त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एक विदेशी पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजा र भाङको तेल जस्तो देखिने तरल पदार्थ रहेको एक दशमलव २५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उनले भने, 'एअर इण्डियाको उडान नम्बर एआइ २१८ मा काठमाडौंबाट दिल्ली जान लागेका निजले लिई आएको लगेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा शङ्कास्पद देखिएपछि खोल्न लगाई हेर्दा गाँजा/भाङको जस्तो देखिने तेल एक दशमवल २५ लिटरको बोतल पाँच थान फेला पारिएको हो । पक्राउ परेका निज अमेरिकी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको प्रवक्ता सिलवालले बताए ।
पनौतीमा विषादी अवशेष न्यूनीकरण गर्न ‘फुड–बैंक’
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित पनौतीमा प्रविधिको प्रयोगद्वारा तरकारी तथा फलफूलका विषादीको अवशेष न्यूनीकरण गर्न फुड बैंक सञ्चालनमा ल्याइएको छ । पनौती नगरपालिका–४ स्थित ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आरकेसिएनएल फुड बैंक लिमिटेडले सो ‘फुड बैंक’ सञ्चालनमा ल्याएको हो । कम्पनीले ‘ओजोन वास’ प्रविधिद्वारा तरकारी तथा फलफूलको बाहिरी भागमा रहेको विषादीको अवशेषलाई ९९ प्रतिशतसम्म कम गर्ने जनाएको छ । उक्त प्रविधियुक्त फुड बैंकमा स्थानीयस्तरमै उत्पादन भएको तरकारी–फलफूललाई ‘ओजोन वास’ गरी उपभोक्तालाई उपलब्ध गराइने फुड बैंकका अध्यक्ष विशाल हुमागाईँले बताए । 'फुड बैंकमार्फत कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्य राखेका छौँ, यसले बिचौलियालाई समावेश हुन दिँदैन', उनले भने । लिमिटेडले शनिबार औपचारिक कार्यक्रमका बीच फुड बैंकको शुभारम्भ गरेको हो । विशेषगरी काभ्रेपलाञ्चोकको तीन स्थानीय तह पनौती, बेथानचोक र बनेपाका कृषकलाई समेटेर पहिलो चरणमा कार्यक्रम सुरु गरिएको अध्यक्ष हुमागाईले जानकारी दिए । उनका अनुसार क्रमशः जिल्लाका करिब ६० हजार कृषकसम्म यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको छ । उक्त फुड बैंकमा ताजा तरकारी र फलफूल सङ्कलन गर्दै ओजोन वास गरी बिक्री वितरणका लागि राखिनेछ । बैंकमा पाँच हजार केजी क्षमताका दुई शीत भण्डारकोसमेत व्यवस्था गरिएको छ । कम्पनीले प्रयोगमा ल्याएको ओजोन वास प्रविधिअन्तर्गत ओजोनयुक्त पानी प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका विषादी अवेष न्यूनीकरण गर्दै जीवाणुसमेत नष्ट गरिन्छ । यसले कीटनाशक अवशेष हटाउने, दुर्गन्ध तथा हानिकारक तत्व हटाउने, साथै खाद्य पदार्थको ‘सेल्फ लाइफ’ बढाउने काम जनाइएको छ । यस प्रविधिबाट उपभोक्ताले सुरक्षित र स्वास्थ्यकर खाद्य पदार्थ उपभोग गर्न पाउने विश्वास गरिएको छ । यस्तो प्रविधि जिल्लामै पहिलोपटक सञ्चालनमा ल्याइएको हो । रासस
काठमाडौं पुग्न ५०-६० हजार खर्च हुन्छ, गाउँपालिकाको आम्दानी छैन : अध्यक्ष रावल
काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले दुर्गम क्षेत्रका स्थानीय तहले आर्थिक र प्रशासनिक समस्याहरू भोगिरहेका बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हुम्लाबाट काठमाडौं आउन मात्रै ५०-६० हजार रुपैयाँसम्म हवाई भाडा खर्च गर्नुपर्ने अवस्था रहेको बताए । उनले बजेट बाँडफाँड गर्दा जनसंख्या मात्र आधार बनाइएको भन्दै भूगोल र दुर्गमलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए । कर्णाली तथा दुर्गम क्षेत्रका पालिकाका लागि आरक्षणसहित विशेष व्यवस्था गर्नुपर्ने उनको माग छ । दुर्गम क्षेत्रमा पूर्वाधार निर्माण महँगो हुने भएकाले थप बजेट आवश्यक पर्ने उनले बताए । समपूरक अनुदान अन्तर्गत २० प्रतिशत योगदानको व्यवस्था भए पनि आन्तरिक स्रोत नहुँदा त्यो व्यवस्थापन गर्न कठिन भइरहेको उनको भनाइ छ । त्यस्तै, विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ प्राप्त गर्न कानुनी प्रक्रिया जटिल रहेको भन्दै त्यसलाई सरल बनाउनुपर्ने उनले माग गरे । जिल्लामै सुरक्षित भण्डारण गरी स्थानीय तहलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए । अध्यक्ष रावलले प्रमुख प्रशासकीय अधिकृतहरू दुर्गम क्षेत्रमा जान नमान्ने समस्या पनि औंल्याए । ‘प्रमुख प्रशासकीय अधिकृत खटाइन्छ तर उहाँहरू संघमै पावर लाएर सुगम जिल्लामा जाने गरेका छन् । तर हाजिर गर्न दिएन भनेर बदनाम गराउने काम भइरहेको छ,’ उनले भने । त्यसैगरी, गाउँपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा सञ्चालन भएको शिवालय पर्यटन पूर्वाधार आयोजनामा बजेट अभाव भएको गुनासो उनले गरे । ५ करोड लागतको उक्त आयोजनामा गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ भुक्तानी गरिसकेको भए पनि मन्त्रालयबाट ८३ लाख ६७ हजार रुपैयाँ मात्र प्राप्त भएको र अझै २ करोड ६२ लाख रुपैयाँ पाउन बाँकी रहेको उनले बताए । ‘मन्त्रालयले अब बाँकी दायित्व गाउँपालिकाले नै ब्यहोर्नुपर्ने भनेको छ, तर हाम्रो आफ्नै आम्दानी स्रोत छैन,’ उनले भने ।
युक्रेन जर्मनीसँग रणनीतिक ड्रोन उत्पादन गर्न तयार : परराष्ट्रमन्त्री
काठमाडौं । युक्रेनी परराष्ट्रमन्त्री एन्ड्री सिबिहाले शुक्रबार युक्रेन जर्मनीको सहयोगमा रणनीतिक ड्रोन र मानवरहित उत्पादनहरू उत्पादन गर्न तयार रहेको बताएका छन् । युक्रेनी परराष्ट्रमन्त्री एन्ड्री सिबिहाले अन्ताल्या डिप्लोमेसी फोरममा यो घोषणा गरेका हुन् । युक्रेन अब रणाङ्गणमा जनशक्तिको सट्टा प्रविधिको प्रयोगमा केन्द्रित हुनेछ । विशेष गरी जर्मनीसँगको सहकार्यमा रणनीतिक ड्रोनको उत्पादन गर्ने योजना अघि सारिएको छ । उनकाअनुसार यसले सैनिकहरूको जीवन बचाउन मद्दत पुर्याउनेछ । युक्रेनले पहिले नै ठूला ड्रोनका प्याकेजहरू बेलायतबाट प्राप्त गर्न थालिसकेको छ ।
मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो, अधिकांश वन डढेलो मानिसले लगाएको
