सिभिल बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानीमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिज्नेस अफिसर सुजितकुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सानीमा लाइफ इन्स्योरेन्सले जीवनवीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताएका छन् । सिभिल बैंकले यस अघि जीवनवीमा कम्पनीहरु त्था निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवनवीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
राजकुमारीलाई उम्मेदवार बनाउन खोजेको आरोपमा थाईल्याण्डको एक पार्टी विघटन गर्ने तयारी
बैंकक । राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाईल्याण्डको एक पार्टीलाई विघटन गर्ने प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले राजकुमारीलाई राजनीतिमा ल्याउन खोज्ने ‘थाई रक्षा चार्ट पार्टी’लाई विघटनका लागि प्रक्रिया अगाडि बढाएको हो । आयोगले पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको सो पार्टीलाई विघटनका लागि बुधबार संवैधानिक अदालतसँग सोधेको छ । रक्षा चार्टको तर्फबाट थाई राजकुमारी उबोलरतनाले केही दिन अगाडी प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए । उनको घोषणाप्रति उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए भने उनले आपत्ति जनाएपछि निर्वाचन आयोगले उनलाई उम्मेदवार बन्न आयोग्य घोषणा गरेको थियो । राजाको असन्तुष्टि र आयोगको निर्णयपछि राजकुमारी उबोलरतनाले पनि कमजोरी भएको स्विकार गर्दै क्षमा याचना गरेकी छन् । उनले क्षमा याचना गरेसँगै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाउन खोजेको पार्टीलाई विघटनको प्रक्रिया थालेको हो । शाही परिवारका सदस्यलाई सक्रिय राजनीतिमा संलग्न गराउन खोज्नु कानुन विपरित भएकाले त्यस्तो कार्यमा संलग्न रक्षा चार्टलाई विघटन गर्ने प्रक्रिया सुरु गर्नु परेको आयोगका अधिकारीहरुको भनाई छ । आउदो मार्च २४ मा निर्वाचन हुन लागेकाले त्यो भन्दा अगाडी नै अदालतले यस विषयमा निर्णय गर्नु पर्ने भएको छ । अदालतले विघटन गर्ने निर्णय गरेमा यसले शिनावात्रा परिवार र सो पार्टीले अझ लामो समय प्रतिवन्ध भोग्नु पर्ने छ भने आसन्न निर्वाचनमा भाग लिन पाउने छैन । सैन्य विद्रोहपछि पदच्युत भई अहिले निर्वासित जीवन विताईरहनु भएका शिनावात्रालाई अहिलेको सत्ता पक्षले निषेध गर्ने रणनीतिको रुपमा यो विषयलाई अगाडी सारेको टिप्पणी गरिएको छ । रासस/एएफपी
मेलम्ची ग्यारेन्टीको रकम फिर्ता गराउन बैंक अफ काठमाण्डूको पहल
काठमाडौं । बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दाको सुनुवाईको लागि कानुनी परामर्श दाताहरुको टोली चाइना पठाएको छ । उक्त मुद्दाको सुनुवाई चीनको न्यायलयमा फागुन ३ गते हुने भएको छ । बैंकले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन चिनीया ठेकेदार चाइना रेल्वे १५ ब्युरो ग्रुपको चाइना कन्सट्रक्सन बैंक मार्फत काउन्टर ग्यारेन्टी प्राप्त गरी उक्त काउन्टर ग्यारेन्टीको सुरक्षणमा मेलम्ची खानेपानी आयोजनालाई ६६लाख २० हजार अमेरिकी डलर तथा १४लाख युरो बराबरको ग्यारेन्टी जारी गरेको थियो । मेलम्ची र चिनीँया ठेकेदार कम्पनीबीच करार सम्झौताभंग भएकाले उक्त ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीनस्थित न्यायालयले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाण्डूलाई दिन नपर्ने आदेश जारी गरेको थियो । अन्र्तराष्ट्रिय नियम र अभ्यास अनुसार चाइना कन्सट्रक्सन बैंकले बीओकेलाई जारी गरेको काउन्टर ग्यारेन्टी एउटा स्वतन्त्र र शर्तहीन दायित्व हो । चीनस्थित अदालतबाट काउन्टर ग्यारेन्टीको भुक्तानी बन्द गर्दा सर्वसाधारणको निक्षेपमा क्षति पुगेको हुँदा यस मुद्दाप्रति नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको आवश्यक सहयोग र समन्वयबाट उक्त गुमेको रकमफिर्ता गर्ने प्रकृयाको सहजीकरण हुनेछ ।
पाल्पामा जनता बैंकको नयाँ एक्स्टेन्सन काउन्टर शुरुवात
काठमाडौं । जनता बैंक नेपालले पाल्पा जिल्लामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार शुरुवातसँगै एक सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ । पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको हो । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिन्छ, साथै उक्त क्षेत्रका उद्यमी, व्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्ने भएका छन् । हाल ७ वटै प्रदेशमा १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।
तराईको लुक्ला भनेर चिनिने भरतपुर विमानस्थल विस्तार गर्ने तयारी
