शाखा विस्तारमा आक्रमक बन्दै एनआईसी एशिया बैंक, काठमाडौंमा मात्रै एकैदिन ६ शाखा उद्घाटन
काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंक शाखा विस्तारमा आक्रमक बन्दै आएको छ । बैंकले सोमबार मात्रै काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले काठमाडौंको बोहोराटार, खसीबजार, माछापोखरी, नरेफाँट, पुतलीसडक र स्वयम्भूमा नयाँ शाखा विस्तार गरी उद्घाटन गरेको हाे । बोहोराटार शाखाको उद्घाटन स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेले गरेको छन् । खसीबजार शाखाको उद्घाटन सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाले, माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालले, नरेफाँट शाखाको उद्घाटन सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीले गरेका छन् । त्यस्तै, पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीले र स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले एक समारोहकाबीच उद्घाटन गरेका छन् । यी सबै शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सजिलो हुने बैंककाे विश्वास छ । हाल बैंकको ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यसका साथै, मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
सनराइज बैंकको १२८औं शाखा नुवाकोटकाे बट्टारमा
काठमाडौं । सनराइज बैंकले नुवाकोट स्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा केन्द्रिय सांसद नारायण प्रसाद खतिवडा, विदुर नगरपालिकाको मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले एटीएमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले बट्टारमा सनराइज बैंकको आगमनले व्यापारीकरण र औधोगिकरणमा थप प्रोत्साहन मिल्ने जनाएका छन् । साथै, केन्द्रिय सांसद नारायण प्रसाद खतिवडाले बैकले कृषि क्षेत्रमा लगानी बढाइ, आयातलाई प्रतिस्थापन गर्न आग्रह गरेका छन् । बट्टार नगरपालिकाको मेयर सन्जु पण्डितले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिने अपेक्षा भएको जनाएका थिए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथअधि बढाउदैं लाने बताएका छन् । हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
ज्योति विकास बैंकले टिचफर नेपाललाई ५ लाख बराबरको आर्थिक सहयोग गर्ने
काठमाडाैं । ज्योति विकास बैंकले टिचफर नेपालसँग सोमबार ५ लाख रूपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ। बैंकले समाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत टिचफर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गर्ने भएकाे हो। ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र टिचफर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आर्थिक सहयोगको साथै बैंकले टिचफर नेपालको सहयोगमा बेलाबखत आफ्नो दक्ष कर्मचारीहरुलाई ती विद्यालयहरुमा स्वयंसेवकका रुपमा पठाउने पनि प्रतिबद्धता गरेको छ। टिचफर नेपालले हालसम्म विभिन्न ६ जिल्लाका ६५ वटा विद्यालयहरुमा ३०० भन्दा बढी स्वयंसेवक शिक्षकहरु पठाई ३०हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अङ्ग्रेजी लगायतका विषयहरु पढाउँदै आएको छ। दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको लागि योगदान पुर्याइरहेको टिचफर नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ। समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ र आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउने कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता गरेको छ। हाल बैंकले १०२ शाखा कार्यालय, १एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक बर्ष भित्रनै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजार भन्दा बढि खाताबाट ३१ अर्ब भन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्ब भन्दा बढि लगानी गर्न सफल भएको छ।
