ब्राजिलका एक लाख ३५ हजार नागरिक आफैलाई एचआइभी भएको बिषयमा अनविज्ञ
रियो दी जेनेरियो । ब्राजिलका झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एचआईभी एड्ससम्वन्धी जनचेतनामुलक कार्यक्रम चलाउने क्रममा यस्तो तथ्य फेला परेको जनाएको छ । मन्त्रालयले विश्व एड्स दिवसको अवसर पारेर आइतबारदेखि चेतनामुलक विषेश अभियान सुरु गर्न लागेको छ । देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरुले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अप्नाउनेलगायतका विषयमा जनेचतना जगाइने भएको छ । मन्त्रालयका अनुसार ब्राजिलमा सन् १९८० देखि अहिलेसम्म नौ लाख ६६ हजार ५८ जनामा एचआईभी संक्रमण भएको विवरण दर्ता भएको छ । एचआईभी पोजेटिभ भएकाहरुलाई उपचार गराउन मन्त्रालयले आह्वान गरेको छ । उनीहरुले नियमित उपचार गराएमा जीवन सामान्य हुने मन्त्रालयका अधिकारीहरुको भनाइ छ । “प्रारम्भिक चरणमै उपचार तथा निदानको प्रक्रिया सुरु गर्नु निकै महत्वपूर्ण हुन्छ,” एक चिकित्सकले भने । ब्राजिलमा सन् २०१४ देखि २०१८सम्ममा एड्स प्रभावितहरुको संख्यामा १३।६ प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या पनि २२।८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छन् । रासस/सिन्ह्वा
साताको शेयर: एक अर्ब ३२ करोडको कारोवार
काठमाडौ । धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै बजारले केही सुधारको सङ्केत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १६८ कम्पनीको शेयर कारोवार भयो । कूल ५१ लाख ५१ हजार २२७ कित्ता शेयर एक अर्ब ३२ करोड १० लाख १७ हजार १३५ रुपैयाँमा कारोवार भयो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ बिन्दुले घटेर एक हजार ११०.०८ बिन्दुमा पुग्यो । कूल १६२ कम्पनीका नौ लाख २९ हजार ७४४ कित्ता शेयर २८ करोड पाँच लाख ३४ हजार ४१५ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । सोमबार भने बजारमा रमाइलो दृश्य देखा पर्यो । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार यथास्थितिमा रह्यो । नेप्से परिसूचकमा कुनै बदलाव देखिएन । नेप्से परिसूचक शून्यकै अवस्थामा रह्यो । त्यस दिन कूल १६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता शेयर रु २८ करोड ८८ लाख ५८ हजार ४८४ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबार भने नेप्से परिसूचक झिनो अङ्कले घट्यो । सो दिन नेप्से ०.९१ बिन्दुले घटेर एक हजार १०९.१६ बिन्दुमा झर्यो । नेप्से आरोलो लागे पनि कारोवार रकम भने सामान्य रहन पुग्यो । कूल १६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता शेयर २९ करोड ५८ लाख ६९ हजार १८० मूल्यमा खरिद–बिक्री भए । बुधबार भने बजारमा सुधार देखापर्यो । नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुग्यो । कूल १६५ कम्पनीका सात लाख ३८ हजार ४४६ कित्ता शेयर २१ करोड २३ लाख ६३ हजार ७३६ रुपैयाँमा खरिदबिक्री भए । बुधबारको सुधार बिहीबार टिक्न सकेन । त्यस दिन नेप्से परिसूचक ४।६७ बिन्दुले घटेर एक हजार ११२.७९ मा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १६६ कम्पनीका १२ लाख ७१ हजार छ कित्ता शेयर २४ करोड ३३ लाख ९१ हजार ३२० रुपैयाँमा खरिदबिक्री भए । पाँच कम्पनीको शेयर सूचीकृत नेप्सेमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेको इन्सुरेन्सका १४ लाख ११ हजार ५३४ कित्ता शेयर लाभांश, नेपाल इन्सुरेन्स कम्पनीका सात लाख ६४ हजार ३२७ कित्ता शेयर लाभांश, प्राइम लाइफ इन्सुरेन्सका २२ लाख ३१ हजार ४३ कित्ता शेयर लाभांश, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका एक करोड दुई हजार ३८८ कित्ता शेयर सूचीकृत भए । त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका ११ लाख चार हजार ५७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । रासस
