विकासन्युज

सुज ग्यालरीको पहिलो शोरुम भृकुटीमण्डपमा

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा सुज ग्यालरीको पहिलो शोरुम सञ्चालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठवाट शोरुमको औपचारिक उद्घाटन भएको हो । नेपालका ख्यातीप्राप्त नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुलाई प्राथमीकतामा राख्दै एउटै स्थानवाट ग्राहक समक्ष पुर्याउनका लागि सुज ग्यालरीको स्थापना भएको हो । उक्त उद्धघाटन समारोहमा बोल्दै प्रमुख अतिथी राजेश काजी श्रेष्ठले भने, “ नेपाली जुत्ताको गुणस्तरसँगै प्रतिस्पर्धा समेत बढिरहेको समयमा यसरी धेरै व्यवसायी साथीहरु एकै स्थानमा मिलेर ग्राहकको सुबिधाको लागी यस्तो शोरुम खोल्नु भएको छ , यसले व्यावसायीकरुपमा समेत राम्रो सन्देश प्रदान गरेको छ ।” उनले यस्तो शोरुमहरु देशका बिभिन्न स्थानमा खोल्न सुभकामना तथा सुझाव दिए । उक्त समारोहमा बोल्ने क्रममा सुज ग्यालरीका अध्यक्ष भिमलाल गौतमले भने,“ आन्तरकि रुपमा हामी बीच प्रतिस्पर्धा रहेतापनि ग्राहकले एकै स्थानमा बिभिन्न ब्राण्डका नेपाली जुत्ताहरु आफ्नो रोजाइ अनुसार खरिद गर्ने मध्यस्तकर्ताको रुपमा हामी आएका हौं । ग्राहकहरुको सुबिधाको लागी निकट भबिस्यमा सुज ग्यालरीको शोरुमहरु काठमाडौं बाहिरका बिभिन्न स्थानहरुमा खोल्ने योजना रहेको छ ।” नेपाली जुत्ता तथा चप्पल लाई स्वदेशमै पर्वद्धन तथा बजारीकरण गर्नका लागि सुज ग्यालरीले विभिन्न नेपाली ब्राण्डहरु बि.एफ.डियर हिल, क्रसरोड, कोशेली, म्याजीक, रोयल सुज, रन सुजलगायतका प्रतिष्ठित ब्राण्डहरु एकै छानामुनीे विक्रि तथा वितरण गर्नेछ ।

