विकासन्युज

व्यापारमा पञ्जा फैलाउँदै नेपाल प्रहरी, चितवनमा पनि नयाँ पेट्राेल पम्प खाेल्याे

चितवन । नेपाल प्रहरीले व्यापारमा हात फैलाउँदै  भरतपुर महानगरपालिका–२ स्थित बाइपास रोडमा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएकाे छ । नेपाल प्रहरीको कल्याण कोषले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । कोषका सदस्य–सचिव वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार जुनियर प्रहरी अधिकृत शिक्षालयसँगै करीब छ कठ्ठा जमिनमा निर्माण गरिएको पम्प गत साताबाट सञ्चालनमा आएको हो । पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पबाट पेट्रोल र डिजल बिक्री वितरण गरिएको छ । तामाङका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने उहाँले जानकारी दिए । कोषले काठमाडौँको नक्साल, सामाखुसी र पथलैयामा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ । पैसा र बन्दुक दुबै शक्तिकाे स्राेत हुन् । त्यसैले बन्दुक र पैसा दुबै एउटै शक्तिमा केन्द्रीत हुन कुनै पनि राज्यकाे लागि खतरा मानिन्छ । तर नेपालमा भने सेना र प्रहरी दुबै निकायलाइ व्यापार र सुरक्षा दुबै काममा सरकारले परिचालन गरेकाे छ ।  

बुढीगण्डकी जलविद्युत् आयोजनाले प्रभाव पार्ने क्षेत्रकाे मुआब्जा निर्धारण

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेकाे बुढीगण्डकी जलविद्युत् आयोजनाको  प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गरिएकाे छ । लामो समयदेखि निर्धारण हुन नसकेको आयोजनाको  प्रभावित क्षेत्रको मुआब्जा गोरखाले आइतबार र धादिङले साेमबार  निर्धारण गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले कूल २ हजार ८ सय रोपनी क्षेत्रको मुआब्जा निर्धारण गरेको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो आयोजनाको हालसम्म करिब २७ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । चालु आर्थिक वर्षमा आयोजना प्रभावितका लागि मुआब्जा नै वितरणका लागि मात्रै १४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । मुआब्जा वितरण गर्दै जाँदा अपुग भएको खण्डमा थप बजेट उपलब्ध गराउन कुनै समस्या नरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्ट पारिसकेको छ । स्थलगत निरिक्षण, स्थानीयबासीसँगको छलफल र यसअघि गठित उपसमितिले दिएको प्रतिवेदनको आधारमा बजार क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार जिल्लाको आरुघाट क्षेत्रको जग्गालाई ९ समूहमा र आर्खेत क्षेत्रको जग्गालाई २ समूहमा वर्गीकरण गरी मूल्य निर्धारण गरिएको आयोजना अन्तर्गतको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाई संयोजक कृष्ण कार्कीले जानकारी दिए ।  

सरकारी जग्गा व्यक्तिका नाममा गर्ने ११ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा गर्ने ११ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले अनाधिकृत रुपमा जग्गा कित्ताकाट गर्ने सुनसरीका तत्कालीन नापी कार्यालयका सर्भेक्षक उपेन्द्र दाससहित सो कार्यमा संलग्न ११ जना विरुद्ध सोमबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त मुद्दामा सुनसरी नापी कार्यालयका तत्कालीन सर्भेक्षक उपेन्द्र दास, सर्भेक्षक योगेन्द्रप्रसाद यादव, सर्भेक्षक कपलेश्वर राम, सुर्भेक्षक शुकदेव यादव, जग्गाधनी रमेशकुमार श्रेष्ठ, आसमा खातुन, गैरकर्मचारी रमेशप्रसाद साह तथा हालका जग्गाधनीहरु ऐजुल मंसुरी, विवि सरातुल, अहमद हुसेन र राईफुन खातुन रहेका छन् । अदालतले दायर गरेको मुद्दामा हालका जग्गाधनीहरु ऐजुल मंसुरी, विवि सरातुल, अहमद हुसेन र राईफुन खातुन बाहेक बाँकी ७ जनासँग ६ लाख रुपैयाँ विगो दाबी गरिएको छ । सुनसरीको सरकारी जग्गाको नक्साको धर्सा मेटाई व्यक्ति विशेषको नाममा जग्गा बढ्ने गरी मिसाई भ्रष्टाचार गरेको उजुरी परेपछि आयोगले सो उपर अनुसन्धान गरेको थियो । अनुसन्धानकाे क्रममा सरकारी कर्मचारी तथा गैरसरकारी व्यक्तिहरु एक आपसमा मिलेमतो तथा गैरकानूनी साँठगाँठ गरी नापी कार्यालयमा रहने महत्वपूर्ण फायल नक्साको धर्सोलाई मेटी जग्गाधनीहरुको जग्गाको क्षेत्रफल बढ्ने र सार्वजनिक जग्गा घटाउने गलत कार्यमा संलग्न रहेकाे पाइएकाे हाे । उनीहरूले विभिन्न मितिमा कित्ताकाट गरी जग्गा सुक्रीबिक्री गरी व्यक्तिलाई फाईदा र नेपाल सरकारलाई नोक्सान हुने गैरकानूनी कार्य गरेको भेटिएपछि टंगालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरूद्ध मुद्दा दायर गरेको जनाएकाे छ ।

ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय पोखरामा

काठमाडौं । ग्रीन डेभलपमेण्ट वैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ८, सभागृहचोक स्थित केन्द्रीय कार्यालयको औपचारिक रुपमा शुरुवात गरेको छ । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा नेपाल राष्ट्र वैंक पोखराका निर्देशक, विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न वडा कार्यालयका वडाध्यक्षका साथै विभिन्न निकायका व्यक्तिहरुको उपस्थिति रहेको वैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए । उक्तसमारोहमा वोल्दै मुख्य मन्त्री गुरुङले प्रदेश सरकारका निती तथा कार्यक्रममा ग्रीन डेभलपमेण्ट वैंकले योगदान गर्ने विश्वास व्यक्त गरे । राज्यको संघिय सरकार अन्र्तगत पर्ने वैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारका कार्यक्रमहरुलाई पनी प्राथमिकता दिनुपर्नेमा जोड दिए । वैंकलाई गण्डकी प्रदेशको एकमात्र विकास वैंकको रुपमा विकास हुन शुभकामना दिदै गण्डकी प्रदेश सरकार र ग्रीन डेभलपमेण्ट वैंक विच मित मितको सम्वन्ध कायम भएको समेत वताए । उक्त कार्यक्रममा वोल्दै नेपाल राष्ट्र वैंक पोखराका निर्देशक डिल्लीराम पोख्रेलले कुल ग्राहस्थ उत्पादनमा योगदान पुर्याउन प्रदेश स्तरका वैंकको उल्लेख्य भुमिका रहने हुँदा स्थानिय पर्यटन र उत्पादनलाई जोड दिनुपर्ने वताए । वैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले वैंकले वागलुङ जिल्लावाट कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय स्थानान्तरण गरि वैंकको व्यवसाय वृद्धी सँगै स्थानिय पर्यटन, कृषी तथा स्थानिय उत्पादनसँग सम्वन्धित क्षेत्रमा कर्जा प्रवाह गर्नुका साथै वैंकले अत्याधुनिक वैकिङ सेवाहरु प्रदान गरिरहेको वताए । सो कार्यक्रममा डेभलपमेण्ट वैंकर्स एसोसियसनका उपाध्यक्ष तथा गण्डकी विकास वैंकका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वलराम ढकाल लगायतले वैंकलाई शुभकामना प्रदान गरेका थिए । वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक प्रकाश कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । वैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, कनेक्ट आईपिएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ । वैंकले छिट्टैनै नवलपुरको कावासोती र गैंडाकोटमा समेत शाखा विस्तार गर्न लागेको छ ।

बीमकले मागे‘नयाँ मोर्टालिटी टेबल’, बीमा समिति भन्छ–‘हरेक १० वर्षमा आउँछ’

काठमाडौं । स्वास्थ्य बीमाको मृत्युदर तालिका (मोर्टालिटी टेवुल) समयसापेक्ष अध्यावधिक गर्न बीमकहरुले माग गरेका छन् । बीमा समितिसँग भएको मोर्टालिटी टेबुल पुरानो भएकोले बीमा शुल्क निर्धारण देखि बीमा पोसिली निर्माणसम्मका कार्य जटिल भएको उनीहरुको तर्क छ । बीमा समितिले २०६८ सालको भएको जनगणनाको तथ्याङ्कको आधारमा मोर्टालिटी टेबुल बनाएको छ । उक्त मोर्टालिटी टेबल पुरानो र असान्दर्भिक भइसकेको बीमकहरुको भनाई छ । राजधानीमा आयोजित बीमा सम्बन्धी एक कार्यक्रममा बोल्दै नेपाल पुर्नवीमा कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीले स्वास्थ्य बीमाको लागि बजार सुहाउँदो नयाँ मोर्टालिटी टेबल आवश्यक रहेको बताए । भण्डारीले स्वास्थ बीमाका लागि वैज्ञानिक आधार तय गर्ने बेला भएकोमा समेत जोड दिए । पछिल्लो समय बीमा कम्पनीहरुले ल्याएका घातक रोग रक्षावरण गर्ने बीमा पोलिसीहरु धमाधम निष्कृय हुन थालेकोमा चिन्ता समेत व्यक्त गरे । मोर्टालिटी टेवल फरक पर्दा बीमा शुल्कमा पनि सोही अनुसार फरक पर्ने बीमकहरुको तर्क छ । ८ वर्ष पुरानो मृत्युदर सम्बन्धि तथ्याङ्कका आधारमा अहिले बीमा प्रोडक्टहरु निकाल्न कठिन हुने उनीहरुको भनाई छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चपागाईले मृत्युदर तालिका राष्ट्रिय जनगणनाको आधारमा बनाइने भएकोले तत्काल बीमा समितिले चाहेर मात्र बन्न नसक्ने बताए । अध्यक्ष चापागाईले बीमा क्षेत्रमा मृत्युदर तालिका हरेक १० वर्षमा नयाँ बनाउने अभ्यास रहेको जानकारी दिदै २०७८ सालमा हुने जनगणनापछि संशोधित मृत्युदर तालिका बनाउने बताए । बीमा समितिका पूर्व अध्यक्ष डा फत्तबहादुर केसीले बीमा कम्पनीहरुले बीमा पोलिसी बनाउँदा बस्तुगत अध्ययन तथा बजारको मागबारे अध्ययन नगरी अर्काको प्रोडक्ट कपि पेस्ट गर्ने गरेको बताए । केसीले बीमा कम्पनी चल्नु तथा कम्पनीमा कर्मचारीहरुले जागिर गर्नु र कम्पनीले नाफा खानु भन्दा पनि बीमितले के पाइरहेका छन् भन्ने कुरा महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बुटवल र खैरेनीमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बुटवल र खैरेनीमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल र खैरेनीमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।

