विकासन्युज

सेयर बजारमा ४ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३५६ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्सको भएको छ । सेन्ट्रल फाइनान्सको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ८.५ प्रतिशत लक्ष्मी बैंक डिभेन्चरको १७ करोड, आँखु खोला जलविद्युतको १३ करोड, सिटी होटलको ११ करोड र रिलाइन्स स्पिीनिङ मिल्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कालिन्चोक हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।    

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखमा एसएसपी सुरेश काफ्ले, अधिकारीको साइबर ब्यूरोमा सरुवा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुख फेरिएका छन् । सरकारले नयाँ कार्यालय प्रमुखको रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेलाई जिम्मेवारी दिएको छ । नवनियुक्त एसएसपी काफ्लेले सोमबारदेखि नै कार्यालयमा हाजिर भई आफ्नो कार्यभार सम्हालिसकेका छन् ।  यसअघिका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको केन्द्रीय साइबर ब्यूरोमा सरुवा भएपछि काफ्लेले यो जिम्मेवारी पाएका हुन् । साइबर ब्यूरोमा सरुवा भएका एसएसपी अधिकारीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा करिब १ वर्ष सेवा गरेका थिए । जिम्मेवारी हेरफेर भएसँगै सोमबार एक कार्यक्रमका बीच ट्राफिक प्रहरी कार्यालयमा एसएसपी अधिकारीलाई बिदाइ गरिएको छ भने नयाँ प्रमुख काफ्लेलाई स्वागत गरिएको छ । प्रमुख काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) मध्यान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ । सोमबार (आज) दिउँसो १ः१५ बजे १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि सभामुखले अर्को बैठक भोलिका लागि तोकेका हुन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको जनाएको छ। सचिवालयद्वारा जारी सूचनामा विशेष कारणले बैठक बस्न नसकेको उल्लेख छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले केही दिनयता संघीय संसद्का दुवै सदनमा विरोध जनाउँदै आएका छन् । यही विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुटाउने प्रयास जारी रहे पनि हालसम्म निष्कर्ष निस्कन सकेको छैन । विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने र आवश्यक स्पष्टीकरणसहित माफी माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट त्यसो नभएसम्म सदनको अवरोध हट्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो ।

कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त, राष्ट्र बैंकमा सपथ ग्रहण

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार पाण्डेयलाई अध्यक्ष पदमा चयन गरिएको हो । नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष कार्य गर्दै महत्वपूर्ण अनुभव हासिल गरेका छन् । आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा काम गरेको अनुभवसमेत उनीसँग रहेको बताइएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनरसमक्ष सपथ ग्रहण गराउने व्यवस्था बमोजिम पाण्डेयले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर विश्वनाथ पौडेलले उनलाई सपथ ग्रहण गराएका थिए । सपथ कार्यक्रममा राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डीत, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दिर्घबहादुर रावल, मुक्तिनाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, बोर्ड सचिव शरणकुमार अधिकारीलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।  

‘सञ्चालकको बन्दीमा सेबोन, नेतृत्वविहीन हुनु दुर्भाग्यपूर्ण’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनले बोर्डको वर्तमान व्यवस्थापन अनिर्णयको बन्दी बनेको आरोप लगाउँदै संस्थालाई नेतृत्वविहीन अवस्थामा राखिनु दुर्भाग्यपूर्ण भएको जनाएको छ । सेबोनको ३३औं वार्षिकोत्सव तथा ३४औं वर्ष प्रवेशको अवसरमा जारी विज्ञप्तिमा युनियनले बोर्डको इतिहासमै पहिलो पटक वार्षिकोत्सव कार्यक्रम स्थगित हुनु व्यवस्थापनको उदासीनता, अनुत्तरदायित्व र अपरिपक्व निर्णयको परिणाम भएको टिप्पणी गरेको छ । युनियनका अनुसार स्थापनाकालदेखि नै विभिन्न चुनौती र प्रतिकूल परिस्थितिका बीच पनि बोर्डले आफ्नो वार्षिकोत्सव निरन्तर रूपमा मनाउँदै आएको थियो । तर, यस वर्ष कर्मचारी तथा सरोकारवालासँग कुनै परामर्श नगरी कार्यक्रम नगर्ने निर्णय गरिएको भन्दै युनियनले त्यसको भत्र्सना गरेको छ ।  विज्ञप्तिमा वर्तमान उच्च व्यवस्थापन तथा सञ्चालक समितिलाई अनिर्णयको बन्दी बनेको आरोप लगाइएको छ । युनियनले यही प्रवृत्तिका कारण बोर्ड प्रशासनिक र व्यावसायिक दुवै दृष्टिले कमजोर बन्दै गएको दाबी गरेको छ । युनियनले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रम नभई नियामक निकाय, सूचीकृत कम्पनी, बजार मध्यस्थकर्ता तथा लगानीकर्ताबीच समीक्षा, छलफल र भावी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरेको छ । यस्तो अवसरलाई रोक्नुले संस्थाभित्रको कर्पोरेट संस्कृति र सुशासनको अवस्थामाथि नै प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । युनियनले व्यवस्थापनलाई आफ्नो पदीय जिम्मेवारी र जवाफदेहिता पूरा गर्न आग्रह गर्दै रोकिएका नीतिगत तथा प्रक्रियागत निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान माग गरेको छ । संस्थाको साख जोगाउन र समग्र पुँजी बजारको हितका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको युनियनको भनाइ छ । विज्ञप्तिमा बोर्डको अध्यक्ष पद करिब दुई महिनादेखि रिक्त रहेको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको छ । अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म टुंगोमा नपुग्दा पुँजी बजारको नियामकीय गतिविधि प्रभावित भएको उल्लेख गर्दै युनियनले नेपाल सरकारसँग नियुक्ति प्रक्रिया शीघ्र सम्पन्न गरी बजारलाई आवश्यक नेतृत्व प्रदान गर्न माग गरेको छ । युनियनले सेबोनको संस्थागत सुदृढीकरण, सुशासन प्रवद्र्धन तथा पुँजी बजारको दिगो विकासका लागि तत्काल प्रभावकारी नेतृत्व र निर्णय क्षमतायुक्त व्यवस्थापन आवश्यक रहेको समेत जनाएको छ ।  