रोजगार संयोजकमा २४ हजारको आवेदन, आवश्यक संख्या ७५३

काठमाण्डौँ । आन्तरिक श्रम बजारमा ठूलो संख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक रोजगार संयोजकमा २३ हजार ९ सय ६८ जनाले आवेदन गरेका छन् । श्रम मन्त्रालयले शुक्रबार अपराह्नसम्म रोजगार संयोजकका लागि आवेदन गर्न सकिने व्यवस्था मिलाएको थियो । प्रदेश १ मा ३६६५, प्रदेश २ मा ३६७१, प्रदेश ३ मा ४९९४, गण्डकी प्रदेशमा १९५५, प्रदेश ५ मा २३०१, कर्णाली प्रदेशमा ३३७८ र सुदूरपश्चिम प्रदेशमा ४००४ जनाले आवेदन दिएका छन् । रोजगार कार्यक्रम कार्यान्वयन गर्न सरकारले यही माघ ३ गतेदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु गरेको थियो । गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरेको थियो । मापदण्डअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० हजारभन्दा कम जनसङ्ख्या भएका ४८ स्थानीय तहमा राजपत्र अनङ्कीत प्रथम श्रेणी (नायब सुब्बा) र १० हजारभन्दा बढी जनसङख्या भएका स्थानीय तहमा राजपत्राङ्कीत तृतीय श्रेणी (अधिकृत) को रोजगार संयोजकको पदपूर्ति गरिनेछ । रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् । संयोजक दाहालले भने, “रोजगार संयोजकले स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरको पहिचान गरी सोको सूचना प्रवाह गर्नेछन् । त्यस्तै स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्याङ्क सङ्कलन गर्ने, रोजगार नक्साङ्कन गर्ने तथा रोजगारीका अवसरको अभिलेखाङ्कन गर्ने काम गर्नेछन् ।” त्यसैगरी रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् । सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीको अवसर सिर्जना गरी आगामी पाँच वर्षभत्र कुनै पनि नेपाली नागरिकले बाध्यकारी वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न चालु आवमा रु तीन अर्ब १० करोड बजेट विनियोजन गरेको छ । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ । तीनै तहका सरकारका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रममा पर्याप्त सङ्ख्यामा थप रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनावद्ध ढङ्गबाट कार्यान्वयन गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्न लागेको हो । रोजगार संयोजक पदपूर्तिः अनलाइनबाटै आवेदन र परीक्षा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न आवश्यक ठानिएको रोजगार संयोजकको अनलाइनबाटै परीक्षा लिने तयारी गरेको छ । रोजगार संयोजका भर्ना प्रक्रियालाई बढीभन्दा बढी व्यवस्थित र पारदर्शी बनाउन अनलाइनबाटै परीक्षा लिने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । रोजगार संयोजकको प्रारम्भिक छनोटमा परेका उम्मेदवारसँग सातै प्रदेशमा तोकिएको स्थानमा कम्पयुटरबाट परीक्षा लिइने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले जानकारी दिए । उनले भने, “रोजगार संयोजकको छनोटमा कुनै दबाब र प्रभावले काम नगरोस् भनेर अनलाइन प्रणालीको विकास गरिएको हो ।” योग्यतम् रोजगार संयोजक छनोटमा परुन् भन्ने दृष्टिले सातै प्रदेशका आवेदकमध्येबाट उच्चतम् योग्यता भएका उम्मेदवारको तीन गुणाबढी प्रारम्भिक छनोट गरिने र उनीहरुबीच प्रतिस्पर्धा गराइने संयोजक दाहालले जानकारी दिए । । प्रारम्भिक छनोटपनि अनलाइनबाटै गर्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ । उनले भने, “हामीले सक्षम व्यक्ति आउन् भनेर उनीहरुको शैक्षिक योग्यताका आधारमा अङ्क प्राप्त गर्ने प्रणालीको विकास गरेका छौँ । तोकिएको न्यूनतम् शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशतबापत ७० अङ्क, न्यूनतमभन्दा माथिल्लो शैक्षिक योग्यता भएका व्यक्तिको २० अङ्क र अनुभवको १० अङ्क प्राप्त गर्ने व्यवस्था गएिको छ । यही आधारमा रहेर अनलाइन प्रणालीले रोजगार संयोजकको छनोट गर्नेछ ।” श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यसअघि नै कुनै राजनीतिक दबाब तथा प्रभाव नपर्ने गरी अनलाइन प्रणालीको विकास गरेर निश्पक्ष रुपमा रोजगार संयोजकको छनोट गर्न निर्देशन दिए ।

