विकासन्युज

१६ वटा गुणस्तरहीन औषधीको बिक्री तत्काल रोकौंः औषधी व्यवस्था विभाग(सूचीसहित)

काठमाडौं। औषधी ब्यवस्था विभागले सुचना जारी गर्दै बजारमा बिक्री भईरहेको १६ वटा औषधीको बिक्री वितरण तथा प्रयोग रोक्न आग्रह गरेको छ। बजार अनुगनको क्रममा संकलन गरिएको औषधीहरुको नमुना परिक्षण गर्दा तल  उल्लेखित ब्याचको औषधीको गुणस्तर न्युन देखिएको हो। औषधी एनको दफा १४ को बमोजिम उक्त ब्याचको औषधीहरुको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न भनिएको छ।  

मनाङको हुम्देमा आइस क्लाइम्बिङ हुने, पर्यटन क्षेत्रमा नयाँ आयम थप्ने विस्वास

काठमाडौं । मनाङको हुम्देमा आइस क्लाइबिङ हुने भएको छ । पर्यटन प्रचार प्रसार गर्ने उदेश्यले हुम्देमा २० जना युवाहरुले आइस क्लाइबिङ गर्न लागेका हुन् । क्लाइबिङको आयोजना नेपाल क्लाइबिङ टीमले गरेको हो । क्लाइम्बिङ टोली फेब्रुअरी २ तारिखमा मनाङ तर्फ लाग्नेछन् । टोलीमा विदेशी नागरिक पनि सम्मिलित रहेको एक सदस्य विष्णु तामाङले बताए । उनका अनुसार टोलीले फेब्रुअरी १० तारिखमा सकिनेछ । टोलीले अन्नपुर्ण हिमालबाट बगेको हिउँमा क्लाइबिङ गर्नेछ । क्लाइबिङको सबै तयारी सकिसकेको आयोजकले जनाएको छ । क्लाइम्बिङमा १८ लाख रुपैंमा खर्च हुने अनुमान गरिएको छ । नेपालमा पनि आइस क्लाइम्बिङ गर्न सकिने र यसबाट अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सकिने सदस्य तामाङले बताए । विषेशगरी पुस माग पर्यटनको सिजन नहुँदा यसमा काम गर्ने व्यक्तिहरु बेरोजगार हुनुपर्ने अवस्था छ ।  यदि आइस क्लाइम्बिङ गर्न सके सबै मौसममा व्यवसाय गर्न सकिने आयोजकको विस्वास रहेको छ ।

दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम द्रुत गतिमा

काठमाडौं । समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर छ । विमानस्थलको नाली निर्माण र तारबार लगाउने काम सकिएको र गिट्टी फिजाएर अल्कत्रा छर्ने काम मात्रै बाँकी रहेकाले आउँदो फागुन महीनासम्म कालोपत्र पनि गरिसक्ने त्यहाँ कार्यरत सपना गाल्भा जेभी निर्माण कम्पनीले जनाएको छ । रु ६ करोडको लागतमा सो विमानस्थल निर्माणका लागि बोलपत्र स्विकृत गरिएको थियो । करीब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल विसं २०७५ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीले बताए । लम्बाइ ४९५ मिटर र २० मिटर चौडाइको धावनमार्ग भएको उक्त विमानस्थल कालोपत्र हुन थालेसँगै स्थानीयवासी खुशी भएका दीपायल–सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काको भनाई रहेको छ । निर्माणकार्य पहिले नै सक्नुपर्ने हो तर फागुनमा सकिने जानकारी दिएकाले स्थानीयवासी खुशी भएका छन् ।” पछिल्लो समय विमानस्थलको काम देखेर वर्षौंदेखिको विमान सञ्चालन हुने सपान अब पूरा हुन्छ कि भन्ने आशा पलाएको अर्का स्थानीयवासी मोहन पनेरुले बताएका छन् । विमानस्थल सञ्चालनमा आउन सकेको खण्डमा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका स्थानीयवासीलाई समेत हवाई यात्राका लागि सहज हुनुका साथै यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काको भनाई छ। रासस

