विकासन्युज

तीनदिन देखि सुत्केरी व्यथा : शिशुको हात मात्र बाहिर

हुम्ला। जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राती शिशुको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दिइन । बुढालाई तीन दिन अगाडिदेखि सुत्केरी व्यथा लागेको भए पनि स्थानीय स्वास्थ्यचौकीले गर्भवती गराउन नसकेकाले उद्धारका लागि प्रदेश सरकारसँग आज बिहान हेलिकप्टरको माग गरिएको बताइएको छ । रासस

बोर्डको निर्णयको असर बजारमा, नेप्सेमा एकाएक छायो हरियाली

काठमाडौं । पुँजी बजारमा प्यान अनिवार्य नगर्ने नेपाल धितोपत्र बोर्डको निणर्यको असर बिहीबारको सेयर बजारमा परेको छ । बोर्डले एक विज्ञप्तिमार्फत ५ लाख भन्दा कमकाे काराेबारलाई प्यान ऐच्छिक गर्ने जानकारी दिएपछिको बजारमा एकाएक हिरियाली छाएको छ । बिहीबार करिब सवा बजे नेप्से परिसूचक ६.०७ अंकले उकालो लागेर ११५६.१७ अंकमा पुगेको छ । ११५० अंकदेखि कारोबार शुरु भएकाे नेप्से ओरालो लागेर ११४२ अंकमा पुगेको बजार बोर्डको निर्णयले एकाएक उकालो लागेको हो । बोर्डले बैशाख १ गतेदेखि ५ लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गरेको छ । बोर्ड सञ्चालक समिति बैठकले पाँच लाख भन्दा बढीको सेयर कारोबारमा मात्रै प्यान अनिवार्य गर्ने र सो भन्दा कमको कारोबारीलाई प्यानमा जान प्रोत्साहन गर्ने निर्णय गरेको हो । यस अघि बोर्डले बैशाख १ गतेदेखि सबै सेयर कारोबारमा प्यान अनिवार्य गर्ने निर्णय गरेकाे थियो । बिहीबार १ः१५ बजेसम्म कुल १४३ कम्पनीको १२ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी यूनाईटेड फाइनान्सका लगानीकर्ताले ९.८८ प्रतिशत कमाएका छन् । त्यस्तै, कारोबारमा आएका सबैसूचकमध्ये उत्पादनमूलक समूह सामान्य अंकले ओरालो लागेको छ भने बाँकी समूह हरिया देखिएका छन् ।

ब्राजिलको एक विद्यालयमा गोली चल्दा १० को मृत्यु

साओ पाउलो, ब्राजिल । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्नेमध्येका व्यक्तिहरु रहेको प्रहरीको भनाई छ । स्थानीय समय अनुसार बिहान साढे नौ बजे राउल ब्राजिल पब्लिक स्कुलमा गोली प्रहार भएको हो । प्रारम्भिक विवरणका अनुसार शुरुमा आठ जनाको मृत्यु भएकोमा पछि दश पुगेको हो । मृत्यु हुनेको संख्या अरु पनि बढ्न सक्ने अनुमान गरिएको छ । घटनामा परी घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । घटना थाहा पाउने बित्तिकै अभिभावक र छिमेकीहरु विद्यालयमा पुगेका थिए । उनीहरुमध्ये एक जनाले भने, “यस्तो दर्दनाक घटना त मैले अहिलेसम्म देखेकै थिएन, अत्यन्त दुःखद घटना भयो ।” साओ पाउलो राज्यका गभर्नर जाओ डोरिआले घटनाका पीडितहरुलाई र उनीहरुका आफन्तलाई सम्बोधन गर्नु अहिलेको प्रमुख प्राथमिकता भएको बताए । रासस÷सिन्ह्वा

देवः विकास बैंक र एभरेष्टबीच बैंकास्योरेन्स संझौता

काठमाडौँ । देवः विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहीबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने छन् । सो सेवा सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

खुल्यो खरिदारको विज्ञापन, प्रथम पत्रको लिखित परीक्षा बैशाख १४ गते

काठमाडौँ । लोकसेवा आयोगले खरिदार पदका लागि दरखास्त आह्वान गरेको छ। निजामती सेवाका सेवा, समूह, उपसमूहका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आप्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको लोकसेवा आयोगले जनाएको छ । परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरवार्ता हुने लोकसेवाले जनाएको छ । खरिदार पदमा चैत २९ गतेसम्म आवेदन दिन सकिने छ । डबल दस्तुर तिरेर चैत २६ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिन सकिने छ । प्रत्येक विज्ञापनका लागि दरखास्त शुल्क ३०० सय बुझाउनु पर्नेछ, समावेशी तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ थप दस्तुत बुझाउनु पर्ने आयोगले जनाएको छ । सबै समूहको प्रथम पत्रको लिखित परीक्षा बैशाख १४ गते दिनको ११ बजे सञ्चालन हुने आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

नेपाली बजारमा साढे १८ लाखसम्मका मोटरसाइकल, कुन कम्पनीले कतिमा बेच्दैछन् ?