महासंघले प्रदेश ३ सरकारसँग साझेदारी गर्ने, संझौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्र र नेपाल सरकार, प्रदेश नं. ३ का सरकारबीच हेटौंडामा सम्झौता भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार प्रदेश नं. ३ ले प्राथमिकताका साथ अघि बढाएका कार्यक्रमहरूमा बहुवर्षिय साझेदारी गर्ने उद्देश्यले यो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणी पौडेलेको उपस्थितिमा प्रदेश ३ सरकारका आर्थिक, मामला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल र महासंघका अध्यक्ष भवानी राणाले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा प्रदेश सरकारका उच्चस्तरीय अधिकारीहरू र महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू हेमराज ढकाल, प्रकाशसिंह कार्की र डीबी बस्नेतको उपस्थिति रहेको थियो । सहमती अनुसार प्रदेश सरकारका तर्फबाट सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ र सोको आधारमा कार्यक्रमगत आवश्यक कार्यविधिहरू तयार गर्ने गराउने, अर्थ मन्त्रालयबाट स्वीकृत बजेट अनुसार समयमै ने.उ.वा. महासंघ÷कृषि उद्यम केन्द्रलाई चौमासिक रूपमा बजेट निकासा गर्ने, कार्यक्रमको अनुगमन निरीक्षण र मुल्याङ्कन गर्ने र आवश्यक सुझाव तथा निर्देशन दिने र कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्ने कुरा उल्लेख रहेको थियो । हस्ताक्षर पछि प्रभावकारी हुने उक्त सहमतीपत्रमा हस्ताक्षर कार्यक्रममा प्रदेश सरकार र महासंघका तर्फबाट प्रदेशको आर्थिक विकासमा सरकार र निजी क्षेत्रलाई सार्वजनिक निजी साझेदारी अनुरुप अगाडी बढाउन यो सहमती कोशेढुंगा हुने विश्वास सहित सहमतीपत्रमा उल्लेखित ब“ुदाहरूलाई आ–आफ्ना तर्फबाट अक्षरश पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मार्जिन कारोबारको ढोका खुल्दा ब्रोकर र लगानीकर्तामा उत्साह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको ढोका खोलिदिएपछि ब्रोकर र लगानीकर्ता उत्साहित भएका छन् । स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले मार्जिन कारोबारले सेयर बजारमा सकारात्मक सन्देश दिने बताए । ‘हामीले लामो समयदेखि मार्जिन कारोबार मागिरहेका थियौं, अब कार्यान्वयनको चरण आरम्भ भएको छ, यसले बजारमा सकारात्मक प्रभाव पार्छ’, रानाभाटले भने । सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले पनि मार्जिन कारोबारले बजारमा राम्रो प्रभाव पर्ने धारणा राखे । ‘यो सेयर बजारका लागि सुखद सन्देश हो, अब बजारमा राम्रो प्रभाव पर्छ’, फुल्लेले भने । नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले पनि मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनले सेयर बजारमा उत्साह थपिने बताए । यद्यपी, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मार्जिन कारोबारका लागि बाटो खुलाउनै बाँकी रहेको उनले बताए । ‘मार्जिन कारोबार कार्यान्वयनमा आउँदा बजारलाई राम्रो गर्छ, अब केन्द्रिय बैंकले चाँडै बैंकलाई अनुमति दिनु पर्छ’, फोरमका महासचिव लम्सालले भने । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रवक्ता मराहरी पराजुलीले मार्जिन कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि नेप्से तयारी अवस्थामा बसेको बताए ।‘कार्यबिधी अनुसारको तयारी नेप्सेले गरेको छ, बोर्डको पत्रको पत्र आएपछि कार्यान्वयनमा जान्छौं ।’, नेप्सेका प्रवक्ता पराजुलीले भने । तारा प्रसाद फुल्लेल, उपाध्यक्ष, सेयर लगानीकर्ता संघ ढिलै भए पनि मार्जिन कारोबार सम्बन्धी धितोपत्र बोर्डको निर्देशन राम्रो आयो । बजारलाई ब्याजदर छोड्ने कुरा पनि ठिक छ । यो मार्जिन कारोबारको सुरुआती चरण हो । यसलाई समयसँगै विकास गर्दै जानुपर्छ । समझदारीमा ब्याजदर तोक्ने कुराले ब्रोकरको मनोमानी भयो भने धितोपत्र बोर्डले हस्तक्षेप गर्ने भनेको छ । समयसँगै यसका प्रावधानहरुलाई परिमार्जन गर्दै जान सकिन्छ ।। मार्जिन कारोबारबाट बजारमा राम्रै प्रभाव पर्छ । पाँच करोड चुक्ता पुँजी भएका ब्रोकरले त्यसको दुई गुणासम्म मार्जिन कारोबार गर्न पाउने भन्ने व्यवस्था छ । ब्रोकरहरुको क्षमता बढाउँदै यसको दायरा पनि बढाउँदै लैजानुपर्छ । राजन लम्साल, महासचिव, नेपाल इन्भेष्टर्स फोरम मार्जिन कारोबार भनेको बजारका लागि नयाँ अवसर हो । यसले लगानीकर्ताको मनोवल बढाउँछ । तर बजारमा तरलताको चरम अभाव भैरहने अवस्था छ । बैंकहरुले ब्रोकरलाई कति पैसा दिन सक्छन भन्ने ठेगान छैन् । फेरी ब्रोकरहरुले पनि केहि मार्जिन त राख्नै पर्छ । बजारमा पर्याप्त तरलता भयो भने चाँही यसले राम्रै काम गर्छ । तै पनि मार्जिन कारोबारले सेयर बजारका लगानीकर्ताको मनोबल बढाउन भने राम्रै भूमिका खेल्छ । भरत रानाभाट, अध्यक्ष, स्टक ब्रोकर एसोसियसन अफ नेपाल मार्जिन कारोबार त हामीले धेरै समय पहिलेदेखि मागिरहेको कुरा हो । धितोपत्र बोर्डले बाटो खोलिदिएको छ । नेपाल राष्ट्र बैंक त पहिले देखि नै सकारात्मक नै थियो । बजारले ब्याजदर तोक्ने कुरा झनै राम्रो हो । यसले बजारलाई समयको आवश्यकता अनुसार विकास गर्दै लैजान सहयोग गर्नेछ । मार्जिन कारोबार कार्यान्वयनमा आएको दिन देखि बजारमा राम्रो सन्देश जान्छ । बजारमा लगानीका लागि थप पुँजी उपलब्ध हुन्छ ।