सामसङको नाफामा ३१ प्रतिशतले गिरावट, २०१९ मा अझै घट्ने

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङको नाफामा ३१ प्रतिशतले गिरावट आएको छ । कम्पनीको चौथो त्रैमासिक विवरण अनुसार सामसङको नाफामा ३१ प्रतिशतले गिरावट आएको वालस्ट्रिट जर्नलले उल्लेख गरेको छ । स्मार्टफोन र मेमोरी चिप्सको निर्माताले ‘प्रतिकुल व्यवसाय र माईक्रोइकोनोमिक फ्याक्टर’ले नाफा घटेको आरोप लगाएको छ ।–वालस्ट्रिट जर्नलले लेखेको छ । सामसङले विश्वव्यापी रुपमै उपभोक्ताहरुको खर्च गर्ने शैलीमा आएको परिवर्तनले पनि आफ्नो नाफामा गिरावट आएको निचोड पनि निकालेको छ । डिसेम्बर ३१ तारिखमा सकिएको चौथो त्रैमासिक विवरण अुसार मोबाइल सेगमेन्टको नाफा एक तिहाई घटेको छ भने उपकरण विभागको नाफा पनि २९ प्रतिशतले ओरालो लागेको छ । सामसङले सन २०१८ मा २४३.७७ ट्रिलियन कोरियन वनको कारोबार गरेको छ जसबाट कम्पनीले ५८.८९ ट्रिलियन सञ्चालन मुनाफा आर्जन गरेको छ । २०१९ झनै खराब कम्पनीले सन २०१९ सालमा आफ्नो व्यवसायमा झनै मन्दी आउने प्रक्षेपण गरेको छ । मेमोरो चिप्सको आरोलो लाग्ने बजारका कारण कम्पनीको नाफामा असर पर्ने निष्कर्ष निकालिएको हो ।

लक्ष्मी बैंकले बढायो १६ करोड नाफा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नाफामा १६ करोड वृद्धि गरेको छ । बैंकले २०७४ पुसको तुलनामा ७५ पुस मसान्त अवधीमा आफ्नो नाफा १६ करोडले बढाएर ६७ करोड पुर्याएको हो । २०७४ पुस मसान्तमा बैंकको नाफा ५१ करोड मात्रै थियो । लक्ष्मी बैंकले असोजदेखि पुस मसान्त अवधीमा निक्षेप र कर्जा लगानी ६।६ अर्बले वृद्धि गरेको छ । बैंकले ६९ अर्बमा रहेको निक्षेपलाई ७५ पुर्याएको छ भने ६४ अर्बको कर्जा लगानीलाई ७० अर्ब पुर्याएको छ । लक्ष्मीले पुस मसान्त अवधीमा १ अर्ब ४५ करोड ब्याज आम्दानी गर्न सफल भएको छ जुन गत पुसको भन्दा ४३ करोड रुपैंयाँले बढि हो । ८ अर्ब २२ करोड चुक्ता पुँजी रहेको लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैंयाँ रहेको छ । लक्ष्मीले आफ्नो सिडी रेसियो ७७.५६ प्रतिशतमा कायम राखेको छ भने कष्ट अफ फण्ड ७.६८ प्रतिशत बनाएको छ । १.११ प्रतिशत खराब कर्जा भएको बैंकको आधार ब्याजदर १०.३६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने १७.७१ रुपैंयाँ छ जुन गत पुस मसान्तमा १३.३८ रुपैंयाँ थियो ।

हिमालयन बैैंकको नाफा ११६ करोड, अरु सूचक कस्ता छ ?

