विकासन्युज

बैंक अफ काठमाण्डूका सेयरधनीले २५ प्रतिशत लाभांश पाउने निश्चित

काठमाडौं । बैंक अफ काठमाण्डूका सेयरधनीले कम्पनीको गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश पाउने निश्चित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेसँगै कम्पनीका सेयरधनीले सो मात्राको लाभांश पाउने भएका हुन् । साधारणसभाले चुक्तापुँजीकाे १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । गत पुस २९ गतेसम्म नेप्सेमा कारोबार गर्ने बैंकका सेयरधनीहरुले उक्त लाभांश पाउनेछन् । ७ अर्ब ७ करोड रहेको बैंकको चुक्ता पूँजी बोनस पछि ८ अर्ब ६ करोड रुपैयाँ कायम हुनेछ ।

विशेष भत्ताको माग गर्दै चिनी उद्योगमा अनिश्चितकालीन अनशन

काठमाडौं । रामनगरका मजदूरले विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा आमरण अनशन जारी राखेका छन् । वर्षौदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदूर युनियनका उपाध्यक्ष नीरबहादुर अधिकारीको नेतृत्वमा फेकन साह, दशरथ महतो, जीवनहरि उपाध्याय, ओपिन्द्र पासवान, रामसेवक महतो, केदार सुस्लिङ, लीलाधर महतो, रामहरि दुलालले अनिश्चितकालीन आमरण अनशन बसेका हुन् । गत साउन महीनादेखि नेपाल सरकारले वृद्धि गरिएको प्रति मजदूर रु तीन हजार ७५० उद्योग प्रशासनले नदिएको भन्दै सो को माग गर्दै विभिन्न चरणका शान्तिपूर्ण आन्दोलन सम्पन्न गरिसकेका मजदूरले इण्डष्ट्रिजको मूलगेट अगाडि आमरण अनशनमा बसेका हुन् । अहिले उखु क्रसिङ मौसम भएकाले उद्योगको कामकाज प्रभावित नहुने गरी शान्तिपूर्णरुपमा उद्योगको मूलगेट अगाडि अनशन शुरु गरेको मजदूर नेता पर्शुराम खनालले बताएका छन् । खाइपाइ आएको तलबभत्ता कुनै पनि हालतमा कटौती गरिनु नहुनेतर्फ सचेत गराउँदै विभिन्न समयमा उद्योग प्रशासनसँग वार्ता सम्पन्न गरिएको अर्का मजदूर नेता मुरारी दुलालले जानकारी दिएका छन् । आमरण अनशनमा बसेका मजदूरलाई प्रदेशसभा सदस्य भरतप्रसाद साहले फूलमाला र अबीर लगाएका थिए । रासस

नेपाल इन्स्योरेन्सको माघ २७ गतेदेखि बुक क्लोज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिनदेखि माघ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय कम्पनी संचालक समितिको बैठकले गरेको हो । इन्स्योरेन्सले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