व्यवसाय विस्तारको लागि राष्ट्रिय बीमा संस्थानद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको हेटौंडा शाखाले जीवन बीमा अभिकर्ताको लागि तीन दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ । संस्थानले व्यवसाय विस्तारको लागि मंसिर २६ गतेदेखि मंसिर २८ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरेको थियो । तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले संस्थानले उक्त कार्यक्रम संचालन गरेको हो । संस्थानका हेटौंडा शाखाका प्रमुख केशव बजगाईको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडा राज अधिकारी र नारायणगढ शाखाका प्रमुख उषा सापकोटाले प्रशिक्षण दिएका थिए ।
१२ बर्षको खोज र अनुसन्धान पश्चात ‘सूर्य चारै दिशाबाट उदाउँछ’ पुस्तक सार्वजनिक
काठमाडौं । कमलकुमार रिजालद्वारा लिखित ‘युनिक डिस्कभरी इन युनिभर्स’ नामक अनुसन्धानपरक पुस्तक सार्वजनिक गरिएको छ । गत आईतवार एक कार्यक्रमकावीच प्रज्ञाप्रतिष्ठान कमलादीमा नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छदारले उक्त पुस्तकको सार्वजनिक गरेका हुन् । पृथ्वीको उत्पत्ति, मानव जातिको विकासक्रम, ग्रहहरुको उत्पत्ति र सूर्य उदय तथा अस्त लगायतका विषय समेटिएको पुस्तक बैज्ञानिक खोजमा आधारित रहेको लेखक कमल कुमार रिजालको भनाई छ । पुस्तकले मुलत सूर्य पूर्वबाट मात्र उदाउँछ भन्ने मान्यतालाई चुनौति दिएको छ । ‘युनिक डिस्कभरी इन युनिभर्स’का अनुसार सूर्य चार वटै दिशाबाट उदाउने गर्छ । सदियौं देखि पूर्वबाट सूर्य उदाउँछ भन्ने मान्यता भन्दा फरक दृष्टिकोण राखेर लेखिएको पुस्तक ‘युनिक डिस्कभरी इन युनिभर्स’ नेपाली पाठकहरुका लागि मात्र नभएर विश्वभर खगोलिय अध्ययन गर्नेहरुका लागि नितान्त नयाँ विषय हुनेछ । पुस्तक लोकापर्ण कार्यक्रममा काग्रेस उपसभापति विजय गच्छदारले सूर्य पूर्वबाट मात्र नउदाउने भन्ने कुरा सुन्दा आफूलाई अनौठो लागेको बताए । तर उनले खोज र अनुसन्धानहरुले पूर्ववत मान्यताहरुलाई भत्काउने हुँदा ‘युनिक डिस्कभरी इन युनिभर्स’ ले निक्र्याेल गरेको खोजले पनि नयाँ तथ्य स्थापित गर्ने विश्वास व्यक्त गरे । लेखक रिजालका अनुसार ‘युनिक डिस्कभरी इन युनिभर्स’ १२ बर्षको खोज र अनुसन्धान पश्चात लेखिएको हो ।
२५ बैंक तथा वित्तीय संस्थाको १ खर्ब निक्षेप जोखिममा
काठमाडौं । १७ वाणिज्य बैंकहरूको ८८ अर्ब रुपैंयाँ निक्षेप जोखिममा पर्ने भएको छ । नेपाल राष्ट्र बैंकको प्रावधानका कारण ती वाणिज्य बैंकहरूको उक्त परिमाणको निक्षेप रकम गुम्ने जोखिम देखिएकोे हो । यो जोखिमलाई कम गर्न वाणिज्य बैंकहरूसँग ६ महिनाको समय छ तर, बैंकहरूले राष्ट्र बैंकले दिएको लक्ष्यलाई हासिल गर्ने दिशाभन्दा झनै उल्टो दिशामा आफ्नो क्रियाकलाप अघि बढाइरहेका छन् । विषय हो कल डिपोजिटको । गत जेठ ७ गते नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै कल डिपोजिटको हिस्सा तोकिएको सीमामा ल्याउन निर्देशन दियो । सो परिपत्रले वाणिज्य बैंकलाई १० प्रतिशत र विकास बैंक तथा फाइनान्स कम्पनीहरूलाई त्यस्तो हिस्सा १५ प्रतिशतमा ल्याउन भनेको थियो । त्यसका लागि राष्ट्र बैंकले आगामी असार मसान्तसम्मको समय दिइएका छ । तर, ६ महिनाको अवधि बितिसम्दा पनि बैंकहरूको कल निक्षेपको आकार घट्ने कुनै छाँटकाँट देखिएको छैन । असार मसान्तमा बैंकहरूमा उल्लेख्य रुपमा निक्षेप बढ्दा केही कम देखिएको उक्त आकार पनि कात्तिक मसान्तसम्म आइपुग्दा बढ्दै गएको देखिन्छ । कुन बैंकको कस्तो अवस्था ? अहिले १७ ओटा वाणिज्य बैंकहरूको कल निक्षेप जम्मा निक्षेपको १० प्रतिशत भन्दा माथि छ । त्यसमध्ये सबैभन्दा बढी प्राइम कमर्शियल बैंकको सबैभन्दा बढी २४.