सिभिल मलमा जाडोका कपडामा ७० % छुट
काठमाडौँ । सुन्धारा स्थित सिभिल मलमा अधिकतम छुटमा जाडोका लुगा बिक्री शुरु भएको छ । ‘सिभिलमल विन्टर सेल – २०७५’ नाम दिईएको अफर अवधिभर ज्याकेट, स्वेटर, पाईन्ट, जुत्ता लगायतका विभिन्न सामग्रीहरू ७० प्रतिशतसम्म छुटमा एकै बिक्री भइरहेको छ । माघ ११ देखि शुरू भएको ‘सिभिलमल विन्टर सेल – २०७५’ फागुन ४ गतेसम्म चल्नेछ ।
सरकार गल्ती सच्याएर अघि बढोस्ः काङ्ग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको भन्ने विवरण सञ्चारमाध्यममा आएको उल्लेख गर्दै यसबारेमा पार्टीलाई औपचारिक जानकारी नआएको बताए । काङ्ग्रेसले नेताद्वय कोइरालाका नाममा खुलेका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा पु¥याएको भन्दै यसअघि सङ्घीय संसद् अवरुद्ध गर्दै आएको थियो । सरकार र सदनका केही कामकारवाहीको विरोधमा यही माघ २१ गते राष्ट्रव्यापी विरोध प्रदर्शनको कार्यक्रम रहेको जानकारी गराउँदै उनले भने, “राष्ट्रव्यापी विरोध प्रदर्शनको सम्बन्धमा सबै जिल्लामा आवश्यक तयारी प्रारम्भ भइसकेको छ ।” संसद्मा माघ ११ गते भएको घटना, डा गोविन्द केसीको अनशनप्रति सरकारको संवेदनहीन व्यवहार, कोइरालद्वयका नामका अस्पताललाई नामेट गर्न गरेको दुष्प्रयास, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गरेको घटनालाई विरोधका मुख्य मुद्दा बनाइने उनले जानकारी दिए । प्रवक्ता शर्माले भने, “देशव्यापीरूपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सम्बन्धित पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको छ महीना पुगी सक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दामा प्रदर्शन केन्द्रित हुनेछ ।” वाइडबडी जहाज खरीदमा भएको घोटाला छानबिन होस् पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विरोध प्रदर्शनको मुद्दामा ‘भ्रष्टाचार’ लाई विधिवत् ‘माइन्युट’ गरेर सार्वजनिकसमेत गरिसकेको जानकारी गराउँदै प्रवक्ता शर्माले वाइडबडी जहाज खरीदमा भएको अर्बौैंको घोटालाका बारे गम्भीर ढङ्गले छानबिन गर्न पार्टीले संसद्मा र सार्वजनिकरूपमा पनि आवाज उठाउँदै आएको स्पष्ट पारे । विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सिर्जना गरिने उनको भनाइ थियो । त्यस्तै बूढी गण्डकी बहुउद्देश्यीय जलविद्युत् परियोजना बिना प्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछाडि के रहस्य लुकेको छ भनी प्रश्न गर्दै उनले आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रियामा ढिलासुस्तीको विषय विरोध प्रदर्शनमा उठाइने जानकारी दिए । प्रवक्ता शर्माले ३३ किलो सुन काण्डमा ‘ठूला माछा’ सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्तिअनुरूप ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन भनी प्रश्न गरे । उनले प्रदेश नं ५ मा प्रदेशसभा सचिवालयले ११ वटा गाडी खरीद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कारवाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा सो विषय जोडिने जानकारी दिए । काङ्ग्रेसले लिबियामा १२ नेपाली युवालाई बन्धक बनाएको सार्वजनिक विवरणप्रति गम्भीर ध्यान आकृष्ट भएको जनाउँदै तिनलाई उद्धार गरी सकुशल स्वदेश फर्काउन तत्कालै पहल गर्न र त्यसमा संलग्न दोषीलाई कारवाही गर्न सरकारसँग आग्रह गरेको छ ।
मेगा बैंकको शाखारहित बैंकिङ सेवा चितवनको खैरहनीमा
