विकासन्युज

स्कुटर रिभ्यू: सुजुकी बर्गम्यान स्ट्रीट

काठमाडाैं । १२५ सीसी सेग्मेन्टका स्कुटरहरुको राजा मानिएको ‘सुजुकी एक्सेस’ ले बजारमा आधिपत्य जमाइरहेका वेला यसलाई टक्कर दिनेगरी अन्य स्कुटरहरु पनि बजारमा आउन थाले । यस्तो अवस्थामा सुजुकीले पनि प्रतिक्रिया दिन आवश्यक थियो । फलस्वरुप यसले बल्की डिजाइनमा विल्कुलै नयाँ स्कुटर ‘बर्गम्यान स्ट्रीट’ बजारमा ल्याएको हो । सुजुकीले बर्गम्यान स्ट्रीटलाई म्याक्सी स्कुटरका रुपमा नेपाली बजारमा ल्याएको हो । सामान्यतया म्याक्सी स्कुटर भन्नाले टुरिङ्ग स्कुटरलाई जनाउँछ जसको साइज ठूलो हुनुका साथै पावरफुल इञ्जिन समेत समावेस गरिएको हुन्छ । म्याक्सी स्कुटरको मुख्य उद्देश्य भनेकै चालकलाई कम्फर्ट प्रदान गर्नु हो । बर्गम्यान स्ट्रीट सामान्य स्कुटरको तुलनामा ठूलो देखिन्छ र यसको रोड प्रेजेन्स पनि दमदार रहेको छ । चौडा एप्रोन, ठूलो विन्डस्क्रीन, लामो र चौडा सिट र त्यसैगरी यसको कम्फर्टेवल राइडिङ्ग पोजिसनले यस स्कुटरलाई म्याक्सी स्कुटर बनाउनमा ठूलो मद्दत पुर्याएको छ । त्यसैगरी विभिन्न ठाउँहरुमा जडित क्रोमले त झन् यस स्कुटरलाई प्रिमियम लुक्स समेत प्रदान गरेको छ । बर्गम्यान स्ट्रीटमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेस गरिएको छ । र त्यसैगरी स्कुटरको स्टोरेज पकेट भित्र चार्जिङ्ग सकेटको पनि व्यवस्था गरिएको हुनाले स्कुटर कुदाउँदै मोवाइल चार्ज समेत गर्न सकिन्छ । यस स्कुटरको अगाडिको टायर सुहाउँदो साइजको भएता पनि पछाडिको टायर भने बडिको तुलनामा अलि सानो देखिन्छ । सुजुकीले बर्गम्यान स्ट्रीटको अगाडिको चक्कामा डिस्क ब्रेक जडान गरेको छ र त्यसैगरी स्कुटरमा कम्वाइन्ड ब्रेकिङ्ग सिस्टम पनि रहेको छ जसले यसको ब्रेकिङ्गलाई थप प्रभावकारी समेत बनाएको छ । बर्गम्यान स्ट्रीटमा १२४ सीसीको इञ्जिन समावेस छ जसले ८.५ बीएचपीको पावर र १०.२ एनएमको टर्क प्रदान गर्दछ । त्यसैगरी ५.६ लिटर पेट्रोल अटाउने क्षमता भएको यस स्कुटरले ५३.५ केएमपीएलको माइलेज दिन्छ भनी कम्पनीले दावी गरेको छ । अगाडिको भागमा १२ इञ्चको र त्यसैगरी पछाडिको भागमा १० इञ्चको अलोए ह्वील लगाइएको यस स्कुटरको सिट हाइट ७८० मिलिमिटर रहेको छ । त्यसैगरी ग्राउण्ड क्लियरेन्स भने १६० मिलिमिटर रहेको छ । हेर्दा हेभी देखिने यस स्कुटरको कर्ब वेट भने १०८ के.जी. मात्र रहेको छ । नेपाली बजारमा हाल यो स्कुटर ब्ल्याक, ह्वाइट र ग्रे गरी तीन कलर अप्सन्समा उपलब्ध रहेको छ । धेरै भन्दा धेरै राम्रा फिचरहरु हुँदाहुँदै पनि यस स्कुटरमा पार्किङ्ग ब्रेक, पास वाइ स्वीच र इञ्जिन किल स्वीच चाहिँ समावेश गरिएको छैन । यदि स्कुटरमा यी कुराहरु पनि समावेस गरिन्थ्यो भने अझ सुनमा सुगन्ध थपिने थियो भन्ने हाम्रो ठम्याइ रहेको छ । नेपालका लागि सुजुकी टू ह्वीलर्सको आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि.ले यस स्कुटरलाई नेपाली बजारमा दुई लाख २९ हजार नौ सय रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ ।

जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको परीक्षण शुरु

काठमाडौं । उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परीक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए । “कालीगण्डकी किनारबाट रिजर्भ ट्याङ्कीसम्म पानी तान्ने उपकरणको परीक्षण सफल भयो”, उनले भने, “मङ्गलबारदेखि वितरण र शाखा पाइपलाइनको परीक्षण शुरु गरेका छौँ”, बगरफाँट क्षेत्रको मुख्य र वितरण पाइपलाइनको परीक्षण सकिएको छ । पानी थिग्राउने पोखरी, वरीबेनी र लामाखेतको वितरण लाइन परीक्षण सफल भएपछि नियमित खानेपानी वितरण शुरु गरिनेछ । कालीगण्डकी किनारको जुगेधारामा प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको समसिवल वयल पम्प जडान गरिएको छ । जुगेधाराको पानी १५० मिटर उचाइमा रहेको ट्याङ्कीमा विद्युतीय उपकरण प्रयोग गरेर पुर्याइएको छ । मुहानदेखि ट्याङ्कीसम्मको दूरी ७५० मिटर छ । मुहानमा पानी तान्ने सम्पवयल पम्प, पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण भएको छ । चार लाख लिटर क्षमताको फेरो ट्याङ्की, दुई वटा पानी छान्ने र थिग्राउने पोखरी, कार्यालय भवन, मुख्य पाइपलाइन निर्माण गरिएको छ । १५ किलोमिटर मुख्य पाइप लाइन निर्माण भएको छ । पम्प, ट्याङ्की, भवन, पोखरी र मुख्य पाइप लाइन निर्माणका लागि चन्द्र एण्ड वसन्त एएम जेभीले १० करोड ३० लाख रुपैयाँमा ठेक्का लिएको थियो । उपभोक्ता समितिसँग वितरण पाइप लाइनसहितको पूर्वाधार बनाउन दुई करोड १२ लाख रुपैयाँमा सम्झौता भएको थियो । सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत लगानीमा विसं २०७४ कात्तिकदेखि खानेपानी डिभिजन कार्यालयले आयोजना निर्माण शुरु गरेको थियो । आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नं वडामा पर्ने बगरफाँट, वारीबेनी र लामाखेतका ९५५ घरधुरी लाभान्वित हुने अध्यक्ष रेग्मीले बताए । प्रत्येक घरमा मिटरसहितको निजी धारा निर्माण भएको छ । घर–घरमा निजी धारामार्फत खानेपानी वितरण गर्ने व्यवस्था मिलाएको कोषाध्यक्ष बरुवालले भने । खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत आयोजना निर्माण भएको हो । उपभोक्ताले पहिलो चरणमा प्रतिघर १५ हजार रुपैयाँका दरले नगद सङ्कलन गरेका थिए । अहिले बढाएर प्रतिघर २० हजार रुपैयाँ कायम गरिएको छ । जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट र लामाखेतमा तीव्ररूपमा बस्ती विस्तार भएको छ । बस्तीमाथि खानेपानीको स्रोत नभएकाले लिफ्ट प्रविधि अपनाइएको हो । उक्त क्षेत्रका बासिन्दाले अहिलेसम्म मुहानमा व्यक्तिगत लगानीमा पाइप जोडेर घरमा पानी ल्याउने गरेका थिए । थोरै पानीको स्रोत तर माग धेरै भएपछि समस्या भएको थियो । आलोपालो लगाएर पानी आपूर्ति गराउँदै आएका थिए । पानीका कारण विवाद र सामाजिक द्वन्द्व हुने अवस्था अब अन्त्य भएको जलजला वडा नं ३ का अध्यक्ष रवि भण्डारीले जानकारी दिए। रासस

