विकासन्युज

प्यानबाट पछि हट्यो धितोपत्र बोर्ड, बैशाख १ गतेदेखि ५ लाख बढीको सेयर कारोबारमा मात्रै अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गरेको छ । बोर्ड सञ्चालक समिति बैठकले पाँच लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने र सो भन्दा कमको कारोबारीलाई प्यानमा जान प्रोत्साहन गर्ने निर्णय गरेको हो । यस अघि बोर्डले बैशाख १ गतेदेखि सबै खाले सेयर कारोबारमा प्यान अनिवार्य गरेको थियो । सेयर बजार सम्वद्ध सबै सरोकार वाला र अर्थमन्त्रालयको राय अनुसार ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने निर्णय भएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले बताए ।

परिवारसँगको दूरीका कारण अधिकांश कैदीबन्दीमा मानसिक रोग

ललितपुर। देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक कैदी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्ट अनन्त अधिकारीले बताए । अस्पतालको बहिरङ्ग विभाग र अन्तरङ्ग विभाग दुवैतिर कारागारबाट आएका बिरामी आइरहेका छन्। विभिन्न मुद्दामा जेल चलान भएपछि मानसिक रोग लागेका कैदीबन्दी उपचारका लागि यहाँ आउने गरेको उनले बताए। देशभरका विभिन्न कारागारका कैदीबन्दीलाई मानसिक रोग लागेपछि कारागार प्रशासनले नख्खु कारागार नै सरुवा गरेर पठाउने गरेको छ । बहिरङ्ग विभागमा दैनिक १० देखि १५ जाँचका लागि आउने र अन्तरङ्ग विभागमा तीन/चार सम्म कैदीबन्दी भर्ना हुने गरेका छन् । उनले भने, “अहिले नख्खु कारागारभित्रै मानसिक अस्पताल बन्न लागेकाले यो कारागारमा सरुवा भएर आउनेक्रम बढेको छ ।” अधिकारीका अनुसार कैदीबन्दीमा सबैभन्दा बढी ‘डिप्रेसन’ का बिरामी आउने गरेका छन् । कैदीबन्दीमध्ये कतिमा सामान्य र कतिपयमा कडा खालको मानसिक रोग पाइएको उनले बताए। उनका अनुसार परिवारका सदस्यसँगको दूरीका कारणले मानसिक समस्या हुने गरेको छ । उनले भने, “कारागारमा परेपछि परिवारले बेवास्ता गर्ने, भेट्न नआउने हुँदा मानसिक रोग लागेको पाइन्छ ।” समाजमा मानसिक रोगलाई पनि रोगका रूपमा स्वीकार गरेर उपचार गर्नुपर्छ भन्ने धारणा बन्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको छ । बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी आउने गरेका छन् । अस्पतालमा रहेका ५० श्ययामा सधैँ बिरामी खचाखच हुने गरेको अस्पतालले जनाएको छ। रासस

बन्दमा पनि साझा यातायातको सेवा, सुरक्षामा हतियारसहितको प्रहरी

काठमाडौं । साझा यातायातमा प्रहरीले हतियारसहित सुरक्षा दिएको छ । विब्लव समूहको नेकपाले आह्वान गरेको बन्दका क्रममा सर्वसाधारण र बसको सुरक्षाका लागि सम्पूर्ण बसहरुमा हतियारसहितको प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ । हाल साझाका करिब ७५ ओटा बसहरु सञ्चालनमा छन् । ती बसहरुले उपत्यका भित्र र बाहिर समेत सेवा दिइरहेको छ । बन्दको आह्वानपछि अन्य कम्पनीहरुले सेवा बन्द गरे पनि साझाले भने नियमित रुपमा सञ्चालन गरिरहेको जनाएको छ ।

