१ लाख ६३ हजार करदाता थपिए, करको दायरा विस्तारले सङ्ख्या बढायो
काठमाडौँ । राजश्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार ७१० करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयका अनुसार कूल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन् । मूल्य अभिवृद्धि कर (भ्याट)मा २० हजार ७४ नयाँ करदाता थपिएका छन् भने अन्तशुल्कतर्फ ११ हजार ६१५ करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आवको बजेटको अर्ध वार्षिक समीक्षाअनुसार स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या १९ लाख पुगेको छ । भ्याटमा दर्ता हुनेको सङ्ख्या १६ हजार ५४९ पुगेको छ भने अन्तशुल्कमा दर्ता हुनेको सङ्ख्या दुई लाख १२ हजार ९६५ पुगेको छ । करको दायरामा गरिएको विस्तारका कारण सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । यस्तै एक करोडभन्दा बढीको सवारीसाधन खरिद गर्दा खरिदकर्ताले कर चुक्ता प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । कर कानूनलाई एकीकृत गरी सरल बनाउन आन्तरिक राजश्व विभागबाट एकीकृत कर संहिताको मस्यौदा अन्तिम चरणमा रहेको समीक्षामा उल्लेख छ । करदाताको कर सहभागिता लागत र कर प्रशासनको कर सङ्कलन लागत घटाउने उद्देश्यले गत असोज १ गतेदेखि आन्तरिक राजश्व विभाग कार्यालयमा रु एक लाखसम्मको राजश्व विद्युतीय माध्यमबाट दाखिला गर्न सकिने गरी विद्युतीय प्रणाली कार्यान्वयनमा ल्याइएको छ । मन्त्रालयका अनुसार चालू आवको ६ महिनामा चार खर्ब दुई अर्ब ४५ करोड ७६ लाख राजश्व सङ्कलन भएको छ । यो कूल अर्धवार्षिक लक्ष्यको ९३ दशमलव सात प्रतिशत तथा वार्षिक लक्ष्यको ४२ दशमलव ६ प्रतिशत हो । सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५५ करोड ८० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । सङ्घीय सरकारको बजेटका लागि आठ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख तथा राजश्व बाँडफाँटमार्फत प्रदेश र स्थानीय तहलाई रु एक खर्ब १४ अर्ब २४ करोड राजश्व हस्तान्तरण गर्ने लक्ष्य छ ।
ऊर्जा क्षेत्रमा राम्रो सङ्केत: ‘त्रिशूली थ्री ए’ र ‘कुलेखानी तेस्रो’ राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी
काठमाडौँ । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकोमा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको र निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि जाने सोच राखेका कारण समृद्धिको आधार तयार भएको छ । सरकारले लगानी गरेका आयोजनाको कार्यप्रगतिसमेत उल्लेखनीय रुपमा बढेको छ भने १० वर्षमा १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई अगाडि बढाउन निजी क्षेत्रसँगको सहकार्यसमेत गुणात्मक रुपमा अगाडि बढेको छ । चालू आवको अन्त्यसम्ममा नै लामो समयदेखि समस्यामा रहेका माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रोजस्ता आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरिएको छ । माथिल्लो त्रिशूली ६० मेगावाट क्षमताको आयोजना हो भने कुलेखानी तेस्रो १४ मेगावाट क्षमताको हो । कुलेखानी तेस्रो आयोजनाको परीक्षण उत्पादन हुने अवस्थामा पुगेको छ । यस्तै, मकवानपुरमा नै आयोजनास्थल रहेको निजी क्षेत्रले प्रवद्र्धन गरेको वाग्मती जलविद्युत् आयोजनाबाट समेत आगामी चैतको अन्तिमदेखि २२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । यस्तै रुग्ण आयोजनाको रुपमा रहेको काबेली करिडोर २२० केभी क्षमताको प्रसारण लाइनसमेत निर्माण सम्पन्न हुने चरणमा छ । आव २०६२/६३ देखि शुरु भएको सो प्रसारण लाइन सम्पन्न हुन लामो समय लागेको थियो । पछिल्लोपटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको सकारात्मक प्रयासपछि सो आयोजना सम्पन्न हुने चरणमा पुगेको हो । आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार केही स्थानमा सामान्य काम सम्पन्न हुन बाँकी भए पनि एकाध दिनभित्रै प्रसारण लाइनको काम सम्पन्न हुनेछ । सो प्रसारण लाइन बनेपछि राष्ट्रिय प्रसारणमा २५ मेगावाट क्षमताको काबेली ‘बी’ एक, माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिनेछ । ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । यस्तै पाँचथर पावरले निर्माण गरेको १४.९ मेगावाट क्षमताको आयोजनाको विद्युत्समेत सहज रूपमा राष्ट्रिय प्रणालीमा जोडिनेछ । वर्तमान सरकार गठन भएपछि एक वर्षको अवधिमा नै १३ मेगावाट क्षमताको मदक्यू खोला, आठ मेगावाट क्षमताको माइ साना क्यासकेड, ७.८ मेगावाट क्षमताको सुपरमाई, सात मेगावाट क्षमताको मोलुङखोला, १.५ मेगावाट क्षमताको ठूलेखोला, ९६० किलोवाट क्षमताको विष्णुप्रिया सोलार फर्म आयोजना र ४० किलोवाट क्षमताको लेगुवाखोलाबाट गरी कूल ३८.३ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । यस्तै यही बीचमा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली बी जलविद्युत् आयोजनाको समेत शिलान्याश भई काम शुरु भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजनामा देखिएको समस्या समाधान भई आगामी पुसदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरु गर्ने गरी काम अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नियमित रूपमा आयोजनाका बारेमा चासो राख्दै नेपाल विद्युत् प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई एकै ठाउँमा राखेर परिचालन गरेका कारण आयोजनाले गति लिएको हो । हाल सो आयोजनाको प्रमुख कामको रुपमा रहेको ठाडो सुरुङमा काम भइरहेको छ । यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई हालसम्म १९ अर्ब ८९ करोड बराबरको मुआब्जा वितरण भएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा चार अर्ब एक करोड २२ लाख वितरण गरिएको छ । आयोजनाको विस्तृत वातावरणीय अध्ययन प्रतिवेदन तयार भएको छ भने पहुँचमार्ग सडक निर्माणकार्य सम्पन्न भएको छ । डुबान क्षेत्रमा पर्ने गोरखातर्फ ३० हजार ७८ रोपनीमध्ये आरुघाट र आर्खेत बजार क्षेत्रबाहेकको मुआब्जा निर्धारण भइसकेको छ । धादिङतर्फको कूल २८ हजार ७५ रोपनीमध्ये खहरे बजार क्षेत्रबाहेकको मुआब्जा निर्धारण सम्पन्न भएको छ । आयोजनाका लागि नेपाल आयल निगमले हालसम्म २८ अर्ब बराबरको रकम पूर्वाधार करमार्फत सङ्कलन गरिसकेको छ । यसैगरी, वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा २२० केभी क्षमताका ७४ सर्किट किलोमिटर र १३२ केभी क्षमताको २२६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । आठ ग्रीड सवस्टेशनको क्षमतावृद्धि गरिएको छ । पाँच हजार एक सय किलोमिटर विद्युत् वितरण लाइन निर्माण भई तीन लाख २५ हजार घरधुरीमा विद्युत् सेवा उपलब्ध भएको छ । नेपालको प्रतिव्यक्ति विद्युत् खपत दर १७७ किलोवाट घण्टाबाट बढेर २०० किलोवाट घण्टा पुगेको छ । यस्तै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ३०० मेगावाट विद्युत् आदानप्रदान गर्न सक्ने गरी ढल्केबर सवस्टेशनको क्षमता २२० केभीमा स्तारोन्नति गरिएको छ । सो सवस्टशेनलाई आगामी चैतसम्ममा ४०० केभीमा स्तारोन्नति गर्ने कार्य जारी रहेको छ । यस्तै शिक्षाका लागि ऊर्जा कार्यक्रमअन्तर्गत १२ हजार ६०० र स्वास्थ्यका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत सरकारी तथा सामुदायिक अस्पतालका ९१ स्थानमा सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ । रासस
तीन कम्पनीका शेयर सूचीकृत, कुन कम्पनीको कति ?
काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको छ लाख ६३ हजार ८४६ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार ५५३ कित्ता शेयर लाभांश र मेगा बैंकको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांशसमेत सूचीकृत भएको छ । स्टकका अनुसार यस साता कूल १७६ कम्पनीको शेयर कारोवार भएको छ । बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम शीर्षस्थानमा रहेको छ । टेलिकमको एक खर्ब दुई अर्ब ६० करोड बराबर रहेको छ । यस्तै, नबिल बैंक लिमिटेडको बजार पूँजीकरण ५५ अर्ब ३० करोड ५५ लाख ८५ हजार २०० रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४८ अर्ब ८० करोड ५९ लाख सात हजार ४६० बराबरको बजार पूँजीकरण रहेको छ । साताको पहिलो दिन एक हजार एक सय दशमलव ५८ विन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् गत बिहीबार २७ विन्दुले बढेर एक हजार १२७.७७ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.८४ विन्दुले बढेको छ ।
भूकम्प प्रतिकार्यको एकिकृत सहयोग ढाँचा प्रभावकारीः विज्ञहरु
काठमाडौँ । विसं २०७२ भूकम्पको प्रतिकार्य गतिविधिबाट सिकिएका पाठहरुको निचोड निकाल्न रेडक्रस अभियानले आयोजना गरेको ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालाले नेपालको भूकम्प पश्चात अवलम्बन गरिएको एउटै रेडक्रस अभियान, एउटै खालको योजना अन्तरर्गत एकिकृत सहयोग ढाँचा सफल र उपयोगी भएको निश्कर्ष निकालेको छ । छलफलले रेडक्रसको संस्थागत क्षमता र कानुनी आधारमा थप सुदृढीकरण गर्नुपर्ने, सामुदायिक सहभागिता र जवाफदेहिता, लैंगिक समानता, सञ्चार, अनुगमन मुल्याँकन जस्ता विषयहरुलाई एकाकार गरी उद्यार र प्रतिकार्यसम्बन्धी निर्देशिकाहरु मुलुकको संघीय संरचना अनुकुल ढाल्नुपर्ने,, प्रतिकार्यको लागि स्पष्ट कार्यविधि सहितको एक स्थायी संरचना निर्माण हुनुपर्ने र सहयोग सम्बन्धि सिद्धान्तहरुलाई व्यापक प्रचार गरिनुपर्ने जस्ता रणनीतिक प्राथमिकताहरु तय गरेको छ । नेरेसोका अध्यक्ष सञ्जीव थापाले भने–‘भविश्यमा हुनसक्ने ठूला विपद्मा थप प्रभावकारी सहयोग गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणको लागि दीर्घकालीन लगानी र साझेदारी बढाउन अत्यावश्यक छ ।’ विसं २०७२ सालको विनाशकारी भूकम्प पश्चात रेडक्रसबाट गरिएको तत्काल सहयोग तथा अति प्रभावित जिल्लाहरुमा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रममा भएका राम्रा अभ्यास र चुनौतीहरुको समीक्षा गर्दै भविश्यमा यस्तै विपद् आँउदा समग्र रेडक्रस परिवारले अझ राम्रो गर्न व्यवहारिक उपाय सिक्न कार्यक्रम आयोजना गरिएको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि जुजा किमले जानकारी दिए । जापान, थाइलैण्ड, कतार, अष्ट्रेलिया, वेलायत, अमेरिका, क्यानडा, डेनमार्क, फिनल्याण्ड, कोरिया, क्यानडा, स्पेन र स्वीजरल्याड रेडक्रसका प्रतिनिधिहरु, नेपाल सरकारका गृह, शहरी विकास, महिला बालबालिका तथा जेष्ठ नागरीक, कृषि र स्थानीय विकास मन्त्रालयका प्रतिनिधिहरु, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका साथै भूकम्प प्रतिकार्य र पुननिर्माणमा संलग्न एनसेट, एचआरआरपी लगायतका प्रतिनिधिहरु तथा प्रतिकार्य गतिविधिमा संलग्न केन्द्र एवं जिल्लाका रेडक्रसकर्मीहरु गरी १४० जनाको सहभागिता रहेको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । गृहमन्त्रालयका उप सचिव वंशीकुमार आचार्यले भूकम्पको पहिलो दिनदेखि नै आफू हवाइअड्डामा खटिएको र रेडक्रसको कामबाट प्रभावित भएको बताए । मेक्सिकोका परामर्शदाता वानले सहजीकरण गरेको सो कार्यक्रममा सहभागी र नेपालमा भूकम्प प्रतिकार्यमा प्रत्यक्ष सहयोग गर्नुहुने सवैलाई नेरेसोका महामन्त्री देवरत्न धाख्वाले धन्यवाद दिए । विज्ञ समूहको छलफलमा एनसेटका डा. रमेश गुरागाईँले हाम्रो सामाजिक परिचालन र प्राविधिक क्षमताको आधारमा हेर्दा ३ वर्षमा मुलुकले पुननिर्माणका क्षेत्रमा ठूलो प्रगति मान्नु पर्ने बताउदै पुननिर्माणको अवधि वढाउनुपर्ने धारणा व्यक्त गरे । एचआरआरपीका लरेन लकुड नेपालको पुननिर्माणले १२ वर्षजति समय लिनसक्ने आँकलन गरे । विज्ञ डा. राम थपलियाले नेपालका संस्थाहरुको निर्णय र कार्यान्वयन क्षमता नै कमजोर रहेको तर्फ औँल्याए । समाजशास्त्री डा. जीवन बानियाँले पुननिर्माण निकाय र प्रभावित वीच उपयुक्त सञ्चार हुन नसकेको खोजहरुले देखाएको औँल्याउँदै क्षतिको अवस्था संकलन र पुननिर्माण योजनामा प्रभावितका कतिपय विषयलाई उचित सम्बोधन गर्न नसकिएको बताए ।
गीतकार तथा साहित्यकार ‘डीआर’लाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र
