विकासन्युज

बढी कर तिर्ने १५ व्यक्ति तथा संस्था सम्मानित, यो वर्ष क–कसले तिरे बढी कर ?

काठमाडौं । क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने औद्योगिक व्यवसायिक प्रतिष्ठान तथा वित्तीय संस्थाहरु सम्मानित भएका छन् । आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा ती संस्थाहरुलाई सम्मान गरेको हो । कर दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उत्कष्ठ घोषित भएको ती संस्थाहरुलाई सम्मान गरेका थिए । सम्मानित हुने व्यक्ति तथा संस्थाहरुमा सूर्य नेपाल, डाबर नेपाल, जगदम्बा स्टिल्स, अन्नपूर्ण एग्रो, छिमेक लघुवित्त, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मनिपाल एजुकेशन, बल्र्डलिंक कम्युनिकेशन, अग्नि इन्कर्पोरेट, तारागाउँ रिजेन्सी, कामना सेवा विकास बैंक, मौरिसस प्रा.लि., घोराही सिमेन्ट र सिद्धार्थ सम्शेर राणा छन् । सूर्य नेपालले भ्याट, अन्तशुल्क र आयकर समेत गरी सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान पाएको हो । उक्त सम्मान कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक रवि केसीले ग्रहण गरेका थिए । त्यस्तै, डाबर नेपाललाई निर्यातकर्ताको तर्फबाट, जगदम्बा स्टिल्सलाई चुरोट र मदिराजन्यबाहेक सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा, अन्नपूर्ण एग्रोलाई कृषि  क्षेत्रबाट, राष्ट्रिय वाणिज्य बैंकलाई बैंक तथा वित्तीय संस्थाको तर्फबाट, छिमेक लघुवित्तलाई लघुवित्त कम्पनीको तर्फबाट तथा नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा कम्पनीको तर्फबाट उत्कृष्ठ कर तिर्ने कम्पनीको रुपमा सम्मानित गरिएको हो । त्यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रको तर्फबाट मनिपाल एजुकेशन सम्मानित हुँदा सूचना प्रविधिमा वल्र्डलिंक, व्यापार व्यवसायमा अग्नि, पर्यटन क्षेत्रमा तारागाउँ रिजेन्सी होटेललाई सम्मान गरिएको हो । मध्यमस्तरीय करदाताको तर्फबाट भने कामना सेवा विकास बैंक सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ । त्यस्तै मौरिसस प्रा.लि. र घोरोही सिमेन्ट समेत क्षेत्रगत रुपमा सम्मानित हुँदा लगातार ६ वर्षदेखि उत्कृष्ठ आयकर तिर्ने सिद्धार्थसम्शेर राणा यो वर्ष पनि उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएका छन् । आन्तरिक राजश्व विभागले हरेक वर्ष विभिन्न क्षेत्रगत रुपमा त्यस्तो सम्मान दिँदै आएको छ । तर त्यस्तो क्षेत्र कुन कुन हो भन्ने चाहिँ तोकिएको छैन, त्यसैले प्रत्येक वर्ष यो फरक फरक हुँदै आएको छ ।

तीन महिनामा वाणिज्य बैंकको नाफा १६ अर्ब : ३ ओटाले अर्ब कटाए, ८ बैंकका शेयरधनी निराश

