८ प्रतिशत बोनस पछि प्रभु बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१०.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७२.५९ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको सोमबारको बजारमा कम्पनीको सेयर मूल्य घट्दो क्रममा रहेको छ । सोमबार प्रतिकित्ता २१० रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य घटेर २०५ रुपैयाँसम्म कारोबार भएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख कित्ता बोनस सूचिकृत
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख ४० हजार ४९८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । डेभलपमेन्ट बैंकको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । तमघासमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकको हाल एक करोड ६२ लाख २६ हजार कित्ता सेयर सूचिकृत रहेको छ । त्यस्तै, बजार पुँजीकरण ३ अर्ब ९४ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी हाल एक अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने
इस्लामाबाद । साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर सङ्कट व्यहोर्दै आएको छ । पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ । साउदी पत्रकार जमाल खसोग्जीको हत्याको अभियोगमा निकै आलोचित हुनुभएका राजकुमार सल्मान एसियाका तीन मुलुकको भ्रमणको सिलसिलामा पाकिस्तान आइपुग्नु भएको हो । पाकिस्तानमा राजकुमार सल्मानलाई भव्य स्वागत गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबियाले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि राजकुमार सल्मान र साउदी सरकारप्रति आभार प्रकट गरे । उनले भने, “पाकिस्तान र साउदी अरेबियाबीचको सम्बन्ध अझ नयाँ उचाईमा पुगेको छ ।” खानले प्रधानमन्त्री भएपछि यसअघि दुई पटक साउदी अरेबियाको भ्रमण गरिसकेका छन् । साउदी राजकुमार इस्लामाबाद नजिकैको सैनिक अड्डामा आइपुग्नुहुँदा २१ तोपको सलामी दिइनुका साथै प्रधानमन्त्री खान र प्रधानसेनापति जनरल कमार जाभेद बज्वाले राजकुमारलाई स्वागत गरेका थिए । राजकुमार सल्मानको भ्रमण भारत र इरान दुबै मुलुकमा तनाबको वातावरण रहेकै समयमा भएको छ । भारतको काश्मिरमा भएको आक्रमण तथा इरानमा भएको अर्को आत्मघाती आक्रमणमा पाकिस्तानको समर्थन रहेको इरान र भारतले दाबी गरिरहेका छन् । पाकिस्तानले भारतको आरोपको खण्डन गरिसकेको छ । भारतमा केही हुनासाथ त्यसको दोष पाकिस्तानमाथि लगाउने भारतको पुरानै प्रचलन हो भन्दै इस्लामाबादले काश्मिरमा भएको घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट गरेको छ । साउदी राजकुमार पाकिस्तानको दुई दिने भ्रमण पूरा गरी भारत जाने छन् । भारतमा राजकुमार सल्मानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी चीनको दुई दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नेछन् । रासस/एएफपी
ह्याक गरियो राजनीतिक दल र संसदको कम्प्युटर, के भयो अष्ट्रेलियामा ?
सिड्नी । अष्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अष्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरुले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरुलाई जानकारी दिए । उनले केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको बताए । “हाम्रा साइबर विज्ञहरुको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्,” प्रधानमन्त्री मोरिसनले बताए । उनले अरु के कस्ता सामग्री चोरी गरिएको भन्ने बारेमा अझै थाहा नभएको बताए । यसै महिनाको शुरुमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो । अष्ट्रेलियाले सुरक्षा निकायहरुले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको बताएका छन् । उक्त घटनापछि प्रधानमन्त्री र मन्त्रीहरु स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए । साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताए । उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गर्नुभयो । उहाँले रुससँग पनि यस्तो क्षमता रहेको बताए । रासस/एएफपी
यस्ताे छ ‘लुट्न सके लुट…’ गीत, पुनःयूट्युबमा राख्न पशुपति शर्मालाई दवाव