चालू आर्थिक वर्षको तीन महिनामा भारततर्फ ३६ प्रतिशतले निर्यातमा वृद्धि
काठमाडौं । भारततर्फ नेपालको निर्यात बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा भारततर्फ ३५ दशमलव आठ प्रतिशतले निर्यात बढेको हो । नेपाल राष्ट्र बैंकले भारतसँगको व्यापार घाटामा कमी आई पछिल्ला तीन महिनामा निर्यात बढेको जनाएको छ । चीन र अन्य मुलुकसँग भने निर्यात घटेको छ । गत आर्थिक वर्षमा भारतसँग नेपालको व्यापार घाटा सात खर्ब ६४ अर्ब ३० करोड रूपैयाँ थियो । चालू आवमा चीनतर्फ १९ दशमलव नौ र अन्य मुलुकतर्फ ११ दशमलव सात प्रतिशतले निर्यात घटेको भए पनि यस अवधिमा कूल १४ दशमलव चार प्रतिशतले निर्यातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म भारततर्फ २७ अर्ब १७ करोड रूपैयाँ बराबर निर्यात भएको हो । भारततर्फ नेपालले पाम तेल, अलैँची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य) वस्तुको निर्यात बढेको छ भने चीन र अन्य मुलुकतर्फ जस्तापात, जुस, तयारी पोसाक, ऊनी गलैँचा, तार लगायतका वस्तुको निर्यात घटेको छ । तीन महिनामा कूल वस्तु आयात १० दशमलव शून्य तीन प्रतिशतले घटेर तीन खर्ब ३४ अर्ब ९५ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३ दशमलव शून्य छ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव शून्य दुई प्रतिशत र १९ दशमलव शून्य एक प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ११ दशमलव शून्य छ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेशिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानललगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम।एस। बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ । आव २०७६/७७ को तीन महिनासम्ममा कूल वस्तु व्यापार घाटा १२ प्रतिशतले सङ्कुचन भई रु तीन खर्ब सात अर्ब ७८ करोड रहेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव शून्य एक प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात छ दशमलव शून्य चार प्रतिशत रहेको थियो । रासस
भक्तपुरमा पर्यटन वर्षलाई लक्षित गर्दै मेला शुरु, १० करोडको व्यापार गर्ने लक्ष्य
काठमाडौं । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुरमा भक्तपुर मेला २०७६ शुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने उक्त मेला भक्तपुरको महेश्वरी खेलमैदानमा शुरु भएको हो । ममता केन्द्र नेपालले आयोजना गरेको मेलामा पाँच लाख मानिसले अवलोकन गर्ने १० करोड रुपैयाँको व्यापार गर्ने लक्ष्य राखिएको छ । मेलामा रहेका १५० वटा कक्षमा उपभोगका सामान, लत्ताकपडा, खेलकूदका र विद्युतीय सामानलगायत रहेको ममता केन्द्रका अध्यक्ष सगम् लामाले बताए । सामानहरुमा १५ प्रतिशतसम्म छुट दिएको उनले जानकारी दिए । मेलामा विभिन्न खेलकूद तथा नृत्य प्रतियोगिता पनि हुनेछ । रासस
गौतमबुद्ध विमानस्थलको काम द्रुृतगतिमा, छ महिनाभित्र सञ्चालन गर्ने लक्ष्य
काठमाडौं । कुनै अप्रत्याशित एवं अकल्पनीय घटना नभए आगामी छ महिनाभित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लक्ष्यका साथ अहोरात्र काम भइरहेको छ । एशियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओएफआइडी) र नेपाल सरकारको लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक काम एक महिनाभित्र पूरा गर्न दैनिक दुई सत्रमा दुईसय ७० जनाभन्दा बढी कामदार परिचालन भएका छन् । भवितव्य नभएमा यो विमानस्थलमा बोइङ ७७७–२०० र एयरबस ३३०–३०० ‘सिरिज’का विमान सजिलै अवतरण र उडान गर्न सक्नेछन् जसले नेपालको नागरिक उड्डयनको क्षेत्रमा नयाँ इतिहास रचना