पर्यटन वर्ष २०२० लाई सफल बनाउन समिति गठन

काठमाडौं । पर्यटन वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन सिरहामा पर्यटन वर्ष २०२० जिल्ला समन्वय समिति गठन गरिएको छ । सिरहाको प्रमुख पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आयोजित भेलामा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, पर्यटन वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झा, प्रदेश सदस्य राकेश रोशन गुप्ता, मागैन कामैतले पर्यटन वर्ष २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको बताए । अशोकलाल अमात्यको संयोजकत्वमा गठित २६ सदस्यीय समितिको सदस्यमा सचिदानन्द चौधरी, राजेशकुमार गुप्ता, जिवछ यादव, सुरेन्द्र कामती, सन्तोष चौधरी, श्यामकुमार गुप्ता, रामसेवक यादव, श्यामनन्द यादव, प्रदीपकुमार गुप्ता, नवीनकुमार यादव, विद्यानन्द गिरी, विशाल साह सुडी, राजेश चौधरी, नविता यादव, जगदीश महतो, लक्ष्मण यादव, विष्णुदेव मण्डल, रिक्मा विश्वकर्मा, सागर चौधरी, रामबहादुर यादव, बुद्धराम यादव, जानकीकुमारी चौधरी, अनिल उपाध्याय र आनन्द महतोलाई राखिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन भ्रमण वर्ष २०२० प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज गर्न लागेको प्रदेश संयोजक झाले जानकारी दिए । आन्तरिक र बाह्य पर्यटक भित्र्याउने प्रदेश नं २ मा व्यापक पर्यटकीय क्षेत्र रहे पनि एकीकृत दस्तावेज नहुँदा प्रदेश नं २ कै एक जिल्लाको पर्यटकीयस्थलबारे अर्को जिल्लावासीलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको उनको भनाई छ । प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्र छन्, तर वास्तविक सङ्ख्या नहुँदा त्यस्ता पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रसमेत ओझेलमा परेको छ, संयोजक झाले भने, “पर्यटकलाई आकर्षित गर्न कुन–कुन पर्यटकीय क्षेत्र तथा धार्मिकस्थल उपयुक्त हुन्छ र त्यस्ता पर्यटक क्षेत्र कतिको सङ्ख्यामा छन् भन्ने कुरा पत्ता लगाउन एकीकृत दस्तावेज तयार गर्न लागेका छौँ ।” यसरी तयार गरिने एकीकृत दस्तावेजहरु प्रदेश नं २ का आठवटै जिल्लाका प्रमुख शहरमा रहेका होटल तथा लजहरुमा प्रचार–प्रसारका लागि राखिने उहाँको भनाइ छ । रासस

साधना लघुवित्त राष्ट्रियस्तरको लघुवित्तमा स्तरोन्नति

काठमाडौं । साधना लघुवित्तले आगामी दिनमा नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन अनुमति प्राप्त गरेको छ । साथै वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय साविककै स्थान गोरखानगरपालिका ६, हरमटारी गोरखामा रहने र नाम सधना लघुवित्त वित्तीय संस्था रहने जानकारी वित्तीय संस्थाको अध्यक्ष कृष्णवहादुर थापाले बताए । साधना लघुवित्त वित्तीय संस्था, कम्पनी ऐन २०६३ अन्तर्गत मिति २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकवाट घ वर्गको वित्तीय संस्थाको रुपमा १० जिल्लाकार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त गरी मिति २०७४ कार्तिक २२ गतेबाट गोरखानगरपालिका, वडा नं ६, हरमटारीमा केन्द्रीय कार्यालयवाट वित्तीय कारोवार गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको मिति २०७६ मंसिर ११ गतेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भएको हो । संस्थाको ४० करोड कुलनिक्षेप ,१ अर्व ४५ करोड कुललगानी, कुल ४७ शाखा संख्या, ३९ हजार सदस्य संख्या रहेको छ । वित्तीय संस्थाको हालको चुक्तापूँजी १४ करोड ७० लाख रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्तापूँजी २१ करोड रहने जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