काठमाडौं । मेगा बैँक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नम्वर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रवन्धक भीम पोखरेलले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका हुन् । खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । वडाध्यक्ष तिमिल्सिनाले खैरहनीका बासिन्दाहरुले मेगा बैकसँग वित्तीय कारोबार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा सुरु गरेकोमा मेगा बैंकलाई आभार व्यक्त गरेका थिए । ग्रामिण भेगका बासिन्दाहरुलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय समावेशिता प्रदान गर्न लागिपरेको बताए । शाखारहित सेवा सुरु भएपछि कुमरोज, खैरहनीका बासिन्दालाई वित्तीय कारोबार निकै सहज हुने र अब घरदैलोबाटै मेगा बैंकमा बचत, ऋण तथा रेमिट्यान्स कारोबार गर्न जोड दिनु पर्ने बताए ।
गरिमा विकास बैंकको शाखा नयाँ बानेश्वरमा
काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । नयाँबानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो बैंकको हाल उपत्यकाभित्र८ वटा शाखा सहित देशभर ६६शाखा र १५ वटा एटीएम संचालनमा रहेका छन । विकास बैंकले छिट्टैनै पर्साको वीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ । विकास बैंकले आर्थिक बर्ष २०७५७६ को दोश्रो त्रैमासको अन्त्य सम्ममा रु.२६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गतबर्षको तुलनामा ५४.८१ प्रतिशतले बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफामा आर्जन गर्न सफल भएको छ ।
अन्ना हजारेले शुरु गरे अनशन, लोकपाल विधेयक कार्यान्वयन गर्न माग
रलेगण सिद्धी, भारत । भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै उनले अनशन सुरु गरेका हुन् । भ्रष्टाचार विरुद्धका काम गर्न मोदी नेतृत्वको सरकार असफल भएको भन्दै उनले स्वतन्त्र लोकपाल र लोकायुक्त नियुक्त गर्नुपर्ने माग गरेका छन् । “कुनै सर्वसाधारणले प्रमाणसहित उजुरी दियो भने लोकपालले प्रधानमन्त्रीलाई पनि छानबिन गर्न सक्दछ, त्यसैगरी लोकायुक्तले मुख्यमन्त्री, अन्य मन्त्रीहरु र प्रदेश सभाका सांसदहरुलाई पनि छानविन गर्न सक्छ,” आफ्नै गाउँमा अनसन शुरु गर्नुअघि उनले भने । आफूमाथि नै छानबिन गर्ने भएकाले उनीहरुले यस्तो व्यवस्था गराउन नचाहेको उनको आरोप छ । उनले यस्तो व्यवस्था कुनैपनि पार्टीको चाहनामा नपरेको बताए । लोकपाल विधेयक सन् २०१३ मा नै संसदले पारित गरिसकेको भएपनि सरकारले अहिलेसम्म त्यसमा भएको व्यवस्था अनुसार लोकपाल र लोकायुक्त नियुक्त नगरेकाले फेरि अनसनमा बस्नु परेको उनको भनाई छ । आफ्ना पूर्व समर्थकहरु, जो अहिले राजनीतिमा छन्, उनीहरुले पनि अनसनमा साथ दिन सक्ने बताउँदै उनले भने, “हाम्रो मञ्चमा अब कुनै राजनीतिक नेताहरुलाई ठाउँ छैन ।” उनले थपे, “लोकपाललाई निषेध गर्नेगरी तीन दिन भित्रमा उनीहरुले अर्को कानुन पारित गरेका छन्, त्यसमा राष्ट्रपतिले पनि लालमोहर लगाइसक्नु भएको छ, तर पनि लोकपाल नियुक्त गरिएको छैन ।” “पाँच वर्षसम्म पनि उनीहरुले यस बारेमा केही गरेनन्, त्यसैले राजनीतिक नेताहरुलाई हाम्रो ठाउँमा आउन दिदैनौँ,” हजारेले भने । भारतमा शहीद दिवसको रुपमा समेत मनाइने महात्मा गान्धीको स्मृति दिवस जनवरी ३० को दिन पारेर आफूले अनसन सुरु गरेको पनि उनले बताए । रासस/एएनआई
स्मार्ट टेलिकमले दिन थाल्यो इजिलोन