काठमाडौं । हिमालयन बैंकले एक अर्ब १६ करोड नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा ६ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा १ अर्ब १० करोड थियो । हिमालयनले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर ९८ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७८.४५ प्रतिशत कायम गराएको छ । बैंकले ३ महिनामा ४ अर्ब निक्षेप वृद्धि गरेर ४ अर्ब नै कर्जा लगानी पनि बढाएको छ । बैंकले २ अर्ब ४९ करोड ब्याज आम्दानी गरेको देखिन्छ । हिमालयनको कष्ट अफ फण्ड ६.७३ प्रतिशत छ भने आधार ब्याजदर ९.११ प्रतिशत रहको छ । खराब कर्जा १.२५ प्रतिशत रहँदा प्रति सेयर आम्दानी ३२.०९ रुपैंयाँ छ जुन गत आवको सोही अवधीमा जम्मा २७.२६ रुपैंयाँ मात्रै थियो ।

बुद्ध एयरकाे भद्रपुरमा रात्रिकालीन उडान सफल; तुम्लिङटार, सुर्खेत, भरतपुरमा सेवा विस्तार हुँदै

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा विहीबार रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अनुसार आरएनएभी (एरिया नेभिगेसन) प्रविधिको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रातिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिनेछ । यो प्रविधि संसारभरी प्रचलित र सुरक्षित मानिन्छ । यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपश्चात उडान रद्द गर्नुपर्दथ्याे । यो विमानस्थल पूर्वका चार जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङको प्रवेशद्धारको रुपमा रहेको छ । त्यस्तै छिमेकी मुलुक भारतका सिलिगढी, दार्जिलिङ, सिक्किम मात्र नभई तेस्रो मुलुक भुटान तथा बङगलादेशलाई पनि जोड्ने बताइन्छ । यात्रुको सेवालाई ध्यानमा राखेर नेपाल नागरिक उड्डयन प्राधिकरणले करीब छ महीना अगाडि नै यो विमानस्थलमा रात्रिकालीन उडान योग्य बनाउन आरएनएभी प्रविधि जडान गरी हालै आवश्यक रनवे लाइट जडान गरेको थियो । प्रविधिसँगै सुरक्षा र जनशक्तिको पनि व्यवस्थापन भइसकेको विमानस्थलले जनाएको छ । बुद्धले आगामी दिनमा थप विमानस्थल तुम्लिङटार, सुर्खेत, भरतपुरमा पनि सेवा विस्तार गर्दै जाने योजना बनाएको छ । केही महीनापछि नै जनकपुरमा पनि परीक्षण उडान गरी व्यावसायिक उडान भर्ने जनाएको छ । हाल बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौँ–चन्द्रगढी दैनिक दुईवटा नियमित उडान गर्दै आएको छ । चन्द्रगढी विमानस्थलमा १० महीना अघि बिहान र दिउँसोको लागि स्याटलाइट बेस्ड आइएफआर सेवा शुरु भइसकेको थियो । बुद्ध एयरका नौ वटा एटीआर विमान छन् । यीमध्ये छ एटीआर–७२ र दुई एटीआर–४२ हुन् । बुद्धसँग दुई बीचक्राफ्ट विमान पनि छन् । हाल आन्तरिकतर्फ १३ गन्तब्य चन्द्रगढी, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

विदेशी लगानीकर्तालाई वित्तीय सेवा दिन एनएमबि बैंक र वान टु वाच बीच सहकार्य

काठमाडौं। एनएमबि बैंक  र वन टू वाचबीच सहकार्यमा वान टु वाच नेटवर्कका लगानी कम्पनीहरूलाई फाइनान्सिङ सुविधा दिने सहमति भएकाे छ । सम्झौतापत्रमा एनएमबिका  प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुवै निकायले विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने काम गर्नेछन् । वन टु वाचले राम्राे लगानी अवसर भएका कम्पनीहरूको पहिचान गर्ने  छ । साथै, उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ। एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तीनले विदेशी लगानीको स्वीकृति नपाउन्जेल सम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ उपलब्ध गराउने छ। सहकार्यबाट एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनीहरुलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति बताइएकाे छ ।