भारत र नेपालबीच ऐतिहासिक समझदारी, पानी जहाज, बल्क कार्गाे र इसीटीएस दिन भारत सहमत
काठमाडौं । नेपाललाई भारतीय जलमार्गमा राष्ट्रिय ध्वजावाहक पानी जहाज सञ्चालन गर्ने बाटो खुला भएको छ । नेपाल र भारतीयबीच पारवहन सन्धि संसोधन गर्न बसेको प्राविधिक समितिको बैठकले भारतको आन्तरिक जलमार्गमा नेपाली पानीजहाज सञ्चालन गर्ने सुविधा सहितको व्यवस्था सन्धिमा समावेश गर्ने औपचारिक सहझदारी भएपछि बाटो खुला भएको हो । भारत सहमत भएसँगै नेपालीकन राष्ट्रिय ध्वजावाहक पानी जहाज सञ्चालन गर्ने सपना पुरा हुने भएको हो । वाणिज्य मन्त्रालयका सह–सचिव नवराज ढकालले अब नेपाली ध्वजावाहक पानी जहाजहरूले भारतको कलकत्ता–बनारस, कलकत्ता–कालुघाट र कलकत्ता–साहिबगञ्जसम्म सञ्चालन गर्न पाउने बताए । अब बिराटनगर र भैरहवा भन्सारसम्म रेलमार्गबाट समान ढुवानी गर्ने बाटो पनि खुला भएको छ । यस अघि बल्क कार्गाे(रेलबाट समान ढुवानी)को सुविधा विरगञ्ज नाकामा मात्रै थियो । उद्योगी व्यवसायीहरुले बल्क कार्गाे मुमेन्टका लागि जोगवनी र नैतनवा नाका खोल्न सरकरलाई सुझाव दिइरहेका थिए । त्यस बाहेक नेपाल र भारतबीच इसीटीएस (इलेक्ट्रोनिक कार्गाे ट्रयाकिङ सिस्टम) लागु गर्ने समझदारी पनि भएको छ । अब नेपाली व्यवसायीले तेश्रो मुलुकबाट ढुवानी गरेको समान भारतीय बन्दरगाह र भन्सार कार्यालयहरूमा खोलेर हेर्नु पर्दैन । तेस्रो मुलुकबाट आयातित सामानलाई विद्युतिय ट्रयाकिङ प्रणालीले नै चेकजाँच गर्नेछ । चार वटा मूल विषयमा छलफल गर्न आयोजीत प्राविधिक कमिटी बैठकमा नेपाललाई धुम्रा र मुन्द्रा पोर्ट उपयोग गर्न दिन भने भारतले मानेको छैन । मुन्द्रा गुजरातको बन्दरगाह र धुम्रा उडिसा राज्यको सामुन्द्रिक बन्दरगाहका लागि केही समय पछि छलफल हुने बताइएको छ । भारतले पानी जहाज सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताएको छ । जहाज सञ्चालन भए पछि नेपालमा तेस्रो मूलुकबाट सामान निर्यात गर्दा सास्तो हुन आउने छ । यसले नेपालको निर्यातमा पनि वृद्धि हुने अनुमान गरिएको छ । यी दुई बन्दरगाह प्रयोगमा ल्याउन सके महेन्द्रनगर नाका र विराटनगर नाकाबाट आयात निर्यातको अवस्था थप सहज हुनेछ ।
सातवटै प्रदेशमा टिभिएसको ‘अपाचे आरटिआर १६० २भी रेस एडिसन डबल डिस्क’ सार्वजनिक
काठमाडौं । टिभिएसको ‘अपाचे आरटिआर १६० २भी रेस एडिसन डबल डिस्क’ सातवटै प्रदेशमा सार्वजनिक भएको छ । उक्त बाइक ‘टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २’ कार्यक्रममा सार्वजनिक भएको हो । जगदम्बा मोटर्स प्रा.लि.ले नेपालमा आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको टिभिएस अपाचे सिरिजले कार्तिक २० गतेदेखि शुरु गरेको यो कार्यक्रम गत मंसिर ४ गते सम्पन्न भएको थियो । भिजिट नेपाल २०२० लाई लक्षित गरी गरिएको यस साँगीतिक कार्यक्रममा महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए । सोही समारोहमा सार्वजनिक गरिएको बाइकको मुख्य आकर्षणका रुपमा डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभर स्क्वायर इन्जिन र डिजिटल डिस्प्ले रहेका छन् । साथै, यसको इन्जिन एयर कूल्ड छ र इलेक्ट्रिक÷किक स्टार्ट गर्न सकिने विशेषतायुक्त छ । यसैगरी, यस बाइकको ग्राउण्ड क्लियरेन्स भने १६५ मिमि रहेको कम्पनीले जनाएको छ ।
अग्नि ग्रुपद्धारा विराटनगरमा महिन्द्रा ट्रयाक्टरको शोरुम स्थापना, थ्रीएसकाे सुविधा