काठमाडौं । नेपाली बजारमा मूल्य १ लाख १२ हजारदेखि १८ लाख ५० हजारसम्म मूल्यमा मोटरसाइकलहरु उपलब्ध छन् । नाडा अटोमोबाइल्स एसोशिएसनले सार्वजनिक गरेको पछिल्लो मूल्यसूची अनुसार नेपालमा बिक्री हुने मोटरसाइकलहरुमध्ये जगदम्बा मोटर्सले बिक्री गर्दै आएको टीभीएसको एक्सएल–१०० को सबैभन्दा सस्तो र केटीएम इन्टरनेशनलले बिक्री गर्दै आएको टीएनटी ६०० आई (एबीएस) को मूल्य सबैभन्दा बढी अर्थात् रु १८ लाख १२ हजार ९०० रुपैंया तोकिएको हो । नाडाले आफ्ना सदस्य डिलरहरुले उपलब्ध गराएको मूल्यसूचीका आधारमा नेपाली बजारमा बिक्री हुँदै आएका मोटरसाइकलहरुको पछिल्लो मूल्य तोकेको हो । विवरण अनुसार नेपालमा १० कम्पनीका कुल १२४ मोडलका मोटरसाइकलहरु बिक्रीमा राखिएका छन् । नेपाल जनरल मार्केटिङले बेच्दै आएको हिरो मोटरसाइकलको मूल्य १ लाख ७६ हजार रुपैंयादेखि ३ लाख २८ हजार रुपैंयासम्म तोकिएको छ । हिरोको १०२ सीसीको प्लिजर न्यूको मूल्य न्यूनतम १ लाख ७६ हजार तोकिएको छ भने २२३ सीसीको करिज्मा जीएमआर डीएसएसको मूल्य ३ लाख २८ हजार तोकिएको हो । १२५ सीसीको सुपर स्प्लेन्डरको मूल्य भने १ लाख ९४ हजार तोकिएको छ । हिरोका १८ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । हंसराज हुलासचन्द एण्ड कम्पनीले बिक्री गर्दै आएको बजाज मोटरसाइकलको १ लाख ६३ हजार ९०० रुपैंयादेखि ५ लाख ८९ हजार तोकिएको छ । १०० सीसीको प्लाटिना १०० इएसको मूल्य १ लाख ६३ हजार ९०० र डोमिनरको मूल्य ५ लाख ८९ हजार तोकिएको हो । १५० सीसीको पल्सरको मूल्य भने २ लाख ५१ हजार ९०० र १५० सीसीकै पल्सर टीडीको मूल्य भने २ लाख ५९ हजार ९०० तोकिएको छ । त्यस्तै, २२० सीसीको मोटरसाइकलको मूल्य भने ३ लाख ११ हजार ९०० तोकिएको छ । बजाजका १७ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । एमएडब्लु इन्टरप्राइजेजले आफूले बिक्री गर्दै आएको यामाहा मोटरसाइकलको मूल्य १ लाख ८५ हजार रुपैंयादेखि ९ लाख २४ हजार ९०० रुपैंयासम्म तोकेको छ । यामाहाको ११३ सीसीको आरएवाई–जी को मूल्य १ लाख ८५ हजार ९०० रुपैंया र ३२१ सीसीको आरथ्रीको मूल्य ९ लाख २४ हजार ९०० रुपैंया तोकिएको हो । १२५ सीसीकै एक्सटीजी १२५ को मूल्य समेत ३ लाख ९९ हजार ९०० रुपैंया तोकिएको छ । यामाहाका १९ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । सबैभन्दा महँगो मोटरसाइकल बिक्री गर्ने कम्पनी भने केटीएम इन्टरनेशनल देखिएको छ । बेनेली कम्पनीहो टीएनटी ६०० आईको मूल्य सर्वाधिक १८ लाख ५० हजार तोकिएको हो । सो सम्पनीले बिक्री गर्ने सबैभन्दा सस्तो मोटरसाइकल भने टीएनटी १३५ छ जसको मूल्य २ लाख ७५ हजार तोकिएको छ । यामाहाका ८ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । जगदम्बा मोटर्सले बिक्री गर्ने टीभीएस कम्पनीको मूल्य सबैभन्दा कम देखिएको छ । उक्त कम्पनीको एक्सएल–१०० को मूल्य १ लाख १२ हजार ९०० हुँदा सो कम्पनीकै अपाचे आरटीआर २०० को मुल्य ३ लाख २४ हजार ९०० रुपैंया तोकिएको हो । सोही कम्पनीको स्कुटरको मूल्य भने १ लाख ८४ हजार ९०० देखि २ लाख २४ हजार ९०० रुपैंयासम्म तोकिएको छ । टीभीएसका ८ ओटा मोडेलका मोटरसाइकलहरु बिक्रीमा छन् । त्यस्तै अग्नी मोनिकले बिक्री गर्ने महिन्द्रा टु ह्विलर्सको सवारीको मूल्य १ लाख ६२ हजार देखि ५ लाख ८० हजारसम्म तोकिएको छ । कम्पनीका ३ मोडलका बाइक र ४ मोडलका स्कुटरहरु बजारमा रहेका छन् । महिन्द्रा टु ह्विलर्सका ३ ओटा मोडेलका मोटरसाइकलहरु र ४ मोडेलका स्कुटर बिक्रीमा छन् । दुगड ब्रदर्स एण्ड सन्सले बिक्री गर्दै आएको रोयल इन्फिल्डका मोटरसाइकलको भने न्यूनतम मूल्य सबैभन्दा बढी देखिएको छ । उक्त कम्पनीका बाइकहरु ४ लाख ६७ जारदेखि ८ लाख २१ हजार रुपैंया मूल्यसम्मका छन् । रोयल इन्फिल्डका ६ ओटा मोडेलका मोटरसाइकलहरु  बिक्रीमा छन् । रमन जनरलले बिक्री गर्ने रुइनर मोटरसाइकलको मूल्य भने १ लाख ५२ हजारदेखि ३ लाख ८४ हजारसम्म तोकिएका छन् । रुइनरको बाइक आरटीको मूल्य न्यूनतम र डोमिनेटरको मूल्य अधिकतम तोकिएको हो । रुइनरका १४ ओटा मोडेलका मोटरसाइकलहरु  बिक्रीमा छन् । सबैभन्दा कम अर्थात् ३ मोडलका मोटरसाइकलहरु बिक्री गर्ने इन्टरनेशनल माेटर्सकाे  हार्टफाेर्ड ब्रान्डका मोटरसाइकलहरु भने ३ लाख ५० हजारदेखि ४ लाख ९९ हजार रुपै‌ंयासम्मका छन् । कम्पनीकाे एचडी १५० भीआरकाे मूल्य न्यूनतम३ लाख ५० हजार ताेकिँदा एचडी २२३ एस लियाेपार्डकाे मूल्य ४ लाख ९९ हजार ताेकिएकाे हाे ।