९२ प्रतिशत छ । प्राइमको जम्मा निक्षेप ८८ अर्बमध्ये २२ अर्ब निक्षेप कल खाताबाट आएको हो । प्राइमसँगै एनसीसी बैंकको २१.११ प्रतिशत, नेपाल बंगलादेश बैंकको १९.७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक १८.९३ प्रतिशत, नविल बैंकको १८.६१ प्रतिशत, सेञ्चुरी कमर्शियल बैंकको १८ प्रतिशत तथा मेगा बैंकको १७.९ प्रतिशत निक्षेप कल खाताबाट संकलन भएको देखिएको छ । त्यस्तै, कुमारी बैंकको १५.७९ प्रतिशत, सिभिल बैंकको १५.३ प्रतिशत, सिद्धार्थको १४.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको १३.६७ प्रतिशत, प्रभु बैंकको १२.३० प्रतिशत, माछापुच्छे बैंकको १२.२७ प्रतिशत, सिटिजन्स बैंकको ११.२३ प्रतिशत कल डिपोजिट छ । लुम्बिनी बैंक, ग्लोबल बैंक र एनएमबी बैंकको त्यस्तो हिस्सा क्रमशः १०.८३ प्रतिशत, १०.५२ प्रतिशत तथा १०.५२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यी १७ बैंक बाहेक कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, एनआईशी एशिया बैंक, सानिमा बैंक र एभरेष्ट बैंकको भने यस्तो निक्षेप लक्षित सीमाभित्रै रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । लक्षित सीमाभित्र रहेकामध्ये एभरेष्ट बैंकको सबैभन्दा बढी ९.८८ प्रतिशत तथा कृषि विकास बैंकको सबैभन्दा कम २ं.०५ प्रतिशत त्यस्तो निक्षेप छ । त्यसो त राष्ट्रिय स्तरका विकास बैंकहरूको अवस्था पनि उस्तै छ । सञ्चालनमा रहेका १० विकास बैंकमध्ये ८ ओटा बैंकहरूको कल डिपोजिट तोकिएको १५ प्रतिशतभन्दा बढी छ । सबैभन्दा बढी कल डिपोजिट भएको लुम्बिनी विकास बैंकको २४.०७ प्रतिशत कल डिपोजिट हुँदा कैलाश विकास बैंकको २०.८१ प्रतिशत, ज्योति विकास बैंकको १९.३९ प्रतिशत, गण्डकी विकास बैंक १८.५० प्रतिशत, गण्डकी विकास बैंकको १६.६६ प्रतिशत, देव विकास बैंकको १६.२७ तथा कामना सेवा विकास बैंकको १५.५२ प्रतिशत डिपोजिट कल निक्षेपबाट संकलन भएका छन् । सांग्रिला र महालक्ष्मी विकास बैंकको भने यस्तो डिपोजिट तोकिएको सीमाभित्रै छ । सांग्रिलाको यस्तो हिस्सा १४.९५ प्रतिशत तथा महालक्ष्मीको १४.६४ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाहरूको कात्र्तिक मसान्तसम्मको वित्तीय विवरणमा आधारित राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । १ खर्ब निक्षेप जोखिममा कल डिपोजिटकै कारण वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंक गरी २७ वाणिज्य बैंकमध्ये २५ वाणिज्य बैंकहरूको करिब १ खर्ब रुपैंया निक्षेप जोखिममा पर्ने भएको छ । तोकिएको भन्दा बढी कल निक्षेप भएको र त्यस्तो निक्षेपको हिस्सा घटाउने वैकल्पिक स्रोत नभएका कारण ती बैंक तथा वित्तीय संस्थाहरूको सो परिमाणको निक्षेप बाहिरिने खतरा बढेको हो । असार मसान्तमा यदि राष्ट्र बैंक यस्तो डिपोजिटमा कठोर बन्यो भने ती बैंकहरूले तोकिएको सीमाभन्दा बढी निक्षेप लिन पाउँदैनन् । त्यस्तो अवस्थामा बढी निक्षेप स्वीकार नै नगर्ने वा त्यो रकमलाई चालु खातामा सार्नुपर्ने वाध्यता बैंकहरूलाई हुन्छ । बैंकहरूलाई दुईओटा विकल्प बैंकहरूलाई कल डिपोजिटको हिस्सा घटाउने दुईओटा विकल्प छन् । कल डिपोजिटकै हिस्सा घटाउने वा अन्य डिपोजिटको हिस्सा बढाउने । यदि बैंकहरूले दोस्रो विकल्प रोज्ने हो भने वाणिज्य बैंकहरूले तोकिएको सीमाभन्दा बढी भएको कल डिपोजिटको करिब १० गुणा तथा विकास बैंकहरूले करिब ७ गुणा निक्षेप बढाउनुपर्छ । यसो गर्दा २५ बैंकहरूले मात्रै करिब १० खर्बको निक्षेप बढाउनुपर्छ जुन सजिलो छैन । यस्तो अवस्थामा कल डिपोजिटलाई नै चालु खातामा रुपान्तरण गर्ने विकल्प बैंकसँग हुन्छ । तर, त्यो पनि सजिलो चाहिँ छैन । त्यसरी परिवर्तन गर्न ग्राहकको सहमति चाहिन्छ भने परिवर्तित चालु खातामा ब्याज दिन पनि पाइँदैन । यस्तो अवस्थामा निक्षेपकर्ताहरू कम कल डिपोजिट भएका बैंकहरूमा पलायन हुनसक्ने खतरा हुन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार प्राइम कमर्शियल बैंकले पछिल्लो समय कल डिपोडिट खाताको रकम घटाउँदै लगेको बैंक संञ्चालक गजेन्द्र विष्टले बताए । ‘बैंकले राष्ट्र बैंकले दिएको समय सीमा चालु आवको अन्त्यसम्म कल डिपोजिट खातामा रहेको रकमलाई १० प्रतिशत सीमा झारिसक्छौं,’ उनले भने ।