विराटनगर । अग्नि ग्रुपले हालै विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधा सम्पन्न आधिकारिक शोरुम हो । नव स्थापित ट्रयाक्टर शोरुम तथा वर्कशपको अग्नि इंक.का निर्देशक क्याबिनेट श्रेष्ठले नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एण्ड महिन्द्राको अन्तर्राष्ट्रिय कार्य संञ्चालन तर्फकी बजार व्यवस्थापक आकांक्षा वंशलका साथै अग्नि इंक.को ट्रयाक्टर विभागका नायव महाप्रबन्धक प्रभाषमान शाक्य र शाखा प्रबन्धक विजय किशोर देवको संयुक्त उपस्थितिमा बुधबार उद्घाटन भएकाे हाे। “विराटनगर र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो,” कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अग्नि इंक.को ट्रयाक्टर विभागका नायव महाप्रबन्धक प्रभाषमान शाक्यका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण उपभोक्ताहरुले अधिकतम सन्तुष्टि पाइरहेका छन् । यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा ट्रयाक्टरका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदिमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ । कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल रहेका र नयाँ उद्यमी र कृषक/कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।
मेगा बैंकले पायो आइएसओ प्रमाणपत्र, गुणस्तरीय व्यवस्थापन कायम गर्न सफल
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र पाएको छ । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत बुधबार उक्त प्रमाणपत्र प्रदान गरेको हो । मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो । बैंकको हाल १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगा रेमिट” को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ ।
सिद्धार्थ बैंकद्धारा बुटवलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंकले बुटवलको तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले दायित्व नेपालसंग सहकार्य गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ४५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।
नेपाल-भारतको पारवहान सन्धिको स्तरीय बैठक सम्पन्न, यस्ताे भयाे सहमति
काठमाडौं । नेपाल भारत पारवहानसन्धिको विस्तृत पुनवरावलोकनको लागि वाणिज्य सह-सचिव स्तरीय बैठक काठमाडौमा सम्पन्न भएको छ । मंसिर १० र ११ मा सम्पन्न भएको उक्त बैठकमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतको तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयका भुपिन्द्र यस भल्लाले नेत्तृत्व गरेका हुन् । यस्तो छ छलफल तथा सहमतिको विवरण हालसम्म पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीलाई संशोधन गर्न विभिन्न चरणमा आदान प्रदान भएको लेटर अफ एक्सचेञ्जहरुलाई एकिकृत गरी पारवहन सन्धि र सोको प्रोटोकलको नयाँ मस्यौदा तयार पारिएको छ । नेपाल भारतका प्रधानमन्त्रीस्तरबाट भएको निर्देशन अनुसार नेपालको पारवहनकालागि आन्तरिक जल मार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग एवम बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रकृयाहरु र व्यवस्थाहरु नेपाल भारत पारवहन सन्धिको प्रोटोकलको मस्यौदा समावेश गर्ने सहमति भएको छ । रेल मार्ग मार्फत बल्क कार्गो ढुवानीका लागि विरगंज-रक्सौल नाकाका अतिरिक्त विराटनगर-जोगवनी र भैरहवा-सुनौली नाका समेत खुला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गरिएको छ । नेपालले पारवहन विविधिकरण गर्न भारतका थप २ बन्दरगाहहरु धामा र मुन्द्रा नेपालकालागि खुला गर्न गरेको प्रस्तावमा छलफल भयो र भारतका तर्फबाट दुवै पोर्ट खुला गर्न आन्तरिक छलफल भै रहेको र यस