एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा चैत ११ गते, के के छन् विशेष प्रस्ताव ?
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको तेह्रौँ वार्षिक साधारणसभा चैत ११ गते बस्दै छ । सो प्रयोजनको लागि डेभलपमेन्ट बैंकले आगामी फागुन २७ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट कर सहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावलाई सभामा लैजाँदै छ । हाल एक्सेलको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको छ । ५५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ नाघ्ने छ । त्यसैगरी, बैंकको अधिकृत पुँजी एक अर्बबाट बढाएर एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ ।
नवनियुक्त राजदुतहरुलाई नेपाल उद्योग वाणिज्य महासंघको बधाई तथा शुभकामना
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न मुलुकहरुमा आफ्नो जिम्मेवारी वहन गर्न जान लागेका नवनियुक्त राजदुतहरुलाई बधाइ तथा शुभकामना दिएकाे छ । महासंघले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त राजदुतहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएकाे हाे । वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सम्बोधन गर्दै ‘समृद्द नेपाल, सुखी नेपाली’को नारा पूरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा विभिन्न मूलकका नेपाली राजदूतहरुले ती देशहरुसँग कुटनीतिक सम्बन्ध मजबुत बनाउनुपर्ने बताइन् । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्दप्रसाद ढकालले राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पूरा गर्नलाई नेपालको व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा विशेष पहल गर्न जाेड दिएका छन् । साथै, उनले उद्योग वाणिज्य महासंघ र राजदूतहरु महत्वपूर्ण साझेदार भएको कुरा समेत उल्लेख गरे । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले भने ‘नेपाल उद्योग वाणिज्य महासंघले विश्वब्यापी रुपमा नेपालमा बन्दै गएको लगानीमैत्री वातावरणको प्रचार गर्नुपर्ने छ ।’ संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन जोड दिएका छन् । त्यसैगरी, मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु व्यापारी मात्र नभइ उत्पादनकर्ता समेत भएको कुरामा जोड दिए । संयुक्त अरब इमिरेटस्काे लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदूत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी र कुवेतका लागि नेपाली राजदूत दुर्गा शर्मा लगायतले आफूहरु आफ्नो कार्यकालभरि समृद्द नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लाग्ने बताए ।
काठमाडौंकाे न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले काठमाडौंकाे न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्ने बताएका छन् । खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटौँ अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का आयोजित कार्यक्रममा न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको भन्दै “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको जानकारी दिएका छन् । न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट हुनुपर्ने उनको भनाइ छ । मन्त्री यादवले सरकारले जनतासँग गरेको वाचा अनुसार काम गर्न नसकेको बताउँदै आगामी दिनमा काम गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए । महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले भने । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने जानकारी दिए । “दैनिक व्यापार घाटा रु ३ अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लागेको उपाध्यक्ष मल्लले बताए । आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख डा रामप्रसाद मैनालीले न्यूरोड क्षेत्रमा रहेको फुटपाथको व्यापारलाई पनि करको दायरामा ल्याउनुपर्ने जानकारी दिए । खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डङ्गोलले धरहरा पुनःनिर्माण र पार्किङले खिचापोखरी क्षेत्रको उद्योग–व्यवसाय समस्यामा परेको बताए । सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले भन्सार क्षेत्रमा देखिएको न्यून बिजकीकरणको अन्त्यका लागि सरकारलाई पहल गर्न आग्रह गरे । रासस
सिभिल बैंकको नगद लाभांश घोषणा
काठमाडौं । सिभिल बैंक लिमिटेडले सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको सेयर बितरण गर्ने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको संचालक समितिको बैठकले सेयरधनीलाई ४.०५ प्रतिशत अर्थात २९ करोड ४० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
कृषि विकास बैंकले निक्षेपमा १०.७५ प्रतिशत व्याज दिने, कर्जाकाे व्याज पनि घटायाे
