नाफा आर्जनमा वाणिज्य बैंकभन्दा विकास बैंक एग्रेसिभ, ज्याेति र गरिमाकाे प्रगति उच्च
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुको प्रगति वाणिज्य बैंकहरुको भन्दा उच्च देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा विकास बैंकहरुको नाफा करिब १६ प्रतिशत वृद्धि भएको हो । विकास बैंकहरुले अघिल्लो वर्ष १ अर्ब १ करोड रुपैंया नाफा कमाएका थिए । यो आकार यो वर्ष १ अर्ब १७ करोड रुपैंया पुगेको छ । यो १६.८ प्रतिशतको वृद्धि हो । वाणिज्य बैंकहरुले उक्त अवधिमा ६ प्रतिशतभन्दा कममात्रै नाफा वृद्धि गर्दा विकास बैंकहरुको भने नाफा एग्रेसिभ नाफा देखिएको हो । वृद्धि भएको नाफामध्ये ज्योति विकास बैंकले सबैभन्दा बढी नाफा बढाएको छ । ज्योतिले अघिल्लो वर्ष ६ करोड ३३ लाख रुपैंया रहेको नाफालाई ११७ प्रतिशतले वृद्धि गरी १३ करोड ८० लाख पुर्याएको छ । त्यस्तै, गरिमाले २.३२ करोड सांग्रिलाले २.१४ करोड तथा कामना सेवा विकास बैंकले १.५९ करोड रुपैंया वृद्धि गरेको हो । नाफाको आकारको आधारमा भने मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी २२.८८ करोड तथा कामना सेवा विकास बैंकले सबैभन्दा कम १.८७ करोड रुपैंया नाफा कमाएको छ । वाणिज्य बैंकहरुमध्ये ८ ओटाको नाफा घट्दा यो त्रैमासमा गण्डकी विकास बैंकको नाफा घटेको छ भने अन्य ९ ओटा विकास बैंकको नाफा बढेको छ । बैंकहरुको उक्त नाफा चुक्ता पुँजीको आधारमा वार्षिक रुपमा १६ रुपैंया ६४ पैसा हो । राष्ट्रिय स्तरका विकास बैंकहरुको पहिलो त्रैमाससम्म २८ अर्ब २० करोड रुपैंया चुक्ता पुँजी छ । असोज मसान्तसम्ममा विकास बैंकहरुले २ खर्ब ९१ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब रुपैंया कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो वर्षभन्दा क्रमशः ७.९ र १३.७ प्रतिशत बढी हो ।
घट्न थाल्यो स्वदेशी लगानी प्रतिवद्धता, विदेशी भने ६ अर्बले बढ्याे
काठमाडौं । उद्योग विभागमा पछिल्लो समय स्वदेशी लगानी प्रतिवद्धता घट्न थालेको छ । आर्थिक वर्षको पहिलो ४ महिनामा १७ अर्ब १० लाख विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आवको पहिलो ४ महिनामा ११ अर्ब ९३ करोड ३० लाख विदेशी लगानी प्रतिवद्धता आएको थियो । विदेशी लगानी प्रतिवद्धतामा भने ६ अर्बले वृद्धि भएको छ । स्वदेशी लगानी प्रतिवद्धता घटेपिन विदेशी लगानी प्रतिवद्धता भने वृद्धि हुँदै गहिरहेको छ । आर्थिक वर्षको पहिलो ४ महिनामा स्वदेशी लगानी प्रतिवद्धतामा १ अर्बले कमी आएको छ । विदेशी लगानी प्रतिवद्धतामा भने ६ अर्बले वृद्धिभएको छ । गत जेठ १ गते देखि एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि अघिल्लो वर्षको तुलनामा स्वदेशी तथा विदेशी लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गहिरहेको थियो । यो आर्थिक वर्षमा पछिल्लो ४ महिनामा भने स्वदेशी लगानी प्रतिवद्धता ओरालो लागेको हो । उद्योग विभागको तथ्याङ्क अनुसार सो आर्थिक वर्षको पहिलो ४ महिनामा ६९ अर्ब ४५ करोड १० लाख लगानी प्रतिवद्धता आएको छ । गत आबको पहिलो ४ महिनामा ७० अर्ब ४० करोड २० लाखको लगानी प्रतिवद्धता आएको थियो । लगानी प्रतिवद्धतामा उद्योग विभागमा विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । पर्यटनमूलक, उर्जामूलक