काठमाडौं पुग्न ५०-६० हजार खर्च हुन्छ, गाउँपालिकाको आम्दानी छैन : अध्यक्ष रावल

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले दुर्गम क्षेत्रका स्थानीय तहले आर्थिक र प्रशासनिक समस्याहरू भोगिरहेका बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हुम्लाबाट काठमाडौं आउन मात्रै ५०-६० हजार रुपैयाँसम्म हवाई भाडा खर्च गर्नुपर्ने अवस्था रहेको बताए । 

उनले बजेट बाँडफाँड गर्दा जनसंख्या मात्र आधार बनाइएको भन्दै भूगोल र दुर्गमलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए । कर्णाली तथा दुर्गम क्षेत्रका पालिकाका लागि आरक्षणसहित विशेष व्यवस्था गर्नुपर्ने उनको माग छ ।

दुर्गम क्षेत्रमा पूर्वाधार निर्माण महँगो हुने भएकाले थप बजेट आवश्यक पर्ने उनले बताए । समपूरक अनुदान अन्तर्गत २० प्रतिशत योगदानको व्यवस्था भए पनि आन्तरिक स्रोत नहुँदा त्यो व्यवस्थापन गर्न कठिन भइरहेको उनको भनाइ छ ।

त्यस्तै, विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ प्राप्त गर्न कानुनी प्रक्रिया जटिल रहेको भन्दै त्यसलाई सरल बनाउनुपर्ने उनले माग गरे । जिल्लामै सुरक्षित भण्डारण गरी स्थानीय तहलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए ।

अध्यक्ष रावलले प्रमुख प्रशासकीय अधिकृतहरू दुर्गम क्षेत्रमा जान नमान्ने समस्या पनि औंल्याए । ‘प्रमुख प्रशासकीय अधिकृत खटाइन्छ तर उहाँहरू संघमै पावर लाएर सुगम जिल्लामा जाने गरेका छन् । तर हाजिर गर्न दिएन भनेर बदनाम गराउने काम भइरहेको छ,’ उनले भने ।

त्यसैगरी, गाउँपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा सञ्चालन भएको शिवालय पर्यटन पूर्वाधार आयोजनामा बजेट अभाव भएको गुनासो उनले गरे । ५ करोड लागतको उक्त आयोजनामा गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ भुक्तानी गरिसकेको भए पनि मन्त्रालयबाट ८३ लाख ६७ हजार रुपैयाँ मात्र प्राप्त भएको र अझै २ करोड ६२ लाख रुपैयाँ पाउन बाँकी रहेको उनले बताए ।

‘मन्त्रालयले अब बाँकी दायित्व गाउँपालिकाले नै ब्यहोर्नुपर्ने भनेको छ, तर हाम्रो आफ्नै आम्दानी स्रोत छैन,’ उनले भने । 

Share News