
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नेपाल बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा माग्नुअघि कमाउन चुनौती दिएका छन् । नेपाल बैंकको ८३ औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले बैंकका कर्मचारीको सुविधा बढाउने मागप्रति लक्षित गर्दै बैंक कमाउने र खाने संस्था भएको भन्दै कर्मचारीले कमाए उनीहरुलाई सुविधा दिन सरकारले नरोक्ने तर त्यसका लागि पहिले कर्मचारीहरुको प्रभावकारिता बढाउनुपर्ने बताए ।
‘पहिले प्रतिकर्मचारी बैंकको कर्जा केही लाखमा सीमित हुन्थ्यो, अहिले ३/४ करोड पुगेको छ तर यतिले पुग्दैन प्रतिकर्मचारी १० करोडको कर्जा लगानी गर्नुपर्छ, अनि मात्रै बैंकको प्रभावकारिता बढ्छ, बैंकको नाफा बढ्यो भने सेवासुविधा बढाउन हामी बाधक बन्दैनौं, उनले भने ।
उनले नेपाल बैंक विगतमा ६० प्रतिशतसम्म निष्क्रिय कर्जा रहेको अवस्थामा पुगेको भन्दै त्यो बेलाको पुस्ताले गरेको क्षतिलाई अहिलेको पुस्ताले व्यहोर्नु परिरहेको भन्दै अब त्यसो गन नसकिने प्रष्ठ पारे । ‘बैंक कमाउने र खाने संस्था हो बाँकी खाने संस्था होइन, अर्को पुस्ताले तपाइँको बोझ लिन नपरोस्, अस्वाभाविक सेवा सुविवधा बाँड्न सकिँदैन ।’ उनले भने ।
नेपाल बैंकअन्तर्गतका कर्मचारी संगठनका प्रतिनिधिहरुले भने १५ वर्षदेखि आफूहरुको सेवा सुविधा नबढेको भन्दै बाँच्नकै लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको दुखेसो गरे । नेपाल वित्तीय संस्था कर्मचारी संघका निमित्त अध्यक्ष जीवराज ढकालले २०६१ सालमा हालका सीईओ बैंकमा आउँदा जति सुविधा थियो, त्यहि सुविधामा कर्मचारीले काम गर्नुपरिरहेको बताए ।
नेपाल बैंक कर्मचारी संघमा कार्यवाहक अध्यक्ष नवराज लम्सालले बैंकका कर्मचारीहरुसँग ग्रासरुट लेभलको सूचना हुने भन्दै व्यवस्थापनले कर्मचारीसँग जुध्ने भन्दा सम्झौता गर्नु हितकर हुने चेतावनी दिए । साथै उनले नेपाल बैंकले कर्मचारीले शेयरधनीहरुलाई समेत वर्षौदेखि प्रतिफल नदिएको भन्दै यो वर्ष उचित प्रतिफल दिन माग गरे ।
अर्थमन्त्री खतिवडाले नेपाल बैंकलाई सरकारी बैंक भएको प्रत्याभूति गर्न सकेत निर्देशन दिए । ‘सरकारी बैंकले सरकारले लिएको लक्ष्य पूरा गर्न सहयोग गरेन भने त्यो के सरकारी बैंक ?’ भन्दै खतिवडाले तर सरकारले लिने लक्ष्यहरु विकास बाहेक अरु केही नहुने बताए । ‘तपाइँहरु सहुलियतपूर्ण कर्जा दिनुस्, बचतमा उच्च प्रतिफल दिनुस्, गाउँगाउँमा शाखा पुर्याउनुस्, लगानी गर्नुस्, आन्तरिक लगानीले नपुगे बाह्य लगानी ल्याउनुस्, सरकारको विकासको लक्ष्य त्यही नै हो ।’ उनले भने ।
खतिवडाले थोरै कस्ट अफ फण्ड राखेर दीर्घकालिन प्रगति गर्छु भन्ने नसोच्न समेत बैंकहरुलाई सचेत गराए । ‘निक्षेपकर्तालाई कम ब्याज दिएर गरिएको ठूलो नाफा दीघकालिन हुँदैन, त्यसका लागि व्यवसायको आकार बढाउनु पर्छ, प्रभावकारिता बढाउनुपर्छ, कम नाफाको मार्जिनमा धेरै लगानी गर्नुपर्छ’ उनले भने ।