र उत्पादनमूलक उद्योगमा बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा दर्ता भएका उद्योगमा सबैभन्दा धेरै पर्यटनमूलक क्षेत्रका छन् । विभागमा दर्ता भएका ११५ वटा उद्योगमध्ये पर्यटनमूलक क्षेत्रअन्तर्गत ४६ वटा छन् । सेवामूलकमा १८ वाट, उत्पादनमूलक उद्योगमा २४, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ५ वटा, ऊर्जामूलकमा १९ वटा र कृषि तथा वन पैदावारमूलकमा ३ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख जिवन प्रकाश सिटौलाले भने ठूला लगानी बोर्डमा जाने नयाँ कानुन भएकाले पनि उद्योग विभागमा लगानी प्रतिवद्धता कम आएको बताए । उनले प्रक्रिया र डकुमेन्ट पुरा लिएर आएका सेवाग्राहीको काम सेवा केन्द्रबाट छिटोछरितो रुपमा भएको बताए । सबै काम एकै ठाउँबाट हुने भएकाले पनि विदेशी लगानी प्रतिवद्धतामा आकर्षण बढेको हाे । उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समयमा उद्योगीहरुलाई सरकारले लगानीको राम्रो वातावरण नबनाएको कारणले पनि लगानी कर्ताहरु आर्कषण केही कमी आएको बताए ।
जापानी राजदूतावासको ९२ लाख सहयोगमा विद्यालय भवन निर्माण
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासको सहयोगमा भौगोलिकरुपमा विकट र दुर्गम गाउँमा सुविधा सम्पन्न भवन निर्माण भएको हो । दूतावासको रु ९१ लाख ६१ हजार सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक पोष्टबहादुर विश्वकर्माले जानकारी दिएका छन् । विसं २०७२ को भूकम्पका कारण पुरानो भवन जीर्ण बनेको थियो । “नयाँ भवन बनेपछि पठनपाठनमा धेरै सहज भएको छ”, प्रअ विश्वकर्माले भने “यस्तो विकट गाउँमा पनि पक्की भवन बनेकामा धेरै खुशी र उत्साहित भएका छाैं ।” गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनको समन्वयमा दूतावासले सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष उमेश पुनले बताए । राजदूतावासको सहयोगका अलावा स्थानीयवासीले रु नौ लाख बराबरको श्रमदान गरेका थिए । भूकम्प प्रतिरोधी क्षमताको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ । यसअघि पुरानो जीर्ण भवनमा बसेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । पर्खाल चिरा परेको, पानी चुहिने र भूईं हिलो हुने समस्या थियो । नयाँ पक्की भवन निर्माण भएपछि सुरक्षित अनुभव भएको कक्षा ८ की छात्रा ईशा घर्तीले बताइन् । विसं २०४२ मा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुने गरेको छ । विद्यालयमा २०२ विद्यार्थी रहेका शिक्षक तुलबहादुर पुनले बताए । दुई जना दरबन्दी, तीन जना राहत र तीन जना निजी स्रोतका शिक्षक छन् । निजी शिक्षकको तलबभत्ताका लागि बेली र जेम गाउँका बासिन्दाले प्रतिघर रु एक हजार चन्दा सहयोग गर्दै आएका छन् । दुई वर्षअघि कच्ची सडक पुगेको जेम गाउँ म्याग्दीको दुर्गम बस्ती मानिन्छ । नवनिर्मित भवनको सोमबार जापानी राजदूतावासका प्रतिनिधि यासुकी स्याण्डोले उद्घाटन गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवाल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र वडाध्यक्ष नरबहादुर पुनले भवनले विद्यालयको पठनपाठनमा सुधार गर्न सहयोग पुग्ने बताए । रासस