एनसीएचएलद्धारा २४ वटा वाणिज्य बैंक कनेक्ट आरटीजीएस प्रणालीमा जडान
काठमाडौं । एनसीएचएलले २४ कमर्सियल(वाणिज्य) बैंकहरु कनेक्ट आरटीजीएस प्रणाली जडान गरी कार्यान्वयनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै एनसीएचएलले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । आरटीजीएस प्रणालीमा भुक्तानी कारोबारहरु प्रविष्ट गर्न तथा बैंकको बैंकिङ्ग सिस्टमसँग अटोमेटेड गर्न बैंकहरुले कनेक्ट आरटीजीएसलाई गेटवेको रुपमा प्रयोग गर्ने छन् । अधिकांश बैंकहरुले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्टनरको रुपमा नियुक्त गरेका थिए जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङ्गका लागी आवश्यक सिस्टमहरु त्था बैंकहरुलाई स्वसंचालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको छ । आरटीजीएस प्रणालीमार्फत ठूलो मुल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्वपूर्ण कोशेढुङगाको रुपमा लिइएको छ । आरटीजीएस प्रणाली तथा यसमा गरिने कारोबारको बृद्धिको लागी एनसीएचएलद्वारा प्रदान गरिएको कनेक्ट आरटीजीएस बैंक तथा वित्तिय संस्थाहरुको बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फर्छौटलाई टेवा पुर्याउने एनसीएचएलको प्रतिवद्धता रहेको छ । एनसीएचएलले आफ्ना सदस्य बैंक तथावित्तिय संस्थाहरु, गैर-बैंकिङ्ग सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी/पीएसओ र अन्य सेवा प्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सञ्चालन मार्फत समग्र बैकिङ्ग क्षेत्रलाई सहयोग पुर्याइरहेको छ । साथै, एनसीएचएलको कनेक्ट आरटीजीएसएक थप प्रणाली हो जसले उद्योगलाई न्यूनशुल्कमा सहयोग पुर्याउदै आएको छ । एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डहरुको अनुपालनसहित कनेक्ट आरटीजीएस बैंक र वित्तिय संस्थाहरुका लागी न्यून मुल्यमा कार्यान्वयनमा ल्याइएको हो । उक्त प्रणाली पहिलो चरणमा “क” वर्गका बैंकहरुका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात यसलाई “ख” तथा “ग” वर्गका वित्तिय संस्थाहरुलाई पनि उपलब्ध गरिने छ । एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरुमध्ये विद्युतिय चेक क्लियरिङ्ग, अन्तरबैंक भुक्तानी प्रणाली , कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली र नेशनल पेमेन्ट इन्टरफेस संचालन गर्दै आइरहेको छ । जसअन्तर्गत ७५ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु र २० भन्दा बढि पीएसपीएस÷पीएसओएस लगायत गैर-बैंकिङ संस्थाहरु सदस्यरहेका छन् ।
डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न एनसीसी बैंक र सेलपेबीच सहकार्य
काठमाडौं । नेपाल कमर्श एण्ड क्रेडिट(एनसीसी) बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राजअर्याल र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । एनसीसी बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपे मार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने कम्पनीले जनाएको छ । सेलपे, सेलकम प्रा. लि.द्धारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनसीसी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिल लगायत बिल भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकले १२० शाखाहरु र ९४ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।