विकासन्युज

टाटा हिटाचीको पार्टस् मेला ८ गतेसम्म संचालन गर्ने

काठमाडौं । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रा. लि. ले आगामी मंसिर ८ गतेसम्म पार्टस् मेला संचालन गर्ने भएको छ । कम्पनीले मंसिर १ गतेदेखि नै देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा उक्त मेलाको आयोजना गरेको थियो । पार्टस् मेलामा टाटा हिटाचीका ग्राहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा छुटको व्यवस्था गरीएको कम्पनीले जनाएको छ । साथै, मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने ग्राहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गर्ने छन् ।

ज्योति लाईफ इन्स्योरेन्सको बीमा कोष ३०५ प्रतिशतले वृद्दि, बीमा शुल्क साढे २७ करोड नाघ्यो

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले गत तीन महिनामा जीवन बीमा कोष ३०५ प्रतिशतले वृद्दि गरेकाे छ । इन्स्योरेन्सले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीकाे जीवनबीमा कोषमा ९१ करोड ४६ लाख रुपैयाँ रहेकाे छ । इन्स्योरेन्सले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बीमा शुल्क १२४ प्रतिशतले वृद्धि गरी २७ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । साथै, कम्पनीले दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः ३५ प्रतिशत र १७ प्रतिशतले वृद्धी गरेको छ । त्यस्तै, इन्स्योरेन्सका अनुसार कम्पनीले असोजसम्ममा नाफामा २५ प्रतिशतले वृद्धी गर्दै ३ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले पहिलो त्रैमासमा जगेडा कोषमा समेत ७३ प्रतिशतले वृद्धी भइ २४ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ । जीवनबीमा कोष ३०५ प्रतिशतले वृद्दी भइ ९१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बीमा कोषलाई लिइन्छ । जसको कारणले बीमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पार्ने र कम्पनीको बोनसदर आकर्षक हुन गई आगामी दिनमा ज्योति लाइफका बीमितहरु लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको पछिल्लो दुइ वर्षको तथ्याङ्क हेर्दा जीबन बीमाको पहुँच करिब २० प्रतिशतको जनसंख्यामा पुगेको देखिन्छ । दुइ वर्षको अवधिमा बीमालेख लिनेको संख्या दोब्बरभन्दा बढीले वृद्दी भएको छ ।

सिराहाबाट आयल निगमको ट्यांकर अपहरण, छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको छ । सोमबार राति ट्यांकर अपहरणमा परेको हो । आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सोमबार राती १ बजे  अपहरणमा परेको बताए । २० हजार लिटर डिजल लिएर विराटनगर जाँदै  गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको हो । नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।  निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । समितिमा अमलेखगन्ज डिपो, विराटनगर ढुवानी व्यवसायीका प्रतिनिधि र आयल निगमको केन्द्रीय कार्यालयका एक/ एक जना प्रतिनिधि तोकिएका छन् । उनीहरुलाई प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ । सोमबार राति खाना खाएर ट्याकंर चालक रामदेव यादव र सह चालक उमेश यादव ट्यांकरमा सुतेका थिए । उनीहरू सुतिरहेकाे अवस्थामा  मुखमा पट्टी बाँधेर आएका ६/७ जना नकाबधारी समूहले चालक र सहचालककाे आँखामा पट्टी बाँधेर अपहरण गरेकाे जनाइएकाे छ । उनीहरूका अनुसार  अपहरणकारीले उनीहरूलाई  जीपमा राखेर बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेका थिए । निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा सम्झौता भई सञ्चालनमा आएको सो ट्याङ्कर अज्ञात समूहले नै चलाएर लगेको प्रारम्भिक अनुमान गरिएको निगमले जनाएको छ । अहिले  ट्याकंर  मालिक राजेश कुमार गुप्ता, चालक रामदेव यादव र सह चालक उमेश यादव प्रहरीकाे नियन्त्रणमा रहेकाे पाैडेलले बताए । ट्याकंर अपहरण हुनु देशकै सुरक्षा अवस्थामाथि ठाडाे चुनाैती भएकाे उनी बताउँछन् ।

हेटौंडाबासीको आगनमै विमानस्थल, ३५० विगाहमा निर्माण हुने भएपछि स्थानीय हर्षित

काठमाडौं । हेटौंडाकाे बसामाडीमा नयाँ विमानस्थल बन्ने भएकाे छ । प्रदेश तीन सरकार र  स्थानियतहले विमानस्थल निर्माणमा सक्रियता देखाएसँगै विमानस्थल बन्ने भएकाे हाे । हाल जिल्लाकाे हेटौंडा उपमहानगरपालिका वडा नं ३ को बसामाडीमा निर्माण हुने विमानस्थलकाे सम्भाव्यता अध्ययन भइरहेकाे छ । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेश ३ का मुख्य सचिव तोयम राय र प्रविधिक टोलीले ३ महिनाअगाडि नै विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । उनीहरूले विमानस्थलकाे निरीक्षण गरसँगै काम अघि बढाउन पहल गरेकाे बताएका छन् । निरीक्षणमा रहेकाे प्राविधिक टाेलीले युनिलिवर कम्पनीको उद्योगबाट दक्षिण तर्फ र राप्ती खोलाको किनारामा रहेको बगर क्षेत्रलाई तटबन्ध गरी विमानस्थल निर्माण गर्ने सकिने बताएकाे थियाे ।प्रविधिक तथा विज्ञ टोलीले आसपासका क्षेत्रमा खेतीयोग्य जमिन नभएकोले विमानस्थल निर्माणका लागि राम्रो हुने बताएकाे छ । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले  विमानस्थल निर्माणको लागि उपयुक्त देखिएपछि विमानस्थल निर्माणकाे प्रक्रिया अगाडि बढाएका छन् । प्रदेश सरकारले विमानस्थल निर्माणको लागि पहल सुरु गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताए । हाल पूर्व पर्श्चिम राजमार्गको दक्षिणतर्फ रहेको करिब ३ सय ५० विगाह जमिनमा आन्तरिक विमानस्थल निर्माण सम्भाव्यता अध्ययन भइरहेको छ । यस्तै हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले विमानस्थल निर्माणको लागि माटो परिक्षण हुने क्रममा रहेको बताए । उनले विमानस्थल निर्माणमा कति लागत लाग्छ भन्ने कुरा केही दिनमै टुङ्गाे लाग्ने जानकारी दिए । हाल हेटाैंडाबसीले सिमारा विमानस्थल र चितवनकाे विमानस्थल प्रयाेग गर्दै  आएका छन् । उक्त विमानस्थल निर्माण भएसँगै उनीहरूले १/२ घण्टा लगाएर हवाई सेवा लिने अवस्था हट्नेछ । प्रदेश राजधानीमा विमानस्थलको आवश्यक रहेकोले प्रदेश सरकार र स्थानीय सरकारको सक्रियतामा विमालस्थल निर्माण गर्न लागेको हो । हेटौंडा उपमहानगरपालिका ३ का वडा अध्यक्ष रामकुमार पुडासैनीले  विमानस्थलको लागि चाहिने ३ सय ५० विगाह जग्गा सर्वाजनिक भएकाले पनि निर्माणका लागि सहज र सरल हुने बताए । बाढी आउने बगरलाई तटबन्ध निर्माण गरी उपयोगविहिन जग्गालाई भरपुर उपयोग गर्न सकिने स्थानीयको भनाइ छ । विमानस्थल निर्माण हुने भएसँगै स्थानियहरू खुसी भएका छन् ।

प्रत्येक ११ व्यक्तिमध्ये एक जनामा मधुमेह, विश्वमा मृत्‍यु हुने प्रमुख कारण मध्ये एक

काठमाडौं। आजभोलि कम उमेरका मानिसमा पनि मुटुरोग, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु लाग्न थालेको छ। “त्यसका कारणहरू हाम्रै हातमा छन्”, जनस्वास्थ्य विज्ञहरु भन्छन्, “हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन्। हाम्रो आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने र अर्को ठूलो समस्या तयारी खानेकुरा रहेको हो।” उनका अनुसार जीवनशैलीसँग जोडिएका कुराहरू सबै मधुमेह रोगसँग मात्रै नभई मृत्युको जोखिम निम्त्याउने अरू कारणसँग पनि अन्तरसम्बन्धित छन्। सन् २००५ मा मृत्युका प्रमुख कारणमध्ये ११ औँ स्थानमा रहेको मधुमेह सन् २०१६ मा छैटौँ स्थानमा उक्लेको एक अध्ययनले देखाएको छ। हामीलाई थाहा छ सानैदेखि ‘ब्यालेन्स डाइट’ (सन्तुलित भोजन) गर्नुपर्छ भनेर सबैले पढ्दै आएको हो। तर ‘सन्तुलित भोजन’ ग्रहण नगरेका कारण मानिस विभिन्न रोगबाट ग्रसित हुँदै आएको छ। मीठोमीठो खानेकुरा खाने नमिठो नखाने मानिसको प्रवृत्ति, उसको कार्यव्यस्तताआदि कारणले अस्वस्थ्यकर खाना खाइरहेका छन्। हाम्रो समाजमा पनि केही दशकदेखि मधुमेह एक जटिल तथा घर–घरका समस्याका रुपमा विस्तार हुँदै आएको छ। नेपाल मधुमेह समाज स्थापनाको ५० वर्षमा मधुमेहका रोगी घट्नुको साटो बढ्दै गएको छ। अङ्ग्रेजी भाषामा ‘डाइबिटिज’ भनिने यस रोगलाई नेपालीमा ‘मधुमेह’ वा ‘चिनी रोग’का रुपमा चिनिन्छ। नेपाल मधुमेह समाजका अनुसार विश्वका प्रत्येक ११ व्यक्तिमध्ये एक जनामा मधुमेह रोग लागेको पाइएको छ । मधुमेहका कारण प्रत्येक ६ सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको छ । सन् २००० मा विश्वमा मधुमेहीको सङ्ख्या रु १७ करोड १० लाख रहेकामा सन् २०१७ को अन्तसम्ममा यो सङ्ख्या बढेर ४२ करोड ४८ लाख पुगेको छ। चिकित्सकका अनुसार भारत र चीनमा सबैभन्दा बढी चिनी रोगी (मधुमेह) छन् । नेपालमा ४० वर्षमाथि उमेरका तीन जनामध्ये एकजनामा सुरुवाती मधुमेह हुने गर्दछ । काठमाडौँमा गरिएको सर्वेक्षणमा ६० वर्ष उमेरमाथिका चार जनामध्ये एक जना यो रोगबाट ग्रसित रहेका छन्। हालसम्म नेपालमा नौ लाख मानिस मधुमेहबाट प्रभावित रहेको तथ्याङ्क छ । मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठका अनुसार मानिसको शरीरभित्र रहेको प्याङ्क्रिज नामक अङ्गले नियमितरुपमा ‘इन्सुलीन’ निकाल्ने काम गर्दछ । यही ‘इन्सुलीन’ मार्फत व्यक्तिको शरीरभित्र रहेको चिनी शोषण गरी रक्तनलीमार्फत शरीरका विभिन्न अङ्गभित्र पठाउँछ । इन्सुलीनले प्रभावकारी अथवा राम्ररी काम गर्न नसकेको अवस्थामा शरीरभित्र रहेको चिनी रक्तनलीको कोसिकामा पस्न नसकी शरीरमा रहेको रगतमा चिनी जम्मा हुनुलाई नै चिकित्सकको भाषामा ‘डाइबिटिज’ (मधुमेह) भनिन्छ। डा श्रेष्ठ भन्छन्, “प्याङ्क्रिजले पर्याप्त इन्सुलीन नबनाउने र लिभरले सुगर (चिनी) बढी निकाल्ने (फाल्ने) ‘डाइबिटिज’को शुरु लक्षण हो। यस्तो अवस्थामा चिनी रगतमा जम्मा भई लिभरले रगतमा चिनी नै चिनीले भरि दिने काम गर्दछ।” मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार कार्बोहाइड्रेटले इन्सुलीन बढी निकाल्ने तथा मानिसले दिनदिनै भात खाँदा दैनिक इन्सुलीन निकाल्छ। विश्वमा सन् १९७० पछि डाइबिटिज महामारीको रुपमा शुरु भयो । सन् १९७५/२०१५का बीच विश्वमा मोटोपना २.७८ प्रतिशतले वृद्धि भयो । वंशाणुगत गुणका कारण पनि मधुमेहको रोगी बढेको पाइन्छ। हाडजोर्नी विशेषज्ञ शैलाज रञ्जीतकारले भने,“हाम्रो शरीरमा रगत जाने नशा टाउकादेखि पैतालासम्म फैलिरहेका हुन्छन् । मानिसको खुट्टामा डाइबिटिज भयो भने खुट्टामा इन्फेक्सन हुने, हड्डी बिग्रने हुन्छन्। त्यसकारण बिरामी सतर्क हुनुपर्छ र समयमा नै चिकित्सक कहाँ पुग्नुपर्छ । उहाँका अनुसार मानिसको पाइतालामा धेरै स–साना हड्डी हुन्छ। नशामा रगतको आपूर्ति राम्रो भएन भने सङ्क्रमण हुन्छ र रगत जाने नशालाई सङ्क्रमणले खाइदिन्छ।” तिलगङ्गा अप्थाल्मोलोजी इन्ष्टिच्युटका नेत्ररोग विशेषज्ञ इलि प्रधानले हरेक व्यक्तिले समयसमयमा आँखाको जाँच गर्नुपर्नेमा जोडदिँदै विश्वका आँखा रोगीमध्ये ५ प्रतिशत मधुमेहका कारण सदाका लागि आँखाको दृष्टि गुमाउने गरिएको जानकारी दिए। आँखाका रोगी समयमा नै अस्पताल पुगेर चिकित्सा सेवा लिएमा ९० प्रतिशत आँखाका ज्योति बचाउन सक्ने बताउँदै उनले ढिलो गरी अस्पताल पुगेका बिरामीको आँखाको दृष्टि बचाउन नसक्ने बताए । उनले चस्माको पावर छिटोछिटो बढ्नुका कारणमा मधुमेहको लक्षण पनि भएको बताए। चिकित्सकहरूका अनुसार, विलासी जीवनशैली र खानपानमा गरिने लापर्बाहीका कारण मधुमेहसँग सम्बन्धित समस्या बढेका छन्। खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठ भन्छन्, “कारणहरू हाम्रै हातमा छन् । हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन् । हाम्रो आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने र अर्को ठूलो समस्या तयारी खानेकुरा हो।” मानवशरीरमा पोषण प्रदान गर्ने खालका खानाका लागि प्रयोगमा आउने सबै प्रकारका वस्तुलाई खानाकारुपमा खाद्यप्रविधिले परिभाषित गरेको उनले बताए। मानिसले खाने भात तथा रोटीमा कार्बोहाइड्रेट हुने र यसबाट ग्लुकोज निर्माण गर्ने जानकारी दिँदै प्याङ्क्रिजबाट इन्सुलीन तयार हुने उनले जानकारी दिए। हाम्रो जीवनशैलीमा आएको परिवर्तनका कारण मम, चाउमिन, चाउचाउ, बिस्कुट तथा पिज्जा, कटिरोलजस्ता आकर्षक खाद्यवस्तुको प्रयोगमा वृिद्ध हुँदै आएको छ। यसले मधुमेह रोग बढाउनमा सहयोग गर्छ। त्यसैले हरेक व्यक्तिले खानपानमा परिवर्तन ल्याउन आवश्यक भएको स्वास्थ्य क्षेत्रका विज्ञले जोडदिँदै आएका छन्। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मधुमेह रोग लागेका व्यक्तिले विशेष गरेर ग्लुकोजयुक्त वा सजिलै ग्लुकोजमा परिणत हुने खालको खानेकुराको सेवनमा कमी ल्याउनुपर्ने सुझाव दिन्छन् । त्यस्तै कोलेष्ट्रोलयुक्त खाना कम गर्ने र रक्तचाप नियन्त्रण गर्नुपर्छ। नेचुरल फुड अर्थात् पोलिस नगरिएका चामल, फलफुल तथा सागसब्जीको प्रयोगलाई बढाउनुपर्छ। मधुमेह भएका मानिसले थोरै थोरै गरेर दिनको ६ पटक खाना खानुपर्ने डाक्टर रेग्मी भन्छन्। किड्नीलाई भार पर्न नदिन प्रोटिन र कार्बोहाइड्रेटको मात्रा मिलाएर खाना खानुपर्छ। प्लान्ट ओरिजिनबाट बनेका तेलमा कोलेष्ट्रोल हुँदैन। एनिमल ओरिजिन फुडमा कोलेष्ट्रोल हुन्छ। मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मधुमेहले शरीरका आन्तरिक अङ्ग आँखा, मुटु, मिर्गाैला तथा दिमागलाई हानी गर्छ भन्ने कुरा धेरैलाई थाहा नभएको बताउँदै रक्तचाप, मोटोपन आदि मधुमेहसँग जोडिएर आउने रोग भएको बताए। उनका अनुसार मधुमेहले व्यक्तिको शरीरभित्र रहेको रगतलाई बाक्लो बनाइ दिन्छ। यसले रक्तनलीको भित्री भागलाई विगारी दिने तथा रक्तनलीमा कोलेष्ट्रोल डिपोजिट गरिदिन्छ। व्यक्तिले आफनो जीवनशैलीमा सुधार गर्नुपर्ने सल्लाह दिँदै उहाँले सन्तुलित भोजन (जसमा क्यालोरीको मात्रा फिक्सड हुनुपर्छ ), दैनिक ६० मिनेट ब्यायाम, धूमपान गर्न नहुने, तौल घटाउने तथा स्ट्रेस म्यानेजमेन्ट। चिकित्सकका अनुसार के खान हुन्छ के खान हुँदैन् : अण्डा–व्यक्तिले अण्डाको पहेँलो भाग (कोलेष्ट्रोल) खान हुन्छ। व्यक्तिले खाद्यवस्तुको प्रयोग गरी खाएको कोलेष्ट्रोलको २० प्रतिशत मात्र रगतमा जम्मा हुनजान्छ। दैनिक मानिसले प्रयोग गरिने चामल, मैदा, आँपआदिमा कोलेष्ट्रोल हुन्छ । एक स्वस्थ्य व्यक्तिले दिनको एक पहेँलो भागसहितको अण्डा खान सकिन्छ। तर असन्तुलितरुपमा धेरै खान नहुने चिकित्सकको सल्लाह छ। रसबरी–मधुमेह भएका मानिसले पनि मात्रा मिलाएर रसबरी खान मिल्छ । खानै नहुने भन्ने होइन, डा रेग्मी भन्छन्। रातो मासु– सेतो मासु– परिवारमा व्यक्तिले राँगाको मासु (मटन) हप्तामा दुई दिन खान सकिन्छ । तर सेतो मासु भन्दैमा असन्तुलित रुपमा धेरै मासु खाएमा शरीरलाई हानी गर्दछ। घ्यू–घ्यू भातमा अलिकति राखेर खाने गर्नुपर्छ । घ्यूमा तारेर खानु हुँदैन । एक चम्चा घ्यू खान सक्नुहुन्छ । फाइवर प्रसस्त भएको हरियो सागपात खानुपर्छ। रोटी–आटाको रोटीमा अलि कति घ्यू लगाई दियो भने सुगर घटाउँछ । हप्तामा दुई दिन माछा पकाएर खान डा रेग्मीको सुझाव छ। मानिसले रक्सी सेवन गर्दा रगतमा चिनीको मात्रा कम हुन जान्छ । त्यसैले मात्रा मिलाएर थोरै रक्सी सेवन गर्न सकिन्छ।

शरद ऋतुमा ५९ देशका १२ सय आरोहीले लिए आरोहण अनुमति, साढे ६ करोड राजश्व संकलन

काठमाडौं । सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन् । सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन् । आरोहण अनुमति लिएका अधिकांश आरोही गन्तव्यतर्फ लागेका छन् । यो याममा सगरमाथाको आरोहण हुन सकेन । शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको विभागले जनाएको छ । मनास्लु हिमाल आरोहण सकिएको छ भने अहिले अमादब्लम हिमालको आरोहण चलिरहेको विभागले जनाएको छ । कति सङ्ख्यामा आरोही गन्तव्यमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले शरद ऋतुको यो याममा पनि हिमाल आरोहण उत्साहबर्धक रहेको बताइन् । ‘अटम सिजन’ नोभेम्बर महिनाभर हुने भएकाले अझै आरोहीको सङ्ख्या बढ्नसक्ने उनले बताएकी छन् । यो याममा विभिन्न हिमाल तथा हिमशृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लम हिमाल आरोहणका लागि २६ समूहका ३०१ ले आरोहण अनुमति लिएका छन् । शरद ऋतुको हिमाल आरोहणका लागि हालसम्म रु छ करोड ३१ लाख ७१ हजार राजश्व सङ्कलन भएको विभागले जनाएको छ । रासस

१८ योजनामा सङ्घीय सांसदको बजेट बाँडफाँट, प्राथमिकतामा सडक र भवन

परासी । पश्चिम नवलपरासीस्थित सङ्घीय सांसदको बजेटमा सडक र भवन पूर्वाधारले मुख्य प्राथमिकता पाएको छ । सङ्घीय सांसदलाई प्राप्त हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको छ/छ करोड रुपैँयाको बजेट बाँडफाँडको क्रममा यहाँका दुई सांसदले सडकलाई प्राथमिकता दिएका हुन् । क्षेत्र नं– १ बाट निर्वाचित सांसद एवं पूर्वमन्त्री हृदेयश त्रिपाठीले आफ्नो निर्वाचन क्षेत्रभित्रका सबै स्थानीय तहलाई समेटेर १८ वटा योजनामा बजेट बाँडफाँट गरेका छन् । जर्गाहादेखि जिल्लाको पहाडी र विकट क्षेत्र मानिने बर्दघाट नगरपालिका–२ सुखौरासम्मको सडक स्तरोन्नतिका लागि रु एक करोड विनियोजन गरिएको छ । कच्ची सडकका कारण विशेषगरी वर्षातको समयमा सास्ती खेप्दै आएका यहाँका बासिन्दा सडक स्तरोन्नति हुने भएपछि खुशी भएका छन् । सोही सडकको बीचमा पर्ने खोलामा पुल निर्माण गर्न प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले आफ्नो मन्त्रालयबाट रु एक करोड विनियोजन गरेका छन् । पुल र सडकका लागि एकैसाथ बजेट विनियोजन भएपछि सुखौरावासीमा उत्साह छाएको स्थानीयवासी देवान गुरुङले बताए । सोही क्षेत्रमा पर्ने प्रतापपुर गाउँपालिका–५ बड्की बैदौली–श्रीरामपुर–प्रसौनी भन्सारसम्म सडक स्तरोन्नति तथा श्रीरामपुर गाउँ सडक मर्मतका लागि रु ५० लाख, प्रतापपुर–९ अठीलही पुलदेखि प्रतापपुर–२ सोनवर्ष सडक स्तरोन्नतिका लागि रु ५० लाख, सुस्ता गाउँपालिका–४ नर्सही पश्चिम डाँडीदेखि बाँधसम्म सडक स्तरोन्नतिका लागि रु ५० लाख, बर्दघाट–१४ गङ्गाबस्ती–कुकुरमारा वडाकार्यालयसम्म सडक स्तरोन्नतिका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । यसैगरी, सरावल गाउँपालिका–६ वडाकार्यालयदेखि सडक स्तरोन्नतिका लागि रु ३५ लाख, सरावल–७ भुजहवा र भटबलिया टोलको आरसीसी बाटो निर्माणका लागि रु ३५ लाख, सरावल–५ दुवौलिया चोकदेखि धनगढवा बाटो र ढल निर्माणका लागि रु २८ लाख, सरावल–५ दुवौलिया नहरदेखि सरावल–४ ललितपुर सडक स्तरोन्नतिका लागि रु १५ लाख, सरावल–४ पुरनहा अधुरो सडक ढल निर्माणका लागि रु ११ लाख विनियोजन गरिएको सांसद त्रिपाठीले जानकारी दिएका छन् । उनका अनुसार सडकबाहेक बर्दघाट–१३ स्थित नित्यानन्द मावि जहदाको भौतिक पूर्वाधार विकासको लागि रु ५० लाख, प्रतापपुर गाउँपालिकामा सिँचाइ बोरिङ जडानका लागि रु २० लाख, प्रतापपुर–६ कठहवा मुसहर बस्तीको अधुरो आवास आयोजना निर्माणका लागि रु १६ लाख, सुस्ता–१ मुसहर बस्तीको आवास आयोजना निर्माणका लागि रु १४ लाख, सरावल–५ स्थित जनता आधारभूत विद्यालय धनगढवाको भवन निर्माणका लागि रु २० लाख, सरावल–४ बटसारे ललितपुर सामुदायिक भवन निर्माणका लागि रु २५ लाख र सुस्ता–१ छिवनी बगैँचाटोल बालापुरी आमा समूह, रुपौलिया महिला बहुउद्देश्यीय भवन, बरुवा अधुरो भवन र बालपुरी कुटी गेट निर्माणका लागि रु २६ लाख विनियोजन गरिएको छ । पश्चिम नवलपरासीकै क्षेत्र नं–२ बाट निर्वाचित सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको पनि प्राप्त छ करोड रुपैँयाको बजेटबाट १० लाख भन्दामाथिका २९ योजना छनोटमा परेका छन् । यो क्षेत्रमा पर्यटकीयस्थलको विकास, सडक र भौतिक संरचना प्राथमिकतामा परेको छ । जिल्ला समन्वय समितिका अनुसार क्षेत्र नं–२ अन्तर्गत सरावल गाउँपालिकामा रहेको लोपोन्मुख कोलवृक्ष रहेको पर्यटकीयस्थलमा विभिन्न भौतिक संरचना निर्माणका लागि रु ७५ लाख र पाल्ही भगवती मन्दिरमा भौतिक संरचना निर्माणका लागि रु ७५ लाख विनियोजन भएको छ भने रामग्राम नगरपालिकामा पर्ने काडर माईमन्दिर क्षेत्रमा संरचना निर्माणका लागि रु १० लाख विनियोजन भएको छ । सांसद कँडेलका अनुसार सरावल–३ हुलासी–जनकपुर सडक निर्माण तथा स्तरोन्नतिका लागि रु ५० लाख विनियोजन