लामो समयदेखि रोकिएका पुराना उद्योगलाई फेरि नवीकरण गरिँदै
घोराही । दाङमा लामो समयदेखि नवीकरण रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु गरिएको छ । जिल्लामा सञ्चालित उद्योग विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण हुन सकेका थिएनन् । नवीकरण हुन नसकेका उद्योगहरु उद्योग वाणिज्य सङ्घको लामो प्रयासपछि नवीकरण शुरु गरिएको हो । विभिन्न कारणले समयमा नवीकरण नभएका उद्योगको जरीवाना तिर्दा समेत घरेलु कार्यालयले नवीकरण गरेको थिएन । सङ्घले यसका लागि प्रदेश सरकार तथा सङ्घीय सरकारसँग पटक–पटक छलफल गर्दै आएको थियो । त्यसपछि प्रदेश सरकारले केही दिनअघि नवीकरण रोकिएका उद्योगको पुनः नवीकरण गर्न अख्तियारी दिएको थियो । प्रदेश सरकारले गरेको यस प्रकारको निर्णयले उद्योगीलाई सहजता भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिएका छन् । नवीकरणका लागि उद्योगी घरेलु कार्यालयसम्म पुगे पनि काम नभएपछि त्यसै फर्किने गरेका थिए । “हामीले पटक–पटक नवीकरण गर्नका लागि अनुरोध गर्दै आएका थियौँ, अहिले त्यो पूरा भएको छ”, अध्यक्ष भुसालले भने । यस विषयमा केही दिनअघि दाङ, प्युठान, रुपन्देही, भैरहवा, नेपालगञ्जलगायतका उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय पदाधिकारी तथा प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री लीला गिरीबीच छलफलसमेत गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय दाङले पनि मिति सकिएका उद्योगको नवीकरण शुरु भएको जनाएको छ । कार्यालयका प्रमुख उद्योग अधिकृत वासुदेव रिजालले मिति सकिएका उद्योगको नवीकरण शुरु भएको जानकारी दिएका छन् । “निमावली निर्माण भएर आएपछि नवीकरण शुरु गरेका छौँ”, रिजालले भने, “तोकिएको जरिवाना तिरेर आगामी २०७७ भदौ ३ गतेसम्म नवीकरण गरिसक्नुपर्ने निर्देशन आएको छ ।” आइतबारबाट शुरु भएको नवीकरणका लागि दैनिक आधा दर्जन उद्योगी नवीकरणका लागि आउने गरेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । रासस
लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ प्रधानको कार्यकाल थपियो
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नूर प्रकाश प्रधानको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले प्रधानको कार्यकाल थप्ने निर्णय गरेको हो । प्रधानलाई चार बर्षअघि कम्पनीको सीईओमा नियुक्त गरिएको थियो । उनले अब फेरी चार बर्षसम्म सीईओका रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको नेतृत्व सम्हाल्नेछन् ।
विमानस्थलमा सर्वसाधारणको पहुँच बाहिर टिकट वितरण, महासङ्घद्वारा आन्दोलनको चेतावनी
सिञ्जा । जुम्ला विमानस्थलमा टिकट वितरणमा सर्वसाधारणलाई सास्ती भएको विषयमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले ध्यानाकर्षण गराएको छ । महासङ्घले लिखितपत्र बुझाएर ध्यानाकर्षण गराएको हो । महासङ्घका अध्यक्ष बरमबहादुर महत, उपाध्यक्ष नेत्र शाही, केन्द्रीय सदस्य पूर्ण चौलागाईं, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत र जुम्लास्थित पत्रकारसहितको टोलीले विमानस्थलमा गई नागरिक उड्डयन प्राधिकरण, विभिन्न एयरलाइन्स, जिल्ला प्रशासन कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई टिकट वितरणमा पारदर्शिता हुनुपर्ने, नेपाल एयरलाइन्सको जहाजको उडान थप्नुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको हो । अध्यक्ष महतद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विमानस्थलमा लामो समयदेखि टिकट वितरण प्रणालीमा सर्वसाधारणको पहुँच नरहेको र बिक्रीकक्षबाट टिकट वितरण नभएको प्रति महासङ्घ शाखा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सर्वसाधारणले टिकट नपाउने र पहुँचवालाकै हालीमुहाली भएको भन्ने जनताको गुनासोका आधारमा महासङ्घले गत कात्तिक ३०, यही मङ्सिर १ र २ गते स्थलगत अनुगमनसहित सूचना लिँदा सर्वसाधारणको पहुँच बाहिर बिक्री कार्यालय नै नखोली टिकट वितरण गरिएको पाइएको जनाइएको छ । फिर्ता टिकटका नाममा बिरामीलाई समेत प्रभावित भई ढिलाइ हुने समस्या जस्ताको तस्तै भएको ज्ञापनपत्रमा उल्लेख छ । यसैगरी गत कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको उपस्थितिमा समेत गरिएको बिक्री कार्यालयबाट टिकट वितरण गर्ने भन्ने निर्णय कार्यान्वयन नभएको, टिकट सम्पर्क कार्यालयमा नभई व्यक्तिको पछाडि लाग्नुपर्ने अवस्थाले पर्यटकलाई समेत हैरान बनाएको तथा फिर्ता टिकटको नाममा सास्ती भएको छ । महासङ्घले नसच्चिए जनताको अधिकार प्राप्तिका लागि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
भ्रमण वर्ष नजिकिँएसँगै पर्यटन प्रवर्धनका लागि बजेटकाे अभाव
बाँके । भ्रमण वर्ष सन् २०२० शुरु हुन करिब डेढ महिना बाँकी छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । भ्रमण वर्ष नजिकिँदै जाँदा यहाँ भने पर्यटन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भ्रमण वर्ष सफल बनाउन जिल्लामा हालसम्म कहीँकतै छलफल पनि भएको छैन । जिल्लामा भ्रमण वर्ष लक्षित गतिविधि अझै पनि सुरु हुन सकेका छैनन् । स्थानीय तहले औपचारिक कार्यक्रम र चिठ्ठीपत्रमा भ्रमण वर्ष सन् २०२० को लोगो राख्नेबाहेक कुनै उपलब्धिपूर्ण काम गरेका छैनन् । यहाँका स्थानीय तहले पर्यटक आकर्षण गर्न र पर्यटकीयस्थलको प्रचारप्रसारमा ध्यान पु¥याउन सकेका छैनन् । भ्रमण वर्षलाई सार्थक बनाउन वृहत् योजना आवश्यक भए पनि जिल्लामा अहिलेसम्म कुनै तयारी नभएको भ्रमण वर्ष २०२० का प्रदेश समिति सदस्य भाष्कर काफ्ले स्वयं बताउनुहुन्छ । उहाँले भ्रमण वर्षको नारामै सीमित भएकोजस्तो देखिएको बताउनुभयो । सरकारले यहाँका चार पर्यटकीयस्थललाई पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । पर्यटकीय गन्तव्यको भौतिक विकास र प्रवद्र्धनका लागि बजेट नहुँदा प्रचारप्रसारलगायका काममा समस्या भएको काफ्लेको भनाइ छ । सरकारले १०० गन्तव्यमा सूचीकृत गर्दा बाँकेका चार समेटिएका हुन् । चार वटै गन्तव्य सूचीकृत भएपछि तिनीहरुको प्रवद्र्धनका लागि सरकारले बजेट भने उपलब्ध गराएको छैन । गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले सरकारले १०० गन्तव्यको सूचीमा राखे पनि प्रवद्र्धनका लागि बजेट भने नछुट्याएको बताउनुभयो । “पचास गन्तव्यका लागि बजेट छुट्याएको थाहा छ”, उहाँले भन्नुभयो, “त्यसमा बाँकेका कुनै पनि गन्तव्य पर्न सकेनन्, नीजि क्षेत्रको पनि यसमा चासो देखिएन ।” सरकारले नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, बैजनाथ गाउँपालिका–१ मा रहेको गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रुपमा राखेको छ भने नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा डुडुवा गाउँपालिका–५ को कम्मर शाह मजारलाई सूचीकृत गरेको छ । आन्तरिक र बाह्य पर्यटकको केन्द्रका रुपमा रहेका पर्यटकीयस्थल सरकारको गन्तव्यमा सूचीकृत हुनु राम्रो भए पनि प्रवद्र्धन र विकासका लागि बजेट नछुट्याइनु निराशाजनक रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष चौधरीले बताउनुभयो । सरकारले प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्र सूचीकृत गरे पनि प्रवद्र्धनका लागि बजेट नदिएको उहाँको गुनासो छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पूर्वाधारबिना पर्यटक भित्र्याउन सम्भव नहुने बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीको भनाइ छ । बागेश्वरी मन्दिरको प्रवद्र्धन गर्न सक्ने हो भने मात्रै ठूलो सङ्ख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो । बजेट अभावकै कारण तयारी नहुँदा जिल्लामा पर्यटनको रौनक बढ्न नसकेको उहाँको भनाइ छ । “सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउने हो भने उनीहरूलाई लोभ्याउने गन्तव्य तय गरेर त्यसको प्रवद्र्धन हुनुपर्छ”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर, गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्जलगायत पर्यटकलाई आकर्षण गर्ने स्थलसमेत भएकाले प्रवद्र्धन जरुरी छ ।” जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा भ्रमण वर्षका लागि कार्ययोजना बनाउन गठन गरिएको २१ सदस्यीय जिल्ला समितिको बैठकसमेत हालसम्म बसेको छैन । सरकारको तयारी कम भएकाले लक्ष्य हासिल गर्नेमा शङ्का देखिएको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष चौधरीले बताउनुभयो । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पनि कम्मर शाह मजारका लागि सरकारबाट कुनै पनि बजेट उपलब्ध नभएको बताउनुभयो । “अहिलेसम्म मजारका लागि बजेट कतैबाट पाएका छैनौँ”, अध्यक्ष चौधरीले भन्नुभयो । होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीम कँडेलले काम गर्न खोज्दा पनि सम्बन्धित निकायको सहयोग नपाएको बताउनुभयो ।
कराेडाैं मूल्यका प्रशोधित क्यामोमाइलको सुगन्धित तेलले पाएन बजार
कञ्चनपुर । कञ्चनपुर जिल्लाका किसानले क्यामोमाइल खेती गरी उत्पादन गरेको सुगन्धित तेल बिक्री हुन नसक्दा घरमै थन्क्याएर राख्न बाध्य भएका छन् । बजार मूल्य नपाउँदा किसानले तेल बिक्री गर्न नपाएका हुन् । क्यामोमाइल खेती गरेका किसानले उत्पादन गरेको २५१ किलो सुगन्धित तेल बिक्री हुनसकेको छैन । सोको बजार मूल्य रु एक करोड २५ लाख ५० हजार रहेको छ । क्यामोमाइल प्रशोधन गरी तयार गरिएको सुगन्धित तेल प्रतिकिलो बजारमा रु ५० हजार बढीमा बिक्री हुने गरेको छ । यस वर्ष तेल खरिद गर्ने व्यापारी नआउँदा तेल बेच्न नपाएको क्यामोमाइल खेतीमा संलग्न शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान बालाराम घिमिरेले बताए । तीन वर्षदेखि क्यमोमाइल खेती गर्दै आएका घिमिरेले तीन कठ्ठा जग्गामा एक किलो सुगन्धित तेल उत्पादन गरेका छन् । “एक जना व्यापारी मात्रै