होण्डाको ‘डिओ’ र ‘एभिएटर’ मध्ये कुन किन्दा राम्रो ? यस्ता छन् फरक
काठमाडाैं । होण्डाले नेपाली बजारको स्कुटर सेग्मेन्टमा एकछत्र राज गरेको छ भन्दा फरक नपर्ला । ‘एभिएटर’ र ‘डिओ’ त्यस्ता दुई स्कुटरहरु हुन् जुन नेपालमा होण्डाका विशेष रुचाइएका स्कुटरमध्येमा पर्दछन् । आज हामी यिनै दुई स्कुटरहरु विच रहेका भिन्नताहरुलाई उजागर गर्न गइरहेका छौं, जसले अवश्य पनि तपाईंलाई उपरोक्त दुई स्कुटरहरुमध्ये कुनै एकचयन गर्नुपर्ने अवस्थामा सहयोग पुर्याउने छ । इञ्जिन एभिएटरमा १०९.१९ सीसीको इञ्जिन दिइएको छ जसले ८.०३ पीएसको पावर र ८.९४ एनएमको टर्क प्रोड्युस गर्दछ । डिओमा पनि १५९.७ सीसीकै इञ्जिन दिइएको छ तर यस इञ्जिनले ८.११ पीएसकोपावर र ८.९१ एनएमको टर्क प्रोड्युस गर्दछ । डाइमेन्सन एभिएटरको सिट हाइट७९० मिलिमिटरको छ भने डिओको चाहिँ ७६५ मिलिमिटरको रहेको छ । त्यसैगरी एभिएटरको ग्राउण्ड क्लियरेन्स १४५ मिलिमिटर छ भने डिओको चाहिँ १५८ मिलिमिटर छ । एभिएटरको कर्ब वेट १०६ के.जी. छ भने डिओको चाहिँ १०४ के.जी. रहेको छ । त्यसैगरी एभिएटरको फ्युल ट्याङ्क क्यापासिटी ६ लिटरको रहेको छ भने डिओको चाहिँ ५.३ लिटरको रहेको छ । ब्रेक र सस्पेन्सन होण्डाले उपरोक्त दुवै स्कुटरहरुको अगाडि र पछाडि ड्रम ब्रेक दिएको छ । त्यसैगरी सस्पेन्सनको कुरा गर्नुपर्दा एभिएटरको अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडितर्फ चाहिँ स्प्रिङ लोडेड हाइड्रोलिक शक दिइएको छ भने डिओको दुवैतर्फ स्प्रिङ लोडेड हाइड्रोलिक सस्पेन्सन नै जडान गरिएको छ । दुवै स्कुटरहरुमा मजबुत ब्रेकिङ्गको लागि कम्बी ब्रेक सिस्टम समावेस गरिएको छ । टप स्पिड र माइलेज होण्डाका अनुसार एभिएटरले ६० केएमपीएल माइलेज प्रदान गर्दछ भने डिओले चाहिँ ५५ केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी एभिएटरको टप स्पिड ८२ केएमपीएच रहेको छ भने डिओको चाहिँ ८३ केएमपीएच रहेको छ । मूल्य होण्डा टू ह्वीलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपाली बजारमा एभिएटरको मूल्य दुई लाख नौ हजार नौ सय रुपैयाँ तोकेको छ भने डिओको चाहिँ दुई लाख दुई हजार नौ सय रुपैयाँ तोकेको छ । त्यसैगरी, डिओकै अर्को भेरियन्ट ‘डिओ डिजिटल’ को मूल्य भने दुई लाख सात हजार नौ सय रुपैयाँ तोकिएको छ ।
पर्यटक लक्षित होटल खुल्ने क्रम बढ्दो
काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुनैलाग्दा पर्यटकलाई लक्षित गरेर होटल तथा घरवास खुल्ने क्रम बढेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला पर्यटन विभागमा चालू आर्थिक वर्षमा मात्र १८ नयाँ घरवास तथा होटल खोल्नका लागि दर्ता भएका छन् । विभागका अनुसार पाँचतारे चार, चारतारे तीन, एकतारे एक, पर्यटक स्तरका सात र होमस्टे तीन वटा बनाउनका लागि विभागमा दर्ता भएका हुन् । तीनतारे होटल भने गत आर्थिक वर्षको तुलनामा पाँच घटेका छन् भने दुईतारे होटल एक पनि दर्ता भएका छैनन् । नयाँ होटल तथा घरवास दर्ता भएसँगै अब नेपालमा पर्यटकस्तरका ९२३ होटल तथा घरवास हुनेछन् जसमा पाँचतारे १५, चारतारे १३, तीनतारे ३३, दुईतारे ४३, एकतारे ३५, पर्यटकस्तरका ५२७ र घरवास २५७ रहेका छन् । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे भ्रमण वर्षको तयारीसँगै पर्यटकीयस्तरका होटल तथा घरवासमा लगानी गर्नेको सङ्ख्या पनि बढिरहेको बताए । कतिपय होटल भने प्रदेशस्तरमा दर्ता भएर सञ्चालनमा आउने तयारी भइरहेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा मात्र ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । सरकारले राखेको लक्ष्यअनुसार विदेशी पर्यटक नेपाल आए होटल अपर्याप्त हुने व्यवसायीले बताएका छन् । रासस
१३ लाखसहित दुईजना हुन्डी कारोबारी पक्राउ
