बारा । बारामा किसानले लगाएको धान उत्पादनमा ५० प्रतिशतले कमी आएको छ । समयमा पानी नपर्नु, रासायनिक मलखादको अभाव र फौजी किराको आक्रमण जस्ता कारणले यस वर्ष धान उत्पादनमा कमी भएकाे कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले जानकारी दिएका छन् ।
यो वर्ष चैते १२ हजार ११३ हेक्टर, भदैया धान ११ हजार ९३० हेक्टर र अगहनी धान ३४ हजार १६३ हेक्टरसमेत गरी कूल ५८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती भई एक लाख ३७ हजार ६२६ दशमल ३२ मेट्रिक टन धानको प्रतिक्विन्टल रु दुई हजार २०० का दरले रु तीन अर्ब दुई करोड ७७ लाख ७९ हजारको धान उत्पादन भएको कृषि प्राविधिक गेनालाल मण्डलले बताए ।
गत आर्थिक वर्ष चैते धान १२ हजार २२५, भदैया धान ११ हजार ९२५ र अगहनी धान ३८ हजार ५५० समेत गरी कूल ६२ हजार ७०० क्षेत्रफलमा लगाएको हुँदा रु पाँच अर्ब ८८ करोड ५० लाख १९ हजार १४० बराबरको २२ लाख ६७ हजार ५०० दशमलव ८७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रको कार्यालयले जनाएको छ ।
नगदे बालीका रूपमा उखु खेती र माछा पालनतिर किसान बढी केन्द्रित भएको हुँदा धान उत्पादनमा कमी आउने गरेको ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए ।