विकासन्युज

साताको शेयर बजारः ४४ लाख ६६ हजार कित्ता खरिद बिक्री, एक अर्ब २९ करोडको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झर्यो । स्टकका अनुसार सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको दोस्रो दिन कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुग्यो । सो दिन कूल १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए । साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०।९९ विन्दुमा झ¥यो । सो दिन कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भए । बुधबार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ४ विन्दुले घटेर एक हजार १६० दशमलव ५९ विन्दुमा कायम रह्यो । सो दिन कूल १६८ कम्पनीको पाँच लाख ७२ हजार ७७५ कित्ता शेयर १९ करोड २० लाख ९४ हजार ४९२ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको अन्तिम दिन बिहिबार कूल १६८ कम्पनीको नौ लाख सात हजार ३१४ कित्ता शेयर रु २७ करोड ३३ लाख ८७ हजार ४४३ मूल्यमा खरिद बिक्री भयो । सो दिन नेप्से परिसूचक १.०४ विन्दुले बढेर एक हजार १६१.६३ विन्दुमा कायम भइ बजार बन्द भएको छ । रासस

गुणस्तर प्रमाण चिह्न बिना ग्याँस उद्योग सञ्चालन, तत्काल लिन निर्देशन

बनेपा । जिल्ला अनुगमन समितिले जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल आयल निगमका उपनिर्देशक प्रलयङ्कर आचार्य र नेपाल गुणस्तर तथा नापतौल विभागका केमिस्ट इञ्जय मानन्धर र बनेपा नगरपालिकाको प्रतिनिधिसहितको टोलीले काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वरी ग्यास उद्योग, सूर्य ग्यास उद्योग र उग्रचण्डी ग्यास उद्योगमा अनुगमनको क्रममा गुणस्तर तथा नापतौल विभागबाट लिनुपर्ने गुणस्तर प्रमाण चिह्न नलिएको पाइएकोमा तत्काल प्राप्त गर्ने प्रक्रियामा लाग्न निर्देशन दिएको हो । सो क्रममा उद्योगमा काम गर्ने कर्मचारीलाई प्राविधिक तथा सुरक्षा तालिम नदिएको, वितरक, विक्रेताको सङ्ख्या ठेगाना र विवरण नराखेको, चालू वर्षमा प्रयोग अवधि समाप्त हुने सिलिण्डरको सङ्ख्या विवरण अद्यावधिक नराखेको लगायतका पाइएकाले त्यसलाई छ महिनाभित्रमा व्यवस्था गरी जानकारी गराउनसमेत उद्योगलाई निर्देशन दिएको छ । जिल्लामा सञ्चालित पाँच वटा ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योग र भैँसेपाटीमा रहेको गौरीशङ्कर ग्यास उद्योगले मात्रै गुणस्तर प्रमाण चिह्न प्राप्त गरिसकेको जनाएको छ । सगरमाथा ग्यास उद्योगले सगर ब्राण्डको सिलिण्डर र गौरीशङ्कर ग्यास उद्योगले हिमाल ब्राण्डको सिलिण्डर बजारमा ल्याएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागका केमिष्ट इञ्जय मानन्धरले म्याद नाघेको सिलिण्डर बाहिर उपभोक्तामा पठाएको पाइएमा कारवाही गर्ने बताए ।

नेपाल बैंकको नाफा ६ करोडले ओरालो, सिडी रेसियो ७१.४७ प्रतिशत मात्रै

काठमाडौं । नेपालको बैंकको नाफा ६ करोडले ओरालो लागेको छ । २०७४ पुसमा १ अर्ब ६३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १ अर्ब ५७ करोडमा झरेको हो । बैंकले १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेर जम्मा ८५ अर्ब मात्रै ऋण लगानी गरेको छ । नेपाल बैंकको सिडी रेसियो जम्मा ७१.४७ प्रतिशत मात्रै रहेको छ । बैंकले असोजदेखि पुस मसान्त अवधीमा १२ अर्ब निक्षेप बढाएर ६ अर्ब कर्जा लगानी वृद्धि गरेको छ । असोजमा ९३ अर्ब रहेको निक्षेप पुसमा १ खर्ब ५ अर्ब पुर्याएको हो भने ७९ अर्बको कर्जा लगानीलाई ८५ अर्ब बनाएको हो । ९ अर्ब ९१ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा १९ अर्ब ६५ करोड रुपैंयाँ रहेको छ । बैंकले ३ अर्ब १६ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा २.७४ प्रतिशतमा झरेको छ भने आधार ब्याजदर ६.०६ प्रतिशत रहेको छ । नेपाल बैंकको स्प्रेड दर ४.९९ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ३.५८ प्रतिशत रहेको छ । नेपाल बैंकको प्रति सेयर आम्दानी भने ३३.८७ रुपैंयाँ रहेको छ ।

नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायो, वाइड बडी जहाजबाट उडान भर्ने

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान सञ्चालनको अनुमति प्रमाण-पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ-ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले करीब आठ महिनाअघि भिन्न मितिमा दुई वाइड बडी जहाज खरिद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ । नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो । नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले उल्लेख गरे । ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ । निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ । निगमले आगामी फागुन १५ गतेसम्म जापान उडान शुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान शुरु गर्न करीब एक महीना लाग्ने जनाएको छ । त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यसहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । जापान र चीनका दुबै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् । निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ । निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् । रासस

सहयोगी विकास बैंकको नाफा २९१ प्रतिशतले बृद्धि

जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आव २०७५/०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको हो । बैंकले गत त्रैमासिक २०७५/०७६ मा असोज मसान्तमा भन्दा दोश्रो त्रैमासिकमा ११६.९८ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल छ । बैंकको ०७४÷०७५ को असोज मसान्त सम्ममा १ करोड भन्दा बढी घाटा व्यहोर्नु परेको थियो । बैंकले पहिलो त्रैमासिकमा अघिल्लो सोही महिनाको तथ्यांकमा पनि ३०० प्रतिशतले बृद्धि गर्न सफल भएको थियो । बैंकले गत अवधिको तुलनामा यस बर्ष निक्षेप तथा कर्जा लगानीमा पनि बृद्धि गरेको छ । बैंकले निक्षेपमा २५.८२ प्रतिशतले बृद्धि गरेको र कर्जा लगानीमा २४.२२ प्रतिशतले बृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल बताए । जसमा गत बर्षको तुलनामा खुद नाफालाई १५ प्रतिशतले बृद्धि गरेको छ । गत बर्ष २०७४/०७५ को यही अवधिमा निक्षेप ३ अर्ब ४५ करोड ४६ लाख ६९ हजार थियो भने यस बर्षको सोही अवधिमा ४ अर्ब ३४ करोड ६८ लाख सम्म पुर्याउन बैंक सफल भएको छ । त्यसैगरी लगानी तर्फ २ अर्ब ८४ करोड ८८ लाख ७१ हजार प्रवाह गरेको थियो भने यस बर्षको सोही अवधिमा बढाएर ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार पु¥याउन सफल भएको छ । बैंकको व्याज आम्दानीमा सामान्य बृद्धि भएपनि बैंकले ‘एभरेज इन्ट्रेस्ट स्प्रेड’ दर ५.१० प्रतिशतमा कायम गर्न सफल भएको छ । बैंकले आफ्नो निष्क्रिय कर्जा २.४५ प्रतिशतबाट १.६३ प्रतिशतमा झार्न सफल भएको तथ्यांकले देखाएको छ । त्यस्तै बैंकले आधार दरलाई १०.८८ प्रतिशतबाट १०.२५ प्रतिशत कायम गर्न पनि सफल भएको जानकारी दिएको छ । बैंकद्वारा प्रकाशित वित्तीय विवरण अनुसार बैंकको कोषको लागत र आधार दर घटे पनि बैंकको लागत बढेको देखिन्छ । बैंकले गत बर्षको तुलनामा सम्पत्तिमा पनि बृद्धि गरेको छ । प्राविधिक हिसावले पनि बैंकले गत बर्ष भन्दा राम्रो फड्को मारेको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । गत बर्ष २०७४/०७५ को यसै अवधिमा बैंकले आफ्नो कारोबार ८ शाखा मार्फत गर्दै आएकोमा हाल आएर १२ शाखा कार्यालयबाट कारोबार सञ्चालन गर्न सफल भएको छ । यही माघ महिना भित्रै बैंकले २ शाखा थप गरी १४ शाखा मार्फत कारोबार गर्ने पनि उनले जानकारी दिए । बैंकले एक बर्षको अवधिमा २० हजार ग्राहक थप गरी अहिले ८५ हजार सन्तुष्ट ग्राहक बनाउन सफल भएको छ । चुक्ता पूँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । महोत्तरी, सिन्धुली र धनुषा कार्यक्षेत्र रहेको यो बैंकलाई प्रदेश नं. २ को उदाहरणीय बैंकको रुपमा स्थापित गराउँदै राष्ट्रियस्तरको विकास बैंक बनाउन आफू प्रतिबद्धताका साथ लागि परेको प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए ।