प्रगति ढकाल काठमाडौं । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो सङ्ख्या २०७९ चैतमा घटेर २६७ मा झरेको थियो । २०८० चैतमा २४९ र २०८१ चैतमा पुनः बढेर ३३१ पुगेको थियो । २०८२ चैतमा भने हालसम्मकै थोरै ७९ वटा मात्रै डढेलाका घटना दर्ता भएका छन् । समग्रमा २०७८ मा दुई हजार १६२ वटा डढेलोका घटना भएकामा २०७९ मा एक हजार २७० मा झरेको थियो । २०८० मा दुई हजार ५५ र २०८१ मा तीन हजार ४७ पुगेको थियो । २०८२ मा भने ४२४ वटा घटना दर्ता भएका छन् । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष मनसुन सुरु हुनु अघि नै वर्षा भएका कारण वन डढेलोमा कमी आएको बताए । 'यस वर्ष वन डढेलाको ठूलो समस्या भएन । तर वन डढेलो कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा पनि छलफल भएको थियो,' उनले भने, 'वन डढेलो नियन्त्रणका लागि ड्रोन खरिदलगायतका कुराहरू पनि उठेका थिए । बैठकमा मनसुनजन्य विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक स्रोत सम्बन्धित मन्त्रालयको विनियोजित बजेटबाट व्यवस्थापन गर्ने तथा अपुग हुने स्रोत अर्थ मन्त्रालयसँग माग गर्ने निर्णयसमेत भएको छ ।' महिनागत विश्लेषणले वैशाखमा सबैभन्दा धेरै डढेलो हुने गरेको छ । विक्रम संवत् २०७८ मा एक हजार २०४, विसं २०७९ मा ६०९, विसं २०८० मा एक हजार २७० र विसं २०८१ मा एक हजार ९०४ वटा घटना वैशाखमै भएका थिए । विसं २०८२ को वैशाखमा भने डढेलोको सङ्ख्या घटेर १७३ मात्र छ । जेठमा पनि उल्लेख्य सङ्ख्यामा डढेलो हुने गरेको तथ्याङ्कले देखाउँछ । वन तथा भू–संरक्षण विभागले सार्वजनिक गरेको वन डढेलोसम्बन्धी प्रतिवेदनले पछिल्लो समय डढेलोको जोखिम बढेसँगै वातावरणीय चुनौतीका रूपमा देखिएको छ । प्रतिवेदनअनुसार कुल घटनामध्ये करिब ८९ प्रतिशत डढेलो फागुनदेखि वैशाखसम्ममा हुने गर्छन् । दीर्घकालीन तथ्याङ्कले विसं २०७३ लाई सबैभन्दा गम्भीर डढेलो वर्षका रूपमा देखाएको छ । पछिल्ला वर्षहरूमा पनि डढेलोको जोखिम उच्च छ । विशेषगरी २०७८ र २०८१ मा उल्लेख्य सङ्ख्यामा डढेलोका घटना अभिलेख भएका छन् । विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, लामो सुक्खा अवधि तथा मानवीय कारणले वन डढेलोका घटना बढ्ने बताए । 'लामो हिउँदे सुक्खा अवधि, न्यून आद्र्रता, उच्च तापक्रम, हावाको तीव्रता, कृषि अवशेष जलाउने प्रचलन तथा वन क्षेत्रमा मानव गतिविधि वृद्धि हुने कारण वन डढेलोको जोखिम बढी हुन्छ,' उनले भने । विशेषगरी वैशाख सबैभन्दा जोखिमयुक्त महिनाका रूपमा देखिएको छ, जसमा मात्र कुल घटनाको करिब ५७.७ प्रतिशत डढेलो हुने गरेको छ । यस्तो छ प्रदेशगत वन डढेलो प्रदेशगत रूपमा हेर्दा डढेलोबाट पछिल्ला वर्षमा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित छ । विसं २०७८ मा ४८२ वटा डढेलो भएको लुम्बिनीमा २०८१ सम्म यो सङ्ख्या बढेर ६९८ पुगेको थियो । २०८२ मा भने यो सङ्ख्या घटेर ४४ मा झरेको छ । कर्णाली प्रदेशमा पनि २०७८ मा ३१४ बाट २०८१ मा ५७५ पुगेको थियो । तर २०८२ मा भने ५७ वटा वन डढेलोका घटना दर्ता भएका छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा २०७८ मा ३८९ र २०८१ मा ५२५ वटा डढेलोका घटना भएकामा २०८२ मा भने १३१ वटा घटना दर्ता भएका छन् । बागमती प्रदेशमा २०७८ मा ३०३ बाट २०८१ मा ४७५ पुगेको थियो भने २०८२ मा यो सङ्ख्या घटेर ७६ पुगेको छ । गण्डकी प्रदेशमा २०८१ मा २४९ वन डढेलोका घटना भएकामा २०८२ मा घटेर ३५ वटा दर्ता भएका छन् । यसैगरी, कोशी