एनआईसी एशिया र युनाईटेड इन्स्योरेन्सबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौतामा बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछ । सम्झौतासँगै ग्राहकवर्गहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल १९ लाख ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जानकारी दिएकाे छ ।

हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल नेपालमा, मूल्य २३ देखि २७ लाख रुपैयाँ पर्ने

काठमाडाैं । हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल नेपाल भित्रिएको छ। हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा भित्रिएको हो । आइएमई ग्रुपअन्तर्गत आइएमई अटोमोटिभ्सले नाडा अटोशो २०१८ बाट नेपालमा हार्लेको बिक्री वितरण सुरु गरेको थियो। यसअघि कम्पनीले आइरन८८३ र फ्याट व्यय मोटरसाइकल बिक्री गर्दै आइरहेको छ। ७५०सीसी सेग्मेन्टमा यो मोटरसाइकल २ भेरियन्टमा उपलब्ध रहेको छ। स्ट्रीट ७५० र स्ट्रीट रड ७५०। हाल यो मोटरसाइकल किन्न चाहने ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। स्ट्रीट ७५० र स्ट्रीट रड ७५०मा लिक्वीड कुल्ड, २ सिलिन्डर, ४भल्भ ७४९सीसी इन्जिन रहेको छ। स्ट्रीट ७५०को इन्जिनले ५९एनएम टर्क तथा ५३बीएच पावर जेनेरेट गर्छ। यस्तै स्ट्रीट रड ७५० को इन्जिनले ६३एनएमटर्क जेनेरेट गर्छ। यी दुवै मोटरसाइकलमा ६स्पीडको गियरबक्स जडान गरिएको छ । स्ट्रीट रड ७५०को लम्बाई २१३१एमएम, सिट हाइट७५६ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र ह्वीलवेस १५०८एमएम रहेको छ। स्ट्रीटरड ७५०को फ्रन्टमा ३०० एमएमको डबल र रियरमा २६०एमएमको सिगंल डिस्क ब्रेक रहेको छ। यस्तै स्ट्रीट ७५०को लम्बाई २२१४ एमएम, सिटहाइट ६५२ एमएम, ग्राउन्ड क्लियरेन्स १४४ एमएम र ह्वीलवेस १५१८ एमएम रहेको छ। स्ट्रीट ७५०को फ्रन्टमा २९२एमएम र रियरमा २६०एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको छ । यी मोटरसाइकलमा बेल्ट राइड, आल्मुनियम अलोय ह्वील, टियरड्रप फ्यूल ट्याङक, बार-इन्डमिरर, एनालग स्पीडो मिटर, फ्यूल वार्निङ इन्डिकेटर, लो आयल इन्डिकेटर, पिलियन सिट, इन्जिन किल स्वीच, डिजिटल ट्रिप मिटरजस्ता विशेषता रहेका छन् । स्ट्रीट भर्जन नेपालमा उपलब्ध हार्ले मोटरसाइकलहरु मध्ये सबैभन्दा कम मुल्य को हो । विभिन्न कलर अप्सनमा ग्राहकको चाहाना अनुरुप कम्पनीले मोटरसाइकल भित्र्याउने जनाएको छ भने कलर अनुसार मोटरसाइकलको मूल्य समेत फरक हुनेछ । नेपाली बजारमा भित्रिएको हार्ले स्ट्रीटको सुरुवाति मूल्य २३ लाख र स्ट्रीट रड ७५०को सुरुवाति मूल्य २७ लाख रुपैयाँ रहेको छ ।