटा शाखाहरुको पुनस्र्थापना समेत गरेको छ । विगतमा सञ्चालन भएर विभिन्न कारणले बन्द हुन पुगेका १८ शाखासहित दुईओटा एक्सटेन्सन काउन्टरको अर्थमन्त्री युवराज खतिवडाले शनिबार आयोजित कार्यक्रममार्फत् एकैपटक ‘डिजिटल’ उद्घाटन गरे । कार्यक्रममा बैंकका अध्यक्ष वासुदेव अधिकारीले बैंकले ८२ वर्षे इतिहासमा ३ ओटा संकटहरु पार गरेको भन्दै अब चौथो संकट आउन नदिई बैंकलाई अघि बढाउने भन्दै त्यसका लागि सञ्चालक समितिको तर्फबाट आवश्यक सबै प्रयासहरु गर्ने बताए । उनले कर्मचारीहरुलाई पनि सोही लक्ष्य लिएर अघि बढ्न आग्रह गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकलाई यो पुस्ताको अब्बल मानक बैंक बनाउने घोषणा गरे ।  

मोटरसाइकल रिभ्यू : बिएमडब्लु जि ३१० जिएस

काठमाडौं । बिएमडब्लु मोटरेडले सन् २०१८ को अन्त्यतिर जि३१०जिएस नामक टुरिङ्ग मोटरसाइकललाई नेपाल भित्र्याएको थियो । जि३१० जिएस एउटा इन्ट्री लेभल टुरिङ्ग मोटरसाइकल हो जुन नर्मल मोटरसाइकलबाट टुरिङ्ग मोटरसाइकलतर्फ उक्लन चाहनेहरुलाई लक्षित गर्दै नेपाल ल्याइएको हो । यस मोटरसाइकलमा ३१३ सीसीको इञ्जिन दिइएको छ जसले ३३.६ बीएचपीको पावर र २८ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस मोटरसाइकलमा ६ गियरहरु रहेका छन् । जि३१०जिएसको फ्रन्ट र रियर दुवै साइडमा १८० मिलिमिटरको सस्पेन्सन ट्राभल रहेको हुँदा यसको राइड क्वालिटी अफरोडमा पनि इम्प्रुभ भएको छ । सेफ्टि फिचरको रुपमा डुअल च्यानल एबीएस दिइएको यस मोटरसाइकलको रियर ह्विलको एबीएसलाई टर्न अफ पनि गर्न सकिन्छ । यस मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २२० मिलिमिटर रहेको छ र त्यसैगरी फ्रन्ट ह्विल भने १९ इञ्चको छ जसले यस मोटरसाइकललाई एक्स्ट्रीम अफरोडमा समेत कुदाउन मिल्ने बनाएको छ । यस मोटरसाइकलमा लगाइएका डुअल पर्पोज नव्वि टायरहरु मेट्जेलर कम्पनीका हुन् र यी टायरहरु टुरिङ्गका साथै अफरोडिङ्गका लागि समेत उपयुक्त मानिन्छन् । सिट आरामदायक हुनु, टप बक्सको लागि होल्डर लगाइनु जस्ता कारणहरुले यस मोटरसाइकललाई टुरिङ्ग फ्रेण्ड्ली त बनाएको छ तर यति हुँदाहुँदै पनि यसको ट्याङ्क क्यापासिटी समेत अलि बढि भइदिएको भए यसको टुरिङ्ग रेञ्ज पनि धेरै हुने थियो भन्ने हामिले महसुस गर्यौं । नेपाली बजारमा तपाईंले रेड र ब्ल्याक कलरको यो मोटरसाइकललाई १० लाख ९० हजार रुपायाँमा किन्न सक्नुहुन्छ भने ह्वाइट कलरको लाई चाहिँ ११ लाख १५ हजार रुपैयाँमा किन्न सक्नुहुनेछ । हाल नेपालमा यो सेग्मेन्टको इन्ट्री लेभल टुरिङ्ग मोटरसाइकल अरु कुनै पनि नभएको हुनाले जि३१०जिएसले बजारमा पकड जमाउनेछ भनी कम्पनीले विश्वास गरेको छ । तर केटिएमले ३९० एडिभि टुरर बजारमा ल्याउन लागेको सुन्नमा आएकोले सो मोटरसाइकल बजारमा आएपछि भने जि३१०जिएसले नेपालमा आफ्नो स्थान जोगाइराख्न सक्ला त ? त्यो त समयले नै बताउनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प अर्को महिना बेलायत जाँदै

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने भएका छन् । नेटोको ७० औँ बार्षिक सम्मेलनमा सहभागी हुन उनले बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । “राष्ट्रपति ट्रम्प नेटोको बार्षिक सम्मेलनमा सहभागी हुन बेलायत जाने निर्णय भएको छ, त्यस अवसरमा उनले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुनेछ,” ह्वाईट हाउसका एक अधिकारीले भने’ । ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जाने उल्लेख गरिएको छ । आउदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुने भ्रमणका क्रममा उनले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेटेका थिए । रासस/एएनआई