गर्नेछ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भरपर्दो विकल्प बन्नेछ । तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग कालोपत्र गरी त्यहाँ ‘मार्किङ’ थालिएको छ जुन आगामी साता पूरा हुनेछ । विमानस्थल सञ्चालन भएपछि मौजुदा एक हजार पाँचसय २४ मिटर लामो र ३० मिटर चौडा धावनमार्गलाई सनान्तर ट्याक्सी वेका रुपमा उपयोग गरिनेछ । हाल विमानस्थलको ८५ प्रतिशतभन्दा बढी भौतिक संरचना निर्माण भइसकेको छ भने कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, विमान राख्नेस्थल (एप्रोन), अग्नि नियन्त्रण तथा उद्धार भवन, मुख्य विद्युत्गृह, आगमन र प्रस्थान टर्मिनल तथा प्रशासनिक भवनको रङरोगनलगायत आन्तरिक सजावटको काम धमाधम भइरहेको छ । घाघरा खोलाको मार्ग परिवर्तन, सवारीसाधान पार्किङस्थल, ढल निकासको काम पनि पूरा भइसकेको छ । एकथरि कामदार विमानस्थलमा बगैँचा बनाउने र त्यहाँको सौन्दर्य बढाउन साजसज्जाका काममा खटिएका छन् । विमान उडान र अवतरण, तिनको व्यवस्थापनका साथै विमानको अवस्था तथा अवस्थितिबारे जानकारी दिने उपकरण, विमानलाई मार्गदर्शन गर्ने तथा चालकसम्म सूचना प्रवाह गर्ने सञ्चार उपकरण, मौसमसम्बन्धी जानकारी दिने उपकरण, धावनमार्गमा विद्युत्लगायत विमानस्थलका निम्ति आवश्यक पर्ने सम्पूर्ण उपकरण जडान आगामी तीन महिनाभित्र पूरा गरिने भएको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्डले सबै काम निर्धारित समयभित्र पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । कोरियाली कम्पनी योशिन इन्जिनीयरिङ कर्पोरेशन परामर्शदाता रहेको विमानस्थलको भौतिक संरचनाको निर्माणको ठेक्का पाएको चीनको नर्थवेष्ट सिभिल एभिएशन एयरपोर्ट कन्सट्रक्शन ग्रुपनका प्रबन्धक सू बेजिङ निर्धारित समयमा परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । रुग्ण परियोजनाका रुपमा परिचित यो विमानस्थल निर्माणमा यसअघि विविध समस्या झेल्नुपरेको थियो भने मुख्य लगानीकर्ता एडिबी नै परियोजनाबाट बाहिरिएको थियो । दुई वर्षअघि नै पूरा गर्ने लक्ष्य रहेको यो परियोजना तेस्रोपटक म्याद थपेर हालको अवस्थामा पुर्याइएको हो । भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि निर्माण गर्ने सरकारको दृढ निश्चयको प्रतिफल हो– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भौतिक प्रगति, नेपाल सरकारको सक्रियता र अनुरोधपछि एडिबीले ऋण तथा अनुदान सहयोग गरेको हो । परियोजनाको ६ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ मध्ये एडिबीले ४०.५ ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ भने (ओएफआइडी)को ३०.५ प्रतिशत र बाँकी सरकारको लगानी छ । नेपाल भ्रमण वर्ष २०२० जारी रहेकै बेला यो विमानस्थल सञ्चालन गर्ने लक्ष्य सरकारको छ । प्राविधिक काम पनि निर्धारित समयमा नै पूरा गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एकजना वरिष्ठ अधिकारीलाई खटाइसकेको छ । विमानस्थल बन्ने बित्तिकै तत्काल सञ्चालन नहुने तर परीक्षण उडानलगायत अन्य प्राविधिक परीक्षणपछिमात्र स्वदेशी विदेशी विमान कम्पनीलाई सेवा सञ्चालनका लागि आह्वान गरिने महानिर्देशक राजन पोखरेल बताए । अनौपचारिक रुपमा श्रीलङ्का, कतार, थाइल्यान्ड, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र फ्लाई दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सेवा विस्तार गर्न रुचि देखाएका छन् । विमानस्थल निर्माण सकिएपछि विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता प्राप्त गर्नुपर्ने हुन्छ, जसका लागि केही समय लाग्नेछ । विमानस्थलमा उडान र अवतरण गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतसँगको सहकार्यमा भैरहवाको एयर रुट अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनमा प्रमाणीकरणका लागि पठाएको छ, त्यो पनि सङ्गठनबाट प्रमाणित भएर आउन बाँकी नै छ । सरकारले विमानस्थलको व्यवस्थापन सरकारीस्तर ‘जिटुजी’ मोडलमा दिने निर्णय गरिसकेको छ, जसका लागि कुन देशलाई व्यवस्थापनको जिम्मा दिने अझै निर्णय भएको छैन । उक्त संस्थाका विज्ञले स्थलगत भ्रमण गरेर नेपाल सरकारसमक्ष प्रस्ताव पेश गरिसकेको तथा त्यसमा सरकारले आफ्ना सुझाव समेटेर फिर्ता पठाएको जानकारी दिए । प्राकृतिक विपत्ति, प्रतिकूल मौसम, आपत्कालीन अवस्था र मानवीय सहायताका कार्य सञ्चालन गर्न यो विमानस्थल उपयोगी हुनेछ भने त्रिभुवन विमानस्थलमा दैनिक रुपमा बढिरहेको चाप कम गर्न सहयोगी हुनेछ । विमानस्थल सञ्चालनमा आएपछि मुलुकको आर्थिक–सामाजिक विकासमा योगदान पुग्नाका साथै शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । जनता र संस्कृतिकसँग सम्पर्क विस्तार विश्वबजारमा नेपालको पहुँच अभिवृद्धि, रोजगारीका अवसरको सिर्जना, व्यापार–व्यवसायमा वृद्धिमा सघाउमात्र पुग्नेछैन दिगो विकास तथा समृद्ध नेपाल निर्माणको अभियानमा सघाउ पुग्नेछ । केही समयअघि टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवरुद्ध हुँदा तीन दिनसम्म विमानस्थल बन्द भएको थियो भने प्रतिकूल मौसमका बेला काठमाडौँ आउने अन्तर्राष्ट्रिय विमानहरु बङ्गलादेश र भारत ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य यो विमानस्थलको सञ्चालनबाट हुनेछ । दक्षिण एशिया पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत एडिबीले उक्त विमानस्थल निर्माणमा लगानी गरेको बताउँदै बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ पर्यटन पूर्वाधार बनाउनका साथै नेपालको दिगो विकासमा मद्दत गर्नु त्यसको मुख्य उद्देश्य रहेकाे जानकारी दिए । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्धमार्गीलाई ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको उक्त विमानस्थल नेपालको आर्थिक विकासमा कोसेढुङ्गाका रुपमा रहने विश्वास उनले भने। लुम्बिनी विकास कोषका अनुसार सन् २०१८ मा एक लाख ९३ हजार ६३५ जना भारतीय पर्यटक र एक लाख ६९ हजार ९०४ जना राहदानीवाहक अन्य विदेशी पर्यटकले लुम्बिनीको भ्रमण गरेको थिए । रासस
नेपाल टेलिकमले सागमा सहभागी सबैलाई निःशुल्क फोरजी सिम दिँदै
काठमाडौं । नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरि सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले पत्रकार सम्मेलन मार्फत काठमाडौँ, जनकपुर र पोखरामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि चार हजार पाँच सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने जानकारी दिएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीद्वारा हस्ताक्षरित गरिएको हो । एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि टेलिकमले खेल अवधिभर खेलस्थलमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ । मोबाइल भ्यान तथा खेलस्थल वरपर थप गरिएका अन्य मोबाइल टावरबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवा सहजै र तीब्र गतिमा उपलब्ध हुने जनाएको छ । कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । सोका लागि ११६६ मार्फत कल गरेर यो सेवा लिन सकिने छ । कम्पनीले खेलस्थलमा ग्राहक सेवाका साथै फोरजीलगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रवद्र्धन कार्यका लागि स्टल राख्ने जानकारी दिए ।
इराकमा भ्रष्टाचार विरोधी प्रदर्शन जारी: थप १५ को मृत्यु, १०० घाइते