काठमाडौं । भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोबारीलाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेपाली रूपैयाँ १३ लाखसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्थानीयवासी २६ वर्षीय रामशङ्कर यादव र भारत विहार मधुबनी जिल्ला लोकहा निवासी २८ वर्षीय अशोककुमार झालाई पक्राउ गरेको हो । भारतको लौकाहाबाट बिआर३२एच ०३३५ नंको मोटरसाइकलमा आउँदै गरेका दुबैलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैध रकमसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । पक्राउ परेको यादव र झा व्यावसायिक हुन्डी करावारी रहेको प्रहरीको दाबी छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । रासस
मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा, सित्तैमा युट्युब भिडियो हेर्न सकिने
काठमाडौं । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् । यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागू भएको छ । यस योजना अन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यो योजना अन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्नेछन् । त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै प्लान ९९९ सुचारु गर्नुहुने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप यस योजना अन्तर्गतको भिडियो बोनस भिडियो डेटाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । एनसेलको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् । यस बाहेक, ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स ३०२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गरि योजनाको मजा लिन सक्नेछन् ।
यो हो नेपालमा पाइने होण्डाको सबैभन्दा सस्तो कार, खरिदमा थप सवा लाख छुट
काठमाडाैं । होण्डा कारको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले हाल नेपाली बजारमा बिक्री गरिरहेको मोडेलहरु मध्येमा सबैभन्दा कम मूल्य पर्ने कारको रुपमा रहेको छ ‘अमेज’ । यसको बेस भेरियन्ट ‘अमेज एसएमटी’ को मूल्य ३५ लाख ६५ हजार रुपैयाँ रहेको कम्पनीले बताएकाे छ । यस सेडानका फिचरहरुको रुपमा आउटसाइड रियर भ्यू मिरर्स, फ्रन्ट फग ल्याम्प, शार्क फिन एन्टेना, सबै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, शोफिस्टिकेटेड ड्यास बोर्ड, मल्टि फङ्सन स्टेयरिङ्ग ह्वील, अटोमेटिक एयर कण्डिस्नर, इञ्जिन स्टार्ट/स्टप बटन, १२ भोल्टको व्याट्रीजस्ता विशेषताहरु रहेका छन् । त्यसैगरी अमेजको सेफ्टि फिचरहरुको रुपमा एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक, ड्राइभर सिट बेल्ट रिमाइन्डर लगायत रहेका छन् भने कम्फर्ट फिचरका रुपमा चाहिँ फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, एडजस्ट गर्न मिल्ने हेड रेस्ट, कप होल्डर लगायत रहेका छन् । यस सेडानमा ११९९ सीसी ४ सिलिण्डर एसओएचसी पेट्रोल इञ्जिन समावेस छ जसले ८९ बीएचपीको पावर र ११० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी, यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १९.५० केएमपीएल माइलेज प्रदान गर्दछ । ५ सिटर यो सेडानको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३९९५ मिलिमिटर, चौडाई १६९५ मिलिमिटर र उचाई १४९८ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर छ । त्यसैगरी, ४५ लिटरको फ्युल ट्याङ्क क्यापासिटी र ४२० लिटरको बुट स्पेस रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । स्याकार होण्डाले जनाए अनुसार अहिलेको अफर अनुसार यस कारको खरिदमा एक लाख २५ हजार रुपैयाँ नगद छुटको व्यवस्था रहेको छ । हाल नेपाली बजारमा अमेजका एसएमटि, भिएमटि, भिएक्सएमटि, एससिभिटि र भिसिभिटि गरी ५ अलग भेरियन्टहरु उपलब्ध भइरहेका छन् । कम्पनीले अमेजको टप भेरियन्ट ‘भिसिभिटि’ को मूल्य चाहिँ ४२ लाख ९० हजार रुपैयाँ तोकेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बाग्लुङ्गमा अभिकर्ता कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाग्लुङ्गमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मंसिर १३ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।