काठमाडौं । तीन महिनामा वाणिज्य बैंकको नाफा १६ अर्ब रुपैंया भन्दा बढी नाफा कमाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ वटा वाणिज्य बैंकहरुले १६ अर्ब १७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । नाफाकाे याे आकार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा औसतमा ६.२६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष(आव)को असोज मसान्तसम्ममा बैंकहरुले १५ अर्ब २२ करोड २१ लाख रुपैयाँ कमाएका थिए । बैंकहरुले प्रकाशित गरेकाे वित्तीय विवरणका अनुसार २८ वाणिज्य बैंकमध्ये तीन वटा बैंकले एक अर्ब बढी नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य, नबिल र एनआईसी एशिया बैंकको नाफा एक अर्ब रुपैयाँ भन्दा माथि रहेको छ । वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा बढी रहेको भने सिभिल बैंकको नाफा सबैभन्दा कम रहेको छ । बैैंकहरुको नाफा वृद्धिमा उच्च गिरावट आएको छ । धेरै वर्षपछि बैंकहरुको नाफा वृद्धिदर एकल अंकमा झरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुको औसत नाफा ६ प्रतिशतले मात्र बढेको छ । पुँजी वृद्धिको तुलनामा बैंकहरुको नाफामा वृद्धि हुन नसक्दा सेयर बजारमा पनि बैंकहरुको सेयर मूल्यमा निरन्तर गिरावट देखिएको छ । एक अर्बभन्दा बढी नाफा कमाउने तीन बैंक सरकारको मात्र लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षमा कूल एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ८५ लाख रुपैयाँले बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ११ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंक निजी क्षेत्रका बैंक मध्ये बढी नाफा गर्ने सूचिमा एक नम्बरमा छ । यस बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढी हो । बैंकले गत वर्ष एक अर्ब ५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । बजार विस्तारमा आक्रमक बन्दै आएको एनआईसी एशिया बैंकले २६ वटा बैंकलाई पछाडि पारेको छ । यस बैंकले चालु आवको प्रथम तीन महिनामा एक अर्ब ९६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा उक्ता नाफा ३४.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ७५ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । ४० प्रतिशत भन्दा बढी नाफा वृद्धि गर्ने २ बैंक प्रतिशतका आधारमा हेर्दा एनएमबि बैंकको नाफा सबैभन्दा बढी प्रतिशतले बढेको छ । चालु आवको असोज मसान्तसम्ममा बैंकको नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । गत आवको साउनदेखि असोजसम्म ५५ करोड ०५ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही महिनासम्म ८१ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको हो । ओम डेभलपमेन्ट बैंकलाई मर्ज गरेको यस बैंकले चालु आवको पहिलो तीन महिनामा उत्कृष्ट पर्फमेन्ट देखाएको छ । ग्लोबल आईएमई बैंकले चालु आवको नाफामा ४०.५५ प्रतिशतले वृद्धि गरेको छ । गत आवको असोजसम्म ५३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको सोही अवधिसम्ममा ७५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । यस बैंकले जनता बैंकलाई मर्ज गर्ने अन्तिम तयारी गरेको छ । यी दुईले मंसिरको दोस्रो सातासम्म एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । आठ बैंकको नाफा घट्यो नाफाको आधारमा ८ वटा बैंक अधोगतिमा गएका छन् । त्यसमा नेपाल इन्भेष्टमेन्ट बैंकदेखि सीभिल बैंकसम्म रहेका छन् । गत आर्थिक वर्षमा एक अर्ब ५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको नेपाल इन्भेष्टमेन्ट बैंकले यस वर्ष जम्मा ८४ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१ करोड २ लाख रुपैयाँ घटी हो । बैंकको निष्कृय कर्जामा वृद्धि भएपछि नाफामा गिरावट देखिएको हो । गत असोज मसान्तसम्ममा १.२१ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा चालु आवको सोही अवधिसम्मा बढेर २.८४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ५२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको सिद्धार्थ बैंकले चालु आवको असोजसम्ममा ५२ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको निक्षेप संकलन लागत र कर्मचारी खर्च बढेपछि नाफामा गिरावट देखिएको हो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन लागत १.८१ प्रतिशतले बढेको छ भने कर्मचारी खर्च ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल बैंकको पनि नाफामा गिरावट देखिएको छ । गत आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ९१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको सोही अवधिमा जम्मा ५८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल एसबिआई बैंकको नाफा चालु आवमा ५ करोड २५ लाख रुपैयाँले घटेको छ । गत आवको प्रथम त्रैमासमा ४८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा जम्मा ४३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंक अफ काठमाण्डूको पनि नाफा ३१ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षमा ३८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवको प्रथम त्रैमासमा ३८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ३४ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही समयको तुलनामा ७ करोड ९७ लाख रुपैयाँले कम हो । बैंकले गत वर्षमा ४२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । एनसीसी बैंकले बैंकले चालु आवको सोही अवधिमा जम्मा ३४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन ८ करोड ८४ लाख रुपैयाँले कम हो । बैंकले गत आवको असोजसम्ममा ४२ करोड ८७ लाख रुपैयाँ नाफा गरेको थियो । सिभिल बैंक वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा कमाउनेमा परेको छ । बैंकले चालु आवको तीन महिनामा जम्मा १५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा २ करोड ६१ लाख रुपैयाँ कम हो । गत आवको असोजमसान्तसम्मा बैंकले १८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत खपत बढाउने प्राधिकरणको रणनीति तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत प्रधिकरणले विद्युत्को खपत बढाउने रणनीतिक योजना अगाडि सारेको छ । प्राधिकरणले उपभोक्ताले चाहिजति विद्युत प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्ने योजना अगाडि सारेको हो । यसैगरी, प्राधिकरणले वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तर रुपमा अगाडि बढाएको छ । प्राधिकरणले वितरण केन्द्रहरुलाई आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण ट्रान्सफर्मरहरुमा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप्प र स्तरोन्नति गर्न निर्देशन दिएको छ । प्रदेश ३को प्रादेशिक कार्यालय काठमाडौं अन्तर्गतका वितरण केन्द्रप्रमुखहरुसँग शुक्रबार आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् खेर जान नदिई खपत गर्नका लागि वितरण प्रणालीको सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको बताए । ‘विद्युत खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरु खोल्ने गरी अगाडि बढिरहेका छौं, इन्डक्सन चुलो र चार्जिङ स्टेसनको लोडलाई धान्ने गरी संरचना बनाउनु पर्छ, त्यसका लागि आफ्नो क्षेत्रमा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गरे’,वितरण केन्द्र प्रमुखहरुलाई निर्देशन दिंदै घिसिङले भने । ‘यसबाट एकतर्फ उभोक्ताले चाहिएजति विद्युत् खपत गर्ने पाउँछन् भने अर्कोतर्फ वितरण प्रणाली पनि विश्वसनीय र भरपर्दो बन्ने छ ।’ उनले वितरण प्रणालीको सुदृढीकरणका लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । प्राधिकरणले उपभोक्ताकोमा विद्युत् पुर्याउन ५०, १००, २००, ३०० र ५०० केभीएका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको छ । प्राधिकरणले तीन वर्षमा नयां निर्माण तथा स्तरोन्नति गरी ७६५ एमभीए क्षमताका वितरण सव्स्टेसनहरु प्रणालीमा थप गरेको छ । करिव दश हजार वितरण ट्रान्स्फर्मरहरु थप जडान गरी करिव एक हजार मेगावाट वरावरको वितरण क्षमता बढाइएको छ । चालु आर्थिक वर्षमा निर्माणाधीन माथिल्लो तामाकोसी लगायतका जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भई करिब एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने प्रक्षेपण गरिएको छ । सरकारले विद्युतको पहुँच र खपत बढाउन तीन वर्षभित्रमा मुलकभर शत्प्रतिशत विद्युतीकरण गर्ने घोषणा गरेको छ । प्राधिकरणले यसलाई कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको जिल्लाको रुपमा घोषणा गर्ने गरी काम गरिरहेको छ । उत्पादित विद्युत्लाई खेर जान नदिन खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यसको समाधानका लागि माग बढाउन बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन र उद्योगलाई विद्यत् आपूर्ति दिन सहजीकरण गर्नु पर्नेमा जोड दिए । २० वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनले शुक्रबार प्रदेश ३को प्रादेशिक कार्यालय, काडमाडौं अन्तर्गतका २० वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्युत् चुहावट नियन्त्रण, राजश्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख अनिरुद्रप्रसाद यादवले कार्यसम्पादन सम्झौता गरेका हुन् । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गरेका हुन् ।प्राधिकरणले ७ प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ । प्रदेश १को प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख र कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग यसअघि नै सम्झौता भइसकेको थियाे । विद्युत् बिक्रीबाट प्राधिकरणले आम्दानी गर्ने राजश्वको करिब २८ प्रतिशत हिस्सा प्रदेशिक कार्यालय काठमाडौंअन्तर्गतका वितरण केन्द्रहरुहरुमा रहेको छ । कार्यलयलाई गत आर्थिक वर्ष २०७५/७६मा रहेको ७.४० प्रतिशत चुहावटलाई चालु आर्थिक वर्षमा ५।७७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालयको चालु आवको तीन महिनाको औसत विद्युत् चुहावट ६.३ प्रतिशत छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७६/७७मा वितरणतर्फको विद्युत चुहावट ८.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा वितरणतर्फको ११.२८ प्रतिशतको चुहावटलाई २.७८ प्रतिशत विन्दुले घटाएर ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरेको हो । कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ । सम्झौतामा राखिएका व्यवस्थालाई इमान्दार भएर कार्यान्वयन गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिए । विद्युत चुहावट घटाउन, कार्यालयको खर्च नियन्त्रण गर्न, वित्तीय अनुशासनमा रहन, संस्थागत सुशासन कायम राख्न, कालोपाटीमा रहेका ग्राहकबाट वक्यौता असुली गर्न,स्टोरमा राखिएका सामाग्रीको अधिकतम प्रयोग गर्न पनि उनले निर्देशन दिए । उपकार्यकारी निर्देशक न्यौपानेले विद्युतीय दुर्घटनालाई न्यूनिकरण गर्न सुरक्षामा ध्यान दिन, ग्राहकले माग्नसाथ मिटर उपलब्ध गराउन, सेवाको प्रवाहको गुणस्तरमा सुधार गर्न निर्देशन दिए । कार्यसम्पादन सम्झौता मार्गनिर्देशक निर्देशिका भएकाले ग्राहकलाई दिने सेवामा सुधार र कार्यालयभित्रको कार्यसम्पादनमा चुस्तता आई समग्ररुपमा संस्थाको प्रशासनिक तथा वित्तीय अवस्थामा सकारात्मक प्रभाव पर्ने प्राधिकरणको अपेक्षा छ । कार्यकारी निर्देशक घिसिङले समेत ऊर्जा मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेका छन् । वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरिय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरबृद्धि गर्ने लगायतका कार्यसम्पादन सूचांक निर्धारण गरिएको छ । हरेक प्रादेशिक कार्यालय र त्यस मातहतका बितरण केन्द्रलाई चुहावट नियन्त्रण,औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य (टार्गेट)निर्धारण गरिएको छ । कार्य सम्पादनको हरेक चार/चार महिनामा मूल्याङकन गरिने प्राधिकरणले जनाएको छ । हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसैगरि, टार्गेट हासिल गर्नेले पाएको नम्बर बढुवामा जोड्ने, विदेशमा आयोजना तालिम, सेमिनारमा जान प्राथमिकता दिने लगायतका गैर नगद प्रोत्साहन समेत पाउने छन् । तर, ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा सोही अनुसार नम्बर दिने र नगद तथा गैर नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ । प्राधिकरणले प्रमुखहरुलाई बितरण टान्सफर्मर, मिटर, केवल, पोल लगायतका उपकरण समयमै उपलब्ध गराउने र कानुनी परिधिभित्र रहेर स्वतन्त्रपूर्वक काम गर्न दिने प्रतिबद्धता जनाएको छ । सम्झौताको अनुगमन र मूल्याङकनका लागि प्रभावकारी प्रणाली बनाइने प्राधिकरणले बताएको छ । विद्युतीय सुरक्षा, आफ्नो कार्यालयअन्तर्गत ग्रामिण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति लगायतका विषयलाई सम्झौतामामा समेटिएको छ । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । प्राधिकरणले गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लागयतका काम अभियानकै रुपमा चलाएको हो ।

