विकासन्युज

भैरहवामा सुबिसुको नयाँ शाखा, सेवाग्राहीलाई ईन्टरनेट तथा टिभी सेवामा विषेश छुट

काठमाडौं । सुबिसु केवलनेट (प्रा) लि.ले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा विस्तार गरेको छ । नयाँ शाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराज कार्की र सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिब नेत्रप्रसाद आचार्यले उद्घाटन गरेका छन् । यस शाखाबाट सुबिसुले भैरहवा तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुबिसु सगँ सम्बन्धित सम्पूर्ण जानकारीहरु प्रदान गर्ने, कम्पनीका विभिन्न सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ । साथै, भैरहवा आसपासका उपभोक्ताहरुलाई समय र ग्राहकको चाहनाअनुसार नयाँ प्रविधी सहितको गुणस्तरीय तथा तीब्र गतिको एफटिटिएच ईन्टरनेट तथा क्लियर टिभी सेवा सहुलियत दरमा प्रदान गर्नेछ । क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एच डि) च्यानलहरु हेर्न सकिने छ । साथै, एफटिटिएच सेवामा न्युनतम १५ एमबिपिएस गति देखि १ सय एमबिपिएस गति सम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको छ । यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभी सेवामा विषेश छुट प्रदान गरेको छ ।

निसानले भित्र्यायो नयाँ किक्स गाडी, मूल्य ४७ लाख र ५९ लाख रूपैयाँमा पाइने

काठमाडाैं । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायो नियर मोटो कर्प प्रा.लि.ले फागुन ५ गतेदेखि निसानको नयाँ गाडी किक्स नेपाली बजारमा भित्र्याएको छ । उक्त गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ लाख ९९ हजार रुपैयाँमा पाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ । साथै, एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटकोलागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समेटिएको छ । यो एसयूभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । यसैगरी, नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछन् । बिक्री शुरु कार्यक्रममा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले भने -“विश्वस्तरीय नयाँ सवारी साधनले नेपालीको अभिरुचि पूरा गर्ने र साथै यसबारे नेपालीहरुमा रहेको उत्सुकता पूरा गरेको छ र हामीलाई विश्वास छ र कार प्रेमी नेपालीहरुको मन जित्नेछ ।” यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरकेको ५ स्पीड म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ के९के डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् । माइलेज क्षमता उत्तम मानिएको यस गाडीको पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्न सक्ने एआरएआईले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकका पदाधिकारीलाई कारबाही गर्नुपर्छः पुर्व मन्त्री तामाङ

काठमाडौं । पूर्व मन्त्री शेर बहादुर तामाङले गलत तथ्यांक दिने राष्ट्र बैंकका पदाधिकारीहरुलाई कारवाही गर्न माग गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा पूर्व कानुन मन्त्री तामाङले गलत आर्थिक परिसूचक सार्वजनिक गर्ने राष्ट्र बैंकका पदाधिकारीहरुलाई कारवाही हुनुपर्ने बताएका हुन । केही पत्रपत्रिकाहरुले राष्ट्र बैंकको हवला दिँदै अन्य तथ्यांक पेश गरेकोप्रति टिप्पणी गर्दै भने,‘सरकारलाई एउटा तथ्यांक दिने, अनि पत्रिकालाई अर्को तथ्यांक दिने काम राष्ट्र बैंकका पदाधिकारीहरु गर्नु हुँदैन । गलत तथ्यांक दिनेहरुलाई कारबाही गर्नुपर्छ ।’ प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको ग्राफ हेर्दा आफूले सरकारलाई सफल भएको मान्ने पनि तामाङको भनाई थियो । उनले भने,‘म त यो ग्राफ हेर्दा सरकार सफल भएको देख्छु ।’ उनले सरकारले गर्नुपर्ने कामहरु गरेरै अघि बढेको पनि दाबी गरे ।

सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्र्तगत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