५६ लाखले गराए जीवन बीमा, महिलाको संख्या ३९ प्रतिशत मात्रै

काठमाडौं । देशभरमा जीवन बीमा गराउनेको संख्या ५६ लाख नाघेकाे छ । जीवन बीमा गराउने क्रम बढ्दो रहेकाे तर पुरुषको तुलनामा जीवन बीमा गराउने महिनाको संख्या निकै कम रहेको तथ्याङ्कले देखाएकाे छ । ६१ प्रतिशत पुरुषले जीवन बीमा गराउँदा महिलाको हिस्सा ३९ प्रतिशत मात्र रहेको पाइएको छ । पुरुषको तुलनामा महिला सहभागिता हरेक क्षेत्रमा कम छ अरु क्षेत्रमा जस्तै जीवन बीमा गराउनेमा पनि महिलाको सहभागिता कम पाइएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । जीवन बीमा गराउने महिलाको संख्या ३८.८१ प्रतिशत पुग्दा पुरुषको संख्या ६१.१९ प्रतिशत पुगेको हो । बीमा समितिका अनुसार जीवन बीमाको पोलिसी किन्नेको संख्या ५६ लाख ५७ हजार २ सय ९ रहेको छ । सो पोलिसी किन्ने महिलाको संख्या २१ लाख ९५ हजार ३ सय ७९ रहेको छ भने पुरुषको संख्या ३४ लाख ६१ हजार ८ सय ३० रहेको बीमा समितिले जनाएको छ । राष्ट्रिय बीमा संस्थानमार्फत जीवन बीमा गर्नेको संख्या १ लाख ४० हजार रहेको छन् । सो संख्यामा ३७ प्रतिशत महिला रहेका छन् भने ६३ प्रतिशत हिस्सा पुरुषको रहेको छ । त्यसैगरी नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ३ लाख ५६ हजार ६ सय ८ रहेको छ । सो संख्यामा ३९.५८ प्रतिशत महिला रहेका छन्, पुरुषको संख्या ६०.४२ प्रतिशत रहेका छन् । नेपाल लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ९ लाख ८३ हजार ७ सय ४३ रहेको छ । सो संख्यामा ३६.४७ प्रतिशत महिला रहेका छन् भने ६३.५३ प्रतिशत पुरुष रहेका छन् । यसैगरी, अर्को बीमा कम्पनी लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपालमा जीवन बीमा गराउनेको संख्या ७ लाख १ हजार ९ सय ५४ रहेको छ । सो संख्यामा ३७.२० प्रतिशत महिला र ६२.८० प्रतिशत पुरुष रहेका छन् । यता, मेट लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या १४ लाख ४८ हजार २ सय ६० रहेको छ । जसमध्ये ५६.२४ प्रतिशत महिला र ४३.७६ प्रतिशत पुरुष रहेका छन् । एशियन लाईफ ईन्स्योरेन्समा जीवन बीमा गराउनेको संख्या ४४ हजार ८ सय ७९ रहेको छ । सो संख्यामा ४४.११ प्रतिशत महिला र ५५.८९ प्रतिशत पुरुष रहेका छन् । यसैगरी सूर्या लाईफ ईन्स्योरेन्स कम्पनीका अनुसार जीवन बीमा गराउनेको संख्या १ लाख ७६ हजार ६ सय ९७ रहेको छ । सो संख्यामा ४०.२१ महिला र ५९.७९ प्रतिशत पुरुष रहेका छन् । बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार बीमा गर्नेको सङ्ख्या बढ्ने क्रममा नै रहेको छ तर सचेतना कार्यक्रम पर्याप्त नभएकाले महिलाको संख्या कम भएको हुनसक्छ । गुराँश लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ७४ हजार ७ सय ४७ रहेको छ । सो संख्यामा ४२.०९ प्रतिशत महिला र ५७.९१ प्रतिशत पुरुष रहेका छन् । त्यसैगरी प्राईम लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १४ लाख २६ हजार ९ सय ७७ रहेको छ । सो संख्यामा २० प्रतिशत महिला र ८० प्रतिशत पुरुष रहेका छन् । आईएमई लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउने संख्या ११ हजार २ सय ४५ रहेको छ । सो संख्यामा ४०.०२ प्रतिशत महिला र ५९.९८ प्रतिशत पुरुष रहेका छन् । यूनियन लाईफ ईन्स्योरेन्स कम्पनीका अनुसार जीवन बीमा गराउनेको संख्या १४ हजार ३८ रहेको छ । सो संख्यामा ३७.३७ प्रतिशत महिला र ६२.६३ प्रतिशत पुरुष रहेका छन् । ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १३ हजार ३ सय ९० रहेकोे छ । जसमध्ये ४६.८८ प्रतिशत महिला र ५३.१२ प्रतिशत पुरुषको संख्या रहेको छ । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या १३ हजार ९ सय २० रहेको छ । सो संख्यामा ३८.९७ प्रतिशत महिला र ६१.०३ प्रतिशत पुरुष रहेका छन् । रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराउनेको संख्या ५ हजार २ सय ५९ रहेको छ । सो संख्यामा ३९.९९ प्रतिशत महिला र ६०.०१ प्रतिशत पुरुष रहेका छन् । सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ७१ हजार २ सय ७२ रहेको छ । सो संख्यामा १०.०९ प्रतिशत महिला र ८९.९१ प्रतिशत पुरुष रहेका छन् । सानीमा लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ५ हजार २ सय ६६ रहेको छ । सो संख्यामा ३२.९५ प्रतिशत महिला र ६७.०५ प्रतिशत पुरुष रहेका छन् । प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नेको संख्या ४ हजार ३६ रहेको छ । सो संख्यामा ३८.०१ प्रतिशत महिला र ६१.९९ प्रतिशत पुरुष रहेका छन् । रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीमा भने जीवन बीमा गर्ने महिलाको संख्या पुरुषको भन्दा धेरै रहेको छ । सो संस्थामा जीवन बीमा गर्नेको संख्या १ लाख ६४ हजार ९ सय १० रहेको छ । सो संख्यामा २३.४० प्रतिशत मात्र पुरुष रहेका छन् भने महिलाको संख्या ७६.६० प्रतिशत रहेको छ । बीमा समितिका निर्देशक राजुरमण पौडेलका अनुसार बीमा गर्नेको सङ्ख्या बढ्ने क्रममा नै रहेको छ, तर सचेतना कार्यक्रम पर्याप्त नभएकाले महिलाको संख्या कम भएको हुनसक्छ । साथै, आगामी दिनमा महिलाको सङ्ख्यामा समेत वृद्धी हुने निर्देशक पौडेलले बताए ।