काठमाडौं । एकैपटक धेरै एल्बम निकालेर रेकर्ड राखेका साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायलाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र प्रदान गरिएको छ । डीआरका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही समय अघि राष्ट्रिय नाचघर जमलमा बिमोचन गरिएको थियो । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डीआरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो ।
महिला दिवसमा चेम्बरले गर्यो कार्यक्रम, अर्थतन्त्र माथि उकास्न महिलाको योगदानको चर्चा
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको कुरा बताएका छन् । नेपाल महिला चेम्बरको आयोजनामा राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली हुने कुरा उनले बताए । देशको अर्थतन्त्र माथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठूलो योगदान दिएको चर्चा पनि उनले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय महिला दिवसको मूल ‘थिम’ “अझैं राम्रो सन्तुलन, अझैं राम्रो संसार“ को मर्म अनुसार नेपाल चेम्बर अफ कमर्स लागिरहेको कुरा उल्लेख गरे । सन् २०१८ मा गठन गरिएको नेपाल महिला चेम्बरले बिश्वबैंकको प्रतिबेदनमा उल्लेख भएको लक्ष हाशिल गर्न नेपाल महिला चेम्बर लागिरहेको कुरा समेत उनले उल्लेख गर्नुभयो । नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले नेपाली नारीहरुको संघर्षको कारण आज राज्यका निकायहरुमा ३३ प्रतिशत कोटा प्राप्त भएको कुरा बताइन् । नारीहरु चुल्हो र चौकोमा मात्र सीमित हुने बिरासतमा नारिहरुकै भूमिकाको कारण परिवर्तन भएको र राज्यको नीति निर्धारण र कार्यान्वयनको तहमा पुग्न सकेको कुरा उनले बताइन् । कार्यक्रममा युरोपियन युनियनका राजदुत बेरोनिका कोडीले शुभकामना मन्तब्य व्यक्त गरे । त्यस्तै बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका ९ जना महिलाहरुलाई नेपाल महिला चेम्बरले सम्मान गरेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा गरिएको सम्मान पाउनेहरुमा विधाता श्रेष्ठ, कृष्ण कुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मिरा भट्टराई, शिब कुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मा रहेका छन् ।
अब हिमाल चढ्ने पर्यटकलाई नेपालमै प्याकिङ गरिएको खाना
काठमाडौँ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि अब तयारी प्याकिङ गरिएको खाद्य पदार्थ बजारमा ल्याइएको छ । ‘एभरेष्ट टे«कर्स फ्यूल’ नामक ब्राण्डमा नेपालमा पहिलो पटक बजारमा ल्याइएको खाद्य पदार्थ हाल तीन किसिमका रहेकामा एक वर्र्षिभत्र दाल, भातसहित २० वटा खाद्यान्नलाई प्याकेटमा ल्याइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अमेरिकी प्रविधिमा तयार गरिएका ती खाद्य पदार्थमा रहेको ९९ प्रतिशत पानीको मात्रा हटाई माइनस ४० डिग्री तापक्रममा प्याकेजिङ गरिने भएकाले १५ वर्षसम्म पनि खान सकिने पर्यटन व्यवसायी एवं सो खाद्य वस्तुका प्रवद्र्धक सिर्जन सिंखडाले बताए । उनले पर्यटन क्षेत्रमा मात्र नभई सुरक्षाकर्मी, उद्धारकर्मी र अन्य सर्वसाधारणका लागि पनि सहजरुपमा लैजान र तयार गर्न सकिने भएकाले यस खालका खाद्य पदार्थको प्रवद्र्धन गर्न आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दिपक महतले खाद्य पदार्थमा रहेको पानीको मात्रा हटाइएकाले बोक्न सजिलो हुने हुँदा पर्वतारोहण तथा पदयात्राका लागि निकै सजिलो हुने दाबी गरे । प्याकेजिङ गरिएको खाद्यवस्तु १० गुणा बढी हल्का हुनुको साथै प्रोटिनयुक्त हुने, कुनै रसायन नराखिएको र स्वादयुक्त भएकाले उच्च पर्वतीय क्षेत्रका लागि उपयोगी हुने उनको भनाइ छ । कार्यक्रममा ग्रेटे हिमालयन ट्रेल एड्भेन्चरका प्रबद्र्धक से ब्याक्लीले यो खाना बनाउने मिसिन निर्माण गर्नको लागि ३ देखि साढे ३ बर्ष लाग्ने बताए । त्यसैगरी नेपाल योग एसोसिएसनका उपाध्यक्ष कुमार थापाले यो हिमाली क्षेत्रको लागि समय सापेक्ष खाना भएको बताउँदै यसको प्रबद्र्धनको लागि सबै लागि पर्नु पर्ने बताए ।
पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाको राजीनामा, किन भए अलोकप्रिय ?
लिमा । पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन् । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएको जनाइएको छ । प्रधानमन्त्री सेजार यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए । मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन् । पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ । रासस/सिन्ह्वा