शाइन रेसुङ्गा बैंकको नयाँ शाखा रुपन्देही र नवलपरासीमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रुपन्देहीको देवदह खैरेनी र नवलपरासीको सुनवल नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । खैरेनी शाखाको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्री र सुनवल शाखाको सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाले छुट्टाछुट्टै कार्यक्रमबीच उद्घाटन गरेका थिए । देवदह शाखाको उद्घाटन गर्दै नगरप्रमुख खत्रीले बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेका कार्य अनुकरणीय रहेको उल्लेख गर्दै अव देवदहको आर्थिक विकास र समृद्धिका लागि सरकारले अघि सारेका अनुदान र सहुलियतका कार्यक्रमलाई वडा वडामा लैजान बैंकलाई आग्रह गरेका थिए । समाजसँग बैंक अभियान सञ्चालन गरेको बैकले स्थानीय जेष्ठ नागरीकलाई बैकमा जेष्ठ नागरिक खाता खोली दिई चेक हस्तान्तरण गर्नुका साथै दोसल्ला ओढाई कदर–पत्रबाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा देवदह खैरेनी शाखा अन्र्तगत देवदह वडा नं. ५ का ९८ बर्षीय टिकाराम तिवारी, वडा नं. ७ का ९५ बर्षीय मोतिलाल अधिकारी, वडा नं. ५ का ८९ बर्षीय चित्रकली थापा, वडा नं. ७ का ८४ बर्षीय भिमलाल खरेल र वडा नं. ५ का ८० बर्षीय सुना कुमारी राना सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि देवदह नगर प्रमुख खत्री, बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष थानेश्वर पौडेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सम्मान गरेका थिए । त्यस्तै, सुनवल शाखाको उद्घाटन गर्दै सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले समृद्ध नगर हाम्रो अभियानका साथ कृषि, पर्यटन, उद्योग र व्यापारलाई प्रमुख प्राथमिकता दिएर नगरपालिका अघि बढ्न लागेको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व सहित शाखा सञ्चालन गरेकोमा प्रसन्नता व्यक्त गर्दै बैंकसंग मिलेर नगरपालिका अघि बढ्ने बताए । नगरप्रमुख थापाले महेशपुर नाकाको स्तरबृद्धि पश्चात नवलपरासीमा आर्थिक बिकासको सम्भावना बढेको बताउदै बैंक तथा बित्तीय सस्थाको भुमिका पनि बढ्दै गएको जानकारी दिएका छन् । सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले सुनवलको संभावनालाई सार्थक बनाउन बैंकको लगानी उत्पादन र रोजगारमुलक क्षेत्रमा केन्द्रीत गर्न आग्रह गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ ।

अर्थको आदेशमा सेयर निष्काशन नियमावली संशोधन, जलविद्युतको सेयर बिक्री नभए सरकारको नाममा जाने

