
काठमाडाैं । नेपालकालागि मित्रराष्ट्र श्रीलंकाका राजदूत हिमाली अरुणातिलके र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच मंसिर १३ गते परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । प्रारम्भमा राजदूत अरुणतिलकेको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल श्रीलंका दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, लगानी र पर्यटनमा ठोस योगदान दिन सक्ने देखिन्छ तापनि दुबै बीच अपेक्षित मात्रामा व्यापार र लगानी विस्तार हुन नसकेको बताए ।
नेपालको लुम्बिनी श्रीलंकाका जनताको धार्मिक आस्थाको केन्द्र भएको र गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउँदै गरेको पृष्ठभूमिमा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा धार्मिक पर्यटन एवं सांस्कृतिक सम्बन्धको विकासमा दुबै देश बीच थप सहकार्यको यथेष्ट सम्भावना रहेकोले यस कार्यलाई बढाउन परिसंघ दूतावाससँग सहकार्य गर्न इच्छुक रहेको अध्यक्ष मोरले बताए ।
बैँकिङ्ग, इन्स्योरेन्सको अलवा सेवा क्षेत्रको विकासमा दुबै मुलुकबीच यथेष्ट सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष मोरले यस क्षेत्रको विकासको सन्दर्भमा समेत परिसंघ सहकार्य गर्न तयार रहेको उल्लेख गरे । सो अवसरमा राजदूत अरुणतिलकेले श्रलिंकाबाट रबर उत्पादनको साथै नरिवलको तेल र नरिवलको दूध उत्पादन एवं निर्यातमा क्षेत्रीय स्तरमा प्रमुख रुपमा भएकोले नेपालमा समेत यी वस्तुहरुको बजार प्रवद्र्धनको सम्भावना भएको विचार व्यक्त गरिन् ।
सोहीअवसरमा राजदूतले श्रीलंकाले आइटी एवं डिजीटल ट्रान्सफरमेशनको क्षेत्रमा धरै विकास गरेको पृष्ठभूमिमा नेपालले यस क्षेत्रमा श्रीलंकासँग सहकार्य गर्न सक्ने सम्भावना यथेष्ट छ र यसको लागि नेपाल सरकार र निजी क्षेत्रसँग सहकार्यका लागिदूतावास आवश्यकपहल गर्न तयार रहेको विचार समेत व्यक्त गरिन । भेटवार्तामा परिसंघका उपाध्यक्षहरु, दूतावासको प्रथम सचिव समेतको उपस्थिति थियो ।