प्रदेशमा २०८१ मा २८७ वन डढेलोका घटना भएकामा २०८२ मा घटेर ३१ पुगेको छ । अघिल्लो वर्ष मधेस प्रदेशमा २३८ वन डढेलोका घटना भएकामा २०८२ मा घटेर ५० मा झरेको छ । तथ्याङ्कले २०८२ मा सबैभन्दा बढी सुदूरपश्चिममा र सबैभन्दा कम कोशी प्रदेशमा डढेलो भएको देखाउँछ । वन तथा भू–संरक्षण विभागको तथ्याङ्कमा विशेषगरी विसं २०७३, २०७८ र २०८१ मा अत्यधिक डढेलो घटना अभिलेख भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको पाँच वर्षमा वन डढेलोका कारण करिब ९१ करोड ७९ लाख रुपैयाँ आर्थिक क्षति भएको जानकारी दिए । मनसुन पूर्वनै सरदरभन्दा बढी वर्षा मनसुन सुरु हुनुपूर्व नै औसतभन्दा बढी वर्षा हुँदा सुक्खापन घटेको र वन डढेलोजस्ता प्राकृतिक विपद्का घटना कम भएको मौसमविद्को भनाइ छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् डिविड ढकालका अनुसार शुक्रबारसम्म प्रि–मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा ‘रेकर्ड’ भएको छ । 'यस अवधिमा सामान्यतया करिब ३० प्रतिशत वर्षा हुने गरे पनि यस वर्ष ४४ दशमलव ३ प्रतिशत वर्षा भइसकेको छ,' उनले भने । उनका अनुसार विभागअन्तर्गत रहेका २० वटा मौसमी स्टेसनमध्ये जुम्लामा सरदर वर्षा भएको छ भने अन्य अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा मापन गरिएको छ । ढकालले हालसम्म कुल १०१ दशमलव ४ मिलिमिटर वर्षा भइसकेको जानकारी दिँदै यसले सुक्खा अवस्था कम गर्न र वन डढेलोको जोखिम घटाउन सहयोग पुगेको उल्लेख गरे । वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ अनुसार वन क्षेत्रको विस्तारसँगै उचित व्यवस्थापन र सदुपयोगको अभावमा वनमा आगलागीको जोखिम पनि बढेको छ । विगतका घटनाहरूका आधारमा अधिकांश वन डढेलो मानिसले लगाएको देखिन्छ । वन डढेलो लाग्ने कारणहरूमा चरिचरनका लागि आगो लगाउने प्रवृत्ति (३० प्रतिशत), चुरोट पिउनेहरूबाट (१५ प्रतिशत), सिकारीहरूबाट (सात प्रतिशत), वनभोज, क्याम्प फायर आदिबाट (सात प्रतिशत), बच्चाहरू खेल्दा (छ प्रतिशत), अवैध काठ कटान गर्नेहरूबाट (पाँच प्रतिशत), अतिक्रमणकारीहरूबाट (पाँच प्रतिशत), खोरिया फँडानीबाट (पाँच प्रतिशत), अज्ञात कारणबाट (चार प्रतिशत), गोल पोल्नेबाट (चार प्रतिशत), जडीबुटी सङ्कलकहरूबाट (तीन प्रतिशत), राँको बाल्ने कारणले (तीन प्रतिशत) तथा खेतीपातीका लागि (एक प्रतिशत) रहेको कार्ययोजनामा उल्लेख छ । समग्रमा मानिसहरूको जानाजानीबाट ६४ प्रतिशत, लापरबाहीबाट ३२ प्रतिशत र अज्ञात कारणबाट चार प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ । रासस
अदालतको फैसला जित-हार होइन, १५औं महाधिवेशनबाट पार्टी सुदृढ बनाऔं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्वोच्च अदालतको आदेशले पार्टीलाई थप बलियो बनाउँदै साझा यात्रामा अघि बढ्ने वातावरण सिर्जना गरेको बताएका छन् । सभापति थापाले अदालतको फैसला कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको पक्षमा भएको उल्लेख गरे । उनले पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई जिम्मेवार भएर एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरे । ‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु,’ उनले भने। थापाले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने बताए । अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने पार्टी निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।