तेल खरिदका लागि पुगे पनि बजार मूल्यभन्दा आधा सस्तोमै खरिद गर्ने भनेपछि तेल बिक्री गरेका छैनौं”, उनले भने, “यस क्षेत्रका १६ किसानले १२ किलो सुगन्धित तेल उत्पादन गरेका छन् ।” गत वर्ष क्यामोमाइलको प्रशोधित सुगन्धित तेल किसानले रु ५५ हजार प्रतिकिलोका दरले बिक्री गरेका थिए । शुक्लाफाँटाको कसरौल, बेलडाँडी, सिमलफाँटा र जुडाका गरी १२३ किसानले १२० किलो प्रशोधित सुगन्धित तेल उत्पादन गरेका छन् । सोको बजार मूल्य रु ६० लाख छ । बेदकोट नगरपालिकाका धर्मपुर, जडेपानी र बैतडाका किसानले ९७ किलो उक्त तेल उत्पादन गरेका छन् । त्यसको बजार मूल्य रु ४८ लाख ५० हजार छ । यसैगरी, महाकाली नगरपालिकाको दोधारा चाँदनीका किसानले १० किलो र पुर्नवास नगरपालिकाका किसानले १२ किलो तेल उपादन गरेका छन् । उत्पादन गरेको सबै सुगन्धित तेल बिक्री भएको छैन । “दुई वर्ष क्यामोमाइल खेती गरेर तेल उत्पादन गरी चाहेअनुरुपकै आम्दानी भयो”, पुर्नवास–३ अमरबस्तीका किसान विमला चौधरीले भने, “यस वर्ष असिनापानीले गर्दा तेलको उत्पादन कम भयो, त्यसमै व्यापारी तेल खरिद गर्न आएनन्, उत्पादित तेल घरमै थन्क्याउनुपरेको छ ।” यसअघि नेपालगञ्ज र काठमाडौँबाटै व्यापारी घरमै पुगेर तेल खरिद गरेर लैजाने गरेका उनले बताए । बजारमा क्यामोमाइल तेलको बढ्दो व्यापार रहे पनि व्यापारीले आफूले चाहेको मूल्यमा मात्रै खरिद गर्न थालेपछि यस क्षेत्रका किसान मर्कामा परेका छन् । दुई वर्षअघि बेलडाँडीका १३ किसानले मात्रै क्यामोमाइल खेती गरेका थिए । प्रगति महिला जडीबुटी प्रशोधन उद्योग समितिका कर्मचारी धर्मबहादुर खड्काले भने, “क्यामोमाइलबाट मनग्य आम्दानी हुन थालेपछि ७० किसान यस खेतीमा लागेका छन् ।” उनका अनुसार गत वर्ष १३ किसानले चार बिघा जग्गामा आठ किलो ७४० ग्राम क्यामोमाइलको तेल उत्पादन गरेका थिए । यस वर्ष ७० किसानले झण्डै १८ बिघा जग्गामा ४४ किलो क्यामोमाइलको सुगन्धित तेल उत्पादन गरेका छन् । “तेल उत्पादन गरी भण्डारण कक्षमा राखेका छौँ”, खडकाले भने, “खरीद गर्ने व्यापारीको प्रतिक्षा गर्दैछौँ, गत वर्ष यसबेला तेल बिक्री भइसकेको थियो, अझै व्यापारी तेल खरिदका लागि पुगेका छैनन् ।” क्यामोमाइलको प्रशोधित तेल व्यापारीले सस्तोमै खरिद गरी भारतीय बजारमा बढी मूल्यमा बिक्री गर्दै आएका छन् । उत्पादित तेलमा जीवाणु प्रतिरोधात्मक गुण हुने भएकाले आँखा दुखेको, टाउको दुखेको, छाती दुखेको, लुतो, खोकी, कफ, दमसँगै मानसिक चिन्ता हटाउन, अनिन्द्रा, अम्लपित्त, अल्सर, जीउ पोल्ने समस्या भएका बिरामीका लागि उपयोगी हुने गरेको छ । क्यामोमाइलले पाचनशक्ति बढाउने र उत्तेजना बढाउने कार्यसमेत गर्दछ । यसमा एन्टी अक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी तत्व पाइने गरेको छ । विभिन्न सौन्दर्य प्रशाधन, खाद्य तथा पेय पदार्थलाई बास्नादार बनाउन क्यामोमाइलको तेल प्रयोग हुने गरेको छ । क्यामोमाइल सयपत्री फूल परिवारको सुगन्धित वनस्पतिका रूपमा रहेको छ । यसको फूलबाट निकालिने सुगन्धित तेल विभिन्न खाद्य सामग्री, सौन्दर्य प्रशाधन तथा औषधिय प्रयोजनका लागि प्रयोग हुने भएकाले यो आयमूलक वनस्पतिका रूपमा रहेको छ । क्यामोमाइलको प्रशोधित तेलको व्यापारिक नाम ‘ब्लुआइल’ रहेको छ । रासस