भारतमा गरिब परिवारलाई १० खर्ब ५० अर्ब अमेरिकी डलर भत्ता,  प्रतिपरिवारले ६ हजार पाउने

नयाँ दिल्ली। नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले थप पाँच बर्ष सत्तामा रहने योजनाका साथ शुक्रबार सार्वजनिक गरेको बजेटमा ग्रामिण तथा शहरी मध्यम वर्गलाई लक्षित गरी केही सुधारका कार्यक्रम ल्याएको छ । अर्थमन्त्री अरूण जेट्लीको अनुपस्थितिमा अन्तरिम अर्थमन्त्री पियुस गोयलले ल्याएको बजेटले मध्यम तथा निम्न वर्ग लक्षित कृषि क्षेत्रमा राहत तथा कर कटौतिलाई महत्व दिएको छ । गोयलले बजेट सार्वजनिक गर्दै करिब १२ करोड ‘गरिब तथा निम्न वर्गीय’ किसानलाई प्रति परिवार बार्षिक छ हजार भारतीय रूपैयाँ दिने बताएका छन् जसका लागि सरकारले दश अर्ब ५० करोड अमेरिकी डलरको थप बोझ बोक्नु पर्नेछ । तीन वटा राज्य सभाको निर्वाचनमा प्रतिपक्षी दलको गठबन्धनले परिणाम उसको पोल्टामा पारेपछि केही अधैर्य देखिएका प्रधानमन्त्रीले नियमित तालीका अनुसार आगामी मेमा राष्ट्रिय निर्वाचनको आह्वान गर्नुपर्ने हुन्छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री मोदी र उनको भारतीय जनता पार्टीको गठबन्धनले कृषिजन्य उत्पादनबाट हुने आम्दानी निम्न भएको भनी आक्रोशित मध्यम तथा निम्न वर्गीय भारतीय नागरिकमा देखिएको बढ्दो असन्तुष्टिको सामना गरिरहेको थियो । प्रधानमन्त्रीको नीतिले भारतीय वेरोजगार जनतालाई प्रशस्त रोजगारीको अवसर सिर्जनासमेत गरेको सरकारको दावी छ । निर्वाचनमा जनमत आफ्नो पोल्टामा पार्न सरकारले कम्तिमा पनि निर्वाचन परिणाम सार्वजनिक हुँदासम्म भएपनि ठूला कम्पनीमाथिको कर कटौति गर्ने र ठूला व्यापारीलाई आफू अनुकुल बनाउने, सबैभन्दा धेरै जनसङ्ख्या रहेको मध्यमवर्गलाई खुशी पार्ने बजेट कार्यक्रम ल्याउने तथा घाटा बजेटलाई निम्न गर्ने योजना लगायत आर्थिक सुधारका कार्यक्रम ल्याउन अघिल्लो निर्वाचनले सरकारलाई दवावमा पारेको छ । बजेट कार्यक्रमबारे छलफलमा सहभागी सरकारी स्रोतका अनुसार उच्च खर्च तथा कर सङ्कलनमा न्यूनताले मार्चमा सकिने आर्थिक बर्ष कुल ग्राहस्थ उत्पादनको ३.५ प्रतिशत बराबरको बार्षिक बजेट घाटा देखिएको छ जुन गत बर्षको तुलनामा यो घाटा ०.