ग्लोबल आइएमईद्धारा मुसिकोट नगरपालिकालाई ५० प्रतिशत व्याज अनुदान

काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैंकलाई भुक्तानी गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरे पश्चात बैंक नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग गर्न पाउने छ । हाल बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्गसेवा मार्फत आफ्ना ग्राहकहरुमाझ सेवाप्रदान गर्दै आइरहेको छ ।

जगदम्बा इन्टरप्राइजेजको ‘जगशक्ति गोल्ड फलामे छड’ नेपाली बजारमा

काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले जगशक्ति गोल्ड फी ५०० डी टीएमटी फलामे छड नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबारदेखि बजारमा उपलब्ध हुनेगरी छडलाई बजारमा ल्याएको हो । छडले प्राविधिक रुपमा निर्माण कार्य हुँदा कंक्रिटले अत्याधिक दबाब सहने क्षमता राख्ने कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालले बताए । छड भूकम्पछिको पुननिर्माणमा निकै उपयोगी हुने कम्पनीको विस्वास रहेको छ । कम्पनीले ब्राण्ड एम्बेस्डरको रुपमा कलाकार जोडी सिताराम कटेल र कुञ्जना घिमिरेलाई अनुबन्ध गरेको छ ।

रुपन्देहीको मानपकडीमा गण्डकी विकास बैंक

काठमाडौं । गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीेमा नयाँ शाखाको उद्घाटन भएको छ । प्रमुख अतिथि प्रदेश नं. ५ रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सीप्रसाद चौधरीले सो शाखाको उद्घाटन गरेका हुन् । बैंकका सञ्चालक वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरी , शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष श्री पुण्यराम गौतम एवंम समाजसेवी शिवराम न्यौपानेले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराएका थिए । बैंकका प्रबन्धक मिलनकुमार पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने उक्त कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी आविष्कार खनालले गरेका थिए । हाल बैंकका ७७ वटा शाखा कार्यालय मार्फत विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस, एटिएम, सि एएसविए, आईपिएस, मोबाइबाट बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आएको छ ।

व्याजदर घटाउन मोरङका उद्योगीकाे माग

काठमाडौं । बैंकले लिने व्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग ७ प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प र पाँच लाख युवालाई रोजगार दिने सरकारको प्रतिबद्धता उद्योग र व्यापार क्षेत्रबाट मात्र सम्भव भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् । नयाँ सामन्तीका रूपमा देखा परेका कुनै पनि बैंक घाटामा नरहेको यथार्थलाई नेपाल राष्ट्र बैंकले बुझ्नु जरुरी छ भन्दै उद्योगी र व्यापारीले मुलुकमा व्यापार घाटा कम गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र प्रशस्त रोजगारी सिर्जना गर्न उद्योग र व्यापार फस्टाउनु पर्नेमा तर्क थियो । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले आर्थिक क्रान्तिबिना राजनीतिक क्रान्ति सफल नहुने भन्दै उद्योग र व्यापार क्षेत्रमा देखिएको समस्यालाई तत्काल सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारडाले स्वदेशी लगानी बढाउन र विदेशी पूँजी भित्र्याउन ब्याजदर कम हुनुपर्ने धारणा राखेका थिए । सङ्गठनका वरिष्ठ उपाध्यक्ष सुशेन प्याकुरेल र उद्योगी मोती दुगडले बैंकको गलत नीतिले उद्योग र व्यापार डुब्न लागेको छ भन्दै यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर देखा पर्ने निश्चित छ बताए । रासस