सुरु भयो मार्जिन कारोबार, ब्रोकर र लगानीकर्ताले ब्याजदर तोक्न सक्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ । त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ । बोर्डले नेप्सेलाई मार्जिन कारोबारबारे पर्याप्त प्रचार प्रसार गर्न पनि निर्देशन दिएको छ । साथै त्यस्तो कारोबारको सक्ष्म निगरानी गर्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । मार्जिन कारोबारको ब्याजदरमा अनावश्यक उताचढाव आएमा धितोपत्र बोर्डले आवश्यक हस्तक्षेप गर्न सक्ने व्यवस्था पनि बोर्डले गरेको छ । बोर्डले मार्जिन कारोबार सम्बन्धी आफ्नो निर्णयबारे नेपाल राष्ट्र बैंकलाई जानकारी समेत पठाएको छ । राष्ट्र बैंकको स्वीकृतिपछि मार्जिन कारोबार आरम्भ हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजलाई जानकारी दिए । ‘हामीले मार्जिन कारोबारको काम सम्पन्न गरेका छौं, राष्ट्र बैंकले स्वीकृति दिने वित्तिकै मार्जिन कारोबार आरम्भ हुन्छ’, बोर्डका प्रवक्ता गिरीले भने । उनले मार्जिन कारोबार आरम्भ भएपछि त्यसको नियमन र दिगोपनको चुनौती भने रहेको बताए । धितोपत्र बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ जारी गरेको थियो भने नेपाल स्टक एक्सचेञ्जले २०७५ बैशाख १०९ गते “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” ल्याएको थियो ।
जापानको निवृत्तिभरण कोषमा १३५ अर्ब डलर नोक्सानी
टोकियो । जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो । सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको चार महिनाको अवधिमा करिब ९ दशमलब १ प्रतिशत नोक्सानी भएको जनाएको छ । गत वर्ष सन् २०१८ को अन्तिम चौमासिकमा विश्व शेयर बजार केही खस्किएको थियो । खासगरी, एक महिनाभन्दा बढी समय अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भएका र अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी तनाब सिर्जना गरेका कारण शेयर बजारमा अनिश्चय छाएको थियो । “अक्टोबरदेखि डिसेम्बरको चौमासिक अवधिमा अनिश्चित बनेको विश्व आर्थिक तथा कर्पोरेट परिदृश्यका कारण घरेलु र अन्तर्राष्ट्रिय शेयर बजार निकै ओरालो लाग्यो,” कोषका अध्यक्ष नोरिहिरो ताकाहासीले एक विज्ञप्ति प्रकाशन गरी बताए । यद्यपी, उनले कोषमा दिर्घकालीन लगानीकर्ताहरु रहेका र उनीहरुले वर्षमा औसतमा २ दशमलब ७३ प्रतिशत नाफा कमाउन सफल रहेको बताए । जापानी निवृत्तिभरण कोषमा १५० ट्रिलियन येनभन्दा बढी रकम रहेको छ । रासस/एएफपी
गरिमा विकास बैंक र फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सबीच रेमिट सम्झौता
काठमाडौं । गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका ११९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
जापानमा बुढ्यौली उमेरका व्यक्तिको संख्या बढ्दै, श्रमिक अभाव
टोकियो । जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन् । श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणमा गत डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक १०० जनाका लागि औसतमा १६३ वटा रोजगार उपलब्ध थिए । धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको छ । मुलुकको बेरोजगारी दर पनि गत डिसेम्बरमा निकै न्यून छ । मन्त्रालयका अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलब १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलब ४ प्रतिशत भएको छ । जापानको अर्थतन्त्र गत वर्ष सेप्टेम्बर अघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटकपटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुबैमा असर परेको थियो । तर विश्लेषकहरुले विश्व अर्थतन्त्रमै सुधार आएका कारण गत वर्षको अन्तिममा अर्थतन्त्रमा सुधार भएको बताएका छन् । रासस/एएफपी
इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत, यूरो समूह चिन्तित
मिलान, इटाली । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दोखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९–राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक वृद्धिदरमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो तीन महिना अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म यहाँको कुल ग्राहस्थ उत्पादनको ०.१ प्रतिशतको सङ्कुचन रहेकोमा यसबाट पनि थप ०.२ प्रतिशतको कमी आएको जनाइएको छ । लगातार दुई त्रैमासिकमा देखिएका आर्थिक सङ्कुचनलाई प्राविधिक मन्दी भनिएको छ । इटालीको मन्दीको एउटा कारण त समग्र यूरो क्षेत्रको आर्थिक वृद्धिदरमा देखिएको कमीको कारण हो । यूरोपको तथ्याङ्क मामिला हेर्ने निकाय, यूरोस्टाटले बिहीबार भनेको छ, यूरो क्षेत्रको आर्थिक वृद्धि गत बर्षको अन्तिम त्रैमासमा निकै कम अर्थात् ०.२ प्रतिशत रहेको छ र अघिल्लो तीन महिनामा पनि सोही अवस्थामा रहेको थियो, जसका कारण सन् २०१८ मा यूरो क्षेत्रको समग्र आर्थिक वृद्धिदर १.८ प्रतिशत कायम भएको छ । यो एक बर्ष पहिले प्रक्षेपण गरिए अनुसार निकै कमी हो । सन् २०१७ मा यूरो समूहको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहेको थियो र अघिल्लो बर्षभन्दा सामान्य कमी आउने प्रक्षेपणभन्दा निकै तल नतिजा आएको छ । विगत केही महिनादेखि इटालीको अर्थतन्त्रले यूरोप लगायत विश्वसमुदायको ध्यान खिचेको छ । इटालीमा नयाँ ‘जनपक्षीय’ सरकारले यूरोपेली संघ (इयू) को कार्यकारी आयोगमा उसको जनपक्षीय बजेट योजनालाई लिएर निकै लामो समय विवाद रह्यो । सरकारले यहाँका जनतालाई सामाजिक सुरक्षा खर्च र पेन्सन सुधारको योजना अघिसार्दै इटालीका जनतालाई आर्थिक रूपमा समृद्ध तुल्याउने योजना इयूमा विवादरहित बन्न सकेन । निकै लामो बहसपछि पनि इटालीले जनतालाई तत्काल राहतको अनुभूति हुने खालको बजेट सार्वजनिक ग¥यो जुन इयूका लागि अस्वीकार्य थियो । आर्थिक मन्दीलाई औपचारिक पुष्टि गरिनुपूर्व इटालीका प्रधानमन्त्री जिसेफे कोन्टेले बुधबार सन् २०१९ को शुरूका केही महिना मुलुकले आर्थिक सङ्कुचन सामना गर्नुपर्ने देखिएको बताउँदै भने, “बर्षको दोस्रो छ महिनामा यसबाट मुक्ति पाउने आशाका लागि प्रशस्त आधारहरू रहेका छन् ।” इयू आयोग भने इयू क्षेत्रकै प्रसुप्त कर्जा सङ्कटकाबीच दोहोरिएर आएको इटालीको आर्थिक मन्दीप्रति चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ, “इटालीको सरकारले महत्वाकांक्षी योजनामार्फत ल्याएका कार्यक्रमलाई फिर्ता गर्नुपर्ने अन्यथा उसले थप सङ्कटको सामना गर्नुको विकल्प छैन ।” चीन–अमेरिका व्यापार विवाद, ब्रेक्जिटबारेको अन्यौलका कारण इटालीबाहेक जर्मनी, फ्रान्सजस्ता मुलुकको पनि अर्थतन्त्रमा समस्या देखिएको छ । गत बर्षको तेस्रो त्रैमासमा यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा पनि हरितगृह ग्यास उत्सर्जन मापदण्डका कारण कार विक्रीमा आएको कमीले यहाँको अर्थतन्त्रमा अनपेक्षित सङ्कुचन आएको थियो । “आर्थिक मनोभावनामा देखिएको निरन्तरको गिरावटले के सङ्केतले आर्थिक वृद्धिका रफ्तार अझै कमजोर बन्ने देखिन्छ,” कमर्ज बैंकका अर्थशास्त्री क्रिस्टोफ वेलले भने । चीनको आर्थिक विकासबारेको अनिश्चितता, अमेरिका–चीन व्यापार विवाद, इयू–बेलायतको वहिर्गमन विवादले यस क्षेत्रको आर्थिक वृद्धिका लागि सन् २०१९ मा ठूलो प्रभाव पार्ने अनुमान गरिएको वेलको भनाइ छ । रासस/एपी
जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यभन्दा कम, कस्को कति ?