२ प्रतिशत बढी हो । प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले आफ्नो गठबन्धनले जितेमा गरिबका लागि थोरै नै भएपनि आम्दानीको प्रत्याभूत गर्ने भनी सोमबार सार्वजनिक गरेको योजनालाई चुनौति दिँदै किसान लक्षित निर्वाचन बजेट सार्वजनिक गरेको छ । सरकारले नयाँ बजेटमा करिब तीन करोड मध्यम वर्गीय जनतालाई फाइदा हुने गरी बार्षिक सात हजार अमेरिकी डलरसम्म आम्दानी भएका नागरिकको पूर्ण करको योजना ल्याएको छ । सरकारले असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिकका लागि पेन्सन योजना घोषणा गरेको छ यद्यपि यसका लागि रोजगारसम्बन्धि नियम भने प्रस्ट पारिएको छैन । कार्यबाहक अर्थमन्त्रीले उक्त बजेटमार्फत भारतको बजेटमा आगामी पाँच बर्षमा डबलभन्दा बढीको वृद्धि हुने अर्थात २.३ ट्रिलियन पुग्ने बताएका छन् । हामी सन् २०२२ सम्ममा नयाँ भारतको निर्माणका लागि अघि बढेका छौँ, गोयलले भने । उनेले थपे, “भारतले आगामी पाँच बर्षमा आफ्नो अर्थतन्त्रलाई पाँच ट्रिलियन र आठ बर्षमा १० ट्रिलियन अर्थतन्त्र भएको मुलुक बनाउनेतर्फ कदम चाल्ने छौँ ।” बजेटबारे प्रतिक्रिया दिँदै स्वतन्त्र अर्थशास्त्री असुतोष दातारले बजेट ‘विल्कुल राजनीतिक’ भएको र मतदातालाई आकर्षित गर्न आएको बताए । एएफपीसँगको कुराकानीमा उहाँले भन्नुभयो, “कार्यक्रम आकर्षक छन् । खासगरी युवा मतदाता, व्यापारी, किसान र मध्यम तथा निम्नवर्गका नागरिकलाई यसले ठूलो सपना बाँडेको छ । कार्यान्वयनमा सफलता पाएमा मध्यमवर्ग र किसानका लागि यो लाभकर हुनेछ ।” यसै महिना भारतीय अर्थतन्त्र अनुगमन केन्द्र (सीएमआई) ले दिएको तथ्याङ्कमा भारतले गत बर्षमात्र एक करोड १० लाख कामका अवसर गुमाएको र यो भारतीय अर्थतन्त्र वृद्धिका लागि समस्या बन्ने बताएका थिए। गत हप्ता भारतको केन्द्रीय बैंकका पूर्व गभर्नर रघुराम रन्जनले भारतमा श्रम र भूमिसम्बन्धी कानूनलाई केही लचक बनाउनु पर्ने बताएका थिए । वर्तमान प्रधानमन्त्रीले पनि रोजगारीको समस्या समाधानका लागि सरकारले विशेष ध्यान दिने बताउँदै आएका थिए । यसैगरी भारतीय काङ्ग्रेस तथा प्रतिपक्षी दलका नेता राहुल गान्धीले बजेटबारे ट्वीट सन्देश लेख्दै भनेका छन्, “पाँच बर्षको तपाइँको अक्षमता र घमण्डका कारण हाम्रा किसानहरूको जीवनलाई तहस नहसको अवस्थामा पुर्याएको छ ।” उनले भने, “किसानलाई दिनको १७ रूपैँया दिनु उनीहरूले गर्ने काम र राष्ट्रका लागि गरेको योगदानप्रतिको अपमान हो ।”

तत्काल अडियाे भिडियाे सञ्चार गर्न प्रहरीले ‘र्यापिड कम्युनिकेशन प्रणाली’ प्रयाेग गर्ने