दिउँसो खानेबित्तिकै निन्द्रा लाग्छ ? यस्ता छन् कारण, यसरी बच्नुहोस्

काठमाडौं। केही खानेकुरा र खाना खाने समय नमिल्दा मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने,  थकान महसुस हुने गर्दछ। अनुसन्धानकर्ताहरुको अनुसार खाना पछि थकान लाग्नुको कारण बारेमा विभिन्न सिद्धान्तहरू छन् तर उनीहरु यो एक प्राकृतिक प्रतिकृया हो र यो खासै चिन्ता लिनुपर्ने बिषय नभएको बताउँछन्। मानिसहरुले के खायो , कुन समयमा खायो र कति खायो भन्ने कुराले उसले कस्तो महसुस गर्छ भन्ने कुरालाई निर्धारण गर्दछ। कस्तो खानेकुराले बढी निन्द्रा लाग्ने तथा थकान महसुस हुने गर्दछ ? प्रोटिन र कार्बोहाईड्रेट बढी मात्रामा भएका खानेकुराले तपाईंलाई अन्य खानेकुराको दाँजोमा बढी निन्द्रा लाग्ने गर्दछ। केही अनुसन्धानकर्ताहरुको अनुसार शरीरमा सेरोटोरिन भन्ने हार्मोनको बढी उत्पादन हुने कारणले गर्दा पनि मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ। सेरोटोरिन यस्तो हार्मोन हो जसले तपाईको मुड र निन्द्रा चक्रलाई निर्धारण गर्ने गर्दछ। धेरै प्रोटिन भएको खानेकुरामा पाईने ट्राइटोपफ्यान भन्ने एक एमिनो एसिडले शरीरमा सेरोटोरिन उत्पादन गर्न मद्दत गर्दछ। यस कारणले कार्बोहाईड्रेट र प्रोटिन युक्त खानेकुरा खाएपछी निन्द्रा, अल्छि र थकित महसुस हुने गर्दछ। ट्राइटोपफ्यान यि खानेकुरामा पाईने गर्दछ : – अण्डा, दुध, पालकको साग, पनिर , कुखराको मासु – पास्ता, सेतो भात, सेतो पाउरोटी, केक, कुकीज, डोनट, चिनी खाना पछि निन्द्रा लाग्नुको अर्को कारण -राती राम्रोसँग नसुत्दा पनि मानिसलाई दिनभर थकान महसुस हुने गर्दछ। -खानेकुरासँग माधकपदार्थ सेवन गर्नाले पनि खानापछि निन्द्रा लाग्ने गर्दछ। कसरी खाना खाएपछि लाग्ने अल्छि भगाउने ? १। थोरै मात्रामा र समय समयमा खाईरहने एकैपटक धेरै खानुभन्दा पनि एक दुई घण्टाको अवधीमा थोरै थोरै खाने हो भने त्यसले शरीरलाई पर्याप्त चाहिने उर्जा प्रदान गर्दछ। २। रातीको समयमा राम्रोसँग सुत्ने राम्रोसँग निन्द्रा पुर्याएका मानिसहरु दिउँसोको समयमा खाना खाएपछि अल्छि लाग्ने निन्द्रा लाग्ने समस्याबाट टाढै रहन्छन्। ३। केही समय हिंड्नुहोस् दिउँसोको समयमा व्यायमको रुपमा केही समय हिंड्ने हो भने पनि त्यसले तपाईलाई दिउँसो निन्द्रा लाग्ने समस्या कम गर्दछ। ४। दिउँसोको समय छोटो समय सुत्नुहोस्