काठमाडौँ । धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका शेयर आधार मूल्यभन्दा तल रहेका छन् । प्रतिकित्ता १०० मा खरिद गरेको शेयर अहिले १०० भन्दा तल पुगेको छ । कुनै समय धेरै नाफा हुने भन्दै शेयर लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेको जलविद्युत् कम्पनी पछिल्लो दिनमा आकर्षणमा समेत पर्न छाडेको छ । बजारमा समेत शेयर घट्ने उपसमूहमध्ये कमजोर अवस्थामा समेत सोही उपसमूह परेको छ । स्टकमा पछिल्लोपटक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर सूचीकृत भएर कारोवार शुरु भएपछि २४ कम्पनी सूचीकृत छन् । ती कम्पनीमध्ये एकाधको मात्रै प्रतिकित्ता २०० भन्दामाथि छ । स्टकको कारोवारका आधारमा हेर्दा आँखु खोला जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता ८५ मा कारोवार भएको छ । बजार पूँजीकरणमा समेत उत्कृष्ट दशमा परेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरसमेत ओरालो लागेर प्रतिकित्ता २५८ मा कारोवार भएको छ । यस्तै वरुण हाइड्रो पावर कम्पनीको शेयर प्रतिकित्ता १०३ मा खरीद बिक्री भएको छ । त्यस्तै अवस्थामा अरुण भ्याली हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता १०४ मा खरीद बिक्री भएको छ । बिहीबारको कारोवारको आधारमा छ्याङ्दी हाइड्रो पावर कम्पनीको शेयर आधरभूत मूल्यभन्दा तल घटेर ९८ मा झरेको छ । यस्तै दिव्येश्वरी हाइड्रो पावर कम्पनीको शेयर ९८ मा कारोवार भएको छ भने कालिका पावर कम्पनीको शेयर आधारभूत मूल्यभन्दा तल झरेर ९५ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल रहेका जलविद्युत् कम्पनीमा खानीखोला हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता ९४ मा कारोवार भएको छ । यस्तै लगातार ओरालो लागेका नेशनल हाइड्रो पावर कम्पनीको शेयर ६७ मा कारोवार भएको छ । यस्तै, रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर ९९ मा कारोवार हुँदा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको लगानीकर्ताले पनि आफूले खरीद गरेको प्रति शेयरमा चारले घाटा लागेको छ । सो कम्पनीको शेयर ९६ मा खरीद बिक्री भएको छ । यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका शेयरधनीलेसमेत प्रतिकित्ता पाँचले गुमाएका छन् । सो कम्पनीको शेयर प्रतिकित्ता ९५ मा कारोवार भएको छ । कुनै समय आकर्षक कम्पनीका रुपमा रहेको अपि पावर कम्पनी शेयरसमेत निरन्तर ओरालो लागेर प्रतिकित्ता १४१ मा सीमित भएको छ । धितोपत्र बजारको विश्लेषक प्रकाश तिवारी राम्रो प्रतिफल दिन नसक्ने जलविद्युत् कम्पनीको शेयर घट्नुलाई स्वभाविक घटनाका रुपमा टिप्पणी गर्छन् । नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्ता भने समस्यामा परेको बताए । बजार घट्दा अरुण काबेली पावर कम्पनीको १८७ मा कारोवार भएको छ । ५०१ मा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयरसमेत बिहीबार ३६० मा खरीद बिक्री भएको छ । नेपालको धितोपत्र बजारमा कुनै समय सबैभन्दा बढी आकर्षक कम्पनीका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीसमेत बजार घट्दा मर्कामा परेको छ । सो कम्पनीको शेयर ५२४ मा खरीद बिक्री भएको छ । लगातार बजार घट्दा त्यसको सबैभन्दा बढी मारमा लगानीकर्ता परेका छन् । स्टकका अनुसार हिमालयन पावर पार्टनर लिमिटेड १८७, जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी २२०, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड १३३, ङादी ग्रुप पावर लिमिटेड १२८, पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड १०७, राधी विद्युत् कम्पनी १६४, सानिमा माई हाइड्रो पावर कम्पनी २२९, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडका शेयर दोस्रो बजारमा प्रतिकित्ता ११६ मा खरीद बिक्री भएको छ । यस्तै बजार पूँजीकरणमा समेत उत्कृष्ट दशमा परेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरसमेत ओरालो लागेर प्रतिकित्ता २५८ मा कारोवार भएको छ । शेयर सङ्ख्यामा आधारमा बढी