विकासन्युज

मेरो कार्यकालमा प्रदेश १ मा १५०० मेगावाट विद्युत उत्पादन गर्छु- शेरधन राई

काठमाडाैं । प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राईले आफ्नो ५ वर्षे कार्यकालभित्र १५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताए । स्वतन्त्र ऊर्जा उत्पादक संस्थाले आयोजना गरेको ऊर्जा सम्मेलनमा बोल्दै उनले ५ वर्ष भित्र १५०० मेगावाट विद्युत उत्पादन गर्ने बताएका हुन् । उनले प्रदेश १ सरकारले जलविद्युत क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे उनले सरकार एक द्वार प्रणालीबाट काम गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै प्रदेश १ सरकार सधैं निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको बताए । ‘देशमा जलस्रोतको सम्भावना भएरपनि विदेशबाट ऊर्जा आयात गर्नु विडम्बना हो’ उनले भने, ‘ जलविद्युतको विकास गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ ।’ मात्रै १० हजार मेगावाटको क्षमता रहेको प्रदेश १ मा सरकारले तमोर मेघा जलविद्युत आयोजनामा निर्माण गर्ने योजना बनाइरहेको छ। प्रदेश १ मा जलविद्युत विकास गर्न र लगानीकर्तालाई आकर्षित गर्न छिट्टै नै उर्जा सम्मेलन जस्तो कार्यक्रम आयोजना गरेर अगाडि बढ्ने बताए ।

भूपू सैनिकहरुको नवीकरण र रुजु कार्य शुरु

बलेवा । बागलुङमा पेन्सन क्याम्प शुरु भएको छ । विगतका वर्षहरुमा जस्तै चहलपहल नदेखिए पनि भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भूपूसैनिकको बागलुङ बजारमा चहलपहल देखिन थालेको छ । प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प यस वर्ष १ वर्षको अन्तरालमा बिहीबारदेखि शुरु भएको हो । यसअघिका क्याम्पमा भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर यस पटक भने आफू ज्यूँदै रहेको, पेन्सनरको मृत्यु भएको, परिवारले पाउने पेन्सनको विषयमा जानकारी र मृतकको पेन्सन पट्टा दाखिलाको काम मात्रै हुनेछ । एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा खोलिएका खातामार्फत प्रत्येक महिना निवृत्तिभरण पाउनेहरुको खातामै रकम जाने भएकाले पेन्सन क्याम्पमा भूतपूर्वहरुको चाप भए पनि आर्थिक चाप कम देखिएको हो । क्याम्प मङ्सिर १३ गतेसम्म चल्ने जिल्ला सैनिक बोर्ड बागलुङका सेक्रेटरी पूर्णबहादुर थापाले जानकारी दिएका छन् । सदरमुकाम बागलुङमा रहेको क्याम्पबाट विगतमा करिब ८० करोड रकम वितरण हुन्थ्यो तर गत वर्षदेखि बैंकको खातामै रकम जम्मा हुने भएकाले यसपालि रकम वितरण भने क्याम्पमा हुनेछैन । सैनिक बोर्डका अनुसार साबिकको धौलागिरि अञ्चलमा आठ हजारभन्दा धेरै पेन्सनर रहेका छन् । केहीले पछिल्लो सयम बैंकबाटै पेन्सन बुझ्ने गरेका छन् । वर्षमा दुई पटक हुने गरेको क्याम्पले चहलपहल बढ्ने गरेको बागलुङ बजारमा यस वर्ष भने सामान्य चहलपहल देखिएको छ । तर क्याम्पमै रकम वितरण हुँदाको जस्तो आर्थिक कारोवार भने नभएको व्यवसायीहरु बताउँछन् । भारतीय सेना र भारतका विभिन्न सङ्घसंस्थाबाट अवकाश प्राप्त भूपूलाई पेन्सन दिनका लागि हरेक वर्ष नवीकरण गर्ने प्रक्रिया थालिएको छ । बैंक खातामा पेन्सन आउने भए पनि पेन्सनरहरु भने बैंकमा समेत लाइन लाग्ने गरेका छन् । “हरेक अङ्ग्रेजी महिनाको अन्तिम दिन पेन्सन रकम खातामा आउँछ”, थापाले भने, “खातामा रहेको रकम जहिले पनि निकाल्न मिल्छ तर भीडभाड हुने गरेको छ ।” पेन्सन खातामा जम्मा भएको रकममा ब्याजसमेत प्राप्त हुने भए पनि पेन्सनरहरुले नबुझेका कारण बैंकमा भीडभाड हुने गरेको थापाको भनाइ छ । रासस

