विकासन्युज

सिद्धार्थ बैंकद्धारा बुटवलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंकले बुटवलको तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले दायित्व नेपालसंग सहकार्य गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।

नेपाल-भारतको पारवहान सन्धिको स्तरीय बैठक सम्पन्न, यस्ताे भयाे सहमति

काठमाडौं । नेपाल भारत पारवहानसन्धिको विस्तृत पुनवरावलोकनको लागि वाणिज्य सह-सचिव स्तरीय बैठक काठमाडौमा सम्पन्न भएको छ । मंसिर १० र ११ मा सम्पन्न भएको उक्त बैठकमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतको तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयका भुपिन्द्र यस भल्लाले नेत्तृत्व गरेका हुन् । यस्तो छ छलफल तथा सहमतिको विवरण हालसम्म पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीलाई संशोधन गर्न विभिन्न चरणमा आदान प्रदान भएको लेटर अफ एक्सचेञ्जहरुलाई एकिकृत गरी पारवहन सन्धि र सोको प्रोटोकलको नयाँ मस्यौदा तयार पारिएको छ । नेपाल भारतका प्रधानमन्त्रीस्तरबाट भएको निर्देशन अनुसार नेपालको पारवहनकालागि आन्तरिक जल मार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग एवम बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रकृयाहरु र व्यवस्थाहरु नेपाल भारत पारवहन सन्धिको प्रोटोकलको मस्यौदा समावेश गर्ने सहमति भएको छ । रेल मार्ग मार्फत बल्क कार्गो ढुवानीका लागि विरगंज-रक्सौल नाकाका अतिरिक्त विराटनगर-जोगवनी र भैरहवा-सुनौली नाका समेत खुला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गरिएको छ । नेपालले पारवहन विविधिकरण गर्न भारतका थप २ बन्दरगाहहरु धामा र मुन्द्रा नेपालकालागि खुला गर्न गरेको प्रस्तावमा छलफल भयो र भारतका तर्फबाट दुवै पोर्ट खुला गर्न आन्तरिक छलफल भै रहेको र यस सम्बन्धमा भारतीय पक्षले यथासीघ्र राय सुझाव पठाउने सहमति भएको छ । तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतिय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रकृया लागू गर्न नेपालले प्रस्ताव गरेको लेटर अफ एक्सचेञ्जको मस्यौदामा छलफल भयो । नेपालको तर्फबाट प्रस्तावित मस्यौदामा भारतिय पक्षले आन्तिरिक छलफल गरी यतासिघ्र भारतको तर्फबाट धारणा पठाउने सहमति भएको छ । विद्यमान नेपाल-भारत पारवहन सन्धिको म्याद सन् २०२० जनवरी ५ देखी लागू हुने गरी स्वतः नवीकरण हुने भएको छ । बैठकमा दुबै मुलुकले आन्तरिक प्रकृया पूरा गरी अन्तिम रुप दिइएको पावहन सन्धि र सोको प्रोटोकलमा दुवै पक्ष बाट यथासीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ । यसअघि नेपाल भारत पारवहान सन्धीको पुनरावलोकन गर्ने सहमति गत २०७५ साल वैशाख महिनामा पनि भएकाे थियाे ।

एकैदिन ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा आएका छन् । मंसिर ११ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजारमा, डोटी जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट र दोलखा जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. १, रुपन्देही स्थित भैरहवाको विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा विस्तार गरेको छ । तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकमाझ बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ । हाल देशभरी बैंकका १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

मेरोघर र एनएमबी बैंकले ल्याए ‘अब बन्छ हजुरको घर’ अफर, शून्य प्रतिशत डाउन पेमेन्टसहित शतप्रतिशत कर्जा पाइने

काठमाडौं । मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजतादिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिने उद्देश्यले दुई संस्थाले नेपालमै पहिलो पटक उक्त अफर बजारमा ल्याएका हुन् । योजनाअन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ वर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्नेछन् भने मेरोघरले ग्राहकको इच्छाअनुसार घरको डिजाइन देखि पूर्ण-निर्माणसम्मको सेवा प्रदान गर्नेछ । त्यस्तै, घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यसका लागि, मेरोघर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्धन गरिएको छ । आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्नेछन् । त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागि समेत यो अफर लक्षित छ । ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र सर्तहरू भने लागु हुने कम्पनीले जनाएको छ । मेरोघर १५ बर्ष भन्दा बढी अनुभव भएका यस्ता विज्ञ र दक्ष आर्किटेकहरुको समुह हो, जसले आवासीय घर तथा भवन निर्माणमा आवश्यक सल्लाह, सुझाव, परामर्शका साथै डिजाइन र निर्माणसम्मको एकीकृत सेवा प्रदान गर्छ । यस्तो सेवा प्रदान गर्ने नेपालको पहिलो होम ब्रान्ड मेरोघरले सेवा शुरु गरेको ४ वर्षमैं १५० भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ भने २ हजार भन्दा बढी आवासीय घरको डिजाइन गरेको छ । आवासीय घर बाहेक होटेल, रिजोर्ट, अस्पताल, विद्यालय, व्यवसायिक भवन आदिको डिजाइन एवं सम्पूर्ण निर्माणमा पनि मेरोघरको दक्षता छ । मेरोघरले निर्माण गरेका प्रत्येक घरको ६ महिनासम्म निःशुल्क मर्मत सम्भार, घरको गुणस्तर सुनिश्चितका लागि विशेषज्ञको निगरानी एवं सम्पूर्ण संरचना निर्माणको ग्यारेन्टी जस्ता सुविधा प्रदान गर्दछ ।

