प्रधानमन्त्री ओलीको जनप्रतिनिधिलाई निर्देशन–‘लुटपाट गर्ने समूहलाई चन्दा नदिनुहोस्’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् । नेपाल नगरपालिका सङ्घद्वारा २६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् , तर उनीहरुलाई चन्दा नदिनुहोस् । लुटेरा प्रवृत्तिले देशको विकास हुँदैन । यस्ता प्रवृत्तिलाई नेपाली समाजले स्वीकार्दैन ।” प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्थामाथिको विश्वास पनि डगमगाउने बताए । “जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ”, उनले भने, “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले मुलुकबाट पृथकतावादी आन्दोलन समाप्त भएको बताउँदै भने, “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रष्तुत गरेर हिँड्नेले अहिले यसको विरोध गरेका छन् ।” प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाए । “अवसर सक्षम र गरीबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन”, उनले भने, “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।” प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रतिनिधिसँग छलफल गर्ने बताएका छन् । कार्यक्रममा उनले नगरपालिकाका ‘असल अभ्यास’ नामको पुस्तक विमोचन गरे ।
एनएमबि माइक्रोफाइनान्सको एकदिने ट्यावलेट संचालन तालिम सम्पन्न
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने ट्यावलेट संचालन प्रशिक्षण/तालिम कार्यक्रम आयोजना गरेको छ । संस्थाले फिल्डमा काम गर्ने कनिष्ठ सहायक र प्रशिक्षार्थिहरुलाई लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिई आफ्नो सम्पूर्ण ग्राहक सदस्यलाई दिने र दिएको सेवा सुविधा एंव आर्थिक कारोवारको वारेमा जानकारी गराउने उद्धेश्यले उक्त तालिमको आयोजना गरेको हो । उक्त प्रशिक्षण/तालिम वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले मंगलबार एक कार्यक्रमकोबीट उद्धाटन गरेका हुन् । एकदिने उक्त तालिममा ट्यावलेटमा काम गर्ने तौर तरीका बारेमा सहभागीहरुलाई स्पष्ट पारिएको थियो । तालिममा २० वटा शाखाका ३५ जना सहभागी रहेका थिए । सूचना प्रविधि विभाग प्रमूख र सूचना प्रविधि विभागका कर्मचारी भावना पौडेल र टंक शिवाकोटी र युरानस टेच नेपाल काठमाडौका कर्मचारी निराजन रिजाल र एलेक्सी ढुङ्गानाले ट्यावलेट संचालन सम्वन्धी प्रशिक्षण दिएका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्सालले लघुवित्तले विपन्न, गरीव तथा पछाडि परेका वर्ग, समुदायमा काम गर्ने भएकोले यस क्षेत्रले आर्थिक विकासको साथ साथै सामुदयिक विकासका लागि पनि कार्य गर्दै आएको बताए । लघुवित्तले फिल्डमा गई आफ्ना ग्राहक सदस्यको घरदैलोमा नै सेवा दिने भएकोले कर्मचारीहरुले सदस्यहरुसँग गर्ने व्यवसायिक व्यवहार र ग्राहक संगको सम्वन्ध सम्वन्धी विषयवस्तु वारेमा प्रस्तुतिकरण दिदै कर्मचारीहरु अन्तरात्मादेखि नै प्रतिवद्ध हुनुपर्ने धारणा प्रस्तुत गरेका छन् । संस्था स्थापनाको ७ वर्षको अवधिमा १० जिल्लामा कार्यक्षेत्र राखी शुरुवात गरेको संस्थाले हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नति भई १०० वटा शाखा कार्यालयको स्थापना गरी करीव ९१ हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल रहेको जानकारी छ ।
दीगो विकासका लागि निजी, सार्वजनिक र सामाजिक साझेदारी
काठमाडाैं । दीगो विकास लक्ष्यको एजेण्डा २०३० सफल पार्नका लागि निजी, सार्वजनिक र समाजिक साझेदारी आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बुधबार आयोजना गरेको दीगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयनमा राज्य र गैरसरकारी निकायको भूमिका विषयका राष्ट्रिय परामर्श गोष्ठीमा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् । कार्यक्रममा सरोकारवालाहरुले नागरिक समाज र समुदायमा आधारित संघसंस्थाहरुलाई सरकारले कम आंकलन गर्ने गरेका कारण र बेवास्ता गर्ने गरेका कारण दीगो विकास लक्ष्यका कुरा तल्लो तहका जनतासम्म पुग्न नसकिरहेको बताए । कार्यक्रममा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले हरेक किसिमको विकासका बारेमा योजना बनाउँदा जनताको स्वास्थ्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आर्थिक सशक्तिकरण, कृषिमा क्रान्तिलगायतका कार्य गर्दा जनताको स्वास्थ्यलाई दृष्टिगत गरिएन भने त्यो कार्य सफल हुन सक्दैन ।’ उनले दीगो विकास लक्ष्यहरु एकअर्कासँग अन्तरसम्वन्धित रहेको बताउँदै यसलाई सफल पार्नका लागि स्थानीय तह र नागरिक समाजलाई जिम्मेवारी दिइनुपर्ने धारणा राखे । राष्ट्रिय योजना आयोगका सदस्य उमा झाले दीगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता भएको र यसले सन् २०३० सम्ममा सवै प्रकारका गरिवीको उन्मुलन गरी स्वस्थ जीवन सुनिश्चित गर्ने जानकारी दिए । यो लक्ष्यले पृथ्वी, मानव, समृद्धि, शान्ति र साझेदारीलाई आधार स्तम्भ बनाएको पनि उनले बताए । प्रकृतिसँग सामञ्जस्यता कायम गर्दै समृद्ध र सम्मुन्नत जीवनको सुनिश्चितताका लागि दीगो विकास लक्ष्य अपरिहार्य रहेको पनि उनले बताए । अन्तराष्ट्रिय गैरसरकारी संस्था, नेपालका तृप्ति राइले नेपालका ७६ प्रतिशत गरिव जनता अझै पनि अस्वस्थकर पानी खान वाध्य भइरहेको जानकारी दिइन् । गैरसरकारी संस्था महासंघका अध्यक्ष जीवराम लामाले सरकारका हरेक एजेण्डालाई जनतासमक्ष पुर्याउन सामाजिक संस्थाहरुले काम गरिरहेको र दीगो विकास लक्ष्यबाट समृद्धिको यात्रा तय हुने बताए । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि मोहम्मद खुर्सिद अलाम हैदरले नसर्ने रोगको तुलनामा सरुवा रोगको प्रकोप कम हुँदै गएको विश्व परिप्रेक्ष्यमा नेपाल जस्ता विकासोन्मुख राष्ट्रमा टीबी, मलेरिया,, एचआइभी, झाडापखालाको प्रकोप रहेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सवैका लागि सर्वव्यापी स्वास्थ्य एजेण्डा बोकेको दीगो विकास लक्ष्यका लागि ७६१ ओटै सरकार उत्तिकै गम्भीर हुनुपर्ने धारणा राखे । स्वास्थ्य विज्ञ महेश शर्माले अन्तर सरकारी समन्वय हुनु आवश्यक रहेकोमा जोड दिंदै निःशुल्क गरिएका स्वास्थ्य सेवाका सम्वन्धमा राष्ट्रिय योजना आयोगले अझ स्पष्ट पार्नुपर्ने बताए । कार्यक्रममा नेपालमा अझ पनि नसर्ने रोगका कारणले गर्दा अल्पायुमै मृत्यु हुनेको संख्या अधिक भएकाले दीगो विकास लक्ष्य मार्फत स्वास्थ्यसँग सम्वन्धित लक्ष्य नं ३ र ६ लाई विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।
महासंघ र चेम्बरको सरकारलाई सुझाव, ‘लघु उद्यम र घरेलु उद्योगमा विदेशी लगानी खुला नगर’
काठमाडौँ । निजी क्षेत्रका दुई ठूला संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्न सरकारलाई सुझाव दिएका छन् । महासंघले बुधबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवलाई भेटेर उक्त सुझाव दिएको हो भने चेम्बरले मंगलबार विज्ञप्ति प्रकाशित गरी यस्तो सुझाव दिएको छ । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले बुधबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवलाई भेटेर उक्त सुझाव दिएको हो । महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं सस्थाहरू, ई-कमर्श, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्नु पर्ने सुझाव दिएको छ । भेटवार्ताका क्रममा महासंघको प्रतिनिधिमण्डलले उल्लेखित क्षेत्रहरूमा अरबौंको स्वदेशी लगानी भएकाले विदेशी लगानी आवश्यकता नरहेको सभापति श्रीवास्तव समक्ष जानकारी गराएको थियो । स्वदेशी लगानीको संरक्षण गर्नु सरकारको दायित्य पनि हुने भएकाले र यी क्षेत्रमा नेपाली उद्यमी व्यवसायीहरू सक्षम र विशेष शीप पनि भएकाले महासंघले पेश गरेका सुझावलाई नया“ ऐनमा समावेश गर्न महासंघको प्रतिनिधि मण्डलले सो अवसरमा आग्रह ग¥यो । महासंघबाट गएको प्रतिनिधि मण्डलका सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ, महासंघको वस्तुगत परिषदका सह-सभापति सुमित केडिया, नेपाल वोटल वाटर एसोसिएसनका अध्यक्ष सुवाष भण्डारी र महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी थिए । यता, मंगलबार चेम्बरले निकालेको बिज्ञप्तिमा आन्तरिक पूँजीले सम्भव नहुने र उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’ मात्रै विदेशी लगानी खुल्ला गर्नु पर्ने उल्लेख गरेको छ । राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन–चेम्बरले निकालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ-‘आन्तरिक पूँजीले सम्भव नहुने उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुन्छ ।’ स्वदेशी ज्ञान, सिप र प्रबिधिको परिचालन गर्न सकिने लघु उद्योग र घरेलु उद्योग अन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु, पशु पालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, कार्गो सेवा एबम् शैक्षिक परामर्श जस्ता महत्वपूर्ण व्यवसायहरुमा बैदेशिक लगानी भित्र्याउन नहुने चेम्बरको धारणा रहेको निर्देशक हरिप्रकाश चन्दले बताए । साना साना उद्योग र व्यसायमा विदेशी लगानी भित्राउँदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा बेफाइदा नै हुन सक्छ-चेम्बरले भनेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ अहिले संसदमा विचाराधीन रहेको छ । २ लाखसम्मकाे विदेशी लगानीकाे बाटो खोल्दै सरकार; यसरी मासिँदैछ स्वदेशी उद्यमशीलता