प्रभु ग्रुपले पहिलो पटक राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने, ३८ प्रतिशत लागत घट्ने

काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक प्रभु ग्रुपले राष्ट्रिय ध्वजावाहक पानीजहाज सञ्चालन गर्ने भएको छ । प्रभु ग्रुपले सुदूूरपूर्व, मध्यपूर्व, दक्षिणपूर्वी एशिया हुँदै भारतीय महादिप र खाडी मुलुकरूलाई समेत जोड्नेगरी कन्टेनरसहितको नेपाली ध्वजावाहक पानीजहाज  सञ्चालनमा ल्याएकाे छ। कम्पनीले करिब चार महिनादेखि उत्त सेवा दिँदै  आएको प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनले बताए । ‘सो सेवा दिनको लागि केही कन्टेनर भाडामा लिइएको छ भने केही खरिद गरिएको हो,’ उनले भने ‘यसमा अन्य विदेशी लगानीकर्ताको समेत लगानी रहेको छ ।’ । ‘प्रधानमन्त्रीको सपना साकार पार्न राष्ट्रिय ध्वजावाहक पानीजहाज संचालनमा ल्याएका हौं ।’ त्यसका लागि ग्रुपले नेपाल सिपिङ एण्ड मल्टिमोडल ट्रान्सपोर्ट प्रा.लि. नाम कम्पनी दर्ता गरिसकेको छ । कम्पनीको ३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त सेवाबाट आयातकर्ताले विश्वका जुनसुकै देशबाट सामान आयात गर्न विशाखापटनम, कलकत्ता, हल्दिया तथा मोलंगा बन्दरगाह प्रयोग गरेर नेपालको सुख्खा बन्दरगाह तथा आईडीसीहरूमा ल्याउन सकिने छ । सो कम्पनीले अन्य देशहरूसँग जहाजभाडामा लिएर सञ्चालन गर्नेछ भने निकट भविष्यमा नारायणी नदीमार्फत नेपालको चितवनको त्रिवेणी धामसम्म पानीजहाजमै सामान ढुवानी गर्ने लक्ष्य समेत लिएको छ । यो कम्पनी सञ्चालनमा आएसँगै नेपाली आयातकर्ता तथा निर्यातकर्तालाई निकै सहज हुने कम्पनीले जनाएको छ । यो सेवा सञ्चालनमा आएसँगै मध्यपूर्वी एशियाका मुलुकहरुबाट अहिले सामान आइपुग्न लाग्न समय ४५ दिनदेखि ६० दिनसम्म लाग्दै आएकोमा त्यो समयावधि ३० दिनमा झर्नेछ । त्यस्तै, नेपाली व्यवसायीहरुले विभिन्न कारणले तिर्न पर्दै आएको करिब ३८ प्रतिशतसम्मको अतिरिक्त लागत समेत बचत हुने जनाइएको छ । अर्को महत्वपूर्ण पक्ष भनेको सटही सुविधाको पनि हो । नेपाली व्यवसायीहरुले नेपालमा सामान आयात गर्दा लाग्ने ढुवानी खर्चलाई नेपाली रुपैंयामै भुक्तान गर्ने सुविधा हुनेछ, यसले गर्दा अन्तराष्ट्रिय विनिमयको प्रभाव हटाउन समेत यसले महत्वपूर्ण सहयोग गर्नेछ । कम्पनीले काठमाडौंस्थित केन्द्रीय कार्यालयमार्फत त्यस्तो सेवा दिने जनाएको छ । कम्पनीले आयातकर्ता र निर्यातकर्तालाई एकद्वार प्रणालीमार्फत छिटो छरितो र झण्झटरहित सेवा उपलब्ध गराउनु नै आफूहरुको एकमात्रै उद्देश्य भएको जनाएको छ । यो सेवाले नेपालका व्यवसायीहरुले तिर्दै आएको चर्को शुल्क र अनावश्यक झन्झट र सामान ढुवानीमा चाहिनेभन्दा बढीलागत दर र समय खर्च गरिरहेको भन्दै त्यसलाई घटाउन नेपाली झण्डा अंकित १ हजार ८ सय कन्टेनरहरू तयारी अवस्थामा रहेको समेत जनाएको छ । यो संख्यालाई आगामी वर्षसम्म ३ हजार पुर्याउने उद्देश्य समेत लिएको छ । नेपाली व्यवसायीले यो सेवाबाट पाउने सुविधा भनेको अग्रिम भुक्तानीमा हुने छुट हो । अहिले विदेशी ढुवानीकर्ताले नेपाली व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा अग्रिम रुपमा भुक्तानी गरेर मात्रै सामान ढुवानी गर्नुपर्ने अवस्था छ । यो सेवा सञ्चालनमा आएपछि सामान प्राप्त भएपछिमात्रै भुक्तानी गर्न सकिन्छ । यसले गर्दा व्यवसायीलाई थप सहज हुने विश्वास समेत प्रभु ग्रुपले लिएको छ । नेपाल फ्रेड फरवार्ड एशोसिएशनका अध्यक्ष प्रकाशजंग कार्कीले प्रभु ग्रुपले सञ्चालनमा ल्याउन लागेको पानीजहाज सेवा नेपालकै लागि गौरवको विषय भएको बताए । यसले नेपालको पारवहन क्षेत्रमा एउटा कोशेढुंगाको काम गर्ने ऐतिहासिक प्रयास उनको ठम्याइ छ ।