नेपाल उद्योग परिसंघका पदाधिकारी र श्रलिंकाका राजदूतबीच भेटवार्ता
काठमाडाैं । नेपालकालागि मित्रराष्ट्र श्रीलंकाका राजदूत हिमाली अरुणातिलके र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच मंसिर १३ गते परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । प्रारम्भमा राजदूत अरुणतिलकेको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल श्रीलंका दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, लगानी र पर्यटनमा ठोस योगदान दिन सक्ने देखिन्छ तापनि दुबै बीच अपेक्षित मात्रामा व्यापार र लगानी विस्तार हुन नसकेको बताए । नेपालको लुम्बिनी श्रीलंकाका जनताको धार्मिक आस्थाको केन्द्र भएको र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउँदै गरेको पृष्ठभूमिमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटन एवं सांस्कृतिक सम्बन्धको विकासमा दुबै देश बीच थप सहकार्यको यथेष्ट सम्भावना रहेकोले यस कार्यलाई बढाउन परिसंघ दूतावाससँग सहकार्य गर्न इच्छुक रहेको अध्यक्ष मोरले बताए । बैँकिङ्ग, इन्स्योरेन्सको अलवा सेवा क्षेत्रको विकासमा दुबै मुलुकबीच यथेष्ट सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष मोरले यस क्षेत्रको विकासको सन्दर्भमा समेत परिसंघ सहकार्य गर्न तयार रहेको उल्लेख गरे । सो अवसरमा राजदूत अरुणतिलकेले श्रलिंकाबाट रबर उत्पादनको साथै नरिवलको तेल र नरिवलको दूध उत्पादन एवं निर्यातमा क्षेत्रीय स्तरमा प्रमुख रुपमा भएकोले नेपालमा समेत यी वस्तुहरुको बजार प्रवद्र्धनको सम्भावना भएको विचार व्यक्त गरिन् । सोहीअवसरमा राजदूतले श्रीलंकाले आइटी एवं डिजीटल ट्रान्सफरमेशनको क्षेत्रमा धरै विकास गरेको पृष्ठभूमिमा नेपालले यस क्षेत्रमा श्रीलंकासँग सहकार्य गर्न सक्ने सम्भावना यथेष्ट छ र यसको लागि नेपाल सरकार र निजी क्षेत्रसँग सहकार्यका लागिदूतावास आवश्यकपहल गर्न तयार रहेको विचार समेत व्यक्त गरिन । भेटवार्तामा परिसंघका उपाध्यक्षहरु, दूतावासको प्रथम सचिव समेतको उपस्थिति थियो ।
४ खर्ब ८६ अर्बको वैदेशिक व्यापार, आयात ७ प्रतिशतले घट्दा निर्यात २४ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । साउनदेखि कार्तिकसम्मको यो अवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ३६ अर्ब २७ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ । चालु आवको यो अवधिमा वैदेशिक व्यापारमा आयातको वृद्धिदर घट्दै गएको छ भने निर्यातको वृद्धिदर बढ्दै गएको छ । गत आवको सोही अवधिको तुलनामा आयात करिब ७ (६.९२) प्रतिशतले आयात घट्दा २३.९० प्रतिशतले निर्यात बढेको छ । गएको आवको सोही अवधिमा चार खर्ब ८३ अर्ब ७५ करोड मूल्य बराबरका वस्तु नेपाल भित्रिएका थियो भने २९ अर्ब २८ करोड रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा वैदेशिक व्यापार ५.१६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । कुल वैदेशिक व्यापारमा आयातको अंश साढे ९२ प्रतिशत र निर्र्यातको हिस्सा साढे ७ प्रतिशत रहेको छ । चालु आवको सो अवधिमा ४ खर्ब १४ अर्ब व्यापार घाटा रहेको छ । गत आवको सो अवधिमा यस्तो व्यापार घाटा ४ खर्ब ५४ अर्ब थियो । चार महिनाको यो अवधिमा भारतबाट सबैभन्दा बढी आयात भएको छ भने बढी आयात हुने दोस्रो सूचीमा चीन र तेस्रोमा इन्डोनेशिया परेको छ । यस वर्षको पहिलो चौमासमा भारतबाट नेपालबाट २ खर्ब ७२ अर्ब ५७ करोड रुपैयाँको वस्तु आयात भएका छ भने चीनबाट ८० अर्ब १८ करोड रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । यो अवधिमा नेपालबाट २४ अर्ब २६ करोड मूल्यका वस्तु भारतमा गएका छन् । चीनमा भने नेपालबाट ७१ करोडको वस्तु नेपाल भित्रिएको छ । यो अवधिमा इन्डोनेशियाबाट नेपालमा १३ अर्ब ५८ करोड मूल्य बराबरको वस्तु आयात भएको छ ।