चितवन । भरतपुर विमानस्थल विस्तार गर्ने प्रक्रिया शुरु भएको छ । तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, भरतपुर महानगरपालिकासँगै चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सबैको ध्यान विमानस्थल विस्तारमा केन्द्रित भएको छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ । भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमका अनुसार हाल धावनमार्ग एक हजार दुई सय मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग भएको छ । जसका कारण जहाजले सहज उडान र अवतरण गर्न कठिन भएको छ, भने जहाजभरी यात्रु बोक्न सकेका छैनन् । यसले पाटपूर्जामा समेत असर पारेको छ । विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको उनले बताए । गौतमका अनुसार मन्त्री अधिकारीसहित स्थानीय तहका प्रमुख विमानस्थल विस्तारका लागि सकारात्मक भएर लागि परेका छन् । दुई साताअघि यहाँ आएनु भएका मन्त्री अधिकारी चढेकै जहाज सहज अवतरण हुन कठिन भएको थियो । त्यसपछि मन्त्री अधिकारीले तत्कालै महानगर प्रमुख र स्थानीय सुरक्षा निकायका प्रमुखसँग छलफल गरी यसको विस्तार प्रक्रिया अघि बढाउन आवश्यक निर्देशन दिनुभएको गौतमले बताए । गौतमको नेतृत्वमा समिति गठन गरी जहाज अवतरण र उडानमा समस्या परेका संरचना अध्ययनका लागि काम गर्न निर्देशन दिइएको छ । समितिले छिट्टै काम सम्पन्न गरी तत्कालको समस्या हल गर्ने गौतमले बताए । केही घरका छतमा रहेको ट्रस्ट हटाएर विद्युतीय तार भूमिगत गर्न सकेमा हालको समस्या समाधान हुने उनले बताए । दीर्घकालीन विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी गरिएको छ । सो ठाउँ विस्तार गर्दा ८ सय देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यपालिकाको बैठकले विमानस्थल विस्तारका लागि पहल गर्ने निर्णय गरेको बताए । भरतपुरबाट करीब १५० किलोमिटरको दुरीमा चारै तर्फ अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले भरतपुरको विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउने पहल शुरु भएको दाहालले बताए । नजिकै रहेको सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि विभागीयमन्त्री समेत लागिरहनु भएकाले यो विमानस्थललाई चाँडै विस्तार गर्न सकिने प्रमुख दाहालले बताए । जिल्लामा क्रिकेट रङ्गशाला, सिटी हलजस्ता ठूला पूर्वाधार बन्ने तयारीमा रहेको र पर्यटकीय केन्द्र भएकाले ७२ सिट क्षमता भएको जहाज अवतरण गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्ने दाहालको भनाइ छ । उनका अनुसार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड समेत विमानस्थल विस्तार गर्न लागि परेका छन् । प्रचण्डको निर्वाचन क्षेत्र र गृहजिल्ला चितवन नै भएकाले यस विमानस्थललाई विस्तार र सुरक्षित गर्नुपर्नेमा उनको पनि जोड छ । नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोख्रेलको नेतृत्वमा आएको एक टोलीले विमानस्थलको अध्ययन गरी फर्किएको छ । पोख्रेलका अनुसार अहिले विमानस्थल जोखिमपूर्ण ढङ्गले सञ्चालनमा आएको छ । विस्तार गर्न नसकिए बन्द गर्नुपर्ने अवस्था रहेकाले सरोकारवाला सबैको ध्यान विमानस्थलतर्फ केन्द्रीत भएको बताउँदै उनले यसलाई स्तरीय विमानस्थल बनाउन सकिन्छ भने । प्राधिकरणले देशका अन्य विमानस्थलको स्तरोन्नती गरिरहेको भन्दै उहाँले विस्तार गर्ने ठाउँ पाएमा रात्रिकालीन उडान भर्नसक्ने गरी स्तरीय विमानस्थल बनाउन सकिने बताए । उच्च पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र समृद्धिका लागि पनि ठूला जहाज अवतरण गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्नेमा उनले जोड दिए । विस्तार गर्ने ठाउँ उपलब्ध भएमा गुरुयोजना निर्माण गरी प्राधिकरणले काम गर्ने पनि उनले बताए । विसं २०१५ मा निर्माण थालेर तत्कालीन हवाई विभागले विसं २०१८ मङ्सिर १२ गतेबाट भरतपुर विमानस्थल सञ्चालनमा ल्याएको थियो । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका समयमा निकै चाप बेहोरेको यस विमानस्थलबाट हाल नौवटा उडान काठमाडौँ र एउटा उडान पोखरा गरिँदै आएको छ । विमानस्थलले दैनिक ७५० देखि आठ सय जनालाई सेवा दिँदै आएको छ ।
प्रचण्ड भन्छन्-‘केही दिनभित्र पार्टी एकताको बाँकी काम पूरा हुन्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उनले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताए । उनले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उनले भने, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।” उनले पार्टी एकता सफल पार्न एक/दुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राखे । जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने उनको भनाइ रहेको बताए । उनले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने बताए । कार्यक्रममा नेकपामा महासचिव विष्णु पौडेलले संविधानमार्फत समाजवादको आधारशिला निर्माण गरेकाले शहीदको सपना पूरा गर्न समाजवाद ल्याउने बताए । कार्यक्रममा जनयुद्ध र सुखानीमा शहीदप्रति अध्यक्ष दाहालसहित महासचिव पौडेल, स्थायी कमिटी सदस्य सुभाष नेम्वाङ, भीम रावलले श्रद्धाञ्जलि व्यक्त अर्पण गरेका थिए ।
सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्बन्धि सम्झौता
काठमाडौं । सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् सनराइज बैंकका सबै शाखाहरु मार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी., ड्याप/डिएए तथा क्रेडिट कार्ड लगायत अन्य विदेशी विनिमयसँग सम्बन्धित सुविधाहरु निर्वाध रुपमा प्राप्त गर्ने सक्नेछन् । सम्झौता पश्चात् दुवै बैंकहरुले आफ्नो ग्राहकमाझको पहुँच फराकिलो हुने पनि जानकारी दिएका छन् ।
गुराँस लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र कैलाश विकास बैंककाबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले उक्त सम्झौता गरेका छन् ।