स्कूलहरुले दशैं र तिहारको बीचमा बिदा गर्नैपर्ने, वर्षैपिच्छे किताब फेर्न पनि रोक

काठमाडौं । विद्यालयहरुले अब दशैं र तिहारको बीचको अवधिमा विद्यार्थीहरुलाई अनिवार्य रुपमा बिदा दिनुपर्ने भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागअन्तर्गत शिक्षा समितिले दशैं र तिहारको बीचमा रहने १२ दिनको अवधिमा आफू मातहतका विद्यालयहरुलाई अनिवार्य रुपमा बिदा दिने व्यवस्था गर्न भनेको हो । सो अवधिको बिदासहित विद्यालयहरुले जम्मा ४५ दिनसम्म बिदा दिन पाउनेछन् । जसमा जाडो बिदा बढीमा २४ दिन र गर्मी बिदा तोकिएको भन्दा बढी दिन बिदा नहुने गरी जाडो बिदासँग मिलान गरी दिन सकिने विभागले जनाएको हो । जसअनुसार विद्यालयहरुले २४ दिन जाडो बिदा दिए बाँकी ८ दिन मात्र गर्मी बिदा दिन पाउँछन् । महानगरले आफू अन्तर्गतका विद्यालयहरुलाई वर्षको २२० दिन विद्यालय खोल्न र कम्तिमा १९६ दिन  अविनार्य रुपमा कक्षा सञ्चालन गर्न पनि भनेको छ । किताब बेच्न र फेर्न रोक विभागले विद्यालयहरुलाई आफ्नो विद्यालय हाताभित्र किताब, स्कूल ड्रेस, स्टेशनरी सामान र सन्दर्भ सामाग्रहरु बेच्न वा आफूले चाहेको पसलबाट किताब किन्न समेत रोक लगाएको छ । विद्यालयहरुले आफूले पढाउन चाहेको पुस्तकको सूची र पश्लिकेसनको नाम समेत अभिभावकले देखिने गरी टाँस्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विद्यालयहरुले एकपटक लागू गरेको पाठ्यपुस्तक कम्तीमा ३ बर्षसम्म फेर्न नपाउने व्यवस्था गरिएको छ । हालसम्म विद्यालयहरुले आफ्नो अनुकूलका प्रकाशनको किताब आफैं बेच्ने वा अभिभावकहरुलाई कुनै पुस्तक पसलको नाम दिएर त्यही पसलमा सबै किताब पाउने भन्दै किताब र पब्लिकेशनको नाम नदिने गर्दै आएका थिए । वर्षमा ४ ओटा परीक्षा अनिवार्य विभागले सबै विद्यालयहरुले अनिवार्य रुपमा वर्षमा ४ पटक परीक्षा लिनैपर्ने व्यवस्था गरेको छ जसअनुसार पहिलो परीक्षा असार १३ गतेदेखि २२ गतेसम्म, दोस्रो असोज १ गतेदेखि १० गतेसम्म, तेस्रो पुस ४ गतेदेखि १४ गतेसम्म र चौथो चैत १३ गतेदेखि २१ गतेसम्म परीक्षा लिनुपर्ने गरी तोकिएको छ । तर त्यसरी परीक्षा लिँदा परीक्षा शुल्क लिन पाउने कि नपाउने र पाउने भए कतिसम्म लिन पाउने भन्ने व्यवस्था भने विभागले गरेको छैन । स्कूलको नाम नेपालीमा, राष्ट्रिय गान अनिवार्य विद्यालयहरुलाई आफ्नो विद्यालयको होर्डिङ बोर्डमा अनिवार्य रुपमा नेपालीमा समेत नाम लेख्न, विद्यालय सञ्चालन हुनुअघि अनिवार्य रुपमा राष्ट्रिय गान बजाउन र कक्षा सुरु हुनुअघि अनिवार्य रुपमा कक्षागत गीत समेत बजाउन समेत निर्देशन दिएको छ ।