काठमाडौं । सरकारले ल्याउन लागेको “जनाताको जलविद्युत कार्यक्रम” अनुसार आम सर्वसाधारण जनताको लागि ब्यवस्था गरिएको ४९ प्रतिशत स्वःपूँजी संकलनको लागि गरिने शेयर निष्काशन तथा बाँडफाँडलाई व्यवस्थित गर्ने सम्बन्धमा बिशेष कानूनी व्यवस्था गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यसका लागि आवश्यक नियम तथा कानूनी व्यवस्थाका लागि अर्थ मन्त्रालयले बोर्डलाई निर्देशन दिएपछि बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा दोस्रो संशोधन गरेको हो । नेपाल सरकारको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व भएको जलविद्युत कम्पनीले आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन वा आयोजनाको कुल लागत अनुमान र निर्माण अवधि खुलाई तयार गरिएको आधिकारिक विवरण तयार भई संस्थापकहरुले लिन कबूल गरेको शेयर रकमको कम्तिमा दश प्रतिशत चुक्ता भैसकेको र आयोजना निर्माणका लागि फाइनान्सियल क्लोजर भैसकेको वा सोको लागि आशयपत्र प्राप्त भएको अवस्थामा सरकारबाट स्वीकृत कार्यक्रम बमोजिम सर्वसाधारणबाट पूँजी संकलन गरी जलविद्युत अयोजना निर्माण गर्न शेयर तथा डिबेञ्चर निष्काशन गर्न सक्ने व्यवस्था गरिएको छ । धितोपत्र बोर्डका अनुसार उक्त कार्यक्रम अन्तर्गतका जलविद्युत कम्पनीले शेयरको सार्वजनिक निष्काशन गर्दा त्यस्तो शेयर खरिद गर्न चाहने आवेदकले आवेदन साथ शेयरको चुक्ता मूल्यको दश प्रतिशत रकम दाखिल गर्नुपर्ने गरी आवेदन माग गर्न सक्नेछ । आवेदन गर्ने आवेदकलाई शेयर बाँडफाँट हुने भएमा कम्पनीको दश प्रतिशत चुक्ता भएको शेयर प्रदान गरिने र उक्त शेयरधनीलाई कम्पनीले नेपाल सरकारले निर्धारित गरेको बार्षिक प्रतिफल प्रदान गर्न सक्नेछ भने यस्तो प्रतिफल शेयरको चुक्ता हुन बाँकी रकममा मिलान गर्न सकिने व्यवस्था समेत गरिएको धितोपत्र बोर्डले जनाएको छ । संस्थापकहरुले लिन कबूल गरेको शेयरको शतप्रतिशत रकम भुक्तानी भई आयोजनाको निर्माणको न्यूनतम पचास प्रतिशत भौतिक प्रगति भएपछि कम्पनीले शेयरधनीसँग चुक्ता हुन बाँकी रकम माग गर्न सक्ने र रकम प्राप्त भएपछि निष्काशित शेयरको चुक्ता रकम शतप्रतिशत गरी सम्बन्धित शेयर धनीलाई शेयर जारी गरिने व्यवस्था गरिएको छ । शेयरको रकम शतप्रतिशत चुक्ता भए पश्चात त्यस्तो शेयर धितोपत्रको दोश्रो बजारमा कारोबार हुन सक्ने छ । शेयरको चुक्ता हुन बाँकी सम्पूर्ण रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको शेयर अन्य इच्छुक खरिदकर्तालाई एक महिनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी बिक्री गर्न सक्ने तर सो सम्पूर्ण शेयर बिक्री हुन नसकेमा बिक्री हुन बाँकी रहेको शेयर संस्थापक शेयरधनी वा सरकारको नाममा रहने गरी आवश्यक व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक परिष्ट नाथ पौड्यालले जानकारी दिए ।

फागुन २३ गतेदेखि भृकुटीमण्डवमा १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरू हुँदै

काठमाडौं । फागुन २३ गतेदेखि काठमाडौंको भृकुटीमण्डवमा १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव शुरू हुने भएको छ । “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने नाराका साथ फागुन २३ गतेदेखि २७ गतेसम्मन उक्त मेला सञ्चालन हुने आयोजकले जानकारी गराएका छन् । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छन्र । प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ । साथै मानिसहरुको आकर्षण दिन प्रतिदिन अर्गानिक उत्पादनमा बढ्दै गएको र अर्गानिक उत्पादन उपभोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भइरहेको छ भने नेपाल सरकारले पनि अर्गानिक उत्पादनलाई प्रोत्साहन गरिरहेको अवस्थालाई मध्यनजर गर्दै तेश्रो प्राङ्गारिक कृषि मेला – २०७५ पनि सोही मेलामार्फत गरिन लागेको हो । मोलमार्फत नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्य लिइएको छ । उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दे उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने प्राङ्गारिक कृषि मेलाको उद्देश्य रहेको आयोजकले जानकारी दिएका छन ।  

रुपन्देहीको बाउन्नकोटीमा ७५ करोड खर्चेर पार्क बनाइदै, एउटा पार्क बनाउन ५० वर्ष ?