काठमाडौं । स्मार्ट टेलिकम कम्पनीले हालै इजिलोन अफर प्रस्तुत गरेको छ । यससँगै स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स रु.१ वा सो भन्दा कम भएको अवस्थामा डायल गरी रु. १० को व्यालेन्स प्राप्त हुनेछ । ग्राहकले फोन गर्न, एस एम एस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन साथै लोन लिइएको रकम र सेवा शुल्क भने अर्को पटकको रिचार्जमा कट्टा गर्ने व्यवस्था रहेको छ । ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुने छन् तर पुन : लोन लिनभने सकिने छैन । यो सेवा लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनु पर्ने छ । यसै गरी स्मार्टका ग्राहकहरुले नेट टिभि डाउनलोड गरी लग इनमा आफ्नो मोबाइल नम्बरलाई प्रयोग गरी न्यूनतम शूल्कमा नेट टिभिमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने सुविधा पनि प्रस्तुत गरेको छ । यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि रु. २९, १४ दिनको लागि रु ५२ तथा एक महिना(३० दिन) को लागि रु ८७ तिरी नेट टिभिको सुविधा रहेको छ ।
पारस शाहको स्वास्थ्य स्थिती सुधारोन्मुख : नर्भिक अस्पताल
काठमाडौं। नर्भिक अस्पतालले बुधबार जारी गरेको सुचना अनुसार पुर्व युवराज पारस विक्रम शाहको स्वास्थ्य स्थित सुधारोन्मुख र स्थिर रहेको छ। सोमबार साँझ पूर्व युवराज पारस विक्रम शाहलाई तेस्रो पटक हृदयाघाट भएको थियो। मुटुको धमनी बन्द भएको अवस्थामा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगेको शाहको उपचार गरि धमनी सुचारु भएको सो अस्पतालले जनाएको थियो।
चीन-अमेरिका व्यापार वार्ता वासिङ्टनमा, गतिरोधबीच भएको वार्ताले के देला निश्कर्ष ?
वासिङ्टन । चीन र संयुक्तराज्य अमेरिकाबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टन डिसीमा शुरु भएको छ । अमेरिकाले चिनियाँ विशाल टेलिकम कम्पनी हुवावे विरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता शुरु भएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिका उच्च प्रविधि उद्योगको भविष्यलाई लिएर सङ्घर्षरत रहेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले बताए । उनी वार्तामा अमेरिकी प्रमुख मध्यस्थकर्ता हुन् । तीन वर्षअघि बेइजिङले महत्वाकाँक्षी “मेड इन चाइना २०२५” कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य नै चीनलाई अन्तरिक्ष, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नयाँ पुस्ताको कार तथा अरु क्षेत्रमा अग्रणी स्थानमा पुर्याउने थियो । अमेरिकी अधिकारीहरुका अनुसार यी क्षेत्रहरुमा अमेरिकी प्रविधि र खोजको मुख्य हिस्सा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक आफू स्वस्थ चिनीया अर्थतन्त्रको पक्षमा रहेको बताउँदै आउनुभएको छ, तर त्यो अमेरिकी व्यवसाय र प्रविधिको बदलामा होइन । खासगरी, अमेरिकी अधिकारीहरुले चिनियाँ व्यापारिक अभ्यासमाथि आक्रमण गरिरहेका छन् । उनीहरुको भनार्इमा चीनको व्यापार अभ्यास अस्वच्छ रहेको छ । चीनले जबर्जस्ती अमेरिकी प्रविधि हस्तान्तरण गरेको र बौद्धिक चोरी गरेको अमेरिकी अधिकारीहरुको भनाइ छ । चीनले अमेरिकी कम्पनीलाई चीनमा व्यवसाय गर्न चिनीया कम्पनीसँग साझेदारी गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने गरेको छ । बेइजिङमाथि दबाब सिर्जना गर्न ह्वाइट हाउसले २५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको वार्तामा सहमति नभए आगामी मार्च २ तारिखदेखि २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन् । बेइजिङले पनि करिब ११० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औद्योगिक राष्ट्रहरुको समूह जी–२० को ब्युनस आयर्समा भएको बैठकका क्रममा तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । उक्त सहमति बमोजिम तीन महिनाभित्र वार्ता गरी दुई देशबीचका असमझदारी हल गर्ने र नयाँ व्यापार सम्झौता गर्ने उद्देश्यले दुबै देशका उच्च अधिकारीहरुबीच वार्ता जारी छन् । यसअघि चीनको बेइजिङमा पहिलो चरणको प्रारम्भिक वार्ता भइसकेको छ । उक्त वार्ताका विवरणहरु भने सार्वजनिक गरिएको छैन । रासस/एएफपी