ओयो होटलले नेपालका महिला पर्यटन उद्यमीहरुलाई सघाँउदै

काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठूलो फ्रयानचाईज होटेल ओयोले शुरुवातदेखि नै साना तथा मझौला उद्यमीहरुलाई साझेदार फ्रयानचाईजका रुपमा आफ्नै संजालमा समाबेश गर्दै आइरहेको छ । होटलले उद्यमीहरुको आयआर्जनलाई बढाउन मद्दत गर्नुका साथै, ती होटेल र घरहरुबाट यात्रुलाई उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्न सक्षम बनाई रहेको छ । नेपालमा तीव्ररुपले बढि रहेको ओयोको फ्रयानचाईज होटलहरुका एक हिस्सा महिलाद्वारा सञ्चालित होटलहरुले ओगटेका छन् र त्यस्ता होटलहरु सकारात्मकरुपमा वृद्धि भइरहेका छन् । भावी दिनहरुमा पनि थप्रै महिलाद्वारा सञ्चालित होटलहरुको सफलताका कथाहरु बुन्न ओयो लागि परेको छ । विभिन्न नेतृव्यदायी भूमिकार व्यवसायमार्फत महिलाहरुले रुढिवादी परम्परालाई त्यागेर अगुवाको रुपमा अगाडि बढिरहेका छन् । पहिला अधिकांश महिलाहरुको सहभागिता नदेखिएका छेत्रमा पनि उनीहरुको सफलताको कथा देखिन थालेका छन् । उनीहरुभित्र रहेको सुक्ष्म दृष्टि एवं दूरदर्शिता व्यापार व्यवसाय गर्नका लागि अत्यन्तै उपयुक्त हुने भएकोले पनि महिलाहरु विश्वमै उद्यमशीलतामा अगाडी आउँदैछन् । एउटा त्यस्तै प्रेरणदायक कथा सुशीला मोक्तानको छ जो पोखरामा अवस्थित ओयो १३४ स्ल्पिवेयल होटलकी मालिक हुन् र गत एक वर्षदेखि ओयोसँग साझेदारी गरिरहनु भएको छ । ओयोसँगको आफ्नो यात्राको बारेमा बोल्दै सुशीलाले भने, “ओयोको होटलहरुलाई गुणस्तरीय बनाउने अवधारणले हामीलाई निकै लाभ भएको छ । साथै ओयोले हाम्रा सम्पूर्ण कर्मचारीलाई प्रशिक्षण गरेर अतिथिहरुका लागि गुणस्तरीय आवास र सेवाको अनुभव प्रदान गर्न सक्षम बनाएको छ । म धेरै खुसी छु कि ओयोले म जस्ता महिलाहरुका लागि सफल व्यवसायी बन्ने सपना साकार गर्न अवसर प्रदान गरिरहेको छ ।” पोखराको ओयो २५३ होटल पिनाकलकी मालिक रमा जोशी हुन्, जो ओयोसँग नेपालमा प्रारम्भिक दिनदेखि साझेदारी गरिरहेकी छिन् । उनले भनिन्, “हामी ओयोसँग सुरुवाती दिनदेखि सहकार्य गरिरहेका छौँ । ओयोले कसरी होटलका कर्मचारीलाई आफ्नो आतिथ्य क्षमता वृद्घि गर्न सकिन्छ भनेर प्रशिक्षण दिई सक्षम बनाएकोमा म ओयोको कदर गर्छु । ओयोको प्रविधि र आतिथ्य प्रशिक्षणसँगै हामीले ठूलो संख्यामा अतिथिहरु भित्र्याएका छौँ, जसमा अधिकांश यूवाहरु पनि पर्छन् । ओयोसँग साझेदारी गरेर हाम्रो व्यवसाय र ग्राहक संख्यामा वृद्घि भएको छ ।” ओयोले एकीकृत प्रविधि प्रणाली र कार्यसञ्चालन क्षमताद्वारा एकल होटलहरुलाई रुपान्तरण र नवीकरण गर्दै ओयोका फ्रयानचाईज होटलहरुको गुणस्तर वृद्घि गर्नुका साथै अतिथियात्रुहरुको लागि उत्कृष्ट अनुभव दिन सक्षम भएको छ । साथै ओयोका होटलहरुमा ग्राहक पनि वृद्घि भइरहेका छन् । ओयोद्वारा प्रत्येक होटल संचालकलाई उच्चस्तरीय प्रविधिको पहुँच पु¥याएको छ जसले होटलका संचालकका र प्रबन्धकका लागि दैनिक सञ्चालनमा पूर्ण नियन्त्रण गर्न, लागत घटाउन, कर्मचारी दक्षता बढाउन र समय बचत गर्न मद्दत गर्छ । उनीहरुको व्यवसायसँग सम्बन्धित सम्पूर्ण कुराहरु ओयोको प्रविधिमार्फत सहजै निगरानी र प्रबंधनगर्न सकिन्छ । ओयो होटल्स् एण्ड होम्स्को नेपालमा १५० भन्दा बढि होटल र २५०० कोठाहरु रहेका छन् ।