अधिकांश बैंकिङ कसुरमा कर्मचारीकै संलग्नता, कृषि विकास बैंकमा ३४ करोड हिनामिना

काठमाडौं । गत भदौ १४ गते चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ लुट्यो । त्यसको महिनादिन नबित्दै फेरि असोजको पहिलो साता कृषि विकास बैंकको लहान शाखाबाट पनि ५ करोड रुपैयाँ चोरी भयो । गत आइतबार जनता बैंकमा रहेको व्यक्तिको खाताबाट र्किते हस्ताक्षर गरी चेकबाट १९ लाख ९९ हजार रुपैयाँ निकालियो । सोमबार गोपालमान राज वहाकको खातामा बाँकी रहेको ५ लाख निकाल्ने प्रयास गरियो । त्यसको पर्सिपल्ट बुधबार साँझ फेरि मुक्तिनाथ विकास बैंकको खाताबाट सोही गिरोहले १० लाख निकालेको पुष्टि महानगरीय प्रहरी परिसरले गरेको छ । प्रहरीले यी सबै मुद्दाको छानबिन र अध्ययन अनुसन्धान गरिरहेकै छ । बैंकहरूले पनि आफू कसरी यस्ता घटनाबाट जोगिने भनि थप शतर्कता अपनाएका छन् । यद्यपि यस्ता घटनाहरु रोकिनुको सट्टा अझै बढ्दो छ । बैंकको एटीएम प्रयोग गरेर कृषि विकास बैंकको लाहान शाखाबाट पैसा निकालिएको डेढ महिनाको यो अवधिमा फेरि बैंकमा अर्को लफडा शुरु भएको छ । कृषि विकास बैंक स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा नियमित विपरीत ३३ करोड ९३ लाख रकम बैंकलाई हानी नोक्सानी पुर्याएका छन् । बैंकलाई हानीनोक्सानी पुर्याएको आरोपपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । आयोगले दायर गरेको मुद्दाअनुसार बैंकका कर्मचारीले विप्रेषण रकम समेत नक्कली नागरिकता पेश गरी आफैंले लिएको पाइएको छ । कर्मचारीको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापन समेत सम्पूर्ण जिम्मेवारी र दायित्व हुुनुपर्नेमा सो भूमिका समेत निर्वाह नगरेको पाइएको छ । गौतमले झुठा विवरण र नक्कली नागरिकता बनाइ रेमिटबाट आएको रकममा फर्जी कारोबार देखाइ जम्मा गरी अन्यत्र पठाएको भेटिएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूबाट र अन्य विभिन्न बैंकहरुबाट ईसीसी (इलेक्ट्रोनिक चेक क्लियरिङ) मार्फत भुक्तानी लिने, नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाइ नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको, योजनाबद्ध ढंगबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैकिङ सिष्टमको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्याएर बैंकलाई हानिनोक्सानी पुर्याएको आरोप उनीमाथि लागेको छ । तेजबहादुर थापा नाम खडा गरी सोही नामबाट नागरिकता र राहदानीसमेत बनाइ बैंकबाट हिनामिना गरेको रकम लिएर विदेश फरार हुने योजनासमेत बनाएको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । बैंकको सम्पत्ति दुरुपयोग गर्न शाखा अधिकृत गौतमकी जेठी श्रीमती सम्झना पोखरेल समेत संलग्न रहेको पाइएको आयोगले जनाएको छ । सम्झनाले तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट गैरकानुनी रुपमा निकालेको रकमबाटै कर्जा लिएको, सो रकमको कारोबार गर्न अन्य बैंकका खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष सम्लग्न रहेको, जग्गा जमानी सबै बिक्री गरी भारत पलायन हुने योजना समेत बनाएको पाइएको छ । गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले समेत श्रीमान्लाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगी भूमिका खेलेको आयोगको आरोप छ । यस्तै शाखा अधिकृत गौतमले निकालेको पैसा व्यवस्थापन गर्न सन्दीप गुप्ता र सूर्यबहादुर लिम्बूसमेत संलग्न रहेकोे आरोपपत्रमा उल्लेख छ । सो घटनामा मतियारका रुपमा कृष्णहरि थापा भनिने राजीव थापासमेत सो प्रकरणमा जोडिएका छन् । आयोगले सोमबार बैंकका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम, शाखा प्रबन्धक भरतबहादुर बानियाँ, गौतमकी पहिलो श्रीमती सम्झना र दोस्रो श्रीमती जेनी श्रेष्ठ, मतियारका रुपमा रहेका सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध जनही ३३ करोड ९३ लाख बराबरको बिगो दाबी गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियोः आगामी मार्चसम्म सञ्चालन हुने