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध – उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए । सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्का सभापतिको हैसियतले सम्बोधन गर्दै उनले भने– ‘सामाजिक सुरक्षा प्रणाली लागुगर्ने क्रममा केही व्यवहारिक कठिनाइहरु देखिएको भए पनि तिनको सम्बोधन गर्दै अघि वढ्नुपर्छ ।’ सभापति ढकालले श्रमजिवी वर्गको सुरक्षा र सुनिश्चित भविश्यको लागि प्रारम्भ भएको सामाजिक सुरक्षा योजनावारे व्यापक जानकारी सहित यसको प्रभावकारी कार्यान्वयनमा नेपालका उद्योगी व्यवसायीहरु लागिपरेको स्पष्ट पारे ।  ‘हामी सामाजिक सुरक्षा योजना संचालनको शुरु अवस्थामा छौँ, यो महत्वपूर्ण प्रणालीको शुरुवात गर्दा केही अप्ठेरो आउनु स्वभाविकै हो तर यस योजनामा रोजगारदाता र श्रमिकको सूचिकरण संख्या र केही रोजगारदातावाट योगदान रकम जम्मा गर्न शुरु भइसकेको अवस्थालाई सकारात्मक रुपमा लिनुपर्ने छ’ उनले भने । आइएमइ समूहका अध्यक्ष ढकालले सामाजिक सुरक्षा योजनावारे बुझाउन समय लागेकोले पनि सूचिकरण प्रक्रियामा केही ढिलाई भएको बताए । उनले थप स्पष्ट गरे– सूचिकरणको संख्या कम भयो भनेर अहिले नै चिन्ता गर्नुपर्ने स्थिति छैन, प्रस्तावित सामाजिक सुरक्षा योजनाका वारेमा रोजगारदाता र श्रमिक सवैलाई प्रष्टसँग वुझाउन सक्नु पर्ने बताए । पछिल्लो समय प्रचलनमा रहेको सामाजिक सुरक्षा सम्बन्धि व्यवस्थालाई एकिकृत रुपमा सामाजिक सुरक्षा योजनाअन्र्तगत कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण नै रहेको उनले बताए । उनले भने– भइरहेको नयाँ प्रस्तावित योजनालाई मिलाएर लैजाने काम एउटा निर्णय र विधिवाट सम्भव छैन, व्यवहारिकताको समाधान खोजी यसको सहज र प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ ।’ सामाजिक सुरक्षा कोष लागु भएको एक वर्षको पुरा भई दोस्रो वर्षमा प्रवेश गरेको सो अवसरमा सामाजिक सुरक्षा दिवस मनाउन काठमाडौंको भृकुटीमण्डपमा उक्त कार्यक्रमको आयोजना गरेको हो । श्रम मन्त्रालयका सचिव विनोद केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा श्रमिक, रोजगारदाताको बाक्लो उपस्थिति रहेको थियो । सम्बन्धित समाचार: निजी प्रतिष्ठान मात्र नभई सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा ल्याउछौं: श्रममन्त्री यादव

एनसेलले ६ वटा शहरमा मेला गर्दै, नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने

काठमाडौं । एनसेलले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले बुधबार (मंसिर ११) जनाएको छ । एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागको हो र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य पनि राखेको छ । चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण यो एक दिने एनसेल मेलाको शुरुवात इटहरीबाट हुनेछ । मंसिर २८ गते (शनिबार) इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा यो मेला आयोजना गरिनेछ । यो मेला मंसिर ३० गते (सोमबार) बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान, पुष ३ गते (बिहीबार) जनकपुरको बाह्र बिधा मैदान र पुष ५ गते (शनिबार) वीरगंजको आदर्शनगर रंगशालामा आयोजना गरिनेछ । त्यसैगरी यो एनसेल मेला पुष ९ गते (बुधबार) धनगढीको सुदुर पश्चिमाञ्चल एसपि चौकी मैदानमा आयोजना हुनेछ भने पुष १२ (शनिबार) बुटवलको सिद्घेश्वरी स्कुल मैदान, दीपनगरमा आयोजना पछि समापन हुनेछ । यी ६ वटै शहरहरुमा एनसेल मेला १० बजे शुरु भई कम्सर्ट सहित साझ ७ बजे सम्म चल्नेछ । गीत-संगीत, किड्स जोन, डिजीटल जोन देखि विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानिय पर्यटन गन्तव्यहरुको प्रवर्धन र एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु यस मेलामा समावेश गरिएका छन् । मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समुहहरुको सांगीतिक प्रस्तुती, बालबालिकाका मनोरञ्जनका विविध गतिविधी तथा गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, थिम गेमहरु र ओकुलस भर्चअल जोन यो मेलाको केही आकर्षणहरु हुन् । मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ । मेलाको उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् । किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु हुनेछन् । युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहनेछन् । मेलामा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा दिदै आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले मेला सम्बन्धि थप जानकारीका लागि १७१३३ मा डायल पनि गर्न सक्छन् ।

किर्ते हस्ताक्षर गर्ने गिरोहबाट चार दिनमा ३० लाख रुपैयाँ चोरी, जनता र मुक्तिनाथबाट चोरियो रकम