प्रधानमन्त्री ओलीको जनप्रतिनिधिलाई निर्देशन–‘लुटपाट गर्ने समूहलाई चन्दा नदिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् । नेपाल नगरपालिका सङ्घद्वारा २६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “लुटेराले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् , तर उनीहरुलाई चन्दा नदिनुहोस् । लुटेरा प्रवृत्तिले देशको विकास हुँदैन । यस्ता प्रवृत्तिलाई नेपाली समाजले स्वीकार्दैन ।” प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमूलक संस्थामाथिको विश्वास पनि डगमगाउने बताए । “जनप्रतिनिधिमूलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ”, उनले भने, “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले मुलुकबाट पृथकतावादी आन्दोलन समाप्त भएको बताउँदै भने, “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रष्तुत गरेर हिँड्नेले अहिले यसको विरोध गरेका छन् ।” प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता नभुल्न पनि जनप्रतिनिधिलाई सम्झाए । “अवसर सक्षम र गरीबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन”, उनले भने, “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।” प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रतिनिधिसँग छलफल गर्ने बताएका छन् । कार्यक्रममा उनले नगरपालिकाका ‘असल अभ्यास’ नामको पुस्तक विमोचन गरे ।

एनएमबि माइक्रोफाइनान्सको एकदिने ट्यावलेट संचालन तालिम सम्पन्न

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने ट्यावलेट संचालन प्रशिक्षण/तालिम कार्यक्रम आयोजना गरेको छ । संस्थाले फिल्डमा काम गर्ने कनिष्ठ सहायक र प्रशिक्षार्थिहरुलाई लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिई आफ्नो सम्पूर्ण ग्राहक सदस्यलाई दिने र दिएको सेवा सुविधा एंव आर्थिक कारोवारको वारेमा जानकारी गराउने उद्धेश्यले उक्त तालिमको आयोजना गरेको हो । उक्त प्रशिक्षण/तालिम वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले मंगलबार एक कार्यक्रमकोबीट उद्धाटन गरेका हुन् । एकदिने उक्त तालिममा ट्यावलेटमा काम गर्ने तौर तरीका बारेमा सहभागीहरुलाई स्पष्ट पारिएको थियो । तालिममा २० वटा शाखाका ३५ जना सहभागी रहेका थिए । सूचना प्रविधि विभाग प्रमूख र सूचना प्रविधि विभागका कर्मचारी भावना पौडेल र टंक शिवाकोटी र युरानस टेच नेपाल काठमाडौका कर्मचारी निराजन रिजाल र एलेक्सी ढुङ्गानाले ट्यावलेट संचालन सम्वन्धी प्रशिक्षण दिएका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्सालले लघुवित्तले विपन्न, गरीव तथा पछाडि परेका वर्ग, समुदायमा काम गर्ने भएकोले यस क्षेत्रले आर्थिक विकासको साथ साथै सामुदयिक विकासका लागि पनि कार्य गर्दै आएको बताए । लघुवित्तले फिल्डमा गई आफ्ना ग्राहक सदस्यको घरदैलोमा नै सेवा दिने भएकोले कर्मचारीहरुले सदस्यहरुसँग गर्ने व्यवसायिक व्यवहार र ग्राहक संगको सम्वन्ध सम्वन्धी विषयवस्तु वारेमा प्रस्तुतिकरण दिदै कर्मचारीहरु अन्तरात्मादेखि नै प्रतिवद्ध हुनुपर्ने धारणा प्रस्तुत गरेका छन् । संस्था स्थापनाको ७ वर्षको अवधिमा १० जिल्लामा कार्यक्षेत्र राखी शुरुवात गरेको संस्थाले हाल राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्तरोन्नति भई १०० वटा शाखा कार्यालयको स्थापना गरी करीव ९१ हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल रहेको जानकारी छ ।