पर्यटक भित्र्याउन भौतिक पूर्वाधार निर्माण जोड दिनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको विहान स्थलगत अवलोकन गरेका छन् । भौतिक पूर्वाधार निर्माण गर्न सके आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको बताए । शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । टाढाबाट दृश्य नियाल्दा ढुङ्गालाई ठाउँ ठाउँमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् । यस क्षेत्रमा नगरपालिकाले सेल्फी प्वाइन्ट निर्माण गरिदिएपछि सेल्फी लिन यहाँ युवायुवतीहरुको भीड लाग्ने गर्छ । रासस
चिनी उद्योग संघका अध्यक्ष अग्रवाल भन्छन्-यसवर्ष उखु किसानका सबै पैसा भुक्तानी हुन्छ
काठमाडौं । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले विगतमा भुक्तानी गर्न नसकेको उखु किसानका सबै पैसा यसवर्ष भुक्तानी बताएका छन् । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग किसानलाई भुक्तानी दिन सहुलियत दरको ऋण लिनका लागि पहल भइरहेको समेत उनले बताए । सरकारले उखु कृषकलाई दिने भनेको अनुदानमा पनि जग्गाको लालपूर्जा पेश गर्नु पर्ने प्रवाधान गरेकाले अनुदान लिन पनि सकस भएको अध्यक्ष अग्रवालले बताए । तरकारीको मूल्य वृद्धि हुँँदा सरकार चुप लागेर बस्ने, तर चिनीको मूल्य केही मात्रामा बढ्दा पनि धेरै हल्लाखल्ला हुने गरेको अध्यक्ष अग्रवालको भनाई छ । चिनी उद्योग संघले विदेशबाट चिनी आयात गर्दा लाग्ने ३० प्रतिशत भन्सार शुल्कलाई ६० प्रतिशत पुर्याउन माग समेत गरको छ । नेपाली चिनी उत्पादनका लागत करिव ७७ रुपैयाँ ७४ पैसा लागत लाग्छ । सीमाक्षेत्रमा ३२ भारु अर्थात ५१.२ रुपैयाँमा चिनी पाइन्छ, जसका कारण नेपाली चिनीले विदेशी चिनीसंग प्रतिस्पर्धा गर्न नसकेको उनीहरुको भनाई छ । विदेशबाट विभिन्न बाटो हुँदै चिनी आयात हुने गरेको र त्यो चिनीसँग नेपालमा उत्पादित चिनीले प्रतिस्पर्धा गर्न नसकेका कारण चिनी बिक्री नभएको व्यवसायीहरुको भनाई छ । करिब २ सय ५० करोड बराबरको स्टक चिनी उद्योगीसँग रहेका कारण किसानलाई भुक्तानी दिन नसकिएको संघले जनाएको छ । संघका अनुसार श्रीराम सुगरले ९० करोड बक्यौता तिर्नुपर्नेमा अब करिब १३ करोड रुपैयाँ मात्रै बाँकी रहेको छ । अन्नपूर्ण १४ करोड रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, इन्दिरा सुगर फ्याक्ट्रीले ४ करोड रुपैयाँ तिर्न बाँकी छ ।
कर्मचारी माथि हातपात गर्नेलाई कारवाही गर्न कर्मचारी संगठनको माग
काठमाडौँ । त्रिपुरेश्वर स्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा बुधबार कर्मचारीहरु माथि भएको हातपात घटनाप्रति आधिकारिक ट्रेड युनियनका अध्यक्ष अजय बर्तौलाले ध्यानाकर्षण जनाएका छन् । दोषी माथि कारवाही हुनु पर्ने माग पनि गरेका छन् । बुधवार कम्पनी रजिस्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने नयाँ कम्पनी दर्ता गराउन भनी आएका २ जना कानून व्यवसायी टीकाध्वज खड्का र गुणराज आचार्यले कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार भुवनहरि अर्याल र उपरजिस्ट्रार हरिनारायण बेलबासे लगायतका कर्मचारी माथि अपशब्द प्रयोग गर्नुका साथै हातपात गरेको थिए । सो घटनाबाट कार्यालयका कर्मचारीको मनोबल अत्यन्त कमजोर रहेको र कर्मचारीको सुरक्षा प्रत्याभूति गराउने कार्यमा उद्योग मन्त्रालय मार्फत आवश्यक पहल गर्न ध्यानाकर्षण समेत जनाइएको छ । दोषीलाई कारवाही नभएसम्म कार्यालयको कामकाज बन्द गर्ने सूचना प्रकाशित गरिएको छ । विहीबार कार्यालयमा कर्मचारी उपस्थित भएर हाजिर गरेपनि काम भने गरेका छैनन् ।