शेयर भएको सो कम्पनीको शेयरसमेत एकाध साता बढे पनि पछिल्ला दिनमा क्रमशः घट्दै गएको छ । धितोपत्र बजारको विश्लेषक प्रकाश तिवारी राम्रो प्रतिफल दिन नसक्ने जलविद्युत् कम्पनीको शेयर घट्नुलाई स्वभाविक घटनाका रुपमा टिप्पणी गर्छन् । लागत बढी भएका, प्रतिफल दिन नसक्ने कम्पनीप्रति क्रमशः लगानीकर्ता समेत नकारात्मक बन्दै गएको उल्लेख गर्दै उनले नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्ता भने समस्यामा परेको बताए । चिलिमे, बुटवल पावर कम्पनी जस्ता एकाध कम्पनीले मात्रै शेयर लगानीकर्तालाई प्रतिफल दिने गरेका छन् । तर, अधिकांश कम्पनीले लगानीकर्तालाई कुनै नाफा दिन नसकेको, बजारसमेत ओरालो लाग्दा त्यसबाट लगानीकर्ता प्रभावित भएको तिवारीको भनाइ छ । रासस
कलाकार बिएस राणाको ७९ वर्षमा निधन
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको ७९ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले बताएका छन् । करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । आएका राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनौं चलचित्रमा अभिनय गरेका थिए । उनले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीग लगायतका चलचित्र तथा दर्जनौं टेलिचलचित्रमा अभिनय गरेका थिए । काठमाडौँ बूढानीलकण्ठका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनका श्रीमती र तीन छोरी रहेका छन् ।
धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालनमा ल्याउन तिव्र तयारी
काठमाडौं । गण्डकी प्रदेश सरकारले म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरी हिमाल आसपासका राष्ट्रिय वन क्षेत्रलाई समेटेर संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन सिकार आरक्षका बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्न छलफल अघि बढाइएको प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दीलाई समेटेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा गोरखाको केही क्षेत्रमा मनास्लु संरक्षण क्षेत्र आयोजना सञ्चालन गरेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनालाई विस्तारको पहल भइरहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय वन संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई छ । स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य गरेर धवलागिरि हिमालको सेरोफेरोको राष्ट्रिय वन, वन्यजन्तुको संरक्षणसँगै समृद्धिसँग जोड्न संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्न आवश्यक देखिएको उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालको भनाई रहेको छ । प्रस्तावित धवलागिरी संरक्षण क्षेत्र आयोजनाले म्याग्दीको धवलागिरि, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङ र बाग्लुङ जिल्लालाई समेट्छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा म्याग्दीको मुनामा आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामिण पर्यटन विकासका लागि संरक्षण क्षेत्र आयोजनाको आवश्यकता रहेको बताएका छन् । वन पैदावरको व्यवस्थापन र पर्यटनका माध्यमबाट हुने आम्दानीले गाउँपालिका र प्रदेशको विकासमा खर्च गर्न सकिने मुख्यमन्त्री गुरुङले बताए । पर्यटनमन्त्री लम्सालले प्रशस्त सम्भावना रहेर पनि ओझेलमा परेका धवलागिरी गाउँपालिकाको पर्यटन विकासका लागि संरक्षण क्षेत्र आयोजना मार्फत पूर्वाधार विकास, संरक्षण, प्रचारप्रसारको काम गर्न सकिने बताए । ढोरपाटन शिकार आरक्ष क्षेत्रसँग सिमाना जोडिएको धवलागिरी गाउँपालिकाको १ नं वडाका अध्यक्ष झकबहादुर छन्त्यालले अहिलेको एक्याप, आरक्ष र मध्यवर्ती क्षेत्रको नीतिगत व्यवस्थामा स्थानीयवासी अधिकारबाट वञ्चित हुने भएकाले नयाँ कार्यविधि आवश्यकपर्ने बताए । मुख्यमन्त्री गुरुङ, पर्यटनमन्त्री लम्साल र गाउँपालिका अध्यक्ष पुनको टोलीले हेलिकप्टरमार्फत संरक्षण क्षेत्र प्रस्तावित ठाउँको अवलोकन गरेको जानकारी दिएका छन् । रासस