दिगो विकासका लक्ष्य पूरा गर्न राष्ट्रिय कार्यढाँचा तर्जुमा: शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले दिगो विकासका लक्ष्य नं ४ का बुँदा पूरा गराउन पूर्वप्राथमिक तहदेखि उच्च शिक्षासम्मका लागि राष्ट्रिय कार्यढाँचा तर्जुमा गरी त्यसलाई दृढताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४०औँ महासभा बैठकमा आज नेपालको तर्फबाट सम्बोधन गर्दै उनले नेपालको संविधानले युनेस्कोको दृष्टिकोणअनुसार शिक्षालाई मौलिक हकमा समावेश गरेको र अनिवार्य तथा निःशुल्क ऐन, २०७५ लागू भएको जानकारी दिए । राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्यअन्तर्गत शिक्षाका सवालमा युनेस्कोले विश्वव्यापी अनुगमन गरी प्रतिवेदन तयार गर्दै आएको छ । मन्त्री पोखरेलले केही महिनाअघि माल्दिभ्सको मालेमा सम्पन्न सार्क शिक्षामन्त्रीस्तरीय बैठकबाट पारित भएका दिगो विकास र शिक्षा अधिकारसँग सम्बन्धित विषय स्मरण गर्दै नेपालले पूर्वप्राथमिक तहदेखि उच्च शिक्षासम्म दिगो विकासका राष्ट्रिय कार्यढाँचा तर्जुमा गरी त्यसका लक्ष्यलाई दृढताका साथ अँगालेको स्पष्ट गरे । उनले नेपाल स्वतन्त्र र निष्पक्ष पत्रकारिताको विकास गरी अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सुनिश्चिततामा पनि प्रतिबद्ध रहेको बताए । सरकारले सन् २०२२ भित्र नेपाललाई विकासोन्मुख मुलुकका स्तरोन्नति गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबारे अवगत गराउँदै उनले भूकम्पबाट प्रभावित भएका विश्वसम्पदामा सूचीकृत सम्पदाको सन् २०२० भित्र पुनःनिर्माण सक्ने विश्वास पनि दिलाए । युवा वैज्ञानिकलाई प्रश्रय गर्दै उच्च शिक्षासम्म विज्ञान र प्रविधि तथा नवप्रवर्तनका विषयलाई प्राथमिकता दिने र कृत्रिम बौद्धिकतालाई नेपाली जनताको हितमा प्रयोग गराउने सरकारको नीति रहेको पनि उनले बताए । रासस