प्रधानमन्त्री ओलीले गरे पानी जहाज कार्यालय उद्घाटन, अब कहिलेबाट चल्छ ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान ललितपुरको एकान्तकुनामा एक समारोहका बीच कार्यालय उद्घाटन भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहने कार्यालयमा सहसचिव नेतृत्वमा १६ कर्मचारीको दरबन्दी छ । पानीजहाज चलाउनु पहिले आवश्यक गृहकार्य गर्नुपर्ने भएकाले कार्यालय स्थापना र कर्मचारी खटाउने काम भएको हो । मन्त्रिपरिषदको पुस ३० गते बसेको बैठकले पानीजहाज कार्यालय खोल्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो । पानीजहाज सञ्चालनबारे योजना बनाउन संलग्न जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेका अनुसार भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगानदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको छ । नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर योजना बनाइरहेको छ । भारतले आफ्नो सीमाभित्रमा एक वर्षमा पूर्वाधार बनाउने र नेपालले त्यसकै सहयोगले पानीजहाज चलाउने सरकारको योजना छ । गंगा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आईपुग्ने गरी पानीजहाज चलाउने तयारी हो । यो पानीजहाजलाई नारायणी नदीको दासढुंगासम्म नै ल्याउन सकिने अध्ययन टोलीको ठहर छ । बिहीबार कार्यालय उद्घाटन भएपनि पानी जहाज कहिलेबाट सञ्चालन हुन्छ भन्ने बारेमा अहिले निश्चित भइसकेको छैन । नेपाल आउने पानी जहाजको डीपीआर तयार, ओलीले गर्दैछन् कार्यालय उद्घाटन
लेबनानकाे आर्थिक विकासका लागि बेलायतले गर्याे २० करोड डलर सहयोग
लेबनान । संयुक्त अधिराज्य (बेलायत) ले लेबनानलाई २० करोड अमेरिकी डलर बराबरको सहयोग प्रदान गरेको छ । आर्थिक सङ्कटले ग्रस्त लेवनानको आर्थिक विकासमा सहयोग गरेको लेबनानका लागि बेलायती राजदूत क्रिस रामप्लिङले बताएका छन् । लेबनान र बेलायतबीचको दुईपक्षीय सम्बन्ध पहिलेको तुलनामा थप मजबुत बनिरहेको छ र बेलायतले लेबनानको अर्थतन्त्रको विकासका लागि थप सहयोग गर्न चाहिरहेको लेवनानी विदेशमन्त्री जेब्रान बसिलसँगको भेटपछि रामप्लिङले भने । रामप्लिङले नयाँ सरकार लेबनानी राजासँगको द्वन्द्वमा निष्पक्ष बन्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव १७०१ र १०५९ प्रति प्रतिवद्ध बन्नेमा विश्वास गरे । लेबनानको स्थायित्व र सार्वभौमसत्तालाई कूटनीतिक माध्यमबाट सहयोग गर्ने बताउँदै लेबनानको आर्थिक क्षेत्रमा प्रभाव देखिने गरी गम्भीर सुधारका कामहरू हुनेमा बेलायत आशावादी रहेको जानकारी दिएको छ । रासस/सिन्ह्वा
चालू आर्थिक वर्षमा १३३ उद्योगले पाए एक्जीम कोर्ड
काठमाडौँ । उद्योग विभागले चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूलो उद्योगलाई आयात निर्यात कोर्ड (एक्जीम कोर्ड) प्रदान गरेको छ । विसं २०७४ साउन १ देखि रु ५० हजारभन्दा बढी मूल्य बराबरको सामान आयात तथा रु पाँच लाखभन्दा बढी मूल्य बराबरको सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्था रहेको छ । उद्योग विभागले एक्जीम कोर्ड लिनका लागि आवश्यक कागजात र मापदण्ड पूरा गरेका उद्योगलाई भन्सार विभागमा सिफारिस गर्दै आएको छ । गत आवमा घरेलु तथा साना उद्योग विभागले ‘एक्जीम कोर्ड’ लिनका लागि भन्सार विभागमा सिफारिस गर्ने भए पनि चालू आवबाट उक्त विभाग उद्योग विभागमा गाभिएपछि उद्योग विभागले ‘एक्जीम कोर्ड’का लागि भन्सार विभागलाई सिफारिस गर्दै आएको छ । विभागका सूचना अधिकारी जीवनराज सेढाईं सरकारले अनिवार्य रुपमा एक्जीम कोर्ड लिई आयात निर्यातको काम गर्नुपर्ने व्यवस्था