आजदेखि सीमानाका चार दिन बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिएका छन् । यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो । रासस

एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नेपालगञ्जको पुष्पलाल चोकमा बिहीबार सुविधासम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ । उक्त सेन्टरको उद्घाटन एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले गरेका हुन् । संचालनमा आएको सो सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ । नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत मंसिर ५ देखि मंसिर ७ गते सम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहनेछ । यसका साथै मंसिर ७ गते सम्म उक्त सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन् । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने छन् । त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पुर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने छन् । आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।  

गण्डकी विकास बैंकद्वारा जिन्सी सामाग्री तथा नगद हस्तान्तरण

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले तेह्रौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक कार्यहरु गरी सम्पन्न गरेको छ । यस क्रममा पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा ३० थान बेड विस्तारा, गगनगौडास्थित राधाकृष्ण वृद्धाश्रमका लागि १० थान बेड विस्तारा सेट, पोखराको बाच्छीबुडुवास्थित वात्सायान वृद्धाश्रमका लागि सोफासेट लगायतका सामाग्रीहरु र फलफुल तथा खाजा वितरण गरेको छ । त्यसैगरी, निर्मलापोखरीस्थित निर्मणपोखरी सेकेन्डरी स्कुलका करिब २०० विद्यार्थीहरुका लागि झोला एवं रातोपैरा बालविकास केन्द्रका विपन्न वर्गका करिब ३० जना बालबालिकाका लागि न्यानो कपडा तथा खाजा वितरण गरेको छ । यसैगरी, धादि स्थित प्रेमसागर फाउन्डेसन नेपालले करिब १०० वृद्धवृद्धा तथा ५०० गरिब विद्यार्थीका लागि दैनिक जनभोजन गराउने कार्यक्रमका लागि १ लाख रुपैयाँ, नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेसन, बैदामसँग सम्बन्धन भएका नेत्रहीन विद्यार्थीहरुका लागि आवश्यक सांगितिक सामाग्रीहरु खरिद गर्न १ लाख २४ हजार नगद हस्तान्तरण गरेको छ । साथै, पोखरा ढुंगेसाँगुस्थित पोखरा वृद्धाश्रमका लागि अक्षयकोष स्थापनाका लागि गर्न ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । यसरी, विभिन्न स्थानमा रहेको उक्त संस्थाहरुकै परिसरमा गएर सो बैंकका अध्यक्ष शुशिल गौचन, सञ्चालक पद्मप्रसाद पौडेल, किशोर ओझा, नारायण बहादुर बानिया, बासुदेव त्रिपाठी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा लगायतका पदाधिकारीहरुले उक्त जिन्सी सामाग्रीहरु तथा नगद हस्तातरण गरेका हुन् । छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शुशिल गौचन लगायतका सञ्चालकहरुले बैंक पनि यसै समाजको एक अभिन्न अंग भएको र बैंकले गर्ने हरेक क्रियाकलाप समाजकै हितका लागि कार्य गर्ने भएको हुँदा सो बैकका नेपाल अधिराज्यभर रहेका शाखामार्फत सामाजिक कार्यमा योगदान दिंदै आएको कुरा बताएका छन् । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले यस प्रकारका सामाजिक सेवाको क्षेत्रमा थप सहयोग गर्न बैंक सदैव तयार रहेको र उचित प्रस्तावलाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

बीमा कम्पनीकाे आईपीओको बाढी आउँदै, ९ अर्बकाे शेयर निष्कासनकाे तयारी