एभरेष्ट बैंकद्वारा स्वर्गद्वारीघाट, भैरहवामा शवदाहगृह मेशीन सुचारू

काठमाडौं । एभरेष्ट बैंकले स्वर्गद्वारीघाट, भैरहवामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ । मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्दछ । यसले २५० केजी भन्दा बढि प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्दछ । यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउछ र प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउँछ । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आइरहेको छ । ईबीएल सदैव सामाजिक जिम्मेवारीमा सक्रिय रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्राहकहरुलाई लाभ हुने विभिन्न कार्यक्रमहरु आयोजन गर्दै आइरहेको छ । यो मेशीन माननीय मुख्यमन्त्री शंकर पोखरेल, सिद्धार्थनगर नगरपालिकाका उपमेयर तथा सम्पुर्ण वडा अध्यक्षहरुको उस्थितिमा उपमेयर उमा काफ्ले लाई हस्तान्तरण गरिएको छ । सि.इ.वो तथा ईबीएल सीएसआर समितिका सदस्य गजेन्दर कुमार नेगी ले मेशीन हस्तान्तरण गरेका छन् । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

क्यान महासंघको १३ औं कार्यसमिति निवार्चनका लागि सुनैना घिमिरे पाण्डे प्यानलको उम्मेदवार

काठमाडौं । आगामी मंंसिर ७ गते सम्पन्न हुने कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघको १३ औं कार्यसमिति निर्वाचनको लागि सुनैना घिमिरेले उम्मेदवारी दिएकी छिन् । घिमिरेले पाण्डे प्यानलबाट उम्मेवारी घोषणा गरेकी हुन् । केही दिन अघि नै नवराज कुँवरको प्यानलले सोही निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको थियो । सोही अवसरमा राजधानीमा आयोजित कार्यक्रममा क्यान महासंंघका पूर्व अध्यक्ष, संस्थापक, वर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरू उपस्थित रहेका थिए । अध्यक्षको दाबेदार सुनैना घिमिरले कार्यक्रममा आफ्ना भावी योजनाका बारेमा जानकारी गराइन् । यस्तै, क्यान महासंघका निवर्तमान अध्यक्ष इन्जिनियर बिनोद ढकालले प्यानलमा जुझारु भएकाले नयाँ कार्यसमितिले प्यानलाई थप उचाइमा पुयाउने बताए । यस्तो छ सुनैना घिमिरे पाण्डे पक्षको चुनावी एजेण्डा: क्यान महासंघ अन्र्तगतका केन्द्र तथा जिल्ला शाखाहरुमा रहेका विषयगत, संस्थागत तथा व्यक्तिगत सदस्यहरुको हक अधिकार सुनिश्चित गर्ने तथा सदस्यहरुको समान हैसियत स्थापना गर्न विधान संसोधन गर्ने उनको एजेन्डा रहेको छ । यस्तै, क्यान महासंघको आर्थिक रुपमा सक्षम बनाउने तथा स्रोत पहिचान गर्ने, सूचना तथा संचार प्रविधिको विकास गर्ने, तथ्याङ व्यवस्थापन गर्ने, आधुनिक प्रविधिको प्रयोगमा जोड दिने तथा प्रदेश कार्यालयसम्म भवन निमार्णमा जोड दिने एजेण्डा रहेका छन् । सूचना तथा संचार सम्बन्धि नवीन प्रविधिलाई प्रयोग गरी दीगो विकासको लक्ष्यलाई कार्यान्वयन गर्नेको लागि सहयोगी भुमिका निर्वाह गर्ने एजेण्डा उनको छ । यस्तै,शहरी क्षेत्रमा सूचना प्रविधिको प्रयोगमा सरलता तथा यसको उचित व्यवस्थापन गर्दै ग्रामीण भेगसम्म मोवाइल इन्टरनेट, दूर संचार जस्ता अत्यावश्यक सेवाको पहुँच विस्तार गर्न स्थानीय निकाय र सम्बन्धित सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गरी कार्य सम्पादन गर्ने उनले बताइन् ।

