काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्वोच्च अदालतको आदेशले पार्टीलाई थप बलियो बनाउँदै साझा यात्रामा अघि बढ्ने वातावरण सिर्जना गरेको बताएका छन् ।
सभापति थापाले अदालतको फैसला कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको पक्षमा भएको उल्लेख गरे । उनले पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई जिम्मेवार भएर एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरे ।
‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु,’ उनले भने।
थापाले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने बताए । अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने पार्टी निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।