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी काम धमाधम भइरहेको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सन् २०२० को मार्च महिनाभित्रै विमानस्थल सञ्चालन गर्नेगरी आयोजनाको कामको गति बढाइएको छ । पूर्वाधार निर्माण सकेर त्यसको तीन महिनापछि व्यावसायिक उडान थाल्ने योजना बनाएको यो आयोजनालाई प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष प्राथमिकतामा राखेर उच्च अधिकारीलाई जिम्मेवारी दिएको छ । आयोजनाको तयारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा ल्याइएको छ । गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी दिइएका तिवारीले प्राधिकरणका महानिर्देशक राजन पोखरेलको मातहतमा रहेर गौतमबुद्ध विमानस्थलको शीघ्र सञ्चालनको तयारीका लागि आवश्यक सहजकर्ताको काम भएकाे जनाए । विमानस्थलको व्यावसायिक उडान सञ्चालनका आवश्यक पूर्वाधार तथा प्राविधिक उपकरण जडानको कामलाई तीव्रता दिइने तिवारीसहित प्राधिकरणका अन्य धेरै उच्च तहका कर्मचारीलाई विभिन्न विभागको जिम्मेवारी हेर्नेगरी सरुवा गरिएको छ । अहिलेकै अवस्थामा निर्धारित समयभित्र उडान भर्न कठिनाइ रहेको उल्लेख गर्दै उहाँले भौतिक पूर्वाधारको प्रगति रहे पनि विमानस्थलमा सञ्चारका उपकरण जडानका लागि लामो समय लाग्ने बताए। आगामी नौ महिनापछि मात्रै विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्न सकिने प्रवक्ता तिवारीले बताए । तर, हाल गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुखको रूपमा काम तथा विमानस्थल निर्माणको समग्रतामा ८४ दशमलव २५ प्रतिशत प्रगति भएको जानकारी दिए । उनका अनुसार अबको मुख्य काम विमानस्थलको टर्मिनल भवनको फिनिसिङ, टर्मिनल भवनभित्र जडान हुने केही उपकरण तथा धावनमार्ग र ट्याक्सी वेको काम धमाधम भइरहेको छ । दुवै सत्रमा काम भइरहेको विमानस्थलमा रातिको समयमा टर्मिनल फिनिसिङको काम भइरहेको छ । विमानस्थलको कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग यसअघि नै कालोपत्र भइसकेको छ । भ्रमण वर्षको अवधिमै यो विमानस्थलालाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणका उच्च अधिकारीले बताउँदै आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनका लागि विशेष प्राथमिकता दिएको र भ्रमण वर्षको शुरूवातसँगै विमानस्थल पनि व्यावसायिक प्रयोजनमा ल्याइने बताए । डिसेम्बर महिनाभित्र भौतिक संरचना निर्माण सक्ने र उपकरण जडानका समेत काम सकेर सन् २०२० मार्चको अन्त्यतिर सञ्चालनमा ल्याउने तयारी गरिएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरुमा उद्घाटन भएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि दुई वर्षको निर्माण समयावधि थपिएको थियो । यो आयोजनका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने जनाइएको छ । रासस

उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्धि सम्भव छैनः मन्त्री पार्वत गुरुङ

काठमाडौं । नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्धि सम्भव नहुने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उनले सरकारले लिएको समृद्धि नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास अपरिहार्य भएकोमा जोड दिए । स्थानीयस्तरमा आफ्नै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रवद्र्घन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रवद्र्घनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने प्रतिवद्घता व्यक्त गरे । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट पनि महिला उद्यमशीलता र यस्तै अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्य र छलफलबाट अगाडि बढ्ने सोंच रहेको बताए । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीब्रत्तर आर्थिक बृद्घिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवद्र्घन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने उहाँको भनाई थियो । सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याए । सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले मन्त्री गुरुङको स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको थियो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, सल्लाहकार वासु गिरी, पूर्व अध्यक्ष सुरेश प्रधानलगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा सौरभ ज्योतिको उम्मेदवारी, प्रतिस्पर्धा भए पनि नछाेड्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वको लागि उम्मेदवारी घोषणा शुरु भएको छ । महासंघको एशोसिएट तर्फको उपाध्यक्ष सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार राजधानीमा आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । ‘चार पटक महासंघको कार्यसमितिमा सदस्य भएर काम गरिसकेँ । यस पटक उपाध्यक्षमा मेरो उम्मेदवारी रहन्छ’ ज्योतिले भने । तीन वर्षअघिको निर्वाचनको क्रममा उपाध्यक्ष पदमा आकांक्षा राखेका ज्योतिले अन्तिम समयमा चन्द्रप्रसाद ढकाललाई समर्थन गरेका थिए । गत चुनावमा ढकाल सर्वसहमत एशोसिएट उपाध्यक्षमा निर्वाचित भएका थिए । यस पटक ज्योति सर्वसहमतिमा एशोसिएट उपाध्यक्ष बन्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । तर चैत अन्तिम साता हुने निर्वाचन आउन अझै पाँच महिना बाँकी रहेकोले बीचमा धेरै उचारचढाव आउन सक्छ । ‘अरुको उम्मेदवारी आउन पनि सक्छ । प्रतिस्पर्धाको अवस्थामा पनि मेरो उम्मेदवारी कायम रहन्छ’ ज्योतिले भने । पत्रकारहरुलाई आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै गर्दा महासंघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थिएन । उनले महासंघको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पत्रकारहरु राय सुझाव लिएका छन् । पत्रकारहरुले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका भनाई तथा महासंघका आधिकारिक विज्ञप्तीहरुमा अर्थतन्त्रका समस्या, उद्योगी व्यवसायीहरुले भोगेका समस्या र समाधानको उपायहरुबारे मौन देखिन थालेको टिप्पणी गरेका छन् । सरकारलाई खुशी बनाउने उदेश्य राखेर महासंघको नेतृत्वकाे विचार आउन थालेको तथा सरकारी नीति, बजेट, कार्यक्रम, निर्णयहरुमा भएको त्रुटीबारे महासंघले बोल्न नसक्ने अवस्थामा पुगेको पत्रकारको भनाई रहेको छ । महासंघको सचिवालय कमजोर भएको र महासंघको नेतृत्वमा पुग्नेहरु चरम राजनीतिमा फसेकोले महासंघको भूमिका कमजोर देखिएको अनुभव पत्रकारहरुले सुनाएका छन् । सिमेन्ट उद्योग देखि लघुवित्तसम्मका व्यवसायिक संस्थाहरुलाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले तेहेरो कर लगाएको समाचार बारम्बार प्रकाशित हुँदा पनि महासंघकाे केन्द्रीय नेतृत्वले वास्तै नगरेको र महासंघको संस्थागत सदस्य रहेका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले पनि स्थानीय तहले गलत तरिकाबाट उठाएको करको विरोध गर्न नसकेको पत्रकारहरुले औल्याएका छन् ।