गरेकाले ‘एक्जीम कोर्ड’ लिनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएका छन् । विभागले प्यान/भ्याटमा दर्ता भएका उद्योग, उद्योग र वाणिज्यमा दर्ता भएका उद्योग, आयातको लागि रु १० लाख र निर्यातका लागि रु ३ लाख बैंक ग्यारेन्टी गरेको तथा कर चुक्ता प्रमाणपत्र भएको उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गर्दै आएको हो । यस्तै वाणिज्यका सामग्री आयात तथा निर्यातका लागि भने वाणिज्य विभागबाट ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्था गरिएको छ । रासस
खानेपानीको समस्या हल गर्न सरकार गम्भीर छ : खानेपानी मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताए । काठमाडौं उपत्यका खानेपानी (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौं बासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको जानकारी दिएका छन्र। मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको बताएका छन् । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् । केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गरे । उनले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने बताए । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले केयुकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयुकेएललाई काकाकुल कम्पनी नबनाउन आग्रह गरे ।
माघ महिनामा बैंकहरुको निक्षेप र कर्जामा असन्तुलन, निक्षेपको २१४ % कर्जा प्रवाह
काठमाडौं । निक्षेप र कर्जाको विस्तारमा बैंकहरु फेरि असन्तुलित देखिएका छन् । अघिल्लो महिना कर्जा विस्तारभन्दा निक्षेप संकलनको विस्तार बढी देखाएर सन्तुलन कायम गरेका बैंकहरुले तेस्रो त्रैमासको पहिलो महिनामा फेरि असन्तुलन कायम गरेका हुन् । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार २८ वाणिज्य बैंकहरुले पुस महिनामा २१ अर्ब निक्षेप वृद्धि गर्दा ४५ अर्ब रुपैंया कर्जा प्रवाह बढाएका हुन् । कर्जा र निक्षेपको वृद्धिदर अनुपात करिब २१४ प्रतिशत हो । बैंकहरुले पुस महिनाको अन्त्यमा कुल २६ खर्ब ५० अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले माघ महिनाको अन्त्यसम्ममा कुल निक्षेप २६ खर्ब ७१ अर्ब रुपैंया पुर्याएका छन्, जसमध्ये २५ खर्ब ६८ अर्ब रुपैंया नेपाली मुद्रामा र १ खर्ब २ अर्ब रुपैंया बराबरको निक्षेप विदेशी मुद्रामा संकलन गरिएको छ । यो निक्षेप नेपाली र विदेशी मुद्रामै अघिल्लो महिनाभन्दा क्रमशः १४ अर्ब र ७ अर्ब रुपैंया बढी हो । त्यस्तै, एक महिनाको उक्त अवधिमा वाणिज्य बैंकहरुले करिब ४५ अर्ब रुपैंया कर्जा प्रवाह बढाएका छन् । कुल २३ खर्ब ८९ अर्ब रुपैंया कर्जा लगानी गर्दा २३ खर्ब १५ अर्ब रुपैंया नेपाली रुपैंयामा र ७३ अर्ब विदेशी मुद्रामा ऋण प्रवाह गरेका हुन् । यो लगानी स्वदेशी र विदेशी मुद्रामा अघिल्लो महिनाको कर्जा लगानीको आकारभन्दा क्रमशः ३८ अर्ब र ७ अर्ब विदेशी बढी हो । त्रैमासिक विवरण सार्वजनिक गर्नुपर्ने भएकोले त्रैमासको अन्त्यमा सम्हालिने बैंकहरु पहिलो र दोस्रो महिना भने असन्तुलित हुने गरेका छन् । अघिल्लो त्रैमासमा पनि कात्तिक महिनामा असन्तुलित देखिएका बैंकहरु मंसिर र पुस महिनामा ‘करेक्सन’ गरेका थिए, यो त्रैमासमा पनि सोही प्रवृत्ति देखिएको छ । सामान्यतया निक्षेपको ८० प्रतिशत कर्जा वृद्धिले बैंकहरुको व्यवसाय विस्तारलाइृ सन्तुलित बनाउँछ तर गत महिना बैंकहरुले निक्षेपको दोब्बर भन्दा बढी कर्जा प्रवाह वृद्धि गर्दा यसले बैंकिङ क्षेत्रको सीसीडी अनुपातमै चाप पर्ने देखिएको छ ।