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट…….’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री पङ्गेनीले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका उपाध्यक्षसमेत रहृेका शर्माको गीत सुन्न पाउनु दर्शक र श्रोताको अधिकार हो भन्दै शर्मालाई पुनः गीत अपलोड गर्न आग्रह गरेको हो । “गीतमा प्रयोग भएका शब्द सार्वजनिक सञ्चारमाध्यममा आइरहेका शब्द हुन् । गीत सङ्गीतमा आउन नहुने भन्ने मापदण्ड छैन तसर्थ, पनि सर्जकद्वारा सिर्जना गरिएको कलाकृति, गीत सङ्गीत लोकले जस्ताको तस्तै सुन्न पाउनु स्रोताको अधिकार भएकाले प्रतिष्ठान कलाकार शर्मालाई उक्त गीत जस्ताको तस्तै पुनःअपलोड गर्नुहुन अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । गायक शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैँलाई ‘फेर्न योग्य’ लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ, तर कुनै दबाब या अन्य कारणले हटाएको हो भने गीतलाई जस्ताको तस्तै अपलोड गरी आइपर्ने अन्य विषय छलफलद्वारा समाधान खोज्न संस्था अगुवाइ गर्न तयार रहको जनाएको छ । शर्माको गीत यूट्युबमा भाइरल भएपछि गीतमा प्रयोग भएका केही शब्दलाई लिएर सम्बन्धित निकायको दबाबपछि शनिबार हटाइएको शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखेका थियो । उनले केही साथीभाइ तथा शुभचिन्तकको सल्लाह सुझावबमोजिम शब्द परिमार्जन गरी पुनःसार्वजनिक गर्ने उल्लेख गरे । यो विषयले शनिबार र आइतबार सामाजिक सञ्जालमा निकै चर्चा भयो । शर्माको गीतमा सार्वजनिक पदधारणा गरेको व्यक्तिप्रति सामाजिक मर्यादामा आँच आउने खालका शब्द प्रयोग गरिएको भन्दै व्यापक जनसमुदायको विरोधपछि शर्माले उक्त गीतलाई हटाएका थिए । के छ पशुपति शर्माको गीतमा ? पुरा पढ्नुहोस्… हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ त्यसकै छोरो पढ्न फेरि बोडिंगतिर जान्छ लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट ०००० डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ? लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज जनताको मुटुभित्र काँडा कति कति डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० वाइडबडी जहाँज किने अरे लुट्नुसम्म लुटे सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे ? ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन् कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन् लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन् हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ? गर्ने काम केही हैन, ठूला ठूला भाषण स्वर्गजस्तो देशमा हजुर यमराजको शासन लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन ट्राफिक पुलिस सीटी फुक्छ, कोहीले सुन्ने हैन त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ ? लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा यता गयो लुटेकै छन् लुट्छन् उता गयो सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो लट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाईँदैन नेपालमै हो छुट… ००००० ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन् तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् । अब गर्न छोड्दे कान्छा आदर्शको खेती केही न केही त बुझिस होला भनेपछि यति लट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाईँदैन नेपालमै हो छुट…
१२ हजार शाखा अधिकृतको समायोजन, कृषि, वन, स्वास्थ्य र इञ्जिनियर सेवाको बाँकी
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो । यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो । मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो । प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनीयर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।
६ महिनामा ३० अर्ब बीमा शुल्क संकलन, मुलुकभर १२ सय ७६ बीमा कार्यालय
काठमाडौ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा जीवन बीमा बापत ३० अर्ब ४६ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । बीमा समितिका अनुसार बैदेशिक रोजगार म्यादी बीमाबाट मात्रै पुस महिनासम्म १ अर्ब ४६ करोड ५ लाख रुपैया बीमा शुल्क संकलन भएको छ । हाल जीवन बीमा गर्ने कम्पनीको संख्या १९ वटा रहेको छ । जीवन बीमा क्षेत्रमा हालै महालक्ष्मी लाईफ इन्स्योरेन्स थपिएसँगै बीमा कम्पनीको संख्या १९ पुगेको हो । जीवन बीमातर्फ पुस मसान्तसम्ममा २६ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संकलन भएको छ । मंसिर मसान्तसम्म २६ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा जीवन बीमामा लगानी भएको रकम २ खर्ब ३८ अर्ब ४ करोड ९२ लाख रुपैयाँ रहेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक बर्षको ६ महिने तथ्याङ्क अनुसार बीमा कम्पनीका कार्यालय संख्या १२ सय ७६ रहेको छ । त्यसैगरी १९ वटै बीमा कम्पनीमा कार्यरत बीमक कर्मचारीको संख्या ४ हजार २ सय ४४ रहेको छ ।
यातायात प्राधिकरण ऐन मन्त्रिपरिषदमा, अब सरकारले नै भाडा उठाउने !