विश्वभर १ करोड पुगे पल्सर मोटरसाइकलका प्रयोगकर्ता

काठमाडौं । विश्वभर पल्सर प्रयोगकर्ताको संख्या १० मिलियन (१ करोड) पुगेका छन् । सन् २००१ मा भारतीय बजारबाट प्रवेश गरेको पल्सर हाल सबैको लोकप्रिय साधन बनेको छ । सन् २०१८ पल्सरका लागि निकै उत्कृष्ट वर्ष रह्यो किनभने यसले पावरफुल र आधुनिक पल्सर एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको थियो । नेपालको जनसंख्यामा आधाभन्दा बढि हिस्सा ओगटेका यूवाहरु पल्सर प्रति आकर्षित भएका छन् । भौगोलिक हिसाबले हिमाल, पहाड र तराईमा विभाजन भएको कारण पनि २ पाङग्रे सवारी साधनको सम्भाव्यता बढि रहेको नेपालमा यूवाहरुले पल्सरलाई रुचाए । आधुनिक डिजाइन र उच्च प्रदर्शन, एचएचबजाज मार्फत सहज पहुँचले गर्दा ८८3s (सेल्स, सर्भिस र स्पेयर) डिलर र २ सय ५०भन्दा बढि सेवा सहितका स्पेयर सेन्टरले गर्दा पल्सरले अन्य बाइक भन्दा बढि लोकप्रियता कमायो । यो पल्सरका लागि नेपाल र भारतमा सफलता र नेतृत्वको अविश्वासनीय यात्रा समेत रहन पुगेको थियो । अहिले नेपालमा मात्र नभएर संसारमा ३० भन्दा बढि देशका ग्राहकहरुको पल्सरप्रतिको लगावकै कारण यसले १० मिलियन सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बन्न पुगेको छ ।