काठमाडौं । अबको केही महिनामा बीमा कम्पनीहरूमा आईपीओको बाढी आउने भएको छ । हाल आईपीओ निष्काशन गर्ने तयारी गरिरहेका कम्पनीबाट करिब ९ अर्ब रुपैयाँ मूल्य बराबरको आईपीओ बजारमा आउने भएको हो । नयाँ बीमा कम्पनीहरूले धमाधम आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको बीमा समितिले जानकारी दिएको छ । सिफारिसको लागि समितिमा डकुमेण्ट आइसकेको छ । कम्पनीकाअनुसार सो निष्काशन कार्य अन्तिम चरणमा पुगेको छ । जीबन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनी समेत गरी बीमा क्षेत्रबाट करिब ९ अर्ब रुपैयाँको आईपीओ आउने तयारीमा छ । अघिल्लो वर्ष मात्रै लाइसेन्स पाएका १० बीमा कम्पनीहरूको ६ अर्ब २८ करोड ५० लाख बराबर, निर्जीवन बीमा कम्पनीका तर्फबाट ९० करोड र नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ६० करोड समेत गरी कुल ८ अर्ब ७८ करोड ५० लाख रुपैंयाँ बराबरको आईपीओ निष्कासन हुन लागेको हो । हाल नयाँ जीवन बीमा कम्पनीहरुको कुल चुक्तापुँजी १४ अर्ब ६६ करोड ५० लाख तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब १० करोड छ । यो पुँजीलाई ७० प्रतिशत मान्दा थप ३० प्रतिशत आईपीओ ल्याउँदा उक्त परिमाणमा आईपीओ आउने भएको हो । नेपाल पुनर्बीमा कम्पनी भने सरकारी लगानी समेतको कम्पनी भएकोले यसलाई ७०ः३० को अनुपातमा आईपीओ निष्कासन गर्नुपर्ने बाध्यता छैन । त्यसैले उसले १६ प्रतिशतले हुने १ अर्ब ६० करोड रुपैंया बराबरको शेयर निष्कासन गर्ने तयारी गरेको छ । बैकहरूको आईपीओ बिक्न मुस्किल भएको बेलामा निस्कन लागेको बीमा कम्पनीहरूको आईपीओले बजारमा कस्तो असर पार्ला त्यो भने हेर्न वाँकी नै छ । लगातार आईपीओ आउनुभन्दा करिब ६ महिनाको अन्र्तरालमा आउन उपयुक्त हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले जानकारी दिएका छन् । । यस्तो अवस्थामा कम्पनीहरूले अगाडी पछाडी गरेर आईपीआ निष्काशन गर्नु उचित हुनेछ । जीवन तथा निर्जीवन दुबैतर्फका बीमा कम्पनीहरू आईपीओ निष्काशन गर्ने अन्तिम चरणमा पुगेका छन् । आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक इस्यू म्यानेजरहरूसँग कम्पनीहरूले सम्झौता गरिसकेको बीमा समितिले जनाएको छ । सो आईपीओमा निष्काशन गर्नेमा नेपाल पूनर्बीमा कम्पनी (नेपाल री) समेत रहेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सीईओ रामेश्वर श्रेष्ठले भने अहिले नयाँ आएका १० जीवन बीमा कम्पनीहरूले आईपीओका तयारी गरिरहेका छन् । तर महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको भने अर्को वर्ष मात्र आईपीओ आउने जानकारी दिए । आईपीओ निष्काशन गर्दा बिक्छ नै भन्ने कुराको कुनै ग्यारेटी भने छैन । यद्यपि एकै समयमा भन्दा केही फरक समयमा आईपीओ निष्काशन गर्न सकेमा शेयर लगानीकर्ताको आकर्षण नघट्ने विज्ञहरुरूको बुझाइ छ । केहीले भने आईपीओ निष्काशनमा ठूलो समस्या नरहेको बताए । कानुन सम्मत रुपमा आईपीओको निष्काशन हुने भएकाले एकै पटक बजारमा आउनु वा फरक समयमा आईपीओ आउनु ठूलो विषय नभएको बताइएको छ । लगानीकर्ताहरुले समेत शेयर बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्न आवश्यक रहेको तर्क गर्दै आएका छन् । साथै, बीमा कम्पनीहरूको आईपीओमा समेत लगानीकर्ताहरू आकर्षित हुनसक्ने सम्भावना रहेको छ । कानुनी रुपमा बीमा कम्पनीहरूले आईपीओ निष्काशन गर्नका लागि एक आर्थिक वर्ष कारोबार गरिसकेको हुनु पर्नेछ । बीमा क्षेत्रमा कान्छो बीमा कम्पनीको रुपमा स्थापित महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आईपीओ यस आवमा ल्याउन नसक्ने भएको छ । ।