विद्युतीय माध्यमबाट कर भुक्तान गर्दा १० प्रतिशत रकम फिर्ता, २९ लाख पुगे करदाता

काठमाडौं । सरकारले विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेे व्यक्ति वा व्यवसायलाई १० प्रतिशत रकम सम्बन्धित व्यक्तिको खातामा सोेझै फिर्ता गर्ने भएको छ । ८ औं कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा कुनै पनि करदाताले विद्युतीय माध्यमबाट कर बुझाएमा १० प्रतिशत रकम सोझै करदाताको खातामा जाने व्यवस्था गरेको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदवहादुर कुँवरले कार्डबाहेक चेक, ड्राफ्ट वा अन्य विद्युतीय माध्यमबाट कर भुक्तानी गर्नेले यो सुविधा पाउन बताए । त्यसरी नै विभागले १० लाखभन्दा बढीको कर भुक्तानी नगदमा नहुने जानकारी दिएको छ । लगातार चार महिनासम्म मिलान गरेर बाँकी रहेको रकम दर्ता रहेको व्यक्तिले एकमुष्ट फिर्ता लान समेत पाउने व्यवस्था समेत सरकारले गरेको छ । यसो गर्न करदाताले निवेदन भने दिनुपर्ने हुन्छ । आगामी पुसमसान्तसम्म स्थायी लेखा नम्बर (प्यान)लिई मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भए आव २०७५/७६ भन्दा अगाडीको कुनै पनि किसिमको कर बुझाउनु नपर्ने व्यवस्था गरेको छ । सो अवधिसम्म कुनै पनि व्यक्ति वा व्यवसायी भ्याटमा दर्ता भए सो आयवर्षभन्दा अगाडीको कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज बुझाउनु नपर्ने व्यवस्था गरेको हो । कार्यक्रममा विभागका महानिर्देशक कुँवरले नवीनतम सोच, सीप, उद्यमशीलता र प्रविधिको उपयोग गरी शुरु गरिएका व्यक्ति तथा व्यवसायलाई करको दायरामा ल्याउन यस्तो सुविधा दिइएको बताए । विभागले भ्याट लागू गरेको मिति मंसिर १ मा हरेक वर्ष कर दिवसको रुपमा मनाउँदै आएको छ । आइतबारको कर दिवस आठौं हो । कर दिवसमा धेरै कर तिर्ने १५ व्यक्ति तथा विभिन्न क्षेत्रका प्रतिष्ठानहरुलाई सम्मान गरिने छ । त्यसबाहेक ७५ वटै जिल्लामा धेरै कर तिर्नेलाई पनि सम्मान गरिने कुँवरले बताए । चार महिनामा ८ लाख करदाता थपिए चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८ लाख नयाँ करदाता थपिएका छन् । विभागले दिएको जानकारी अनुसार गत आवको अन्त्यमा जम्मा २१ लाख करदाता थिए । अहिले सो करदाता बढेर २९ हजार ६५ लाख पुगेका छन् । सो करदातामध्ये २ लाख ३९ हजार ७ सय ५८ मूल्य अभिवृद्धितर्फका करदाता हुन् । सरकारले ल्याएको ‘प्यान फर अल कार्यक्रमबाट ७ लाख ९४ हजार नयाँ करदाता करको दायरामा आएका महानिर्देशक कुँवरले जानकारी दिए । चालु आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब राजस्व संकलन गर्ने जिम्मा पाएको विभागले पहिलो चौमासमा २३ प्रतिशतले राजस्व वृद्धि गरेको छ ।