बग्दाद । इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक सय भन्दा बढी घाइते भएको जनाएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । “पछिल्लो विवरण अनुसार थप १५ प्रदर्शनकारी मारिएका छन्, अरु एक सय भन्दा बढी घाइते भएका छन्, भने कैयौलाई अश्रुग्याँसको असर परेको छ,” नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने । धिकारको राजधानी सहर नासिरियाहमा पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झडप हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । प्रदर्शन अनियन्त्रित भएपछि धिकार राज्यका प्रहरी प्रमुख मोहम्मद अल कुरैसीले पदबाट राजिनामा दिए । धिकारका गभर्नर अदेल अल डुखैलीले नासिरियाह सहरमा भएको मानवीय क्षतिका कारण उहाँले राजिनामा दिएको उल्लेख गरे । केन्द्रीय राजधानी बग्दादसहित धेरै सहरमा आम प्रदर्शन जारी रहेको छ । गत अक्टोबरको सुरुदेखि इराकमा प्रदर्शनका घटना भइरहेको छ । प्रदर्शन चर्किदै गएपछि इराकका प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेका छन् भने देशमा राजनीतिक अन्यौल थप बढेको छ । रासस/सिन्ह्वा
कुपिन्टारमा एक करोड ८२ लाखको सिँचाइ आयोजना शुरु
काठमाडौं । काभ्रे जिल्लाको महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा एक करोड ८२ लाख रुपैयाँको सिँचाइ आयोजना निर्माण शुरु भएको छ । करीब ३०० हेक्टर खेतीयोग्य जमीनमा सिञ्चित गर्ने उद्धेश्यले चमेरो ओढार सिँचाइ आयोजना तयार गरी प्रदेश नं ३ सरकारको बजेट सहयोगमा काम थालिएको हो । “सिँचाइ आयोजनाका लागि प्रदेश सरकारले एक करोड ८२ लाख रुपैयाँको योजना स्वीकृत गरी काम अगाडि बढिसकेको छ”, प्रदेशसभा सदस्य रत्न ढकालले भने, “सो आयोजनाबाट करीब ३०० हेक्टर जमीन सिञ्चित हुने र २०० घरधुरीका किसान लाभाविन्त हुनेछन् ।” प्रदेश सरकारको ठूलो आयोजना भएको र त्यसबाट किसानले फाइदा लिन सहज हुनेछ । किसानलाई सेवा पुर्याउन गाउँपालिकासँग समन्वय गरेर निर्माण ठेक्का जिम्मा लिने ठेकेदारसँग समयमै काम सम्पन्न गर्न घच्घच्याइएको छ । आयोजना उपभोक्ता समितिका सचिव मानबहादुर घिसिङले कृषि उत्पादनका हिसाबले सबैखाले अन्नबाली र तरकारी उत्पादन हुने ठाउँमा पहिला सिँचाइ अभावका कारण दुई बाली मात्रै लाग्ने भएकामा अब सबै प्रकारका अन्नबाली उत्पादन गर्न मद्दत पुग्ने बताए । “आलुबाली, धान, कोदो, कफीखेती, अलैँचीलगायत बेमौसमी खेती गर्न यहाँका किासनलाई धेरै सहयोग पुग्नेछ”, घिसिङले भने, “पानीकै अभावका कारण मकैबालीसमेत भनेको बेलामा लगाउन पाउने अवस्था थिएन ।” कृषि उत्पादनको उर्वरभूमि कुपिन्टार र सोक्तेल लगायतका ठाउँमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले भइरहेको कामको अहिलेसम्ममा उपभोक्ताबाट गर्नुपर्ने काममध्ये २६ लाख ६२ हजार रुपैयाँको काम भइसकेको जानकारी दिए । निर्माणका लागि आवश्यक पर्ने सामग्री सबै ल्याइसकेकाले उपभोक्ता समितिबाट गर्नुपर्ने काम यही महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने जनाए । सो सिँचाइ कुलो निर्माणका लागि ठेक्काको काम पाएका निर्माण व्यवसायी दावा घिसिङले विसं २०७५ असार ३० गते सम्झौता भएर सामान ल्याउने काम भइसकेकाले तोकिएको समयमै काम सम्पन्न गर्ने बताए। “सम्झौताअनुसार आगामी २०७७ असार मसान्तसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने छ, त्यो समयभित्रमा सम्पन्न गरिसक्छौँ”, घिसिङले भने, “मुहानदेखि सिञ्चित ठाउँसम्म पुग्न साँढे चार किलोमिटरको कुलो निर्माण गर्नुपर्नेमा केही भाग उपभोक्ता समितिले र बाँकी काम ठेकेदारले गर्नुपर्नेछ ।” करीब तीन किलोमिटर ढलान र ‘स्ल्याव’ निर्माण गर्नुपर्ने र ६०० मिटर पाइप हाल्नुपर्ने घिसिङले बताए। त्यसका लागि आवश्यक पर्ने सामान उपलब्ध गरिसकेकाले अब छिट्टै कार्य अगाडि बढाउने उनले भने। सो आयोजना सम्पन्न भएपछि त्यहाँका किसानको अर्थोपाजर्नमा वृद्धि हुने अपेक्षा गरिएको छ । रासस