मध्यपूर्वको द्वन्द्वका कारण केन्यामा इन्धनको मूल्यमा कीर्तिमानी वृद्धि, जनजीवन कष्टकर
काठमाडौं । मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति श्रृङ्खलामा परेको अवरोधले केन्यामा इन्धनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । जसले गर्दा यातायात र दैनिक उपभोग्य वस्तुहरूको लागतमा वृद्धि भएको छ । केन्याका लाखौं मानिसहरू इन्धनको मूल्यमा भएको कीर्तिमानी वृद्धिसँग जुधिरहेका छन्, जसलाई मध्यपूर्वको द्वन्द्वको प्रत्यक्ष परिणामको रूपमा हेरिएको छ । देशको ऊर्जा नियामकले सुपर पेट्रोल र डिजेलको मूल्यमा क्रमशः २८.६९ र ४०.३ शिलिङ प्रतिलिटरको ऐतिहासिक वृद्धि गरेको छ । सार्वजनिक यातायात क्षेत्रमा सञ्चालकहरूले भाडा करिब २५ प्रतिशतले बढाएका छन् । लामो दूरीका बसहरूको भाडा पनि १.५४ देखि ३.८६ अमेरिकी डलरसम्म बढेको छ । आयातित पेट्रोलियममा निर्भर रहेको केन्याली अर्थतन्त्रमा यो मूल्य वृद्धिले सामान र सेवाहरूको लागत बढाउने निश्चित छ । मार्च महिनामा केन्याको मुद्रास्फीति दर बढेर ४.४ प्रतिशत पुगेको छ । यद्यपि यस वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको छ, तर बढ्दो इन्धन लागतले उक्त दृष्टिकोणमा जोखिम निम्त्याएको छ ।
सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएका छन् । इजरायल र लेबनानबिचको युद्धविराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबंदी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ । तेहरान र वासिङ्टनबीच यसअघि भएको युद्धविराम बुधबार समाप्त हुने भएको छ । युद्धविराम विस्तार हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई युद्धविराम विस्तार नगर्ने तर नाकाबंदी जारी राख्ने बताएका हुन् । यसअघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानका मागहरूबीच मुख्य भिन्नता भएका कारण सहमतिमा पुग्न असफल भएका छन् । ट्रम्पले पत्रकारहरूलाई इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा “कुनै शुल्क नलगाउने बताएका छन् । सामाजिक सञ्जाल ट्रुथमा उनले होमूज खोल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ धेरै खुसी भएको बताएका छन् । आमामी मे महिनामा बेइजिङमा आयोजना गरिएको शिखर सम्मेलनलाई उल्लेख गर्दै ट्रम्पले चीनमा आफ्ना समकक्षी सी जिनपिङसँग विशेष र ऐतिहासिक भेटघाट हुने बताएका छन् । फेब्रुअरी– २८ देखि सुरु भएको युद्ध अन्त्य गर्ने योजना अन्तर्गत तेहरानले इरानमा भण्डार गरिएको युरेनियम संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नु पर्ने कुरामा पनि ट्रम्पले जोएका छन् । यसअघि इरानको विदेश मन्त्रालयले आफ्नो युरेनियम कतै पनि हस्तान्तरण नगर्ने बताएको थियो । रासस