बुटवल । नन्द–भाउजु ताल, सिंसार क्षेत्र, ऐतिहासिक बाउन्नकोटी मन्दिर, सुन्दर शान्त र हरियाली वातावरण रहेको बाउन्नकोटी सामुदायिक बन क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तयारी भएको छ । अनुमानित ७५ करोड रुपैयाँ खर्चेर ५० बर्षे गुरुयोजना निर्माण नयाँ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको हो । महालक्ष्मी ईन्जिनियरिङ कन्सल्टेन्सी समन्वयमा ईन्जिनियर जीवन कुमार वन सहित सुदिप ढकाल र निशा वनले तयार गरेको नक्सांकन माथि आईतबार भएको छलफल तथा सुझाव संकलन (अन्र्तक्रिया) कार्यक्रमले गुरुयोजना मार्फत पर्यटकीय विकास गर्ने लक्ष्य बोकेको हो । ईन्जिनियर जीवन कुमार वनसहितको टोलीले तयार गरेको भिजुअल अनुसार बनको हालको संरचना तथा अवस्थालाई यथास्थितीमा प्राकृतिक स्वरुपमा राख्दै डुङ्गा सयर, ताल र सिमसार क्षेत्रको सौन्दर्यकरण, बाल उद्यानको थप व्यवस्थित विकास, पिकनीङ स्पर्टमा आधुनिक ढाँचा, भ्यू टावर निर्माण, कलात्मक आकर्षण गेट निर्माण, साईकलिङ तथा पद मार्ग निर्माण, फुटवल खेल मैदान र कर्भडहलको निर्माण, साँस्कृतिक कार्यक्रमको लागि आवश्यक भौतिक संरचना, बास्केट बल र टेवल टेनिस र्पोट निर्माण, योगा तथा सेमिनार हलको निर्माण, व्यवस्थित आधुनिक शैलीको गौशाला, पार्किङ स्थल निर्माण, रिङरोड निर्माण, छेउछाउका बस्तीहरुलाई ग्रिन भिलेजको रुपमा परिणत गरी होमेस्टे सञ्चालन लगायतका अवधारणाहरु रहेका छन् । भिजुअलको दृश्य अवलोकन पश्चात नक्सांकनमा केही अत्यावश्कीय छुटेका कुराहरुलाई समावेश गरेर गुरुयोजना निर्माण गर्नु पर्ने बन समीतिका पधादिकारी तथा सदस्यहरुले सुझाएका छन् । उनीहरुले शौचालय, विश्राम स्थल, मन्दिरको संरक्षण तथा प्रवद्र्धन, पार्किङको आवश्यकता र स्थिती, प्रवेश क्षेत्रको जानकारी, प्राकृतिक संरचनामो डुङ्गा सयरको अवस्थालाई विस्तृत रुपमा खुलाएर ताल तथा सिमसार क्षेत्रमा धार्मिक आस्थाका मठ–मन्दिर, गुम्वा, चर्च तथा मस्जिदको सम्भावना र आवश्यकतालाई पनि खुलाएर गुरुयोजनामा समावेश गर्नु पर्ने औल्याएका छन् । बनका अध्यक्ष भोला प्रसाद यादवका अनुसार एक सय ५४ हेक्टर क्षेत्रफलमा फैलिएको बनमा हाल तीन सय ८० जना सदस्यहरु रहेका छन् भने साविक चिल्हिया, मधवलिया, टिकुलीगढ, पडषरी गाविसका चार हजार भन्दा बढी स्थानीयहरुले लाभ लिएका छन् । यस क्षेत्रकै एक मात्र पाँच तारे होटल टाईगर प्यालेस रिर्सोट बनको पर्यटकीय विकासको लागि बाह्य पर्यटनको आधार स्तम्भ पनि हो ।