२६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनः आवेदन माग

काठमाडौँ । सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज एक सूचना जारी गरी यही फागुन ३० देखि आगामी चैत ९ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ । रोजगार संयोजकका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np बाट अनलाइन फारम भर्न सकिने छ । रिक्त रहेका स्थानीय तहमा २४९ शाखा अधिकृत र १९ नायब सुब्बास्तरका रोजगार संयोजकको पदपूर्ति गरिने मन्त्रालयले जनाएको छ । सो अन्तर्गत प्रदेश नं १ मा ६६ शाखा अधिकृत र पाँच नासु, प्रदेश नं २ मा ४५ शाखा अधिकृत, प्रदेश नं ३ मा ३१ शाखा अधिकृत र एक नासु, गण्डकी प्रदेशमा १४ शाखा अधिकृत र एक नासु, कर्णाली प्रदेशमा ४३ अधिकृत र ११ नासु तथा सुदूरपश्चिम प्रदेशमा ५० अधिकृत र एक नासु पदको पदपूर्ति गरिनेछ । गत महिना ७५३ स्थानीय तहमा रहेर कामकाज गर्ने गरी रोजगार संयोजकको आवेदन माग गरिए पनि विद्युतीय परीक्षा उत्तीर्ण हुन नसक्दा २६८ स्थानीय तहमा रोजगार संयोजक छनोट हुन सकेका थिएनन् । उक्त चरणमा २३ हजार ९६८ को आवेदन परे पनि ४८५ जना मात्र छनोट हुन सफल भएका थिए ।

मेलम्चीले बाटो खनेर छोडे पछि स्थानीयले नै शुरु गरे सरसफाई

काठमाडौं । मेलम्चीले खानेपानी आयोजनले काठमाडौंको विभिन्न ठाउँमा पानीको पाइप विछ्याउन बाटो खनेर त्यसै छाडे पछि स्थानीय वासिन्दाहरुले सरसफाई थालेका छन् । बागबजारवासीहरु बाटो सरसफाईमा जुटेका हुन् । बागवजारमा मेलम्चीले बाटो खनेर छोडेको १ महिना हुँदा पनि कुनै चासो नदेखाए पछि स्थानीयहरुले नै बाटो सफा गर्न शुरु गरेका हुन् । सरसफाइमा सहभागी रेशम भुसालले भने–‘मेलम्चीले बाटो खनेर पाइप बिछ्याएको पनि १ महिना भइसक्यो, तर बाटो खने पछि त्यसको पुननिमार्ण गरेन । बाटोमा धुलो उठेर केही नदेखीने भएपछि हामी स्थानीयहरु नै मिलेर बाटो सरसफाइमा लागेका छौँ ।’ सबै कामका लागि सरकारको मुख ताक्नुभन्दा आफुले सक्ने काम आफैँ गरौँ भनेर सरसफाइ शुरु गरेको भुसालले बताए ।