यसअघि बैंकले प्रकाशित गरेकाे निक्षेपकाे व्याजदर काठमाडौं । निक्षेपकर्ताहरुकाे हितका लागि भन्दै कृषि विकास बैंकले व्याजदरमा वृद्धि गरेको छ । बैंकले साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गरेको जनाएकाे छ । यसअघि बैंकले ८.२५ देखि ९.२५ प्रतिशतसम्म व्याज दिएकाे थियाे । पुरानाे दरमा १.५ प्रतिशत व्याजदर वृद्धिसँगै बैंकले निक्षेपकर्तालाई १०.७५ प्रतिशत व्याज दिने भएकाे छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंककाे दवावमा नेपाल बैंकर्स संघले निक्षेपकर्तालाई दिने व्याज एकलदर सीमामा राख्ने निर्णय गरेकाे थियाे । तर कृषि विकास बैंकले बैंकर्स संघले ताेकेकाे सीमा भन्दा बढी व्याज प्रस्ताव गरेकाे हाे । यस बैंककाे प्रमाेटर नेपाल सरकार हाे । त्यस्तै, बैंकले कर्जामा पनि एक प्रतिशत व्याज घटाएकाे छ । माघ २८ गते बसेकाे बैंक सञ्चालक समितिकाे बैठकले फागुन १ गतेदेखि लागु हुने गरी कर्जाको व्याजदर १ प्रतिशत घटाएकाे बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएकाे छ । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जन गुनासोलाई सम्बोधन हुने गरी बैंकले उक्त निर्णय गरिएकाे बैंकले जनाएकाे छ । कृषि विकास बैंकले ग्राहकको चाहना र सन्तुष्टिलाई मुल नारा बनाई आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएको छन् ।
बजारमा घलेम्दी हाइड्रोको सेयर बेच्नेकाे लर्काे, काेही छैनन् किन्ने
काठमाडौं । दोश्रो बजारमा आजदेखि कारोबार शुरु भएको घलेम्दी हाइड्रो पावरको सेयर बेच्नेको लर्को देखिएको छ । तर बजारमा सेयर बेच्नेको लर्को देखिए पनि सेयर किन्ने लगानीकर्तामा भने खासै उत्साह नदेखिएको हाइड्रोको मार्केट देप्थले देखाएको छ । स्टक सिम्बोल जीएचएलको नामबाट कारोबार शुरु गरेको हाइड्रोको करिब २ बजेसम्म कुल १७८९ कित्ता सेयर बिक्रीमा रहेको छ । तर सो अवधिसम्म सेयर किन्ने इच्छुक कोही देखिएका छैनन् । हाइड्रोको हालै नेप्सेमा सूचिकृत भएको कुल ५५ लाख कित्ता साधारण सेयर(आईपीओ) काे किनबेच शुरू भएकाे हाे ।नेप्सेले हाइड्रोको पहिलो कारोबारको लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्म मूल्य तोकेको थियो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस हाइड्रोको हालसम्म १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।
भारतको हैदराबादमा भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे
हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी पाइने भएको छ । उक्त मलमा साडी बिक्री गर्न थालेपछि महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ । भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ । रासस/ एएनआई
ब्याजदर विवाद: अर्थमन्त्री कडा, गभर्नर मौन; बैंकरले भने-‘तत्काल घटाउन सक्दैनौं’
काठमाडौं । बैंकहरुले ऋणमा लिँदै आएको ब्याजदर घटाउने सम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडा कडा देखिँदा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल मौन देखिएका छन् । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना भने बैंकहरुसँग तत्काल ब्याजदर घटाउनसक्ने कुनै उपाय नभएको भन्दै आफुहरुले केही गर्नसक्ने बताएका छन् । आइतबार नेशनल बैंकिङ इन्सिच्युडद्वारा दशौं बार्षिकोत्सवको अवसरमा आयोजित ‘दि डेलिब्रेसन फर नेक्स्ट डिकेड’ कार्यक्रलाई सबैभन्दा पहिले सम्बोधन गरेका अर्थमन्त्री खतिवडाले आगामी दशकमा बैंक तथा वित्तीय संस्थाहरु प्रविधि र सेवाका हिसाबले निकै अघि बढ्ने र त्यसका लागि तयार रहन आग्रह गर्दै बैंकहरुले हाल ‘विजिनेस कम्युनिटी’ले बैंकहरुको ब्याजदर बढी भएको र यसले व्यवसाय गर्ने वातावरण बिगारेको भन्दै आन्दोलनमा उत्रिएको भन्दै त्यस्तो माग सम्बोधन गर्न आग्रह गरे । उनले त्यसमा अटेरी गरे सरकारले हस्तक्षेप गर्नसक्ने चेतावनी समेत दिए । तर अर्थमन्त्री खतिवडापछि बोलेका डा. चिरञ्जीवी नेपाल भने ब्याजदरको सन्दर्भमा मौन रहे । करिब ८ मिनेट लामो मन्तव्यका क्रममा डा. नेपाल बैंकहरुको शाखा, संख्या र प्राविधिक विकासबो सन्दर्भमा केन्द्रित रहँदा ब्याजदरको विषयमा भो कुनै प्रतिक्रिया जनाएनन् । उनले हाल ७०३ ओटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेको र देशभर बैंक तथा वित्तीय संस्थाका ७ हजार भन्दा बढी शाखा पुगेको भन्दै नेपालका बैंक तथा वित्तीय संस्थाले जनतासम्म पहुँच पुर्याएकोले अब आधुनिक सेवा, व्यवसायिक प्रभावकारिता र सुरक्षाका सन्दर्भमा ध्यान केन्द्रित गर्न आग्रह गरे । तर नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने तत्काल बैंक तथा वित्तीय संस्थाहरुले अहिलेको भन्दा ब्याजदर कम गर्नै नसक्ने अबस्थामा रहेको स्पष्ठ पारेका छन् । ‘गाउँगाउँमा शाखाको विस्तार गर्दा बैंकहरुको अपरेटिङ र कम्प्लाइन्स कस्ट अत्यन्त धेरै भएको छ । आन्तरिक बचतले ऋणको माग धान्न नसकेकोले निक्षेपमा ब्याजदर उच्च छ । यसले गर्दा हामीले केही गर्ने अवस्था छैन । ‘क्रेटिड कम्युनिटी’हरु बैंकका कारणले नै ब्याजदर धेरै भएको सोच्नुहुन्छ, तर त्यसो होइन । हाम्रो बेसरेट नै औसत १० प्रतिशत छ, यस्तो अवस्थामा त्योभन्दा कममा ऋण दिन सकिँदैन ।’ अध्यक्ष ढुङ्गानाले भने । उनले बैंकहरुले हरेक वर्ष स्प्रेडदर घटाउँदै लगेको र अर्को वर्ष सम्भवतः यो ४ प्रतिशत पुग्ने भन्दै अबको २/३ बर्षमा भने बैंकहरुको प्रभावकारिता बढ्ने र तरलता समेत सहज हुनसक्ने भन्दै त्यसपछि भने ब्याजदर घटाउनसक्ने दाबी गरे । ढुङ्गानाले अहिले बैंकहरु शाखा विस्तारको प्रतिस्पर्धामा रहेको भन्दै एक दशकपछि त्यो संख्या आधा कम गर्नुपर्ने वाध्यता आईपर्ने दाबी समेत गरे ।