सेलिब्रेटी दौड प्रतियोगितामा बिनिता र सुरज भए विजय

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण बर्ष २०२० लाइ प्रबर्धन सयोगार्थ चलचित्र कलाकार, मोडल, र गायक गायिका बीच ३ किलोमिटर सडक दौड (सेलिब्रेटी दौड प्रतियोगिता) सम्पन्न भएको छ । सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न सफल भएका छन् । त्यसैगरी महिला तर्फ नायिका पवित्रा आचार्य फर्स्ट रनरअप र मोडल अस्मिता जुरेली सेकेन्ड रनरअप बनेका थिए भने पुरुष तर्फ फर्स्ट रनरअप धनु ज्ञान्मी र सेकेण्ड रनरअप एस राज राजकुमार श्रेष्ठ भएका छन् । प्रतियोगिताका बिजेताहरुलाई नगद ५० हजार रुपैयाँ, ३२ हजार रुपैयाँ, र २० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्रदान गरिएको थियो । नेपाल चलचित्र कलाकार संघका कार्यवहाक अध्यक्ष सानु ताम्राकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व गृह मन्त्रि जनार्दन शर्मा, विशेष अतिथिमा बरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, दिपक निरौला लगायतका कलाकारको उपस्थिति रहेको थियो । सोहि अवसरमा बरिष्ट गायक तथा समाजसेवी जगत मर्दन थापा, बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, चलचित्रकर्मी नरेन्द्र खड्का, बरिष्ट हास्य अभिनेत्री लक्ष्मी गिरि, बरिष्ट कलाकार मदनदाश श्रेष्ठ, चलचित्र कलाकार जय श्रेष्ठ, चलचित्र कलाकार टिका पहारी, कलाकार लक्ष्मण बस्नेत, बरिष्ट चलचित्रकर्मी हरिहर शर्मा, महिला उद्धमी लक्ष्मी शर्मा, बरिष्ट चलचित्रकर्मी स्मारिका श्रेष्ठ र बरिष्ट बालरोग बिसेषज्ञ डा.शान्त चन्द्र शाक्यलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले चलचित्र कलाकार संघले पछिल्लो समय कलाकारहरुको हकहितको लागि आवाज उठाउदै आएको र सामाजिक कार्यमा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएको र अहिले भारतले नपाल माथि गरेको हस्तक्षेप तथा सिमा बिबादलाइ तुरुन्त कुटनीतिक पहल गर्नु पर्ने सम्पूर्ण कलाकारहरुको माग रहेको बताएका छन् । उक्त अवसरमा कलाकार संघका उपाध्यक्ष मोहन निरौला, सदस्यहरु नायिका आंचल शर्मा, गोपाल ढकाल छन्दे, रामेश्वर बुर्लाकोटी, गीता नेपाल, धर्मेन्द्र आचार्य, पवन खतिवडा, सितल केसी, जय किशन बस्नेत, गायक सिताराम पोखरेल, मोडल अनिता गिरि, हास्यकलाकार महादेव त्रिपाठी, कलाकार राजु शाही, कलाकार नारायण प्रधान, मोडल रिया श्रेष्ठ, कलाकार तथा निर्मात्री सावित्रा चिलवाल लगायतका कलाकार मोडलहरुको बाक्लो उपस्थिति रहेको थियो । हरि शरण लामिछानेले संचालन गरेको कार्यक्रमलाइ रिभेल इभेन्ट्सले ब्यवस्थापन गरेको थियो भने कलाकार गोपाल ढकाल छन्दे, राजेश महर्जन, गायक राजेश हमाल र कलाकार रामेश्वर बुर्लाकोटीले संयोजकत्व गरेका थिए ।