काठमाडौं । चार दिन अघि जनता बैंकबाट २० लाख रुपैयाँ चोरी गरेको गिराेहले मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चाेरी गरेकाे छ । उक्त गिरोहले जनता बैंकबाट आइतबार १९ लाख ९९ हजार र बुधबार मुक्तिनाथ विकास बैंकबाट १० लाख गरी ३० लाख रुपैयाँ चोरी गरेको महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । अनुसन्धानका क्रममा मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चोरी गरेको अनुसन्धानका क्रममा भेटिएको हो । यस्ता घट्ना घट्न थालपछि प्रहरीले अनुसन्धान बढाउन थालेकाे छ । यसरी भएकाे थियाे जनता बैंकबाट पैसा चाेरी  आइतबार दिउँसो करीब २ बजे जनता बैंक ग्वार्को शाखामा गोपालमान राजवाहकको नाममा चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाउन निवेदन पर्यो । बैंकका कर्मचारीले चेकबुक बनाइ दिए । उक्त गिरोहले त्यही दिन दिउँसो ३ः३० बजे बानेश्वरस्थित जनता बैंकको शाखाबाट चेकमार्फत ९ लाख ९९ हजार रुपैयाँ निकाल्यो । दिउँसोको काउण्टर बन्द भएपछि साँझको काउण्टरबाट ५/५ लाख रुपैयाँको दुईवटा चेक साटियो । उक्त दिननै नक्कली हस्ताक्षर गर्ने गिराेहले राजवाहककै खाताबाट पाँच/पाँच लाख गरी १० लाख रुपैयाँ नगद निकाले । यसरी अनधिकृत रुपमा पैसा निकालको बैंकको एसएमएस आउँदा समेत खातावाला गोपालमान राजबाहकलाई पत्यारै लागेन । अरु कसैलाई चेक र बैंकको एटीएम समेत नदिएका राजबाहक बैंकको एसएमएस लिएर महानगरीय प्रहरी परिसरको सम्पर्कमा पुगे । तत्कालै प्रहरी हाइअलट भयो र अनुसन्धान शुरु गर्याे । त्यसपछि प्रहरीले निरगारी बढायो । एसएसएससहित राजवाहकको खाताको निगरानी शुरु भयो । प्रहरीले सबै बैंकलाई सर्कुलर गरेर प्रहरीले त्यस्ता व्यक्ति आउने बित्तिकै खबर गर्न भन्यो । राजवाहकको खातामा पाँच लाख बाँकी रहेको थाहा पाएका गिरोहले भोलिपल्ट सोमबार त्यसैगरी तीन वटा चेक बनाएर जनता बैंकको न्यूरोड शाखामा पैसा साट्न पुग्याे । त्यहि उनीहरू समातिए । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल घर भई कालीमाटी बस्दै आएका १९ वर्षका सुवास श्रेष्ठ, सोही ठाउँ बस्ने १९ वर्षका कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोटका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौँ बस्ने ३० वर्षका गोविन्द घिमिरे रहेका छन् । उनीहरुलाई बैंकिङ कसुर मुद्दा दर्ता गरी अनुसन्धान थालिएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए । उनीहरुको साथबाट प्रहरीले नगद १८ हजार ५ सय सहित विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० थान, सयौ व्यक्तिको बैंकमा रहेको रकम उल्लेख भएको २६ वटा हाजिरीखाता खोल्न फोटो टाँसेको फारम ३ सय वटा, १ सय ९५ वटा बैंक स्टेटमेन्ट, विभिन्न व्यक्तिको नाममा जनता बैंकको ५७ वटा चेकबुक प्रहरीले बरामद गरेको छ । उनीहरूबाट ज्योति बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ बैंक, एनआइसी एशिया बैंकका दर्जनौ चेकबुक पनि फेला परेको छ । उनीहरुका साथबाट ८ सय २५ जनाको फोटो, एनआईसी एशिया बैंकको ८२ वटा र अन्य बैंकको सात गरी ८९ वटा एक्टिभ भएको एटिएम कार्ड फेला परेको छ । साथै रकम उल्लेख गरेर साट्न ठिक्क पारिएको अवस्थाको ३ सय २९ वटा चेक पनि प्रहरीले बरामद गरेको छ । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी उनीहरुले खातावालाको सबै विवरण पहिचान गरेर नक्कली हस्ताक्षर दुरुस्त पारी रकम निकाल्ने गरेको पाइएको बताए । सामान्यतया दुई/तीन लाख पैसा निकाल्दा नै बैंकले खातावालालाई फोन गर्छ, तर यहाँ झण्डै १० लाख निकाल्दा पनि खातावालालाई जानकारी नहुनुले कर्मचारीको मिलेमतो हुन सक्ने आशंका गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । उनीहरूले दिनभरि बै‌क खाताबाट पैसा निकाल्ने गतिविधि गर्ने र रातिराति कीर्ते हस्ताक्षर गर्न अभ्याससमेत गरेको अनुसन्धानमा देखिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बोगटीले भने, ‘यसका लागि पाँच वटा रजिस्टरमा प्राक्टिस गरिएकाे छ । अहिले कागजातको अनुसन्धान भइरहेको र अझै दुई बोरा कागज हेर्न बाँकी नै रहेको प्रहरीले बताएको छ । अहिले राजबाहकको मात्रै पैसा लगेको पाइए पनि अन्य धेरै व्यक्तिको रकम लगेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । चोरीबाट जोगिन राष्ट्र बैंकको सर्वसाधारणलाई आग्रह राष्ट्र बैंकले अनाधिकृत व्यक्तिबाट अनाधिकृत रुपमा बैंक खातामा रहेको रकम चोरी भएपछि यस्ता घटनाबाट आफै जोगिन ग्राहकहरूलाई आग्रह गरेको छ । यस्ता घटनाहरू जोगिन व्यक्ति र संस्था सचेत हुनुपर्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘नितान्त व्यक्तिगत कागजपत्रहरु प्रयोग गरेर पैसा चोरी भएको भन्दै उनले भने ‘यो घटनाको शंकाको दायरामा जो पनि पर्न सक्छ ।’ निश्चित खातावालाको चेक प्रयोग गरिएको हुँदा यस घटनाबाट त्रसित हुन नहुने उनकाे भनाइ छ । गत आइतबार जनता बैंकको व्यक्तिगत खातामा रहेको रकम चोरिएको विषयलाई राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सानो तिनो कमजोरीमा विचार पुर्याउन नसक्दा यस्तो घट्ना घटेको राष्ट्र बैंकले बतायाे । यस्ता घटनाहरु सबै देशमा हुन्छन् उनले भने चोरी भएको पैसा ग्राहकले फिर्ता पाउँछ,’ उनले भने ‘ बैंक खाताबाट हराएको रकम सम्बन्धित बैंकले ग्राहकलाई तिर्छ ।’ बैंकिङ प्रणाली पछिल्लो समय अझ सुरक्षित हुँदै गएको स्वीकार्दै राष्ट्र बैंकले सामान्य चोरी डकैटीका घटनाहरु घट्दैमा वित्तीय कारोबार गर्न डराउन भने नहुने बताए । राष्ट्र बैंकले अनधिकृत रुपमा बैंकको सक्कली डकुमेन्ट चोरेर व्यक्तिको खातामा रहेको रकम परम्परागत शैलीमा चोरिएको टिप्पणी गरेको छ । जनता बैंकको बानेश्वर, बनेपा र पनौती शाखाबाट आइतबार १९ लाख ९९ हजार चोरिएको जानकारी राष्ट्र बैंकले दिएको हो । उक्त घटनामा संलग्न ६ जनालाई प्रहरीलाई पक्राउ गरी उनीहरुबाट प्रहरीले १८ लाख ५० हजार बरामद गरेकोे छ ।घटना घटेको बैंक शाखामा राष्ट्र बैंकले इस्पेक्शन गर्न टोली खटाएको छ ।

सिटिजन्स बैंक र स्पार्क हेल्थ होमबीच सेवा सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच बैंकका ग्राहकलाई सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धि समझदारी भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँने छन् । यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाडौ उपत्यकाका चारवटै शाखा कार्यलय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोडबाट उपलब्ध हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले जनाएको छ । “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकका ८५ वटा शाखा, ८२ वटा एटिएम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकका शाखाको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।