स्पर्श लघुवित्तको आइपीओमा ३३ गुणा बढी आवेदन, ८३ करोड २७ लाखको पर्यो आवेदन
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपीओमा ३३ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ८३ लाख २७ हजार ६३० कित्ताका लागि आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार बुधबार साँझ पाँच बजेसम्म ३ लाख ३ हजार ४४ जनाले ८३ लाख २७ हजार ६३९ कित्ता माग गरेका छन् । कम्पनीले गत फागुन २६ गतेदेखि २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको थियो । उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १३४० कित्तासम्म भर्न पाइने व्यवस्था थियो । संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणबाट दुई लाख ५२ हजार कित्ता सेयरमा आवेदन माग गरेको थियो । संस्थाले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारीलाई ४ हजार १४८ कित्ता र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ कित्ता छुट्टाइएको थियो ।
स्वावलम्बन लघुवित्तले भीमफेदी बजार क्षेत्रमा बाँड्यो डस्टवीन
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय भीमफेदीले मकवानपुर जिल्ला स्थित भीमफेदी गाउँपालिकाका बजार क्षेत्रमा फोहर संकलन तथा व्यवस्थापनको लागि डस्टवीन वितरण गरेको छ । भिमफेदी गाउंपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोह बीच १० थान डस्टवीन र सोको स्टयाण्ड सहित गाउंपालिकाकालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती राना, वडा नं ५ र ६ का वडाध्यक्षद्वय जहारसिं लामा र सिताराम थापा, गाउँ कार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ, सरीता परियार, अपांग सरोकार केन्द्रका उपाध्यक्ष पम्फा योञ्जन, स्थानीय बासिन्दा, बुद्धिजीवि, शिक्षक, सामाजिक कार्यकर्ता, विभिन्न स्वावलम्बन महिला केन्द्रका सदस्यहरु साथै इलाका र शाखा कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो । प्रमुख अतिथि भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सार्वजनिक स्थलमा फोहर संकलन तथा व्यवस्थापनका लागि हस्टवीन वितरण गरेकोमा धन्यबाद दिनु हुँदै वित्तीय सेवाका साथै स्वास्थ्य तथा सरसफाई लगायत वातावरण संरक्षणमा पु¥याएको योगदान प्रशंसनिय रहेको बताए । शाखा प्रबन्धक चिरञ्जीवी दाहालले वित्तीय संस्थाले स्थानीयसंगको सहकार्यमा सामुदायिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई लगायत अन्य सामाजिक कार्यका लागि हातेमालो गर्दै अगाडी बढ्ने बताए ।
सनराइज बैंक लिमिटेडको टाँडी शाखा कार्यालय स्थानान्तरण
काठमाडौँ । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरियो । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत स्थानीय खबासिहरुको उपस्थिती रहेको थियो ।
चार्टड इन्स्योरेन्स इन्स्टिट्युट बेलायतको सद्भावना दुतमा पौड्याल नियूक्त
काठमाडौँ । विगत ४० बर्ष भन्दा बढि बीमा क्षेत्रमा सक्रिय दिनेशप्रकाश शर्मा पौड्याललाई बेलायतको चार्टड इन्स्योरेन्स इन्स्टिट्युटले सद्भावना दुतका रुपमा नियूक्त गरेको छ । चार्टड इन्स्योरेन्सका प्राक्टिसनर समेत रहेका पौड्याल बीमा, पूर्नबीमा, जोखिम व्यवस्थापन र व्यवस्थापन क्षेत्रमा बरिष्ठ परामर्शदाताका रुपमा परिचित छन् । वेलायतबाट बीमा बिषयमा एडभान्स डिप्लोमा गरेका पौड्यालले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए गरेका छन् । राष्ट्रिय बीमा संस्थान, नेपाल इन्स्योरेन्स कम्पनी लि., प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स लिमिटेडमा उच्च तहमा रही कार्यकारी भुमिका निर्वाह गरिसकेका पौड्यालय सिआईआई कलेज अफ इन्स्योरेन्स युकेका अलमनाई, स्वीस रि–एकेडेमी, स्वीजरल्याण्ड र आईआईआई कलेज इन्स्योरेन्स इण्डियाका पनि अलमुनाई हुन् । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी र बिट्रिस अलमुनाई अफ नेपालका आजिवन सदस्य समेत रहेका पौड्याललाई चार्टड इन्स्योरेन्स इन्टिच्यूटले बीमा क्षेत्रको सद्भावना दुतका रुपमा नियूक्त गरेको हो । उनले बीमा क्षेत्रको विकास र विस्तारका लागि बीमा समिति, बोर्ड लगायतका क्षेत्रमा रहेर काम गरिसकेका छन् ।