सम्बन्धमा भारतीय पक्षले यथासीघ्र राय सुझाव पठाउने सहमति भएको छ । तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतिय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रकृया लागू गर्न नेपालले प्रस्ताव गरेको लेटर अफ एक्सचेञ्जको मस्यौदामा छलफल भयो । नेपालको तर्फबाट प्रस्तावित मस्यौदामा भारतिय पक्षले आन्तिरिक छलफल गरी यतासिघ्र भारतको तर्फबाट धारणा पठाउने सहमति भएको छ । विद्यमान नेपाल-भारत पारवहन सन्धिको म्याद सन् २०२० जनवरी ५ देखी लागू हुने गरी स्वतः नवीकरण हुने भएको छ । बैठकमा दुबै मुलुकले आन्तरिक प्रकृया पूरा गरी अन्तिम रुप दिइएको पावहन सन्धि र सोको प्रोटोकलमा दुवै पक्ष बाट यथासीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ । यसअघि नेपाल भारत पारवहान सन्धीको पुनरावलोकन गर्ने सहमति गत २०७५ साल वैशाख महिनामा पनि भएकाे थियाे ।
एकैदिन ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा आएका छन् । मंसिर ११ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजारमा, डोटी जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट र दोलखा जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. १, रुपन्देही स्थित भैरहवाको विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा विस्तार गरेको छ । तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकमाझ बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ । हाल देशभरी बैंकका १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।
मेरोघर र एनएमबी बैंकले ल्याए ‘अब बन्छ हजुरको घर’ अफर, शून्य प्रतिशत डाउन पेमेन्टसहित शतप्रतिशत कर्जा पाइने
काठमाडौं । मेरोघर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजतादिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिने उद्देश्यले दुई संस्थाले नेपालमै पहिलो पटक उक्त अफर बजारमा ल्याएका हुन् । योजनाअन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ वर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्नेछन् भने मेरोघरले ग्राहकको इच्छाअनुसार घरको डिजाइन देखि पूर्ण-निर्माणसम्मको सेवा प्रदान गर्नेछ । त्यस्तै, घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यसका लागि, मेरोघर र एनएमबी बैंकको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्धन गरिएको छ । आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्नेछन् । त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागि समेत यो अफर लक्षित छ । ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र सर्तहरू भने लागु हुने कम्पनीले जनाएको छ । मेरोघर १५ बर्ष भन्दा बढी अनुभव भएका यस्ता विज्ञ र दक्ष आर्किटेकहरुको समुह हो, जसले आवासीय घर तथा भवन निर्माणमा आवश्यक सल्लाह, सुझाव, परामर्शका साथै डिजाइन र निर्माणसम्मको एकीकृत सेवा प्रदान गर्छ । यस्तो सेवा प्रदान गर्ने नेपालको पहिलो होम ब्रान्ड मेरोघरले सेवा शुरु गरेको ४ वर्षमैं १५० भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ भने २ हजार भन्दा बढी आवासीय घरको डिजाइन गरेको छ । आवासीय घर बाहेक होटेल, रिजोर्ट, अस्पताल, विद्यालय, व्यवसायिक भवन आदिको डिजाइन एवं सम्पूर्ण निर्माणमा पनि मेरोघरको दक्षता छ । मेरोघरले निर्माण गरेका प्रत्येक घरको ६ महिनासम्म निःशुल्क मर्मत सम्भार, घरको गुणस्तर सुनिश्चितका लागि विशेषज्ञको निगरानी एवं सम्पूर्ण संरचना निर्माणको ग्यारेन्टी जस्ता सुविधा प्रदान गर्दछ ।