तीव्र आर्थिक वृद्धिका लागि ऊर्जामा लगानी गर्न आवश्यक- गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले तीव्र आर्थिक विकासका लागि ऊर्जा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित पावर समिट २०१९ को दोस्रो दिनको पहिलो सेसनमा बोल्दै गभर्नर नेपालले ऊर्जामा गरेको लगानीले नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने हुँदा वैदेशिक लगानी बढ्नु पर्ने बताएका हुन् । पछिल्लो वर्षहरूमा नेपालले तिब्र आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको र त्यो लक्ष्य हाँसिल गर्न ऊर्जा क्षेत्र नै लगानीको लागि उपयुक्त रहेको उनको भनाइ छ । राष्ट्र बैंकले ऊर्जा क्षेत्रमा लगानी बढाउन के गर्न सकिन्छ भनी विभिन्न अध्ययन गरिरहेको पनि गभर्नर नेपालले जानकारी दिए । पहिलो सेसनको छलफलमा अन्य सहभागी वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनेको बताएका छन् । तर, बेलाबेलामा आईपर्ने प्राकृतिक प्रकोप र नाका बन्दीले केही समस्या परेको उनीको भनाइ छ । लगानीकर्ताहरूले स्वच्छ ऊर्जा उत्पादनमा लगानी गर्ने पनि प्रतिवद्धता जनाएका छन् । त्यसैगरी चीनको सिसिजे कम्पनीका प्रतिनिधि छुई हुईले नेपाल सरकारले ल्याएको कर प्रणालीले लगानीकर्तालाई समस्या निम्त्याएको बताइन । उनले सरकारको काम गर्ने शैलीमा परिवर्तन ल्याउनु पर्ने धारणा व्यक्त गरिन् ।