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–५ को उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५’ सम्पन्न भएको छ । चार दिनसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगितामा प्राइम कमर्सियल बैंक लिमिटेडले उपाधि जित्दै च्याम्पियन बन्न सफल भएको हो । जेठ १७ गतेदेखि जेठ २० गतेसम्म भएको उक्त प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ । प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमको सहभागिता रहेको थियो । विजेतालाई ट्रफी हस्तान्तरण कार्यक्रम शुक्रबार (२०८३/०२/२२) सम्पन्न भएको छ। कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा विजेता प्राइम कमर्सियल बैंकलाई च्याम्पियन ट्रफी तथा माछापुच्छ्रे बैंकलाई उपविजेता ट्रफी प्रदान गरिएको हो । व्यक्तिगत विधातर्फ लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान उत्कृष्ट फिल्डर घोषित भए भने सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल उत्कृष्ट विकेटकिपर बने । नेपाल बैंक लिमिटेडका मोहनकुमार श्रेष्ठ उत्कृष्ट बलर तथा माछापुच्छ्रे बैंकका सृजन सुवेदी उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य बनेका छन् । फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्सले हात पारेको छ । महालक्ष्मी विकास बैंकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहभागी टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

फिलिपिन्समा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौं । फिलिपिन्समा आएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयले यसको पुष्टि गरेको हो । स्थानीय नागरिक सुरक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार ज्यान गुमाएका १५ मध्ये १२ जना सोक्ससार्जेन क्षेत्रका रहेका छन् । यो क्षेत्र चारवटा प्रान्त र एउटा सहर (साउथ कोटाबाटो, सुल्तान कुदारात, सारंगानी र जनरल सेन्टोस सिटी) मा फैलिएको छ । उक्त क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएको उनले जानकारी दिए । यसैगरी, फिलिपिन्स इन्स्टिच्युट अफ भोलकानोलोजी एन्ड सिस्मोलोजीले मिन्डानाओका ६ वटा क्षेत्रमा सुनामीको लहर रेकर्ड गरिएको जनाएको छ । यी लहरहरू स्थानीय समयअनुसार बिहान ७ः४२ देखि ८ः४५ बजेको बीचमा रेकर्ड गरिएका हुन्, जसमा सबैभन्दा उच्च लहर १.४ मिटर (४.६ फिट) सम्म पुगेको थियो । इन्स्टिच्युटले दिएको जानकारी अनुसार दक्षिणी तट नजिकै आएको सोही ७.८ म्याग्निच्युडको भूकम्पपछि स्थानीय समयअनुसार बिहान ११ः०० बजेसम्म १३८ वटा पराकम्पहरू महसुस भइसकेका छन् । यी परकम्पहरूको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म मापन गरिएको छ ।

सिटिजन्स बैंकद्वारा देशव्यापी वृक्षारोपण, १५०० बिरुवा रोपियो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व वातावरण दिवस २०२६ को अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जेठ २३ गते आयोजित उक्त कार्यक्रममा बुढानीलकण्ठ वडा नम्बर–१ मा करिब २५० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । बैंकले देशव्यापी रूपमा पनि वृक्षारोपण अभियान सञ्चालन गर्दै कोशीमा २००, मधेशमा २५०, गण्डकीमा २००, लुम्बिनीमा २००, कर्णालीमा २०० र सुदूरपश्चिममा २०० गरी कुल १५०० बिरुवा रोपिएको जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा नम्बर–१ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापनसहित कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिएका प्रत्येक बिरुवाले भविष्यमा स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अङ्गका रूपमा लिएको बताए । बैंकले यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयलाई सहयोग लगायतका सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बैंकको भनाइ छ । सिटिजन्स बैंकले हालै ‘बैंक अफ द इयर २०२४ र २०२५’ उपाधि प्राप्त गर्नुका साथै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै, नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक’ प्लेटफर्म तथा फ्रिलान्सर लक्षित बचत खाता समेत सुरु गरेको छ । बैंकले हाल देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।