भएको छ । सरावल–२ दडिया दक्षिण गाउँबाटो आरसीसी ढलानका लागि रु १० लाख, पाल्हीनन्दन गाउँपालिका–६ स्थित साविर जोल्हाको घरदेखि मस्जिदसम्मको बाटो आरसीसी ढलानको लागि रु १५ लाख, सुनवल नगरपालिका–६ विसासय गाहा टोलबाटो स्तरोन्नतिका लागि रु १५ लाख, रामग्राम नगरपालिका–१७ स्थित गण्डकबाट विष्णुमार्ग आरसीसी ढलानको लागि रु १५ लाख, रामग्राम–१६ अमहवास्थित वाईपास सडकदेखि दक्षिण गाउँजाने बाटो स्तरोन्नतिका लागि रु १० लाख विनियोजन गरिएको छ । यसैगरी, परासीस्थित डा. विनोद नीता कँडेल आँखा अस्पतालको भौतिक संरचना निर्माणका लागि रु ५० लाख, सुुक्रौली सामुदायिक सिकाइ केन्द्रको अधुरो भवन निर्माणका लागि रु १० लाख, रामग्राम–१८ स्थित रेडक्रस भवन निर्माणका लागि रु १० लाख, रामग्राम–१५ स्थित रामजानकी मन्दिर धर्मशाला निर्माणको लागि रु १० लाख, सुनवल–७ स्थित अस्नैया आदर्श क्याम्पसको भौतिक संरचना निर्माणका लागि रु ५० लाख, सुनवल–१३ स्थित गढमहावीर बौद्ध विहार क्षेत्र भौतिक संरचनाका लागि रु १५ लाख, सुनवल–१२ स्थित योग पतञ्जलि शिविर भवनका लागि रु १० लाख विनियोजन गरिएको छ । सुनवल–१२ मा कर्भड हल निर्माणका लागि रु १५ लाख, सुनवल–१ मा एन्फा फुटवल मैदान निर्माणको लागि रु १५ लाख, सुनवल–२ स्थित ओमकारेश्वर शिवालय मन्दिर क्षेत्रमा भौतिक संरचना निर्माणका लागि रु १० लाख, सुनवल–८ स्थित विश्वकर्मा बाबा मन्दिरको भौतिक संरचना निर्माणका लागि रु १० लाख, सुनवल–४ स्थित कैलाशेश्वर शिवालयमा भौतिक संरचना निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ । पाल्हीनन्दन–२ स्थित महायोगी गुरु गोरखनाथ मन्दिरमा संरचना निर्माण, पाल्हीनन्दन–५ स्थित भगतपुर कवरीस्तानमा संरचना निर्माण, पाल्हीनन्दन–१ स्थित मस्जिदको भौतिक संरचना निर्माणका लागि रु दश÷दश लाख विनियोजन गरिएको छ भने पाल्ही बहुमुखी सहकारीको भवन निर्माण, महेन्द्र मावि अधुरो भवन, सरावल–३ अधुरो धर्मशाला निर्माण, पाल्हीनन्दन–३ स्थित मदरसा भवन निर्माणको लागि रु १५÷१५ लाख विनियोजन गरिएको छ । पाल्हीनन्दन–३ स्थित सेमरहवा बाबा मन्दिर धर्मशाला निर्माणका लागि रु २० लाख विनियोजन गरिएको छ । क्षेत्र नं– १ मा सांसद त्रिपाठी संयोजक र निर्वाचन क्षेत्रभित्रका स्थानीय तह प्रमुख, जिसस प्रमुख÷उपप्रमुख सदस्य र जिल्ला समन्वय अधिकारी सदस्य–सचिव रहने परमर्श समितिको सिफारिसमा सांसद त्रिपाठी नै संयोजक र राष्ट्रियसभा सदस्य रामलखन हरिजन सदस्य र जिल्ला समन्वय अधिकारी सदस्य–सचिव रहेको निर्देशक समितिले उक्त योजना स्वीकृत गरेको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले जानकारी दिएका छन् । क्षेत्र नं–२ मा सांसद कँडेल संयोजकत्वको परामर्श समितिको सिफारिसमा सांसद कँडेल नै संयोजक र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहेको निर्देशक समितिले योजना स्वीकृत गरेको हो । दुवै सांसदले जिल्ला समन्वय समितिको रोहबरमा योजना छानेका हुन् । रासस

विद्युत् चुहावट गर्ने १४ जना पक्राउ

जलेश्वर । नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ । जिल्लामा विद्युत चुहावट बढी भइरहेकोप्रति नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले चुहावट नियन्त्रण अभियान चलाएपछि १४ जनालाई पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । विद्युत कार्यालयको चुहावट नियन्त्रण अभियान टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीको सहयोगमा १४ जनालाई पक्राउ गरिएको हो । टोलीले तीन थान पानी तान्ने मोटर, एलएडी टिभी एक थान, रेफ्रिजरेटर एक थान र तार १५० मिटरसमेत बरामद गरेको जनाइएको छ । विद्युत् चुहावट गर्दागर्दै पक्राउ परेका १४ लाई जरिवाना गरी छाडिने विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले जनाएको छ । रासस