सुविधा माग्ने कर्मचारी युनियनलाई अर्थमन्त्रीको जवाफ – नेपाल बैंक ‘बाँकी खाने’ संस्था होइन

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नेपाल बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा माग्नुअघि कमाउन चुनौती दिएका छन् । नेपाल बैंकको ८३ औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले बैंकका कर्मचारीको सुविधा बढाउने मागप्रति लक्षित गर्दै बैंक कमाउने र खाने संस्था भएको भन्दै कर्मचारीले कमाए उनीहरुलाई सुविधा दिन सरकारले नरोक्ने तर त्यसका लागि पहिले कर्मचारीहरुको प्रभावकारिता बढाउनुपर्ने बताए । ‘पहिले प्रतिकर्मचारी बैंकको कर्जा केही लाखमा सीमित हुन्थ्यो, अहिले ३/४ करोड पुगेको छ तर यतिले पुग्दैन प्रतिकर्मचारी १० करोडको कर्जा लगानी गर्नुपर्छ, अनि मात्रै बैंकको प्रभावकारिता बढ्छ, बैंकको नाफा बढ्यो भने सेवासुविधा बढाउन हामी बाधक बन्दैनौं, उनले भने । उनले नेपाल बैंक विगतमा ६० प्रतिशतसम्म निष्क्रिय कर्जा रहेको अवस्थामा पुगेको भन्दै त्यो बेलाको पुस्ताले गरेको क्षतिलाई अहिलेको पुस्ताले व्यहोर्नु परिरहेको भन्दै अब त्यसो गन नसकिने प्रष्ठ पारे । ‘बैंक कमाउने र खाने संस्था हो बाँकी खाने संस्था होइन, अर्को पुस्ताले तपाइँको बोझ लिन नपरोस्, अस्वाभाविक सेवा सुविवधा बाँड्न सकिँदैन ।’ उनले भने । नेपाल बैंकअन्तर्गतका कर्मचारी संगठनका प्रतिनिधिहरुले भने १५ वर्षदेखि आफूहरुको सेवा सुविधा नबढेको भन्दै बाँच्नकै लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको दुखेसो गरे । नेपाल वित्तीय संस्था कर्मचारी संघका निमित्त अध्यक्ष जीवराज ढकालले २०६१ सालमा हालका सीईओ बैंकमा आउँदा जति सुविधा थियो, त्यहि सुविधामा कर्मचारीले काम गर्नुपरिरहेको बताए । नेपाल बैंक कर्मचारी संघमा कार्यवाहक अध्यक्ष नवराज लम्सालले बैंकका कर्मचारीहरुसँग ग्रासरुट लेभलको सूचना हुने भन्दै व्यवस्थापनले कर्मचारीसँग जुध्ने भन्दा सम्झौता गर्नु हितकर हुने चेतावनी दिए । साथै उनले नेपाल बैंकले कर्मचारीले शेयरधनीहरुलाई समेत वर्षौदेखि प्रतिफल नदिएको भन्दै यो वर्ष उचित प्रतिफल दिन माग गरे । अर्थमन्त्री खतिवडाले नेपाल बैंकलाई सरकारी बैंक भएको प्रत्याभूति गर्न सकेत निर्देशन दिए । ‘सरकारी बैंकले सरकारले लिएको लक्ष्य पूरा गर्न सहयोग गरेन भने त्यो के सरकारी बैंक ?’ भन्दै खतिवडाले तर सरकारले लिने लक्ष्यहरु विकास बाहेक अरु केही नहुने बताए । ‘तपाइँहरु सहुलियतपूर्ण कर्जा दिनुस्, बचतमा उच्च प्रतिफल दिनुस्, गाउँगाउँमा शाखा पुर्याउनुस्, लगानी गर्नुस्, आन्तरिक लगानीले नपुगे बाह्य लगानी ल्याउनुस्, सरकारको विकासको लक्ष्य त्यही नै हो ।’ उनले भने । खतिवडाले थोरै कस्ट अफ फण्ड राखेर दीर्घकालिन प्रगति गर्छु भन्ने नसोच्न समेत बैंकहरुलाई सचेत गराए । ‘निक्षेपकर्तालाई कम ब्याज दिएर गरिएको ठूलो नाफा दीघकालिन हुँदैन, त्यसका लागि व्यवसायको आकार बढाउनु पर्छ, प्रभावकारिता बढाउनुपर्छ, कम नाफाको मार्जिनमा धेरै लगानी गर्नुपर्छ’ उनले भने ।