काठमाडौं । यातायात प्राधिकरण ऐन २०७५ मन्त्रिपरिषदमा पेस भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ऐन निर्माण गरी मन्त्रिपरिषदमा पेश गरेको हो । यस्तो छ प्राधिकरण ऐनले अघि सारेका बिकल्प १: सरकारले नै भाडा उठाउने, प्राधिककरण ऐनमा समावेश गरिएको विकल्पमा सरकारले नै भाडा उठाउने उल्लेख छ । प्राधिकरणले अध्ययन गरेको रुटमा कति सवारी आवश्यक पर्छ टेन्डर आव्हान गरिनेछ । कुनै प्रणाली बनाएर बस गुडेको दुरी अनुसारको रकम यातायात प्रालिले पाउनेछ । यसमा प्राधिकरणले कति यात्रु चढाउने कति बजेसम्म चलाउने सबै नियम कानून निर्माण गर्नेछ । यात्रुहरुले कार्डबाट भाडा तिर्ने वा प्राधिकरणबाट टिकट लिनु पर्नेछ । यसरी यातायात सञ्चालन गर्दा यात्रुलाई सहज हुने र सवारी जाम कम हुने मन्त्रालयले विश्वास लिएको छ । बिकल्प २: प्रालिले आफैं भाडा उठाउने यस विकल्पमा यातायात प्रालि आफैं भाडा उठाउन सक्नेछन् । तर, नियम भने सबै प्राधिकरणको मान्नु पर्नेछ । यात्रु भएको बखतमा सवारी चलाउने र यात्रु नभएको समयमा सवारी नचलाउने गर्न पाइने छैन । यस प्रणाली अनुसार भाडादर समय अनुसारको फरक फरक हुन सक्नेछ । यसका लागि प्राधिकरणले रुट निर्धारण गरी कम मूल्यमा गुणस्तरीय सेवा दिन सक्छ, सोही प्रालिलाई निश्चित समयको लागि यातायात सञ्चालन अधिकार प्रदान गर्नेछ । उपत्यकाको सवारी व्यवस्थापनलाई ध्यान दिइने प्राधिकरण ऐन निर्माणका लागि मन्त्रालयका सहसचिव गोपाल सिग्देलको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले ऐनको प्रारम्भिक खाका निर्माण गरी मन्त्रिपरिषदमा पेस गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेपछि ऐन थप परिमार्जन हुने सहसचिव सिग्देलले बताए । ऐन निर्माणका लागि कानून मन्त्रालयबाट स्वीकृत लिइसकेको मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले बताए । प्राधिकरणले पहिलो चरणमा उपत्यकाभित्र मात्र यातायात व्यवस्थापन गर्नेछ । सापकोटाका अनुसार अहिले प्रारम्भिक चरणको मात्र काम भैरहेको छ । मन्त्रिपरिषदको स्वीकृती पाएपछि थप परिमार्जन गरी मन्त्रिपरिषद मै पेस गरिनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि ऐन संघीय संसदमा पेस गरिनेछ । प्राधिकरण ऐनले सर्वप्रथम उपत्यकाको सवारी व्यवस्थापनलाई ध्यान दिनेछ । कार्डबाट वा मोबाइलबाट भाडा तिर्ने गरी ऐन निर्माण गर्न लागिएको हो । ऐनमा विभिन्न विकल्पहरु समावेश गरिएको सहसचिव सिग्देलले बताए । प्राधिकरण ऐनको प्रारम्भिक ड्राफ्टमा उपत्यकाको यातायात व्यवस्थापन कसरी गर्ने भन्नेबारे उल्लेख गरिएको छ । यदि काठमाडौं उपत्यकामा यो प्रणाली सफल भएमा पोखरा लगायत विभिन्न शहरहरुमा पनि बिस्तार गरिनेछ । प्राधिकरण ऐनले सर्वप्रथम उपत्यकामा रुट अध्ययन गर्ने छ । यसको आधारमा कुन रुटमा कति सवारीसाधन आवश्यक छ । कति यात्रुहरु छन् ती सबैको अध्ययन गरी प्रालिलाई जिम्मा दिइनेछ । प्राधिकरण निर्माणका लागि पुस १२ को मन्त्रिपरिषद निर्णयबाट मन्त्रालयलाई स्वीकृत दिइएको थियो । योसँगै उपत्यकामा ३ सय इलेक्ट्रिक बस किनेर सञ्चालन गर्ने अधिकार मन्त्रालयलाई मन्त्रिपरिषदले दिएको थियो । इलेक्ट्रिक बस किन्नका लागि भने मन्त्रालयले तयारी नै शुरु गरेको छैन ।