काठमाडौं । तत्काल अडियाे भिडियाेसहित सञ्चार गर्न नेपाल प्रहरीले ‘र्यापिड कम्युनिकेशन प्रणाली’लाई देशैभरि विस्तार गर्ने तयारी थालेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न रेडियो सेट, ड्रोन, सिसी क्यामरापछि हालसालै मात्र भित्रिएको उक्त प्रविधिलाई सातै प्रदेशमा लैजाने तयारी नेपाल प्रहरीले गरेको हो । हाल प्रयोग भइरहेको रेडियो सेटबाट आवाज मात्रै पठाउन सकिने भए पनि अहिले भित्र्याइएको नयाँ प्रविधिसहितको सेटमार्फत भने श्रव्यदृश्य एकैसाथ पठाउन सकिन्छ । ब्रोडब्याण्ड प्रविधिमा आधारित यो प्रणालीअन्तर्गत अहिले प्रहरीले ५० सेट भित्र्याएर अतिविशिष्ट व्यक्ति (भिभिआइपी) आउँदा र विपद्का बेलामा प्रयोग गर्दै आइरहेको छ । “अहिले जहाँ विपद् हुन्छ र भिभिआइपीको मुभमेन्ट हुन्छ, त्यहाँ लगेर प्रयोग गर्दै आइरहेका छौँ”, प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा राजीव सुब्वाले भने “अब भने सातै प्रदेमा लैजाने तयारी गरिएको छ ।” उनका अनुसार घटनास्थलमा भिडियो खिच्दाखिच्दै प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट दृश्य निगरानी गर्न सकिने यसको विशेषता हो । बाह्य विशिष्ट पाहुना आउँदा सिसी क्यामरा राख्न नसकेको ठाउँमा यही सेटको प्रयोग भएको बताउँदै उनले भिडियोसहित आउने भएकाले शान्तिसुरक्षा कायम गर्न प्रभावकारी हुने बताए । ताररहित फोरजी प्रविधिमा आधारित यसबाट एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग श्रव्य, दृश्य र सन्देश आदानप्रदान गर्न सकिन्छ । विपद् तथा आपत्कालीन अवस्था र अन्य सञ्चार सेटमा सम्पर्कविहीन हुँदा पनि यसले काम गर्ने सुब्बाको भनाइ छ । आपत्कालीन अवस्थामा १५ मिनेटमै जडान गरी सञ्चालन गर्न सकिने यो प्रविधिको ५० वटा सेट प्रहरीसँग छ । यस्ता प्रविधिको प्रयोगले शान्तिसुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि महत्वपूर्ण सहयोग पुग्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विभिन्न घटना हुँदा सिसी क्यामरा लगायतको प्रविधिका कारण अपराधीसम्म पुग्न सहज हुने गरेकाले प्रविधिलाई अझै उच्चतम प्रयोग गर्नेतर्फ ध्यान दिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । दृश्य प्रविधिअन्तर्गत पर्ने ड्रोनको प्रयोग अवाञ्छित गतिविधि तथा ट्राफिक व्यवस्थापनमा प्रभावकारी हुन्छ । उपत्यकाको सवारी चाप अनुगमन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनमा यसको प्रयोग सफल मानिन्छ । ड्रोनको प्रयोगलाई अझै विशिष्टीकृत गर्ने योजना नेपाल प्रहरीको छ । नेपाल प्रहरीले सिसी क्यामरा भने २०६१ देखि प्रयोगमा ल्याएको हो । काठमाडौँ, भक्तपुर र ललितपुरमा ४७४ वटा तथा राजमार्ग तथा मुख्य शहरी क्षेत्रमा दुई हजार ९१६ सिसी क्यामरा प्रयोग भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले हालै लागू गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत श्रव्यदृश्य प्रविधि प्रयोग गर्न प्रेरित गर्ने, थप स्थापना र विस्तार गर्ने नीतिलाई प्रभावकारी बनाउने थालेको छ । समुदायसँगको सहकार्यले शान्ति सुरक्षामा थप बल पुगेको प्रहरीको भनाइ छ । रासस

२४ दिनपछि डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन तोडेका छन् । उनले चिकित्सा शिक्षा विधेयक सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता गर्दै अनसन तोडेका हुन् । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर शुक्रबारबाट अनसन तोडेका हुन् । सरकारले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । साथै, प्रतिनिधिसभा र राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरिसकेकाले अनसन बस्नुको कुनै औचित्य नरहेको केसीले बताए ।