मूल्य निर्धारण गर्दैनौँ, तर सीमा तोक्दैछौँः महानिर्देशक गौचन

काठमाडौँ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक योगेन्द्र गौचनले मूल्य निर्धारण गर्ने काम आफूहरुको नभएको बताएका छन् । कन्जुमर आई नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा महानिर्देशक गौचन भने–हामीले बजारमा भएका मिसावट र मूल्यका विषयमा मात्रै अनुगमन गर्ने हो, मूल्य तोक्ने हाम्रो काम होइन । मूल्य निजी क्षेत्रले नै निर्धारण गर्छ, मूल्य निर्धारण गर्न केही सीमाहरु बनाइरहेको उनले बताए । उनले भने–अब निजी क्षेत्रले त्यही सिमामा रहेर मूल्य निर्धारण गर्नु पर्छ । रेष्टुरेन्ट तथा बारहरुले लिंदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको स्वागत कार्यक्रममा कन्जुमर आई नेपालकी अध्यक्ष बिमला खनालले भनिन्–‘होटल रेष्टुरेन्टबाट बस्तु तथा सेवा उपभोग गरे वापत लाग्ने १० प्रतिशत सेवा शूल्क हटाउने निर्णय स्वागत योग्य छ ।’ छलफल कार्यक्रममा युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले श्रमिक र होटल मालिकबीच भएको समस्या समाधानका लागि युवा संघले सहकार्य गर्ने बताए ।

कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार-अध्यक्ष ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा व्यक्त गरेका हुन् । सङघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आगमनमा सम्पन्न उक्त कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए । ढकालले रोल्पाको भु–भागमा पाइने बहुमुल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताए । जलविद्युत उत्पादन गरि रोल्पाको आर्थिक विकासमा टेवा पुर्याउन सकिने उल्लेख गरेका छन् । रोल्पाली जनताको मुख्य आयस्रोत रेमिटेन्स भएकाले गाउँगाउँमा आइएमईको सेवा पुर्याउने बताए । त्यस्तै लिवाङ्ग र सुलिचौरमा सम्पुर्ण बैकिङ सेवा सहितका शाखा र घर्तिगाउँमा एक्स्टेन्सन काउण्टर सहित ग्लोबल आईएमई बैंकले सेवा प्रदान गर्दै आएको छ भने छिट्टै होलेरीमा एक्सटेन्सन काउण्टर थवाङ्ग,सिर्प,तेवाङ्ग र इरिबाङ्ग लगायतका क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा शीघ्र पुर्याउने उद्देश्य सहित काम अगाडी बढेको जानकारी गराउन गराउँदै यसबाट समग्र रोल्पाको बित्तीय र रेमिटेन्स सेवा पुर्ती गर्न आइएमई ग्रुप सफल रहेको विश्वास गरेका थिए । आईएमई ग्रुपको मुख्य प्रायोजनमा शरु भएको महोत्सवको उद्घाटन सत्रमा आइएमई ग्रुपका जनसम्पर्क ब्यवस्थापन प्रमुख राजु पौडेलको समेत उपस्थिति रहेको थियो । सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

भटमास खरिद गर्न चीन तयार भएपछि ट्रम्पले भने-व्यापार वार्तामा प्रगति भो

वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरुले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो । आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीया सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ । दुबै देशका व्यापार प्रतिनिधिबीच वासिङट्न डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेखेको पत्र निकै स्वागतयोग्य रहेको पनि बताए । चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुबै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा “महत्वपूर्ण प्रगति” भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधिमण्डल वासिङ्टन आएको छ । अर्थशास्त्रीहरुको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्र चिनियाँ प्रमण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीया राष्ट्रपतिले दुबै मुलुकबीचको सम्बन्ध अहिले “गम्भीर मोडमा” आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुबै मुलुकले मिलेर कार्य गरिने उल्लेख छ । जवाफमा राष्ट्रपति ट्रम्पले दुबै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताए । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गर्नेछन् । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीया राष्ट्रपतिलाई भेट्ने बताएका छन् । त्यसपछि दुबै मुलुकबीच व्यापार सम्झौता हुनेछ । “सहमतिका बुँदाहरुलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,” राष्ट्रपति ट्रम्पले बताए । चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ । गत वर्ष, वासिङ्टन र बेइजिङले एकअर्का मुलुकका ३६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए । चिनीया गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापार युद्ध नै शुरु गरेका थिए । व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौं । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।” यसैबीच, चिनियाँ वार्ता टोलीको नेतृत्व गरिरहनुभएका चिनीया उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गरेका छन् । उनले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका थिए । जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुशी हुने बताए । बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ । रासस/एएफपी